Subscribe:

Ads 468x60px

31 December 2008

नयाँ वर्ष ! मङ्गल होस् !!

पहिले त हाम्रो एकापसको मङ्गल कामना आदानप्रदान भन्दा पनि नयाँ वर्षकै मङ्गल होस् । अर्थात् समयको मङ्गल होस् । समयलाई मङ्गल भएपछि त्यसैको रापमा हामी सबै न्यानो बनिहाल्छौँ । यदि कामना लाग्छ र यसको केही तागत हुन्छ भने नेपालको समय अबदेखि ठीक-ठीक बजोस् । सुई बिग्रिएको अवस्था पलापला झेल्नु नपरोस् ।

इस्वी सम्वत् अर्थात् ग्रेगरियन क्यालेन्डरको व्यापकता हाम्रो नेपाली जनजीवनमा मजैले घुलेको छ । केही अघि 'क्रिसमस डे', अबको केही पछि 'भ्यालेन्टाइन डे' ! ज्वरो हनहनती नेपाली निधारमा उम्लिएको उम्लियै । सांस्कृतिक सङ्क्रमणको आडमा कार्ड र गिफ्ट आदिमार्फत व्यापारको ठूलै चलखेल नेपाली बजारमा रन्किने गर्छ । यसै ज्वरोको मदमस्त नशामा 'पानीपट्टी' लिँदालिँदै घानमा परेर मौलिक संस्कृतिको सिन्दूरी रेखा एकपछि अर्को धमिलिँदै जाला कि ?

दैनिक घिसापिटानबाट भुत्ते बनेको जीवनलाई रौनकताले चार्ज गर्न विभिन्न अवसर छोपेर खुसियाली मनाउने क्रममा विदेशी संस्कृतिलाई च्याप्नु कतिपयको लागि राम्रो बहाना पनि बन्ला । तर त्यस रूपमा मनाउँदा पनि, भन्छन् नि अति गर्नु अत्याचार नगर्नु । आफू, आफ्ना र सामुहिक रूपमा बढीभन्दा बढीलाई राम्रो हुन्छ, फाइदा पुग्छ भने नराम्रो काम पनि गर्नुपर्छ रे (अर्थको अनर्थ नलागोस् है !) । त्यसैगरी, राम्रै मानिएको कुराले पनि धेरैको अहित गर्छ भने त्यसलाई टाढैबाट 'बिदा' भनिदिए वेश । यस मानेमा नयाँ वर्षलाई कुन रूपमा र कतिसम्म ग्रहण गर्ने, आजको पुस्ताले अवश्य सिक्दै जाला ।

नेपालीहरू ३६५ दिनको अवधिमा धेरै नयाँ वर्ष मनाउँछन् । विक्रम सम्वत्, इस्वी सम्वत्, नेपाल सम्वत्, तमु ल्होसार (गुरुङ संस्कृतिको नयाँ वर्ष)…...। थरीथरी क्यालेन्डरलाई काखी च्यापेर बिहान 'हाइ' गर्छन्, बेलुका 'बाइ' । यसो सबैलाई सम्मान र मान्यता दिने प्रयास पनि भनिटोपल्न सकिएला । यसपाली इस्वी सम्वत्‌को नयाँ वर्ष २००९ लाई नेपालीहरू लोडसेडिङको ध्वाँसे अध्यायमा लिपिबद्ध गरेर मनाउँदैछन् । अरू कैयन् वर्षसम्म नयाँ वर्ष मनाउने ज्योतिर्मय उल्लासको कुरामा कुनै फेरबदल हुने छैन । ध्वाँसैध्वासो । खान सजिलो पचाउन गाह्रो एनजीओको जागिरमा मस्त साथी समृद्धि सायदले भनेजस्तै गर्न सके अर्कै कुरा । अभ्यास गर्नुस् है :- 'आधा-आधा पेट, पूरा-पूरा प्रेम, क्यान्डल लाइट डिनर, हरेक दिन आहाऽऽ !'

२००९ को उल्लासमा समस्त ब्लगर मित्र, शुभेच्छुक आत्मीयजन, बोलचालमा जोडिने तथा मौन तादात्म्य राख्‍ने प्रिय पाठक साथै अन्य अपरिचित साथीसँगी तथा अग्रजजनमा सिर्जनशीलता, सहज जीवनयापन एवम् निरन्तर प्रगतिको मङ्गलमय कामना व्यक्त गर्दछु । Café ब्लग परिवारको हार्दिक भाव ।

****************************************************************************

24 December 2008

आह् ! उनीसँगको साइनो र अनुरागको भाका

यात्राक्रममा कहिलेकाहीँ बदमासी गर्न मन लाग्दो रहेछ । तर अलि अलग तरीकाले । यस्तो बदमासीलाई तिक्खर अनुराग भनिदिए वेश । गाउँघरमा अझै पनि हाम्रा आमा-बडेआमाहरू भन्ने गर्छन्- 'बाबै ! एकोहोरो लिप्साले छोएपछि त कसैको केही पो लाग्दैन त !' खासगरी रातोपिरो रौनकले छुने उमेरका ठिटाठिटीको उखरमाउलो अनुरागबारे आमैहरूको त्यस्तो साउती सुनिन्छ । तर यतिखेर आएर त्यस्तो एकोहोरो लिप्सा र केही लाग्दैन है बाबै भन्ने थेगो मेरो जीवनमा ट्वाक्कै चरितार्थ भएको छ । अनुरागमै फसेको छु म । साँच्चै कसैको केही लाग्दैन अब, लागे पनि जेजे लाग्नु छ मेरै लाग्छ । एकोहोरो लिप्साले मलाई यस्तरी कर्‍याप्प गाँजेको छ, अब नचाहेर पनि यो अनुरागको चास्नीबाट फुत्किन मुश्‍किल छ मलाई । यतिविघ्न मिठासयुक्त सास्तीमा त यसअघि म कहिल्यै हुँडलिएको थिइनँ । धन्य हुन् उनी ।

उनीसँगको साइनोले म यति धनी भएको छु, अनुभूतिको भकारीमा मनग्गे अनाज छ जसले बौद्धिकताको पेट सेक्न बाँचुन्जेल पुग्नेछ । आत्माको सेफमा यति मणि र जवाहरात छ, तृप्‍तिले अब अन्यत्र डेरा सर्ने नाम लिनेछैन । जीवन भरिपूर्ण छ । र पनि म यही सन्तुष्टिमा मन बुझाएर, ज्यान टेकाएर त 'आराम सभा'मा ओथारो बस्ने छुइनँ । ताप छोड्नु छ, बाफ निकाल्नु छ, वायुमण्डलमा बहकाउनु छ, चिस्याउनु छ र फेरि दर्के झरी वर्षाउनु छ । उठान र बैठानको अनवरत् यात्रा…..।

उनीसँगको अनुरागमा म स्कुले बेलादेखि गाँसिएको थिएँ । खाँदादेखि चुठ्दासम्म उनैको धुन र ध्यान । त्यसबेला मेरो लागि समेत म, म थिइनँ; सबैसबै उनी नै । न कहिल्यै भेटघाटको संयोग, न त बोलचालकै सम्भावना । र पनि अनुराग त हो, दिन दिगुना र रात चौगुना झ्याङ्गिँदै गयो । माऽऽथि जूनको रोटीमा मेरै भोक पाकेर झन् झन् गाढा बन्दै गएको हो कि झैँ लाग्थ्यो । मेरो लुइरे ज्यानमा उनैको चिन्तन-मननको मासु नै भरथेगको कुरा थियो । देखादेख नभए पनि तिखारिएर सोझिएका उनका आँखा मलाई रङ्ग्याएर पार हुन्थे । उनीतिर मेरो ध्याउन्न यस्तो थियो, मानौँ भर्खरको दूधे बालासहितको दयनीय घरबार सारा छाडेर सिनेमा खेल्न गएकी एउटी युवती नाम र प्रसिद्धिको पछिपछि डाइरेक्टर सा'पको एक 'एक्सन !' बोलमा तिम्रो लागि ज्यान दिन्छु भन्दै हिरोको काँध भिजाइरहिछे । (यो उदाहरणको आशय नारी-चरित्रमाथि आक्षेप लगाउनु र पुरूषवादी ठेस पुर्‍याएर महिला मित्रहरूलाई रूष्ट बनाउनु होइन । उदाहरणले आजको 'ग्लामर मोह' प्रति तादात्म्य जनाउँछ ।) त, मेरो मोह पनि त्यस्तै तीव्र थियो, जुन आजसम्म कायम नै रहेर यो सम्झनाको लेखोट लेख्‍न र्‍याखर्‍याखती पार्दैछ ।

प्यारो शङ्कर । शङ्कर लामिछाने । उनी नै हुन् मेरा ती 'उनी' । साइनोको झोलुङ्गे पुल । जहाँ म मचमची पिङ खेल्नमा मस्त रमाइरहेछु । र यससँगै एउटा चुड्के भाका पनि निस्किरहेछ । जसलाई यो मनदेखि बजाएर अर्को मनसम्म पुर्‍याउन म तम्सिरहेछु । अर्थात् शङ्कर लामिछानेसम्बन्धी ब्लग (हेर्न यहाँ >>> प्रवेश गर्नुहोस्) को सुरुवात भएको छ । नेपाली साहित्यको यो पनि एउटा घटना हो भन्नेमा यतिखेर गर्व लागेको छ । यस कदममा आत्मीय मित्रजनको तालमा ताल सुन्न पाउँदा धन्य भइरहेछु । शङ्करलाई नपढुन्जेल मेरो लागि उनी एक खिनौटे प्रतिमा मात्र थिए । जब पाएँ पढ्न र थालेँ बुर्कुशी मार्न, अनि लाग्यो- यसअघि कुन दुर्भाग्यले पो उनका आविष्कारिक अक्षरतिर आँखा डोरिएनछन् ! हो, पहिलो पढाइमै मैले उनको मसिनो विषयमा गहन चिरफार गर्ने, सांसारिक जीवनशैलीबारे दार्शनिक विवेचना कस्ने, दैनन्दिनीका कुरालाई बोलीचालीको गद्यमा विशेष सन्दर्भ दिएर पस्किन सक्ने खुबी चिनेँ । कति साना घटनाप्रसङ्गहरू र तिनबारे कति हुरुक्कै पार्ने मादक प्रस्तुति ! त्यसपछि त शङ्कर अध्ययनका अम्मल बनेर भित्रिए ।

नेपाली साहित्यको निबन्ध फाँटलाई प्रयोगशीलताको बलमा विशिष्टता दिलाउने शब्दशिल्पी शङ्कर लामिछानेलाई इन्टरनेटको जालोमार्फत जनजनमा फैलाउने काममा जोडिन पाउनु मेरो निम्ति भाग्यको कुरा थियो । (र धेरै पाक्ने गरी सोच्दै नसोचेको कुरा पनि ।) त्यो भाग्यको दैलो धेरैधेरै शङ्करप्रेमी सर्जक तथा पाठकजनको हुटहुटी र ढाडसको स्पर्श मात्र पाएर पनि घरक्क उघ्रियो । झन् उहाँहरू सबैको निरन्तर लागिमेलीको जादुगरी छुवाइ पायो भने कोठा-चोटा र सिङ्गो घरै झकिझकाउ कसो नहोला ?

शङ्करसम्बन्धी ब्लग हिजोका शङ्करलाई चिन्ने, केलाउने र निष्कर्षमा बुझ्ने अभियान त हुँदै हो; आज र भोलिका मौलिक शङ्करलाई जन्माउने, जगाउने र जगेर्ना गर्ने महायज्ञ पनि हो । यो यज्ञमा तपाईँले थोरै मात्र धुनी जगाउनुभयो भने पनि नेपाली साहित्यको पुण्यता धेरै तातिनेछ-उज्यालिनेछ । सँगै, नेपाली निबन्धको पछिल्लो हालचालमा पनि गतिशीलताले पक्कै वेग मार्नेछ ।

शङ्कर एउटा व्यक्तिको कुरा होइन, युगको कुरा हो । नेपाली बाङ्‌मयमा शङ्कर-साहित्यको युग । यसै युगको टेकोमा नेपाली साहित्यको विगत गतिधारा जान्दै भावी रूपरेखा कोर्नु अन्यथा नहोला भन्ने सोचले ब्लगको बीजारोपण गरियो । यो एउटा प्रयास मात्र हो, जुन आधिकारिक स्तरको नभए पनि शङ्करको याद र कृतिगत उपस्थितिलाई ताजा गराउँदै आजको निबन्धसाहित्यको सारथि हुन सक्यो भने आफैँमा धन्य सम्झिनेछ । यो शुभ साइतमा, सम्वत् २०३२ ताका नै चोला उठाएर गइसकेका शङ्करलाई पाठक-समाजमा टुकुटुकु हिँडाएर ल्याउन मार्गदर्शन गर्ने र तागतदार भरोसा दिने शिव रेग्मी, प्रकाश सायमी, समृद्धि सायद (समृद्धि नभएको भए यो काम सायदै यति भरिलो र प्यारो बन्थ्यो), दीपक जडित (अलास्का, अमेरिका) र भीमेन्द्र खड्का (सउदी अरब) सबैप्रति ऋणी छु । फेरि पनि साथ पाइरहनेछु । यी नामका साथसाथै साहित्य, शङ्कर र निबन्धलाई मुटुभरि राख्‍ने अन्य हितैषीबाट पनि । तब उनीसँगको साइनो र अनुरागको भाका अझ प्रगाढ अनि झङ्कार छुटाउने हुनेछ ।

21 December 2008

गजलको पुन:जागरण र मेरो गजलकार

गजलमा हात नचलाएको धेरै भएको थियो । एक जुग नै भने हुने ! पछिल्लो समय ब्लगमा हालेका गजल पनि वर्षदिनअघिका थिए, तिनबाटै आफ्नो 'गजलगो'को चिनारी बचाउने लोभ पूरा गर्दै आएको थिएँ । तर यसरी बिनसित्ति पुराना सिर्जनाको ब्याज खाएर बसिरहन गाह्रो लाग्यो । तैपनि फेरि गजल लेख्‍छु भन्ने कुरा मनमा जोख्‍नु समेत सजिलो कुरा थिएन मेरो लागि, मुड नै हराइसकेको थियो । कविता सिर्जनामै मलाई आफ्नो खुबीप्रति आत्मविश्‍वास र सन्तुष्टि मिलिरहेको थियो र समकालीन एवम् अग्रजहरूको धाप पनि । र पनि एक जमानामा मरिमेटेको क्षेत्रलाई चटक्क माया मार्न पनि नसकिने रहेछ । यद्यपि, गजलको सिर्जना अनि म बीचको साइनो वर्षौँ भू-गर्भमा गाडिएर रूप गुमाइसकेको चाबीको झुत्तासमान थियो, एकदम खियादार । त्यस्तो माध्यम अपनाएर मेरो सिर्जनात्मक दैलो खोल्नु वशको कुरा लागेन मलाई ।

यस्तो अनेक सकसलाई चिर्दै आफूभित्रको सुषुप्‍त अनुभूतिलाई चलाएँ र गजलको चकमकमा झोसेँ । अरूका गजल पढेँ, गजलबारेको चर्चा र टिप्पणी साथीसङ्गीको ओठबाट आमन्त्रण गरेँ । अनि यही हो है जिन्दगी भनेझैँ तालमा घोरिएर गजलको खेस्रामा औँला घिसार्न लागेँ । ब्लगमा राखिएका मेरा गजलबारे दाइ साथी दीपक जडितज्यूको सङ्केत र उहाँकै गजल-वहाबले पनि यसै मेसोमा आएर मेरो गजल लेखनको पुन:जागरण कालमा तेल थपिदियो । समृद्धिज्यूले पनि आफ्ना गजलको सन्दर्भबाट मलाई जगाउनुभयो । र म लागेँ जोर जोर पङ्क्तिको तानाबानामा । यसबीचमा कति नयाँ पङ्क्ति लेखिए, सर्लक्क पूरै मेटिए हिसाब रहेन । गजल नलेखिनुका कारण केही थिए, एक: गजल लेख्‍ने र सुनाउने साथीभाइको सङ्गति र कार्यक्रमबाट टाढै रहनु; दुई : गजलमै केही गर्ने तत्परताको कमी । गजल लेख्‍ने साथीहरूको सङ्गतिमा नरहनुको मुख्य कारण त राजधानीमा पहिले जस्तो मन बहलाउने गजल-गोष्ठि नहुनु नै हो ।

२०५९ सालमा मीन भवन क्याम्पसका साथीहरूले सुरु गरेको गजल गृह नामक संस्थाको नियमित गजल संलाप कार्यक्रम नयाँ गजलकार जन्माउने र पुरानालाई उक्साइरहने गतिलो मञ्च थियो । दुई-तीन शृङ्खला पुग्दानपुग्दै लोकप्रियता कमाउन त्यसलाई कति पनि बेर लागेन । नियमित गोष्ठिसँगै पछि द्वैमासिक गजलप्रधान पत्रिका पलाँस पनि प्रकाशन हुन थाल्यो । त्यसले झन् गजलका सर्जक र प्रेमीहरूलाई गजलसँग रमाउने अर्को बहाना दियो । संस्थाले देशभरि प्रतिनिधि बनाएर सञ्जाल विस्तार गरेको थियो । संस्थालाई टिकाउन र अगाडि प्रभावकारी तवरले हाँक्न व्यवस्थापन-संयोजन आदिका कुरामा साथीहरू पक्कै पनि पापड त बेल्थे नै, तर कार्यक्रमले ख्यालख्यालमै व्यापकता पाइरहेको थियो ।

उक्त कार्यक्रम, पछि शाही शासनको उकुसमुकुस र आन्तरिक खिचातानीका कारण रोकियो । त्यसपछि त्यो पक्षघात भएसरि ढलिरह्यो, त्यही रूपमा उठेन । पछि पुरानै अध्यक्षले आफ्नै हिसाबले सानो ढाँचाको कार्यसमिति बनाउनुभएर पलाँस पत्रिकाले भने अद्यापि पाइरहेको छ । कार्यक्रम बन्द भएसँगै ममा गजल लेखनप्रति लगाव टुट्दै गयो । त्यसरी देशव्यापी गजल-माहोल तताउने कार्यक्रम पनि संस्थाभित्रको पद र नामको घानमा परेर बन्द भएको कुरा थाहा पाउँदा निकै नमज्जा लाग्यो, एक किसिमले गजलप्रति नै मोहभङ्ग भयो ।

आज मात्रै दुइटा गजल लेखेँ । सङ्ख्यात्मक कोटाको हिसाब गरेर त के मक्ख पर्नु ? र पनि यो मेरो लागि अपार हर्षको कुरा हो- म फेरि गजल लेख्‍नमा एकोहोरिएँ । तिनै दुईमध्ये बालापनको प्रसङ्गमा लेखिएको एक गजल यहाँ पस्किएको छु :


खस्ने गर्थ्यो बम-गोला हाम्रो सानो स्कूलमाथि
पापी आँखा परे जस्तो सुकोमल फूलमाथि ।

उमेरले हुने हो कि विवेकले ठुलो मान्छे,
छ्‌याप्नु छ्‌यापे हिलोमैलो मानवको कुलमाथि ।

जेजे गर्‍यो आफूले ती सबै काम सही हुन्छन्,
पछुतोको भावै छैन आफ्नो कुनै भूलमाथि ।

फूर्र नाच्ने माछी देख्दा सहन्नन् यी रत्तिभरै,
सिङ्गो नदी छेक्छन् अनि हाँस्छन् काकाकुलमाथि ।

तागतको फिँज हेर कतिविघ्न उम्लिएको,
जोरी खोज्दै खनिँदैछन् बारुलाको हूलमाथि ।


डिसेम्बर २१, २००८ (नक्साल, काठमाडौँ)

18 December 2008

आमा : आत्माको खिपिएको रङ




- जुरेली चरीको बक्खु काखीको न्यानोसमान ओइरिइरहने स्नेहधारा,
- मुटु छेड्ने पिराहा गालीको रेटिरहने स्रोत ।

सराबरी दुई हातको एउटा खँदिलो अँजुलि ।
अर्थात् आमा ।

सायद यही पहिलोपल्ट, आमा भन्ने दुईअक्षरी भाका मेरो लेखनीबाट झङ्कारमा उठेको छ । त्यो पनि विशेष रुपले । यस भूगोलमा कुनै पनि अस्तित्त्वलाई आफू हुनुको बोध गराउने अंश छाड्ने आमालाई नजिकबाट अभिव्यक्तिको केस्रामा उप्काउन मैले कहिलेदेखि हो सोचिरहेको । तर के भएर हो, आमा-समाजको ठूलो घेरामा पनि ती आमा त मैँसँग रहेर पनि मबाट छुटिरहिन् । अर्थात् मैले छुटाएँ । बिनाचर्चा, बिनापर्चा । चर्चा र पर्चाका कुरामा, उसो त आमा कुनै आम निर्वाचनको उम्मेदवार पनि होइनन् । र फेरि पनि खोइ कुन अर्थ र गहिरो उचाइले गर्दा हो, मैले आमाको भावलाई शब्दमा खेलाउन चाहेँ । जसरी बालापनमा उनले आफूहरूलाई झोलुङ्गोमा झुलाइन् । तर मैले आमाको आभायुक्त घोललाई उमेरभरि तापिलो गरी चाखिरहे पनि त्यसलाई देखिनँ । म कुन लङ्काको निद्रामा रहेछु यत्तिका बेरसम्म ? यी आँखाहरूमा कति किलो नौनी जम्मा भइरहेको रहेछ र पग्लिएर सफा हुनलाई यतिन्जेल लाग्यो - मानौँ यो सबै आमा भन्ने बोधकै रापिलो भावको प्रतिफल हो, जसले मलाई एकाएक आज छ्याङ्ग बनायो ।

र् भर्खरै यति लेखिँदालेखिँदै फोन सम्पर्कमा आएकी एउटी सखीलाई सामान्य भलाकुसारीपछि केरकार गरेँ-
'एउटा कुरा सोधूँ ?' भूमिका बाँध्छु (खासमा फुकाउँछु) ।
-'सोधूँ भनेर सोधि त हाल्यौ, के हो भन ।'
'आमालाई तिमी कति माया गर्छ्यौ ?'
- 'धेरै ।' उनको छोटो र सजिलो जवाफ ।
'मतलब ?' मेरो गहिराइ अझ गहिरिन्छ ।
- 'धेरै भन्या धेरै नि !' लगभग झर्किएको लबजमा उनको आमाप्रेम परिभाषामा पोखिन्छ ।

अँ, पुग्यो सायद । धेरैधेरै माया ।
चिठीपत्र लेख्दा पनि हामी सिरानमै उक्त 'धेरै' को ट्याग झुन्ड्याइहाल्छौँ । खासमा मनको प्रेमालु तरलता त्यहाँभन्दा बढ्ता अटाउँदैन पनि । र त हामी धेरैऽऽ भन्दै अमूर्तताको पोखरीबाट छाल उब्जाएर शीतल बटुल्न खोज्छौँ । साथै, बाँड्छौँ सम्बोधित कुनै प्यारो पात्रलाई पनि ।

उनै सखीकी खुला दिलकी आमासँग पनि म फोनवार्तामार्फत एकाध पटक स्नेहको सौभाग्यमा गाँसिएको छु । कस्तो भने, छोरीको मोबाइलमा फोन गर्दा आमाचाहिँले उठाउने । त्यसो हुँदा बुझ्नुपर्ने- यी स्नेही आमाकी चञ्चल छोरी पक्कै कुनै नित्यकर्मको परिबन्दवश घरभित्र अलप भएकी छे । अनि त मानौँ छोरीको प्रतिनिधिका रुपमा आमासँगै गफिनुपर्ने ! गफिँदा उनै आमाको खोइ कस्तो रसैरसले भरिएको शीतल स्वरले म भिज्छु ।
भन्छिन्- 'बाबू, खाना खान नआउने हाम्रोतिर ?'
औपचारिकतावश या जुनसुकै रुपले त्यो बोली आएको होस्, घरदेखि दूर राजधानी सहरको निर्जनतामा आफ्नै साँगुरो परिवेशमा बस्ने मलाई त्यो आमाबोलीले कसोकसो हुरुक्क बनाउँछ ।

आफ्नी आमालाई मैले कहिले बिर्सिन खोजेँ ? थाहा छैन । र बिर्सिनै खोज्दा पनि भागेर अलप भइजाने आमा त्यस्ती लुखुरे आन्दोलनकारी हुँदै होइनन् । उनी त एकाएक आत्माको मैदानमा धावा बोल्ने र बोलिरहने ममताकी लडाकु हुन् । यस मानेमा आमा हाम्रो आत्माकी हमलाकारी तागत हुन् । तर सहृदयी हमलाकारी । जसले कोखपछि काखको मुलायम संसारमा लुटुपुटु पारेर हामीलाई अनेक आततायी हावाहूरीबाट जोगाएर राखिन् । खोइ किन अथवा केका निम्ति... ।

रुसी साहित्यमा गर्विलो स्पेस रचेका गोर्कीको विश्वप्रसिद्घ औपन्यासिक कृति आमा (सन् १९०७) भर्खरै यसपालिको दसैँछेक पढेँ । त्यो पनि तेस्रो-चौथो होइन, पहिलोपटक । सन् १९०७ देखि २००८ सम्ममा कति आमाहरूले आफ्नै सेरोफेरोमा सानातिना भए पनि क्रान्ति गरे होलान् । तर बल्ल आज सय वर्षपछि मैले एउटी रुसी आमाको साहसिकतासँग साइनो बनाउन भ्याएँ । यसैबाट थाहा हुन्छ, आमा भन्ने सृष्टिको थुङ्गाप्रति म आफ्नो ताउरमाउर जनाउन कतिसम्म पिछडिएको छु । पढेपछि यस्तो लाग्यो, धेरै पहिल्यैदेखि गोर्कीरचित आमा पेलागेया निलोभ्नाको साहसी र कर्मठ छातीको स्पन्दन सुन्न म व्यग्र बनिरहेथेँ । तर के लाग्दोरहेछ र, कुनै पनि कुराको एउटा साइतविन्दु त हुँदोरहेछ । मैले सायद त्यही विन्दुलाई पर्खिरहनुपर्‍यो, पढ्नका निम्ति । प्रस्तुतिको तिक्खरता त्यहाँ कस्तो छ भने, मानौँ साक्षात् सिद्घ योगीको असरदार फुर्ति उत्रिएझैँ लाग्छ । कतै यो आमा भन्ने ओजिलो आधारभावकै प्रभाव र प्रवाह हुन सक्छ । कृतिभित्रका चल्तापूर्जा पात्रहरू पाभेल भ्लासोभ, आन्द्रेइ, निकोलाइ र साथीहरू यही मगजमा गजबसँग सुकुल ठोकेर बसेका छन्, अति सादापनले ।

'आमा होइऽऽ',
ग्रामीण लबजमा यस्तै लयले ममताको आश्रय खोज्दै मूर्च्छना उराल्छ । सम्बन्ध खोइ कस्तरी मन्द सुरमा स्वतः नाचिरहेको हुन्छ आमा र सन्तानबीच त्यतिखेर । मानौँ यो पृथ्वी घुम्नुजत्तिकै स्वाभाविक छ- आमाको सारीको फेर समात्‍नु । अनि तारा चम्किएजत्तिकै प्राकृतिक छ- कस्तै डरमर्दो घडीमा पनि आमासँगको आत्मीय आमनेसामने । बालापनमा आमा एकैछिनलाई कता हराउँथिन् र उनको दूधका भरोसिला लाम्टाहरूले हामीलाई बोलाउँथे । होइन र ? कामको धुवाँधपेडीले आमा मुहारका चाउरीपत्रहरूमा कहाँकहाँ लोप भएको मुस्कान खिलखिलाउन खोज्थिन् र हामी तिनको शुष्क हाल देखेर पनि मौनतामा जिल्लिरहन्थ्यौँ । उफ्, त्यो दोहोरो विवशता ! न आमा 'यस्तै हो बाबू-नानी' भनेर सुस्केरा हाल्दै वैराग्य साटि्थन्, न हामी आडभरोसाको लोली मिलाउन सक्थ्यौँ । विडम्बना ! भर गर्न नालायक हाम्रो कलिलो उमेरको अवस्था । खासमा धेरै आमा र भुराभुरीहरू जीवनको आरम्भिक सङ्गतिका दिनहरूमा बोलेर पनि परस्परलाई केही सुनाउन सक्दैनन् । जे छ, बिस्तारै आफैँ बुझ्दै र मनन गर्दै जानुपर्ने । मानौँ हामीले भद्र भनाउँदो मौन समारोहबीच 'वफेट डिनर'मा चम्चा व्यस्त पारिरहनुपरेको छ, अघिल्तिरका भरिभराउ भाँडाकुँडाहरूमा ।

अहिले आएर जीवनको २३/२४ वर्षको अध्यायलाई पल्टाएर उमेरका अघिल्ला पृष्ठहरूमा फैलिन्छु, तब केलाउँछु- हुर्किने क्रममा दूधको नाता टुटेपछि मेरी आमाको कति नजिक बसेँ फेरिफेरि म ? अर्थात् क्रमशः बूढी हुँदै जाँदा उर्मिलादेवी कार्कीले कतिपल्ट छोराको भरोसापूर्ण थपथपाहट पाउन सकिन् ? ती शिथिल भएर नसैनसा झ्याङ्गिएका हातलाई कति न्यानो गरी हामीबाट सुमसुमिएको पाइन् ?
... ... ...
प्रश्‍नैप्रश्‍नका चिन्ह मात्र ।

आमा तिनै प्रश्‍न बनेर सन्तानको आत्मा-पुस्तिकामा जवाफ खोज्न आउँछिन् झैँ लाग्छ । तर प्रश्‍नले र्‍याखर्‍याख्ती तुल्याएर सन्तानलाई हाडे ओखर चखाउँदिनन् आमा । संसारमा त्यस्तो परीक्षा कहिल्यै भएन । न त हुनेछ । र पनि, सन्तानलाई आमाको प्रश्‍नसूचक अनुहारले सताइरहन्छ, प्रश्‍नबाट घाइते हुनुभन्दा सटीक जवाफ आफूले के दिनु छ र ? (दिए पनि ठाउँमै छुनेगरी दिनलाई कहाँ सक्नु छ र ?) र आमा यहीँ हाम्रो आत्मामै खिपिएर बस्छिन्, आफ्नै ओजपूर्ण रङमा । जसमा कुनै होलीपूर्णिमाको जस्तो अल्लारे तडकभडक छैन अनि छैन रङको अस्वास्थ्यकर मिसावट पनि । आत्मामा उनको एकतमास कीर्तनको सुरले यात्राभरि हामीलाई कति मजाले पङ्खा हम्किरहन्छ ! र त हामी अक्करैअक्करको बाटोमा पनि शीतल पैँतालाको वेग मार्छौँ ।

मेरो जीवन-साथीको छनोटबारे झ्वाट्ट थाहा पाएर पनि सगरमाथाको फेदी उदयपुरस्थित भित्री मधेसको घरमा रहेकी मेरी आमा पटक्कै अलमलिइनन् । दसैँमा घर जाँदा उनलाई मेरो तर्फबाट कोसेली खबर त्यही थियो । सुनेर भन्थिन्-'सुन् है काले, ज्यादै मरिहत्ते चैँ नगर्नू, बाँकी राम्रै हुनेछ ।' उर्मिलादेवीको आँखाले मलाई लपक्क सौम्यपूर्वक नुहाइदियो र म एकदम सफा भएँ, अनुभूतिका अर्थमा ।

कस्तो हर्ष र विस्मात्‌को एउटै गुजुल्टो ! आमा मलाई समेत ममताले छेडेर मेरो जीवन-साथीको छनोटसम्मलाई छुन भ्याउँछिन् । म भने एउटी आमा उनैलाई पनि छुन भ्याइरहेको हुन्नँ । सायद आत्मामा मेरो, हत्केलाको सोलोढोलो आकार मात्रै छ, ...
औँलाहरू त गायब !
साकारमा छिन् आमा,
आमा मात्रै ।

(चैत ८ २०६४ शुक्रबार फागुपूर्णिमा, नक्साल काठमाडौँ)

12 December 2008

यस्तो एउटा सिर्जनात्मक विवाह...

विविधताले भरिएको हाम्रो नेपाली समाज । थरीथरी जातजाति । थरीथरी रिवाज र संस्कार । कतिपय नराम्रो संस्कार र कुरीति पनि जिउँदो-जाग्दो भएर हामीमाझमै बसेका छन्, त्यत्तिकै राम्रा थितिहरू पनि कति ओझेलमा परेका छन् त कति नासिएर गइसके । जन्मसंस्कारदेखि मृत्युसंस्कारसम्ममा मानवसमाजको आफ्नै निश्‍चित मापदण्ड रहिआएको छ । त्यसमध्ये जीवनमा गर्नैपर्ने कर्मकाण्डमा विवाहलाई लिने गरिन्छ । वैवाहिक संस्कार हाम्रो मुलुकमा जातजातिपिच्छे फरक किसिमबाट पूरा गरिन्छ । परम्परागत प्रचलन पनि आधुनिक समयमा आएर थोरै तोडमरोड हुँदै मनाइन थालिएको छ ।

चलनचल्तीको वैवाहिक उत्सवको परम्परालाई तोडेर रचनात्मक तवरले लगनगाँठो गाँस्ने जोडीहरू पछिल्लो समयमा निकै देखिएका छन् । यस्तै सिर्जनात्मक विवाह गर्ने जोडीमा पछिल्लो उदाहरण बनेका छन् शनिश्चरे मोरङका घनेन्द्र ओझा र छत्रेदेउराली धादिङकी राधा कँडेल । दुवैजना गजल विधामा समर्पित साहित्यप्रेमी । जीवनयात्रा गजलमय बनाइराख्न दुवै उत्तिकै रसिक रहँदै आएका छन् । त्यसैले आफ्नो विवाहको प्रीतिभोजमा मङ्सिर २३ गते (डिसेम्बर ८) सोमबार उनीहरूले आफ्नो संयुक्त गजलसङ्ग्रहको विमोचन गरे- 'बाटो अझै छ बाँकी' । कृतिमा दुवैको छानिएका राम्रा गजलसिर्जना समेटिएका छन् । ठूलो सङ्ख्यामा उपस्थित साहित्यप्रेमी तथा आफन्तको बीचमा दुवैले किताबमार्फत साथसाथ जीवनको साउती गरे । चार वर्ष लामो प्रेमसम्बन्ध वैवाहिक नातामा त गाँसियो, यही साइतमा अब उनीहरू भन्दैछन् - सहयात्राको बाटो अझै बाँकी छ है, ल सँगै हिँडौँ... ।

विवाह - दुई आत्माको मिलन । दुई जना भएपछि जस्तोसुकै कुरा पनि समाधान गर्न सकिन्छ भन्ने सोचले धेरैले विवाह गर्ने गर्दछन् । कताकता यो अघोषित सम्झौताको सामाजिक रिवाज जस्तो लाग्छ । अर्थात् अर्कोप्रति भर पर्दै अस्तित्त्वलाई स्विकार्नु । सहज जीवनयापनमा एकअर्काको साथ खोज्दै सामाजिक चक्रलाई निरन्तरता दिन वैवाहिक जोडीहरू अग्रसर हुन्छन् । यसका साथै, परिवारबीचको आत्मिक सम्बन्धकालागि पनि विवाहलाई लिइन्छ । विवाहले सम्बन्ध विस्तारमा धेरै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर यही विवाहलाई कसैले सम्पत्ति सङ्कलन गर्ने तथा आफ्नो सम्पत्ति प्रदर्शन गर्ने माध्यमका रूपमा पनि लिएका छन् । छोरा-छोरीको विवाह धुमधामले गरेर समाजमा आफ्नो 'ल्याकत' साबित गर्ने होडबाजी पहिलेदेखि नै चलिआएको छ । हुनेखानेले त सम्पत्तिमार्फत शक्तिप्रदर्शन गर्छन्, केही नहुनेले समेत ऋणपान गरेरै भए पनि 'महँगो' विवाह गराउने देखासिकी प्रवृत्ति हाम्रो समाजमा चौपट्टै मौलाएको छ । यस्तो कुसंस्कार हिजोआज कमजोर मानसिकताका मानिसहरूको खेती भएको छ ।

विवाहमा लिएको ऋण तिर्न नसकेर जिन्दगीभरि अरुकोमा काम गर्न बसेका धेरै उदाहरण नेपाली समाजमा अझै पनि छन् । तर अहिले आएर त्यो परम्परामा निकै उतारचढाव आएको छ । सम्पत्तिको प्रदर्शनभन्दा पनि कसरी सिर्जनात्मक अनि सबैलाई सजिलो हुने खालको विवाह गर्ने भन्ने भावनाको पनि विकास भैरहेको छ । यस्तो सोच विशेषतः आजका शिक्षित युवामा झ्याङ्गिदै गएको छ । त्यसैले विवाहका नयाँ-नयाँ शैली अहिले आएर देखिन थालेको छ । सामाजिक चेतना भएका केही मानिसहरूले सुरू गरेका यस्ता विवाह अरूकालागि पनि निकै प्रेरणादायी बनेका छन् ।

यस्ता सिर्जनशील जोडीहरूमा कोही कुनै कल्याणकारी संस्थालाई सहयोग गरेर विवाह गर्दैछन् । कोही प्रीतिभोज नगरी त्यसमा खर्च हुने पैसा सामाजिक समूहलाई दान दिएर सादा तर विशिष्ट मूल्यको विवाह गर्दैछन् । कोही सार्वजनिक चौकमा खुला रूपमा मञ्चमा भाषण गर्दै समाजका गन्यमान्य सदस्यहरूसँग आशीर्वाद लिएर विवाह गरिरहेका छन् । कोही आफ्नो विवाहको लागि घरमा लगाइने रङलाई चोक र चौतारोमा लगाएर समाज सेवायुक्त विवाह गरिरहेका छन् । कोही विवाहमा आशीर्वाद दिन आएका मानिसलाई खुवाइने प्रीतिभोज कुनै अनाथालय वा वृद्धाश्रमका बालबालिका र वृद्धवृद्धाहरूलाई खुवाएर आत्मसन्तुष्टि लिइरहेका छन् । यसरी सामाजिक जिम्मेवारीसँगै आफ्नो पारिवारिक जीवनलाई खुसियाली रूप दिने सिर्जनशील सोचमा आज कुनै कमी छैन ।

मानवीय सम्बन्धमा इन्धनको काम गर्ने आत्मिक प्रेमदेखि साहित्यप्रेमसम्मलाई एउटै बोली 'बाटो अझै छ बाँकी' गजलकिताबबाट पुष्टि गर्ने राधा र घनेन्द्रजस्तै जोडीले समाजमा नयाँ रङ थप्दैछन् । यो रङ सामाजिक शक्तिप्रदर्शनभन्दा बाहिरको रङ त हो नै, यही किरिङमिरिङ जेलिएको समाजलाई रचनात्मकताको छाप छोड्ने रङ पनि हो । छोराको विवाहमा आशीर्वाद दिन पूर्वी नेपालको इटहरीदेखि आउनुभएका घनेन्द्रका आमा-बुबा नै समारोहका प्रमुख अतिथि हुनुहुन्थ्यो । सबैलाई सम्बोधन गर्दै उहाँहरूले संयुक्त रुपमा उक्त संयुक्त गजलसङ्ग्रहको विमोचन गर्नुभयो । गजल विधामा लामो समयदेखि कलम चलाइरहेका रवि प्राञ्जल, देवी नेपाल जस्ता सर्जकले नव वर-वधुलाई आशीर्वाद र शुभ कामना दिँदै उनीहरूको सिर्जनात्मक कामको सराहना पनि गर्नुभयो ।
ती सिर्जनशील दुलहा-दुलहीलाई नयाँ शैलीको विवाहको लागि बधाईसहित सफल दाम्पत्य जीवनको लागि हाम्रो पनि मुरी मुरी शुभ कामना है ।

11 December 2008

बालापनमा.....

बालापनको झझल्कोले नचिमोट्ने पलै हुँदैन । जति-जति उमेरले सिरै सेताम्मे सगरमाथा पार्दै जिन्दगीलाई अत्यासलाग्दो रङमा रङ्ग्याउँदै जान्छ, उति बालापनको सम्झनाले पिरोल्छ । हुन त यस्तो हुनु 'हातदेखि झरेको धुलो सुन लागेजस्तो' हामी मानिसको असन्तोषी स्वभावको उपज पनि होला । तर बालापन हुन्छ नै अति प्यारो, शोक न सुर्ता भोक न भकारी भनेजस्तो । त्यही प्यारो र निश्‍छल पललाई गजलमा उन्ने मेरो प्रयास हो यो । यसमा बुनोट सोचेजस्तो त्यति चित्तबुझ्दो हुन सकेन, र पनि जब यो गजलतिर आँखा पर्छ, मन एकतमास हुन्छ र म माटोमा लडीबुडी गर्ने उमेरमा कोल्टे फेर्छु । आहाऽऽ बालापनमा !!!


फुच्चा गोडा, बलेंसी र पानी बालापनमा
छप्ल्याङछुप्लुङ नाङ्गाबुङ्गा नानी बालापनमा ।

काले थियो लुरी, दोर्जे, माइली सबै थिए,
सिङ्गै टोल लाग्थ्यो राजधानी बालापनमा ।

लुगा सिउने कान्छा दाइको टालाटुली चोरी,
पार्थ्यौं ठिक्क बेउला-बेउली छानी बालापनमा ।

फकाउन मिठाइ दिए पढ है भनेर,
सरको अघि बन्थ्यौं सारै ज्ञानी बालापनमा ।

बुढा-बुढी, चोर-पुलिस अनेक खेल थिए,
जे खेले'नि बाङ्गो थिएन बानी बालापनमा ।

08 December 2008

स्वर्गीय सरोवरतिर दुई दिन

फेरि पनि पुरानै कुराकन्थाको गुन्टा कसेर आएको छु । व्यस्तताका परजीवीले डसेर नयाँ पकवान बनाउन नभ्याएको त होइन । तर, अचार त पुरानै झिक्नुपर्‍यो नि ! अचार यस मानेमा, गत दसैँको बिदामा उदयपुर जाँदा दाजु-बहिनीहरूको सल्लाहले दर्शन+घुमघामको लागि उदयपुरकै लेकाली भेग रौता भन्ने ठाउँतिर हान्निएका थियौँ । धार्मिक तीर्थस्थल रौता पोखरी । फर्किएर त्यसबारे सम्झौटो लेख्‍ने योजना बनाए पनि त्यत्तिकै भइराखेथ्यो । रोचक यात्रा भए पनि अब यतिखेर आएर त्यसबारे लेख्‍नु अलि खल्लो लाग्यो । तर यात्राको तस्बिर भने साथीहरूसँग बाँड्न कसोकसो लोभ जाग्यो । वृत्तान्त नभए पनि जे त पर्ला, 'तस्बिर आफैँ बोल्छ' भन्ने थेगो च्यापेर यति पस्किएको छु ।

एउटा डाँडादेखि अर्को डाँडाको फन्को पार गर्दा कमाएको यात्राभरिको थकान र गर्मीलाई रौता पोखरीको फेदीमा चिसो सिरेटोको पङ्खाले आराम दिलायो । बीच बाटोमा ज्यान बिसाउँदै दुर्लभ स्टेशनजस्तो भेटिने होटलमा विकल्पमा रहेको एउटै खाजा 'चाउचाउ' खाँदै, कतै भने साथमै लगेको भोगटेले घाँटी भिजाउँदै गोरेटो छिचोलियो । यस्तो लाग्यो, १८० डिग्रीको ठाडो उकालो नाघेर कमिला बल्ल चिनीको कचौरामा पुगेको छ । अनि त के चाहियो ? मन मगमगायो । जाडोले मुटु कमाए पनि स्वच्छ प्रकृतिको रोमाञ्चकतामा डुब्दा शीतलताले आँत भरियो । दुई दिने सफरमा, गन्तव्य पुगेको साँझ साग र भात मोल्दै खाएको मिठास बयान गरिनसकिने उखरमाउलो थियो । कठ्याङ्ग्रिने जाडोमा पाएको तातो भातमा हात राख्‍दा मात्रै पनि धित मर्ने जस्तो ! पोखरीकै अलि फेदीमा अरुबेला निजी प्रयोगमा ल्याइने घर पाहुना पुग्दा भने लजको रूपमा प्रति बेड ३०/३५ रूपियाँमा पाइने रहेछ । त्यस्तै एउटा 'हल्लिने घर'मा हामीले चिसो रात कटायौँ । कस्तो भने, राम्ररी खाँबो नखाँदिएजस्तो र भर्खर बनाइएको त्यो घर मान्छे हिँड्दा पनि लचकलचक हल्लिन्थ्यो ।

एकातिर रमाइलोमा महकिएका र रमिता हेर्न निस्किएका हामी, अर्कातिर त्यहीँको कस्टकर जीवनमा हेलिन बाध्य अबोध अनुहार । हाम्रो घुमघाम कतै तिनको दयनीय दैनिकीलाई जिस्क्याउने बहाना जस्तो ! र पनि, हामीले त बुझेका थियौँ- मान्छेको अभ्यस्त कथाव्यथा जहाँतहीँ उस्तै हो, रूप मात्र फरक-फरक । कतै झन् झन् सुविधाको प्रश्‍न, कतै जिन्दगीकै प्रश्‍न । सबैले उस्तै सहजता कहाँ पाएका छन् । कोही गोबर सोहोर्छन्, कोही मोहर !
बाँकी तस्बिर बोलोस् ।

हिँडेका हामी

थकान र अवतरण

खाजाको मेलो

इन्धनपछिको वेग



साग, भातको न्यानो आँत



बिहानीको मिर्मिरेमा

फगत एक नजरमा कसैले लियो मन…

पोखिएर घामको झुल्का...


रमिताको घनचक्कर

शीतल गन्तव्य: आँखाभरि स्वर्गै उठाऊँ…

फर्किएका तृप्‍त मन

************************************************************************

04 December 2008

सम्पादकलाई लेखिकाको पत्र

प्रस्तुत लेखनीसँग एउटा रोचकता गाँसिएको छ । यो मेरो कलमको उद्‌गार होइन, तर मेरो लागि निशाना साँधिएको कसैको कलमको तीर हो । मैले नछोएर पनि मसँग पूरापूर एकाकार !

नितान्त निजी कुरा भए पनि यस्तो रोचकता सबैसँग यसरी ब्लगको खुला मञ्चमार्फत बाँडीचुडी गर्न मनैले अह्रायो, अब मनैले अह्राइसकेपछि टार्न कसरी पो सकिएला ? फेरि, मनलाई दास बनाएर आफू त्यसको मालिक बन्ने कुरा हरेक कुरामा लागू गर्नुपर्ने बाध्यकारी आवश्यकता पनि त हुँदैन होला नि ! त्यसैले यो CaFe को खुराकमा सजाइँदैछ । भदौ २१ (सेप्टेम्बर ६) को परिवेशमा लेखिएको यस पत्रको सामयिकतामा शङ्का हुन सक्छ, तर सोचीसम्झी नै यसलाई सान्दर्भिक भावभूमिका कारण प्रस्तुत गरिएको छ ।

धेरै कुरा त पत्र पढ्दै जाँदा बुझिहालिन्छ । तर मेरो तर्फबाट भन्दा, जन्मदिनको उपहार - यो पत्रात्मक 'टोकन' व्यक्तिगत भएर पनि सांसारिक चेत र व्यापकता बोकेको सामुहिक भावनाको छ । कम्तीमा, मलाई यस्तै लाग्यो । जीवनयात्राको किरिङमिरिङ निवेदनलाई यस पत्रका कहीँ कोमल/कहीँ कठोर (कटु होइन) भावले समाधानकारी दस्तखत चलाएर स्वीकृति दिएझैँ लाग्छ । र पनि, सहृदयताको लेप भरपूर छ यहाँ, नागराजले लुकाएको मणिझैँ । लेखिकाको पत्र सम्पादकलाई ! पत्रको लेखाइ अनि सम्बोधनमा साहित्यिक नौँल्याइ त छ नै, पारिवारिक जीवनको कलिलो सपना पनि छ ।

यस्तै ढाँचाको मेरो पत्र (लेखिकालाई सम्पादकको प्रेमपत्र), कथा विधाअन्तर्गत हङकङबाट सञ्चालित nepal.hk मा पनि अघिल्लो वर्ष (२०६४ मा) प्रकाशन भएको थियो । पढ्न यहाँ - स्पर्श गर्नुहोस् ।
बाँकी कुरा तल आफैँ पढेर निष्कर्ष बनाउनुस् है त !
कस्तो लाग्ला कुन्नि यो कोसेली ?

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

प्रिय सम्पादक,
लामो समय - झन्डै एक वर्षपछि, तिमीलाई यो पत्र लेख्दै छु । यो एक वर्षको लामो अन्तरालमा पत्र लेख्‍नकालागि प्रयास नगरेको पनि होइन तर समय र परिस्थितिको दासी हामी, हाम्रो वशमा के नै हुन्छ र ? अवरोधका विभिन्न तगारोले हामीलाई घेरिरहेकै हुन्छन् । त्यसैले लामो समयदेखि पत्र लेख्छु भन्दाभन्दै पनि पाइरहेको थिइनँ । तर आज तिम्रो जन्मदिन । तिमी मेरो सम्पादक, अनि म तिम्री लेखिका । तिम्रो जन्मदिनमा केही नलेखूँ ? त्यसैले औँलाहरू नचाउँदैछु, यो कालो किबोर्डमा ।
कसलाई थाहा, अर्को वर्ष तिम्रो जन्मदिनमा यसरी नै पत्र लेख्‍ने मौका मिल्ला या नमिल्ला… ।
आज तिम्रो जन्मदिन, फूलका गुच्छा नदिए पनि शब्दका गुच्छाहरू अवस्य पनि पायौ होला । पक्कै पनि आजको दिनमा तिमीले 'ह्याप्पी बर्थ डे' को भाकासँगै औपचारिकताको बतासमा बहकिएर मैनबत्ती निभाएनौ भन्ने आशा गर्छु । बिहानै दियो भने बालेको हुनुपर्छ, अँध्यारो बाटोलाई उज्यालो पार्न । तिमीलाई थाहा छ, मान्छेको औँसत आयु ६० वर्ष (नेपालको हकमा) मान्ने हो भने तिमीसँग अब ३६ वर्ष मात्र बाँकी छ । तिम्रो जन्मदिनको दिनमा पनि म तिमीप्रति कोमल हुन सकिरहेको छुइनँ । हुन त मैले तिमीलाई सुरुको दिनमा नै पत्रमार्फत माफी मागिसकेँ - म कोमल हृदयको छुइनँ भनेर ।
हरेक वर्ष रुखमा पालुवा पलाउँछन्, तर हरेक वर्ष पातको प्रकृति फरक-
फरक हुन्छन् । पात पनि पलाउँछन्, पहेंलिन्छन् र झरेर तिनको ठाउँमा अर्को पात फेरिन्छन् । एउटै बोटमा पलाएका पातहरूमा पनि अनेक भिन्नता पाइन्छन् । हामी त मानिस, विवेक अनि आफ्नो छुट्टै धारणा भएका, हामी सबैबीचमा एकरुपता आउन सक्छ भनेर कसरी भन्न सकिएला र ? पातमा भएका रेशाजस्तै हामीबीचमा विचारको भिन्नता छ । त्यसैले त भिन्न-भिन्न अस्तित्वको विविध सुरमा हामी बाँचिरहेका छौँ, नत्र बाँच्नुको अर्थ नै के ? सबैको जीवनमा एउटा लक्ष्य हुन्छ । तर जाने बाटो र पुग्ने ठाँउ फरक-फरक । नत्र लक्ष्य बनाउनुको अर्थ नै के ?
यसअघिका वर्षमा जस्तै यो वर्ष पनि भदौ २१ गते आजको दिन परेको छ । अर्थात् तिम्रो जन्मदिनको घडी । तर यो भदौ २१ पोहोरको भदौ २१ होइन । त्यो २१ लाई तिमी ल्याउन सक्दैनौ । पोहोरका वर्षले ल्याएका धेरै कुरा तिमीलाई छाडेर गइसकेका छन् । कतिलाई तिमी आफैँले पनि छाडिरहेका छौँ । हेर त, आफ्नो वरपरको वातावरण धेरै परिवर्तन भएको छ । अर्को वर्ष आजको यो वातावरणमा घटबढ अवस्य हुनेछ ।
उमेरसँगै बढेको परिपक्वताले मान्छेका इच्छा, रहर, सोचाइ, जीवनप्रतिको दृष्टिकोण परिर्वतन पारिदिन्छ । हुन त तिमी मेरो सम्पादक, म त मात्र लेखिका । तर नजाने पनि आत्मीयतावश केही भनिहालूँ भन्ने मानवीय स्वाभावबाट टाढा जान नसकेर यति लेख्दैछु । बितेका वर्षलाई अवलोकन गर्दा धेरै दुःख, सुखका उकाली-ओरालीहरू आए होलान् । आफन्तका न्यानो स्पर्शले निधारका पसिना पुछिए होलान् । अनि तिनै आफन्तका पराई बोलीले आँखाका डिलबाट तप्‌तप् अनमोल आँसुका धारा पनि बगे होला । आँसु पुछिदिने हातका पर्खाइमा बसेका आँसु आँखाकै डिलमा सुके पनि होलान् । अनुभवका सम्पत्तिले भकारी निकै भरियो होला ।
चुनौतीसँग जुध्नु नै जीवनको रमाइलो पक्ष हो । सार्थक जीवनको उपमा हो । अनुभवलाई पैसामा किन्न सकिँदैन । आ
फूले सिकेका कुरा अरुलाई सिकाउन सकिँदैन । मेरी आमाले बताएका कुरा आज यसरी तिमीलाई भन्दैछु । यसलाई जीवनको मूल मन्त्रको रुपमा त लिन नसकिएला, तर पनि जीवनमा उकाली-ओराली गर्ने क्रममा परिआउँदा लौरीको काम भने पक्कै गर्नेछ । मैले पनि त मेरी आमाले सिकाएका यिनै सूत्रमय लौरीले धेरै जँघार तरिसकेँ, आगामी दिनमा पनि यिनै लौरीको सहायताले धेरै काम गर्ने सोच बनाएको छु ।
लामो समयसम्म नलेखेर होला, सोचेजति केही लेख्‍न सकिनँ । मनको उकुसमुकुसलाई औँलाले पढ्नै सकेन जस्तो छ । त्यसैले आजका लागि यति भन्नु नै बुद्धिमानी ठान्दैछु । तिम्रो जन्मदिनमा अरु केही दिनलाई नसके पनि शब्दका केही थुङ्गा दिनेछु भन्ने सोच बनाएको थिएँ त्यो पनि तिमीले अपेक्षा गरेको रूपमा दिन असमर्थ भएँ क्यार । त्यसका लागि क्षमा माग्दै यो पालीका लागि बिदा चाहान्छु । अर्को वर्ष भने पक्कै शब्द अनि औँलाले साथ देलान् कि ?

उही -
तिम्री लेखिका

30 November 2008

चौतर्फी आतङ्कको रजाइँ किन ?

नोभेम्भर २६ तारिख बुधबार राति छिमेकी मुलुक भारतको मुम्बई सहर आतङ्कवादी हमलामा परेयता शनिबार रातीसम्ममा मृत्यु हुनेको सङ्ख्या २०० को हाराहारीमा पुगेको छ । यो सङ्ख्या बढ्ने निश्‍चित छ, समग्र घटनास्थलमा राज्यस्तर पुगेर तथ्यहरू आधिकारिक पूर्णताका साथ अझै आइपुगेका छैनन् । समाचार माध्यमहरूमा जनाइएअनुसार, समुद्रको बाटोगरी भारत छिरेका उग्रवादी बन्दुकधारीहरूले एकाएक बार, होटलमा हमला गरे र केही स्थानलाई कब्जामा लिएर मानिसहरूलाई बन्धक बनाइराखे । उनीहरूले यहुदी सङ्गठनको कार्यालय पनि कब्जामा लिएका थिए ।
साम्प्रदायिक दुराग्रहको घनचक्करभित्र विश्वव्यापी आतङ्कवादको रापमा भारत पनि केही समयदेखि दन्किन थालेको छ । प्रगतिको हरेक पाटोमा लम्किँदै विश्वका शक्तिसम्पन्न राष्ट्रहरूसँग अन्तर्राष्ट्रिय मुद्दा तथा आपसी लेनदेनको कुरामा कुममा कुम जोड्दै आएको आजको भारतको लागि टाउको दुखाइको एउटै कुरा छ - आतङ्कवाद । चाहे त्यो, देशभित्रै विभिन्न व्रि्रोही समूह (विशेषतः माओवादी) बाट थालिएको छिटफुट आक्रमणको गृहयुद्धोन्मूख भय होस् या विदेशी भूमिबाट भूमिगत रुपमा सञ्चालित आतङ्कवादी जत्थाको हरसमय सम्भावनात्मक अनेकौँ तारो होस् ।
यसैले नेपालजस्तो निरीह देशको भूमि पनि कतै आफूविरुद्ध प्रयोग नहोस् भन्नेमा भारत सदा चनाखो रहन्छ, नेपालसँग हुने विभिन्न साझेदारी तथा सहयोगको अभियानमा भारतको एउटा 'बार्गेनिङ प्वाइन्ट' त्यो रहन्छ नै । र त, नेपालमा कोही नयाँ प्रधानमन्त्रीले बालुवाटार सम्हाल्नेबित्तिकै भारत कान थापेर पर्खिन्छ - नेपालको भूमि कुनै देशको विरुद्ध प्रयोग हुन नदिने कुरामा हामी सदा प्रतिबद्ध छौँ ।
धर्मभेद, जातिभेद, वर्गभेद आदि जुनसुकै नाममा हिंसालाई मन-मगजमा हुर्काएर फुक्का तुल्याउनेहरू विश्वशान्तिको जनसपनामा जब्बर चुनौती बनेर तेर्सिएका छन् । जे होस्, कुनै पनि नाममा आतङ्क र आतङ्कवादलाई स्वीकार्न सकिँदैन । आतङ्कवादको विश्वव्यापी टकराव यसरी दिनानुदिन तेज हुनुमा महाशक्ति राष्ट्र अमेरिकाको अनियन्त्रित खेलखोरले पनि धेरै हदसम्म काम गरेको छ । सानातिना मुलुक, खासगरी मुस्लिम राष्ट्रमा उसको सफाया अभियान र हेपाहा व्यवहारले बारुलाको गोलालाई जिस्क्याएजस्तै हुन पुगेको छ । तर आतङ्कको जन्ममा अमेरिकी भूमिका अंशतः मात्र छ, आजको थामिनसक्नु मानवीय अराजकताको स्रोत त शक्तिको होड र प्रतिस्पर्धाको अनैतिक लडाइँ नै हो, जसमा मानवीय मूल्य दिनानुदिन खस्किँदै गइरहेको छ । कीरा-फट्याङ्ग्रा मर्‍यो कि एउटा मान्छे, असर र महत्व नराख्‍ने भइसकेको छ ।
नेपाल जस्तो शान्त र सन्तुलित देशमा पनि मानवीय अवमूल्यनको यस्तो भयावह जङ्गल झ्याङ्गिइसकेको छ । भगवान् छन् भन्ने विगतको आस्थापूर्ण समयमा पाप र ईश्वरीय सजायको डरले भए पनि समाज एक हदसम्म सन्तुलित र धार्मिक ओजयुक्त रहन्थ्यो । तिनताका मान्छे मार्नु त के, समग्र जीवजन्तु र विरुवा-वनस्पतिको जीवनप्रति मानव-जगत्‌मा करुणाको अथाह राशि रहन्थ्यो । अहिले त बौद्धिक फाँटमा नित्शेले गरेको ईश्वर मरेको घोषणा र्सवव्यापक बनेझैँ भएको छ, न पापको डर न त दण्डको नै परलौकिक व्यवस्था ! राज्यले नै दन्डहीनताको वकालत गरेजस्तो नेपाल जस्ता आजका अन्य मुलुकको हकमा, दन्ड दिने सर्वाधिकार पूरापूर विभिन्न इलाकामा लुकेछिपेका आपराधिक गुटले नै लिएजस्तो देखिन्छ । धन्य कलियुग !

नोभेम्भर ३०, २००८ © जोतारे धाईबा
*********************************************************************************

29 November 2008

... अनि बल्ल कुरा मिल्यो

ति-कति बात मार्दा अनि बल्ल कुरा मिल्यो
नियत यो नबिगार्दा अनि बल्ल कुरा मिल्यो ।


जूनैजून उडाउने रहरले दुःख दियो,
यथार्थमा सबै झार्दा अनि बल्ल कुरा मिल्यो ।


झ्याङ्गिएर खुला जरा अर्को जुनी नजेलिँदै,
गमलामा फूल सार्दा अनि बल्ल कुरा मिल्यो ।


दुई किनार भै घुर्क्याउँदा तड्पिनु त पर्‍यो अलि,
आफूलाई पारी तार्दा अनि बल्ल कुरा मिल्यो ।


सानोतिनो कुरुक्षेत्र त्यसै कतै जागे पनि,
सँगै जित्दा सँगै हार्दा अनि बल्ल कुरा मिल्यो ।

मार्च २६, २००८ (बुधबार) नक्साल, काठमाडौँ ।

27 November 2008

काठमाडौँ अन्तर्राष्ट्रिय नाटक महोत्सव - २००८

रङ्गमञ्चको उत्थानमा सम्वत् २०३८ वसन्तपञ्चमीदेखि क्रियाशील नाट्यसंस्था आरोहणले साधना केन्द्रका रुपमा गुरुकुलको स्थापना गरेयता नेपाली रङ्गकर्म जुर्मुराएको मात्र छैन, यस जुर्मुराइलाई बिस्तारै-बिस्तारै गर्दै आज आम जनसाधारण कलाप्रेमीहरूको साथ पनि मिलेको छ । यति चाख जगाउनमा आरोहणको निरन्तरको लगन र प्रयोगशील यात्राले काम गरेको छ । राज्यको प्रतिष्ठानले गर्नुपर्ने काम निजी क्षेत्रबाटै हुनुले नेपाली रङ्गमञ्चको 'कुरीकुरी' त सबल रुपमा थामिएकै छ, कलाकर्मीहरूले पनि उर्लिएको आफ्नो कलाचेतको चाह मेट्दै त्यसैबाट जीविकोपार्जनको मेसो समेत मिलाउन सकेका छन् ।
हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्ने सोचअनुरुप २००६ देखि जुटेको आरोहण-गुरुकुलले यसपाली पनि त्यसलाई निरन्तरता दियो । कलाको निश्‍चित सीमा र भाषाको छेकबार हुँदैन भन्ने पक्षलाई यस्ता महोत्सवले थप रोगन थप्छन् । नोभेम्भर ११ देखि २७ तारिखसम्म भएको 'काठमाडौँ अन्तर्राष्ट्रिय नाटक महोत्सव - २००८' मा नेपालका ४ वटा गरी जम्मा १७ नाटक मञ्चनमा उत्रिए । तिनमा बेलायत, बङ्गलादेश, भारत, अमेरिका, नर्वे, डेनमार्क, थाइल्यान्ड आदि देशहरूको प्रस्तुति रहृयो ।

पहिलो दिन अभि सुवेदीलिखित 'आरुका फूलका सपना' मञ्चनबाट महोत्सवको थालनी गरिएको थियो । महोत्सवमा नर्वेको 'हङ्ग्री टाइगर्स', नेपालको 'कर्णाली दक्खिन बग्दो छ', भारतको 'नटी विनोदिनी' दर्शकमाझ छाप छाड्ने हिसाबमा विशेष उल्लेख्य रहे । भारतीय नाटक 'नटी विनोदिनी' साँझ ५ बजे देखाइए पनि अन्य सबै नाटक मध्यान्ह १२ बजे र साँझ ५ बजे गरी दिनको दुई पटक प्रदर्शन गरिएको थियो । 'नटी विनोदिनी' राजधानीको जमलस्थित सांस्कृतिक संस्थानको नाचघरमा देखाइएबाहेक सबै नाटकहरू गुरुकुलको रिमाल नाटकघरमा मञ्चन गरिएको थियो । गत २००६ मा आरोहणले इब्सेन नाटक महोत्सव गरेसँगै अन्तर्राष्ट्रिय नाटक महोत्सवको ढोका खोलेको हो ।

CaFe को परिकारमा यसपाली, महोत्सव - २००८ मा प्रस्तुत गरिएकामध्ये एउटा नाटकको चर्चालाई पस्किइएको छ । महोत्सवमा प्रस्तुत भारतका ५ नाटकमध्ये मञ्चनमा पछिल्लो क्रम(१९ तारिख)मा उत्रिएको पौने २ घन्टा अवधिको नाटक थियो 'नटी विनोदिनी' । संस्कृत मूल (तत्सम) बाट आएको 'नट' शब्दबाट बनेको 'नटी'को अर्थ प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशमा यसरी खुलाइएको छ – 'नाच्ने पेसा भएकी स्त्री, नाटक आदिमा नृत्य वा अभिनय गर्ने स्त्री पात्र; नर्तकी, नटुवी ।
'रङ्गमञ्चमा जीवन अर्पण गर्ने एक नारी चरित्रको अलग पाटोलाई उतारिएको त्यही नाटक 'नटी विनोदिनी' बारे दर्शकको आँखाबाट गरिएको समीक्षात्मक चर्चा यहाँ प्रस्तुत छ ।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

नटी विनोदिनीमा सत्यको बोल

गंगा नदीको पानीमा मुजा परेको आफ्नो अनुहार, धमिलिँदै गएका आँखा, अनि बुढ्यौलीले रुग्ण शरीर हेदै मनमनै खुसी भएकी एउटी वृद्धाको अनुहारमा झल्किएको भाव पढ्दा लाग्छ, सौन्दर्यको पारख गर्ने आँखाबाट अब उनी मुक्त भएकी छन् । त्यसैले करिब १५ सय मानिसहरूले घेरिएको मञ्चमा उनले चिच्याउँदै आफ्ना खुसी व्यक्त गरिन्- 'अब मलाई स्वतन्त्र भएर मन लागेको काम गर्न रोक्ने मेरो रुप मसँग छैन ।'

'काठमाडौँ अन्तर्राष्ट्रिय नाटक महोत्सव - २००८' मा भारतको प्रस्तुति नटी विनोदिनी नाटकमा विनोदिनीको शीर्ष चरित्रलाई सलिमा रजाले जीवन्त बनाइन् । प्रख्यात भारतीय रङ्गकर्मी विनोदिनीको जीवनचरित्रलाई बुनिएको नाटकलाई थियटर अफ टेलिभिजन एसोसिएटस् न्यू दिल्लीका कलाकारहरूले साकार रुप दिए । देश-विदेशमा डेढ सयभन्दा धेरै पटक देखाइसकिएको नाटक हजारौँ दर्शकको वाहवाही लुटेर नेपाली आँगनमा बल्ल झुल्किएको थियो, नाटक महोत्सवको साइत पारेर । स्वैरकल्पना शैलीमा प्रस्तुत भएको नाटकमा प्रख्यात भारतीय रङ्गकर्मी विनोदिनीका रङ्गमञ्चभन्दा बाहिरका कुरालाई निर्देशक अमल अल्लानाले समेटेकी छन् । सामाजिक जञ्जालमा केटीमानिसले अरुको इच्छा पूरा गर्न कसरी आफ्ना इच्छा र रहरलाई तिलाञ्जलि दिनुपर्छ, उनीहरूको इच्छाको कसरी आफ्नै मान्छेबाट गला दबाइन्छ र सामाजिक अन्यायको सिकार बनाइन्छ भन्ने पीडाको सिलसिलेवार कथा हो - नटी विनोदिनी ।

विज्ञानका अनुसार, जब मानिस अत्यन्त खुसीमा या अत्यन्त दुःखमा हुन्छ, तब चेतन मनले काम गरिरहेको हुन्छ । त्यो बेलामा दिमागलाई जुन कुराले निर्देशित गर्छ, त्यो कुरालाई संसारको कुनै शक्तिले रोक्न सक्दैन । अप्रत्यासित आइपरेको दुःख, पीडा सम्हाल्न नसकेर धेरै मानिस बौलाउँछन् । कतिले त्यही पीडाबाट मुक्तिको बाटो भेटाउँछन् । विज्ञानले भनेको यही कुरा नाटक नटी विनोदिनीले पनि पुष्टि गर्न खोजेको छ । विनोदिनीको जीवनमा पनि धेरै दुःख आइपर्छन् । तर उनले त्यो दुःखलाई शक्तिमा परिणत गरेर जीवनलाई मुक्तिको बाटोतिर लैजान्छिन् ।

पैसा कमाउन गंगाबाई हुँदै बङ्गालका प्रसिद्ध नाटक-निर्देशक गिरिष घोससम्म पुगेकी विनोदिनीले विद्धान् लेखकहरूले लेखेका नाटकका पात्रमा डुब्दै अभिनय गर्दा जीवन-जगत्‌का सिद्धान्तलाई बुझ्न थाल्छिन् । सहरीबाबुबाट धोका पाएकी विनोदिनीले पहिलोपटक संसारिक जीवनको बारेमा बोध गर्छिन् । यसैगरी, जीवनमा आइपर्ने क्रमिक दुःखसँगै कसैबाट आशा राख्‍नुहुँदैन भन्ने कुरा थाहा पाउँछिन् । निष्काम कर्मले नै मानिसलाई सफल बनाउँछ भन्ने कुराको बोध हुन्छ । त्यसैले सहरीबाबुहरूको दुनियाँलाई चटक्क छाडेर उनी पूर्ण रुपमा नाटकमा समर्पित हुन्छिन् ।

तर गुरुले धनी मान्छेकोमा आफ्नो शरीर बेचेर नाटकघर बनाउन पैसा कमाउन पठाउने कुराले उनको मनमा दोस्रो पटक चोट लगाउँछ । दोस्रो चोटबाट उनले अनित्य जीवनमा इच्छाको कुनै मोल हुँदैन, जस्तो-जस्तो पर्दैजान्छ, त्यसलाई कर्ताको रुपमा नाटकको पात्र बनेर पूरा गर्नुपर्छ भन्ने कुरा थाहा पाउँछिन् । तर पनि आशाको दियो अझै उनको मनबाट निभ्दैन । त्यसैले 'विनोद नाटकघर' बनाउने सपनाले उनलाई उत्प्रेरित पारिरहन्छ । तर, नाटकघरको नाम अर्कै राखिन्छ- 'स्टार नाटकघर' । यो उनको जीवनमा परेको तेस्रो ठूलो चोट । तेस्रो चोटले भने उनमा ठूलै परिवर्तन ल्याइदिन्छ । उनको मनमा रहेको आशा र लोभ पनि हटेर जान्छ ।

कुनै कुरा हुनु र नहुनुले उनको जीवनमा कुनै पनि अर्थ राख्‍न छाड्छ । तर पनि गूरुको आज्ञा पालना गर्दै जीवनका अनुभव लेखिरहेकी हुन्छिन् । सबैले देखेको, सुनेको भन्दा भिन्न जीवनका बारेमा, तब आफूले सोचेको भन्दा भिन्न कुरा लेखेकोमा गुरु गिरिष घोषले आत्मकथामा भूमिका पनि लेखिदिँदैनन् । तर यता विनोदिनी भने मुजैमुजा परेर चाउरिएको शरीरप्रति मोहित हुँदै भनिरहेकी हुन्छिन् - 'अब मलाई स्वतन्त्र भएर मन लागेको काम गर्न रोक्ने मेरो रुप मसँग छैन ।' विनोदिनीले जीवनकै सबैभन्दा ठूलो कुरा पाइसकेकी हुन्छिन् । उनका गुरुले धेरै पटक दोहोर्‍याउने वाक्य । कलाको माध्यमबाट उनले जीवनमा मोक्ष पाइसकेकी हुन्छिन् ।

नाटकले मानिसलाई बौद्धिक बनाउँछ, जीवनका अनेक आयामको बारेमा ज्ञान दिन्छ । यस नाटकको कथावस्तु मात्र होइन, प्रस्तुतिले पनि नाटकलाई निकै असरदार बनाएको छ । प्रोजेक्टरको माध्यमबाट पृष्ठभूमिमा देखाइएको दृश्यले कथा-प्रस्तुतिलाई झन् प्रष्ट र रोमाञ्चक बनाएको छ । प्रोजेक्टरबाट आएको दृश्यलाई रङ्गमञ्चका कलाकारले नछेकून् भन्नकालागि मञ्चमाथि शीशाको प्रयोग र शीशाभित्रबाट गरिएको प्रकाश संयोजनले पृष्ठभूमिको दृश्यलाई कुनै असर पारेको देखिएन । नाट्यक्षेत्रमा भएको नयाँ प्रविधिको विकासलाई नाटक हेर्न भेला भएका झन्डै १५ सयजति नेपाली र विदेशी दर्शकले निकै रोचकतासाथ ध्यान दिएर हेरिरहेका थिए । मुख्य पात्रलाई देखाउन प्रयोग गरिएका अन्य पाँच कलाकारले विनोदिनीका धेरै इच्छा, आकांक्षा, अन्तर्मनको द्वन्द्व, विचार आदिलाई सजिलैसँग प्रस्तुत गरे । यसका साथै नाटकको मागअनुसार प्रयोग भएका गीत-सङ्गीतले बीचबीचमा मनोरञ्जन दिइरहेको थियो ।

भारतीय रङ्गकर्मीको आत्मकथा भए पनि यो नाटकले प्रत्येक मान्छेका मनोभावनालाई छोएको छ । कुनै न कुनै रुपमा प्रत्येक व्यक्तिको कथासँग विनोदिनीको कथा मिल्छ । नाटकका विभिन्न पाटोले विभिन्न सन्देश र यथार्थलाई चित्रण गर्न खोजेको भए पनि मूल उद्देश्य भने एउटै छ, त्यो हो - आफूले भोगेका विभिन्न कुरा नाटक मात्र हो, यथार्थ होइन । जीवनको अन्तिम सत्य भनेको मोक्ष प्राप्ति हो । आफूमा भएको क्षमतालाई चिनेर त्यसैमा रमाउन सक्नु नै जीवनको अन्तिम सत्य हो ।
*********************************************************************************

18 November 2008

नयाँ प्रेमको कथा

नुहारको सुक्खा पोखरीमा

आत्महत्या गरिसकेजस्तो छ-
मुस्कानले

बग्दैबग्दै चाल्नीमा
पानी-पानी भए कि भन्छु-
पिठोझैँ बुङ्बुङ्ती रहरहरू

आँखाको कोठाभरि
चिचिला लाग्दै गरेका
मध्यरातको सिरानीमाथिका
पिलपिले जूनकीरीहरू
सामसुम्म
निभ्दै छन् टेबलमाथिको उर्वर एस्ट्रेमा

यस्तो छु म यस्तो-
छुटेपछि तिम्रो स्टेशनबाट ।

मायादेवीको ममताले बतासिएर
आएथ्यो तिम्रो मनको खोपबाट
मछेउ भुरुरु सारस चरो,
हस्ताक्षर गरेथ्यो नरम प्वाँखहरूले
मेरै आत्माको बहीखातामा

पितामह भाग्यले
चटक्क तानिदिएको गहुँगोरो धर्सो टीका
निधारभरि सूर्य बनाएर
एकाबिहान ब्युँझिरहेथेँ
साँझ सुस्ताइरहेथेँ

जसरी दुर्बल कोपिला छुट्छ हाँगाबाट
उसैगरी त हो म खुस्किएको-
जीवनजस्तै न्याना तिम्रा जोर्नीहरूबाट

कहाँ
कुन
कतिविघ्न ढुसीदार पातालमा पो
पुग्ने हुँ म

तिमीले उपहार दिएको
जिन्दगीभरको एउटै यो एउटै चश्मा - आँसुको
पाएर,
धमिलो यात्रामा
नयाँ प्रेमको कथा बगाइरहेछु ।

साउन २३, २०६५ नक्साल ।

17 November 2008

जमरे दसैँ, चिउरे दसैँ र विवश बुहारीहरू !

सैँको उल्लासमय व्यस्तताबीच जिल्लाको अप्राविधिक छटपटीमा दसैँको कुरा-कन्था शब्दमा उतारेर बाँडीचुँडी गर्न यसपाली त्यत्तिकै रहृयो । CaFe ब्लगलाई आफ्नो पूजा-कक्ष सम्झिएर अक्षरको आराधना गर्दै आएको थिएँ, यो पनि गत एक महिनाभन्दा बढीको अवधिमा मेरो शिथिलतासँगै शून्य भएर रहृयो । यो पूजा-कक्षमा न त साँझबत्ती, न त धूप-बात्ती । देवी-देउता नै उधुमसित रिसाए कि ? थाहा छैन । मेरा प्यारा पाठक तथा ब्लगर मित्रहरू...।
शून्यता र वियोगको चस्कासँगै २०६५ सालको मध्यतिर यस्तै घाउमा म दुखेर बसेँ । अब त्यही घाउ सेलाउने मेसोमा दसैँ-सन्दर्भ खोतल्दै छु यतिखेर । हिन्दू संस्कारमा चार दिशातिर छरिएका आफन्तजनलाई एकै टुङ्गोमा भेटाउने दसैँ जस्तो चाड वर्षदनमा एकचोटि मनाएर पनि अर्को दसैँ-तिथि नआउँदासम्म त्यसैको स्मृतिमा डुबिबस्ने बहाना हामीलाई सदा मिलिरहेकै हुन्छ । यो सन्दर्भको उठानलाई त्यस्तै एउटा बहाना सम्झिदिनुहोला ।

जमरे दसैँ, चिउरे दसैँ
घटस्थापनामा गहुँ, जौ, तिल, मकै आदिको जमरा राखेर सुरु हुने दसैँमा पशुहरू पुज्य र भोज्य जिनिस बन्छन् । फलस्वरुप भोजमा च्युराको आवश्यक्ता पनि देखिइहाल्छ । चौदिशाका आफन्तजन एकै ठाउँमा जुटेर सद्भाव कायम राख्ने यो सांस्कृतिक अवसर रमाइलो गर्ने नाममा जिभ्रो फडकार्ने स्वादिलो खानपिनभित्र पशुबलिको तडकभडकतिर रुमलिन्छ । फलस्वरुप पूजाकोठामा चन्दन-धूपसहित एकाध घन्टा गुजार्ने 'धर्मालुहरू' पनि दसैँको बहानामा लालसायुक्त मुख खोल्छन्-'परम्परा भइआएको कुरो, चलाउनैपर्‍यो नि !' अनि त आँगनबीचमा माटो र गोबरको चोखो घेरोमा केराको दाम्चा तेर्स्याइएर खसी-बोका काटिन्छन् । दसैँकै मौकामा राँगा, सुङ्गुर, कुखुरा लगायतका कैयन् पशु-पन्छीले मानवउत्सवका निम्ति जीवनाहूति दिन्छन् ।
दसैँमा जस्तोसुकै वैष्णवी घरमा समेत मासुको विविध परिकार शोभा बन्ने गर्छ । आफू नखाने भए पनि आउने टीकारी पाहुनापासा तथा आफन्तका लागि मासुको जोरजाम गरिन्छ । जमरा राखेर सुरु हुने दसैँ पूणिर्मासम्म टीका लगाउन आइपुग्ने पाहुनाजनको लागि तुन्द्रङ्ग सिकमा वा फ्रिजमा साँचेर राखेको मासुको बचेखुचेको लेदोसँग च्युरा मोलेर-खाएर समापन हुन्छ । कानमा जमरा सिउरिएर प्लेट-थाल वा टपरीभरि च्युरा लिँदै चोक्टा थाप्ने लहरमा नबसी हामीलाई चित्तै बुझ्दैन । यस्तो हाम्रो जमरे दसैँ, च्युरे दसैँ !
सबैजसो घरको दसैँमा काटीकुटी यस्तै रुपरङ नहोला । तर नेपाली घरदैलोमा जमरा र च्युरायुक्त दसैँ नै रोज्जा र परम्परित कुरा हो ।
एउटा टुक्का छ- फलामको च्युरा चपाउनु । टुक्काको च्युरामा फलाम जडिए पनि मान्छेले च्युरा त खान छाड्दैन । पोषणको कुरा गर्दा कार्बोहाइड्रेटको प्रचुर खानी च्युरा साकाहारी, मांसाहारी सबैले उत्तिकै रुचाउने र झट्ट झिकेर खान सकिने सजिलो परिकार हो । भुजिया-मिठाइ वा दहीसँग च्युरा, माछा-मासुसँग च्युरा । घरायसी रुपमा घिउसँग पर्परी भुटेर खान मिल्ने च्युरा, भोजभतेरमा छुस्स एक-एक मुठी सामुहिक रुपमा खुवाउन सकिने च्युरा ।
गाउँघरमा घरैपिच्छे खाजा र कहिलेकाहीँ त खानाकै ठाउँ लिने खुराक हो च्युरा । सहरबजारमा विशेषतः व्यावसायिक प्रयोजनमा च्युराले महत्वपूर्ण स्थान ओगट्ने गर्छ । होटलदेखि किराना पसलसम्म । सरकारले पनि यसैलाई राष्ट्रिय खान्कीको मान्यता दिएझैँ लाग्छ, त्यही नीति अख्तियार गरेर होला बाढी-पहिरो लगायतका प्राकृतिक प्रकोपले जनता आहत भए कि त पोकामा चाउचाउको प्याकेटसँगै च्युरा पठाइहाल्छ । अनि त गुमेको थातथलो सम्झिँदै मर्‍याङमर्‍याङ च्युरा चपाउनु ती नागरिकहरूको लागि दैनिकजसो 'आनन्ददायक खेल' बन्न जान्छ ।
गाउँघरमा दसैँको विशेष च्युराको लागि नयाँ धानको जोरजाम गर्ने चासो नवरात्रिअघि नै सुरु भइसक्छ । नवरात्रिसम्ममा त सुकाइ-भिजाइ-उसिनिएको धान चिउरा-मिलमा चाङ लागिसक्छ । अनि त पालो पर्खिँदाको सास्ती । यसपाली दसैँमा उदयपुरस्थित घर पुग्दा च्युराको किस्सा राम्रैसँग नियाल्न पाएँ । च्युरा कुटाउन मिलमा मान्छे र बोराहरूको लाइनदेखि 'भोलिसम्ममा च्युरा कुटाएनौ भने राम्रो हुँदैन' भनेर मिल मालिकलाई ग्राहकबाट आएको धम्की ! मानौँ ती ग्राहक-मनुखेहरू ठूलै दबाबमूलक क्रान्ति छेडेर आम रुपान्तरण गर्न कस्सिएका हक्की आन्दोलनकारी हुन् । देशमा गणतन्त्र आएको भन्या यही हो कि जस्तो लागेर दङ्ग परियो । बिजुलीबाट सञ्चालित मिल लोडसेडिङको बेला सुस्ताएर अहोरात्र जुट्दा पनि अपजसको भागीदार थियो । मिल व्यवसाय गरेकोमा र त्यत्तिका ग्राहकहरूको थाम्नै नसकिने ओइरो लागेकोमा बिचरा मिल-मालिकले हर्षमाने या विस्मात् ! अरुबेला झिङ्गा मारेर बस्नुपर्ने च्युरा-मिलमा वर्षदिनको दसै-तिहारमा थुप्रिएका बोराका पोकाहरूबीचमा मिल स्थापनादेखि भर्खर पहिलो चाड झेल्नपुगेका मालिक आपतमा देखिन्थे ।
चिउराको लागि नयाँ धान आफूसँग नभए वा नपाके पनि पछि आफ्नो खेतबाट धान भरेर फिर्ता गर्नेगरी चिनाजाना छिमेकीसँग ५ पाथी-१० पाथी पैँचो धान लग्ने किसानको लस्कर पनि यसपाली देखेँ मैले । (हेर्नुस् तस्बिरमा एउटा नमूना ।)

विवश बुहारीहरू
जति-जति उमेर पाक्यो, चाडबाडको उल्लास पहिलेजस्तो नहुने कुरा वर्षौपिच्छे झन्-झन् नमीठो गरी अनुभव हुँदोरहेछ । पहिले दाजु-दिदीहरूले भन्थे, अहिले आफैँ अनुभव गर्दै छु । छिप्पट आँखाले हेरेमा चञ्चलताको अंश कतै बाँकी नरहेजस्तो । यो निराशाको कुरो होइन, अलि दिक्कलाग्दो अनुभूति मात्र हो । घरै टेक्न पुगे पनि जसलाई यसपाली पनि मैले भोगेँ । झन् घरदेखि टाढा, अझ परदेशको भूमिमा बसेका दाजुदिदी तथा भाइबहिनी लगायतका मित्रवरले कति तीतो भोग्नुभयो होला । बालापनको रमाइलो साथमा नरहे पनि ढल्दो उमेरको उकाली पलहरूमा पनि घरमै हुँदाको जस्तो मिठास त बाहिरतिर कतै पनि हुन्न । झन् पोहोर-परार जुगको कुरा सम्झिँदै चाडपर्वमा भक्कानिनु त वर्षैपिच्छेको रीत हुन्छ परदेशतिर । बहराइनमा रहेको मेरो भाइ (फूपुको छोरा, जसको गायन-सपनाबारे अलि पछि छुट्टै पोष्ट लेख्‍नेछु ।) को फोन दसैँ-तिहारमा झन् बाक्लो हुन थाल्छ । उसको व्याकुलता त्यहीबाट बुझ्छु म ।
माइतीलाई 'बिदा है' भन्दै घरमा आइसकेर सासू-ससूराको खटनपटन र जिम्मेवारीमा बाँधिएर बस्नुपरेकी बुहारीलाई दसैँ कस्तो लाग्दो हो ? बुहारीको दसैँ-तिहार कस्तो हुन्छ ? यो परिदृश्यलाई पनि उदयपुरका जीवित पात्रहरूबाटै सप्रसङ्ग व्याख्या गर्छु है त !
यो एउटा उदयपुरको मात्रै धमिलिएको रुपरेखा होइन होला । विश्वमै नारी जातिलाई कमजोर रुपमा चित्रित गर्ने परिपाटी रहिआएकोमा नेपालका थुप्रै ठाउँमा छोरी-बुहारीहरूले उही एकनासको पीडापूर्ण दैनिकीमा रुमलिनुपर्ने घटना नौलो होइन । अरु त अरु, चाडपर्वको मौसमी बालीमा पनि छोरी-बुहारीको भागमा खुसी हात पर्दैन । उदयपुरको ऐनामा चियाउँदा बुहारीको दसैँ ट्वाक्कै बुहारीजस्तै देखेँ मैले । भन्नाले अलि घुम्टो ओढेर छोपिएको जस्तो, ध्वाँसो र माटो पोतिएर कत्लैकत्ला भएको जस्तो, सिउनी उध्रिएर कुनाकानीबाट लज्जा चुहिएको जस्तो, हिँड्दाहिँड्दैको पाइला ठाउँका ठाउँ चिप्लिरहेजस्तो, शोभायमान सिउँदोको चेपोमा निस्सासिएको सिन्दूर पसिनामा पग्लिएर अपहत्ते गर्न लागेजस्तो... ।
छिमेककै पल्लो घरमा एउटी भाउजू हुनुहुन्थ्यो, अर्को घरमा काकी हुनुहुन्थ्यो । रगतको नाता नभए पनि गाउँघरमा आत्मीयता, ऐचोपैँचोको सौहार्दता र नाता लगाएर बोल्ने आफन्तीपना कति हुन्छ, बताउनु नपर्ला । ती भाउजू र काकीसँग पनि पारिवारिक रुपमा हाम्रो त्यस्तै आत्मीय सम्बन्ध छ । अरुबेला पकाइतुल्याइ गर्ने बुहारीहरू पाहुनापासाको भीड लाग्ने दसैँमा नैतिकताले गर्दा पनि पन्छिने र फुत्किन पाउने कुरै थिएन । व्यवहारमा बाँधिएपछि सवाल आफ्नो एउटा ज्यानलाई कुनामा सम्हालेर राखेजस्तो त हुँदैन । लालाबाला सम्हाल्नुपर्‍यो, घरका ठूलाहरूलाई पनि रेखदेख गर्नुपर्‍यो, बाहिरकालाई रिझाउनुपर्‍यो । नत्र अलिकति कुनै कुरामा पेच खुस्कियो कि त फलानोकी स्वास्नी र फलानाकी बुहारी त के सारो बेसोमती भनेर अफवाह फैलिने डर !
यसैले पनि गाउँघरतिर व्यक्तिगत रहर र आकांक्षा एकातिर छेउ लगाएर, आरामविराम नभनी जुटिरहनुपर्ने 'निको बेहोरा' बुहारीहरूले साबित गर्नुपर्छ । काका कमाउन विदेश गएपछि भएकी एउटी सासू र दुई छोरीको हेरविचारसँगै भान्सा र गाईबस्तुको बोझ काकीले उठाएको देख्थेँ । दसैँमा माइती जाउँला भनी कति रहर पालेकी थिइन् होला काकीले । तर कता हो, दसैँकै मुखमा माइतीतिरका आफन्त खसेपछि त्यो बाटो बन्द भएर घरमै अल्झिनुपर्‍यो तिनले । भाउजूको कुरा पनि त्यस्तै । तिहारमा रोटी, पकवान सबै ठीकठाक पारी बल्ल उनी भाइटीकाको अघिल्लो दिन साँझपख घरबाट माइततिर फुत्किन पाइन् । ती भाउजूले 'आऽऽ होस् है जान्नँ यसपाली माइत' भनेको भए सासू आमैले कहाँ भन्थिन् होला र 'आबुई के भनेकी दुलही तिम्ले, वर्षदिनको चाडमा नगएर हुन्छ माइत ? जानुपर्छ बा जाऊ ।' ती सासू मात्र होइन, अधिकांश सासूहरूको इच्छा आफ्नी छोरी माइतीघर आओस्, अलि दिन बसोस् भन्ने हुन्छ । तर बुहारी चाहिँ चाडपर्वको धपेडीमा सेवाटहल गर्न घरमै बसिरहोस् भनेजस्तो गर्छन् उनीहरू । त्यस्ता सासूहरू बिर्सिन्छन्, आफ्नी छोरीको घरमा पनि सासू छिन् । छोरीकी ती सासूले पनि आफूले बुहारीलाई गर्ने जस्तो सोच राखिन् र व्यवहार गरिन् भने ???
नोभेम्बर २७, २००८

13 November 2008

अस्ताएको छैन है उदयपुर !

"नाम मात्र उदयपुर हो यसको, यसलाई त खासमा अस्तपुर भन्नुपर्ने ! कहिल्यै नउदाउने गरी अस्ताइसकेको छ यो ", जिल्लामा साथीभाइको जमघट भयो कि त कुनै न कुनै सन्दर्भमा गाँसिएर यस्तै निराशाजनक टीका-टिप्पणी चल्थ्यो । कहिले एउटाको मुखबाट कहिले अर्कोको । मेरो तालुमा पनि यस्तो निराशाको जुरो पलाउँथ्यो ।

पूर्वी नेपालको एउटा जिल्ला आञ्चलिक 'ट्याग'मा सगरमाथाको निधार टाँस्दै सगरमाथाकै काखमा रहेको भए पनि गर्विलो उँचाइ बिना जिल्लावासीहरूकै मनभित्र पिल्लिएर दुख्‍ने गर्थ्यो । खासगरी हामी युवाहरूको मन । जिल्लामा केही सिर्जनशील गतिविधि सुरू गर्थ्यौँ, खोइ केले बिथोल्थ्यो- बिथोल्थ्यो । सामुहिक अभियान पनि केही समय गुज्रनासाथै ओथारो बसिहाल्थ्यो । समूहको आडबाट 'स्वयम्-सेवा' को लक्ष्यसहित ठूलै भाग खोज्ने अभियानकर्ता साथी नै उल्झनका अजस्र स्रोत बन्थे । अनि त भित्तामा अडेसा लागेर खुइय्य काढ्नुसिवाय बाटो हुँदैनथ्यो । एउटा विचित्र प्रसङ्ग, त्यसरी खुइय्य काढ्नलाई भने कसैले बिथोल्दैनथ्यो । तब मगजमा उपयुक्त जच्ने गर्थ्यो अस्तपुरको चिनारी । खासगरी, फेरिएको यो नमीठो नाम साहित्यिक-सांस्कृतिक लगायतका ज्ञानगुनको पाटोमा उदयपुरको चलखेल शून्यप्राय: रहेको र दुई-चार जना मिलेर केही गरौँ न त भन्दा पनि कसरी-कसरी भाँडिइहाल्ने भएकोले हामीले थकथकी हुँदै लगाइदिएको लाहाछाप थियो । त्यसरी हाम्रो जमघटको चेपोमा च्यापिएर कठै उदयपुर 'अस्तपुर'मा चर्चित बन्थ्यो र क्षणमै गुमनाम छोडिन्थ्यो ।

यसपाली जिल्ला जाँदा पहिलेको त्यही उखान मनभरि हल्लियो । उदयपुर-अस्तपुर । जमघटमा लहरिने ती साथीहरू त भेटिएनन् तर उदयपुर उही थियो, मेरो आँखाभरि चढेको । यसलाई फुर्सदले नियालेँ, भर्खर नुहाएर ताजा बनेकी नवयुवतीले लयालु केशराशि एक-एक मुसारेझैँ । तब निचोड निकालेँ- साँच्चै, उदयपुर अस्ताएको रहेनछ । झलक्क एक झमट हेर्दा मात्र घामको बाफ फेला परेको रहेछ । यसको पिँधमा पो रहेछ- भुलभुलाएको भुतभुते तातो र सिनिक्क उज्यालो । यसपालीको डेढमहिने जिल्ला बसाइका क्रममा धेरै कुरा हावाजत्तिकै छोइने रुपमा मनन गरेँ, नि:श्‍वास होइन सन्तोषको फोहोरा छुट्यो ।

उदयपुरवासीले आफ्नै हातामा एफएम रेडियो पाएका छन्, अर्को स्टेशन शीघ्र सञ्चालनको तयारीमा जुटेको छ । त्यसले पनि सूचनाको ससानो क्रान्तिबाट सभ्यतामा आयाम थप्दै जाने आशा गरौँ । अफसेट प्रेसको सहज उपलब्धताले पत्रपत्रिका प्रकाशनको फड्कोसँगै सङ्ख्यात्मक वृद्धि चुलिँदो छ । खासगरी साप्ताहिक खबरपत्रिका । लेख्‍नेहरू लेखिरहेका छन् । बकुल्लाको हूलमा काग जुनसुकै क्षेत्रको टर्रो यथार्थ हो, साहित्यमा पनि यस्तो अवस्था छ । झन् भर्खरजसो साहित्यिक चालचुलको सामुहिक बाटो समाएको उदयपुरजस्तो ठाउँमा साहित्यको आवरणमा आफ्नो गोरखधन्दा सपार्ने खेती हुनु अस्वाभाविक नहोला । त्यस्ताहरू समयसँगै अवश्य पाखा लाग्नेछन् र भूमिका रच्नेहरूले न्यायपूर्ण स्थान पाउनेछन् ।

यहाँ माटो राम्रो छ, मुख्यबाली धान उधुमले फल्छ । पछिल्लो समयमा तरकारी खेतीमार्फत जीवनस्तर उकास्ने कार्यमा गाउँघरमा होडै चलेको पाइन्छ । उत्पादित तरकारी स्थानीय बजारमा विक्री गर्न पाउँदा गाउँलेहरू दङ्ग छन् । मुलुकभरमै गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने रूपमा चिनिएको सिमेन्ट कारखाना उदयपुरमै छ । त्यसकै अनुग्रहबाट कल्पेभन्दा द्रुत समयमा सदरमुकामसम्म पक्की सडकको विस्तार र गाउँघर छिचोल्दै पहाडी भित्ताको चुनढुङ्गा खानीसम्म पुग्ने ग्राभेल सडक पाएको भूमिले केही भागलाई छाडेर नगरपालिका हुने सौभाग्य पनि पाइसकेको छ । थप सडक निर्माण, सुधार र विस्तारको कार्य भइरहेको छ ।

तर, सहरी भेगमा प्रतिलिटर ३४-३५ रूपियाँ पुगिसकेको गाई-भैंसीको दूधको मूल्य जहाँ अझै पनि किसानले प्रतिलिटर २०-२२ रूपियाँभन्दा बढी पाउन सकेका छैनन् । तैपनि गाउँलेहरू काइ परेका डब्बा-डब्बीमा दूध भरेर 'उपायनास्ती' भन्ने भावमा एकाबिहानै लुखुरलुखुर चौकको डेरी सेन्टर धाइरहेछन् । मानौँ गाउँलेहरू सोच्दा हुन्- 'हे डेरीवाल हाम्रो ठाउँमा दूध बटुल्न बसेर ठूलो पुन्य गरेका छौ बाबै !' र भित्रभित्रै कृतकृत्य हुँदा हुन् । तर डेरीवाल गाउँले वा आफ्नो फाइदाको लागि दूध सङ्कलन गर्न बसेको छ ? कसको लागि दिनदिनै गाडीमा २०-२५ किलोमिटर धाएर दूध ओसार्ने गर्छ, भन्नु परोइन ।

यिनै आशा-भरोसाका प्रसङ्गसँगै CaFe को भित्तामा उतै जिल्लाबाट ल्याएको चित्र-चर्चाको पोको फुकाउँछु । यी तस्बिरहरू मेरो सुखी मनले छाम्नभ्याएका उदयपुरे रङ हुन् । यिनलाई आँखीझ्यालको बहाना बनाएर म भोलिको साँच्चिकै उदयपुरको उज्यालो संसार हेर्न खोज्दैछु । सुन्नू है, अस्ताएको छैन है उदयपुर !


मगमगिँदो भोक : रसिलो पर्खाइमा अम्बाको झुन्ड

मेरो सेरोफेरो, उपत्यका घेरो


प्रेमभित्रको गुलियो प्रसाद

नेपाली सुन खिइएला है आफैँबाट !

साना मानिस, सानै हतार र हाटबजार


काली हुँ या गोरी, गाउँकी म छोरी

पुग्दा सोचको खानीसम्म : चुनढुङ्गा ओसार्ने घिर्लिङ र स्थानीय चौक

नोभेम्बर, २००८ © जोतारे धाईबा

09 November 2008

अर्थात् अग्निशिखा

शब्दका खेलाडीहरूलाई, अक्षरका प्रेमीहरूलाई शुकदेव नेपाल नामको अस्तित्वसँग कुनै परवाह नहुन सक्छ । ५३ वर्षघिको जन्मसमयमा (सम्वत् २०१२ असार १८) शुकदेवकी आमाले त्यो प्रसव पीडाबाट झट्ट छुट्टी लिएर सायदै सोच्न भ्याइन् - छोराको कर्मयात्रा र गहुँगोरो भविष्य । तिनै शुकदेव समयक्रममा अग्निशिखाको पहिचानमा सिर्जनशील जीवनको इतिहास कोर्दै देखापरे । जीवनमा देखापर्नुजत्तिकै स्वाभाविक डुङ्गामा अग्निशिखा जीवनको नदीबाट पारि तरे, दायाँ-बायाँ धारमा कृति र कीर्तिका छालहरू छचल्काएर छाड्दै ।
दसैँको टीका सम्झिँदै राजधानीबाट जिल्लातिर फाल हान्दै गर्दा काठमाडौँ खाल्डोबाट बाहिरिने गल्छीमा थामिएको बसले अखबार किन्नलाई फुच्चे हकर जुराइदिएको थियो । असोज ७ गते बिहानको कुरो । तब अखबार समाउनासाथै पहिलो पाताले नै टाउकोमा दसैँको टीकाभन्दा वजनदार टाँसो पोतिदियो । पढ्छु- हृदयाघातबाट अग्निशिखाको निधन । शिखा त अघिल्लो दिन बिहानै सांसारिक चोलाबाट बिदावारी भइसकेछन् । एउटा हृदयाघातले यता अर्को घात मलाई दियो । सती वयरको झ्याम्टाले पाखुराभरि कोतरेजस्तै पिरो भयो ।
हृदयाघातको बिरामी हुनु भनेको त्यस्तो हो, म कल्पना गर्छु, त्यो झट्कासरि झ्वाट्ट आउँछ, सायद पीडितलाई पनि पीडाको फुर्सदिलो हिसाब नहुनेगरी । कतिपयलाई हृदयाघातले धेरैपटक जिस्काइरहन्छ र पनि केही गर्दैन । धेरैजनालाई यसले पहिलो चुम्बनमै एकैचोटि कलकलाउँदो जीवनबाट चुँडेर लैजान्छ । अग्निशिखा नेपाली साहित्य र सञ्चार क्षेत्रका त्यस्तै एउटा फूल भएर झरे ।
अग्निशिखा मार्क्सवादी चिन्तनका पक्षधर । आज धेरै मान्छे पार्टीको छातामुनि ओतिएको आधारमा कम्युनिस्ट हुन्छन्, पार्टीले कम्युनिस्ट ! यस्तो लाग्छ, यो रोग छिपछिपे क्रान्तिकारिताको कीरा लागेका दूषित मनहरू अवस्थित हाम्रो जस्तो मुलुकको अब्बल विशेषता र धरातलीय यथार्थ हो । तर अग्निशिखा विचारले कम्युनिस्ट थिए, त्यही भएर बाँचे । मरणोपरान्त कुन पार्टीले उनको शवमा झन्डा ओढायो, यो विषय होइन । विषय हो, उनी कस्तो व्यक्तित्वको गुदी लिएर समाजको निरन्तरको कायापलट-दौडमा आफ्नो जिम्मेवारीमा कतिसम्म वेगिए ? यस मानेमा पुष्ट फलयुक्त पक्का छवि मेरा आकलनमा उनको रहृयो ।
२०६० चैत्रताका उनको पुस्तक आस्थापुञ्ज किनेको थिएँ, डिल्लीबजारको कुनै पुस्तक पसलबाट । मसँग भएको उनको त्यही मात्र एउटा किताब हो । जुन किताब उनले यसरी समर्पण गरेका छन् -
समर्पण
ती सबै कम्युनिस्टमा
जसले कम्युनिस्ट हुनुको गौरवलाई
आफ्नो स्वार्थपूर्तिको लाइसेन्स बनाएनन् ।

समर्पणको ओज निकै गहन हुन्छ । यसको अर्थ आलाकाँचा ठिटा-ठिटीको 'म तिमीप्रति मन-मगजले पूरै समर्पित छु प्यारा/प्यारी !' भन्ने स्पस्टीकरण बोलमा हुन्न । समर्पण मनको बोलीबाट गरिन्छ, रगतमै गुन्जिएको हुन्छ । शिखाको उक्त हक्की मनबोलीबाटै थाहा हुन्छ उनी बिना लाइसेन्सका कम्युनिस्ट थिए । त्यसभन्दा पहिलो र प्रमुख कुरो, उनी मानिस नै भएर बाँचे ।
अन्तर्राष्ट्रिय मामिलामा विशेष दखल राख्ने शिखा पत्रकारितामा पनि त्यही ज्ञानलाई अस्त्र बनाएर चल्तापूर्जा पाठकप्रिय लेखक/स्तम्भकार रहे । पछिल्लो समयमा नयाँ पत्रिका राष्ट्रिय दैनिकमा सहायक सम्पादकका रुपमा क्रियाशील उनी राजनीतिक पृष्ठभूमिमा विभिन्न अन्तर्राष्ट्रिय क्रान्तिकारी हस्तीहरूको गौरवशाली जीवन-इतिहास केलाउनमा बढ्ता रुचि राख्थे । उनका प्रायशः पुस्तक पनि तिनै शिखर व्यक्ति-व्यक्तित्वका जुझारु जीवनकथा समेटिएको रुपमा प्रकाशन भएको पाइन्छ ।
यो सबै मेरो बिलौना र चर्चा पनि अब यतिखेर मृत्युपछिको आराधना भइगयो । तर उनको जीवन छँदै पनि जब्बर प्रतिभा भनेर मनभरि राखेको कद हो- अग्निशिखा । बाब्बा ! कसरी लेख्न सकेका होलान् यतिविघ्न गहिरो विवरणको र कलात्मक बान्कीका लेखहरू !! त्यो पनि विदेशी अनुहारहरूका ! पढेर म चकित हुन्थँ ।
गत असोजको सुरुवाती दिनमा भएको सामुहिक जमघटमाझ नयाँ पत्रिकामा कार्यरत मेरा सहपाठी अर्जुन पौडेलसँग प्रसङ्गवश अग्निशिखाबारे कुरा उप्काएको थिएँ । जिज्ञासासूचक भावले उनलाई सोधेको थिएँ - 'अफिसमा के गर्छन् अग्निशिखा चाहिँ ?' त्यतिबेला शिखा जीवितै थिए, उनी त जीवनको आखिरी घडीसम्मै कलमसँग एकाकार रहने सौभाग्यशालीमध्येका रहे । मेरो जिज्ञासामा अर्जुन बोले-'अनुवाद गरी बस्छन् उनी, जहिल्यै उनको जुटाइ त्यस्तै हो ।'
उक्त दैनिकमा सुरुवातदेखि कार्यरत अधिकांश पत्रकारहरूले पत्रिका छाड्ने क्रममा तीव्रता आएको सन्दर्भमा कुरा हुँदा सबै राम्रा मान्छे पत्रिकाबाट बाहिरिइसके भन्ने प्रतिक्रिया मित्र अर्जुनले दिएका थिए । अनि हतारिएर मैले 'अग्निशिखा त छन् नि ?' भनेर सोध्दा 'छन्' भन्ने जवाफ मिल्यो । मनैमनमा एउटा राम्रा मान्छे त (पत्रिकामा) रहेछन् नि भन्ने लाग्यो । तब मैले सोधेको थिएँ- 'के गर्छन् अग्निशिखा चाहिँ ?'
नयाँ-नयाँ अखबार प्रकाशन हुने तर्खर हुँदै गर्दा र नेपाली छापा संसार दक्ष जनशक्तिको तानातानी गर्न हाटबजारमा परिणत हुँदा त्यसको प्रतिफलमा छनोटको विकल्पहरू पत्रकारहरूको लागि खुला भएका छन् पछिल्लो समयमा । वर्षौँदेखि पुराना पत्रिकाहरूमा रहेर खारिएका पत्रकारहरूको 'बार्गेनिङ पावर' ती नयाँ प्रकाशनको सामु एक्कासि बढेको छ । वहाल रहेको अड्डामा भन्दा राम्रो अवसर भएमा अन्यत्र जान जोकसैको मन हुन्छ । यस कुरामा, अरुको अधिकारको कुरालाई स्वर भर्ने पत्रकार चुक्ने कुरै छैन । तर राम्राभन्दा राम्रा अवसर भन्दैमा यता र उता घस्रिने डुलुवा रोग लाग्यो भने पत्रकारको पनि खैरात हुन्न होला ।
अन्त्यमा, ३९ हस्तीहरूको जीवनगाथा सँगालिएको शिखालिखित पुस्तक 'आस्थापुञ्ज' को भूमिकाबाट उनी कसरी रमझम दुनियाँबाट ज्ञानगुनको बौद्धिक फाँटमा कोल्टे फेरे भन्ने प्रसङ्ग उनकै शब्दमा यहाँ खुलाउँछु । अनर्थ लाग्दैन भने यहीँनेर भन्न मन लाग्यो, तलको कायापलट-कथा पढ्दा रत्‍नाकर डाकू वाल्मीकीमा परिणत भएको किस्सा याद आउँछ । कस्तो लाग्छ, आफैँ पढ्नोस् है त एकचोटि -

'कुनै जमाना थियो- मेरा कोठामा खातका खात हिन्दी फिल्मी पत्रिका हुन्थे । म, फिल्मी नायक-नायिकाकै गफमा जुट्थेँ । सपनामा पनि नायक-नायिका नै देख्थेँ । हेमा र जीनतसँग सपनामा कुरा हुन्थ्यो, सायरा र शर्मिलासँग सपनामै भेट हुन्थ्यो । म र मेरो मामा-चेलो हिमाञ्चल भट्टराईको रुमानी संसार यस्तै थियो ।
एकदिन त्यो संसारमा जबर्जस्त हस्तक्षेप । त्यो दिन जब म र हिमाञ्चल फिल्मफेयर पत्रिकाका सामग्रीमा डुबिरहेका थियौँ । कभरमा छापिएको जीनतको ग्ल्यामरस फोटोमा मग्न थियौँ । अचानक जेठा मामा कोठामा आउनुभयो । केही भन्नुभएन, मेरो हातबाट फिल्मफेयर थुत्‍नुभयो । र, झ्यालबाट बाहिर फ्याँक्नुभयो । बिना एक शब्द बोली कोठाबाट बाहिरिनुभयो । म र हिमाञ्चल स्तब्ध भयौँ । हाम्रो रुमानी संसार चकनाचुर भयो ।
म मामासँग रिसाइनँ । मेरा आँखा खुले । कोठाबाट फिल्मी पत्रिका हटाएँ । फिल्म हेर्न छाडेँ । हिरो-हिरोइनका गफ पनि छुटे । कोठामा भित्रिन थाले प्रगतिशील साहित्यका पुस्तकहरू । गोर्की र लु शुन, प्रेम चन्द र हवार्ड फास्टका रचनामा हामी डुब्न थाल्यौँ । अर्थात्, अब सुरु भयो यात्रा हिमाञ्चलसँगै आस्थापुञ्जको आकाशतर्फको....।

नोभेम्बर ५, २००८ / © जोतारे धाईबा

******************************************************************