Subscribe:

Ads 468x60px

04 May 2008

उसका ती सपना (कथा)


॥ अनिता शिवाकोटी ॥
मकाएर भत्किन लागेको घर, भित्तामा पोतिएको रङ उडेर टाटेपाटे बनेको छ । भित्तामा टाँसिएको माटो उप्किएर भुइँभरि छरिएको छ । घरवरिपरि फोहोरै फोहोर छ । घरको छिँडीको एउटा कोठामा मधुरो बत्ती बलिरहेको छ । घर मुख्य सडकखण्डको छेउमै छ । तर पनि काम परेर गएकाहरूको बाहेक बाटो हिँड्ने कसैको ध्यान यो घरले तान्दैन । ढप्काइराखेको ढोका उघार्दै हामी दुईजना भित्र पस्यौँ । भित्र पस्न नपाउँदै कोठामा गुम्सिएको ढुसी हामीलाई स्वागत गर्न आइपुग्यो, सासै रोकिएलाजस्तो गरी । राजधानीभित्र पनि यस्तो घर ? पहिलोपटक म यस्तोघरमा छिर्दै थिएँ ।

एउटा बालक, अन्दाजी १३ वर्षो, किताबको बीचमा आफूलाई हराइरहेको छ । निकै लगनसाथ पढिरहेको देखिन्छ । हामी उसको कोठामा छिरेको उसले पत्तै पाउँदैन । मसँगै गएकी साथीले उसलाई बोलाई- 'विकास, कत्ति पढ्छौ हो ?' उसले हामीतिर हेर्‍यो अनि आङ तान्दै, प्रतिउत्तरमा मात्र मुसुक्क मुस्कुरायो । विकासको र मेरो पहिलो पटक भेट भएकाले मैले आफ्नो परिचय दिएँ । उसले पनि परिचय दियो- 'म विकास' । उसले आफूनजिकै रहेको स-साना दुईटा टुलतिर देखाउँदै भन्यो- 'बस्नुस् न !' उसले देखाएको टुलतिर बस्दाबस्दै मैले कोठाको चारैतिर नियालेँ । निकै मिहिनेत गरेर सजाइएको छ कोठा । कोठामा सामान निकै थोरै छन् र महँगा पनि होइनन् तर पनि निकै राम्रो र व्यवस्थित कोठा । त्यस्तो थोत्रो घरभित्र पनि यति राम्रो कोठा हुन सक्छ, कसले सोचेको होला ?



विकास कक्षा ८ मा पढ्दो रहेछ । आमा काठमाडौँको राम्रै विद्यालयमा काम गर्नुहुँदोरहेछ । बुबाको कुनै काम छैन । विकासका दाजु अरुको घरमा काम गर्न बस्दा रहेछन् । पढाइदिन्छु भनेर लिएर गएका रे तर दुईवर्ष भयो अर्को महिना भन्दै टारिरहेकाछन् रे । ऊ आफूचाहिँ आमाबुबासँगै बसेर नजिकैको सरकारी विद्यालयमा पढ्दै रहेछ । कार्यालयको कामको सिलसिलामा त्यहाँ पुगेकी हुनाले केहीक्षणको अनौपचारिक कुरापछि कामको कुरा पनि बिस्तारै अगाडि बढाएँ । झन्डै दुई घन्टाको बसाइमा हाम्रो काम सकियो । फेरि भेट्दै गरौँला है, तिमो सपना एकदिन अवश्य पूरा हुन्छ । मिहिनेत गरेर पढ भन्दै हामी बाहिरियौँ ।

बाहिर आएपछि चिसो हावाको झोकाले मुखमा हिर्काएपछि पो थाहा भयो, भित्र हामी कति गुम्सिएका रहेछौँ । कस्तो अचम्म, दुई घन्टाको बसाइमा नै त्यो गन्हाउने, निसासिने कोठामा झन्डै बानी जस्तै परिसकेछ । अथवा त्यो ढुसीलाई जित्यो विकासको कुराले । बाहिर शरीरमा चिसो हावाले छोए पनि मेरो निसासिरहेको मनलाई शान्त गराउने हावाको झोका मैले अनुभव गर्न सकिरहेकी छैन । मन झन् झन् गह्रुङ्गो हुँदै गइरहेछ । मानिसको भीडमा पनि हामी दुई प्राणी नितान्त एक्लै-एक्लै हिडिरहृयौँ ।

मनमा एकतमासले कुराहरू खेलिरहृयो....कसरी बस्दो हो ऊ जड्याँहा बाबुको रातोदिन कुटाइ खाँदै । बुबाले पिटेको नीलडाम उसले हामीबाट लुकाउने निकै असफल प्रयत्न गरिरहेको थियो । तर च्यातिएको लुगाले उसलाई साथ दिएन । हामी त्यहाँ पुगेपछि कुनामा किताब लुकाउँदै गर्दा, अनायास मेरो मुखवाट फुत्किएका प्रश्नको जवाफ दिँदा कति भक्कानिएको थियो उसको मन । मनलाई भक्कानिनबाट अनेकौँ प्रयत्न गर्दै उसले भनेको शब्द मनभरि गुन्जिरहेछ....'बुबालाई म पढेको मन पर्दैन, किताब देख्यो कि च्यातिदिनुहुन्छ । मैले पढ्दै गरेका किताब खोसेर धेरैचोटि त्यातिदिनुभएको छ बुबाले ।' आफूले यति माया गरेर अनि अरुले दिएका दुई-तीन रुपैयाँ जम्मा पारेर किनेका किताबहरू आफ्नै आँखा अघि च्यातिँदा के भएको होला उसको हालत । बिचरा विकास .......उसको त्यो निर्दोष अनुहार आँखाभरि छाइरहृयो ।

राती मातेर आएका बुबाले पिट्नकालागि कुनै कारण नै चाहिँदैन भन्ने कुरा उसलाई थाहा छ । त्यही भएर ऊ भन्छ, मलाई रात मन पर्दैन । दिउँसभरि सहरका गल्लीमा हल्लिँदै हिँडेका उसका बुबा राती मात्र आइपुग्छन् । अनि साना-साना निहुँ निकाल्दै उसलाई पिट्न सुरु गर्छन् रे । कति त्रासदीपूर्ण रात तर पनि उसलाई घर त्यागेर कतै जान मन लाग्दैन, आमालाई छाडेर । रातोदिनको कुटाइले होला त्यस्तो झिनो बनेको उसको शरीर । शरीरमा जहीँतहीँ घाउका चोट देख्न सकिन्छ । उसकी आमाले पनि कसरी सहन सकेकी होलिन् । आफूले धूलोमैलो, फोहोर केही नभनी कमाएर ल्याएको पैसा श्रीमान्‌ले खोसेर लग्दा पनि किन चुप लागेर बसेकी होलिन् ?

झसङ्ग पार्‍यो, छेउबाट गएको गाडिको कानैखाने हर्नले । यति त्रासमा, यति डरमा बस्दा पनि विकासको मनमा पढाइप्रतिको माया कत्तिपनि घटेको छैन । पढ्न चाहन्छ, उसलाई रातोदिन पिट्ने बुबा र आमालाई सुख दिनकालागि । ऊ भन्छ, 'आमाले धेरै दुःख गर्नुभएको छ । आमाको सपना साकार पार्नुछ ।' मेरो आमा त्यो स्कुलमा कुचो लगाउनुहुन्छ । त्यहाँ ठूलाबडाका छोराछोरी मात्र पढ्छन्, त्यसैले आमा भन्नुहुन्छ- छोरा, तैँले ठूलो भएर मैले काम गर्ने स्कुलमा पढाउनुपर्छ । त्यो स्कुलमा पढाउन त धेरै मिहिनेत गर्नुपर्छ । धेरैचोटि आमाले आफू नखाएर मलाई खुवाउनुभएको छ । मैले आमाले देखेको आमाले देखेको सपना पूरा गर्नुछ । त्यसैले बुबाको आँखा छलेर पढ्ने गर्छु । आमाको सपना सम्झँदा बुबाले कुटेको सबै कुरा बिर्सन्छु । आमाले देखेको सपनाका कुरा गर्दा उसको अनुहार कति दीप्त बन्यो । अनुहारको आभा एकाएक घामका किरणलाई बिर्साएर चम्किलो भएर आयो । मानौँ कुनै दिव्य पुरुष मेरो सामु उभिएको छ ।

हिँड्दाहिँड्दै थाहै नपाई कतिखेर कार्यालयमा आइपुगिसकेछु । कार्यकक्षको कुर्सीमा बस्दा पनि उसकै कुराहरू र अनुहार मनभरि घुमिरहृयो । सानो छँदा कक्षा दुईतिर होला, श्रवणकुमारको कथा पढेकी थिएँ । मेरी आमाले मलाई सधैँ श्रवणकुमारको उदाहरण दिँदै आमाबुबालाई यसरी नै माया गर्नुपर्छ भनेर सिकाउनुभएको कुरा दिमागमा आयो । अनि मनैमन सोचेँ- विकास हामीले पढेको श्रवणकुमारभन्दा कम छ ? तर अहिलेको श्रवणकुमार त्यो जीर्ण घरको उकुसमुकुस वातावरणमा हुर्किँदै छ । सोच्दासोच्दै वाण लागेर श्रवणकुमारको मृत्यु भएको कथानक मोड दिमागमा आएर झसङ्ग बनायो, पसिनापसिना भएछु । कतै ऊ पनि हामीले पढेको कथाको श्रवणकुमार जस्तै वाण लागेर ...........। अहँ होइन, उसका सपना जसरी पनि पुरा हुनुपर्छ । उसले आमाको सपना जसरी पनि पूरा गर्नुछ । तर उसले बाँचिरहेको जीर्ण परिवेशमा त्यो सम्भव होला र ? प्रश्न कोठाको चार भित्ताभरि मसँगै गुम्सिएर रहिरहृयो ।

- सानेपा, ललितपुर

No comments:

Post a Comment