May 8, 2008

हो, मैले तिमीलाई नै भोट दिएँ ! (कविता)



- कुसुम ज्ञवाली


हो,
मैले तिमीलाई नै भोट दिएँ
तिमीलाई खुवाउँदा खुवाउँदै
घरमा अन्नको गेडो बाँकी थिएन
ऋण नतिरे साहुले घर छोड्न भन्यो,
छोराले पठाएको पैसा नदिए
तिमीले घर छोड्न भन्यौ,
मर्न काल आएन
जन्मेको माटो छोड्न सकिनँ
यसपल्ट मेरो अहोभाग्य
अब कहिल्यै केही नमाग्ने सर्तमा
तिमीले जाबो एउटा भोट माग्यौ
हो,
मैले तिमीलाई नै भोट दिएँ
मेरो बास जोगाउनका लागि
मसँग तिमीलाई दिन बाँकी
अरु केही थिएन ।
♦♦♦

मेरो लुरेका बाबुलाई तिमीले लगेका हौ
मैले मेरा खसमको हाल खबर मागिनँ
मैले मेरा देवताको लाश वा श्वास मागिनँ
तिमीले बैँकबाटै लुटेको
मेरो मङ्गलसूत्र सम्म पनि मागिनँ
मैले सशूल्क कार्यकर्ताले जस्तो
तिमीसँग भत्ता मागिनँ, सत्ता मागिनँ
तिमीले टाट्नाको खसी माग्यौ
तिमीले कुखुराको भाले माग्यौ
मेरो बस्ने झुप्रो पनि माग्यौ
मसँग भएका यावत् चीज माग्यौ
हामीले नाईनास्ती गर्न कहिले पो पायौँ र
भए पनि नभए पनि टक्र्यायौँ
यसपल्ट मेरो अहोभाग्य
अब कहिलै केही नमाग्ने सर्तमा
तिमीले जाबो एउटा पैसै नपर्ने भोट माग्यौ
हो,
मैले तिमीलाई नै भोट दिएँ
मसँग तिमीलाई दिन
अरु केही बाँकी थिएन ।
♦♦♦
वृद्धभत्ता ल्याइदिने
डाँडाघरेको पनि कसले खुट्टा भाँचिदियो रे
भोट माग्न यसपल्ट कोही गाउँ छिरेन
यो चैतेदसैँको अक्षताका लागि
चामल पनि थिएन
धन्य टीका थापिमाग्न आएनछौ
मलाई आशीर्वाद र श्रापमा भेद थिएन
यसपल्ट मेरो अहोभाग्य
अब कहिलै केही मागेर नपिरोल्ने सर्तमा
तिमीले जाबो एउटा पैसै नपर्ने भोट माग्यौ
हो,
मैले तिमीलाई नै भोट दिएँ
अन्तिममा ज्यान जोगाउनका लागि
मसँग तिमीलाई दिन
अरु केही बाँकी थिएन ।
♦♦♦
- गुल्मी ।

No comments:

Post a Comment