Subscribe:

Ads 468x60px

04 May 2008

'गाउँ रुवाई म आएँ...'

धेरै दिनदेखि एकतमास भइरहेको मनले साथीको गुनगुन खोजिरहेको रहेछ । जब साथीको सङ्गतिमा झ्याम्मिएँ, औषधिको काम गरिहाल्यो । मन कति बोझिलो र दिमाग कति जेलिएको रहेछ भने, बितेका उल्लेखनीय दिन सँगालेर शब्दहरूसँगै ब्लगको आँगनीमा नाच्न नपाउँदा ममा गाँठिएर बसेको उखरमाउलो सकसक साथीसामु सरक्क फुकिहाल्यो । कम्प्युटरमा युनिकोड सेटिङमा खराबी देखिएकाले केही समययता लेख्न नपाएर आफ्नो संसार आफूमै सीमित राख्नुपरेको थियो ।

अब कुरो शुक्रबारे साथीको । साथी ऊ गनी अन्सारी । कान्तिपुर एफएमको न्यूजरुमबाट सातामा बल्ल एकदिन मिल्ने फुर्सद उसलाई कत्तिको बिझाउँदो हो ? बिझाउनु कहाँ, बरु सायद फारो गरीगरी पलहरू चाख्न पनि नपुग्दो हो । यसैले ऊसँगको शुक्रबारे साथ आक्कलझुक्कल जुर्छ । जुरेपछिको शुभ लग्न - ऊ बराबर म मक्ख र भरिपूर्ण ! मानौँ तब हामी नयाँ ग्रहको खोजी र प्राप्तिसँगै जिन्दगीको असली मोक्ष भोगिरहेका हुन्छौँ ।

गनीसँग स्नातकसम्मको मेरो कलेज-यात्रा मध्यम लयमा कुदेको थियो । अर्थात् बरोबर आत्मीय भेट भइरहे पनि चुम्बकसरि एकै ढिक्का बन्ने घुलमिलमा हाम्रो सम्बन्धले उस्तो शक्ति देखाएन । र पनि बरोबरको आत्मीय भेटमा हामीले आ-आफ्ना खुजुरा पलहरू आपसमा विनिमय गर्दै आयौँ, तृप्तिको हद यो के कम थियो र ! अनि यो पनि, अहिले साताको बल्ल एकचोटि त्यो पनि चिठ्ठाजस्तै मिल्ने भेटघाटमा हामी दुई कति निकटतासाथ पेश हुन्छौँ भने मानौँ अफ्रिकाको भोकमरीग्रस्त इलाकामा एउटा बालकको पेट र ढाड एउटै भएझैँ हाम्रो प्रियता छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सहरका भित्ताभरि टाँसिएका पोस्टरहरू झिलझिलाकार रहँदै मे २ शुक्रबार अनेक धपेडीबाट उम्किएर हामी फेरि जमघटमा आमनेसामने मिसिएका थियौँ । यो पनि एउटा दिन थियो सायद, चिठ्ठै परेर आएको । पुतलीसडकछेउको भीडभाडमय साइबर क्याफेको स्टेशनमा नियोजित रुपमै हामी भेटियौँ । क्याफेमा केहीबेर ऊ अन्तर्राष्ट्रिय वेबसञ्जाल 'हाइ फाइभ' को फेभरमा डिग्री नाप्ने धुनमा देखियो । दिल र दिमागको थर्मोमिटरमा पारो कति उक्लियो हँ ?

यताउता नापजाँच गरेपछि आयो निष्कर्षः +२ को परीक्षाको तयारी गर्दै गरेकी मोरिससकी साथी मिजाहले खूब मन दुखाइछ । साथीले मन कुँढिनेगरी लेखेको मेसेजले गनी त्यो मेसेजभन्दा मूड अफमा देखियो । साथीबीच निकटता बढ्दै गएपछि अपेक्षा बढ्दै जान्छ तर परिस्थिति सहज नहुँदा चित्त कतिबेला कति टुक्रा आलुमा परिणत भएर फ्रेन्च फ्राइ बन्छ, भन्न सकिन्न । अनि त चोखो मित्रतामा पनि मुटावले डेरा बनाइहाल्छ । गनी र मिजाह त्यस्तै कष्टकर अवस्थाको नमूना बन्दै थिए । अनि बतासियौँ हामी बागबजारको एक चिया कुनोमा ।

भए कुरा सम्बन्धका...
भए कुरा साथी र असमझदारीका...
भए यान्त्रिक नाटकीय संसारका...
भए घरपरिवारको ममताका...
भए अनपेक्षित बढ्ने दूरीका...
भए अनि यस्तै विविध आँसुजस्तै नरम वेदनाका कुरा ।

बोल्यो अगाडि ऊ- 'एउटा दाइले सोध्नुभयो, भाइ तिम्रो ईश्वरसँग प्रार्थना गर्दा माग्नचाहिँ के माग्छौ ? जवाफ मुखैमा थियो - 'दाइ, म कोही केटीसँग मेरो प्रेम नभइदेओस् भनेर पुकारिरहेको हुन्छु ।' गनीलाई थाहा छ सम्बन्ध मीठो हुन्छ, तर एकजनासँग बढेको निकटताले छँदाखाँदाको सारा दुनियाँसँग टाढिनुपर्ला भनेर ऊ प्रेम नपार है हे ईश्वर भनेर प्रार्थना फुसफुसाउँछ, कति अनौठो ! र, उसलाई त्यो एकजनासँग बढ्ने प्रेममा भर पनि छैन, सँगै हिँड्दाहिँड्दै कुन विन्दुमा आफ्नो मन कहालीमा डुब्ला र दुख्नुपर्ला भनेर उसलाई अत्यास लाग्छ । यसैले गनी सीमाबन्द छ सायद नारी संसारदेखि । उसको कुरा धेरै हदसम्म साँचो होइन र ?

पर्साको घर र छिमेकमा उसले प्रशस्त माया पाएको छ । पढाइ र अनुशासनमा ठीकठाक । एक जमानामा साथीहरू उसैको चिठी पढ्नलाई व्याकुल बन्थे । यसैले राजधानीबाट घर गएर फेरि फर्किने बेलामा उसका साथीहरू पिरोलिन थाल्छन् । बिदावारी भएर हिँड्दाहिँड्दै सडकछेउ लामबद्ध साथीभाइ भक्कानिएर बोल्छन् - 'हेर् गनी, पछाडि फर्किएर नहेर् है, हामी खप्न सक्दैनौँ जाने बेलाको तेरो निन्याउरो मुहार हेरेर, जा सरासर है नत्र रोइदिन्छौँ ।'

'यार, गाउँ रुवाई म आएँ', सडकमा उभिएकोउभियै गनीले शुक्रबारको छुट्न साँझमा मलाई सुनायो । तर यो सडक पर्साको थिएन, काठमाडौँको दरबारमार्गसामु संस्कृत छात्राबासको अघिल्तिर गनीको कमलो संवेदनालाई छाम्दै थिएँ । तर काठमाडौँमा आँसु कसको छ र रोइदिनलाई गनी ? मलाई सोध्न मन थियो । तर दायाँ कम्मरमा झोला फिर्‌फिर् नचाउँदै ऊ सडकपारी हुँदै क्षणमै ओझेल पर्‍यो।

***
मे ३ २००८ (नक्साल)

No comments:

Post a Comment