Subscribe:

Ads 468x60px

13 June 2008

सहरिया गाउँको खबर (आँप संस्मरण)

मे २३ (जेठ १०) गते काठमाडौँ छोड्दा बालापनमा नाङ्गैभुतुङ्गै रल्लिएको उदयपुरको माटो पक्रिहाल्ने हतारो थियो । यात्रामा साथी हुनलाई साथमा काकी तम्तयार हुनुहुन्थ्यो अनि थिई बहिनी, फुपूकी छोरी । कताकता नरमाइलो उकुसमुकुस पनि साथै थियो, निकटतामा रत्तिएका चीजबीजको सङ्गतिदेखि केही समय विमुख हुनेछु भन्ने अनुभूतिले । र पनि घरको गहिरो प्रीतिले तानेरै डुबाउन बोलाएको थियो ।

यात्रा सहजै पार भयो, स्कुलस्तरीय पाठ्यपुस्तक पाइएन भनेर चितवनमा विद्यार्थीहरूले गरेको २ घन्टे चक्काजामबाहेक । यस्तैयस्तैमा अलिक बेर भयो र पनि साँझपख त टुप्लुक्क घरको आँगन टेक्न पुगियो । सन्तान आफ्नो समीपमा आएको खुसीमा मक्ख परेको ममीको मुहार देख्दा यात्राभरिको सबै थकाइले छुट्टी लियो । अनि त खाना खाइसकेपछि आरामले आमा-छोराको भलाकुसारी चल्यो । र पनि आमाको मन हो, थकाइ लाग्यो छोरालाई भनेर बिछ्यौनातिर मार्गनिर्देशन भयो ।

घर पुगेपछि त्यही हो, खानपानमा जोड दिनैपर्ने प्रेमिल बाध्यता, ग्रामीण हावापानीको शुद्धता, साथीभाइको सहरप्रतिको चाख र सोधखोज, जताततै हरियो एकरुपता......। कतै हरियो मकै पोलेर खाने बेला भएको छ, कतै बोट र घोगा नै झिरिप्प सुकिसकेको छ । धानको बीउ राख्न धमाधम छ । आँप, लिच्ची र हरियो मकै बिस्कुट र चाउचाउका काटुनमा हाल्दै दूरदराजका आफन्तकहाँ कोसेली पठाउने मान्छेहरूको ताउरमाउर पनि कतिविघ्न रहरलाग्दो ! रुख कटहर तरकारी खाने उमेरभन्दा छिप्पिन थालेछ, अब त अलिबेरमै पाकेको गुलियो स्वाद । उता भुइँकटहर भर्खर दानामा रस हाल्दै छ ।

काठमाडौँमा गणेश हिमालले साउती मारेको चिसोपनमा बसिरहेको मान्छे भित्री मधेसको गाउँ छिर्दा गर्मीले छोपिहाल्यो । जुनसुकै कुरा पनि बानी रहेछ । पछि बस्दै गर्दा त्यही गर्मी शरीरमा बस्दै गयो । यसपालीको मौसम केही विचित्र नै रहेछ, जेठ मध्यतिर पाक्नुपर्ने जातका आँप पनि काँचै रहृयो । घर बसुन्जेल एक चानो आँप मुखमा परेन । र पनि यतिखेर आँप-संस्मरण लेख्न बसेको म । अचम्म छैन त ? कोरेसोमा कोरेर छोप हाली बनाएको आँपको ताजा अचार भने मजाले खान पाइयो, त्यो पनि ममीको हातको जादु !

घर गएको बेला एउटा कुरा भने दुःखपूर्ण हुने गर्छ, एउटा फुटेको अक्षर पनि पढिँदैन । दुईचार दिनको पाहुना बनेर रमाइन्छ, त्यस्तैमा फर्किने बेला भइहाल्छ । वल्लो घर पल्लो घरको डुलाइ, साथीभाइ भेटघाट, सदरमुकामको सफर, खेतका आलीहरूमा चक्कर...... अनि त पढ्ने कुरा कता-कता । तर पनि यसपालीको २० दिने बसाइमा कसो हुनाले दुई औपन्यासिक किताब छिचोल्न भ्याएँ- फ्रान्सेली साहित्यकार अल्वेर कामुको (परचक्री) लाट्रेन्जर र जर्मन लेखक फ्रान्च होलरको ढुङ्गाको बाढी । दुवैले उत्तिकै मन छोए । कामुको परचक्रीमा एक ठाउँमा म पात्र मरसोल्ट सम्झिन्छ-'आमाले भन्नुहुन्थ्यो-'मानिस सबै किसिमले दुःखी र अभागी हुँदैन, यस्तो बेलामा पनि सुख दिने केही कुरा हुन्छ ।' आशा जगाउने कुरा पुस्तकमा फेला पार्न सक्नु, यही त हो अक्षरहरूको उपहार । जुन ११ तारिखमा राजधानी फर्किने बिहान मेरी ममीले पनि मलाई सायद मौन भावले यस्तै केही आशीर्वाद दिइरहनुभएथ्यो ।
***
जुन १३, २००८ (नक्साल)

No comments:

Post a Comment