Subscribe:

Ads 468x60px

27 June 2008

भवतु सब्ब मङ्गलम् - २

धर्ममा रौनकताको पुच्छर

विपश्यना शिविरभरिको यात्रामा धेरै कुराहरू देखिए, अहिले सम्झिँदा लेखेर उतारिनसक्नुका लाग्छन् । तर केही रोचक संस्मरण प्यारा ब्लगप्रेमीहरूलाई बाँड्नु त छँदै छ । त्यही कर्तव्य सम्झिएर यहाँ केही शब्दहरूको पिर्का बिछ्‌याएको छु, भान्छा कस्तो भयो प्रतिक्रिया पाउने नै छु । जुन १४ को शनिबारे मध्यान्हमा ज्योति भवनको भुइँतल्लामा आँखा नै आँखाहरूको मेला लागेको थियो । नयाँ ठाउँ जाने पूर्वसन्ध्यामा ती धेरै आँखाहरूमा यस्तो कौतूहलता टल्किरहेको थियो, मानौँ तिनले भनिरहेका हुन्- त्यहाँ गएपछि के होला, १० दिनसम्म पक्क नबोलीकन टिक्न सकिएला कि नसकिएला, अनि दिनको १० घन्टा पलेँटी कसेर आँखा चिम्लिएर गजधुम्म बस्नु कति पीडादायी होला बाबै !.... यस्तै कौतूहलमा चम्किएका एक हूल आँखाहरूको बखान यस पानामा :

हरे त्यो जोडी !

त्यो जोडीलाई प्यारप्यारे जोडी भन्दा हुन्थ्यो । ध्यान शिविर पुगेको साँझमा कोठाको बेडमा झिटीझाम्टा बिसाउन नभ्याउँदै दुईमध्येको एकले सोधिहाल्यो- 'खाजा खाइयो ? जानु न खानू, हामीले त खाइसकेको ।' एउटा कोठामा आठवटासम्म बेड राखेर साधकहरूलाई बासको प्रबन्ध गरिएको थियो । आठवटा बेडमध्ये दुइटा तिनको भागमा परेको रहेछ । पछि थाहा भयो दुवै कति बोलक्कड तर मिजासिला रहेछन् । १० दिनसम्म इशारा, सङ्केतसमेत नगरी आर्य मौनको पालना गर्नुपर्ने नियम भए पनि यिनले दोस्रो-तेस्रो दिनमै मौन नियमलाई धोती न टोपीको पारिहाले । अर्थात् नियम भङ्ग । साधक-साधिकाहरूको सेवा-व्यवस्था तथा नियमको कडिकडाइको लागि शिविरले व्यवस्था गरेको धर्म सेवकहरूलाई पनि यिनले हायलकायल पारेको देखियो । यी दुवै विपश्यना र ध्यानशिविरबारे सबै कुरा बुझेर आएका रहेनछन् भन्ने तिनकै आपसी वार्ताबाट थाहा भयो । कुनै गुम्बाको भन्ते (भिक्षु) ले पठाएकाले यिनीहरू आएका रहेछन् ।

ध्यानसाधनामा सबैजना जम्मा हुने धम्म हलमा ध्यानको क्रमसँगै साधक-साधिकालाई आलोपालो बोलाएर आचार्यज्यूहरूले अनुभव सोधपुछ गर्न नाम बोलाउने क्रममा थाहा भयो यी मिजासिला युगल मनुवा रहेछन् - लगनखेल ललितपुरका शङ्कर श्रेष्ठ र स्वयम्भूका सुमित शाक्य (ओवास) । शङ्कर व्हाइट हाउस कलेजमा १२ को जाँच दिएर बसेका अनि सुमित डीएभी कलेजमा १२ पढ्दै गरेका । हलमा ध्यान सकेर कोठामा आराम गर्न फर्किँदा देखिन्थ्यो, कतिबेला घन्टी बज्नासाथै कुदेर यी दुइले आ-आफ्नो बेड तताइसकेका हुन्थे । घन्टा-घन्टाबीचको ५ मिनेटको विश्राम पाए पनि यिनको शरीरले हतारिँदै बिछ्यौनाको उही नरम आधार खोजिहाल्थ्यो । कोठामा छिर्नासाथ जोडीको खुसुखुसु गफ र मुसुक्क मुहार सुन्न-देख्‍न पाइन्थ्यो । यिनको हर्कतले कसोकसो आफ्नो साधनामा बाधा आउला कि भन्ने लागे पनि धन्न परहेज रहन सकियो । बरु १० दिनसम्म यो जोडीको उपस्थिलिते झन् बहार थपिरहृयो । यिनको चर्तिकला अद्‍भूत मनोरञ्जन दिइरहृयो । मुस्काउन नपाएर टोलाउनुपर्ने स्थिति खाली समयको कुनै घन्टामा भोग्नुपरेन ।

'दाइ, मच्छरले टोक्यो ?'

दुईमध्ये १८ वर्षका शङ्करको चटपटे स्वरले हँसाइरहन्थ्यो । उता २० वर्षीय सुमितको गम्भीरता भरिएको लबज र हँसमुख मुहारले रौनक थप्थ्यो । कोठामा ८ वटा बेड रहेकोमा पूरा समयसम्म ६ जना मात्र बसियो । कीराले टोक्यो भन्दै आत्तिएर यखा काठमाडौँनिवासी दाइ प्रेमकृष्ण श्रेष्ठ अर्को कोठामा सरे । अर्को एउटा बेड सुरुदेखि नै खाली थियो । कोठामा शङ्कर र सुमितको मस्त जोडीबाहेक आर्य मौनलाई कडाइका साथ पालना गर्ने पोखरा (हाल कालिमाटी) का ऋषिमणि पराजुली र सर्लाही (हाल वसन्तपुर) का चन्द्रमणि काफ्ले अनि साधनाको छैटौँ दिनदेखि आर्य मौन भङ्ग गर्ने सुनाकोठी ललितपुरका कपिल योञ्जन र म थियौँ । म चाहिँ अर्ध आर्य मौनलाई काखी च्यापेर साधना गरिरहेको थिएँ । अर्ध आर्य मौनमा इशारा, सङ्केत पनि निषेध थियो, तर म भने तिनै जोडीका कारण इशारा गर्न र हाँस्नमा बाध्य बन्दै आएको थिएँ ।

आफू नबोले पनि नियम तोडिसकेकाहरूलाई बोल्न कुनै आइतबारको कुरो थिएन । चौथो दिनमै शङ्करले सोधे -'दाइ, तपाईँको विश्व भन्ने भाइ छ ? अनुहार ठ्याक्कै मिल्छ भन्या !' म अस्वीकृतिसूचक टाउको हल्लाएर मुसुक्क हाँसेँ । अब पालो सुमितको थियो, उनले शङ्करलाई इङ्गित गर्दै दार्शनिक पारामा मुख खोले-' के भन्छ यो मोटे पनि ! संसारमा उस्ताउस्तै मुख भएका आठ जनासम्म मान्छे हुन्छन् रे क्या, अनुहार मिल्न सक्छ ।' अर्को दिन सुत्ने बेलामा तिनै शङ्करले सोधे -'दाइलाई मच्छरले टोकेन ? यहाँ मलाई त क्या टोक्यो भन्या !' यति भनेर उनले पाखुरामा प्याट्ट पारेको सुनियो । सँगैका सुमितले 'के यो आर्य मौनमा रहेको मान्छेलाई बोलाएर ध्यान भङ्ग गर्ने कुरा गर्छ !' भन्दै उनै मोटेलाई मायालु गाली गरे । मैले टोकेको छैन भन्ने इशारा बुझाउन शिर हल्लाएँ, झ्यालबाट बाहिरको प्रकाश छिपछिपे रुपमा छिरेको कोठामा उनले मेरो सांकेतिक भाव सायद देखेनन् ।

मोबाइल, मान्छे र मोबाइल मन

ध्यानमा गएको मान्छेको कत्रो आँट होला, धर्म सेवकको आँखा छल्दै सिरकले मुख छोपीछोपी ती युगल जोडी आलोपालो फोनवार्तामा झुन्डिएको नित्य कर्मसमान देखियो । जब छैटौँ दिनमा रहस्य खुलेर धर्म सेवकले शिविर समापनको दिन दिनगरी मोबाइल लगे, तब आराम भयो । तर फेरि मोबाइल लगेको कुराले बहसको रुप लिन थाल्यो । मान्छे नभएको खाटमा सिरक छोपेर मान्छे सुतेजस्तै पार्दा धर्म सेवक झुक्किएर ध्यानमा जान उठाउन आएको, शिविरको सबभन्दा मोटा मान्छे चुरोट खाँदाखाँदै समातिएर निकालिएको, ध्यानमा सहभागी 'खैरिनी' लाई भोजनालयको चेपोबाट चियाएर हेर्ने युवकहरूको कर्तुत वर्णन, आचार्यहरू को-कस्ता, धर्मसेवकहरूको चिन्डे, झिल्के, लम्बु दाइ उपनाम आदिको कथा-उपकथा रच्न र सुनाउनमा शङ्कर-सुमितको जोडी अब्बल देखियो । तिनको मन नै त्यस्तो चञ्चल थियो, मोबाइलझैँ छलाङ मारिरहने ।

१० औँ दिनमा जब आर्य मौन खुल्यो, तब ती सबै साधक साथीहरूसँगको गफबाट कुरा खुल्दै जाँदा मेरो मुख खुल्लै रहृयो । खासमा रहेछ के भने, आपसमा तँतँ मम भनेर सम्बोधन गर्ने, लात हानेर एक-अर्कालाई बेडबाट भुइँमा खसाल्ने त्यो गजबको जोडीको पहिलो भेट नै शिविरमा आउने दिन ज्योति भवनस्थित विपश्यना नगर कार्यालयमा भएको रहेछ । ओह्, यस्तो पनि हुँदो रहेछ ! त्यसमा झन् शिविरमा अरु कोही बोल्ने मान्छे नहुँदा उनीहरू अनपेक्षित रुपमा निकट भएका थिए । विपश्यनामा आउनको लागि कुनै बेला मैले पनि कसैलाई सँगै जाऊँ भन्ने अनुनय गरेको थिएँ । १० दिनको मौन शिविरमा आएका अञ्जान दुई मन ध्यानसाधना भुलेर त्यस्तरी गफिएको देखेर मेरा आँखा खुले । ध्यानमा अडिग रहने आफ्नो कुरा हो, र पनि यदि विपश्यनाको लागि जानुभयो भने साथीसग चाहिँ नजानुहोला है । बरु सुटुक्क १० दिन गायब हुनु नै राम्रो !
क्रमश:
***
जुन २७, २००८ (नक्साल)

2 comments:

  1. Bhane pachi tapailai ti duijana sathi harule 10 din samma manoranjan dine kam garyo hain ta?

    tapaile bipashna ko barnan garer derai sathi harulai Bipasana ma jau jau lagyo hola , malai pani testai lagyo.
    Dhanyabad

    ReplyDelete
  2. यस्तो 'शास्त्रीय लेखन' मन पराइदिनुभएकोमा प्रिय भरतजीलाई आभार !
    विपश्यना धेरै पुरानो ध्यानविधि हो, यसैले त्यस विषयको लेखनलाई माथि मैले शास्त्रीय भनेको हुँ । विपश्यना ध्यानमा जाने मन गर्नुभएकोमा औधि खुसी लाग्यो । जीवनमा अवश्य एकचोटि चाख्नैपर्ने फल हो जस्तो लाग्छ त्यो ध्यानविद्या । मेरो लेखनबाट थोरै भए पनि तपाईँ त्यसतर्फ तानिनुभयो, यो त मलाई पनि धर्म मिल्ने पो कुरा भयो । सुरुमा त सांसारिक व्यस्तताबाट १० दिनको छुट्टी मिलाउनु अनि १० दिनसम्मको अवधिमा बाहिरी संसारबाट पूर्णतः विच्छेद रहेर एकै घेरोभित्र बसी कसरी साधना पूरा गर्न सकिएला भन्ने सोचेर मन उकुसमुकुस भई अत्यास लाग्न सक्छ । तर त्यहाँ गएपछि र गर्न थालेपछि सबै सम्भव हुँदो रहेछ, स्वाभाविक गतिमा ।
    जाँदाखेरि एउटा कुरा भने पक्का ख्याल गर्नुस्, साथीसँग चाहिँ भुलेर पनि नजानुस् । तपाईँ नियमको कडिकडाउ पालनामा प्रतिबद्ध हुन सक्नुहुन्छ भने कुनै समस्यै भएन, तर ध्यानमा 'तिमी र म साथै जाऊँ र गरुँ है' भन्नुले कुनै माने नराख्ने रहेछ । बरु त्यसले त उल्टै आफ्नो साधनालाई अल्झो थप्न सक्छ । जानुभयो भने फर्किएपछि अनुभव बाँडीचुँडी गर्न यसै CaFe लाई सम्झिनुहोला ।
    तपाईँको राम्रो होस् ।

    ReplyDelete