Subscribe:

Ads 468x60px

27 June 2008

पुस्तकले देखाएको गोरेटो

- अनिता शिवाकोटी
विशेषगरी उपन्यासबाट म पढाइको असली मज्जा पाउँछु । स्कुल पढ्दा सर, मिस अनि आफूभन्दा ठूला दाजु-दिदीले कुरा गरेको सुन्दा उपन्यास पढ्ने रहर औधी जाग्ने गर्थ्यो । तर त्यसताका स्कुलका भुराभुरीले उपन्यास पढ्नुहुँदैन, यसले दिमागलाई कोर्सबुकको पढाइबाट अन्यत्र भुट्छ भन्थे । त्यसैले मन भएर पनि मेरो दादा र म केही बालपत्रिकाहरूको सीमित घेरोमै आफ्नो अध्ययनशीलतालाई खुम्च्याउन विवश थियौँ ।

अध्ययनको धुन कस्तो थियो भने, स्कूलका कोर्सका किताबहरू किनेर ल्याएको दिन नै त्यसमा भएका कथा-कुथुङ्ग्रीहरू पढिसक्थेँ । स्कुले बेलादेखिको उपन्यास पढ्ने तिर्खा भने मैले एसएलसी दिएपछि नै मेट्न पाएँ । १२ मा पढ्ने छिमेककी साथीको पाठ्यक्रमका पुस्तकहरू माइतीघर र मसान नाटक मागिल्याएर पढेँ । स्कुलमा स-साना पाठहरू मात्र पढ्दै आएको कारण सुरुमा त त्यत्रा सिनित्तै पुस्तक कसरी पढ्ने भनेर म आत्तिएँ । तर पढ्न थालेपछि दुई दिनमै दुवै पुस्तक पढिछिचोल्दा अनौठो आनन्द मिल्यो । त्यस बेलाका चर्चित र मैले थाहा पाएसम्मका सुम्निमा, तीन घुम्ती, नरेन्द्र दाइ, मोदिआइन, शिरीषको फूल, पागल बस्तीलगायतका उपन्यास पढेँ । पुस्तक पढेर सकेपछि त्यसैको वरिपरि घोत्लिँदा पनि पुस्तक पढिरहेजस्तै आनन्द आउँछ । यो सायद पठनकै अर्को चरण होला । धेरैजसो पुस्तक पढेपछि नयाँ ऊर्जा पाएजस्तो लाग्छ । सुस्ताएको मनलाई पनि चार्ज गर्ने तागत तिनमा हुन्छ ।

नेपाली साहित्यबाट झाङ्गिँदै विश्वसाहित्यको भन्डारमा पस्दा सुरुवाती क्रममा नेपालीमा अनूदित पुस्तकहरू पढेँ । त्यसबेलामा गोर्कीको आमा, भिक्टर हृयुगोको न्याट्रेड्यामको कुम्वे, पाउलो कोयल्होको द अल्केमिस्ट, पर्ल वकको कल्याणी धर्ती, हर्मन हेस्सेको सिद्धार्थ लगायतका पुस्तक पढेँ । 'सिद्धार्थ'बाट सांसारिक जीवनको खुला परिवेशमा रहेर पनि बुद्घत्त्वसमान ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने दर्शन पाएँ । कतिपय पुस्तकको नेपाली अनुवाद चित्त नबुझेर अंग्रेजीमै खोजेर पनि पढ्नुपर्‍यो । विदेशी साहित्यकारमा पाउलोको पुस्तक सकेसम्म छाडि्दनँ । उनको द अल्केमिस्ट सबैभन्दा मन पर्‍यो । यसले मलाई लक्ष्य सामुन्नेमै घुमिरहेको छ भन्ने सोच भर्दै त्यसलाई धैर्य गरेर पर्खन सिकाएको छ । पाउलोकै फिफ्थ माउन्टेनमा युद्घले तहसनहस संरचनालाई केही व्यक्ति मिलेर पुनः निर्माण गरेको उज्यालो सम्भावनाको कथा छ । उनका प्रायशः कृतिले जीवनप्रति आशा जगाउँछन् । सपना साकार पार्ने पाठशाला भन्दा बढ्ता हुँदैन पाउलोका पुस्तकहरू ।

उमेरको परिर्वतनस“गै मानिसका सोचाइहरू परिर्वतन भएअनुरुप पुस्तकको छनोटमा पनि यस्तो कुराले निकै महत्त्वपूर्ण भूमिका खेल्छ । साथै आफू हुर्किरहेको वातावरणले पनि आफूले पढ्ने पुस्तकमा धेरै प्रभाव पारिरहेको हुन्छ । पहिले-पहिले निबन्ध भनेपछि टाढा भाग्ने म साथीहरूकै प्रभावले निबन्धहरू पनि पढ्न थालेकी छु । यसहपाठीहरू स्मीता पौडेल, गुरु रेग्मी र शिशिर शर्माको पढन्ते टोलीमा पुस्तकहरू साटफेर गर्दै पढ्ने र कुनै नयाँ पुस्तक आयो कि त छिटछिटो पढिसिध्याएर आपसमा बाँडीचुँडी गर्ने हतारका ती दिनहरू बिर्सिनसक्नुको छ । पहिले-पहिले निबन्ध भनेपछि टाढा भाग्ने म साथीहरूकै प्रभावले निबन्धहरू पनि पढ्न थालेकी छु । पाँच/छ वर्षघि पढेको शंकर लामिछानेको एब्स्ट्राक्ट चिन्तन: प्याज किताबले निबन्धको पठनमा आकर्षण थपिदियो । आत्मपरकताभित्र विषयवस्तुको तिक्खर चेत मैले निबन्धमा खोज्ने गुहृय कुरा हो । यस्ता पुस्तकले आफूलाई बुझ्न र जीवनप्रतिको दृष्टिकोण बनाएर जिउन सघाउने रहेछन् ।।


उपन्यासको प्रेममा फैलिँदा धच गोतामेको घामका पाइलाहरू, ध्रुवचन्द्र गौतमको अलिखित, गोविन्दराज भट्टराईको सुकरातका पाइला र मुग्लानले निकै मोहनी लगाए । आख्यानले मनोरञ्जन मात्र दिन्छ भनिन्छ, तर आख्यानमा भएको कुरा बुझ्न सक्यो भने गैरआख्यानले दिनेजत्तिकै ज्ञान पाइन्छ । तर त्यस्तो गुदीकुरा सबै आख्यानहरूमा हुन्छन् भन्नु सबै गैरआख्यान कृति विशिष्ट हुन्छन् भन्नुबराबर अन्धोको हात्तीछमाइ हुन्छ । पहिलोपल्ट नै कृष्ण धराबासीको झोला कथाले अमिट छाप छाडेको हुनाले उनका पुस्तक सकेसम्म छाडेको छैन । पछिल्लो चरणमा पढेको सञ्जीव उप्रेतीको घनचक्कर सामाजिक-राजनीतिक सूक्ष्मता छामेको नौलो उपन्यास भईकन अधुरो पुस्तक हो जस्तो लाग्छ । पुस्तकभरि खोजैखोजको प्रसङ्ग आएर पनि पात्रको खोजीको ठोस कुरा के हो नखुलेको हुँदा पुस्तक अधुरो लाग्यो ।

विमोचन भएको पर्सिपल्ट नै पढेर सकेको नारायण वाग्लेको 'पल्पसा क्याफे' र पाँच-छ दिनपछि पढेको कर्ण शाक्यको 'सोच' मेरो पहिलो सही छनोट थियो । यस्ता पुस्तक पढ्न बजारको हल्ला कुर्नुपर्दैन । गान्धीको सत्यके प्रयोग अथवा आत्मकथा अनि ओशोको मैं मृत्यु सिखाता हु पुस्तकले मलाई तरङ्गति बनाएका छन् । अहिले आएर म अध्यात्मिक पुस्तकहरू पढ्न थालेकी छु । अध्यात्मिक ज्ञान पाउँदै जाँदा पढिएका विविध पुस्तकहरूका सार समग्रमा उस्तै-उस्तै हो झैँ लाग्न थालेको छ ।

No comments:

Post a Comment