June 27, 2008

मायाबजार (कविता)

- अनिता

नेप्से परिसूचाङ्कमा
हाम्रो माया उकालो लागिरहेछ...

कामबाट थाकेको दिमाग
दौडिँदै तिमीसम्म पुग्छ
बस्छ
कुरा गर्छ
अनि आनन्दले मस्त हुँदै
आफ्नो काममा फर्किन्छ ।

कहिलेकाहीँ
हाम्रो सम्बोधनले तगारो ल्याउँछ
अनि एक्लिएर बसेको बेला
सूचाङ्क ओरालो झर्छ
तर फेरि
फकाउँदै गुन्जिएका आवाजले
सूचाङ्कलाई उकालोतिर डोर्‍याउँछ ।

सूचाङ्कमा हाम्रो माया
कहिले उकालो चढ्छ
कहिले ओरालो झर्छ ।

जीवन-चक्रको सहयात्री परिसूचाङ्क
उक्लिने र ओर्लिने क्रम पनि
बडो आनन्ददायक छ,
त्यसैले त नेप्से परिसूचाङ्कमा
हाम्रो माया
वेग मारिरहेछ ।

२०६४/१२/९
सानेपा ।

1 comment: