Subscribe:

Ads 468x60px

02 July 2008

भवतु सब्ब मङ्गलम् -३

धर्मको त्यो टाँकुरोमा

विपश्यना ध्यानयात्राका रोचकताले अझसम्म पनि पछ्‌याउन छाडेको छैन । रोचक यस कारणले पनि बन्यो, त्यसरी ध्यानमा म जिन्दगीमै पहिलो चोटि सहभागी भएको थिएँ । हुन त धेरै कुरा एकफेरा त पहिलोचोटि नै हुने गर्छ जिन्दगीमा । र, धेरै सुखद् वा धेरै दुःखद् जे भए पनि मानिसले त्यसलाई स्मृतिको कन्तुरमा साँचेर राखिरहेको हुन्छ । म पनि खुत्रुके काखी च्यापेर बस्ने त्यस्तै एउटा 'मनुखे' परेँ, र त तेस्रो पटक पनि त्यही एउटा समयलाई अर्को पाटोबाट हेर्न र पाठक-मित्रलाई बाँड्न यतिखेर जुटिरहेको म । शब्दका यी एक-दुई सिक्का तपाईँको साथमा भजाऊँ है त !

बुद्धजस्ता प्यारा मनहरू
शिवपुरी राष्ट्रिय निकुञ्जको बगलमै बुढानीलकण्ठको थुम्कोमा १० दिवसीय मौन ध्यानशिविरमा बस्दा नबोलेरै पनि केही नवयुवकहरू अन्त्यमा छाड्नै नसक्ने साथीका रुपमा परिणत भएका थिए । शान्तिको तरङ्गले झड्कादार काम गरेको थियो कि ? कारण, हामी त्यहाँ भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्न स्वअनुभूतिमार्फत पैल्याएका विपश्यना विद्याको अभ्यास गर्न जुटेका थियौँ । बुद्धको अर्द्धमुदित नयनले हामीलाई ओत दिइरहेथ्यो कि त्यहाँ ? धर्मको तपोभूमि र मान्छेको मनको अपरेशन गराइने त्यो ठाउँको हावापानी नै त्यस्तो हो कि, हामी आफैँ नराम्रोबाट फेरिएर तीक्ष्ण मानवतावादी भएका हौँ, जसलाई हेर्‍यो ऊप्रति माया र करुणाको जरुवा आफूभरि भुलभुलाइरहृयो । त्यसै क्रममा १० औ दिनको बोल्न मिल्ने समय आइपुग्दा मनभरिको आत्मीय भक्कानो सानोतिनो झुन्ड-झुन्डको जमघटभित्र उर्लिएको पाइयो । जमघटहरू । कतै वृद्धको झुन्ड, कतै अधबैँसेको, कतै युवकहरूको ।

अर्कै कोठामा बसे पनि आत्मीय हुन आइपुगेका एक मित्र थिए- गोङ्गबुनिवासी पूर्ण गुरुङ । लाहुरे परिवारका पुत्र पूर्ण १० दिनको शिविरबाट साँच्चिकै पूर्ण भएको अनुभव लाभान्वित मनको पेटारोबाट खुरुखुरु जमघटमा खोल्दै थिए । उनको बोलीमा भद्रताको वजन थियो, चालमा गम्भीरताको समथर भावभूमि थियो । कुनैबेला बुबासँग झर्कोफर्को देखाउने उनी अब ती सबै पूर्वघटनामा पछुतोको भाव बोकेर 'धत् ती दिनहरू !' भन्दै आफैँलाई चिरफार गर्दै थिए । आफ्नै अपरेशनको त्यस्तो राजीखुसी अवस्था १० दिने ध्यानशिविरकै कमाल त थियो ! क्रोध जागेर कुनैबेला फलस्वरुप प्रहरी चौकीको आँगनीमा पुगेका उनी घुम्दै सम्प्रदायको छापविहीन विशुद्ध धर्मको शरणमा आए । तब त बल्ल उनले आफ्नो जीवनले न्याय पाएको सुखद अनुभूति सँगाल्न पाएका थिए ।

अर्का मित्र थिए- असीम पाण्डे । नामजस्तै ज्ञानगुनका कुरामा उनको असीमता व्यापक देखियो, खासगरी अध्यात्मको फाँटमा । त्यति कलिलो युवामा धर्मकर्मको प्रकाण्ड ताप देखेर समकालीन अरु अनुहारहरू गुरुम्म उनलाई घेरेर केही तात्तिन खोजिरहेका थिए । शिविरमा उनको दोस्रो पटकको यात्रा रहेछ । बुढानीलकण्ठकै बासिन्दा रहेका असीमको परिवारमा सबै ध्यानी र विपश्यी रहेछन् । तब त त्यो पारिवारिक प्रभावको रन्को उनमा खूब छुटेको रहेछ । समकालीन युवा सबैले उनको तारिफ गरे । त्यस्तै विराटनगरका रोशन रोकाले त अहिलेसम्म हिँड्दै आएको गलत मार्ग छोड्नमा विपश्यनाले वरदानको काम गरेको प्रफुल्लता साट्न पनि छुटाएनन् । दुईवटा प्रेमको असफलता भोगेका रोका अब आफूलाई चाहिँ आफ्नो प्रेम मिलोस् भन्ने सदिच्छासाथ काठमाडौँ आएका रहेछन् । आफ्नै प्रेम नपाएको कालो पल यतिन्जेल उनले खपेछन् । म बसेकै कोठाको छेउमा रहेका दिनेश काफ्लेलाई साथीहरूले लाफ्टर (laughter) नाम दिएका थिए । कारण, ध्यानको लागि आएको मान्छे अर्को कोठाबाट हाम्रो कोठामा आएर आर्य मौनलाई तोडी एउटा न एउटा उटपट्याङ कुरा निकालेर हँसाउँदा रहेछन् । कहिले भोजनालयको चेपोबाट खैरिनी (विदेशी केटी) लाई चियाएको प्रसङ्ग, कहिले केटीलाई हेरेको ठान्दा बूढी मान्छे फेला परेको विडम्वना !

अनि धर्मको दियोमा तेल थप्नेहरू...
कुनै साधकले आर्य मौन पालनामा कतै विश्रृङ्खलता ल्याएमा सम्झाउने अनि त्यसले अन्य साधकको ध्यानमा विघ्न पार्ला भनेर निगरानी गर्न शिविरमा धर्म-सेवकको व्यवस्था थियो । तिनले घन्टी बज्दा पनि नउठ्ने साधकलाई ब्युँझाउने मात्र होइन, चाहिने अत्यावश्यक सरसामग्रीको जोरजाम पनि गर्ने रहेछन् । ध्यानको समयमा हलभित्र हरतरहको व्यवस्थापन गर्ने धर्म-सेवकहरू अरु त अरु, भोजन-कक्षमा 'भिक्षाम् देही' भनेझैँ थाल थापेर लामबद्ध भिक्षुसमानका साधकहरूलाई खाना पस्किने काममा पनि उनीहरू नै टुप्लुक्क । (साधिकाहरूको फाँटतिर पनि यस्तै थियो कि के थियो । शिविरमा साधक एवम् साधिकालाई आवास, भोजनालय नै छुट्टै व्यवस्था गरिएकोले एकअर्काको कुरा थाहा नहुनु स्वाभाविकै थियो ।) पुरुष र महिला एकअर्काको लागि ध्यानका बाधक हुन् भन्ने विपरित लिङ्गको आकर्षणलाई मनन गरेर त्यस्तो कडिकडाउ गरिएको थियो सायद ।

बिहान ४ बजेदेखि राती ८ साढे ८ बजेसम्म ध्यान र विश्रामको सङ्केतस्वरुप बारम्बार घन्टी बजाउने कलङ्कीका झलक मगर दाइ, भान्छा सम्हाल्ने हिरो चालक हेम तामाङ, साधकहरूले माझेको भाँडाकुँडा थान्कोमान्को लगाउनेदेखि तातो र चिसो पानी छुट्टाछुट्टै डब्बामा राखी हामीलाई खुवाउने कृष्णराम नगरकोटी दाइ सबैजना हाम्रो धर्मको यात्रामा डुङ्गा खियाएर तारिदिने माझीदाइ भएर आएका रहेछन् ।

धर्म-सेवकहरू अजीत श्रेष्ठ, श्याम महर्जन, सुरेश शर्मा, अम्वेस देसार र जीवन क्षेत्रीले हाम्रो आलोकाँचो ध्यानलाई काबुमा मात्र ल्याएनन्, अनुशासन र लगनको व्यावहारिक दर्शनलाई जीवित नमूनामा देखाएर धेरै कुरा सिकाए । यति सबै भयो ।
भुल्न ?....
सबैलाई सकिनेछैन ।

***
जुन २९, २००८ (नक्साल)

No comments:

Post a Comment