Subscribe:

Ads 468x60px

13 November 2008

अस्ताएको छैन है उदयपुर !

"नाम मात्र उदयपुर हो यसको, यसलाई त खासमा अस्तपुर भन्नुपर्ने ! कहिल्यै नउदाउने गरी अस्ताइसकेको छ यो ", जिल्लामा साथीभाइको जमघट भयो कि त कुनै न कुनै सन्दर्भमा गाँसिएर यस्तै निराशाजनक टीका-टिप्पणी चल्थ्यो । कहिले एउटाको मुखबाट कहिले अर्कोको । मेरो तालुमा पनि यस्तो निराशाको जुरो पलाउँथ्यो ।

पूर्वी नेपालको एउटा जिल्ला आञ्चलिक 'ट्याग'मा सगरमाथाको निधार टाँस्दै सगरमाथाकै काखमा रहेको भए पनि गर्विलो उँचाइ बिना जिल्लावासीहरूकै मनभित्र पिल्लिएर दुख्‍ने गर्थ्यो । खासगरी हामी युवाहरूको मन । जिल्लामा केही सिर्जनशील गतिविधि सुरू गर्थ्यौँ, खोइ केले बिथोल्थ्यो- बिथोल्थ्यो । सामुहिक अभियान पनि केही समय गुज्रनासाथै ओथारो बसिहाल्थ्यो । समूहको आडबाट 'स्वयम्-सेवा' को लक्ष्यसहित ठूलै भाग खोज्ने अभियानकर्ता साथी नै उल्झनका अजस्र स्रोत बन्थे । अनि त भित्तामा अडेसा लागेर खुइय्य काढ्नुसिवाय बाटो हुँदैनथ्यो । एउटा विचित्र प्रसङ्ग, त्यसरी खुइय्य काढ्नलाई भने कसैले बिथोल्दैनथ्यो । तब मगजमा उपयुक्त जच्ने गर्थ्यो अस्तपुरको चिनारी । खासगरी, फेरिएको यो नमीठो नाम साहित्यिक-सांस्कृतिक लगायतका ज्ञानगुनको पाटोमा उदयपुरको चलखेल शून्यप्राय: रहेको र दुई-चार जना मिलेर केही गरौँ न त भन्दा पनि कसरी-कसरी भाँडिइहाल्ने भएकोले हामीले थकथकी हुँदै लगाइदिएको लाहाछाप थियो । त्यसरी हाम्रो जमघटको चेपोमा च्यापिएर कठै उदयपुर 'अस्तपुर'मा चर्चित बन्थ्यो र क्षणमै गुमनाम छोडिन्थ्यो ।

यसपाली जिल्ला जाँदा पहिलेको त्यही उखान मनभरि हल्लियो । उदयपुर-अस्तपुर । जमघटमा लहरिने ती साथीहरू त भेटिएनन् तर उदयपुर उही थियो, मेरो आँखाभरि चढेको । यसलाई फुर्सदले नियालेँ, भर्खर नुहाएर ताजा बनेकी नवयुवतीले लयालु केशराशि एक-एक मुसारेझैँ । तब निचोड निकालेँ- साँच्चै, उदयपुर अस्ताएको रहेनछ । झलक्क एक झमट हेर्दा मात्र घामको बाफ फेला परेको रहेछ । यसको पिँधमा पो रहेछ- भुलभुलाएको भुतभुते तातो र सिनिक्क उज्यालो । यसपालीको डेढमहिने जिल्ला बसाइका क्रममा धेरै कुरा हावाजत्तिकै छोइने रुपमा मनन गरेँ, नि:श्‍वास होइन सन्तोषको फोहोरा छुट्यो ।

उदयपुरवासीले आफ्नै हातामा एफएम रेडियो पाएका छन्, अर्को स्टेशन शीघ्र सञ्चालनको तयारीमा जुटेको छ । त्यसले पनि सूचनाको ससानो क्रान्तिबाट सभ्यतामा आयाम थप्दै जाने आशा गरौँ । अफसेट प्रेसको सहज उपलब्धताले पत्रपत्रिका प्रकाशनको फड्कोसँगै सङ्ख्यात्मक वृद्धि चुलिँदो छ । खासगरी साप्ताहिक खबरपत्रिका । लेख्‍नेहरू लेखिरहेका छन् । बकुल्लाको हूलमा काग जुनसुकै क्षेत्रको टर्रो यथार्थ हो, साहित्यमा पनि यस्तो अवस्था छ । झन् भर्खरजसो साहित्यिक चालचुलको सामुहिक बाटो समाएको उदयपुरजस्तो ठाउँमा साहित्यको आवरणमा आफ्नो गोरखधन्दा सपार्ने खेती हुनु अस्वाभाविक नहोला । त्यस्ताहरू समयसँगै अवश्य पाखा लाग्नेछन् र भूमिका रच्नेहरूले न्यायपूर्ण स्थान पाउनेछन् ।

यहाँ माटो राम्रो छ, मुख्यबाली धान उधुमले फल्छ । पछिल्लो समयमा तरकारी खेतीमार्फत जीवनस्तर उकास्ने कार्यमा गाउँघरमा होडै चलेको पाइन्छ । उत्पादित तरकारी स्थानीय बजारमा विक्री गर्न पाउँदा गाउँलेहरू दङ्ग छन् । मुलुकभरमै गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने रूपमा चिनिएको सिमेन्ट कारखाना उदयपुरमै छ । त्यसकै अनुग्रहबाट कल्पेभन्दा द्रुत समयमा सदरमुकामसम्म पक्की सडकको विस्तार र गाउँघर छिचोल्दै पहाडी भित्ताको चुनढुङ्गा खानीसम्म पुग्ने ग्राभेल सडक पाएको भूमिले केही भागलाई छाडेर नगरपालिका हुने सौभाग्य पनि पाइसकेको छ । थप सडक निर्माण, सुधार र विस्तारको कार्य भइरहेको छ ।

तर, सहरी भेगमा प्रतिलिटर ३४-३५ रूपियाँ पुगिसकेको गाई-भैंसीको दूधको मूल्य जहाँ अझै पनि किसानले प्रतिलिटर २०-२२ रूपियाँभन्दा बढी पाउन सकेका छैनन् । तैपनि गाउँलेहरू काइ परेका डब्बा-डब्बीमा दूध भरेर 'उपायनास्ती' भन्ने भावमा एकाबिहानै लुखुरलुखुर चौकको डेरी सेन्टर धाइरहेछन् । मानौँ गाउँलेहरू सोच्दा हुन्- 'हे डेरीवाल हाम्रो ठाउँमा दूध बटुल्न बसेर ठूलो पुन्य गरेका छौ बाबै !' र भित्रभित्रै कृतकृत्य हुँदा हुन् । तर डेरीवाल गाउँले वा आफ्नो फाइदाको लागि दूध सङ्कलन गर्न बसेको छ ? कसको लागि दिनदिनै गाडीमा २०-२५ किलोमिटर धाएर दूध ओसार्ने गर्छ, भन्नु परोइन ।

यिनै आशा-भरोसाका प्रसङ्गसँगै CaFe को भित्तामा उतै जिल्लाबाट ल्याएको चित्र-चर्चाको पोको फुकाउँछु । यी तस्बिरहरू मेरो सुखी मनले छाम्नभ्याएका उदयपुरे रङ हुन् । यिनलाई आँखीझ्यालको बहाना बनाएर म भोलिको साँच्चिकै उदयपुरको उज्यालो संसार हेर्न खोज्दैछु । सुन्नू है, अस्ताएको छैन है उदयपुर !


मगमगिँदो भोक : रसिलो पर्खाइमा अम्बाको झुन्ड

मेरो सेरोफेरो, उपत्यका घेरो


प्रेमभित्रको गुलियो प्रसाद

नेपाली सुन खिइएला है आफैँबाट !

साना मानिस, सानै हतार र हाटबजार


काली हुँ या गोरी, गाउँकी म छोरी

पुग्दा सोचको खानीसम्म : चुनढुङ्गा ओसार्ने घिर्लिङ र स्थानीय चौक

नोभेम्बर, २००८ © जोतारे धाईबा

4 comments:

  1. यति राम्रा राम्रा कुरा भएको उदयपुर कसरी अस्ताउन सक्छ ?? नेपालका सबै अत्याधुनिक सुविधा चाँडै नै पुगेर नयाँ युगको उदय हुन्छ होला शायद अब उदयपुरमा ।

    ReplyDelete
  2. साह्रै सकारात्मक र आशालाग्दो कुरा गर्नुभयो धाईबाजी! हाम्रो देशमा अस्ताएकोमात्रै समाचार बन्ने चलन छ। उदाइरहेकोलाई देख्दैनन् सबैले।
    तर यात्रा अझै लामै बाँकी छ, उदयपुरले अझ धेरै उदाउनु छ। उदयपुरजस्ता धेरै 'पुर' हरु राजधानीजत्तिकै नउदाईकन यो लोकतन्त्र वा संघियता जे भनेपनि, आएको मान्न सकिने छैन।

    तस्वीरहरुका लागि धन्यबाद। नेपालका हरेक तस्बीरले भावुक बनाउँछ, गर्व जन्माउँछ म भित्र।

    उदयपुर उदाईरहोस् सधैं अझ माथि-माथिको उचाइमा, यहि शुभकामना!

    ReplyDelete
  3. तपाईंहरुले आफ्नै जमघटमा भन्नुभएको हुँदा 'अस्तपुर' भनिनुमाथी टिप्पणी गर्नुपर्ला झैं लाग्दै लागेन बरु वास्तवमा माया भनेकै त्यही हो - गाउँको माया , समाजको माया , देशको माया , माटोको माया जस्तो लाग्यो ता कि सगरमाथा कसरी अझै अग्लो पार्न सकिन्छ भन्ने सोचको खोज ।

    तस्विरमा गाउँ , गाउँमा असौज कार्तिकको समय , त्यही समयमा लगभग तयार भएको बाली , करेसामा फलेको अंबा , आँगनमा बनस्पती पुतली र जैबिक फूलले त्यसको रस चुसिरहेको , हाटबजार , मेलापात सबै समेटेर हाम्रो अगाडी पस्किनुहुँदा सम्झनामा ओझेल पर्दै गएका गाउँघरका धेरै पाटोहरु एक्कैचोटी उपस्थित भए । मलाई अरुले हेर्ने बुझ्ने तरिका अलग्गै होला त्यो अर्कै कुरा हो तर मैले भने तपाईंमाथी गर्व गरें । सलाम तपाईंको माटो प्रतिको त्यो मायालाई ।

    ReplyDelete
  4. अस्ताएको छैन, हुन्न र पक्कै पनि अस्ताउँदैन !!

    ReplyDelete