November 17, 2008

जमरे दसैँ, चिउरे दसैँ र विवश बुहारीहरू !

सैँको उल्लासमय व्यस्तताबीच जिल्लाको अप्राविधिक छटपटीमा दसैँको कुरा-कन्था शब्दमा उतारेर बाँडीचुँडी गर्न यसपाली त्यत्तिकै रहृयो । CaFe ब्लगलाई आफ्नो पूजा-कक्ष सम्झिएर अक्षरको आराधना गर्दै आएको थिएँ, यो पनि गत एक महिनाभन्दा बढीको अवधिमा मेरो शिथिलतासँगै शून्य भएर रहृयो । यो पूजा-कक्षमा न त साँझबत्ती, न त धूप-बात्ती । देवी-देउता नै उधुमसित रिसाए कि ? थाहा छैन । मेरा प्यारा पाठक तथा ब्लगर मित्रहरू...।
शून्यता र वियोगको चस्कासँगै २०६५ सालको मध्यतिर यस्तै घाउमा म दुखेर बसेँ । अब त्यही घाउ सेलाउने मेसोमा दसैँ-सन्दर्भ खोतल्दै छु यतिखेर । हिन्दू संस्कारमा चार दिशातिर छरिएका आफन्तजनलाई एकै टुङ्गोमा भेटाउने दसैँ जस्तो चाड वर्षदनमा एकचोटि मनाएर पनि अर्को दसैँ-तिथि नआउँदासम्म त्यसैको स्मृतिमा डुबिबस्ने बहाना हामीलाई सदा मिलिरहेकै हुन्छ । यो सन्दर्भको उठानलाई त्यस्तै एउटा बहाना सम्झिदिनुहोला ।

जमरे दसैँ, चिउरे दसैँ
घटस्थापनामा गहुँ, जौ, तिल, मकै आदिको जमरा राखेर सुरु हुने दसैँमा पशुहरू पुज्य र भोज्य जिनिस बन्छन् । फलस्वरुप भोजमा च्युराको आवश्यक्ता पनि देखिइहाल्छ । चौदिशाका आफन्तजन एकै ठाउँमा जुटेर सद्भाव कायम राख्ने यो सांस्कृतिक अवसर रमाइलो गर्ने नाममा जिभ्रो फडकार्ने स्वादिलो खानपिनभित्र पशुबलिको तडकभडकतिर रुमलिन्छ । फलस्वरुप पूजाकोठामा चन्दन-धूपसहित एकाध घन्टा गुजार्ने 'धर्मालुहरू' पनि दसैँको बहानामा लालसायुक्त मुख खोल्छन्-'परम्परा भइआएको कुरो, चलाउनैपर्‍यो नि !' अनि त आँगनबीचमा माटो र गोबरको चोखो घेरोमा केराको दाम्चा तेर्स्याइएर खसी-बोका काटिन्छन् । दसैँकै मौकामा राँगा, सुङ्गुर, कुखुरा लगायतका कैयन् पशु-पन्छीले मानवउत्सवका निम्ति जीवनाहूति दिन्छन् ।
दसैँमा जस्तोसुकै वैष्णवी घरमा समेत मासुको विविध परिकार शोभा बन्ने गर्छ । आफू नखाने भए पनि आउने टीकारी पाहुनापासा तथा आफन्तका लागि मासुको जोरजाम गरिन्छ । जमरा राखेर सुरु हुने दसैँ पूणिर्मासम्म टीका लगाउन आइपुग्ने पाहुनाजनको लागि तुन्द्रङ्ग सिकमा वा फ्रिजमा साँचेर राखेको मासुको बचेखुचेको लेदोसँग च्युरा मोलेर-खाएर समापन हुन्छ । कानमा जमरा सिउरिएर प्लेट-थाल वा टपरीभरि च्युरा लिँदै चोक्टा थाप्ने लहरमा नबसी हामीलाई चित्तै बुझ्दैन । यस्तो हाम्रो जमरे दसैँ, च्युरे दसैँ !
सबैजसो घरको दसैँमा काटीकुटी यस्तै रुपरङ नहोला । तर नेपाली घरदैलोमा जमरा र च्युरायुक्त दसैँ नै रोज्जा र परम्परित कुरा हो ।
एउटा टुक्का छ- फलामको च्युरा चपाउनु । टुक्काको च्युरामा फलाम जडिए पनि मान्छेले च्युरा त खान छाड्दैन । पोषणको कुरा गर्दा कार्बोहाइड्रेटको प्रचुर खानी च्युरा साकाहारी, मांसाहारी सबैले उत्तिकै रुचाउने र झट्ट झिकेर खान सकिने सजिलो परिकार हो । भुजिया-मिठाइ वा दहीसँग च्युरा, माछा-मासुसँग च्युरा । घरायसी रुपमा घिउसँग पर्परी भुटेर खान मिल्ने च्युरा, भोजभतेरमा छुस्स एक-एक मुठी सामुहिक रुपमा खुवाउन सकिने च्युरा ।
गाउँघरमा घरैपिच्छे खाजा र कहिलेकाहीँ त खानाकै ठाउँ लिने खुराक हो च्युरा । सहरबजारमा विशेषतः व्यावसायिक प्रयोजनमा च्युराले महत्वपूर्ण स्थान ओगट्ने गर्छ । होटलदेखि किराना पसलसम्म । सरकारले पनि यसैलाई राष्ट्रिय खान्कीको मान्यता दिएझैँ लाग्छ, त्यही नीति अख्तियार गरेर होला बाढी-पहिरो लगायतका प्राकृतिक प्रकोपले जनता आहत भए कि त पोकामा चाउचाउको प्याकेटसँगै च्युरा पठाइहाल्छ । अनि त गुमेको थातथलो सम्झिँदै मर्‍याङमर्‍याङ च्युरा चपाउनु ती नागरिकहरूको लागि दैनिकजसो 'आनन्ददायक खेल' बन्न जान्छ ।
गाउँघरमा दसैँको विशेष च्युराको लागि नयाँ धानको जोरजाम गर्ने चासो नवरात्रिअघि नै सुरु भइसक्छ । नवरात्रिसम्ममा त सुकाइ-भिजाइ-उसिनिएको धान चिउरा-मिलमा चाङ लागिसक्छ । अनि त पालो पर्खिँदाको सास्ती । यसपाली दसैँमा उदयपुरस्थित घर पुग्दा च्युराको किस्सा राम्रैसँग नियाल्न पाएँ । च्युरा कुटाउन मिलमा मान्छे र बोराहरूको लाइनदेखि 'भोलिसम्ममा च्युरा कुटाएनौ भने राम्रो हुँदैन' भनेर मिल मालिकलाई ग्राहकबाट आएको धम्की ! मानौँ ती ग्राहक-मनुखेहरू ठूलै दबाबमूलक क्रान्ति छेडेर आम रुपान्तरण गर्न कस्सिएका हक्की आन्दोलनकारी हुन् । देशमा गणतन्त्र आएको भन्या यही हो कि जस्तो लागेर दङ्ग परियो । बिजुलीबाट सञ्चालित मिल लोडसेडिङको बेला सुस्ताएर अहोरात्र जुट्दा पनि अपजसको भागीदार थियो । मिल व्यवसाय गरेकोमा र त्यत्तिका ग्राहकहरूको थाम्नै नसकिने ओइरो लागेकोमा बिचरा मिल-मालिकले हर्षमाने या विस्मात् ! अरुबेला झिङ्गा मारेर बस्नुपर्ने च्युरा-मिलमा वर्षदिनको दसै-तिहारमा थुप्रिएका बोराका पोकाहरूबीचमा मिल स्थापनादेखि भर्खर पहिलो चाड झेल्नपुगेका मालिक आपतमा देखिन्थे ।
चिउराको लागि नयाँ धान आफूसँग नभए वा नपाके पनि पछि आफ्नो खेतबाट धान भरेर फिर्ता गर्नेगरी चिनाजाना छिमेकीसँग ५ पाथी-१० पाथी पैँचो धान लग्ने किसानको लस्कर पनि यसपाली देखेँ मैले । (हेर्नुस् तस्बिरमा एउटा नमूना ।)

विवश बुहारीहरू
जति-जति उमेर पाक्यो, चाडबाडको उल्लास पहिलेजस्तो नहुने कुरा वर्षौपिच्छे झन्-झन् नमीठो गरी अनुभव हुँदोरहेछ । पहिले दाजु-दिदीहरूले भन्थे, अहिले आफैँ अनुभव गर्दै छु । छिप्पट आँखाले हेरेमा चञ्चलताको अंश कतै बाँकी नरहेजस्तो । यो निराशाको कुरो होइन, अलि दिक्कलाग्दो अनुभूति मात्र हो । घरै टेक्न पुगे पनि जसलाई यसपाली पनि मैले भोगेँ । झन् घरदेखि टाढा, अझ परदेशको भूमिमा बसेका दाजुदिदी तथा भाइबहिनी लगायतका मित्रवरले कति तीतो भोग्नुभयो होला । बालापनको रमाइलो साथमा नरहे पनि ढल्दो उमेरको उकाली पलहरूमा पनि घरमै हुँदाको जस्तो मिठास त बाहिरतिर कतै पनि हुन्न । झन् पोहोर-परार जुगको कुरा सम्झिँदै चाडपर्वमा भक्कानिनु त वर्षैपिच्छेको रीत हुन्छ परदेशतिर । बहराइनमा रहेको मेरो भाइ (फूपुको छोरा, जसको गायन-सपनाबारे अलि पछि छुट्टै पोष्ट लेख्‍नेछु ।) को फोन दसैँ-तिहारमा झन् बाक्लो हुन थाल्छ । उसको व्याकुलता त्यहीबाट बुझ्छु म ।
माइतीलाई 'बिदा है' भन्दै घरमा आइसकेर सासू-ससूराको खटनपटन र जिम्मेवारीमा बाँधिएर बस्नुपरेकी बुहारीलाई दसैँ कस्तो लाग्दो हो ? बुहारीको दसैँ-तिहार कस्तो हुन्छ ? यो परिदृश्यलाई पनि उदयपुरका जीवित पात्रहरूबाटै सप्रसङ्ग व्याख्या गर्छु है त !
यो एउटा उदयपुरको मात्रै धमिलिएको रुपरेखा होइन होला । विश्वमै नारी जातिलाई कमजोर रुपमा चित्रित गर्ने परिपाटी रहिआएकोमा नेपालका थुप्रै ठाउँमा छोरी-बुहारीहरूले उही एकनासको पीडापूर्ण दैनिकीमा रुमलिनुपर्ने घटना नौलो होइन । अरु त अरु, चाडपर्वको मौसमी बालीमा पनि छोरी-बुहारीको भागमा खुसी हात पर्दैन । उदयपुरको ऐनामा चियाउँदा बुहारीको दसैँ ट्वाक्कै बुहारीजस्तै देखेँ मैले । भन्नाले अलि घुम्टो ओढेर छोपिएको जस्तो, ध्वाँसो र माटो पोतिएर कत्लैकत्ला भएको जस्तो, सिउनी उध्रिएर कुनाकानीबाट लज्जा चुहिएको जस्तो, हिँड्दाहिँड्दैको पाइला ठाउँका ठाउँ चिप्लिरहेजस्तो, शोभायमान सिउँदोको चेपोमा निस्सासिएको सिन्दूर पसिनामा पग्लिएर अपहत्ते गर्न लागेजस्तो... ।
छिमेककै पल्लो घरमा एउटी भाउजू हुनुहुन्थ्यो, अर्को घरमा काकी हुनुहुन्थ्यो । रगतको नाता नभए पनि गाउँघरमा आत्मीयता, ऐचोपैँचोको सौहार्दता र नाता लगाएर बोल्ने आफन्तीपना कति हुन्छ, बताउनु नपर्ला । ती भाउजू र काकीसँग पनि पारिवारिक रुपमा हाम्रो त्यस्तै आत्मीय सम्बन्ध छ । अरुबेला पकाइतुल्याइ गर्ने बुहारीहरू पाहुनापासाको भीड लाग्ने दसैँमा नैतिकताले गर्दा पनि पन्छिने र फुत्किन पाउने कुरै थिएन । व्यवहारमा बाँधिएपछि सवाल आफ्नो एउटा ज्यानलाई कुनामा सम्हालेर राखेजस्तो त हुँदैन । लालाबाला सम्हाल्नुपर्‍यो, घरका ठूलाहरूलाई पनि रेखदेख गर्नुपर्‍यो, बाहिरकालाई रिझाउनुपर्‍यो । नत्र अलिकति कुनै कुरामा पेच खुस्कियो कि त फलानोकी स्वास्नी र फलानाकी बुहारी त के सारो बेसोमती भनेर अफवाह फैलिने डर !
यसैले पनि गाउँघरतिर व्यक्तिगत रहर र आकांक्षा एकातिर छेउ लगाएर, आरामविराम नभनी जुटिरहनुपर्ने 'निको बेहोरा' बुहारीहरूले साबित गर्नुपर्छ । काका कमाउन विदेश गएपछि भएकी एउटी सासू र दुई छोरीको हेरविचारसँगै भान्सा र गाईबस्तुको बोझ काकीले उठाएको देख्थेँ । दसैँमा माइती जाउँला भनी कति रहर पालेकी थिइन् होला काकीले । तर कता हो, दसैँकै मुखमा माइतीतिरका आफन्त खसेपछि त्यो बाटो बन्द भएर घरमै अल्झिनुपर्‍यो तिनले । भाउजूको कुरा पनि त्यस्तै । तिहारमा रोटी, पकवान सबै ठीकठाक पारी बल्ल उनी भाइटीकाको अघिल्लो दिन साँझपख घरबाट माइततिर फुत्किन पाइन् । ती भाउजूले 'आऽऽ होस् है जान्नँ यसपाली माइत' भनेको भए सासू आमैले कहाँ भन्थिन् होला र 'आबुई के भनेकी दुलही तिम्ले, वर्षदिनको चाडमा नगएर हुन्छ माइत ? जानुपर्छ बा जाऊ ।' ती सासू मात्र होइन, अधिकांश सासूहरूको इच्छा आफ्नी छोरी माइतीघर आओस्, अलि दिन बसोस् भन्ने हुन्छ । तर बुहारी चाहिँ चाडपर्वको धपेडीमा सेवाटहल गर्न घरमै बसिरहोस् भनेजस्तो गर्छन् उनीहरू । त्यस्ता सासूहरू बिर्सिन्छन्, आफ्नी छोरीको घरमा पनि सासू छिन् । छोरीकी ती सासूले पनि आफूले बुहारीलाई गर्ने जस्तो सोच राखिन् र व्यवहार गरिन् भने ???
नोभेम्बर २७, २००८

2 comments:

  1. दशैंको आर्को पाटोलाई सहिढंगले दर्शाउनु भएको छ। पक्कै पनि कुनै पनि तडक-भडक र तामझामलाई कायम राख्‍न कुनै एक पक्ष भने पिल्सिन बाध्य भएकै हुन्छन।

    सामाजिक परिवेशमा केहि परिवर्तनको आवश्यकता छ तर तपाईले नै भन्नु भएजस्तै दशैंको आकर्षण भने निरन्तर कायम छ र हुनु पनि पर्छ ।

    ReplyDelete
  2. साह्रै घतलाग्दो कुरा गर्नुभयो धाइबाजी दशैंको निहुँ पारेर। हामी परदेश बसेकाहरुको पिडालाई पनि सम्झिदिनुभएकोमा धन्यबाद!

    दशैं तपाईँले भनेजस्तै एक अर्थमा 'मासु'को पर्यायवाची बनिसकेको छ। दशैं र अरु विशेष बेला बाहेकपनि नियमित मासु खाने मानिसहरुले दशैंको बेलामा नखाईदिए पनि पशुबलिको दशैं-केन्द्रीकरण अलि कम हुन्थ्यो होला। सबभन्दा राम्रो त शाकाहारीहरुको संख्या बढीदिए हुन्थ्यो। (आफैं शाकाहारी हुन नसक्नेले यसो नभने हुन्थ्यो होला!)

    दशैं दशा हो भन्ने कुरा घरका महिला र विशेष गरी बुहारीमा विशेष लागू हुन्छ। उसैपनि कहिल्यै सिन्को नभाँच्ने लोग्नेमान्छेहरु दशैं-तिहारमा झन् 'राजा' बन्छन्। धेरैजसो बुहारीहरुको हकमा कठोर श्रम र आँसु बाहेक केहि हुन्न। हाम्रो समाजले त्यो आँसुको रिन कहिले चुक्ता गर्ला र 'बुहारी' हरुका लागि पनि दशैं आउला!

    ReplyDelete