November 18, 2008

नयाँ प्रेमको कथा

नुहारको सुक्खा पोखरीमा

आत्महत्या गरिसकेजस्तो छ-
मुस्कानले

बग्दैबग्दै चाल्नीमा
पानी-पानी भए कि भन्छु-
पिठोझैँ बुङ्बुङ्ती रहरहरू

आँखाको कोठाभरि
चिचिला लाग्दै गरेका
मध्यरातको सिरानीमाथिका
पिलपिले जूनकीरीहरू
सामसुम्म
निभ्दै छन् टेबलमाथिको उर्वर एस्ट्रेमा

यस्तो छु म यस्तो-
छुटेपछि तिम्रो स्टेशनबाट ।

मायादेवीको ममताले बतासिएर
आएथ्यो तिम्रो मनको खोपबाट
मछेउ भुरुरु सारस चरो,
हस्ताक्षर गरेथ्यो नरम प्वाँखहरूले
मेरै आत्माको बहीखातामा

पितामह भाग्यले
चटक्क तानिदिएको गहुँगोरो धर्सो टीका
निधारभरि सूर्य बनाएर
एकाबिहान ब्युँझिरहेथेँ
साँझ सुस्ताइरहेथेँ

जसरी दुर्बल कोपिला छुट्छ हाँगाबाट
उसैगरी त हो म खुस्किएको-
जीवनजस्तै न्याना तिम्रा जोर्नीहरूबाट

कहाँ
कुन
कतिविघ्न ढुसीदार पातालमा पो
पुग्ने हुँ म

तिमीले उपहार दिएको
जिन्दगीभरको एउटै यो एउटै चश्मा - आँसुको
पाएर,
धमिलो यात्रामा
नयाँ प्रेमको कथा बगाइरहेछु ।

साउन २३, २०६५ नक्साल ।

4 comments:

  1. त्यसो त कविता बुझ्न लेखिएको भावभूमी बुझ्दा अझ सहज हुन्छ र पनि सुन्दर र पढ्दा ठ्याक्क यौटा चित्र उतार्न सकिने लाग्यो यो कविता । धन्यवाद मिठो कविता पस्किनुभएकोमा ।

    ReplyDelete
  2. निकै राम्रो लाग्यो यो कविता! कविको पिडा र निराशालाई आकार दिन पूरै सफल छ।

    ReplyDelete
  3. राम्रो लाग्यो !!!!

    ReplyDelete
  4. कविता घाम हो
    कविता उज्यालोको नाम हो
    निराशा छर्ने भाव होइन कविता
    कविता आशा पोख्ने ठाम हो ।

    ReplyDelete