Subscribe:

Ads 468x60px

08 December 2008

स्वर्गीय सरोवरतिर दुई दिन

फेरि पनि पुरानै कुराकन्थाको गुन्टा कसेर आएको छु । व्यस्तताका परजीवीले डसेर नयाँ पकवान बनाउन नभ्याएको त होइन । तर, अचार त पुरानै झिक्नुपर्‍यो नि ! अचार यस मानेमा, गत दसैँको बिदामा उदयपुर जाँदा दाजु-बहिनीहरूको सल्लाहले दर्शन+घुमघामको लागि उदयपुरकै लेकाली भेग रौता भन्ने ठाउँतिर हान्निएका थियौँ । धार्मिक तीर्थस्थल रौता पोखरी । फर्किएर त्यसबारे सम्झौटो लेख्‍ने योजना बनाए पनि त्यत्तिकै भइराखेथ्यो । रोचक यात्रा भए पनि अब यतिखेर आएर त्यसबारे लेख्‍नु अलि खल्लो लाग्यो । तर यात्राको तस्बिर भने साथीहरूसँग बाँड्न कसोकसो लोभ जाग्यो । वृत्तान्त नभए पनि जे त पर्ला, 'तस्बिर आफैँ बोल्छ' भन्ने थेगो च्यापेर यति पस्किएको छु ।

एउटा डाँडादेखि अर्को डाँडाको फन्को पार गर्दा कमाएको यात्राभरिको थकान र गर्मीलाई रौता पोखरीको फेदीमा चिसो सिरेटोको पङ्खाले आराम दिलायो । बीच बाटोमा ज्यान बिसाउँदै दुर्लभ स्टेशनजस्तो भेटिने होटलमा विकल्पमा रहेको एउटै खाजा 'चाउचाउ' खाँदै, कतै भने साथमै लगेको भोगटेले घाँटी भिजाउँदै गोरेटो छिचोलियो । यस्तो लाग्यो, १८० डिग्रीको ठाडो उकालो नाघेर कमिला बल्ल चिनीको कचौरामा पुगेको छ । अनि त के चाहियो ? मन मगमगायो । जाडोले मुटु कमाए पनि स्वच्छ प्रकृतिको रोमाञ्चकतामा डुब्दा शीतलताले आँत भरियो । दुई दिने सफरमा, गन्तव्य पुगेको साँझ साग र भात मोल्दै खाएको मिठास बयान गरिनसकिने उखरमाउलो थियो । कठ्याङ्ग्रिने जाडोमा पाएको तातो भातमा हात राख्‍दा मात्रै पनि धित मर्ने जस्तो ! पोखरीकै अलि फेदीमा अरुबेला निजी प्रयोगमा ल्याइने घर पाहुना पुग्दा भने लजको रूपमा प्रति बेड ३०/३५ रूपियाँमा पाइने रहेछ । त्यस्तै एउटा 'हल्लिने घर'मा हामीले चिसो रात कटायौँ । कस्तो भने, राम्ररी खाँबो नखाँदिएजस्तो र भर्खर बनाइएको त्यो घर मान्छे हिँड्दा पनि लचकलचक हल्लिन्थ्यो ।

एकातिर रमाइलोमा महकिएका र रमिता हेर्न निस्किएका हामी, अर्कातिर त्यहीँको कस्टकर जीवनमा हेलिन बाध्य अबोध अनुहार । हाम्रो घुमघाम कतै तिनको दयनीय दैनिकीलाई जिस्क्याउने बहाना जस्तो ! र पनि, हामीले त बुझेका थियौँ- मान्छेको अभ्यस्त कथाव्यथा जहाँतहीँ उस्तै हो, रूप मात्र फरक-फरक । कतै झन् झन् सुविधाको प्रश्‍न, कतै जिन्दगीकै प्रश्‍न । सबैले उस्तै सहजता कहाँ पाएका छन् । कोही गोबर सोहोर्छन्, कोही मोहर !
बाँकी तस्बिर बोलोस् ।

हिँडेका हामी

थकान र अवतरण

खाजाको मेलो

इन्धनपछिको वेग



साग, भातको न्यानो आँत



बिहानीको मिर्मिरेमा

फगत एक नजरमा कसैले लियो मन…

पोखिएर घामको झुल्का...


रमिताको घनचक्कर

शीतल गन्तव्य: आँखाभरि स्वर्गै उठाऊँ…

फर्किएका तृप्‍त मन

************************************************************************

6 comments:

  1. सारै राम्रो ब्लग - मिठो सब्दहरुको समायोजन । CAFE मा प्रकिती र प्रवृती को फ्यूजन - गजब को ।

    ReplyDelete
  2. धाईबाजी , सुन्दर यात्रा अनि सुन्दर गन्तब्य त तस्विरले नै बतायो । यात्राको बखान पनि संक्षिप्तमै सबै खोलीदिनु भएको छ यौटै गुनासो के रहयो भने यो रौता पोखरी उदयपुरमै हो कि उदयपुरबाट अन्यत्रै कतै जानुपर्ने हो ? यसो भौगलिक अवस्थितीको पनि भनक दिनुभएको भए पढ्दा अथवा तस्विर हेर्दा अझै मज्जा आउनेथियो जस्तो लाग्यो । मैले यो रौता पोखरी थाहा नपाएर पनि त्यस्तो लागेको हुनसक्छ ।

    ReplyDelete
  3. सुन्दर तस्बीरहरुको माध्यमबाट स्वर्गको केहि झलक हामीसंग पनि बाँड्नुभएकोमा हार्दिक धन्यबाद!

    ReplyDelete
  4. दीपक जीलाई जस्तै मलाई पनि यो स्थानको भौगोलिक अवस्थितीको जिज्ञासा रह्यो । बाँकि तपाईका तस्विर बिलेका मात्रै छैनन। तपाईका तस्विरले गित पनि गाएका छन, कथा पनि भनेका छन अनि प्राकृतिक छटाका शुन्दरताका केहि अंश हामिलाई बाँडन समेत सफल भएका छन ।

    लाग्छ शब्दको मात्रै हैन तपाईसंग तस्विर उतार्ने कला पनि जादूमय छ ।

    धन्यवाद् ।

    ReplyDelete
  5. निकै रमाइलो गर्नुभएछ । साथ मा त्यती राम्रा फोटाहरु !

    ReplyDelete
  6. जिज्ञासा र चासोको लागि आभारसहित छुटफुट कुराको लागि माफी चाहन्छु ।
    रौता पोखरी उदयपुर जिल्लाकै पहाडी भेगमा पर्ने विकटताबीचको सुन्दर ठाउँ हो । यसै पोखरीको नामबाट यस क्षेत्रलाई रौता गा वि स को नाम दिइएको छ । यो त्यस क्षेत्रको पवित्र धार्मिक स्थल हो । नगर क्षेत्रबाट केही दुरी गाडीमा छिचोलेर केही पैदाल जानुपर्ने रौता पोखरी सकिने रौता पोखरी मजाले हिड्यो भने एकै दिनमा पुगेर फर्किन सकिन्छ । जुन पोखरीमा कुनै पात पतिङगर रहँदैन भन्ने धर्मिक जना विश्वास रहेको पाईन्छ । पात खस्यो भने चराले टिपेर लैजान्छ रे !
    हुन पनि पोखरी सधैं कन्चन देखिन्छ ।

    ReplyDelete