Subscribe:

Ads 468x60px

24 December 2008

आह् ! उनीसँगको साइनो र अनुरागको भाका

यात्राक्रममा कहिलेकाहीँ बदमासी गर्न मन लाग्दो रहेछ । तर अलि अलग तरीकाले । यस्तो बदमासीलाई तिक्खर अनुराग भनिदिए वेश । गाउँघरमा अझै पनि हाम्रा आमा-बडेआमाहरू भन्ने गर्छन्- 'बाबै ! एकोहोरो लिप्साले छोएपछि त कसैको केही पो लाग्दैन त !' खासगरी रातोपिरो रौनकले छुने उमेरका ठिटाठिटीको उखरमाउलो अनुरागबारे आमैहरूको त्यस्तो साउती सुनिन्छ । तर यतिखेर आएर त्यस्तो एकोहोरो लिप्सा र केही लाग्दैन है बाबै भन्ने थेगो मेरो जीवनमा ट्वाक्कै चरितार्थ भएको छ । अनुरागमै फसेको छु म । साँच्चै कसैको केही लाग्दैन अब, लागे पनि जेजे लाग्नु छ मेरै लाग्छ । एकोहोरो लिप्साले मलाई यस्तरी कर्‍याप्प गाँजेको छ, अब नचाहेर पनि यो अनुरागको चास्नीबाट फुत्किन मुश्‍किल छ मलाई । यतिविघ्न मिठासयुक्त सास्तीमा त यसअघि म कहिल्यै हुँडलिएको थिइनँ । धन्य हुन् उनी ।

उनीसँगको साइनोले म यति धनी भएको छु, अनुभूतिको भकारीमा मनग्गे अनाज छ जसले बौद्धिकताको पेट सेक्न बाँचुन्जेल पुग्नेछ । आत्माको सेफमा यति मणि र जवाहरात छ, तृप्‍तिले अब अन्यत्र डेरा सर्ने नाम लिनेछैन । जीवन भरिपूर्ण छ । र पनि म यही सन्तुष्टिमा मन बुझाएर, ज्यान टेकाएर त 'आराम सभा'मा ओथारो बस्ने छुइनँ । ताप छोड्नु छ, बाफ निकाल्नु छ, वायुमण्डलमा बहकाउनु छ, चिस्याउनु छ र फेरि दर्के झरी वर्षाउनु छ । उठान र बैठानको अनवरत् यात्रा…..।

उनीसँगको अनुरागमा म स्कुले बेलादेखि गाँसिएको थिएँ । खाँदादेखि चुठ्दासम्म उनैको धुन र ध्यान । त्यसबेला मेरो लागि समेत म, म थिइनँ; सबैसबै उनी नै । न कहिल्यै भेटघाटको संयोग, न त बोलचालकै सम्भावना । र पनि अनुराग त हो, दिन दिगुना र रात चौगुना झ्याङ्गिँदै गयो । माऽऽथि जूनको रोटीमा मेरै भोक पाकेर झन् झन् गाढा बन्दै गएको हो कि झैँ लाग्थ्यो । मेरो लुइरे ज्यानमा उनैको चिन्तन-मननको मासु नै भरथेगको कुरा थियो । देखादेख नभए पनि तिखारिएर सोझिएका उनका आँखा मलाई रङ्ग्याएर पार हुन्थे । उनीतिर मेरो ध्याउन्न यस्तो थियो, मानौँ भर्खरको दूधे बालासहितको दयनीय घरबार सारा छाडेर सिनेमा खेल्न गएकी एउटी युवती नाम र प्रसिद्धिको पछिपछि डाइरेक्टर सा'पको एक 'एक्सन !' बोलमा तिम्रो लागि ज्यान दिन्छु भन्दै हिरोको काँध भिजाइरहिछे । (यो उदाहरणको आशय नारी-चरित्रमाथि आक्षेप लगाउनु र पुरूषवादी ठेस पुर्‍याएर महिला मित्रहरूलाई रूष्ट बनाउनु होइन । उदाहरणले आजको 'ग्लामर मोह' प्रति तादात्म्य जनाउँछ ।) त, मेरो मोह पनि त्यस्तै तीव्र थियो, जुन आजसम्म कायम नै रहेर यो सम्झनाको लेखोट लेख्‍न र्‍याखर्‍याखती पार्दैछ ।

प्यारो शङ्कर । शङ्कर लामिछाने । उनी नै हुन् मेरा ती 'उनी' । साइनोको झोलुङ्गे पुल । जहाँ म मचमची पिङ खेल्नमा मस्त रमाइरहेछु । र यससँगै एउटा चुड्के भाका पनि निस्किरहेछ । जसलाई यो मनदेखि बजाएर अर्को मनसम्म पुर्‍याउन म तम्सिरहेछु । अर्थात् शङ्कर लामिछानेसम्बन्धी ब्लग (हेर्न यहाँ >>> प्रवेश गर्नुहोस्) को सुरुवात भएको छ । नेपाली साहित्यको यो पनि एउटा घटना हो भन्नेमा यतिखेर गर्व लागेको छ । यस कदममा आत्मीय मित्रजनको तालमा ताल सुन्न पाउँदा धन्य भइरहेछु । शङ्करलाई नपढुन्जेल मेरो लागि उनी एक खिनौटे प्रतिमा मात्र थिए । जब पाएँ पढ्न र थालेँ बुर्कुशी मार्न, अनि लाग्यो- यसअघि कुन दुर्भाग्यले पो उनका आविष्कारिक अक्षरतिर आँखा डोरिएनछन् ! हो, पहिलो पढाइमै मैले उनको मसिनो विषयमा गहन चिरफार गर्ने, सांसारिक जीवनशैलीबारे दार्शनिक विवेचना कस्ने, दैनन्दिनीका कुरालाई बोलीचालीको गद्यमा विशेष सन्दर्भ दिएर पस्किन सक्ने खुबी चिनेँ । कति साना घटनाप्रसङ्गहरू र तिनबारे कति हुरुक्कै पार्ने मादक प्रस्तुति ! त्यसपछि त शङ्कर अध्ययनका अम्मल बनेर भित्रिए ।

नेपाली साहित्यको निबन्ध फाँटलाई प्रयोगशीलताको बलमा विशिष्टता दिलाउने शब्दशिल्पी शङ्कर लामिछानेलाई इन्टरनेटको जालोमार्फत जनजनमा फैलाउने काममा जोडिन पाउनु मेरो निम्ति भाग्यको कुरा थियो । (र धेरै पाक्ने गरी सोच्दै नसोचेको कुरा पनि ।) त्यो भाग्यको दैलो धेरैधेरै शङ्करप्रेमी सर्जक तथा पाठकजनको हुटहुटी र ढाडसको स्पर्श मात्र पाएर पनि घरक्क उघ्रियो । झन् उहाँहरू सबैको निरन्तर लागिमेलीको जादुगरी छुवाइ पायो भने कोठा-चोटा र सिङ्गो घरै झकिझकाउ कसो नहोला ?

शङ्करसम्बन्धी ब्लग हिजोका शङ्करलाई चिन्ने, केलाउने र निष्कर्षमा बुझ्ने अभियान त हुँदै हो; आज र भोलिका मौलिक शङ्करलाई जन्माउने, जगाउने र जगेर्ना गर्ने महायज्ञ पनि हो । यो यज्ञमा तपाईँले थोरै मात्र धुनी जगाउनुभयो भने पनि नेपाली साहित्यको पुण्यता धेरै तातिनेछ-उज्यालिनेछ । सँगै, नेपाली निबन्धको पछिल्लो हालचालमा पनि गतिशीलताले पक्कै वेग मार्नेछ ।

शङ्कर एउटा व्यक्तिको कुरा होइन, युगको कुरा हो । नेपाली बाङ्‌मयमा शङ्कर-साहित्यको युग । यसै युगको टेकोमा नेपाली साहित्यको विगत गतिधारा जान्दै भावी रूपरेखा कोर्नु अन्यथा नहोला भन्ने सोचले ब्लगको बीजारोपण गरियो । यो एउटा प्रयास मात्र हो, जुन आधिकारिक स्तरको नभए पनि शङ्करको याद र कृतिगत उपस्थितिलाई ताजा गराउँदै आजको निबन्धसाहित्यको सारथि हुन सक्यो भने आफैँमा धन्य सम्झिनेछ । यो शुभ साइतमा, सम्वत् २०३२ ताका नै चोला उठाएर गइसकेका शङ्करलाई पाठक-समाजमा टुकुटुकु हिँडाएर ल्याउन मार्गदर्शन गर्ने र तागतदार भरोसा दिने शिव रेग्मी, प्रकाश सायमी, समृद्धि सायद (समृद्धि नभएको भए यो काम सायदै यति भरिलो र प्यारो बन्थ्यो), दीपक जडित (अलास्का, अमेरिका) र भीमेन्द्र खड्का (सउदी अरब) सबैप्रति ऋणी छु । फेरि पनि साथ पाइरहनेछु । यी नामका साथसाथै साहित्य, शङ्कर र निबन्धलाई मुटुभरि राख्‍ने अन्य हितैषीबाट पनि । तब उनीसँगको साइनो र अनुरागको भाका अझ प्रगाढ अनि झङ्कार छुटाउने हुनेछ ।

10 comments:

  1. धन्यबाद धाइबाजी! ब्लगको बारेमा जानकारी पाउँदा खुशी लाग्यो।
    धेरै पहिला पढेको एउटा कथा-संग्रह र 'शिरिषको फूल'मा उहाँले लेख्नुभएको भूमिका बाहेक शंकर लामिछानेका कृतिहरु पढ्ने सौभाग्य मिलेको छैन। यो ब्लगको माध्यमबाट मेरो 'लामिछाने-यात्रा' पनि अघि बढ्ने विश्वाश छ।
    तपाईँहरुको लगनका लागि हार्दिक धन्यबाद!

    ReplyDelete
  2. मैले गर्न त के नै सकुँला र भन्ने मात्रै हो र त्यो शुभकामना हो तपाईंको यस पुण्य कार्यको निमित्त , यसमा तपाईँहरु सफल हुनैपर्छ ।

    ReplyDelete
  3. निकै प्रशंसा र स्वागत योग्य शुरुवात गर्नु भएछ ।

    तपाइ लागाएत शंकर स्मृति घर बनाउने सबैलाई हार्दिक साधुबाद् सहित।

    ReplyDelete
  4. आफुले राम्रा काम गर्न नसके पनी असल काम को लागी साथ दिन पाउदा पनि धन्य मान्नु पर्ला ।

    अनि म दीपक जी संग सहमत छू र दिलीप जी कै भाकामा तपाईलाई साधुबाद !

    ReplyDelete
  5. शङ्करस्मृति ब्लगको संयोजन गरेर तपाईँले एकदमै राम्रो कामको थालनी गर्नुभएको रहेछ । आशातीत सफलता प्राप्त होस् तपाईँलाई !! धेरै धेरै शुभकामना !!

    ReplyDelete
  6. शङ्करबारे यस्तो आम चासो र तत्परताको लागि अत्यन्तै खुसी छु । शङ्करलाई साझा बनाउने र निबन्ध साहित्यको ठेला परेको ओटमा पैयाँ ठोक्ने मेरो त सानो टाउको उठाइ मात्र हो । भर त तपाईँहरूकै छ । विश्‍वास छ, शङ्करलाई यति चाहने आजका प्रेमी पुस्ताले शङ्करमा अर्पित यस ब्लगलाई मन-वचन र कर्मले राम्रै भरथेग गर्नुहुनेछ । यही विश्‍वासको जगमा उक्त स्मृति घरको खाँबो गाडिएको हो । बाँकी सिकर्मी र ज्यामी काम त तपाईँ-हाम्रै काँधको मन्तर हो । जुट्नेछौँ ।

    ReplyDelete
  7. I wish you all my friends Happy New Year 2009 may this year brings peace and joy to all of us

    ReplyDelete
  8. ल एकदम राम्रो ।यस काममा मैले पिन केहि सहयोग गर्न सक्छु भने भन्नुहोला है । I slaute ur spirit

    ReplyDelete
  9. Thanks Bednathji N Avinashiji,
    Ya Avinashi, Never fulfil this creation without u frens' co-operation.
    You may provide your n others essays.
    Thanks.
    Keep in touch.

    ReplyDelete
  10. This comment has been removed by the author.

    ReplyDelete