April 26, 2008

बाइस छोरीहरूको सग्लो पूकार (कृति परिचय)








- सबिना सिन्धु

"आफूलाई कतै छोडेर
अधुरो म
कविता पूरा गर्न सक्तिनँ
.......जीवन रहेसम्म नै
अनुभूतिको विस्तारमा म
अन्तिम सिमाना कोर्न सक्तिनँ "
- एउटा सूदुर उचाइ (मोमिला)

महिला स्रष्टाहरूको समूह गुन्जनले हालै प्रकाशनमा ल्याएको सङ्‌ग्रह 'डटर अफ द अर्थ' भित्रका कविताहरूमध्येको एउटा कवितांश हो यो । नेपाली कवयित्रीका कविताहरूको अङ्ग्रेजी अनुवादलाई पुस्तकाकार रुपमा तयार पारिएको हो । दुई दशकअघि 'हिमालयन भ्वाइसेज' नामक समकालीन नेपाली साहित्यको अङ्ग्रेजी अनुवाद प्रस्तुत हुँदा दुई नारी स्रष्टाका रचना सम्मिलित थिए- पारिजात र वानिरा गिरीका । समय परिवर्तनसँगै नारी सर्जकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । तर लेखनलाई निरन्तरता दिन सकेका नारी हस्ताक्षर कम छन् । पद्यावती सिंहको शब्दमा भन्ने हो भने , "नारी स्रष्टा आफ्नो पहिचानका लागि लडिरहेका छन् ।" 'डटर अफ द अर्थ'को दैलो शीर्षकीय कविता 'पृथ्वीकी छोरी', पारिजातदेखि सुरु भएको छ ।

सङ्ग्रहभित्र पारिजातका साथै कुन्दन शर्मा, वानिरा गिरी, केशरी बज्राचार्य, बेन्जु शर्मा, शुभ श्रेष्ठ, उषा शेरचन, प्रतिसरा सायमी, सुलोचना मानन्धर, शारदा शर्मा, इन्दिरा प्रसाई, उषा हमाल, अरुणा वैद्य, मोमिला, गीता कार्की, सन्ध्या पहाडी, सुस्मिता नेपाल, ज्योति जङ्गल, नीलम कार्की, विमला तुम्खेवा, सरस्वती प्रतीक्षा र सबिना सिन्धु समेटिएका छन् । नेपाली भाषामा लेखिएका कविताहरूमध्ये छानिएका छयासी कविताहरू सङ्‌गृहित छन् यसभित्र । पारिजातका चार कविताहरू माइकल जेम्स हटले अनुवाद गरेका हुन् । यसबाहेकका अन्य कविताहरूको अनुवाद डा. अभि सुवेदी, मञ्जुश्री थापा, चिराग बाङदेल, सञ्जीव उप्रेती, वानिरा गिरी, सन्तोष अधिकारी, पशुपति न्यौपाने, सुभाष गिरी आदिले गरेका छन् । डा.वानिरा गिरी भन्छिन्- "पारिजातदेखि पछिल्ला पुस्ताका कवयित्रीलाई समेटिएको साहित्यको यो दस्तावेजलाई आधुनिक भन्नुभन्दा समकालीन भन्नु उपयुक्त हुन्छ ।"

सङ्ग्रहभित्र नारी स्रष्टाले आफ्ना खुशी, दुःख, त्रास र पीडालाई कवितामा उतारेका छन् । पारिजातको जीवनप्रतिको मोह, कुन्दन शर्माको नारी शक्तिमाथिको विश्वास उल्लेखनीय छ । सुलोचना मानन्धरका छोटा तर चोटिला दस कविताहरू छन् । उनका 'मान्छेको हृदय', 'त्यो रात', 'युद्धको विनिमय','महँगो इच्छा' सरल एवम् सशक्त कविता हुन् । शारदा शर्माको 'अपरिचय', प्रतिसरा सायमीको 'मेरा भावनाहरूसँग', गीता कार्कीको 'सपनाको सङ्गीत' नारी मनोविज्ञानमा आधारित भएर लेखिएका कविता हुन् ।

त्यस्तै, सन्ध्या पहाडीको 'सत्यको प्रकाश', ज्योति जङ्गलको 'विजय' तथा नीलम कार्कीको 'बाघचाल' कविता प्रगतिवादी चेतले ओतप्रोत रहेका छन् । उषा शेरचनको 'फेरि युद्ध के का लागि ?' र इन्दिरा प्रसाईको 'मेरो निदाइरहेको बुद्ध' शीर्षकको कविताले विगतको द्वन्द्वबाट त्रसित मानसिकतालाई देखाएको छ ।

एरिनाको चित्र र टाइम्स क्रिएसनको कभर डिजाइनमा सजिएको 'डटर अफ द अर्थ' कवितासङ्ग्रहभित्रका स्रष्टा-तस्विर कुमार आलेले तयार पारेका छन् । पद्यावती सिंह, उषा शेरचन र डा. वानिरा गिरीद्धारा सम्पादित यस कृतिको मूल्य तीन सय पचास रुपैयाँ राखिएको छ ।

'नभन्नू नि निठुरी...'

प्रिय समय,
यो कस्तो उपहार तिमीलाई मेरो तर्फको ? फेरि अर्को चिठी पढ्नको निम्ति चश्मा तिखार्नुपर्ने भयो तिमीले । यसबेलाको जिन्दगीसम्म कहिल्यै नाकमा चश्मा नचढाएकी तिमीले चश्माको यो प्रसङ्गलाई कतै सीधासीधी बुझिदिएमा फेरि कस्तो आरोप ममाथि वर्षिने हो, कल्पना गर्दै छु । र, कतै यस्तो पनि भएको होस्, मेरो पहिलो चिठीमै तिम्रो एक पलकसम्म नजर पुगेको छैन । यसो हो भने, यतिसम्म थोपा-थोपा चुहिँदै वेदना निखारेर तिम्रो नाममा मैले यी भाव बुन्नुको औचित्य नै के ?

यो मेरो भाव त दसैँमा हजुरबाले दक्षिणाप्रेमी मसिना नाति-नातिनालाई टीका लगाइदिन खोज्नु र ती मसिनाहरूको निधार भने अक्षताले अगाडि नै भरिभराउ भएर ठाउँ नहुनुजस्तै हो । मानौँ, जहाज वेग मारेर अघिल्तिर एउटा उद्देश्यको चाल बढाइरहेछ र किनाराको गन्तव्य चाहिँ झन्-झन् पर सरिरहेछ । तिम्रो र मेरो खेल पनि यस्तै लुकामारी भइरहृयो भने यो खेल नै कस्तो खेल हो, जसमा न कसैले जित्छ न हर्षको थपडी पिट्न सक्छ ! दुवैलाई तोरीको दानाजति पनि शुभ लाभ छैन । बुझ न मेरो समय, म तिम्रै जिन्दगीको सेरोफेरोमा एउटा अर्थ भएर अडिन चाहन्छु । यति त बुझिदेऊ न, है ।

संविधानसभा चुनावपछिको यसपालीको काठमाडौँ मेरो लागि एकदमै ठीक बितेन । कस्तो उकुसमुकुस यो चारभञ्ज्याङ खाल्डो अनि त्यस्तै टीठलाग्दो ! यसमा तिम्रो अनुमान बन्ला- तापक्रम बढ्दै छ बिस्तारै, मौसम बदलीले मनस्थितिलाई पनि छोएर नरमाइलो पार्‍यो सायद । हो, मलाई नरमाइलो लाग्यो, तर तापक्रम बढेर कहाँ हुनु ? अरुअरु थोकै बढ्यो, खासगरी तिमीसँगको दूरी ।

यही दूरीमै त रहेछ जिन्दगी ठीकठाक रहने अनि भष्मखरानी हुने दुवै रसायनको तागत सूत्र । अहिले त म दूरीले नै छोपेर नातागतका कारण भुइँमा धूलो भएर हराइरहेछु । र म यतिखेर आफैँलाई काखमा राखेर सम्झाउँदै छु- 'च्व च्व ! केही भएको छैन ओ स्वयम्बाबू, वियोग छ र त अन्तरालको संयोगमा लस्सादार चास्नीसमान मिठास छ ।' हेर न प्यारो समय, कतिखेर यस्तो पनि हुँदोरहेछ, हामीले आफ्नै लोरीमा चित्त बुझाएर घुर्रघुर्र निदाउनुपर्ने रहेछ ।

'निठुरी !'
यही घुर्कीपूर्ण विशेषणको थुङ्गा त मैले तिमीसम्मन् फ्याँकेको थिएँ । मन सुकसुकाउँदै गलाको खोइ कस्तो अप्ठेरो गाँठो शब्दमार्फत खुस्किएको थियो- 'निठुरी !' तब त तिम्रो जवाफ मिलेको थियो- 'अबदेखि निठुरी नभन ल ।' यो चारअक्षरी लबज कस्तरी मोटरको चार पाङ्ग्रासमान ममाथि झ्वाट्ट गुडेको थियो भने मानौँ म ऐया पनि भन्न नसक्ने गरी आहत बनेको थिएँ ।

हेर समय,
मनभरि दुःखको अनाकर्षक टलक भएर पनि त्यसमाथि आज जलप भरेर मान्छेहरू बजारको अनेक प्रतिस्पर्धामा पैँताला घिसार्छन् । आफन्तसामु त्यो दुःखलाई विशेष नखरा भरेर प्रकट गर्न जान्दैनन्, मीठोगरी । कतै आफ्नो मान्छे भन्नु नै ऊ पलायन भएपछिको अवस्थामा गरिने अनुभूति मात्र हो कि ? खोइ, यो त अलि व्यावसायिक दुनियाँको खातापाता भयो क्यारे । अर्थात् नाका थुनिएर तरकारी ढुवानी हुन नसक्दा उपलब्ध बचेखुचेको तरकारीमा व्यापारी दाइबाट भाउ कस्सिनुजस्तै । हामी पनि त्यही बजारु मानव भयौँ क्यारे । छुट्ने बेलामा 'हृया ! टाढिएर यस्तो पनि अत्याउन सक्ने, नाइँ मान्दिनँ के !' सम्म भन्न सकेनौँ । तयारी चाउचाउजस्तै मानौँ आजका हामी पुरियाबद्घ यात्रामा छौँ, सबै व्यवस्थित र टकटकाउँदो । केही अलमल र नक्कलझक्कलको हलुका बतास छैन ।

मेरो मनमा हलो जोत्‍ने, आली लगाउने, बाउसे गर्ने, बाली रोप्ने ओ सबैसबै मेरो समय,
पुरियाको हाम्रो यो टकटकाउँदो यात्रा कतै 'ड्यामेज' त भइसकेन ?
घुँगुरिएको यसको बनोट हाम्रै हेराइमा समेत नफुक्ने गरी जेलिइसकेको हो कि ?
हामी भित्रभित्रै गुम्सिएर अखाद्य त भएका छैनौँ ?

यस्ता कति-कति टर्रा निठुरी कुराहरू... ।
म भन्ने छैन है अब ।
***
अप्रिल १९ , २००८ (नक्साल)

April 17, 2008

आमाप्रेम: 'पशुपतिनाथले कल्याण गरून्...'

मा भनेर मैले, आफ्नी जन्मदातालाई आजसम्म कहिल्यै सम्बोधन गरेको छैन । र पनि, यस्तो लाग्छ अद्‌भूत शक्ति छ यो शब्दमा । छँदाखाँदाको 'आमा'लाई 'मम्मी', अझ अहिले त 'मामु'ले कोसौँ दूर लखेटिदिएका छन् । सङ्कष्ट घडी वा दुर्घटनामा अनि बिरामी पर्दा 'ऐया आमा' बोली हाम्रो ओठको गोलाइभरि मीठो तालसरिता बनेर बग्ने गर्छ । तब कतिविघ्न भरोसा मिलेर मनले सान्त्वना पाउने गर्छ, त्यो त आमाप्रेमीलाई मात्र थाहा लाग्छ । आमा यस मानेमा पहिलो प्रेमिका हुन्छिन् कि क्या हो ? सन्तानका सवालमा तिनको आत्मीय लगावलाई पुष्टि गर्न कुन पो परिभाषा आवश्यक पर्छ र ? प्रेममा पनि त परिभाषा र व्याख्याको औचित्य रहन्न ।
मेरी एउटी अन्तरङ्ग साथी छिन् । विडम्बना यस्तो छ, उनलाई मज्जा लाग्ने कुरा उनको वशमा छैन । खासमा आफ्नो वशमा नभएर नै त्यसप्रति मज्जालाग्दो आकर्षण कायम रहिरहेको हो कि, खोइ...। उनलाई मज्जा लाग्ने कुरो हो, आमा-बा भनेर बोलाउने सम्बोधन । तर, पश्चिमा प्रभावको हाँडीमा उनको जिब्रो यस्तोसँग भुटिएको छ, अब गिनिज बुकमै कीर्तिमान कायम हुनेवाला भए पनि उनको मुखबाट बोलचालमा आमा-बाको पूकार निस्किने छाँट छैन । बुढेसकालसँगै उमेरले आमा-बाको बूढो उच्चारण माग्यो भने अर्कै कुरा । मन त लाग्छ उनलाई, बोलाऊँ - 'बाउ, भात खान आऊ होइ ।' तर दुई दशकभन्दा बढी घोटिएर धारिलो बनेको जिब्रोले आफैँ चट्चट् अक्षर काटेर सामुन्नेमा टक्र्याइहाल्छ- 'ड्याडी, भूजा रेडी भयो, हिँडिस्यो ।'

आफ्नो थातथलो उदयपुरबाट राजधानी कान्तिपुरको यात्रामा आइपुग्दा मैले धेरै आमाहरूलाई देखेको छु । कहीँ टाढाटाढै, कहीँ नजिकबाट । कुनै आमाको हातबाट त चियासम्म खाने अवसर मिलेको छ । कतिकति आमाहरू । सडकछेउ सारीको फेरोमा कलिला हातलाई अल्झाएर ठमठम गन्तव्यतिर बढ्दै गरेका आमाहरू । खानेकुराको दिएको भाग सकेर पनि फेरि आफ्नो भागतिर झम्टिँदै आउने लालाबालाको अँजुलि भरिदिने भोका आमाहरू । अनि आफ्ना आँखाभरि बलेँसी थुनीथुनी समाजमा उभिन सक्नेगरी सन्तानको ढाड सोझ्याइदिने कुप्रा आमाहरू । आफ्नो रगतको चिनोको लागि जस्तै सम्झौतामा पनि आफूलाई सहर्षसेलाउन सक्ने आमाहरू... ...। देखेका-भेटिएका ती धेरै आमाहरूको भीडमा एउटा समानता पक्का थियो, उनीहरू आमाजस्तै गहिरो ममताका, असीमित सहृदयताका धनी थिए । जुन धनलाई कुनै बाढी-पहिरो र भवितव्यको प्रकोपले पनि नष्ट गर्ने तागत राख्दैन ।

मेरी आमाको कुरा पनि त्यस्तै छ, मौसममौसमसँगै समयले फुलाइदिएको मुहारभरिका मुजाहरू सम्हाल्दै उनी उता उदयपुरबाट फोन सम्पर्कमा खुसुखुसु बोल्छिन् । कुराकानी बिसाउने बेलामा ओइरिएको त्यो आशीर्वाद म यता कान्तिपुरको भद्रगोल भीडमा थाप्छु - 'काले, ल है त ल पशुपतिनाथले कल्याण गरून्.... ।' कल्याण... यस्तो लाग्छ, यो त आमाले मात्र दिन सक्छिन् । नत्र पशुपतिनाथ म बस्ने यही सहरमै विराजमान छन्, म यहीँ छु । गर्नुपर्ने कल्याण जेजस्तो हो, उनले गरिहाल्थे नि ! र पनि मेरी आमा सुदूर पूर्वबाट पशुपतिनाथको नामले मेरो मङ्गल कामना गर्छिन् । कारण, म सोच्छु- हो, म यही पशुपतिनाथको सहरमै रहे पनि यसको कुनै भर छैन, सिवाय आमाको ।

***
अप्रिल १५, २००८ (नक्साल)

♪♪ बाँसुरीवादकसँग बहकिएको पल

- मनबहादुर बस्नेत

फागुन २३(२०६४) शिवरात्रिको दिन । साँझ करिब आठ बजेको छ । शिवरात्रिको मेलाले पशुपतिनाथमा पाइला टेक्ने ठाउँ छैन । भीडमा हराइने डरले मानिसहरू छेउको साथीसँग एक-अर्काको हात पक्रिएर रमिता हेरिरहेछन् । यस्तो लाग्छ, सिङ्गो मृगस्थली र गुहृयेश्वरी नै शिवजीको 'प्रसाद' सेवकहरूसँग झुमिरहेछ । अर्कोतिर, पशुपति परिसरको ठेलमठेल भीड तथा गाँजामय 'जात्रा' सबैबाट अलग्गिएर किराँतेश्वरको थुम्कोले बाँसुरीको मस्त धुनमा आफूलाई हराइरहेछ । भीडभाडलाई चिरेर पदम गौतम, डीबी बस्नेत, डिल्ली आचार्य, नरेश शर्मा अनि दिपेश यादवसहितको हाम्रो टोली बाँसुरीको धुन पछ्याउँदै किराँतेश्वरको उकालोतिर लाग्यो ।

किराँतेश्वरको सानो थुम्कोमा बाँसुरीको सुमधुर धुनसँगै हाम्रो टोली यसरी मदहोस भयो, मानौँ यान्त्रिक जीवनबाट वाक्क भएका हामी सबै स्थितिबाट मुक्त अर्कै ग्रहका अन्तरिक्ष यात्री बनेका छौँ । बाँसुरीको हरेक धुनले आफ्नोपन बोकेको हाम्रो साझा निष्कर्षथियो । अँ साँच्चि, बाँसरीको धुन र शिवजीको प्रसादको एकसाथ ग्रहणले जीवनलाई कति मदहोस बनाउँछ !

ठेट नेपाली लोकबाजा बाँसुरीलाई एक घन्टाजति सुनिसकेपछि त्यसरी मदहोस पार्ने धुन निकाल्ने मनुवाबारे जान्ने चासो पलायो । आखिर यी बाँसुरीवादक हुन् को ? मुखबाट फुत्त जिज्ञासा ओर्लियो । 'मेरो मीत दादा, मनोज सिंह ।'- टोलीमा साथै गएको मित्र नरेशले ढुक्क बनायो ।

त्यसपछि उक्त साँझलाई निकै मनमोहक बनाउने बाँसुरीवादक मनोज सिंहको खोजी सुरु भयो । संसारको जुनसुकै कुनामा भए पनि उनी बर्सेनि शिवरात्रिमा बाँसुरी बजाउन नेपाल भित्रिने रहेछन् । 'बरु दसैँ-तिहारमा आउनु अर्कै कुरा', बाँसुरीवादकका मीतभाइ उर्फ मेरा मित्र नरेशले जानकारीको मेलो खोले । एउटा बिहान उनै मीतभाइको सहयोगमा आजको शिक्षा साप्ताहिकका लागि मनोजको बाँसुरी र बाँसुरी शिक्षा खोजी गर्नेगरी गौतम बुद्धका अर्द्घमुदित आँखालाई साक्षी राख्दै राजधानीको बौद्धमा हाम्रो भेट भयो । लामो कपाल पालेका, चञ्चल मनोजले बौद्ध र किराँतेश्वर मन्दिरलाई आफ्नो सुमधुर सुरको जन्मदाता भएको सुनाए ।

बाँसुरी मनोजको जीवनको आधार मात्रै होइन उच्च जीवनशैलीको माध्यम पनि रहेछ । सुनाए- 'मेक्सिकोमा साल्सा खेल्छु । पेरिसमा डिनर खान्छु । स्विट्जरल्यान्डको हिउँमा 'स्कि' खेल्छु । अमेरिकाको सबै राज्य घुमेको छु । हवाइमा त माछासँगै पौडिन्छु । बिजनेस क्लासको उडानमा हुइँकिन्छु ।' ओह ! उनको यो जीवनशैलीको फेहरिस्त सुनेर म एकछिन त चित खाएँ । 'यो सबै बाँसुरीको देन हो'- मलाई होशमा ल्याउनझैँ उनले रहस्य खोले ।

अमेरिका, अस्ट्रेलिया, जर्मनी, स्विट्जरल्यान्ड, हङकङ, मलेसिया, इंग्ल्यान्ड, क्यानाडामा नेपालीको प्रतिनिधत्व गर्दै बाँसुरीबाट नेपाल चिनाउने यी ३१ वर्षीय तन्नेरी संगीतका जुनसुकै प्रकारमा पनि बाँसुरीको धुन भर्न माहिर छन् । साल्सा, रक, जाज, पपजस्ता पश्चिमी संगीतमा यिनी आफ्नो बाँसुरी कलालाई खिपेर सजाउन खप्पिस छन् उनी। 'बाँसुरीको माध्यमबाट आनन्दित हुँदै म संसारभरि नेपाल चिनाइरहेछु', उनी तर्क र गर्वको एकस्वर ओकल्छन् ।

क्यालिफोर्नियाको लार्क म्युजिक क्याम्पस उनको मुख्य कार्यक्षेत्र हो । कला राष्ट्रको चिनारी हो भने मनोज राष्ट्रका सम्पत्ति हुन् भन्दा बढी हुन्न । 'राज्यले मलाई केही गर्नुपर्दैन', बाँसुरीको पार्श्व धुन झिक्दै उनले थपे- 'यी धुनहरूको सम्मान र संवर्द्धन गरिदिए पुग्छ ।' धन्य हो मनोजको मन । भेटलाई बिट मारेर फिर्दै गर्दा मैले सोचेँ- मीठा धुनहरू सञ्चार गर्ने बाँसुरीजस्ता लोकबाजा नेपालमा धेरै छन् । तर, यी लोकबाजाबाट संसारै गुञ्जाउने हाम्रा कलाकर्मीहरू कुनै दूरदराजमा पो त्यसै थन्किरहेका छन् कि ?

- भोजपुर (हाल: मैतीदेवी काठमाडौँ)
mb.basnet@gmail.com

तिमी आमा (कविता)

॥ अनिता ॥
तिमी नहुँदा यो घर
निकै शून्य हुन्छ
सबै भएर पनि
कोही नभएजस्तै ।

पूजा गर्दा तिमीले बिहान-बेलुका
घन्टी बजाएर
बिउँझाउँछ्यौ क्यारे देउतालाई
त्यसैले त
नहुँदा तिमी
देउता पनि निदाइराख्छन्
ढुकढुकी मात्र बाँकी रहेको घरमा
मूर्दा शान्ति छाउँछ
सबै भएर पनि
कोही नभएजस्तै ।

खोइ के जादु छ तिमीमा
मलाई पनि सिकाइदेऊ न !
सापटी दिए पनि हुन्छ
(दिएपछि माग्न जानेकी छैनौ तिमीले)

तिम्रो आगमनको पूर्व आभासमै
यो घर फेरि घर बन्छ,
ओइलाएका मनहरू
फेरि बिउँझन्छन्
रमाउन थाल्छन् अनि कुरा गर्छन् ।

देउता पनि
तिम्रो चुराको आवाजले बिउँझन्छन्
अनि फेरि आनन्दको अनुभूत हुन्छ
स्वर्गसमान

त्यसैले आमा,
यो घरलाई स्वर्ग बनाइराख ल !

२०६४/१२/२३
सानेपा ।

धुवाँ

- गीता त्रिपाठी

झ्यालबाट पर तानिन्छु म । बाहिरको शान्त बिहानीले मेरो अशान्त उपस्थितिलाई खिस्याइरहेजस्तो लाग्छ । होइन यो चैतको हुरी मेरै मनमा समेटिएर किन मलाई यसरी आन्दोलित बनाइरहेछ । बाहिर हेर्छु- बिहान नौ बजेको किशोर घामले लपक्कै बेरिएको प्रकृति अचल-अचल उभिएको छ । प्रेममा समाधिस्थ सपनाहरू फूलका पत्रपत्रमा फक्रिन खोजिरहेछन् तर मभित्र अर्कै प्रकृति छ यतिखेर । केही थाके-थाकेजस्तो, केही हराए-हराएजस्तो । म ती हाँगाहरू सलबलाएको हेर्न पर्खिरहन्छु, तर पातहरू श्वास रोकेर उभिरहन्छन् मेरो सामुन्ने । म धैर्य गर्न सक्दिनँ र निस्किन्छु बिस्तारै भर्‍याङ्‌का खुड्किलाहरू हुँदै, धुलाम्मे कङ्कट आँगनतिर अघि बढिरहन्छु । टक्क एउटा ऐनाअगाडि पुगेर रोकिन्छन् मेरा पाइलाहरू । पूरै शरीर एक निमेषमा अटाउँछ ऐनामा तर छोडिन्छ एउटा दुःखी मन मसँगै ।

म एकाएक मेरो आकृतिको सगरमाथातिर दुखद् अनुभूतिको दृश्य आरोहण गर्छु हिउँका रेखाहरू जम्नथालेको मेरो शिर म आफैँलाई एउटा उचालिनसक्नुको वजनझैँ लाग्छ । मिथक हुँदै गइरहेको एउटा कथा म आफ्नै आँखामा पढ्न पुग्छु । खै त मैले जति नै स्याहारे पनि, जति नै कोरेर सम्याए पनि यी कपालहरूमा वसन्तको कुनै गीत उमार्न म किन असफल बन्दै गइरहेछु - सिसिफसको पहाडजस्तो मेरो जीवनमा एउटा सिङ्गो पतझड उभिएको छ र मस्तिष्कभरि आँधीका सुसेलीहरू खेल्दै छ यतिबेला । सधैँको व्यस्तताले कुँजिएको मनलाई अलिकति फुकाउन खोज्छु तर निधारमा बन्दै गएका साधुरेखाहरूले खुसीहरू पलायन हुँदै गएको सङ्केत दिन्छ । संघारमा वसन्तले टेकिसकेको भए पनि म यतिबेला कुनै नयाँ ऋतुको आमन्त्रण गर्न सक्दिनँ ।

रिसेप्सन अगाडिबाट छुटेको उन्मुक्त युवती-हाँसोले मेरो भावनालाई केही चञ्चल बनाएर जान्छ । होइन, ऐना अगाडि निकैबेर उभिइएछ कि क्या हो ? जस्तो मै थिएँ कि तिनीहरूको हाँसोको कारण । यो मेरो भ्रम पनि हुनसक्छ । यहाँ मानिसहरूलाई अरूका निम्ति हाँस्ने-रुने फुर्सद हुँदो रहेनछ अब । बिस्तारै झोल्लिँदै गएका मांसपेशीहरू अर्थहीन लाग्न थाल्छन् मलाई । उनीहरूको हाँसोको विषय थाहा पाउँदिनँ म । मभित्र एउटा हाँसोले भने मलाई नै खिस्याएर बिलाएजस्तो लाग्छ तर त्यसको प्रतिविम्ब कुन्नि किन हो ऐनासम्म ठोक्किनै पाउँदैन । म ऐनाभित्रबाट धुवैँधुवाँ उठेको अनुभव गर्छु र बिस्तारै छेकिँदै जान्छु आफ्नै चेतनाको स्पर्शबाट । मेरो अवचेतनले प्रकृतिका हरेक रूपहरूमा ईश्वरवल्लभ दाइको अचल उपस्थितिलाई आफैँभित्र टाँसेर राखेजस्तो लाग्न थाल्छ । रूग्ण दुब्लो शरीरमा खोपिएका करूण सजल आँखाहरू कमलादीस्थित एकेडेमीको गेटबाट स्व. धुस्वाँ सायमीको अन्तिम विदाइमा प्रवेश गरिरहँदा धर्मराउन पुगेका ती पाइला, दौडँदै गएर उहाँलाई भर दिँदाको त्यो पितृवत् स्पर्श मेरो मानस र हृदयमा अहिले झनै नजिक महसुस भइरहेछ । त्यसपछि त उहाँलाई सजीव भेट्ने अवसरै पो मिलेको रहेनछ, आज सम्झिन्छु- "यी यसरी गल्दै जाँदै छु, बहिनी ! त्यसैले पनि धेरै कार्यक्रमहरूमा हिँड्नै छाडिसकेँ, आज त मनले मानेन, आएँ ।" पर एकेडेमीको छेवैको रुखमुनि फूलैफूलमा बेरिएको कवि धुस्वाँको अचल देहतिर हेरेर त्यतिबेलै मेरो मनले अर्को नजाती अनिष्टको सङ्केत पाएजस्तो बोध गरेको थियो ।

कथा आजको होइन र होइन धेरै परको पनि । हिजैको बिहानजस्तो, सायद दशबजे पछिको एउटा बिहानमा प्रकाश सायमी दाइको एसएमएस आयो । कलेज उही भए पनि उभिएको ठाउँ मात्र फरक थियो मेरो । हिजो म कक्षाकोठैमा थिएँ, तर त्यो दिन भर्खरै पर्ढाईसकेर बाहिरिएको मात्रै थिएँ । तर खबर उही थियो र खबर दिने पनि उही । "धुस्वाँ सायमी पास्ड अवे" कै अर्को संस्करण थियो ईश्वरवल्लभ दाइका सन्दर्भमा पनि । दुवै समय म उस्तै विचलन बोध गरिरहेको थिएँ । दुवैको स्नेहवत् सामीप्य जुरेको थियो । ६२ सालको कात्तिक २४ गते पल्पसा दिदी र प्रकाश दाइसँग धुस्वाँको स्नेहको छहारीमा बिताएका केही क्षण एउटा अविस्मरणीय कथा बन्यो मेरो जीवनमा । फेरि-फेरि पनि यसरी नै भेट्न आउनेछौँ भनेर गरेको वाचा मैले त्यसपछि कहिल्यै पूरा गर्न सकिनँ तर उहाँले हस्ताक्षर गरेर दिनुभएको उहाँका सुन्दर कृतिहरू आज पनि मेरो वरिपरि बेलाबखत उहाँका सम्झनालाई ताजा बनाएर दृश्यभरि छरिन आइपुग्छन् ।

यस्तै भयो यसपटक पनि । 'दुई हरफ ओठहरू'का लागि ईश्वरवल्लभ दाइका अमूल्य शब्दहरू माग्न मञ्जुल दाइ र यादवजीसँग यसै सालको असारतिर गएकी थिएँ- उहाँको निवासमा । उहाँलाई त्यो दिन कुनै कार्यक्रममा जानुथियो । सँगै चिया पिउने रहरलाई थाती राख्दै हामी अर्को पटकको लागि वाचा बाँधेर फर्कियौँ । भाउजूले पनि इच्छा जाहेर गर्नु भएको थियो, मैले पूरा गर्न सकिनँ । त्यसैको दुःखले आज पनि मनको कुना करकर खाइरहेछ । यादवजी भने मलाई 'निरन्तर खुला ढोका'को कार्यक्रमस्थल आर्ट काउन्सिलमा छाडेर एक हप्ता अगाडि मात्रै दाजुलाई भेट्न जानुभएको रहेछ । अचम्मको स्वभाव छ यादवजीको । मनमा कसैप्रति श्रद्धा लागेपछि उहाँ मन नै अर्पण गरिदिनुहुन्छ, त्यसमा पनि अझ देउरालीमा दुइटा फूल सँगै राख्न मन गर्ने ईश्वर कहाँ खाली हात जान मन लागेनछ उहाँलाई । त्यसैले सुन्तला बोकेर जानुभएको थियो रे । दाइ बित्नुभएको दिन जब उहाँ भाउजूलाई भेट्न जानुभएको थियो, भाउजूले रुँदै भन्नुभयो रे- "बाबु ! तपाईंले ल्याइदिनुभएको सुन्तला पनि उहाँले खान भ्याउनुभएन ।" यो सुनाउँदा र उहाँका सम्बन्धमा पत्रिकामा छापिएका दुखद् समाचारहरू सुन्दा यादवजीको अनुहारमा विषादका रेखाहरू कुदिरहेको देख्छु म ।

म अलि पछि फर्किन्छु फेरि । झन्डै तीन वर्षघि शान्ति सङ्गीत यात्राको कार्यक्रमस्थल भक्तपुरमा पहिलो भेटको सम्झनास्वरुप एउटा कलम दिनुभएको थियो प्रकाश दाइले । कलम र किताब उपहार दिने संस्कृति औधी मनपर्छ मलाई । संभवत: मैले यसलाई जतन गरेको रहेछु र आज अँध्यारोमा बिलाउन लागेको एउटा ज्योतिलाई हृदयभरि लेख्न संयोगवश त्यही कलम हात पर्‍यो । अहिले सुक्न लागेको मसी धुवाँमय त्यो अन्तिम दृश्यको पानाभरि बिस्तारै-बिस्तारै रसाइरहेछ । दुखाई-दुखाई म लेखिरहेछु- एउटा धुवाँको कथा । हिजो अर्थात् चैत्र १०, २०६४ को मध्यान्हतिरको एउटा दुःखान्त इतिहास ।

प्रकृतिका रुख-पात र फूल-कोपिलाहरूमा यसरी नै बेरिएको थियो किशोर घामको स्निग्ध सपाट म्वाइँ हिजो पनि । चञ्चल बतासले झुलाइरहेका कोमल पत्रपल्लवहरू मसँग जिस्किन खोज्दै थिए, दुःखको कुनै आभास थिएन । म निश्चिन्त मेरा विद्यार्थी-प्रसूनहरूसँग भावनात्मक ज्ञानको लुकामारी खेलिरहेकी थिएँ । बाहिर मृदु उज्यालो फैलिएको थियो, भित्र तिनका अनुहारहरू उज्याला थिए, म अर्को उज्यालो थपिरहेको थिएँ । मलाई खुसी देखेर रमाउने ती फूलहरू अनायासै चुपचाप भए, जब मोबाइलको एक ढकढकमा मैले त्यसको ढोका खोलेँ र उही उल्लिखित खबर पढेँ । फेरि तुरुन्तै फोन आयो घरबाट । यादवजीले उदासीपूर्वक सुनाउनुभयो दाहसंस्कारका लागि दशबजेतिरै आर्यघाट लगिहाल्ने कुरो । मलाई आश्चर्य लाग्यो र सोधेँ- "श्रद्धाञ्जलीका लागि एकेडेमीमा नराखिने रहेछ ?" नराखिने नै रहेछ उहाँलाई यो भूतले खाजा खाने बेलामा कुनै आडम्बरी सभ्यताको देखावाका निम्ति । संभवतः उहाँको पनि यही इच्छा भएको हुनुपर्छ ।

मैले आर्यघाट जाने चाह व्यक्त गरेँ, यादवजी र म भेट्यौँ र उतै पुग्यौँ साँढे दशबजेकै आसपासमा । हामी श्रद्धाञ्जलीका निम्ति फूल किनिरहेका थियौँ, त्यही बाटो भएर अन्तिमयात्राको वाहन आइपुग्यो । अरू केही मोटरसाइकल र एकाध ट्याक्सीमा थोरै तर प्रिय उपस्थितिबीच वल्लभदाइको अनन्तको प्रस्थान-यात्रा अघि बढिरहेको थियो । अस्पतालको स्ट्रेचरबाट निकालेर उहाँको पार्थिव शरीरलाई बाँसको खटमा राख्ने प्रक्रिया सुरु हुँदा छेवैमा उभिएको मेरो मन एकोहोरो बन्न थालिसकेको रहेछ । निर्जीव भएर दरिएको शून्य अनुहारमा आँखा अडिँदा वरपरको समय पनि यन्त्रवत् यन्त्रणाजस्तो मात्र लागिरहेको थियो । अब सहृदयीहरूका काँधमा चढेर वागमती किनारको पहिलोस्थलतिर लगिँदै हुनुहुन्थ्यो वल्लभ दाइ । उपस्थित सबै त्यही छोटो यात्रामा स्वचालित हिँडिरहेका थियौँ, बहृमनालछेउमा पुगेर यात्रा केहीबेरको लागि बिसाइयो, म त्यतिबेला एकछेउमा उभिएर मेरा पिताजीलाई सम्झिरहेकी थिएँ ।

सत्र वर्षपहिलेको असारको एक बिहान बाढी आएको वागमतीको यही किनारमा उभिएर यसरी नै बिदा दिएका थियौँ हामीले उहाँलाई । लागेको थियो अब यो संसार हाम्रो लागि एकदम विरानो भएको छ । हामी छानोविहीन हुन पुगेका छौँ । तर आज यत्तिका वर्ष बिते, मेरो सत्रवर्षको उमेर दुगुना भयो, तर अन्य कुराहरू उसरी नै चलिरहेछन् । मेरो उत्पत्तिको यो वास्तविक कथा पनि एकादेशको हुँदै हराउनेछ, समय सधैँ नयाँनयाँ गीत गाइरहनेछ, समयको अगाडि कसैको केही लाग्दोरहेनछ । वागमतीको पानीको रूप फेरिएला-नफेरिएला तर मानिसहरू चोला फेर्न यही तीर्थस्थलमा अन्तिम विश्वासका साथ उपस्थित भइरहलान् । वागमतीको किनारमा वारि उभिएका थियौँ हामी । केही दाजुलाई पारि पठाउने तयारीमा जुटिरहनुभएको थियो । ईश्वरमय भइसक्नुभएका ईश्वर दाइको मूर्तिवत् देहलाई नुहाइधुवाइ गरेर जल-चन्दन र फूल अर्पण गर्ने काम केहीबेरमै समाप्त भयो । एकदेखि तीनसम्मको चिता खाली थिएन । हामी पुन: चार नम्बरतिरै झर्‍यौँ, त्यो दिन यो किनारमा आँसुको अर्को वागमती बगिरहेको देखेँ मैले, मचाहिँ जसोतसो सम्हालिएकै थिएँ । सायद वियोगले वाफिएको मन सामुन्नेको अर्को पहाडसँग ठोक्किन बाँकी थियो, हामी सम्हालिँदै ईश्वर दाइलाई बिदा गर्ने निर्णायक धाममा आइपुगिसकेका थियौँ ।

केही पत्रकारहरू थिए, पीताम्बरले ढाकिएको शरीरमाथि फूलमालाका हातहरू थपिँदै थिए । म देख्दै थिएँ- वैरागी दाइ र मञ्जुल दाइको आपस्तको आलिङ्गन र नचाहँदा नचाहँदै पनि छुट्नुपर्ने जीवनकहानीको अन्तिम सत्य । उपस्थिति बाक्लिँदै गइरहँदा महिलाहरूको सङ्ख्या पनि बढेर गएको थियो । शैलेस सिंह भाइको आँखामा छाएको उदासीमा गीतको दुःखान्त पार्श्वध्वनि घाट परिसर छिचोलेर कतै दूरप्रदेशतिर प्रसारित भएझैँ अभिभूत भइरहेको थियो मभित्र । पछिल्लो समयमा खासगरी वृद्ध सहकर्मीहरू अन्तिम दर्शनमा जुट्दै हुनुहुन्थ्यो । सङ्गीतज्ञ अम्बर गुरूङ एउटा लामो यात्रापछि छुटेको सहयात्रीलाई बिदाइ गर्न द्रवित मनले अलि ढिलो गरेर आइपुग्नुभयो ।

विश्ववल्लभ दाइ र आनन्दका साथमा कवि गोवर्द्धन र यादवजीका थर्थराइरहेका पाइलाहरू चिताको तीन फन्को मार्न थाले । चितामा उहाँलाई सुताएर मौनधारणमा प्रवेश गरेका हामी उहाँका अपूरा सपनाहरूमा बग्न थाल्यौँ । कठै ! फूलले सजिएको यो मृत देह कुनै बेला युवक सपनाहरूको तेज बोकेर आफ्नो यो अधूरो कहानीकी नायिकासामु कति साहसका साथ अग्निपरीक्षा दिइरहेथ्यो होला ! कति सुन्दर थिए होलान् ती सपनाहरू, जसलाई उहाँले शब्दमा उतार्दा त यति जीवन्त लाग्छ भने उहाँले नै अनुभूत गरेको त्यो सपनाका बारेमा के यहाँ यसबेला व्याख्या गर्न सकिएला ?

त्यही व्याख्यातीत छायाले मेरो आजको बिहान पनि खल्लो बनाइरहेछ । कता-कता त्यही एकमुस्लो धुवाँभित्र म हराइरहन्छु । सेताम्मे कपाल पाकेका केही हरफ नामहरू म सम्झिरहेछु । आपस्तमा अँगालो हालेर रोइरहेका ती पहाडजस्ता स्मारकहरूका बीचबाट मडारिँदै गएको त्यो धुवाँले मेरो अनुभूतिलाई एउटा खाली कागजजस्तो बनाएको छ ।
- चैत १४, २०६४
बालुवाटार ।

अबको नेपाल : फेरि कुरो क्रान्तिकै !

- 'हेलो कमरेड, लौ गणतान्त्रिक शुभ कामना तपाईँलाई ।
- 'पक्का नयाँ नेपालको जहाजमा हामी सबैलाई स्वागत है !'
नयाँ वर्ष२०६५ को पूर्वसन्ध्यामै साथीहरू मोबाइलको एसएमएस, भेटघाटको अभिवादनमार्फत नयाँ नेपाल, गणतन्त्र अनि समृद्घ जनता आदि कुरालाई समेटेर यस्तैयस्तै मङ्गल कामना साट्दै थिए । कतिसम्म भने, नयाँ नेपालको पट्यारलाग्दो 'थेगो' पक्का, साँच्चिकै अनि वास्तविक नयाँ नेपाल आदिका रुपमा व्याख्या हुँदै थियो । निर्वाचन आयोगसँग कुनै सम्बन्ध नभएर पनि आफ्नै हिसाबमा चैत २८ को दिन निर्वाचनको 'पर्यवेक्षण' गर्दै साथी मनबहादुर बस्नेत र म राजधानी काठमाडौँका गल्ली र चोक छिचोल्दै थियौ । त्यसै क्रममा बाटोभरि भेटिएका अनुहारहरूमा हामीले देख्यौँ- ती अनुहारका आँखाहरूमा देशको उज्यालो काँचुलीको कति मीठो सम्भावना छ भने, सबैमा सपनाको गहिरो आभा प्रतिविम्बित छ ।
चैत २८ (२०६४) पछि तमाम भूतपूर्व सुस्तताहरूलाई अब हाम्रासामु अटेर गरेर बस्नलाई अनुमति छैन । जनताका बीचमा हस्ती बनेर ढुक्कको जीवन जिउँदै आएका भूतपूर्व नायकहरूको विरासतलाई त क्षणभर टिक्ने अनुमति भएन भने सुस्तताको के नै कुरा ! समयको पङ्खा कस्तो रहेछ भने, यसले प्राणीका लागि धेरै अर्थमा शीतल त दिन्छ नै, साथमा ढुसी परेर पत्रपत्र जमेका धूलोमैलो पनि उडाएर सफाइ अभियान देखाउँदो रहेछ । यस्तै भयो, २०६५ सालको लगभग पहिलो खुडि्कलोसँगै । कस्तो भने, एउटै साइतमा यो खुडि्कलोबाट कोही पक्ष देशको नक्शासँग आफ्नो प्रयोग खेल्न आरोहणतिर उक्लिँदै थिए भने, कोही चाहिँ वर्षौँको यात्राबाट पनि शक्तिको सर्वस्वीकार्य वर्चस्व बनाउन नसकी ओरालोतिर वेग मार्दै थिए ।

'जङ्गलको भूत'को रुपमा जनमानसमा हाउगुजीको परिचय बनाएको भनिएको नेपालका माओवादीलाई, त्राहि-त्राहि भएका तिनै जनमानसले संविधानसभाको म्याराथनमा रिबन काटेर अनुमोदन गरिदिए । जनयुद्घको दशक लामो कालखण्डमा धेरैले द्वन्द्वको आच्छुआच्छुलाई आफ्नै जीवनजत्तिकै नजिकबाट भोगे । धेरैले ज्यान गुमाए, त्यो ज्यान गुम्नुसँगै धेरैले जीवनयात्राको सहाराको रुपमा रहेका आफन्तजन गुमाए । मुटुलाई कर्‍याप्प आफैँले निचोरेर गाउँघरको सानो-सुन्दर संसार छाडी कतिपय पलायनको भूमरीमा बगे । गरिब देशको छँदाखाँदाका भौतिक संरचना धूलोपिठो भएर नष्ट पारिए । र यद्यपि त्यसलाई जनताले चाहेको क्रान्तिको नाम स्वेच्छिक रुपमा दिँदै निमुखा जनतामाथि अनवरत् युद्घ लादियो ।

कर्णालीको भित्तामा बसेर 'आयो है आयो नुन' भन्ने विज्ञापन सुनेजस्तै सम्वत् २००७ देखि संविधानसभाको गफ सुन्दै आएका नेपाली बल्ल दशकौँपछि यसको जरामा पुगे । तर यो जरा जेलिनको लागि थिएन, थियो निस्किनको लागि । बारम्बार खबरदारी गर्दा पनि प्रजातन्त्र पुनःस्थापनापछि पनि आफ्नै राइँदाइँमा हराएका राजनीतिक दलबाट देशको ढोका खुलेन, धोका भइरहृयो । फलत यसपाली संविधानसभा निर्वाचनको परीक्षामा मूलधारमा ठिङ्गिएका देखिने ती दलहरू किनारामा उछिट्टिए । यसको विकल्पमा जनयुद्घताका जति नै सास्ती दिए पनि जनताले अत्यधिक मतले माओवादी शक्तिलाई नयाँपनको भोकसहित स्वागत गरे ।

आज माओवादीको जीतसँगै यसलाई अप्रत्यासित नतीजा एवम् अन्तर्राष्ट्रिय जगत्‌को असली प्रतिक्रिया र अपनाउने सम्भावित भूमिका के-कस्तो होला भन्ने कौतूहल सतहमा उम्लिएको छ । यसका साथै देशभित्रको राजनीतिक वृत्तमा राज्यको संरचनामा आमुल परिवर्तन र आर्थिक क्रान्तिमार्फत समृद्घ नेपालको निर्माणको कुरा पनि चर्को रुपमा फैलिएको छ । अब हेर्ने छन् नेपाली जनताले- विद्रोहीको रुपमा बाहिरबाट पुरानो सत्ताको उपमा भिराउँदै बन्दुके क्रान्ति छेड्ने माओवादीको जिम्मेवार राजनीतिक तागत र आर्थिक क्रान्तिमार्फत मुलुकको आमुल कायापलट ।

***
अप्रिल १४, २००८ (नक्साल)

४५ वर्षपछि...!?

निबारको सफा मौसमको अपराहृन अप्रिल ५ मा मन्दिरको सौम्य छायामुनि म साथीसँग थिएँ । साथी पनि कस्तो भने, बल्ल साताको एकपटक भेट्ने ऊसँगको आत्मीय रुटिन छ । गफिँदै गर्दा गोटागोटी फुल्ने क्रममा रहेका मेरो कपालतर्फ इंगित गर्दै साथीबाट बोली फक्रिएको थियो- 'तिमी त बूढो भएछौ यार ! त्यही भएर पो लोकसेवाको गम्भीर पढाइतिर लागेछ यो मान्छे ।'
सुनेर मौनतामै बसेँ । अनि केहीबेरपछि चराको प्रसङ्ग निस्कियो (भनूँ निकाल्यौँ) । चरा भएको भए तिमी गर्थ्यौ के ? साथीलाई सोधेँ । सोधाइ आफैँमा उत्पादक त थिएन, तर अर्थहीन पनि थिएन क्यारे ! काल्पनिकीमा बहनु पनि कहिलेकाहीँ वर्तमान जिन्दगीलाई नै चार्ज गर्ने बहाना बन्न सक्छ । गुफाबाट भोको बाघ निस्किएकै गतिमा साथीबाट झ्वाट्ट बोली फुट्यो-'के गर्थेँ नि, यतिबेलै हिडिदिन्थेँ घर !' राम्रैसँग मर्मत गर्नेगरी साथीको घुर्की गुनगुनायो ।

'अनि तिमी चाहिँ के गर्थ्यौ नि चरा भएको भए ?', घुर्कीको लय सकिएपछि साथीबाट मेरो प्रश्न मलाई नै फिर्ता भयो । यतिखेर सायद 'मेरी बिल्ली मुझसे म्याउ' भन्ने हिन्दी उखानको चरितार्थ भएको थियो । नसोचीकनै जवाफ खन्याएँ-'म पनि चक्कर काट्ने थिएँ आफ्नै बसोबासको इलाकावरिपरि ।' हिसाब सायद बराबर भएको थियो बल्ल । तर, कुरो त हो, सानोतिनो छिपछिपे कुलोको रुप लिइहाल्यो । साथीबाट सताउने क्रम सुरु भयो, अर्थात् प्रश्नबाट । सोधियो मलाई- 'अनिखेर चक्कर काटेकोकाट्यै बसिरहन्थ्यौ ? के गर्थ्यौ पछि ?'

बालसुलभ प्रश्नले म कायल बनेथेँ । तर त्यसको मिठासले मन नझमझमाएको कहाँ हो र ? देखावा रूपमै भए पनि उस्तै जवाफले मुख बन्द गरिदिने प्रयासमा आकाशतिर औँल्याएर बताएँ-' के गर्थेँ भने नि, जान सक्ने भए उड्दाउड्दै उः माथि शून्यमा गएर बस्थेँ ।' हाँसोको फोहोरा छुटाउँदै साथीको धारावाहिक बोलीको अर्को अध्याय सुनियो- 'त्यहाँ जाने अलि बेला भएको छैन तिम्रो, कम्तीमा पनि ३५/४० वर्षपछि त इच्छा पूरा हुन्छ धन्दा नमान ।' ३५/४० वर्ष.. यो दोहोरो तथ्याङ्कमा अनिश्चित भएर मलाई अलमलिन उचित नलागेर साथीबाट उमेरको टुङ्गो मागेँ । जिस्काजिस्कीसँगै साथीको ओठ खुल्यो-'ल त्यस्तै ४५ वर्षपछि तिम्रो शून्यको यात्रा सुरु हुनेछ, जेजे गर्नु छ यही ४५ वर्षभित्र गरे हुन्छ है।' यो लवजसँगै कसैले माथिबाट तथास्तु भनेझैँ लाग्यो ।

शून्यको यात्रा...
४५ वर्षको बूढो पर्खाइ...
गोरेटोका आफ्ना सपना र अरुका अपेक्षा...
४५ वर्ष त मेरो हो,
त्यसपछि त्यो 'मेरो' कहीँ अलप हुनेछ अरुहरूमा ।


वा त्यसअघि नै मलाई
उड्नलाई हतार हुने हो ? ...
***
- अप्रिल ६, २००८ (नक्साल)

April 8, 2008

नयाँ वर्ष: जोगाऔँ हर्ष

सपाली पनि उहिले-उहिलेझैँ फेरि नयाँको बहाना । केही नगरे पनि नयाँ वर्षको भ्रमले कता-कता उमङ्गको आङमा तातो भने गजबले लगाउने गर्छ । यसैले पनि अहिलेसम्म हामीले नयाँ वर्षलाई घोडा बनाएर सवारी चलाइराखेको हो कि क्या हो ? खोइ, यो त मेरो मात्र विचार । हुन पनि नयाँ वर्षे हाम्रो लागि जमघटमा 'चियर्स !' बोकेर ल्याउँछ । आफन्ती हातहरूमार्फत 'धेरैधेरै राम्रो जीवन बाँच्नू है' भन्ने शुभकामना थमाउँछ । अनि यस्तैयस्तै हँस्यौलीबीचमै, कलाकारले अमूर्त चित्र उतारेझैँ यही 'ह्याप्पी न्यू एर' ले हाम्रो निधारमा सुस्तरी हस्ताक्षर कोर्दै जान्छ ।

कोठाको सानो संसारमा क्यालेन्डरले बोकेर ल्याउँछ नयाँ वर्षर हामी त्यससँगै आँखमिचौली खेल्दै मन-मगजभरि उत्साह सजाएर नवीकरण हुन खोज्छौँ । म पनि त्यो एउटा पात्र, अर्को पात्र सायद तपाईँ पनि । यो नवीकरण त मानौँ सेताम्मे हिमश्रीपेचधारी बूढाबाजेले सपक्क मेहन्दीले कपाल लिपेर मुस्कुराउनुजत्तिकै हो । तै पनि हामी नवीकरणमा बूढी औँठाको ल्याप्चेलाई झन्-झन् भद्दा चालले दबाइरहेछौँ ।

नयाँ वर्ष
नयाँ नेपाल ।
यो खुइले नारा कसले बोल्यो, त्यो त थाहा भएन । यति थाहा छ, पृथ्वीका आउने दिनहरू झन् दिनानुदिन चुनौतीपूर्ण हुँदै गइरहेछ र पृथ्वीबासी आफ्नै कारण खतराको सूचीमा परेका जैविक सम्पदा । यस्तोमा तपाईँ-हामीले गर्ने के ? उपाय एउटै छ- भएको कुरालाई जोगाउने । अर्थात् जे-जस्तो कुरा आफूसँग बचेको छ, त्यसको संरक्षण गर्ने । आउने दिनमा के होला, बेठेगान छ । यस्तो बेठेगान स्थितिमा पोल्टोभित्र राम्रै कुराको तहतह ओइरो लाग्नु त परकै कुरा, भएको आफ्नो आंशिक हर्षपनि नबगाउला भन्न सकिन्न । यसैले 'आस गर भर चाहिँ बाबै हो पर्दै नपर' भन्ने उहिलेको उखान सम्झिँदै आफ्नो मौजुदा वस्तु-पदार्थलाई बचाउनतिर लागौँ । यो नयाँ वर्षमा बचेखुचेको हर्ष जोगाउन सकौँ भन्ने शुभकामना छ है !
सबै ठिकठाक रहून् ।

- अप्रिल ८, २००८ (नक्साल)

उपकार : नयाँ अर्थ र बुझाइ

प्रिय समय,
यो पहिलो पत्रको प्रेम तिमीलाई ।

यस्तो पत्र अरु कसैले आजसम्म पठाएकै छैन, म त्यस्तो पत्र तिम्रो नाममा लेख्दै छु । मैले धेरैधेरै बोध गरेर पनि बुझ्न सकिनँ, तिमी खासमा के हौ ? र पनि अविरल प्रयासमा छँदै छु । बोध गर्नु र बुझ्नु अर्कै-अर्कै कुरा पर्‍यो क्यारे । सायद तिमीले यतिखेर यसलाई कस्तरी बुझ्नेछौ भने, यो पत्र लेखेर मैले तिमीलाई ठूलो उपकार गर्दै छु । मैले केही भन्नुको असर तिमीलाई अर्कैअर्कै पर्न थालेछ । साँच्चि भन्दै छु, अब त मलाई तिमीसँग केही बोल्न पनि डर लाग्यो । अनि कुरा दोहोरिएला भनेर उस्तै त्राहि !

मेरो हरेक खुला अभिव्यक्तिलाई उपकारको दयालाग्दो अर्थमा व्याख्या गर्दै आफूखुसी बुझ्दै आएछौ तिमीले । तर यो कस्तो बुझाइ ? र पनि तिमी यस्तै बुझ्छौ भने मेरो पनि के नै लाग्छ ? तिम्रो बुझाइको तहमा मेरो भावलाई मैले भान्साको खोपामा बेल्ना-चौकी घुसारेजस्तै राखिदिन त सक्दिनँ नै । तिम्रो बुझाइ तिम्रै स्वभाव पक्रिएर तिमीसँगै हुर्किने त हो । मसँग आकार दिने त्यस्तो 'मास्टर मेसिन' भएर पनि तिम्रो केही काम आउने छैन । मेरो स्वाभाविक समर्पण र खुलापनलाई तिमीले उपकारको संज्ञा दिए पनि कुनै मेसिनले त तिम्रो त्यस्तो संज्ञा बोक्ने छैन । तिमी आफैँ पनि प्रतिक्रियाहीन मेसिनसँग टक्कर खेल्न पेश हुने छैनौ । अस्तित्वले आज अस्तित्वसँगै त जेजे छन् सारा कुरामा टक्कर खेलिरहेछ । मानौँ यो नै प्राथमिक सोख हो ।

तिमीद्वारा ममाथि आरोपित उपकारको अर्थ शब्दकोषमा के छ, जान्न चाहन्छ्‌यौ ? लेखिएको छ : उपकार- (सं०) १. अरूको कष्टनिवारण तथा हित वा भलाइका निम्ति गरिने कुनै असल वा शुभ कार्य । २. सेवा र सहायता । ३. कुनै असल र लाभदायक कार्य वा फल । .... तर तिमीले उठाएको उपकारको दयनीय भाव र शब्दकोषका यी अर्थदेखि पनि म एकदमै बाहिर छु । शब्दकोषको ठेली नपल्टाएको पनि धेरै भएको थियो, एउटा बहाना जो पाइयो ! तिमीले जुन रुपमा शब्दलाई मतर्फ फ्याँके पनि आखिर उपकारको अर्थ त शब्दकोषमा मीठै रहेछ । मीठो छ भन्दैमा फेरि तर मैले त्यही नै उपकार गरेको भन्ने लोभ सँगाल्न पनि चाहन्नँ । उपकारको भकारी सम्हाल्ने मलाई त्यस्तो साहुजी बन्नु छैन, जसले स्नेहको आत्मिक अनाज कसैमा छरे पनि त्यसको लागि 'उपकार' नामक भद्दा उपमाको प्रहार खेप्छ ।

मेरो समय,
संसारमा जेजति प्रियता बिग्रिएको छ, यस्तो लाग्छ- बढ्ता अपेक्षा र निकटताले नै बिग्रिएको छ । स्थिति बिग्रिएपछि मन र मगज बेकामी यन्त्र हुनलाई कुन आइतबार ! हामीमा पनि एक-आपसमा बढ्तै अपेक्षा मौलायो कि ? अनि निकटता पनि हदभन्दा बढी नङ-मासु बन्यो कि ? यदि यस्तो हो भने त हाम्रो सग्लो आत्मीयतामा क्यान्सर लाग्नुअगावै आऊ यसको उपचार गरौँ । नत्र कतिन्जेल सद्दे भईभई पनि बिरामीको यस्तो कष्ट खेपिरहने हो हामीले ? कस्तो विचित्र कुरा, भएको निकटतालाई पनि उपचार गर्नुपर्ने ! तब के होला निकटता बरा !?

उपकारको कुरामा, मभित्र उपकार त के कुरा, 'उ' ध्वनिसम्मको पनि कुनै सोच थिएन । तर तिमीले उपकार नै खोतलेर निकाली मेरो सामान्य र स्वाभाविक भावमा अपवित्रताको छाया देख्यौ । दोस्रोको अस्तित्वमा आफ्नो श्वास पाउने हामी त्यस्तो एउटै प्राण भएर पनि कतिसम्म बेग्लिएर आपसी बोली-व्यवहारमा अर्कै अर्थ घुसाउने भइसकेछौँ । उपकारको अर्थ मैले कति सुकिलोमुकिलो रूपमा लिँदै आएको थिएँ, तर एकाएक आज कस्तो भद्दा लाग्यो !

हो, म आजसम्म जति पनि गर्दै थिएँ, त्यो सबै उपकार नै त थियो तिम्रो लागि ।
हो त, म उपकार गर्छु तिमीलाई ।
किनकि तिमी आफू नै उपकार पर्खिरहेछौ ।

मैले आफैँभित्रको आफू ठानेको प्यारो समय,
यो मेरो उपकार कतिन्जेल पर्खिन सक्छौ तिमी ?
-अप्रिल ७, २००८ (नक्साल)

April 7, 2008

अर्को घनचक्कर

निबन्ध

गुरुकुलमा सञ्जीव उप्रेतीको "घनचक्कर" उपन्यास नाटकमा मञ्चन हुँदै गर्दा म काठमाडौँको चिसो समय नियाल्दै "अर्को घनचक्कर" लेख्दै छु । चितवनका 'हाम्रो मझेरी' सम्पादक पुष्प अधिकारी 'अञ्जली' को मित्रवत् धम्कीलाई खेप्न नसकेर पनि कनिकुथ्न थालेको हो । नत्र ...... भन्ने शब्द फेरि दूरभाषबाट सुन्नुपर्छ । एकपटक सम्पादकको संगतमा के पर्नुपर्छ, अनि थाहा लाग्छ लेख्न कति गाह्रो र नाम जोगाउन कति साह्रो । होइन भने पत्रिकाको भित्री आवरणमा छापिने आफ्नो नामले आफैंलाई गिज्याउँछ । अनि शब्दहरूको वाणले ब्रम्हास्त्र खेप्नुभन्दा थाहा हुन्छ, पुष्प अधिकारी 'अञ्जली' को स्नेहपूर्ण धम्की चर्को कि ब्रम्हास्त्र चर्को ?

दृश्य १
लेख्न नपरे हुनेजस्तो लाग्ने आजकल मलाई लेखी टोपल्ने भन्नु पर्ला । कति गाह्रो साथ लेख्यो, कुखुरीले अण्डा खसाले जस्तो । साथी भाइलाई, ए हैन साथी बहिनीहरूलाई सुनायो "कटकट कट्यास" गर्दै अनि ........। छापिएर आइपुगुन्जेल लेखेको कुरो अर्थात् अण्डा त कहिले पोच, कहिले अमलेट, कहिले ब्वाइल भइसक्छ । कहिले पात्रको नाम बदलिन्छ, कहिले अनुच्छेद, कहिले हरफ नै फेरिन्छ, रायमाझी आयोगको प्रतिवेदन बदलिएझैं । नाम 'समृद्धि शायद' नै तोडमरोड हुन्छ कहिलेकाहीँ । अस्ति भर्खरको मात्र अनुभव 'अन्तराल' शीर्षकको कथा छपाउन एक अग्रजबाट सहयोग रहृयो । सहृदयी अग्रजलाई मेरो कथाको संतापले छोएनछ पक्कै पनि । भएछ के भने कथा थियो नारीवादी, सम्पादक र कम्प्युटरमा परे पुरुष मित्र अनि कथाको त पूरै सत्यानाश । अर्को पटकको लागि मैले नै कान समातेँ अहँ ! परेन लेख्न कथासथा भनेर । कति पटक त मसम्म आइपुग्ने पत्रिकाहरूको व्यथा देखेर पनि अत्यास लाग्छ । रेडियो प्रसारक मित्रहरूको टेबलमा चाङका चाङ साहित्यिक पत्रिका र संग्रहहरूको बिल्लीबाठ त्यस्तै । संग्रहको नाम कुरा चल्नासाथ कागजको सत्यानाश भन्छन् मेरा मित्र । कहिलेकाहीँ मलाई पनि गिज्याउनुहुन्छ - "तिमी मरेपछि नरकमा जान्छौ, पक्का ।" वन फँडानीको पाप मलाई पनि लाग्छ रे, तर संग्रह निकाल्नेहरूजत्तिको चाहिँ होइन है ।

दृश्य २
त्यही भएर हिजोआज लेख्ने जाँगर पटक्कै लाग्दैन । लेखे पनि बिजुली पत्रिका (वेबसाइट) हरूमा लेखी टोपल्छु । फेरि मेरो भनेर पढिदिनेहरू नै कति होलान् । साँच्चै भनूँ भने म आफैं पनि मेरा आफ्नो सिर्जना छापिएको पत्रिकालाई मात्र काखी च्याप्छु भने । चिनाजानका अग्रजहरुबाट प्राप्त हुने, निगाह हुने पत्रिकाहरू, संग्रहहरू हात पार्दा भनाइहरू पनि कानमा पर्छन् । "अलि नाम चलेकाहरुको पो पढ्नु, जसले पनि थमाइदिन्छन् अनि के गर्नु ? यता नाम चलिसकेका, बिकिसकेकाहरूको बेग्लै चिन्ता । संग्रह निकाल्न कम सजिलो छ र ! पाण्डुलिपिको छायाकपी भूमिकाको लागि बुझाउँदैमा हैरान । प्रकाशकहरू त्यस्तै चुतिया (माफ गर्नुहोला भाषा जस्ताको त्यस्तै राखेको मात्र) । बजार व्यवस्थापन, विक्री दुवैको कारण संकट निम्त्याउनु पर्छ । हरे शिव ! लेखक र लेख्नेको हविगत, कठैबरा नभनी सुख पाइँदैन । दैनिक, साप्ताहिक, पत्रिका पढ्न त समय नभ्याउने अब कहाँ साहित्यिक पत्रिका पढ्नु फुर्सद रे । म स्वयम्‌को कुरो गर्ने हो भने पनि 'आवश्यकता' नै प्राथमिकतामा पर्छ । हातमुख जोर्ने चिन्ताले नछोड्नेहरूको लागि के पत्रिका, के सिर्जना, के साहित्य ! कामको मार दिनभर रहन्छ, अलिकति बचेखुचेको समय पढाइ र घरपरिवारसँग । अनि कहाँ हुनु नयाँ सिर्जनात्मक अभिव्यक्ति ।

अर्को अनुच्छेदको लागि चुट्किला नै रमाइलो होला भन्ठान्छु है । क्याम्पसको वातावरणमा सुनिने यस प्रकारको चुट्किलाहरूले कतिदिन सम्म मुस्काउन सहयोग गर्छ । 'निद्रा नलाग्ने रोग लागेकाहरूको उपज हो साहित्य' कि प्रेममा परेकाहरूले मात्र 'सिर्जना' गर्छन् । नत्र अरुबेला भ्याउन्न, राती त त्यही २ किसिमहरूका लागि हो । अरुबेला त निद्रा परिहाल्छ नि त होइन र ! सुख, मज्जा र खुसी भएकाहरूलाई कहाँ नपर्नु र निद्रा .......... कुम्भकर्ण पनि कम पर्छ त्यस्ताका लागि ।

दृश्य ३
मेरा मित्र 'धरातल' धेरै दिनपछि कुपण्डोलको पुलछेउ भेटिए । म लोटस बुक सपमा अल्वेयर कामुको 'वह पहला आदमी' हिन्दी अनुवादको खोजीपश्चात किताब च्यापेर संसार जितेझैं भावमा फर्कंदै थिएँ । मित्र डिस्केट हातमा लिएर रणभूमितर्फ प्रस्थानमा, तेस्रो गजल संग्रहमा भूमिका प्राप्त गर्न भिड्न पूर्ण तयारीकासाथ । उही कुरो के 'स्यालको सिकारमा बाघको सरजाम' का साथ बाँकी कुरा आफैं-आफैं आफ्नै सार र अर्थ लाउनुहोला । अर्को नवमित्र हुनुहुन्छ- जोतारे धाइबा, लेख्न र बोल्नमा सराबरी खप्पिस । यी दुवैको संगतमा पर्नेहरूलाई थाहा हुनुपर्छ लेख्न, लेखाउन र छपाउन कति कसरत गर्नुपर्छ भनेर । कहिलेकाहीँ म पनि अचम्ममा कति धेरै पर्छु भनेर कुन अचम्म ठूलो भनेर छान्न अचम्मैको घोत्लिनुपर्छ । हुन जान्छ के भने, एउटै लेखकको उही कृति तीन-तीनवटासम्म फरक-फरक हातबाट सप्रेम उपहार बन्न आइपुग्छ । सायद मेरो भाग्य ठूलै भएर होला निधार यतिविघ्न ठूलो र मसँग पुस्तक उपहार पठाउने मित्रहरूको संख्या पनि अरुभन्दा बढी नै भएको । बिचरा किताबहरू पनि मबाट पढिन पालो कुर्नुपर्ने । कहिलेकाहीँ बिर्सने बानीले त किनिसकेको र रहेको पुस्तक पनि 'किनेर-बोकेर' ल्याइन्छ ।

यस्तो विघ्न इतिवृत्तान्त थाहा पाउँदापाउँदै म फेरि किन लेखूँ ? सबै लेख्ने भए पढ्ने को ? कमसेकम एउटा राम्रो पाठक बनेर निस्कनु पनि त नराम्रो होइन क्यारे ! मैले पनि कतै पढेकी थिएँ- एउटा राम्रो लेखक हुनुभन्दा सयौं गुणा गाह्रो एउटा राम्रो पाठक हुनु हो ।
- कोटेश्वर, काठमाडौं ।

बाइबाइ जर्नालिज्म !

म्तीमा यस्तो सोचिएको थिएन । एकजना दाइले त भन्नु पनि भयो- 'लौ आठौँ आर्श्चर्य नै भयो ।' उहाँको औँल्याइँ मैले पाँच वर्षो अवधि पत्रकारिताको पढाइमा बिताएर पनि पत्रकारिता नगरी सरकारको निजामती प्रशासनतिर पाइला बढाएकोमा थियो । 'यो भाइले पनि यतातिर फाल हाल्छ भनेर मैले कल्पनासम्म नगरेको ।', हाल गोश्वारा हुलाक कार्यालय सुन्धारामा मेरो दाइसँगै खरिदार तहमा काम गर्ने त्यो दाइले रोमाञ्चकता प्रकट गर्नुभयो ।

यो निर्णय मैले मार्च ३० आइतबारको बेलुकी नै गरेँ । रेडियो सिटी एफएममा जीवनकै पहिलो अन्तर्वार्ता रेकर्ड गराएर साथी अनिताको घर सानेपामा कामविशेषले पुगेको थिएँ । फर्किने क्रममा साथी समृद्घि सायदको फोन आयो । उनीसँग पौने घन्टाभन्दा बढी हामी बाँचेको समय, चुनौती र भावी बन्दोबस्तीका बारे गहन 'गफ' भए । गफ पनि यति गहिरो र अर्थपुर्ण हुँदो रहेछ, कुपण्डोलबाट नक्सालको कोठामा गफिएरै पुग्दा म वैचारिक रुपमा राम्रैसँग मर्मत भइसकेको थिएँ । त्यो रातभर आँखाहरूले मलाई कुरिरहे । र, अन्त्यमा मैले पाँच वर्षघिदेखिको सपना 'पत्रकारिता'लाई बिदा गरेँ ।

आखिर जतिसुकै प्रिय सम्बन्धहरूसँग सङ्गतिमा रहे पनि आफ्नो कुराले बढीमा आफूसम्मलाई त अर्थ राख्ने रहेछ । जिन्दगीमा अक्सर कुनै पनि सानोसम्म खतरासँग खेल्नाले आफ्नै मन त हल्लिने हो, कहीँ हर्षढाइँले कहीँ चिन्ताले । मेरो हकमा पनि यस्तै भयो । मैले हिँडिरहेको बाटोलाई सिल्भरको तारलाई जस्तै सहजै मर्‍याकमुरुक मोडेर अर्को आकार दिएँ । र, यो मेरो लागि त महत्वपुर्ण कुरा थियो । अर्थात् मोड्नुको घटना र मोडिनुको प्रभाव ।

'आज तपाइँले रुवाउनुभयो', शुक्रबार अप्रिल ४ का दिन बेलुकीपखको सुनसान पलमा मोबाइलमा आएको एसएमएस पढ्न सुरु गर्दा म झसङ्ग भएँ । मैले रुवाएँ रे ? के गरेर अनि किन ? मेरो कारणले कोही रुन्छन् भन्ने त परकै कुरा, भ्रममा उल्लू भएर बस्छन् भने पनि त्यसले पिरोल्छ । यो मोबाइल-पत्रमा त रुवाएकै सोझै आरोप छ, अलमलिएँ । अझै अरु बाँकी रहेका रोमन नेपाली अक्षरलाई मोबाइलको बटन दबाएर हेर्दै गएँ- 'घरको याद आएर सिरियस भा'को थिएँ, त्यसमाथि तपाइँले छुट्टिने कुरा गरेर झन् सिरियस बनाउनुभयो ।'

सन्देशवाहक मित्र गनी अन्सारी थियो । पछिल्लो समयमा प्रसारण क्षेत्र विस्तार गर्दै 'रेडियो राष्ट्रको' बनाइएको कान्तिपुर एफएमको समाचार शाखामा कार्यरत गनी कलेजको सहपाठी । र, यति मात्र होइन, खोइ हामीबीच केके विचित्र रसायन पनि उपद्रै छ क्यारे, कति सजिलै यति आत्मीय मित्र बन्न पुग्यौँ । एसएमएसमा उसको दुखेसो देखेर एकातिर गर्व लाग्यो साथीको गुलियो मन पाएर अनि उसको स्वाभाविक चिन्ताले पनि मलाई नमीठोगरी हिर्कायो । तर कर्मक्षेत्र बेग्लिनासाथै मित्रताको निकटता फरक हुँदैन नि भनेर मैले विश्वास दिलाउनुपर्‍यो । कताकता गनीको कुरामा सत्यता पनि पाएँ । उसै पनि गतिशीलताको दुनियाँमा मान्छे को कता पुग्छ, ठेगान हुन्न । अनि काम गर्ने क्षेत्र नै अलग भएपछि बिस्तारै दुई मित्रको दुईटा पाटो आफू-आफूमै सीमित हुँदै जान्छ र अन्ततः हराउँछ ।
तर यार गनी, म तिमीलाई मनमै त्यस्तो फूल बनाएर सजाइरहेको हुन्छु । जहाँ तिमीले आफ्नो गमक छरिरहनेछौ ।
***
अप्रिल ६ , २००८ (नक्साल)

दासको स्मरण

हिले निस्कियो जुलुसको गोरो मुस्लो
अनि निस्कियो-
यही झुत्रे ज्यानबाट
भुलुक्क
सबैभन्दा मैलो रगत ।

मैले मैँलाई काइते भन्नुमा
के सजाय हुन सक्छ ?
मैले मेरो सालिक
दरबारमार्गको चौबाटोमा
ढसमस्स राख्दिनँ भन्दा
संविधानको कुन धाराले मलाई पखाल्छ ?

आन्दोलनको रुखमा चढेर
कोही बाँदर हुन्छन् भने के लाग्छ,
धर्नाको रापिलो सूर्यमा सेकिएर
कोही लघुमानव हुन्छन् भने के लाग्छ,
प्रतिगामी बूढो शासनलाई सिरानीभरि जपेर
क्रोधको नयाँ सत्तामा
हँसियालाई हथौडाले लगातार
कोही मार हान्छ भने के लाग्छ,
के लाग्छ होउ मेरो ???

कोही आज
नयाँ दरबारमा
मलाई बेहोस बनाउने चमत्कारिक घोषणापत्र
अझै बुट्टा-बुट्टा भरेर
देखाइरहेछन् महान् भोटो जात्रा,
कोही मेरो सातो खानलाई
सहिद-ढोकाको माथिल्लो निधारमा
ट्यास्स सजाइरहेछन् अक्षताको आस्था ।

तामाको गुभो चुस्दै एकतमास
सबैजना उनीहरू छिप्पिरहेछन्,
एउटै छ यो मेरो देश-
म ऐतिहासिक झन्डालाई
दशकौँदेखि उस्तै कलिलो छडीमा
फरफर लिरिलिरि हल्लाइरहेछ ।



***

चुनावी चिरिबिरि र उत्तरचैत

त्तालिँदै कराउँदै हिँडेका प्रचारका गाडी । घरघरमा होहल्ला गर्दै 'हजुर मेरो यो चुनाव चिन्हमा है भोट झ्यापझ्याप' भन्ने थेगो सुनाउँदै चहारेका उम्मेदवार महोदय । अनि सारा चहलपहल नियाल्दै एक जुगमा एक दिन त्यो चैत २८ को उज्यालोलाई बडो आतुरतापूर्वक कुरिरहेका आम र्सवसाधारण । कसैलाई चुनावको दिन कहिले आउला भन्दै औँला भाँच्ने धुन, कसैलाई भने आफूदेखि फरक दलका उम्मेदवार र कार्यकर्ताको ढाड भाँच्ने लत ।

यी सबैलाई झेलेर धेरै हिसाबले यो वर्षो आखिरी पल ऐतिहासिक बन्दै छ । अर्थात् नेपाली इतिहासमा पहिलो पटक हुन लागेको संविधानसभा निर्वाचन । यो परीक्षामा अन्ततः देशसँगै हामी सबै हेलिएका छौँ । आशा गरौँ - २०६५ बैशाखको सुर्योदयले सबैको आङलाई पुग्ने गरी नयाँ बिहान लिएर आउने छ ।

तर फेरि पनि आम कौतूहल छँदै छ- चैतपछि के ?
यसको लागि त पर्खिएरै हेनुपर्ने हुन्छ भन्ने औपचारिकता दर्शाउनु पुरानो रीत भइसक्यो । हामी सबैले नै त्यसको दिशा, गति र उचाइ निर्धारण गर्ने हो । अर्थात् आफ्नो ठाउँबाट जेजस्तो सक्ने हो, गरौँ । विचार र वादको हतियार लिएर मैदानमा उत्रिएकाहरूले त्यसैको भरपूर उपयोग गरुन् । इमानको अर्को हतियारलाई पनि तिनले दाहिना पारुन् । कारण, अब पनि बेइमानहरूको वर्चस्व रह्यो भने नयाँ नेपालको ट्याग सङ्ग्रहालयमा मात्र एकदम सुहाउनेछ । जहाँ त्यसको अवलोकनको लागि पनि दर्शकहरू घिनाउनेछन् ।

यस्तै, पेशाकर्मीहरूले आफ्नो सचेतनालाई अरु तिखारेर स्वर बुलन्द बनाऊन् । कलाकर्मी एवम् लेखकहरूले आफ्नो कौशलले धोकार्ढरालाई दखल दिएर सुव्यवस्थालाई अब्बल साबित गर्नेछन् । नागरिक समाज पनि न नागरिक न समाज हुनबाट जोगिऊन् र पर्वपरक उपस्थितिलाई बढावा नदिएर स्वाभाविक यात्रा बढाऊन् ।

नेताज्यूहरूलाई भन्नुपर्ने कुरा सकिइसक्यो । कति भनिसकियो भने, भनाइका भन्डार नै रित्तो भएझैँ लाग्छ । संविधानसभा चुनावको लागि जनताका घरदैलोमा हाते माइक फुकेर तपाईँहरूले आफ्नो लागि भोट माग्नुभयो । अब आफूले दिनुपर्ने भोट देशको लागि पनि दिने हो कि तपाइँहरूले ? अर्थात् अलिकता त्याग अनि समूह स्वार्थतिर 'लिप्त' हुनुहोस् त । जनतासँग भोट त माग्नुभयो, अब आफ्नो गुमिसकेको विश्वास पनि माग्नुस् उनीहरूसँग । विश्वास माग्नलाई तपाईँ विश्वासप्रिय हुनुपर्छ भन्ने कुरा भने नभुल्नुस् । नत्र 'चल भन्यो चल्दिएँ' भन्ने केटाकेटी उखानजस्तै होला सबै कुरा ।

यसपाली एकपल्ट नेताज्यूहरू हारेर देशले जित्नुपर्ने हो । यसो गरे कसो होला ?
***
- अप्रिल ६, २००८ (नक्साल)

गुरुकुलको आकाश, ५० कविता र एउटा तारा

मार्च २९ शनिबारको नरम साँझमा तीनजनाको हूल बाँधेर हामी पुरानो वानेश्वरस्थित गुरुकुल डाँडाको कलाकारी दुनियाँमा हराउन गएका थियौँ । हराउन गए पनि खासमा त्यो आफैँभित्रको आफूलाई भेट्टाउने प्रयास थियो क्यारे ! साँझका सहयात्री बनेका थिए- सञ्चारकर्मी र कविको युगल छविमा तन्दुरुस्त बन्दै गरेकी अनिता शिवाकोटी र विशुद्घ शिक्षा पत्रकार मनबहादुर बस्नेत । बहाना थियो, युवा कवि ठाकुर बेलबासेको अगुवाइमा आरोहण गुरुकुलले थालेको कविता-यात्रा । र, त्यस दिन ११ युवा कविका कविताहरूले गुरुकुलको कोठे यज्ञमा रापिने साइत जुरेको थियो ।

कविता-यात्राको पहिलो मेलोमा आयामेली कवि वैरागी काइँलाले पलेंटी कसेर नेपाली कवितामा हुनैपर्ने नियोजित हर्कत गरेका थिए । यो हर्कत स्नेह साय्‌मि, तोया गुरुङ हुँदै पछिल्लो क्रममा एकै बसाइमा ११ कविहरूका कविता सुन्न पाइने अवसरमा पेश भएको थियो । कार्यक्रम कविता-यात्राको रुटिन रहेछ- हरेक महिनाको १५ गते । कार्यक्रमका परिकल्पनाकारमध्येका एक, दाजु पदम गौतमको एकाबिहानैको निम्तो पाएर म साथी-सहेलीसँग त्यता वेगिएको थिएँ ।


भुराभुरीलाई शिक्षालयमा हुल्न कक्षा सुरुवातको सूचकस्वरुप घन्टी बजेजस्तै कार्यक्रम सुरु हुनुअघि जनाउ घन्टी बज्नु गुरुकुलस्थित नाटकघरको चलन हो । घन्टी बज्न त्यस्तै १५ मिनेट बाँकी छँदा हामी त्यहाँको आँगनीमा ओइरिइसकेका थियौँ । बाँकी समयमा कार्यक्रमका सहभागी तथा असहभागी कविहरूबीच गुरुकुलको खुला आकाशमुनि आत्मीयताको व्यापार (यहाँनेर विनिमय भन्न मन लागेन ।) भइरहेथ्यो । व्यापार यस मानेमा, समकालीन यी युवाहरूबीच कविताको प्रतिस्पर्धात्मक मैदानमा 'विशेष' कुश्ताकुश्ती परे पनि या कुनै कुनाको चिया-पसलमा फलानो कविको व्यक्तित्वबारे 'बहुआयामिक' शल्यक्रिया चर्किए पनि यहाँको औपचारिकता व्यापारिक आकर्षणको देखिन्थ्यो ।


आत्मीयताको त्यही व्यापारमा सहृदयताको नाङ्लो पसलको साथमा एक चिनाजाना अनुहार झुलुक्क देखिए । उनी हुन्- उमेश राई 'अकिञ्चन' । कुलुङ भोजपुरको माटोमा रमाएकी आमा रूकमाया राईका दुईमध्ये एक शब्दशिल्पी सुपुत्र । आमनेसामनेमा दुवै हामी खिसिक्क मुस्कान साट्छौँ । आपसलाई सोध्छौँ- कविताको झुम्रो ढड्याउनेदेखि लिएर जिन्दगीको जुत्ता धुनेसम्मका यात्राबारे ।

भेट यो हाम्रो पहिलोचोटि थिएन, सम्झनाले भ्याएसम्म पहिलो भेट हाम्रो सम्वत् २०६१ ताका भएथ्यो । बीचमा, फेब्रुअरी २७ को साँझ बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको 'ढोकामा कविता' पुस्तक विमोचनको क्रममा हामीले कसोकसो सट्याकसुटुक् फोन सम्पर्कको टुङ्गो साटासाट गरेर परिचयलाई नवीकरण गरेझैँ भयो । बल्ल तीन वर्षपछि हाम्रो तेस्रो भेट यो गुरुकुलको थुम्कोमा कुन संयोगले पो भयो ! फेरि कस्तो भने, उनी पनि काठमाडौँको उदास भीडमा मिसिएका छन्, म पनि यतै रल्लिएको छु । तर भेटघाट र चालचुल त खोइ...।

यस बीचमा सायद हामी आफू जीवित रहेको जनाउ दिनझैँ पत्रपत्रिका र वेब संसारहुँदी रचनासामग्री छपाउँछौँ र दङ्ग पर्दै आउँछौँ । अकिञ्चनजी आफ्ना कविता र लेखको बेजोड धारिलोपनले मलाई चिम्म आँखाबाट ब्युँझाउने, अनि सायद म पनि केही रुपमा उनलाई । कस्तो विडम्बनापूर्ण समय आयो भने, अब त आफू बाँचिरहेको विज्ञापन गर्नलाई भए पनि लेख्नुपर्ने भयो । यात्राको चक्कर नै यस्तो छ त हामीले रुट भङ्ग पनि गर्न नै कसरी पो सक्छौँ र !

स्रोतादीर्घाबाट अविरल तालीको पर्रा चोर्ने १० कविका ५-५ गोटाका दरले जम्मा ५० कविताको घानबाट निस्किएर बिदावारी हुने बेलामा खाइलाग्दा ज्यानका उनै अकिञ्चनजीले कुनातिर डोर्‍याए । प...रको बल्बबाट मुश्किलले चुहिएर आएको दरिद्र प्रकाशको सहारामा उनले भर्खरै प्रकाशित संयुक्त गीत/गजल सङ्ग्रह 'एक सगर दुई तारा' सप्रेम उपहार लेखेर थमाए । झल्याकझुलुक चर्चा सुनेको कृति हातमा पाउँदा तन्नेरी सर्जकको तारा-छवि पैल्याउन पाइयो भन्ने खुसीमा मन रमायो । पुरानो वानेश्वरको ओरालोबाट गुड्‌किएर सँगैका साथीलाई तिनका गन्तव्यतिर बेचियो । निवासतिर फर्किएर मूलगेट चिर्दै कोठामा छिरेपछि मित्रको कृतिमा छिर्ने मेसो बन्यो । पुस्तकको पहिलो पाइलोमै रहेछ आमा आराधनाको गीत-

सबैभन्दा ठूलो भन्नु आमा तिम्रो माया रै'छ
संसारमा भाग्य भन्नु आमा तिम्रो छाया रै'छ

शक्ति भन्नु, साहस भन्नु आमा तिम्रो साथ थियो
आशिष् भन्नु, आफ्नो भन्नु आमा तिम्रो हात थियो
मन भयो शून्य-शून्य, आँखा बन्यो खाली-खाली
सपना नै डढ्यो सबै के पो खोजूँ आँसु बाली

धेरै कुरा भन्नु थियो तर छैनौ तिमी आमा
सबै कुरा छ तर मात्र छैन तिम्रो माया
आमा तिम्रो आशिष्‌बिना हिँडेको छु चिसो बिहान
मुटुभरि तिम्रो श्रद्घा, सबैभन्दा तिमी महान् ।

( उमेश राई 'अकिञ्चन' , 'एक सगर दुई तारा' बाट)

तापक्रम

हावा चलेको साँझ
तिमीभरि उडिरहेँ ।

कहिले टाढाटाढै
तिम्रो छोटो इशाराले
नजिकिएँ
कहिले छेउकै आमनेसामनेमा
लामो सम्बोधनले
बहकिएँ ।

आँखामा अनन्त वेदनाझैँ
गाँसिएथे चपक्क ती युगल हात...

एकैछिन त रहेछ
तर न्यानो ।

सहरका नागबेली सपनाहरूमा
घुमिरहृयो
दिमागको असिनपसिन पयर...

हिउँ त रहेछ
तर यात्रा ।

सम्झिँदै छु-
भनेको थिएँ तिमीलाई
'अब हावा लाग्दा
मलाई तिमीभरि उडाऊ है'

तर
यति गर्मी छ यति !
तिमीले दिएको
मेरो गलाभरिको मुलायम मफलर
छ्याप्पै भिजेको छ ।

अब त
बसिसक्नु कहाँ छ र

तिम्रो सतहबाट
दूर-दूरको विरही लयमा
वाफ भएर उड्दै छु ।
***
© जोतारे धाईबा
( फेब्रुअरी २४, २००८ आइतबार, नक्साल)

आमा






प्रकाश आस्था



'आमा त्यो आउँछ र ?' ' हो बा, त्यो आउँछ । त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउँछ ।' गोपालप्रसाद रिमालको 'आमाको सपना' का यी पंक्ति पढ्दा 'त्यस्तो दिन' को चाहना प्रबल हुन सक्छ आजका सचेत जनमा, जो चट्टान फुटाएर फूल फुलाउने सपना देख्छन् । परिवर्तनको शंखघोष गर्ने रिमालको 'आमा' नेपाली वाङ्‌मयमा भने कविता मात्र नभई एउटा प्रतीक बनेर बाँचिरहेको छ र बाँचिरहनेछ सधैँ, सायद । 'आमा' साहित्यमा अत्यधिक रुचाइन्छ । रिमाल मात्रै होइन, धेरै र्सजक 'आमा' पात्रलाई आदर्श मान्छन् र सिर्जनामा उतार्छन् पनि । हिंसाले पीडित वर्तमानमा सिर्जित कैयौँ सिर्जनामा आमा समेटिएका छन् ।
युगकवि सिद्धिचरण श्रेष्ठले लेखे- 'आमा ! तिनीहरूले जेसुकै भनून् म बहुला होइन...।' यहाँ अन्यायको विरुद्ध आवाज उठाउने 'म' पात्रलाई कुनै अत्याचारीले बहुलाहाको आरोप लगाएकोमा प्रतिरोध गरिएको छ र आँखा भएकाले हेर्न पाउनु र पेट भएकाले खान पाउनुपर्ने माग गर्नु कुनै पागलपना होइन भनी आमासँग हारगुहार गरिएको छ । कति चतुर छ कवि - आमालाई सम्बोधन गर्दै घुमाएर स्वतन्त्रताको पो माग गर्छ । सायद कालरात्रिताका यस्तै थियो अभिव्यक्तिको सरस तरिका ।
आमालाई माटो मान्छन् श्रष्टाहरू । कारण, आमाको गर्भ नै मान्छेको प्रारम्भस्थान हो । संसारका उत्कृष्ट मान्छेहरू तिनै आमाले जन्माइन् । नौ महिना आमाको गर्भभित्र खेल्दै बाहिरी संसार देखेकाहरू कोही देवकोटा त कोही टैगोर बने । अनि कोही पारिजात त कोही रिगोवेर्ता मेञ्चु बने । मार्टिन लुथर किङ्ग, टेरेसा, मन्डेला, शेक्सपियर जस्ता उत्कृष्ट 'मानव-सिर्जना' आमाकै देन हुन् ।
धर्ती, माटो, जमिन, जननी, आमा , माता, देवी, जगज्जननी भगवती, दुर्गा-भवानी जे भनेर पुकारे पनि हामी सबै आमाकै सिर्जना हौँ । आमाको सिर्जना र प्यारकै कारण हामी अस्तित्वमा छौँ । संसार भुलेर सन्तानमाथि र्सवस्व माया पोखाउने आमा ।
जब आपत आइलाग्छ, हामी आमा पुकार्छौँ । जब पीडा हुन्छ, 'ऐया आमा' भनेर पीडा दहन गर्न खोज्छौं । आमालाई र्सवस्व ठानेर पुज्ने प्राकृतिक र स्वाभाविक मानवीय प्रवृत्ति । पीडा भुलेर अर्को जीवनको रचना गर्ने ममताकी खानी आमा । त्यसैले होला संसारभर नै स्वतन्त्रता, संघर्ष, प्रेम, करुणा र मानवताको कुरा गर्दा आमा जोडिएर आएकी । अनि लेखेरै समाजिक, सांस्कृतिक र राजनैतिक मैलो फाल्न लागेका कलमवाजहरूले समेत आमालाई नै प्रेरणा र प्रतीक मानेका । आफना रचनामा तिनलाई उतारेका । कवि कृष्णप्रसाद भट्टराईले आफ्नो कविता 'सहिदको दृष्टि‍ ‌- सहिदको संकल्पमा' लेखे-
" असैह्य भै भने 'आमा' - आमा नै जेलभित्र छन्
हेर्छन् तन्नेरीका हात सबै नै नेलभित्र छन् "
संसार हेर्ने यो सुन्दर अवसर आमाबिना सम्भव हुन्थेन । न बन्थे आमाको भूमिका भएका वा आमाको महिमा गाइएका साहित्यिक ग्रन्थ, न त जन्मन्थे नै ती विख्यात र्सजक । दूर्गापूजा मातृ उपासनाको अर्को रुप हो परन्तु यो संस्कारलाई आस्तिकहरूले अलौकिक दैवी शक्तिको रुपमा चित्रण गरे । म्याक्सिम गोर्कीको आमा उपन्यास विश्वप्रसिद्ध हुनुमा त्यसको सन्देशभन्दा आमाको केन्द्रीय भूमिका प्रमुख ठान्छन् पश्चिमा साहित्यका हस्तीहरू । गोर्कीको कृतिजस्तै कैयौं सिर्जना लेखिएका छन् संसारमा आमासम्बन्धी । त्यसको कुनै लगत त छैन तर आमासँग सम्बन्धित कृति अत्यधिक छन् भन्दा केही फरक पर्दैन । ती धेरै रुचाइएका छन् । वर्तमान पुँजीवादी संसारमा साम्यवादी विचार छर्ने आमा उपन्यास यसको एउटै उदाहरण हो ।
जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन् भन्छ पूर्वीय मान्यता। अझ आमाको पूजा त हाम्रो नेपाली संस्कृतिमा पुरानो हो । जन्म दिने आमाप्रतिको यो सम्मानलाई कायम राख्नु आजको पुस्ताको कर्म र धर्म दुवै हो । शान्ति र प्रगतिमा विश्वास राख्ने आजका र्सजकले आफ्नो रुप र जवानीको समेत बेवास्ता गरेर ("आमाको रुप बिग्रन्छ सन्तान जन्मिएपछि, सन्तान पर भै जान्छन् डोलीमा अन्मिएपछि " -डा. कृष्णप्रसाद भट्टराई ) जन्म दिने आमालाई साहित्यमा प्रयोग गर्ने कामलाई झनै बढाउनु त छँदैछ, त्यसका साथै आमालाई साँच्चिकै पुज्ने संस्कारलाई पनि विकास गर्नु त्यत्तिकै आवश्यक छ । आदर्श श्लोक 'जननी जन्मभुमीश्च स्वर्गादपी गरियसी' को मर्म त्यतिखेरै सार्थक होला जतिखेर हामीले आमालाई वास्तवमै मनदेखि पूजा गर्दै आदर्शलाई व्यवहारमा उतार्नेछौँ । जब आदर्शलाई व्यवहारमा उतारिन्छ तब पो 'सुनमा सुगन्ध' सार्थक हुन्छ ।
***
- नुवाकोट ।
prakashprogressive@gmail.com

आँखैमा किन हो....

आँखैमा किन हो वहाब त्यस्तैत्यस्तै
हजुर र मेरो तनाव त्यस्तैत्यस्तै ।

एउटा त्यो मनमा अर्को यो मनमा,
ढकमक्क रातो गुलाब त्यस्तैत्यस्तै ।

शरीर यी दुरुस्तै मिल्दैनन् त के भो,
मिल्छ कि त हेरौँ स्वभाव त्यस्तैत्यस्तै ।

आफ्नै हो यो आफ्नै जीवन कठैबरा,
छ यसैको ठूलो दबाव त्यस्तैत्यस्तै ।

साथी खोज्दाखोज्दै संसार छिचोले'नि,
एक्लो यो हालत खराब त्यस्तैत्यस्तै ।


April 2, 2008

न्यूजरुम र निसासिँदै गएको मन



- अनिता शिवाकोटी


कार्यालयमा मानिसहरू आज कम्ती-कम्ती नै छन् । त्यसैले न्यूजरुमको धेरैजसो काम आफैँले भ्याउनुपर्नेछ । फोनका घन्टी बजेकाबज्यै छन् । भएका सहकर्मीहरू आआफ्नो काममा व्यस्त छन् । कम्प्युटरका किबोर्डबाट नथामिईकन खिटखिट आवाज आइरहेको छ । एउटा फोनमा कुरा गरिसकेर टिपाएको समाचारलाई कसरी लेख्ने भनेर सोच्न नभ्याउँदै, फेरि अर्को फोनको घन्टी बजिसक्छ । सानो-सानो कार्यक्रमका समाचार टिप्दाटिप्दा हैरान । मान्छेहरूले सानो काम गर्न पाएका छैनन्, समाचारमा भनिदिनुपर्ने । मानौँ समाचारमा नभनेसम्म गरेको काम काम नै होइन । कस्तो विज्ञापनको जमाना आएको ! गरेको कामको त विज्ञापन गरे पनि-नगरे पनि आफ्नो ठाउँमा अर्थ हुन्छ नै । त्यसबारे बिस्तारै सबैले थाहा पनि पाइहाल्छन् ।

मनमनै मुर्मुरिँदै टेलिफोनको रिसिभर उठाएँ । ४० यात्रु बोकेर काठमाडौँबाट हिँडेको रात्रि बस त्रिभूवन राजपथमा दुर्घटनामा परेछ । १० जनाको घटनास्थलमै मृत्यु भएछ, घाइतेलाई अस्पताल लगिँदैछ । हतार-हतार समाचार टिप्न थालेँ । दुर्घटनामा परेका कसैको पनि नाम थाहा हुन सकेको छैन । म झस्किएँ, ओहो ! आजै मात्र गाउँ जान भनी हिँडेकी मेरी बहिनी ! हातखुट्टा नै एक्कासि गलेर आए । एक्कासि दर्घटनाग्रस्त त्यस ठाउँमा दौडेर जान मन लाग्यो ।

सम्पादकले पल्लो छेउको टेबलबाट कराए- 'खै समाचार तयार भएन ? स्टुडियोमा जाने बेला भइसक्यो ।' हतार-हतार समाचार लेखिसकेर जिम्मा लगाएँ । मेरो ध्यान भने त्यही दुर्घटनाग्रस्त गाडीमै थियो । मेरी बहिनी, ओहो सम्झिँदा पनि कहाली छुटेर आउँछ । यी घडीका र्सुइहरू पनि कति चाँडो दौडेका हुन् - टिक्‌टिक्‌‌टिक्‌ । त्योभन्दा मुटुको ढुकढुकी झन् तोडले दौडिरहेको छ । आफ्नो कुर्सीमा आएर बसेँ । अघि समाचार टिपाउने साथीलाई फोन गरेँ- 'को-को परेछन् हँ - सबैको नाम थाहा भयो कि छैन ?'

उसले दङ्ग पर्दै भन्यो- (मानौँ उसले ठूलै काम गरेको छ ) 'अझैसम्म थाहा भएको छैन । न कुनै सञ्चारमाध्यमका मानिसहरू नै आइपुगेका छन् यहाँ । नाम थाहा हुनेबित्तिकै खबर गर्छु । सबैको नाम आउनेबित्तिकै पहिले मलाई खबर गर्नु, मैले आत्तिदै भनेँ ।

अहिले केही समय मात्र त भयो, देशमा मान्छे मरेका अनि मारिएका समाचार कम भएको । पहिले त यस्ता समाचार त कति-कति । कसले बढी मृत्यु भएका मानिसको संख्या भन्ने भनेर एक किसिमको होड नै चलेजस्तो हुन्थ्यो आमसञ्चारका माध्यममा । जोसुकैले कुन कुनाबाट खबर दिएको होस्, बस् त्यसकै आधारमा पहिलो हुने क्रममा फुकिहाल्थ्यौँ । कसैले आज के समाचार छ भनी सोधेमा हामी गौरवका साथ भन्थ्यौँ, आज यो घटनामा यतिको मृत्यु, यो ठाउँमा बम पडि्कयो, यति धनजनको क्षति, सांघातिक आक्रमण आदि । हाम्रो के नै जान्थ्यो र ! गल्ती भएमा पछि सच्याउँला, वा कम भनौँला । मानिस नमरेको दिन वा आक्रमण नभएको दिन हामी त्यसै बसिरहेका हुन्थ्यौँ । मृत्यु तथा आक्रमणका घटना नभएको दिन त समाचार नै नलेखेको जस्तो लाग्थ्यो । त्यसबेला हाम्रो काम देखेर सम्पादक पनि दङ्ग ! भन्थे- 'अरु स्टेशनभन्दा हामी एक कदम अगाडि हुनुपर्छ । कुनै पनि घटना हाम्रो हातबाट फुत्किनुहुँदैन । अनि त हामी पनि अझ हौसीहौसी काम गर्थ्यौँ। समयमा सबैलाई सूसुचित गर्नु हाम्रो कर्त्तव्य हो । सबैभन्दा विश्वसनीय र शीघ्र समाचार पस्कन पाएकोमा हामीलाई सन्तोष लाग्नु स्वाभाविकै हो ।

आक्रमण भएका ठाउँमा भ्रमण गर्न जाँदा धेरैपटक घटनाका प्रत्यक्षदर्शी, घटनामा परेकाहरूका आफन्तका कुरा रेडियोबाट सुनाएकी छु । कसैले तपाईँको रिपोर्ट सुन्दा आँखाबाट आँसु नै आयो भनेको सुन्दा आफू सफल भएको सम्झिएर भित्रभित्रै दङ्ग पर्छु । घटना भएको ठाउँमा गएर मानिसहरूसँग कसरी कुरा गर्ने भनेर मलाई आजकाल कसैले पनि सिकाइरहनु पर्दैन । जस्तै नबोल्ने मानिस पनि मेरो सामुमा एक्कैछिन मात्र भए पनि बोल्छन् । त्यसलाई मैले आफ्नो खुबीका रुपमा लिएकी छु । त्यो कला मैले पत्रकारिता क्षेत्रमा लागेर नै सिकेकी हुँ ।

मलाई त्यो दिन सम्झिँदा पनि लाज लाग्छ, म कति रुन्चे थिएँ समाचारकर्मी हुँदाका सुरुका दिनमा । ससानो कुराले पनि मलाई कति मर्माहत बनाउँथ्यो । सम्झिन्छु- आफ्नै आँगनको डिलमा खेल्दाखेल्दै बम पड्किएर घाइते भएका दुई बालकले अस्पतालको आँगनमा मृत्युवरण गरेका थिए । रिपोर्टिङ गर्न गएकी म रोइरहेका मानिसलाई देखेर आफैँले आफैँलाई थाम्न सकेकी थिइनँ । पैसाको अभावमा दाहसंस्कार गर्न नपाएका उनीहरूका अभिभावकहरूलाई आफूसँग भएको पाँचसय रुपैयाँ पनि दिएकी थिएँ त्यसबेला । फर्किने बेलामा पो थाहा भयो, गाडी चढ्ने पैसा पनि बाँकी रहेनछ साथमा आफूसँग । त्यसपछि दुई घन्टाको बाटो पैदलै कार्यालय पुगेकी थिएँ । कार्यालय पुगेपछि सम्पादकले 'खोइ त समाचार' भनेर सोध्दा पो सातो गयो । मैले त त्यस कारुणिक घटनाको वहाबमा डुब्दाडुब्दै रिपोर्टिङ पनि गर्न बिर्सिएछु ।

तर अहिले उनीहरूका समवेदनालाई रेडियोबाट बजाउन मलाई कसैले भेट्टाउँदैन । त्यसैले पनि सम्पादकका नजरमा पनि म अरुभन्दा एक कदम अघि । कुन समाचार कति मूल्यको हो, म सजिलैसँग छुट्याउन सक्छु । कुन समाचारले मानिसको मनमा घन ठोक्छ, अथवा कस्ता समाचार सुन्नबाट उनीहरू टाउको मोड्छन् त्यो केलाउनु एक सेकेन्डको कुरा हो । मैले सिकेका धेरै कुरा मभन्दा पछि आउने पुस्तालाई पनि सिकाउँदै आएकी छु । कुनै बालकलाई गाडीले किच्न लागेमा चुपचापसँग त्यस बालकको चित्कार अनि त्यहाँ भएका दृश्यलाई कैद गर्न सक्नु पत्रकारको काम हो । भोकै कोही मर्न लागेमा उसलाई खान दिनेभन्दा पनि ऊ कसरी छटपटाएर मर्छ, त्यो सिरिङ्ग भाव उमार्ने अवस्थालाई समाचारमा उन्नु पत्रकारका काम हो । यस्तै-यस्तै ।

फोनको घन्टी किरिर्र बज्छ, झसङ्ग हुन्छु । यत्तिका बेरको मेरो तन्द्रा एक्कैछिनमा भङ्ग हुन्छ । अर्को रेडियो स्टेशनमा काम गर्ने साथीको फोन रहेछ । 'वाह, आज त गजबको ब्रेकिङ न्यूज बजाइस् नि !' ऊ उताबाट फुरुक्क पार्दै थियो । मैले केही भन्न सकिनँ । कुनै दिन मेरो मृत्युको खबर पनि यसरी नै रेडियोबाट ब्रेकिङ न्यूजको रुपमा बज्नेछ । कसलाई थाहा आजै वा भोलि नै, जहिले पनि त हुन सक्छ । वा नबज्न पनि सक्छ, कतै गल्लीको कुनामा कति दिनको घिटघिटो खपेर मर्ने सडक बालकजस्तै । सबै मानिसका मृत्युका खबर बज्छन् र - को कहाँ कसरी मर्छ, कसलाई थाहा ? तर म किन सोचूँ त्यतातिर । मलाई त सम्पादकलाई दङ्ग पार्नु छ । आफूलाई सबै घटना-परिवेशका कुरामा अपडेट राख्नु छ । र मेरो कामदेखि सम्पादक दङ्ग पनि छन् ।
- वाह कति अपडेट हाम्रा रिपोर्टरहरू ।
- यस्तै हुनपर्छ, सधैँ आफ्नो काममा दत्त चित्त भएर लाग्नुपर्छ ।
- तिम्रो लेखाइ आजकाल निक्कै माझिँदै गएको छ, यसरी नै लेख्दै जानु ।
अघिदेखि सम्पादक पल्लो टेबलबाट केके भनेर एकोहोरो बोल्दै थिए । मेरो ध्यान भने दुर्घटनाग्रस्त गाडीमा सवार यात्रुहरूकै नामको कौतूहलमा अल्झिरहेको थियो । त्यत्तिकैमा सबैको नाम आयो । धन्न मेरी बहिनीको नाम त्यसमा रहेनछ । बल्ल मन ढुक्क भयो । मन हलुङ्गो र फुरुङ्ग भयो । अघिदेखि हराएको मणि भर्खर पाएजस्तै ।

- सानेपा, ललितपुर ।

धेरै पुरानो लाग्छ चिनारी ...

साहित्य र पत्रकारिताको दुई बैशाखीबाट जीवनको सन्तुलन खोजिरहेको एक युवा हुँ । साहित्यकै पृष्ठभूमिबाट पत्रकारितामा तानिएँ, पत्रकारितामा कुनै चुम्बकीय शक्ति देखेर होइन । जे देख्छु - अक्षर, भावना र विचारमा देख्छु । सूचना त केटाकेटी छँदा सलाइका मसिना दुईवटा बट्टा वारपार धागोमा बाँधेर एकापसमा फुसफुसाउँदा पनि धेरै थोक पाए झैं लागेकै थियो । अधकल्चो सूचनाको व्यापार हुने समाचारको दुनियाँभन्दा बरु साहित्यमा शक्ति र महाशक्ति नै पाउँछु।

तर, खाली ठाउँ पनि छ साहित्यिक कित्तामा । साहित्य सिर्जनामा कल्पनाशीलताको महत्व आफ्नो ठाउँमा छ, कल्पनामा बहकिने र आदर्शको अफिम ढुवानी गर्ने क्रममा नेपाली साहित्यमा उडन्ते गफ धेरै भए कि जस्तो लाग्छ । हाम्रो साहित्यले समाज र सत्यतथ्यसँग एकाकार हुनुपर्छ अब।

मामाघरमा जन्मिएँ रे म, सर्लाहीको राइटरखोर गाउँमा । त्रियुगा नगरपालिका – ७ उदयपुरमा हो मूल थातथलो । २०५८ सालदेखि काठमाडौं-कुवामा पौडिन आइपुगेको हुँ । पखेटा भिजेर, थाकेर लोथ भइसके पनि जाँगर त अझ निकाल्नै बाँकी पो छ भन्ने भम्र दिइरहेछु आफूलाई।

साहित्यका साथै फोटोग्राफीमा पनि रुचि छ । शब्दमा जस्तै फोटोग्राफीका रेखा र प्वाइन्टहरुमा अभिव्यक्त भएर पोखिएको उल्लासमा रमाउने गर्छु।

Blog !

ब्लगर डट कममा नोभेम्बर २००६ मा खाता खोले पनि अप्रिल २००८ देखि लेख्न सुरु गरें।
अभिव्यक्ति छताछुल्ल पार्ने नयाँ माध्यम खोज्ने क्रममा ब्लग उपयोगी देखें । विविध विषयमा लेख्दै आए पनि साहित्य नै यस ब्लगको ढुकढुकी रहनेछ।

Contact :
Email : dhaibaji@gmail.com / dhaibaji@hotmail.com
You may also find me on Twitter  and Facebook
----------------------------------------------------
एक थोपा समुद्र
  • समुद्र बन्ने ध्याउन्नमा हामी थोपाहरू गुडुल्किँदै बग्छौं । कहिले योजनाबद्ध, कहिले मनमौजी । प्राय:जसो, बनाएको योजनाअनुसार लिक नचल्दा कहिले भने बाटो नै नबनाउँदा पो गति ठीक रुपमा अघि बढ्ने हो कि भन्ने भ्रमले हामीलाई छोप्छ । र हामी नबनाएको बाटोमा पैंताला खियाउँछौं । नबनाएको योजनाका खातामा जिन्दगीको योगफल रच्न बुकुर्शी मार्छौं ।
  • जति दौडिए पनि, जता चाल मारे पनि आखिर हामी थोपा !
  • कहिले भीडमा पिसिएर लाखापाखा लागे जस्ता सपनाका हाम्रा भरियाहरू । कहिले निकै चुलीमा पुगेर झण्डा फहराए जस्ता हाम्रो जोशका आरोहीहरू । तब लाग्छ- हामी एक मात्र पात्र त हुँदै होइनौं । र बहुपरिचय हाम्रो एउटा अनुहारसँग जोडिएको छ । यसैले सपनाको भरियालाई चुइँचुइँ हिँडाइरहन्छौं, जोशका आरोहीहरूलाई होस्टे बोलीमा काँध दिएर ठेलिरहन्छौँ । यात्रा त शङ्खेकीराले पनि गरेकै हुन्छ ।  तर हाम्रो सपना र जोसको यात्रामा कतै पुग्ने-नपुग्ने ठेगानाको तारतम्य गाँसिएको हुन्छ, यस्तोमा ठेगाना किटेरै पनि हामी कतै पुग्न पनि सक्छौं र नपुग्न पनि । हामी थोपाको के निश्‍चितता ?
  • ‘गागरमा सागर’ भनाइ धेरै सुनिन्छ । थोपाको एक झुप्पा योग: गागरमा हामी अलि ठूलो थोपाको पहिचान देख्छौं। हामीलाई लाग्छ सपना र परिचयको मैदान अझै सेलाइसकेको छैन । ‘वैज्ञानिकहरूले सबै कुरा आविष्कार गरिसके र मात्र, नत्र मैं पनि के कम हुँदो हुँ’ भन्ने झोँकमा च्याट्ठिने हामीमध्ये कतिपय युवा हुँदा हौं । एउटा-एउटा विद्रोहको ज्वारभाटाले हाम्रो मस्तिष्कको मुलायम भित्तामा कति-कति लात मार्दा हुन् ।  हामी  एकै थोपा भए पनि कहाँ चुप लागेर बस्न सकौंला !
  • यसैले, हामी थोपा मात्र त हुँदै होइनौं, समुद्र हौं समुद्र – एक थोपा समुद्र ।