December 31, 2008

नयाँ वर्ष ! मङ्गल होस् !!

पहिले त हाम्रो एकापसको मङ्गल कामना आदानप्रदान भन्दा पनि नयाँ वर्षकै मङ्गल होस् । अर्थात् समयको मङ्गल होस् । समयलाई मङ्गल भएपछि त्यसैको रापमा हामी सबै न्यानो बनिहाल्छौँ । यदि कामना लाग्छ र यसको केही तागत हुन्छ भने नेपालको समय अबदेखि ठीक-ठीक बजोस् । सुई बिग्रिएको अवस्था पलापला झेल्नु नपरोस् ।

इस्वी सम्वत् अर्थात् ग्रेगरियन क्यालेन्डरको व्यापकता हाम्रो नेपाली जनजीवनमा मजैले घुलेको छ । केही अघि 'क्रिसमस डे', अबको केही पछि 'भ्यालेन्टाइन डे' ! ज्वरो हनहनती नेपाली निधारमा उम्लिएको उम्लियै । सांस्कृतिक सङ्क्रमणको आडमा कार्ड र गिफ्ट आदिमार्फत व्यापारको ठूलै चलखेल नेपाली बजारमा रन्किने गर्छ । यसै ज्वरोको मदमस्त नशामा 'पानीपट्टी' लिँदालिँदै घानमा परेर मौलिक संस्कृतिको सिन्दूरी रेखा एकपछि अर्को धमिलिँदै जाला कि ?

दैनिक घिसापिटानबाट भुत्ते बनेको जीवनलाई रौनकताले चार्ज गर्न विभिन्न अवसर छोपेर खुसियाली मनाउने क्रममा विदेशी संस्कृतिलाई च्याप्नु कतिपयको लागि राम्रो बहाना पनि बन्ला । तर त्यस रूपमा मनाउँदा पनि, भन्छन् नि अति गर्नु अत्याचार नगर्नु । आफू, आफ्ना र सामुहिक रूपमा बढीभन्दा बढीलाई राम्रो हुन्छ, फाइदा पुग्छ भने नराम्रो काम पनि गर्नुपर्छ रे (अर्थको अनर्थ नलागोस् है !) । त्यसैगरी, राम्रै मानिएको कुराले पनि धेरैको अहित गर्छ भने त्यसलाई टाढैबाट 'बिदा' भनिदिए वेश । यस मानेमा नयाँ वर्षलाई कुन रूपमा र कतिसम्म ग्रहण गर्ने, आजको पुस्ताले अवश्य सिक्दै जाला ।

नेपालीहरू ३६५ दिनको अवधिमा धेरै नयाँ वर्ष मनाउँछन् । विक्रम सम्वत्, इस्वी सम्वत्, नेपाल सम्वत्, तमु ल्होसार (गुरुङ संस्कृतिको नयाँ वर्ष)…...। थरीथरी क्यालेन्डरलाई काखी च्यापेर बिहान 'हाइ' गर्छन्, बेलुका 'बाइ' । यसो सबैलाई सम्मान र मान्यता दिने प्रयास पनि भनिटोपल्न सकिएला । यसपाली इस्वी सम्वत्‌को नयाँ वर्ष २००९ लाई नेपालीहरू लोडसेडिङको ध्वाँसे अध्यायमा लिपिबद्ध गरेर मनाउँदैछन् । अरू कैयन् वर्षसम्म नयाँ वर्ष मनाउने ज्योतिर्मय उल्लासको कुरामा कुनै फेरबदल हुने छैन । ध्वाँसैध्वासो । खान सजिलो पचाउन गाह्रो एनजीओको जागिरमा मस्त साथी समृद्धि सायदले भनेजस्तै गर्न सके अर्कै कुरा । अभ्यास गर्नुस् है :- 'आधा-आधा पेट, पूरा-पूरा प्रेम, क्यान्डल लाइट डिनर, हरेक दिन आहाऽऽ !'

२००९ को उल्लासमा समस्त ब्लगर मित्र, शुभेच्छुक आत्मीयजन, बोलचालमा जोडिने तथा मौन तादात्म्य राख्‍ने प्रिय पाठक साथै अन्य अपरिचित साथीसँगी तथा अग्रजजनमा सिर्जनशीलता, सहज जीवनयापन एवम् निरन्तर प्रगतिको मङ्गलमय कामना व्यक्त गर्दछु । Café ब्लग परिवारको हार्दिक भाव ।

****************************************************************************

December 24, 2008

आह् ! उनीसँगको साइनो र अनुरागको भाका

यात्राक्रममा कहिलेकाहीँ बदमासी गर्न मन लाग्दो रहेछ । तर अलि अलग तरीकाले । यस्तो बदमासीलाई तिक्खर अनुराग भनिदिए वेश । गाउँघरमा अझै पनि हाम्रा आमा-बडेआमाहरू भन्ने गर्छन्- 'बाबै ! एकोहोरो लिप्साले छोएपछि त कसैको केही पो लाग्दैन त !' खासगरी रातोपिरो रौनकले छुने उमेरका ठिटाठिटीको उखरमाउलो अनुरागबारे आमैहरूको त्यस्तो साउती सुनिन्छ । तर यतिखेर आएर त्यस्तो एकोहोरो लिप्सा र केही लाग्दैन है बाबै भन्ने थेगो मेरो जीवनमा ट्वाक्कै चरितार्थ भएको छ । अनुरागमै फसेको छु म । साँच्चै कसैको केही लाग्दैन अब, लागे पनि जेजे लाग्नु छ मेरै लाग्छ । एकोहोरो लिप्साले मलाई यस्तरी कर्‍याप्प गाँजेको छ, अब नचाहेर पनि यो अनुरागको चास्नीबाट फुत्किन मुश्‍किल छ मलाई । यतिविघ्न मिठासयुक्त सास्तीमा त यसअघि म कहिल्यै हुँडलिएको थिइनँ । धन्य हुन् उनी ।

उनीसँगको साइनोले म यति धनी भएको छु, अनुभूतिको भकारीमा मनग्गे अनाज छ जसले बौद्धिकताको पेट सेक्न बाँचुन्जेल पुग्नेछ । आत्माको सेफमा यति मणि र जवाहरात छ, तृप्‍तिले अब अन्यत्र डेरा सर्ने नाम लिनेछैन । जीवन भरिपूर्ण छ । र पनि म यही सन्तुष्टिमा मन बुझाएर, ज्यान टेकाएर त 'आराम सभा'मा ओथारो बस्ने छुइनँ । ताप छोड्नु छ, बाफ निकाल्नु छ, वायुमण्डलमा बहकाउनु छ, चिस्याउनु छ र फेरि दर्के झरी वर्षाउनु छ । उठान र बैठानको अनवरत् यात्रा…..।

उनीसँगको अनुरागमा म स्कुले बेलादेखि गाँसिएको थिएँ । खाँदादेखि चुठ्दासम्म उनैको धुन र ध्यान । त्यसबेला मेरो लागि समेत म, म थिइनँ; सबैसबै उनी नै । न कहिल्यै भेटघाटको संयोग, न त बोलचालकै सम्भावना । र पनि अनुराग त हो, दिन दिगुना र रात चौगुना झ्याङ्गिँदै गयो । माऽऽथि जूनको रोटीमा मेरै भोक पाकेर झन् झन् गाढा बन्दै गएको हो कि झैँ लाग्थ्यो । मेरो लुइरे ज्यानमा उनैको चिन्तन-मननको मासु नै भरथेगको कुरा थियो । देखादेख नभए पनि तिखारिएर सोझिएका उनका आँखा मलाई रङ्ग्याएर पार हुन्थे । उनीतिर मेरो ध्याउन्न यस्तो थियो, मानौँ भर्खरको दूधे बालासहितको दयनीय घरबार सारा छाडेर सिनेमा खेल्न गएकी एउटी युवती नाम र प्रसिद्धिको पछिपछि डाइरेक्टर सा'पको एक 'एक्सन !' बोलमा तिम्रो लागि ज्यान दिन्छु भन्दै हिरोको काँध भिजाइरहिछे । (यो उदाहरणको आशय नारी-चरित्रमाथि आक्षेप लगाउनु र पुरूषवादी ठेस पुर्‍याएर महिला मित्रहरूलाई रूष्ट बनाउनु होइन । उदाहरणले आजको 'ग्लामर मोह' प्रति तादात्म्य जनाउँछ ।) त, मेरो मोह पनि त्यस्तै तीव्र थियो, जुन आजसम्म कायम नै रहेर यो सम्झनाको लेखोट लेख्‍न र्‍याखर्‍याखती पार्दैछ ।

प्यारो शङ्कर । शङ्कर लामिछाने । उनी नै हुन् मेरा ती 'उनी' । साइनोको झोलुङ्गे पुल । जहाँ म मचमची पिङ खेल्नमा मस्त रमाइरहेछु । र यससँगै एउटा चुड्के भाका पनि निस्किरहेछ । जसलाई यो मनदेखि बजाएर अर्को मनसम्म पुर्‍याउन म तम्सिरहेछु । अर्थात् शङ्कर लामिछानेसम्बन्धी ब्लग (हेर्न यहाँ >>> प्रवेश गर्नुहोस्) को सुरुवात भएको छ । नेपाली साहित्यको यो पनि एउटा घटना हो भन्नेमा यतिखेर गर्व लागेको छ । यस कदममा आत्मीय मित्रजनको तालमा ताल सुन्न पाउँदा धन्य भइरहेछु । शङ्करलाई नपढुन्जेल मेरो लागि उनी एक खिनौटे प्रतिमा मात्र थिए । जब पाएँ पढ्न र थालेँ बुर्कुशी मार्न, अनि लाग्यो- यसअघि कुन दुर्भाग्यले पो उनका आविष्कारिक अक्षरतिर आँखा डोरिएनछन् ! हो, पहिलो पढाइमै मैले उनको मसिनो विषयमा गहन चिरफार गर्ने, सांसारिक जीवनशैलीबारे दार्शनिक विवेचना कस्ने, दैनन्दिनीका कुरालाई बोलीचालीको गद्यमा विशेष सन्दर्भ दिएर पस्किन सक्ने खुबी चिनेँ । कति साना घटनाप्रसङ्गहरू र तिनबारे कति हुरुक्कै पार्ने मादक प्रस्तुति ! त्यसपछि त शङ्कर अध्ययनका अम्मल बनेर भित्रिए ।

नेपाली साहित्यको निबन्ध फाँटलाई प्रयोगशीलताको बलमा विशिष्टता दिलाउने शब्दशिल्पी शङ्कर लामिछानेलाई इन्टरनेटको जालोमार्फत जनजनमा फैलाउने काममा जोडिन पाउनु मेरो निम्ति भाग्यको कुरा थियो । (र धेरै पाक्ने गरी सोच्दै नसोचेको कुरा पनि ।) त्यो भाग्यको दैलो धेरैधेरै शङ्करप्रेमी सर्जक तथा पाठकजनको हुटहुटी र ढाडसको स्पर्श मात्र पाएर पनि घरक्क उघ्रियो । झन् उहाँहरू सबैको निरन्तर लागिमेलीको जादुगरी छुवाइ पायो भने कोठा-चोटा र सिङ्गो घरै झकिझकाउ कसो नहोला ?

शङ्करसम्बन्धी ब्लग हिजोका शङ्करलाई चिन्ने, केलाउने र निष्कर्षमा बुझ्ने अभियान त हुँदै हो; आज र भोलिका मौलिक शङ्करलाई जन्माउने, जगाउने र जगेर्ना गर्ने महायज्ञ पनि हो । यो यज्ञमा तपाईँले थोरै मात्र धुनी जगाउनुभयो भने पनि नेपाली साहित्यको पुण्यता धेरै तातिनेछ-उज्यालिनेछ । सँगै, नेपाली निबन्धको पछिल्लो हालचालमा पनि गतिशीलताले पक्कै वेग मार्नेछ ।

शङ्कर एउटा व्यक्तिको कुरा होइन, युगको कुरा हो । नेपाली बाङ्‌मयमा शङ्कर-साहित्यको युग । यसै युगको टेकोमा नेपाली साहित्यको विगत गतिधारा जान्दै भावी रूपरेखा कोर्नु अन्यथा नहोला भन्ने सोचले ब्लगको बीजारोपण गरियो । यो एउटा प्रयास मात्र हो, जुन आधिकारिक स्तरको नभए पनि शङ्करको याद र कृतिगत उपस्थितिलाई ताजा गराउँदै आजको निबन्धसाहित्यको सारथि हुन सक्यो भने आफैँमा धन्य सम्झिनेछ । यो शुभ साइतमा, सम्वत् २०३२ ताका नै चोला उठाएर गइसकेका शङ्करलाई पाठक-समाजमा टुकुटुकु हिँडाएर ल्याउन मार्गदर्शन गर्ने र तागतदार भरोसा दिने शिव रेग्मी, प्रकाश सायमी, समृद्धि सायद (समृद्धि नभएको भए यो काम सायदै यति भरिलो र प्यारो बन्थ्यो), दीपक जडित (अलास्का, अमेरिका) र भीमेन्द्र खड्का (सउदी अरब) सबैप्रति ऋणी छु । फेरि पनि साथ पाइरहनेछु । यी नामका साथसाथै साहित्य, शङ्कर र निबन्धलाई मुटुभरि राख्‍ने अन्य हितैषीबाट पनि । तब उनीसँगको साइनो र अनुरागको भाका अझ प्रगाढ अनि झङ्कार छुटाउने हुनेछ ।

December 21, 2008

गजलको पुन:जागरण र मेरो गजलकार

गजलमा हात नचलाएको धेरै भएको थियो । एक जुग नै भने हुने ! पछिल्लो समय ब्लगमा हालेका गजल पनि वर्षदिनअघिका थिए, तिनबाटै आफ्नो 'गजलगो'को चिनारी बचाउने लोभ पूरा गर्दै आएको थिएँ । तर यसरी बिनसित्ति पुराना सिर्जनाको ब्याज खाएर बसिरहन गाह्रो लाग्यो । तैपनि फेरि गजल लेख्‍छु भन्ने कुरा मनमा जोख्‍नु समेत सजिलो कुरा थिएन मेरो लागि, मुड नै हराइसकेको थियो । कविता सिर्जनामै मलाई आफ्नो खुबीप्रति आत्मविश्‍वास र सन्तुष्टि मिलिरहेको थियो र समकालीन एवम् अग्रजहरूको धाप पनि । र पनि एक जमानामा मरिमेटेको क्षेत्रलाई चटक्क माया मार्न पनि नसकिने रहेछ । यद्यपि, गजलको सिर्जना अनि म बीचको साइनो वर्षौँ भू-गर्भमा गाडिएर रूप गुमाइसकेको चाबीको झुत्तासमान थियो, एकदम खियादार । त्यस्तो माध्यम अपनाएर मेरो सिर्जनात्मक दैलो खोल्नु वशको कुरा लागेन मलाई ।

यस्तो अनेक सकसलाई चिर्दै आफूभित्रको सुषुप्‍त अनुभूतिलाई चलाएँ र गजलको चकमकमा झोसेँ । अरूका गजल पढेँ, गजलबारेको चर्चा र टिप्पणी साथीसङ्गीको ओठबाट आमन्त्रण गरेँ । अनि यही हो है जिन्दगी भनेझैँ तालमा घोरिएर गजलको खेस्रामा औँला घिसार्न लागेँ । ब्लगमा राखिएका मेरा गजलबारे दाइ साथी दीपक जडितज्यूको सङ्केत र उहाँकै गजल-वहाबले पनि यसै मेसोमा आएर मेरो गजल लेखनको पुन:जागरण कालमा तेल थपिदियो । समृद्धिज्यूले पनि आफ्ना गजलको सन्दर्भबाट मलाई जगाउनुभयो । र म लागेँ जोर जोर पङ्क्तिको तानाबानामा । यसबीचमा कति नयाँ पङ्क्ति लेखिए, सर्लक्क पूरै मेटिए हिसाब रहेन । गजल नलेखिनुका कारण केही थिए, एक: गजल लेख्‍ने र सुनाउने साथीभाइको सङ्गति र कार्यक्रमबाट टाढै रहनु; दुई : गजलमै केही गर्ने तत्परताको कमी । गजल लेख्‍ने साथीहरूको सङ्गतिमा नरहनुको मुख्य कारण त राजधानीमा पहिले जस्तो मन बहलाउने गजल-गोष्ठि नहुनु नै हो ।

२०५९ सालमा मीन भवन क्याम्पसका साथीहरूले सुरु गरेको गजल गृह नामक संस्थाको नियमित गजल संलाप कार्यक्रम नयाँ गजलकार जन्माउने र पुरानालाई उक्साइरहने गतिलो मञ्च थियो । दुई-तीन शृङ्खला पुग्दानपुग्दै लोकप्रियता कमाउन त्यसलाई कति पनि बेर लागेन । नियमित गोष्ठिसँगै पछि द्वैमासिक गजलप्रधान पत्रिका पलाँस पनि प्रकाशन हुन थाल्यो । त्यसले झन् गजलका सर्जक र प्रेमीहरूलाई गजलसँग रमाउने अर्को बहाना दियो । संस्थाले देशभरि प्रतिनिधि बनाएर सञ्जाल विस्तार गरेको थियो । संस्थालाई टिकाउन र अगाडि प्रभावकारी तवरले हाँक्न व्यवस्थापन-संयोजन आदिका कुरामा साथीहरू पक्कै पनि पापड त बेल्थे नै, तर कार्यक्रमले ख्यालख्यालमै व्यापकता पाइरहेको थियो ।

उक्त कार्यक्रम, पछि शाही शासनको उकुसमुकुस र आन्तरिक खिचातानीका कारण रोकियो । त्यसपछि त्यो पक्षघात भएसरि ढलिरह्यो, त्यही रूपमा उठेन । पछि पुरानै अध्यक्षले आफ्नै हिसाबले सानो ढाँचाको कार्यसमिति बनाउनुभएर पलाँस पत्रिकाले भने अद्यापि पाइरहेको छ । कार्यक्रम बन्द भएसँगै ममा गजल लेखनप्रति लगाव टुट्दै गयो । त्यसरी देशव्यापी गजल-माहोल तताउने कार्यक्रम पनि संस्थाभित्रको पद र नामको घानमा परेर बन्द भएको कुरा थाहा पाउँदा निकै नमज्जा लाग्यो, एक किसिमले गजलप्रति नै मोहभङ्ग भयो ।

आज मात्रै दुइटा गजल लेखेँ । सङ्ख्यात्मक कोटाको हिसाब गरेर त के मक्ख पर्नु ? र पनि यो मेरो लागि अपार हर्षको कुरा हो- म फेरि गजल लेख्‍नमा एकोहोरिएँ । तिनै दुईमध्ये बालापनको प्रसङ्गमा लेखिएको एक गजल यहाँ पस्किएको छु :


खस्ने गर्थ्यो बम-गोला हाम्रो सानो स्कूलमाथि
पापी आँखा परे जस्तो सुकोमल फूलमाथि ।

उमेरले हुने हो कि विवेकले ठुलो मान्छे,
छ्‌याप्नु छ्‌यापे हिलोमैलो मानवको कुलमाथि ।

जेजे गर्‍यो आफूले ती सबै काम सही हुन्छन्,
पछुतोको भावै छैन आफ्नो कुनै भूलमाथि ।

फूर्र नाच्ने माछी देख्दा सहन्नन् यी रत्तिभरै,
सिङ्गो नदी छेक्छन् अनि हाँस्छन् काकाकुलमाथि ।

तागतको फिँज हेर कतिविघ्न उम्लिएको,
जोरी खोज्दै खनिँदैछन् बारुलाको हूलमाथि ।


डिसेम्बर २१, २००८ (नक्साल, काठमाडौँ)

December 18, 2008

आमा : आत्माको खिपिएको रङ




- जुरेली चरीको बक्खु काखीको न्यानोसमान ओइरिइरहने स्नेहधारा,
- मुटु छेड्ने पिराहा गालीको रेटिरहने स्रोत ।

सराबरी दुई हातको एउटा खँदिलो अँजुलि ।
अर्थात् आमा ।

सायद यही पहिलोपल्ट, आमा भन्ने दुईअक्षरी भाका मेरो लेखनीबाट झङ्कारमा उठेको छ । त्यो पनि विशेष रुपले । यस भूगोलमा कुनै पनि अस्तित्त्वलाई आफू हुनुको बोध गराउने अंश छाड्ने आमालाई नजिकबाट अभिव्यक्तिको केस्रामा उप्काउन मैले कहिलेदेखि हो सोचिरहेको । तर के भएर हो, आमा-समाजको ठूलो घेरामा पनि ती आमा त मैँसँग रहेर पनि मबाट छुटिरहिन् । अर्थात् मैले छुटाएँ । बिनाचर्चा, बिनापर्चा । चर्चा र पर्चाका कुरामा, उसो त आमा कुनै आम निर्वाचनको उम्मेदवार पनि होइनन् । र फेरि पनि खोइ कुन अर्थ र गहिरो उचाइले गर्दा हो, मैले आमाको भावलाई शब्दमा खेलाउन चाहेँ । जसरी बालापनमा उनले आफूहरूलाई झोलुङ्गोमा झुलाइन् । तर मैले आमाको आभायुक्त घोललाई उमेरभरि तापिलो गरी चाखिरहे पनि त्यसलाई देखिनँ । म कुन लङ्काको निद्रामा रहेछु यत्तिका बेरसम्म ? यी आँखाहरूमा कति किलो नौनी जम्मा भइरहेको रहेछ र पग्लिएर सफा हुनलाई यतिन्जेल लाग्यो - मानौँ यो सबै आमा भन्ने बोधकै रापिलो भावको प्रतिफल हो, जसले मलाई एकाएक आज छ्याङ्ग बनायो ।

र् भर्खरै यति लेखिँदालेखिँदै फोन सम्पर्कमा आएकी एउटी सखीलाई सामान्य भलाकुसारीपछि केरकार गरेँ-
'एउटा कुरा सोधूँ ?' भूमिका बाँध्छु (खासमा फुकाउँछु) ।
-'सोधूँ भनेर सोधि त हाल्यौ, के हो भन ।'
'आमालाई तिमी कति माया गर्छ्यौ ?'
- 'धेरै ।' उनको छोटो र सजिलो जवाफ ।
'मतलब ?' मेरो गहिराइ अझ गहिरिन्छ ।
- 'धेरै भन्या धेरै नि !' लगभग झर्किएको लबजमा उनको आमाप्रेम परिभाषामा पोखिन्छ ।

अँ, पुग्यो सायद । धेरैधेरै माया ।
चिठीपत्र लेख्दा पनि हामी सिरानमै उक्त 'धेरै' को ट्याग झुन्ड्याइहाल्छौँ । खासमा मनको प्रेमालु तरलता त्यहाँभन्दा बढ्ता अटाउँदैन पनि । र त हामी धेरैऽऽ भन्दै अमूर्तताको पोखरीबाट छाल उब्जाएर शीतल बटुल्न खोज्छौँ । साथै, बाँड्छौँ सम्बोधित कुनै प्यारो पात्रलाई पनि ।

उनै सखीकी खुला दिलकी आमासँग पनि म फोनवार्तामार्फत एकाध पटक स्नेहको सौभाग्यमा गाँसिएको छु । कस्तो भने, छोरीको मोबाइलमा फोन गर्दा आमाचाहिँले उठाउने । त्यसो हुँदा बुझ्नुपर्ने- यी स्नेही आमाकी चञ्चल छोरी पक्कै कुनै नित्यकर्मको परिबन्दवश घरभित्र अलप भएकी छे । अनि त मानौँ छोरीको प्रतिनिधिका रुपमा आमासँगै गफिनुपर्ने ! गफिँदा उनै आमाको खोइ कस्तो रसैरसले भरिएको शीतल स्वरले म भिज्छु ।
भन्छिन्- 'बाबू, खाना खान नआउने हाम्रोतिर ?'
औपचारिकतावश या जुनसुकै रुपले त्यो बोली आएको होस्, घरदेखि दूर राजधानी सहरको निर्जनतामा आफ्नै साँगुरो परिवेशमा बस्ने मलाई त्यो आमाबोलीले कसोकसो हुरुक्क बनाउँछ ।

आफ्नी आमालाई मैले कहिले बिर्सिन खोजेँ ? थाहा छैन । र बिर्सिनै खोज्दा पनि भागेर अलप भइजाने आमा त्यस्ती लुखुरे आन्दोलनकारी हुँदै होइनन् । उनी त एकाएक आत्माको मैदानमा धावा बोल्ने र बोलिरहने ममताकी लडाकु हुन् । यस मानेमा आमा हाम्रो आत्माकी हमलाकारी तागत हुन् । तर सहृदयी हमलाकारी । जसले कोखपछि काखको मुलायम संसारमा लुटुपुटु पारेर हामीलाई अनेक आततायी हावाहूरीबाट जोगाएर राखिन् । खोइ किन अथवा केका निम्ति... ।

रुसी साहित्यमा गर्विलो स्पेस रचेका गोर्कीको विश्वप्रसिद्घ औपन्यासिक कृति आमा (सन् १९०७) भर्खरै यसपालिको दसैँछेक पढेँ । त्यो पनि तेस्रो-चौथो होइन, पहिलोपटक । सन् १९०७ देखि २००८ सम्ममा कति आमाहरूले आफ्नै सेरोफेरोमा सानातिना भए पनि क्रान्ति गरे होलान् । तर बल्ल आज सय वर्षपछि मैले एउटी रुसी आमाको साहसिकतासँग साइनो बनाउन भ्याएँ । यसैबाट थाहा हुन्छ, आमा भन्ने सृष्टिको थुङ्गाप्रति म आफ्नो ताउरमाउर जनाउन कतिसम्म पिछडिएको छु । पढेपछि यस्तो लाग्यो, धेरै पहिल्यैदेखि गोर्कीरचित आमा पेलागेया निलोभ्नाको साहसी र कर्मठ छातीको स्पन्दन सुन्न म व्यग्र बनिरहेथेँ । तर के लाग्दोरहेछ र, कुनै पनि कुराको एउटा साइतविन्दु त हुँदोरहेछ । मैले सायद त्यही विन्दुलाई पर्खिरहनुपर्‍यो, पढ्नका निम्ति । प्रस्तुतिको तिक्खरता त्यहाँ कस्तो छ भने, मानौँ साक्षात् सिद्घ योगीको असरदार फुर्ति उत्रिएझैँ लाग्छ । कतै यो आमा भन्ने ओजिलो आधारभावकै प्रभाव र प्रवाह हुन सक्छ । कृतिभित्रका चल्तापूर्जा पात्रहरू पाभेल भ्लासोभ, आन्द्रेइ, निकोलाइ र साथीहरू यही मगजमा गजबसँग सुकुल ठोकेर बसेका छन्, अति सादापनले ।

'आमा होइऽऽ',
ग्रामीण लबजमा यस्तै लयले ममताको आश्रय खोज्दै मूर्च्छना उराल्छ । सम्बन्ध खोइ कस्तरी मन्द सुरमा स्वतः नाचिरहेको हुन्छ आमा र सन्तानबीच त्यतिखेर । मानौँ यो पृथ्वी घुम्नुजत्तिकै स्वाभाविक छ- आमाको सारीको फेर समात्‍नु । अनि तारा चम्किएजत्तिकै प्राकृतिक छ- कस्तै डरमर्दो घडीमा पनि आमासँगको आत्मीय आमनेसामने । बालापनमा आमा एकैछिनलाई कता हराउँथिन् र उनको दूधका भरोसिला लाम्टाहरूले हामीलाई बोलाउँथे । होइन र ? कामको धुवाँधपेडीले आमा मुहारका चाउरीपत्रहरूमा कहाँकहाँ लोप भएको मुस्कान खिलखिलाउन खोज्थिन् र हामी तिनको शुष्क हाल देखेर पनि मौनतामा जिल्लिरहन्थ्यौँ । उफ्, त्यो दोहोरो विवशता ! न आमा 'यस्तै हो बाबू-नानी' भनेर सुस्केरा हाल्दै वैराग्य साटि्थन्, न हामी आडभरोसाको लोली मिलाउन सक्थ्यौँ । विडम्बना ! भर गर्न नालायक हाम्रो कलिलो उमेरको अवस्था । खासमा धेरै आमा र भुराभुरीहरू जीवनको आरम्भिक सङ्गतिका दिनहरूमा बोलेर पनि परस्परलाई केही सुनाउन सक्दैनन् । जे छ, बिस्तारै आफैँ बुझ्दै र मनन गर्दै जानुपर्ने । मानौँ हामीले भद्र भनाउँदो मौन समारोहबीच 'वफेट डिनर'मा चम्चा व्यस्त पारिरहनुपरेको छ, अघिल्तिरका भरिभराउ भाँडाकुँडाहरूमा ।

अहिले आएर जीवनको २३/२४ वर्षको अध्यायलाई पल्टाएर उमेरका अघिल्ला पृष्ठहरूमा फैलिन्छु, तब केलाउँछु- हुर्किने क्रममा दूधको नाता टुटेपछि मेरी आमाको कति नजिक बसेँ फेरिफेरि म ? अर्थात् क्रमशः बूढी हुँदै जाँदा उर्मिलादेवी कार्कीले कतिपल्ट छोराको भरोसापूर्ण थपथपाहट पाउन सकिन् ? ती शिथिल भएर नसैनसा झ्याङ्गिएका हातलाई कति न्यानो गरी हामीबाट सुमसुमिएको पाइन् ?
... ... ...
प्रश्‍नैप्रश्‍नका चिन्ह मात्र ।

आमा तिनै प्रश्‍न बनेर सन्तानको आत्मा-पुस्तिकामा जवाफ खोज्न आउँछिन् झैँ लाग्छ । तर प्रश्‍नले र्‍याखर्‍याख्ती तुल्याएर सन्तानलाई हाडे ओखर चखाउँदिनन् आमा । संसारमा त्यस्तो परीक्षा कहिल्यै भएन । न त हुनेछ । र पनि, सन्तानलाई आमाको प्रश्‍नसूचक अनुहारले सताइरहन्छ, प्रश्‍नबाट घाइते हुनुभन्दा सटीक जवाफ आफूले के दिनु छ र ? (दिए पनि ठाउँमै छुनेगरी दिनलाई कहाँ सक्नु छ र ?) र आमा यहीँ हाम्रो आत्मामै खिपिएर बस्छिन्, आफ्नै ओजपूर्ण रङमा । जसमा कुनै होलीपूर्णिमाको जस्तो अल्लारे तडकभडक छैन अनि छैन रङको अस्वास्थ्यकर मिसावट पनि । आत्मामा उनको एकतमास कीर्तनको सुरले यात्राभरि हामीलाई कति मजाले पङ्खा हम्किरहन्छ ! र त हामी अक्करैअक्करको बाटोमा पनि शीतल पैँतालाको वेग मार्छौँ ।

मेरो जीवन-साथीको छनोटबारे झ्वाट्ट थाहा पाएर पनि सगरमाथाको फेदी उदयपुरस्थित भित्री मधेसको घरमा रहेकी मेरी आमा पटक्कै अलमलिइनन् । दसैँमा घर जाँदा उनलाई मेरो तर्फबाट कोसेली खबर त्यही थियो । सुनेर भन्थिन्-'सुन् है काले, ज्यादै मरिहत्ते चैँ नगर्नू, बाँकी राम्रै हुनेछ ।' उर्मिलादेवीको आँखाले मलाई लपक्क सौम्यपूर्वक नुहाइदियो र म एकदम सफा भएँ, अनुभूतिका अर्थमा ।

कस्तो हर्ष र विस्मात्‌को एउटै गुजुल्टो ! आमा मलाई समेत ममताले छेडेर मेरो जीवन-साथीको छनोटसम्मलाई छुन भ्याउँछिन् । म भने एउटी आमा उनैलाई पनि छुन भ्याइरहेको हुन्नँ । सायद आत्मामा मेरो, हत्केलाको सोलोढोलो आकार मात्रै छ, ...
औँलाहरू त गायब !
साकारमा छिन् आमा,
आमा मात्रै ।

(चैत ८ २०६४ शुक्रबार फागुपूर्णिमा, नक्साल काठमाडौँ)

December 12, 2008

यस्तो एउटा सिर्जनात्मक विवाह...

विविधताले भरिएको हाम्रो नेपाली समाज । थरीथरी जातजाति । थरीथरी रिवाज र संस्कार । कतिपय नराम्रो संस्कार र कुरीति पनि जिउँदो-जाग्दो भएर हामीमाझमै बसेका छन्, त्यत्तिकै राम्रा थितिहरू पनि कति ओझेलमा परेका छन् त कति नासिएर गइसके । जन्मसंस्कारदेखि मृत्युसंस्कारसम्ममा मानवसमाजको आफ्नै निश्‍चित मापदण्ड रहिआएको छ । त्यसमध्ये जीवनमा गर्नैपर्ने कर्मकाण्डमा विवाहलाई लिने गरिन्छ । वैवाहिक संस्कार हाम्रो मुलुकमा जातजातिपिच्छे फरक किसिमबाट पूरा गरिन्छ । परम्परागत प्रचलन पनि आधुनिक समयमा आएर थोरै तोडमरोड हुँदै मनाइन थालिएको छ ।

चलनचल्तीको वैवाहिक उत्सवको परम्परालाई तोडेर रचनात्मक तवरले लगनगाँठो गाँस्ने जोडीहरू पछिल्लो समयमा निकै देखिएका छन् । यस्तै सिर्जनात्मक विवाह गर्ने जोडीमा पछिल्लो उदाहरण बनेका छन् शनिश्चरे मोरङका घनेन्द्र ओझा र छत्रेदेउराली धादिङकी राधा कँडेल । दुवैजना गजल विधामा समर्पित साहित्यप्रेमी । जीवनयात्रा गजलमय बनाइराख्न दुवै उत्तिकै रसिक रहँदै आएका छन् । त्यसैले आफ्नो विवाहको प्रीतिभोजमा मङ्सिर २३ गते (डिसेम्बर ८) सोमबार उनीहरूले आफ्नो संयुक्त गजलसङ्ग्रहको विमोचन गरे- 'बाटो अझै छ बाँकी' । कृतिमा दुवैको छानिएका राम्रा गजलसिर्जना समेटिएका छन् । ठूलो सङ्ख्यामा उपस्थित साहित्यप्रेमी तथा आफन्तको बीचमा दुवैले किताबमार्फत साथसाथ जीवनको साउती गरे । चार वर्ष लामो प्रेमसम्बन्ध वैवाहिक नातामा त गाँसियो, यही साइतमा अब उनीहरू भन्दैछन् - सहयात्राको बाटो अझै बाँकी छ है, ल सँगै हिँडौँ... ।

विवाह - दुई आत्माको मिलन । दुई जना भएपछि जस्तोसुकै कुरा पनि समाधान गर्न सकिन्छ भन्ने सोचले धेरैले विवाह गर्ने गर्दछन् । कताकता यो अघोषित सम्झौताको सामाजिक रिवाज जस्तो लाग्छ । अर्थात् अर्कोप्रति भर पर्दै अस्तित्त्वलाई स्विकार्नु । सहज जीवनयापनमा एकअर्काको साथ खोज्दै सामाजिक चक्रलाई निरन्तरता दिन वैवाहिक जोडीहरू अग्रसर हुन्छन् । यसका साथै, परिवारबीचको आत्मिक सम्बन्धकालागि पनि विवाहलाई लिइन्छ । विवाहले सम्बन्ध विस्तारमा धेरै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर यही विवाहलाई कसैले सम्पत्ति सङ्कलन गर्ने तथा आफ्नो सम्पत्ति प्रदर्शन गर्ने माध्यमका रूपमा पनि लिएका छन् । छोरा-छोरीको विवाह धुमधामले गरेर समाजमा आफ्नो 'ल्याकत' साबित गर्ने होडबाजी पहिलेदेखि नै चलिआएको छ । हुनेखानेले त सम्पत्तिमार्फत शक्तिप्रदर्शन गर्छन्, केही नहुनेले समेत ऋणपान गरेरै भए पनि 'महँगो' विवाह गराउने देखासिकी प्रवृत्ति हाम्रो समाजमा चौपट्टै मौलाएको छ । यस्तो कुसंस्कार हिजोआज कमजोर मानसिकताका मानिसहरूको खेती भएको छ ।

विवाहमा लिएको ऋण तिर्न नसकेर जिन्दगीभरि अरुकोमा काम गर्न बसेका धेरै उदाहरण नेपाली समाजमा अझै पनि छन् । तर अहिले आएर त्यो परम्परामा निकै उतारचढाव आएको छ । सम्पत्तिको प्रदर्शनभन्दा पनि कसरी सिर्जनात्मक अनि सबैलाई सजिलो हुने खालको विवाह गर्ने भन्ने भावनाको पनि विकास भैरहेको छ । यस्तो सोच विशेषतः आजका शिक्षित युवामा झ्याङ्गिदै गएको छ । त्यसैले विवाहका नयाँ-नयाँ शैली अहिले आएर देखिन थालेको छ । सामाजिक चेतना भएका केही मानिसहरूले सुरू गरेका यस्ता विवाह अरूकालागि पनि निकै प्रेरणादायी बनेका छन् ।

यस्ता सिर्जनशील जोडीहरूमा कोही कुनै कल्याणकारी संस्थालाई सहयोग गरेर विवाह गर्दैछन् । कोही प्रीतिभोज नगरी त्यसमा खर्च हुने पैसा सामाजिक समूहलाई दान दिएर सादा तर विशिष्ट मूल्यको विवाह गर्दैछन् । कोही सार्वजनिक चौकमा खुला रूपमा मञ्चमा भाषण गर्दै समाजका गन्यमान्य सदस्यहरूसँग आशीर्वाद लिएर विवाह गरिरहेका छन् । कोही आफ्नो विवाहको लागि घरमा लगाइने रङलाई चोक र चौतारोमा लगाएर समाज सेवायुक्त विवाह गरिरहेका छन् । कोही विवाहमा आशीर्वाद दिन आएका मानिसलाई खुवाइने प्रीतिभोज कुनै अनाथालय वा वृद्धाश्रमका बालबालिका र वृद्धवृद्धाहरूलाई खुवाएर आत्मसन्तुष्टि लिइरहेका छन् । यसरी सामाजिक जिम्मेवारीसँगै आफ्नो पारिवारिक जीवनलाई खुसियाली रूप दिने सिर्जनशील सोचमा आज कुनै कमी छैन ।

मानवीय सम्बन्धमा इन्धनको काम गर्ने आत्मिक प्रेमदेखि साहित्यप्रेमसम्मलाई एउटै बोली 'बाटो अझै छ बाँकी' गजलकिताबबाट पुष्टि गर्ने राधा र घनेन्द्रजस्तै जोडीले समाजमा नयाँ रङ थप्दैछन् । यो रङ सामाजिक शक्तिप्रदर्शनभन्दा बाहिरको रङ त हो नै, यही किरिङमिरिङ जेलिएको समाजलाई रचनात्मकताको छाप छोड्ने रङ पनि हो । छोराको विवाहमा आशीर्वाद दिन पूर्वी नेपालको इटहरीदेखि आउनुभएका घनेन्द्रका आमा-बुबा नै समारोहका प्रमुख अतिथि हुनुहुन्थ्यो । सबैलाई सम्बोधन गर्दै उहाँहरूले संयुक्त रुपमा उक्त संयुक्त गजलसङ्ग्रहको विमोचन गर्नुभयो । गजल विधामा लामो समयदेखि कलम चलाइरहेका रवि प्राञ्जल, देवी नेपाल जस्ता सर्जकले नव वर-वधुलाई आशीर्वाद र शुभ कामना दिँदै उनीहरूको सिर्जनात्मक कामको सराहना पनि गर्नुभयो ।
ती सिर्जनशील दुलहा-दुलहीलाई नयाँ शैलीको विवाहको लागि बधाईसहित सफल दाम्पत्य जीवनको लागि हाम्रो पनि मुरी मुरी शुभ कामना है ।

December 11, 2008

बालापनमा.....

बालापनको झझल्कोले नचिमोट्ने पलै हुँदैन । जति-जति उमेरले सिरै सेताम्मे सगरमाथा पार्दै जिन्दगीलाई अत्यासलाग्दो रङमा रङ्ग्याउँदै जान्छ, उति बालापनको सम्झनाले पिरोल्छ । हुन त यस्तो हुनु 'हातदेखि झरेको धुलो सुन लागेजस्तो' हामी मानिसको असन्तोषी स्वभावको उपज पनि होला । तर बालापन हुन्छ नै अति प्यारो, शोक न सुर्ता भोक न भकारी भनेजस्तो । त्यही प्यारो र निश्‍छल पललाई गजलमा उन्ने मेरो प्रयास हो यो । यसमा बुनोट सोचेजस्तो त्यति चित्तबुझ्दो हुन सकेन, र पनि जब यो गजलतिर आँखा पर्छ, मन एकतमास हुन्छ र म माटोमा लडीबुडी गर्ने उमेरमा कोल्टे फेर्छु । आहाऽऽ बालापनमा !!!


फुच्चा गोडा, बलेंसी र पानी बालापनमा
छप्ल्याङछुप्लुङ नाङ्गाबुङ्गा नानी बालापनमा ।

काले थियो लुरी, दोर्जे, माइली सबै थिए,
सिङ्गै टोल लाग्थ्यो राजधानी बालापनमा ।

लुगा सिउने कान्छा दाइको टालाटुली चोरी,
पार्थ्यौं ठिक्क बेउला-बेउली छानी बालापनमा ।

फकाउन मिठाइ दिए पढ है भनेर,
सरको अघि बन्थ्यौं सारै ज्ञानी बालापनमा ।

बुढा-बुढी, चोर-पुलिस अनेक खेल थिए,
जे खेले'नि बाङ्गो थिएन बानी बालापनमा ।

December 8, 2008

स्वर्गीय सरोवरतिर दुई दिन

फेरि पनि पुरानै कुराकन्थाको गुन्टा कसेर आएको छु । व्यस्तताका परजीवीले डसेर नयाँ पकवान बनाउन नभ्याएको त होइन । तर, अचार त पुरानै झिक्नुपर्‍यो नि ! अचार यस मानेमा, गत दसैँको बिदामा उदयपुर जाँदा दाजु-बहिनीहरूको सल्लाहले दर्शन+घुमघामको लागि उदयपुरकै लेकाली भेग रौता भन्ने ठाउँतिर हान्निएका थियौँ । धार्मिक तीर्थस्थल रौता पोखरी । फर्किएर त्यसबारे सम्झौटो लेख्‍ने योजना बनाए पनि त्यत्तिकै भइराखेथ्यो । रोचक यात्रा भए पनि अब यतिखेर आएर त्यसबारे लेख्‍नु अलि खल्लो लाग्यो । तर यात्राको तस्बिर भने साथीहरूसँग बाँड्न कसोकसो लोभ जाग्यो । वृत्तान्त नभए पनि जे त पर्ला, 'तस्बिर आफैँ बोल्छ' भन्ने थेगो च्यापेर यति पस्किएको छु ।

एउटा डाँडादेखि अर्को डाँडाको फन्को पार गर्दा कमाएको यात्राभरिको थकान र गर्मीलाई रौता पोखरीको फेदीमा चिसो सिरेटोको पङ्खाले आराम दिलायो । बीच बाटोमा ज्यान बिसाउँदै दुर्लभ स्टेशनजस्तो भेटिने होटलमा विकल्पमा रहेको एउटै खाजा 'चाउचाउ' खाँदै, कतै भने साथमै लगेको भोगटेले घाँटी भिजाउँदै गोरेटो छिचोलियो । यस्तो लाग्यो, १८० डिग्रीको ठाडो उकालो नाघेर कमिला बल्ल चिनीको कचौरामा पुगेको छ । अनि त के चाहियो ? मन मगमगायो । जाडोले मुटु कमाए पनि स्वच्छ प्रकृतिको रोमाञ्चकतामा डुब्दा शीतलताले आँत भरियो । दुई दिने सफरमा, गन्तव्य पुगेको साँझ साग र भात मोल्दै खाएको मिठास बयान गरिनसकिने उखरमाउलो थियो । कठ्याङ्ग्रिने जाडोमा पाएको तातो भातमा हात राख्‍दा मात्रै पनि धित मर्ने जस्तो ! पोखरीकै अलि फेदीमा अरुबेला निजी प्रयोगमा ल्याइने घर पाहुना पुग्दा भने लजको रूपमा प्रति बेड ३०/३५ रूपियाँमा पाइने रहेछ । त्यस्तै एउटा 'हल्लिने घर'मा हामीले चिसो रात कटायौँ । कस्तो भने, राम्ररी खाँबो नखाँदिएजस्तो र भर्खर बनाइएको त्यो घर मान्छे हिँड्दा पनि लचकलचक हल्लिन्थ्यो ।

एकातिर रमाइलोमा महकिएका र रमिता हेर्न निस्किएका हामी, अर्कातिर त्यहीँको कस्टकर जीवनमा हेलिन बाध्य अबोध अनुहार । हाम्रो घुमघाम कतै तिनको दयनीय दैनिकीलाई जिस्क्याउने बहाना जस्तो ! र पनि, हामीले त बुझेका थियौँ- मान्छेको अभ्यस्त कथाव्यथा जहाँतहीँ उस्तै हो, रूप मात्र फरक-फरक । कतै झन् झन् सुविधाको प्रश्‍न, कतै जिन्दगीकै प्रश्‍न । सबैले उस्तै सहजता कहाँ पाएका छन् । कोही गोबर सोहोर्छन्, कोही मोहर !
बाँकी तस्बिर बोलोस् ।

हिँडेका हामी

थकान र अवतरण

खाजाको मेलो

इन्धनपछिको वेग



साग, भातको न्यानो आँत



बिहानीको मिर्मिरेमा

फगत एक नजरमा कसैले लियो मन…

पोखिएर घामको झुल्का...


रमिताको घनचक्कर

शीतल गन्तव्य: आँखाभरि स्वर्गै उठाऊँ…

फर्किएका तृप्‍त मन

************************************************************************

December 5, 2008

सम्पादकलाई लेखिकाको पत्र

प्रस्तुत लेखनीसँग एउटा रोचकता गाँसिएको छ । यो मेरो कलमको उद्‌गार होइन, तर मेरो लागि निशाना साँधिएको कसैको कलमको तीर हो । मैले नछोएर पनि मसँग पूरापूर एकाकार !

नितान्त निजी कुरा भए पनि यस्तो रोचकता सबैसँग यसरी ब्लगको खुला मञ्चमार्फत बाँडीचुडी गर्न मनैले अह्रायो, अब मनैले अह्राइसकेपछि टार्न कसरी पो सकिएला ? फेरि, मनलाई दास बनाएर आफू त्यसको मालिक बन्ने कुरा हरेक कुरामा लागू गर्नुपर्ने बाध्यकारी आवश्यकता पनि त हुँदैन होला नि ! त्यसैले यो CaFe को खुराकमा सजाइँदैछ । भदौ २१ (सेप्टेम्बर ६) को परिवेशमा लेखिएको यस पत्रको सामयिकतामा शङ्का हुन सक्छ, तर सोचीसम्झी नै यसलाई सान्दर्भिक भावभूमिका कारण प्रस्तुत गरिएको छ ।

धेरै कुरा त पत्र पढ्दै जाँदा बुझिहालिन्छ । तर मेरो तर्फबाट भन्दा, जन्मदिनको उपहार - यो पत्रात्मक 'टोकन' व्यक्तिगत भएर पनि सांसारिक चेत र व्यापकता बोकेको सामुहिक भावनाको छ । कम्तीमा, मलाई यस्तै लाग्यो । जीवनयात्राको किरिङमिरिङ निवेदनलाई यस पत्रका कहीँ कोमल/कहीँ कठोर (कटु होइन) भावले समाधानकारी दस्तखत चलाएर स्वीकृति दिएझैँ लाग्छ । र पनि, सहृदयताको लेप भरपूर छ यहाँ, नागराजले लुकाएको मणिझैँ । लेखिकाको पत्र सम्पादकलाई ! पत्रको लेखाइ अनि सम्बोधनमा साहित्यिक नौँल्याइ त छ नै, पारिवारिक जीवनको कलिलो सपना पनि छ ।

यस्तै ढाँचाको मेरो पत्र (लेखिकालाई सम्पादकको प्रेमपत्र), कथा विधाअन्तर्गत हङकङबाट सञ्चालित nepal.hk मा पनि अघिल्लो वर्ष (२०६४ मा) प्रकाशन भएको थियो । पढ्न यहाँ - स्पर्श गर्नुहोस् ।
बाँकी कुरा तल आफैँ पढेर निष्कर्ष बनाउनुस् है त !
कस्तो लाग्ला कुन्नि यो कोसेली ?

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

प्रिय सम्पादक,
लामो समय - झन्डै एक वर्षपछि, तिमीलाई यो पत्र लेख्दै छु । यो एक वर्षको लामो अन्तरालमा पत्र लेख्‍नकालागि प्रयास नगरेको पनि होइन तर समय र परिस्थितिको दासी हामी, हाम्रो वशमा के नै हुन्छ र ? अवरोधका विभिन्न तगारोले हामीलाई घेरिरहेकै हुन्छन् । त्यसैले लामो समयदेखि पत्र लेख्छु भन्दाभन्दै पनि पाइरहेको थिइनँ । तर आज तिम्रो जन्मदिन । तिमी मेरो सम्पादक, अनि म तिम्री लेखिका । तिम्रो जन्मदिनमा केही नलेखूँ ? त्यसैले औँलाहरू नचाउँदैछु, यो कालो किबोर्डमा ।
कसलाई थाहा, अर्को वर्ष तिम्रो जन्मदिनमा यसरी नै पत्र लेख्‍ने मौका मिल्ला या नमिल्ला… ।
आज तिम्रो जन्मदिन, फूलका गुच्छा नदिए पनि शब्दका गुच्छाहरू अवस्य पनि पायौ होला । पक्कै पनि आजको दिनमा तिमीले 'ह्याप्पी बर्थ डे' को भाकासँगै औपचारिकताको बतासमा बहकिएर मैनबत्ती निभाएनौ भन्ने आशा गर्छु । बिहानै दियो भने बालेको हुनुपर्छ, अँध्यारो बाटोलाई उज्यालो पार्न । तिमीलाई थाहा छ, मान्छेको औँसत आयु ६० वर्ष (नेपालको हकमा) मान्ने हो भने तिमीसँग अब ३६ वर्ष मात्र बाँकी छ । तिम्रो जन्मदिनको दिनमा पनि म तिमीप्रति कोमल हुन सकिरहेको छुइनँ । हुन त मैले तिमीलाई सुरुको दिनमा नै पत्रमार्फत माफी मागिसकेँ - म कोमल हृदयको छुइनँ भनेर ।
हरेक वर्ष रुखमा पालुवा पलाउँछन्, तर हरेक वर्ष पातको प्रकृति फरक-
फरक हुन्छन् । पात पनि पलाउँछन्, पहेंलिन्छन् र झरेर तिनको ठाउँमा अर्को पात फेरिन्छन् । एउटै बोटमा पलाएका पातहरूमा पनि अनेक भिन्नता पाइन्छन् । हामी त मानिस, विवेक अनि आफ्नो छुट्टै धारणा भएका, हामी सबैबीचमा एकरुपता आउन सक्छ भनेर कसरी भन्न सकिएला र ? पातमा भएका रेशाजस्तै हामीबीचमा विचारको भिन्नता छ । त्यसैले त भिन्न-भिन्न अस्तित्वको विविध सुरमा हामी बाँचिरहेका छौँ, नत्र बाँच्नुको अर्थ नै के ? सबैको जीवनमा एउटा लक्ष्य हुन्छ । तर जाने बाटो र पुग्ने ठाँउ फरक-फरक । नत्र लक्ष्य बनाउनुको अर्थ नै के ?
यसअघिका वर्षमा जस्तै यो वर्ष पनि भदौ २१ गते आजको दिन परेको छ । अर्थात् तिम्रो जन्मदिनको घडी । तर यो भदौ २१ पोहोरको भदौ २१ होइन । त्यो २१ लाई तिमी ल्याउन सक्दैनौ । पोहोरका वर्षले ल्याएका धेरै कुरा तिमीलाई छाडेर गइसकेका छन् । कतिलाई तिमी आफैँले पनि छाडिरहेका छौँ । हेर त, आफ्नो वरपरको वातावरण धेरै परिवर्तन भएको छ । अर्को वर्ष आजको यो वातावरणमा घटबढ अवस्य हुनेछ ।
उमेरसँगै बढेको परिपक्वताले मान्छेका इच्छा, रहर, सोचाइ, जीवनप्रतिको दृष्टिकोण परिर्वतन पारिदिन्छ । हुन त तिमी मेरो सम्पादक, म त मात्र लेखिका । तर नजाने पनि आत्मीयतावश केही भनिहालूँ भन्ने मानवीय स्वाभावबाट टाढा जान नसकेर यति लेख्दैछु । बितेका वर्षलाई अवलोकन गर्दा धेरै दुःख, सुखका उकाली-ओरालीहरू आए होलान् । आफन्तका न्यानो स्पर्शले निधारका पसिना पुछिए होलान् । अनि तिनै आफन्तका पराई बोलीले आँखाका डिलबाट तप्‌तप् अनमोल आँसुका धारा पनि बगे होला । आँसु पुछिदिने हातका पर्खाइमा बसेका आँसु आँखाकै डिलमा सुके पनि होलान् । अनुभवका सम्पत्तिले भकारी निकै भरियो होला ।
चुनौतीसँग जुध्नु नै जीवनको रमाइलो पक्ष हो । सार्थक जीवनको उपमा हो । अनुभवलाई पैसामा किन्न सकिँदैन । आ
फूले सिकेका कुरा अरुलाई सिकाउन सकिँदैन । मेरी आमाले बताएका कुरा आज यसरी तिमीलाई भन्दैछु । यसलाई जीवनको मूल मन्त्रको रुपमा त लिन नसकिएला, तर पनि जीवनमा उकाली-ओराली गर्ने क्रममा परिआउँदा लौरीको काम भने पक्कै गर्नेछ । मैले पनि त मेरी आमाले सिकाएका यिनै सूत्रमय लौरीले धेरै जँघार तरिसकेँ, आगामी दिनमा पनि यिनै लौरीको सहायताले धेरै काम गर्ने सोच बनाएको छु ।
लामो समयसम्म नलेखेर होला, सोचेजति केही लेख्‍न सकिनँ । मनको उकुसमुकुसलाई औँलाले पढ्नै सकेन जस्तो छ । त्यसैले आजका लागि यति भन्नु नै बुद्धिमानी ठान्दैछु । तिम्रो जन्मदिनमा अरु केही दिनलाई नसके पनि शब्दका केही थुङ्गा दिनेछु भन्ने सोच बनाएको थिएँ त्यो पनि तिमीले अपेक्षा गरेको रूपमा दिन असमर्थ भएँ क्यार । त्यसका लागि क्षमा माग्दै यो पालीका लागि बिदा चाहान्छु । अर्को वर्ष भने पक्कै शब्द अनि औँलाले साथ देलान् कि ?

उही -
तिम्री लेखिका