Subscribe:

Ads 468x60px

03 January 2009

स्कूले ती दिनहरू

टिनको छानो हालिएको लामो एकतले भवन । अगाडि ठूलो चौर । केटाकेटीहरू यता र उता चक्कर मारिरहेका । लामो भवनको झन्डै बीच भागमा कक्षा १० को कोठा । केटाकेटीहरूको निश्छल हाँसो र कक्षामा सर नहुँदा अन्ताक्षरीमा गाएका गीतहरू । अनि जाडो छल्दै चौरको घाममा पलेँटी जमाएर पढिरहेका झुन्ड-झुन्ड विद्यार्थी ।

आज निकै याद आइरहेको छ मैले ९ र १० पढेको श्री रत्‍न मा. वि. । म दर्बेशाको रन्जनीमा छुइनँ, जहाँ त्यो स्कूल छ । म हिजो जस्तै आज पनि काठमाडौँमै छु । वर्षौँदेखि घरबाट टाढा काठमाडौँको यो रमझममा कुनै परिवर्तन आएको छैन । तर पनि मेरो मन एकनासले त्यही स्कूलको चौर, कक्षाकोठा र हामीले बिताएका क्षणको वरिपरि नाचिरहेको छ ।

याद नआओस् पनि किन ? संयोग त्यस्तै मिलिरहेको छ । झन्डै ८ वर्षपछि आज त्यो स्कूलमा सँगै पढ्ने केही साथीहरूसँग भेट भएको छ । हामी ठट्टामा भन्ने गर्छौँ- पृथ्वी गोलो छ, घुमिफिरी फेरिफेरि सबैको पालो आउँछ । जहाँसुकैको मानिससँग पनि भेट हुन्छ । आज त्यस्तै लागिरहेको छ । कहिल्यै नसोचेको कुरा, कहिल्यै कल्पनासम्म नगरेको कुरा ।

आठ कक्षाको परीक्षा दिएपछि म काठमाडौँबाट हजुरआमाको साथी हुन मोरङस्थित मेरो मूल घर दर्बेशा, रञ्जनी गएकी थिएँ । त्यसपछि म त्यहीँको श्री रत्न मा. वि.मा पढ्न थालेँ । आमा-बुबा काठमाडौँमै भएकाले एस्एल्‌सी परीक्षा दिनेबित्तिकै काठमाडौँ आएँ । काठमाडौँका स्कूल पढ्दाका अनि बाल क्लबका साथीहरूसँग नै मेरो समय बित्‍न थाल्यो । बिस्तारै पढाइको मेसो । स्कूल पढ्दाखेरिका पूर्वेली साथीहरूको याद नआएको पनि होइन, तर खै केले हो कुन्नि ती कुनै साथीसँग पनि भेटघाटको सुयोग नै जुरेन । तर आज कैयौँ वर्षपछि अकस्मात् ५ जना स्कूले साथीहरू (देवेन्द्र, केदार रमेश, चन्द्र अनि म) एकै ठाँउमा भेला भयौँ । हुन त हाम्रो भेटकालागि मैले नै सबैलाई फोन गरेर बोलाएकी थिएँ । तर, यसरी भेट होला अनि हामी फेरि त्यही स्कूल पढ्दाको झैँ निश्छल मन लिएर एकै ठाँउमा ठट्टा गरेर बसौँला भनेर कसैले पनि सोचेका रहेनछन् ।

उमेरसँगै जीविकाको सङ्घर्षमा हेलिनुपरेयताको अवस्थामा स्कूल छाडेको दशकजति लामो अवधिपछि सबैले सबैको अनुहार ठम्याउन पनि अलि गाह्रो नै थियो । आफ्नै अगाडिबाट गएको मानिस अलि पर पुगेर आफैँलाई फोन गर्दा पो झसङ्ग भएँ, छेवैबाट गएको मानिस नै मेरो स्कूल पढ्दाको साथी रहेछ । हामी सबैले एक अर्कालाई हेरेको हेर्‍यै भयौँ । कलिलो अनुहारमा छाएको जिम्मेवारीबोधलाई सबैले नियालिरहेका थियौँ । अनि आपसलाई भनिरहेका थियौँ, तिमीहरू त निकै परिवर्तन भएछौ !

१५/१६ वर्षका मेरा साथीहरू २४/२५ वर्षका भएर सामुन्नेमा उभिएका थिए । त्यही उन्मुक्त हाँसो, त्यही सरल व्यवहार । शारीरिक रूपमा हेर्ने हो भने सबैभन्दा ठूलो परिवर्तन त मेरै पो भएछ । ५ फिटको मेरो उचाइमा म ६५ किलो मोटी ! डल्ली अनि फुच्ची तर पढाइमा सबैभन्दा अगाडि । हुन त अरुलाई पढाइमा कमजोर भन्न खोजेको होइन । सबै एक से एक । कुनै 'पोजिसन' पाउनुभन्दा पनि पाएको 'पोजिसन'लाई कायम राख्‍नु नै सबैभन्दा ठूलो चुनौती हुन्छ । त्यसैले परीक्षाको वेलामा मेरो मनमा खालि एउटै कुरा रहेको हुन्थ्यो, कसरी आफ्नो पहिलो स्थानलाई सुरक्षित गर्ने । तर भाग्यले साथ दिएकै मान्नुपर्छ, मैले कहिल्यै पनि आफ्नो स्थानलाई गुमाउनु परेन । तर आज आठ वर्षपछि हेर्ने हो भने पढाइमा त मलाई धेरैले उछिनेर अगाडि गइसकेछन् । निकै उतारचढाव आएछ जीवनमा ।

कक्षा नौ बाट दसमा जाँदा आफ्नो पोजिसन खोसेकोमा कहिलेकाहीँ मलाई मनमनै गाली गर्ने, मेरो रिस गर्ने देवेन्द्र निकै उत्साही भएर कुरा गरिरहेका थिए । मानौँ म उनको सबैभन्दा मिल्ने साथी । केटीसँग बोल्न निकै लजाउने मात्रिका अनि चन्द्र पनि अहिले त निकै मज्जाले कुरा गर्ने भएछन् । रमेश अनि केदार उनीहरू जस्ताका त्यस्तै । तर दुवैले सल्लाह गरेका हुन् कि के हो, साझा परिर्वतन भएछ, दुवैजना निकै मोटाएछन् । यो भन्दा पनि ठूलो कुरा त सबै साथीहरू एउटा-एउटा बाटोमा लागिसकेछन् । देवेन्द्र एभरेष्ट बँैकमा क्यासियरको रूपमा काम गर्छन् । केदारले आफ्नै मनि एक्सचेन्ट गर्ने कार्यालय खोलेका छन् । मात्रिका एम आर, रमेश बाहिर जाने तयारीमा । चन्द्र पनि राम्रै संस्थामा काम गरिरहेका रहेछन् । म आफैँ पनि त रेडियो कार्यक्रम उत्पादन गर्ने संस्थामा कार्यक्रम उत्पादकको रूपमा काम गरिरहेकी छु ।

दुनियाँमा हरेक कुरा कत्ति चाँडो परिवर्तन हुँदो रहेछ । स्कूल जीवन पार गरेको हिजो-अस्ति जस्तो लाग्छ, तर हिजोका हाम्रा ती दिनहरू त सपना जस्तै बनेका छन् । समयको चक्र पनि अचम्मको छ, घडीको सुई चल्दैमा हामीमा परिवर्तन किन भएको होला ? स्कूल पढ्दाको त्यही अबोध कोमल अनुहार भइदिए ? समयको जालोमा जेलिएका हामी यसको कति दासी छौँ ! हामीलाई आफैँ परिवर्तन हुनमा अनिच्छा भए पनि बाध्यताको घेरोमा बेरेर परिवर्तन गराउने यो शक्तिशाली समय । तर पनि आज निकै खुसी छु । मेरो मस्तिष्कको पातलो तहमा रहेको मेरो स्कूले पल अनि मेरा साथीहरू जीवनमा फेरि ताजा बनेर उदाएका छन् ।

कहाँकहाँको मोडमा छुटेर गइसकेको पललाई दुरुस्तै सँगालेर सतहमा ल्याइदिने हाम्रो मित्रताको यो शक्तिलाई देखेर मनभरि अपार गर्व छल्किएको छ । खुसी व्यक्त गर्ने शब्दहरू नहुँदा रहस्यमय शब्दब्रहृमप्रति नतमस्तक बनिरहेकी छु । हाम्रो त्यो स्कूल, किशोरवयका हामी अनि हाम्रा निराकार सपनाहरू, बाध्यता अनि कर्तव्यबोधबिनाका हाम्रा ती हाँसो-खुसीहरू सबैले ताजगी दिइरहेका छन् । आज भेट नभएका साथी सुमन, प्रमोद, अनि सुवास (जो काठमाडौँमा नै छन्) लाई भेट्न पनि म निकै उत्साही छु ।

8 comments:

  1. बर्तमान कती चाडै विगत भै दिन्छ है - अनि त्यो विगत नराम्रै भए पनी कती मिठो लाग्छ हैन र ? तपाइले आफ्नो सम्झनालाइ कती सहज तरिकाले लेखेर हामी बिच शेयर गर्नु'' भा'छ -त्यसको लागी धन्यवाद !

    ऐ साची ! तपाइले त दर्बेशाको रन्जनीमा पो (श्री रत्‍न मा. वि. )मा पनी बढ्नु भएको रहेछ है म पनी एक पल्ट त्यहा गएको थिए -आफन्त लाइ भेट्न जादा (दर्बेशा -फार्साडाङ्गी )

    ReplyDelete
  2. बर्तमान कती चाडै विगत भै दिन्छ है - अनि त्यो विगत नराम्रै भए पनी कती मिठो लाग्छ हैन र ? तपाइले आफ्नो सम्झनालाइ कती सहज तरिकाले लेखेर हामी बिच शेयर गर्नु'' भा'छ -त्यसको लागी धन्यवाद !

    ऐ साची ! तपाइले त दर्बेशाको रन्जनीमा पो (श्री रत्‍न मा. वि. )मा पनी बढ्नु भएको रहेछ है म पनी एक पल्ट त्यहा गएको थिए -आफन्त लाइ भेट्न जादा (दर्बेशा -फार्साडाङ्गी )

    ReplyDelete
  3. नानिदेखि रानिसम्मको यो अत्यन्त मिठो जिबन संस्मरणको यथार्तमा सजिएको कथा राम्रो लाग्यो ।आखिर जिवन् नै यसैमा रोमन्चित हुन्छ क्यारे ।

    ReplyDelete
  4. रमाईलो
    ए त्यो दिन अफिसबाट भागेर गएको तिमी
    खुब मज्जा भएछ
    बधाई छ ।
    हो पुरानो साथीहरुलाई भेट्दा मज्जा आउँछ ।

    ReplyDelete
  5. यहि जो जिन्दगी! गज्जब राम्रोसंग लेख्नुभएको छ। पात्रहरु तपाईँको जीबनका भएपनि कथा सबैको जीबनको हो। आफ्नै जीबनको कथा पढिरहेजस्तो लाग्यो।

    ReplyDelete
  6. Anita ShiwakotiJanuary 11, 2009

    mero aanubhuti haru sangha tapai harule pani sahamati janai dinu bhayeko ma thanks.


    Umesh jee,
    tapai pani ma padeko school pugnu bhayeko rahe6 khusi lagyo.


    avinashi timro protsan ko lagi pani aayari 6u.

    aagami din ma pani tapai haruko sath ko aasa gar6u

    Anita

    ReplyDelete
  7. mm. good ..

    ReplyDelete
  8. я думаю: восхитительно. а82ч

    ReplyDelete