January 9, 2009

सन्दर्भमा 'हुतुतु ब्लग' र गजलको बिस्कुन

ज ब्लगिङबारे नै अन्तरङ्ग कुराकन्था गर्न मन लाग्यो ।

गजलमा आफ्नो पुन:जागरणबारे त गफ लाएकै हुँ, तर लेखिँदै सार्वजनिकीकरणको पालो पर्खिएर बसेका गजल पस्किन चाहिँ त्यत्तिकै भएछ । ब्लगको आँगनीमा गजलको देउसी-भैली खेल्न उत्रिनलाई हेक्का नरहेको होइन, ब्लगर एवम् अन्य पाठकमित्रबाट गाली-तालीको युगल भेटी पाएर खारिने मौका पाउँला भन्ने लोभ पनि छँदै थियो । तर एकताका ब्लगिङबारे खूब अन्तर्कियामा रहनुभएकी कुटीकी कैलाशजीले भनेको कुरा बेलाबेला सम्झिने रूटिनझैँ त्यसबेला पनि सम्झिएँ ।

कैलाशजी, जसलाई ब्लगको प्रविधिगत सिकाइको क्रममा एकाध प्रसङ्गमा ढाडस दिने रूपमा जोडिन आएका नाताले म गुरुआमा भन्न रुचाउँछु । नत्र त म आफ्नो ब्लग सुरुवातको पृष्ठभूमि कालमा नै आफूले निकट मान्दै आएका केही साथीको 'युनिकोड नेपाली' र ब्लगसम्बन्धी अन्य प्राविधिक कुराबारे 'हाउगुजी गफ'का कारण शिथिल भइसकेको थिएँ । आज मेरो यस शब्दसंसारमा जति पनि सहकर्मी साथीहरू जोडिन आउनुभएको छ, प्रारम्भमा कैलाशजीकै ब्लगमार्फत यता छिर्ने मेसो पाउनुभएको हो भन्ने खुलाउँदा मलाई सानो कुरा उठान गरे जस्तो पटक्कै लाग्दैन । बरू विशेष कृतज्ञताको भाव जाग्छ ।

उहाँले मेरो ब्लगिङको सुरुवातताका मैले एक पटकमा २-३ पोष्ट एकैचोटि Café मा ठेल्दा गुगल च्याटको क्रममा 'क्या हो यस्तो, हुतुतु ब्लग भएछ नि !' भनेर जिस्काउनुभयो । सुरुमा त म कुरा नबुझेर अलमलिएँ- बाब्बाऽऽ के रहेछ यो हुतुतु ब्लग भनेको ? नाम सुन्दैमा यस्तो चसक दिने कस्तो गजब होला त्यो हुतुतु ब्लग !? यस्तै कुराले दिमागको पल्ला खटखटायो । भरे त कुरा गर्दै जाँदा पो भेद खुल्यो, त्यो हुतुतु ब्लग त मेरै पो रहेछ ! पोष्टहरू खटाईखटाई अलिअलि गर्दै नराखी एकोहोरो तवरले ब्लगमा हुतुतु ठेलेकाले मेरो ब्लगको त्यस्तो न्वारान भएछ ।

मेरो हिसाब थियो- खुराकहरू एकैचोटि ब्लगमा खन्याएर तल-माथि क्रममा रहे पनि जिज्ञासु पाठकले खनीखोस्री गरेर त्यसको मज्जा उठाउने नै छन् । तर यान्त्रिक हतारोको आधुनिक परिवेशमा त्यस्तो कुरा व्यावहारिक नहुने रहेछ । र तबदेखि म ब्लगिङमा 'हुतुतुपन'देखि सम्हालिएर अघि बढ्न थालेँ । अचेल त कस्तो भने, हुतुतु त त्यही बेला नै छाडेकाले टरिहाल्यो, लेखेर तयारी अवस्थामा रहेका लेखसामग्री पनि कहिलेकाहीँ त अनेकौँ अड्चनले पोष्ट गर्न नपाएर/नभ्याएर/नसकेर ब्लग घिटिघिटीको अवस्थामा हुन्छ । कहाँको हुतुतु, कहाँको घिटीघिटी !

ब्लगबारे कुरा नै थालिसकेपछि अब अलि अन्य सन्दर्भ र अलि विस्तारमा बहकिनुपर्ला कि जस्तो लाग्यो । खुलेर भन्दा, ब्लगिङको कुरामा, कस्तो हुँदो रहेछ भने कतिपय संवेदनशील र महत्वपूर्ण विषय र प्रसङ्ग पनि उही सञ्जालमा गाँसिएका ब्लगर साथीसङ्गीले लेखिसकेपछि त्यसैत्यसै तृप्‍ति भरिएर आउँदो रहेछ । लेख्‍न मन हुँदाहुँदै पनि अन्तत: त्यसबारे लेख्‍ने खाँचो नै टरे जस्तो । अनि अर्कोतिर, उही विषयबारे धेरै जनाले लेख्‍दा त्यसलाई पढ्दै जाँदा कुन तिक्खर र कुन मत्थर भन्ने तुलनात्मक आँकडा पनि मनैमन अवश्‍य बन्छ कि जस्तो लाग्छ । आफैँमा दृष्टिकोण बनाएर दुई लेखाइबीच तुलनाको हिसाबकिताब नगर्दा पनि त्यस्तो स्वत: भइरहेको हुन्छ । अर्को कोणबाट हेर्दा एक किसिमको अघोषित प्रतिष्पर्धा नै भने हुन्छ यसलाई ।

त्यसो त व्यक्तिगत भावना र दृष्टिकोण स्वविवेकले जे-जस्तो लाग्छ स्वेच्छिक रूपमा पोखिने हिसाबमा ब्लगलाई 'आफ्नै हात- जगन्नाथ'को रूपमा पनि व्याख्या गर्न सकिएला । तर त्यति भन्दैमा ब्लगिङ यात्रामा पूर्णता अनि धर पनि त कहाँ पाइएला र !? स्वतन्त्रतासँगै दायित्व र भूमिकाको पाटो पनि हामी ब्लगरहरूले पक्कै बुझैकै छौँ र बुझिरहनुपर्छ पनि । कोही-कोही ब्लगर भने कतिपय परिस्थितिमा यस मुद्दामा चुकेको पाइन्छ । 'मेरो ब्लग हो, म यसमा के लेख्छु, कतिसम्म लेख्छु र किन लेख्छु भन्ने मेरो निजी कुरा हो', तिनीहरू असामाजिक तवरले फतफताउँछन् । आफ्ना लागि गरेको काम अरूको साथ र सम्मतिबाट पार नलाग्ने भएपछि त्यस कामले कस/कुन कुराको सम्मान गर्छ र कसको/कुन कुराको अपमान गर्छ, ख्याल गर्नैपर्ला । आत्मरतिकै उडान हो भने त किन प्रकाशनको पिरलो वित्थै ? डायरीमै कोर्‍यो-बस्यो, ब्लगको विश्‍वव्यापी पखेटामा फैलिनुको औचित्य नै के ?
व्यक्तिको स्वाधीनतासँगै सामाजिक अभिभाराको जोडी चाल पनि लस्किरहेको हुन्छ । कुनै विषयवस्तुबारे कोरिएको टिपोटले त्यस विषयवस्तुकै मानमर्द्धन र अवमूल्यन गर्‍यो भने के होला ? भाषिक शुद्धताको वकालत गर्दै लेखिएको किताब भाषिक अशुद्धिको घानमा पुरिए जस्तो ! र फेरि अर्कोतिर, बढाइँचढाइँ र मानहानि हुन्छ भन्दैमा राम्रो कुराको प्रशंसा र नराम्रो कुराको छेडखानी पनि नगरी बस्न मिल्दैन । शब्दमा जुन तीर सोझ्याए पनि शिष्टताको सीमालाई भने ख्याल गर्नैपर्ने । बडो चुनौतीको चेपैचेप हिँड्नुपर्ने हामीले । खासमा, ब्लगिङको यस्तो मन्त्र जीवनको हरेक पाटोमा लागू हुने देखिन्छ ।

र…… अझै पनि बेलाबेला त्यो हुतुतु प्रसङ्गमा रुमलिन पुग्छु । समय र वस्तुस्थितिको तालमेल नमिलाई पोष्टको ओइरो लगाउनाले मेरो ब्लग 'हुतुतु ब्लग' हुने सम्भावना अब नरहे पनि त्यो झस्काले भने छोपिरहन्छ । यसपाली पनि अन्य पोष्टको आलोपालो क्रम मिलाउँदा गजलको दैलो यतिखेर खुल्न जुर्‍यो ।
यो गजल अहिले नेपाली राजनीतिको शिखरमा हुर्मुरिएको, केही त गजब गरेर देखाउला र पिल्लिएको नेपाली घाउलाई सन्चो पार्ला भनेर भर परिएको, तर झन्-झन् भएको कुरा समेत निमोठनामाठ पारेर बेकार तुल्याउँदै गएको 'माउ पार्टी' (गाउँघरतिर जसलाई आठौँ दल भन्दा रहेछन्) को चेत केही त फिरोस् भन्ने सदिच्छासहित समग्र मुङ्ग्रे चरित्रको विरोधमा अर्पित छ ।




हेर ती आफैँलाई दनदनाउन थाले
कतिविघ्न रोगी रहेछन् गनाउन थाले ।



आफैँ ढाक्ने गरी अहो जुहारत लाएका,
शङ्कादेखि लुक्न खाडल खनाउन थाले ।



उज्यालोमा बदमासीको काम गाह्रो भो कि,
ठाउँ न बेला बत्ती झ्याप्प बनाउन थाले ।



मिठाइझैँ भयो माटो पाउमा चढाउन,
प्रभु सबलाई थपक्क मनाउन थाले ।



दुनियाँको व्यथापीरले कानै पाक्यो होला,
पर्खाल थप्न सहमति जनाउन थाले ।


पुस १०, ०६५ बिहीबार (नक्साल)


11 comments:

  1. सबैभन्दा पहिले त 'हुतुतु' प्रसँगले हाँसो ल्यायो त्यसपछि ब्लग र समाजको सम्बन्धको कुराले सतर्क बनायो र अन्त्यमा , राखिएको टिप्पणी अनुशारको स्वाद गजलको बिस्कुनमा पाईयो , त्यति भएपछि हामीलाई अरु के चाहियो ? गजब !

    ReplyDelete
  2. आखिर ब्लग त ब्लग नै हो नि, जे भएपनि !
    अनि सक्ने भए, रेगुलर हुतुतु ब्लग आउँदा राम्रै हो नि ! तर हप्ता मा एकदिन हुतुतु ब्लग गर्दा भने, अलि झ्याउ लाग्छ के !

    ReplyDelete
  3. दीपकजी र आकारजीलाई प्रतिकृयाको लागि आभार !
    त्यति सारो पूर्णता त होइन होला कि दीपकजी ?
    आकारजी, सिर्जना-रचनाका हिसाबमा हुतुतु ब्लग ठिकै भए पनि पठनीयताको दृष्टिकोणले अलि नमिल्ने रहेछ ।
    त्यही भएर संयोजनको कुरा गरेको नि !

    ReplyDelete
  4. मेरो व्यक्तिगत विचारमा पनि हुतुतु भन्दा खटनको ब्लगमा आकर्षण बढि रहन्छ। हुतुतु हुँदा भने छनौटे भईने र एक्कै चोटी धेरै परिकार देखेपछि सबैलाई अलि अलि खाँदा राम्रो स्वाद भने कुनैको पनि पाईन्न ।

    अनी गजलको बिस्कुन भन्नु भा' छ, तर मलाई त यो "काँचो" बिस्कुन हैन पाकेको भतेर नै जस्तो लागेकोले खुब स्वाद लिएर खाएँ है!

    अनी यो भतेरमा पनि यो:
    उज्यालोमा बदमासीको काम गाह्रो भो कि,
    ठाउँ न बेला बत्ती झ्याप्प बनाउन थाले ।


    चाहि गज्जबको अचार लाग्यो ।

    ReplyDelete
  5. ओहो.. धाइबाजि "हुतुतु"ले एउटा अबिश्मरणिय क्षणको सृजना गरेछ नि।त्यसैले तपाइको साथै हाम्रो पनि गुरुआमाको उपाधिदिन लायक कैलाशजिलाई पनि धन्यबादको पात्र बनाउदै आगनभरि पस्किन लागेको बिस्कुनको दुइ-चार वटा दाना त यति सप्रेको छ भने अझ पुर्ण रुपले पाकेको आगनभरिको बिस्कुन पाउदा कति आन्नदको मिठास आउछ होला ? तिनै दिनको प्रतिक्षामा बस्नेछु.

    अनि धाइबाजि यो हजुरको नाम हो या उपनाम हो? के म यस्को शाब्दिक आर्थ जान्न सक्छु ।

    ReplyDelete
  6. सन्दर्भमा 'हुतुतु ब्लग' र गजलको बिस्कुन - सरर बगेको भाकामा लेख्नु भएको छ र कुरा हरु पनी सही नै उठाउनु भएको छ । तपाईको कलममा मैले पहीले पनी भनी सकेको छू बेजोड दम रहेको छ भनेर - हो यहाँ पनी मैले त्यही दोहोरिएको पाए - ससक्त रुपमा।

    अनि सिकारु जी ले झै म पनी - "अनि धाइबाजि यो हजुरको नाम हो या उपनाम हो? के म यस्को शाब्दिक आर्थ जान्न सक्छु । "
    भनी सोधेर बिराएको छू है !

    ReplyDelete
  7. मलाई त हुतुतु ब्लग नै राम्रो लाग्छ । जहिले हेरे पनि नयाँ नयाँ कुरा !!!!!

    ReplyDelete
  8. ए बा! मलाई गुरुआमा कै पदवी पो भिराउनुभएछ धाइबाजीले। त्यसको बोझले म थिचिएर झनै सानो भएझैँ लाग्यो है। यस्सो आको कुरा मैले थोरै मात्रै सेयर गरेको मात्रै हो त्यस्तो बिधि त मैले केही गरेकै थिइन पो त खासमा।

    अनि हुतुतु ब्लगको कुरामा चाहि फेरी मलाई हाँस उठ्यो। त्यसबेला मेरो कुरा नबुझेको कन्फ्युजनमा धाइबाजीको मुहारको भाव र कुराको तालमेल देखेर म हाँसेको थिए। आज पनि त्यही पो याद आयो। हा हा हा।

    थप के भनौ खै। धाइवाजीको लेखनीको बारेमा मैले केही भन्न साहस गरिन यो पल्टलाई।

    ReplyDelete
  9. गजब छ ।
    आजकल मैले यो ब्लग रेगुलर पढ्छु । थोरै साहित्य थोरै जिवन थोरै विवीधता सबथोक यसमा छ ।हुतुतु नै सही लेख्दै गर्नुस ।

    ReplyDelete
  10. रमाईलो कुरोकन्थोका साथ मिठो गजल पनि पस्किनुभएको रहेछ, धन्यबाद धाइबाजी!

    'हु-तु-तु' ब्लगिङ्ग (क्या सटीक नाम निकाल्नुभएछ कैलाशजीले!) राम्रो मानिन्न भन्छन् सबै। धेरै लेखेपनि, थोरै लेखेपनि टाँसोहरुका बीचमा लगभग एउटै अन्तर राख्न सक्नुलाई असल ब्लगरका गुणहरुमध्ये एउटा मानिँदो रहेछ। यसले पाठकहरुलाई पनि अलि सजिलो बनाईदिन्छ। धेरै लेख्न सक्नेले दिनदिनै हु-तु-तु--- गरेपनि राम्रै हो, तर दिनदिनै हु-तु-तु-- गर्नु चानचुने काम हैन:) फेरि लेखाईको गुणस्तरको कुरा पनि आउने भयो। समाचार/घटनामूलक ब्लगमात्रै दैनिक हु-तु-तु-- का लागि सक्षम हुन्छन् होला। भनेको बेलामा टाँसो टाँस्न नभ्याउने/नपाउने समस्या हामी सबैको साझा हो। त्यस्ता बेलाका लागि Scheduled Posting सुविधा प्रयोग गर्न सकिन्छ, समय भएको बेलामा तीन-चार टाँसो एकैचोटि लेख्ने तर फरक-फरक दिनका लागि Scheduled गर्ने।

    अन्त्यमा गजलको भोजन निकै स्वादिष्ट लाग्यो। मुंग्रे चरित्रका भुस्तिघ्रेहरुलाई दह्रो झापड हान्नुभएको छ।

    ReplyDelete
  11. सधैँको थेगो जस्तै सबै शुभेच्छुकहरूलाई टिप्पणीका निम्ति आभार !

    अवश्य पनि दिलीपजी, हुतुतु शब्द आफैँमा चुटकिलादार भए पनि यसअनुसार बहनु अलि सान्दर्भिक हुन्न । खासगरी विषयवस्तुप्रधान हाम्रो ब्लगको सन्दर्भमा । पाठकीय हिसाबले ओल्टाइपल्टाई चलखेल गर्न एकपटकमा एउटै लेखोट उपयुक्त हुन्छ ।

    सिकारुजी, जीवनका केही कुरा यस्ता हुन्छन्/हुँदा रहेछन्, जुन आफैँमा गौण र मामुली भए पनि मुटु वारपार गर्ने सामर्थ्य राखेका हुन्छन् । सुखद् या दुःखद् । हुतुतुको प्रसङ्ग त्यसस्तै अविस्मरणीय रोमाञ्च छुटाउने किसिमको रहृयो मेरो निम्ति र रहिरहनेछ दिमागी पत्रमा ।

    सिकारुजीसँगै वेदनाथजीले मेरो नामको बारेमा सोधनी राख्नुभएको छ । म त केही समय यसबारे मौन नै रहन चाहन्थेँ । तर यसको मतलब कुनै मौकामा नामको तहल्का पिट्ने कुनै साइतको तम्तयारी पनि होइन मेरो । पहिला त मेरो कामकै अर्थ जतिसक्दो दिनु छ, यो मेरो कुटनीतिक जवाफ लाग्ला । तर म धेरैजनाको औँलाअघि चुनौती र खिसीको उनाइमा परेकोले मैले मेरो कामलाई नै सुरुमा अर्थ्याउनु छ । मेरो यस भनाइले अहम्ता देखाउन खोजेको होइन है सिकारुजी-वेदनाथजी । मनको कुरा बाँडीचुँडी गरेको मात्र । अहिलेलाई यति भन्छु- मेरो नागरिकता नाम जीवन कार्की । जोतारे धाइबा मेरो लेखनको सुरुवातकालदेखि नै मसँग हिँडिरहेको छ, लाग्छ यसलाई थामिरहन्छु । कुनै दिन नामको कथा यसै ब्लगमा लेख्ने विचार गरेको छु ।

    उजेलीजीको बुझाइप्रति पनि मेरो सम्मति छ । हुतुतुको पनि फरक सन्दर्भ हुन्छ । ब्लगिङको व्यापकता-प्रकार र त्यस ब्लगको लोकप्रियता-पठनीयताअनुसार पोष्टको चाप कम-बेसी हुन्छ । त्यसअनुसार मज्जा र नमज्जा हुने हो । तपाईँको बौद्धिकताको म कदर गर्छु ।

    अनि कैलाशजी,
    तपाईँलाई आदरणीय दिदीको स्नेहवश म त फुच्ची गुरुआमा भन्न रुचाउँछु । तर यो फुच्ची सम्बोधनले झन् कतै तपाईँलाई बढ्तै किच्ला कि ? तर तपाईँको सानो साथ र सहयोग पनि त्यो प्रारम्भिक यात्रामा मलाई ज्यादै ऊर्जा दिने टेको दियो । यो मेरो मनको बोली हो । यति भन्नु आफ्नो धर्म मात्र सोचेर उल्लेख गरेको हुँ । आजको जमानामा जानेको कुरा (सानो होस् या ठूलो) बाँड्ने ज्यादै थोरै मान्छे हुन्छन् कैलाशजी । बरु नजानेको कुरा गफ पण्डित बनेर धारावाहिक ओकल्छन् मान्छेहरू जागिरदार प्रवक्ता झैँ । म तीदेखि टाढै बस्न रुचाउँछु, कारण मलाई बोल्न आउँदैन । बोल्न नजान्ने भएर बोलक्कडको माझमा लज्जित हुने भयभन्दा मलाई ती बोलक्कडको दयनीयता देख्दा तिनको निम्ति शरम लाग्छ । म नेता बन्न चाहान्नँ, मान्छे मात्र बन्न पाए मलाई पुग्छ ।
    तपाईँको आदरणीय व्यक्तित्वले मलाई ब्लगिङको सुरुवातताका जस्तै सदैव प्रेरणा दिइरहोस् ।

    अविनाशीजी,
    हुतुतुको यो मेलो सारे पनि आफैँ भने हुतुतु नभई सम्हालिँदै जाने सोचेको छु । त्यसो त जीवन पूरापूर योजनाको लिकमा कहाँ पो हिँड्छ र ? तपाईँको जीवनवादी अभिव्यक्ति-धाराको त म पारखी नै हुँ । आफ्नोबारे कतिविघ्न खुलस्त र सरल कुरा पोख्‍नुभएको तपाईँले आफ्नो ब्लगमा । हाम्रो यो ब्लग अलि केटाकेटी नै छ । सबै कुराको मिश्रण त बनाउन खोजेको हो, एउटा पूर्ण ब्लगको अवधारणाबमोजिम । र पनि प्रविधिगत कठिनाइसँगै समय र उचित संयोजनको अभावमा आफू धेरै ठाउँ चिप्लिएको हेक्का हुन्छ । तै पनि त खुसी..खुसी तपाईँले भन्नुभएको नि ! अलिकति तृप्ति मान्दै अलिकति असन्तोष पाल्दै आफूलाई चार्ज गर्नुपर्ने रहेछ । गरिरहेछु ।

    वसन्तजी,
    मेरो ब्लगको यस लेखोटका खाल्टाखुल्टीलाई तपाईँका सहज पङ्क्तिहरूले पुरिदिएका छन् । पूर्णता दिएका छन् । मैले खुट्याएका कति प्रसङ्ग सिलसिलेवर रूपमा राख्न सकेको थिइनँ । खासगरी, सेड्युल्ड गर्ने आदि कुरा । तपाईँले भनेजस्तै समाचारमूलक/घटनाप्रधान ब्लगमा सामग्रीलाई हुतुतु गर्नुपर्ने त अनिवार्य नै हो । नत्र अपटुडेटको सीमाभन्दा बाहिर परी त्यो वेब नै बहिस्कारको घानमा पर्न सक्छ । नत्र त खास विषयलाई लिएर सामग्री पस्किने ब्लगमा त 'टाँसो'को बाढी ओइर्‍याउँदा तारतम्य नै मिल्दैन । लेख्‍ने र पढ्ने दुवै वल्लो किनार र पल्लो किनार टुलुटुलु हेरिबस्छन् । बिना चालचुल ।

    ReplyDelete