Subscribe:

Ads 468x60px

17 January 2009

गुनी लोहनी बित्दा

उनीदेखि थर्कमान हुन्थे डरपोकहरू । खासगरी उनका धारिला प्रश्‍नहरूको उनाइमा परेर धेरैचोटि भव्य व्यक्तित्व भएका मानिएकाहरू ऐया-आत्थुलाई बलात् लुकाउँदै कुटिल मुस्कानसहित झारा टार्ने ओठ घोलेर उम्किन खोज्थे । नीतिहरूमध्ये राजा मानिएको राजनीति र सामाजिक फाँटका जिम्मेवार आसनमा पिँध टेकाएका 'हाइ फिगरवाला'हरूको 'लो प्रोफाइल' उनको अन्तर्वार्ताको घानमा परेर फुतुफुतु निस्किन्थे । र पनि सकेसम्म तिनीहरू साखुल्ले बन्ने बहाना खोज्दै गला सफा गर्ने र विशिष्ट भावले कन्ने अभ्यासमा जुटिरहन्थे ।

अब त ती सब बहानाको पनि कुनै आवश्यकता रहेन । कारण, छुट्टै शैली र हक्की प्रस्तुतिबाट चर्चित बनेका टेलिभिजन प्रस्तोता इन्द्र लोहनी अब रहेनन् । देशको असुरक्षितबन्दो माहोलमा ज्यान हत्केलामा ढलपलाउँदै भए पनि जनतालाई सूसुचित बनाउने उत्तरदायित्त्व र पेशागत पाटो निर्वाह गर्दै आएका सञ्चारकर्मीहरूको लहरमा लोहनी मौन यात्री भएर निस्किए । शुक्रबारे साँझमा उनी राजधानीको वानेश्‍वरस्थित आफ्नै घरमा हृदयाघातका कारण बिते । टेलिभिजनमा चर्चित टक शो कार्यक्रम 'बहस' चलाउँदै आएका ४५ वर्षीय लोहनीका श्रीमती र दुई छोरी छन् । नेपाल ल क्याम्पसमा पढाउने क्रममा उनले आफ्नै विद्यार्थीसँग प्रेम सम्बन्धपछि विवाह गरेका थिए । आनीबानीमा उनी निद्राप्रेमी थिए, जहिल्यै धेरैभन्दा धेरै सुत्‍न मन पराउने । तर यसरी सुत्‍न मन पराउँदा पराउँदै उनी चिर निद्रामा पुग्नेछन् भन्ने अनुमान कसैलाई भएन । मूलघर तोपगाछि- झापा भएका उनले बार एशोसिएसनका सचिवका रुपमा पनि कार्यानुभव बटुलिसकेका थिए ।

यदाकदा रामशाहपथको बाटो हिँड्दै गर्दा बार एशोसिएसनसम्मुखको सडकपेटीमा लोहनी जगमगाउँदो ज्यानले फड्को मारिरहेका भेटिन्थे । उनीसँगको मेरो देखादेख त्यही एकाध पटक हो । उत्सुक आँखाहरूले 'ए ! यो मान्छे त टिभीमा कडा मिजासमा देखिने इन्द्र लोहनी पो त !' भन्ने भाँतीमा पछ्याउँदा उनका जोर आँखाहरू पनि कसोकसो सङ्कोच मान्दै ठोक्किन आइपुग्थे । नत्र आम समुदायसँग खास सोझो नाता त प्रस्तोता र दर्शकको रुपमा नै गाँसिएको थियो ।

कान्तिपुर टेलिभिजनमा बहस कार्यक्रमको प्रसारण हुनुअघि यसको बीज राष्ट्रिय प्रसारण माध्यम नेपाल टेलिभिजनमै रोपिएर ख्याति कमाएको थियो । पछि उनको निडर स्वभाव र हक्की प्रस्तुति नेपाल टेलिभिजनका चम्चागिरी व्यवस्थापनलाई पचेन सायद, सेन्सरको अनेक मारमा किचिएपछि कान्तिपुर टेलिभिजनमा कार्यक्रमले डेरा सर्‍यो । यद्यपि प्रसारणको व्यापकता नेपाल टेलिभिजनमा बढ्ता थियो, कार्यक्रमको मर्म भाँचभुँच पारेर जतिसुकै ठूलो फैलावटमा हावा-चाल बढाउनमा एउटा स्वतन्त्रताप्रेमी-स्वाभिमानी र न्यायप्रेमीको आत्माले कसरी पो अनुमति दिन्थ्यो र ? उनी कान्तिपुर बहसको प्लेटर्फममा तातो वार्ता लिएर हाजिर भइरहे । प्रश्‍नका सिस्नुझ्याम्टाले आमन्त्रित सरोकारवाला अतिथिहरूलाई कायल पारिरहे । सर्वसाधारण जनताको नाममा सत्यतथ्य ओकल्न र सफाइ दिन उनीहरू विवश बनिरहे । सूचना-जानकारीको विस्तारित आयामलाई आफ्नो मर्मअनुरुप पाएर जनता धन्य भइरहे ।

त्यस्ता मान्छे अब हामीमाझ छैनन् । विधिको शासन नभएको, दन्डहीनताको पूरापूर रजाइँ चलेको राज्यमा मिडियामार्फत ठूलाठालुहरूलाई नैतिक रूपमा पाता कस्ने एउटा मध्यस्थकर्ता नहुँदा कत्तिको फरक पर्छ, त्यो भय यतिखेर नेपाली नागरिकले पालेका नहोलान् र ? होला, उनलाई मन नपराउनेको ताँती पनि एउटा कित्तामा थियो होला, सडकलाई चिल्याउँछु भनेर गुडेको उपकरणले झारपातलाई त अवश्य ताछतुछ पारिहाल्छ । उनी त्यस्तै बिझाउने उपकरण थिए होलान्, जसका सवाल र चासोको घोप्टेभीरमा परेर धेरैजनाको तनमन सर्किएको-मर्किएको थियो होला । तर उनलाई नचिन्ने नबुझ्ने ज्यादै कम नेपाली छन्, टेलिभिजनको पहुँच पुगेका ठाउँमा ।

निधार दसमुजा बटारेर, प्रश्‍नलाई एक-एक शब्द गरी स्वागत गर्दै र पर्खिँदै निशाना चलाउने, फेरि बेलाबेला क्रस क्वेश्चनले चाबुक हान्ने, अन्तिममा विश्‍लेषणात्मक निष्कर्ष सुनाउँदै सधैँ झैँ 'जय होस्' अभिवादनात्मक थेगो बोल्दै बिदावारी हुने 'खरा लोहनी' (आत्मीय निकटता र लोकप्रियताको माझ चलनचल्तीमा टोल-बस्तीमा उनी यस्तै संज्ञाले पुकारिन्थे) लाई बिर्सनु हप्‍तैभरि मुश्किल पथ्र्यो । अन्तर्वार्ताकै क्रममा क्रस क्वेश्‍चनले बीचैमा कुरा काट्ने रुपमा उनलाई बौद्धिकहरू समेत अलि आलोचनाको दृष्टिले हेर्थे । तर उनकै भनाइमा त्यो बीचैको कुरा कटाइ अन्तर्वार्तालाई विषयबाहिर जान नदिने उनको प्रयास मात्र हुने गर्दथ्यो । स्थिर राजनीति कहिल्यै नफापेको नेपाली आँगनमा राजनीतिक जमघटहरूमा प्रसङ्ग निस्कनासाथै उनको टेलिभिजन टक शो कार्यक्रमले महत्वपूर्ण स्थान लिएको थियो । कानुन व्यवसायी भएको हिसाबमा पनि कार्यक्रममा उनले उठाएका सवाल र उनको कार्यक्रमको वजनलाई बढी आँक्ने जमात ज्यादा थियो ।

सम्झनामा आउँछ- कोशीको तटबन्ध भत्किएर पूर्वी नेपालको भूमिमा भयावह पखाला चल्दा उनले गरेको कार्यक्रम । उद्धारको लागि गएको नेपाली सेनाको हेलिकप्टरमा मिसिएर कार्यक्रम युनिटसहित गएका उनले कार्यक्रमसँगै उद्धार कायर्मा पनि तदारुकताका साथ भाग लिएका थिए । कतै पानीमा चोबलिएर त कतै हेलिकप्टरको ढोकाछेउ झुन्डिएर घरको छाना र भुइँमा गाडिएकाहरूलाई झुन्ड्याउँदै तानेर उनले बचाएको कैयौँ प्राणले पूर्वी नेपालमा आजसम्मन् पनि धन्य इन्द्र भनिरहेका होलान् । अरु जीवले मानवबाट कस्तो र कतिसम्मको हिंस्रक व्यवहार खेप्नुपर्छ, त्यसको यहाँ कुरा नगरौँ । एउटा मानव भएर अर्को मानवको प्राण बचाउनुको गुण लगाउनु जस्तो पुन्य कर्म अरु के होला ? नत्र, आज त सर्वत्र खुट्टा तान्ने र मार्ने लस्कर मात्रै छ मानव-समाजमा । सञ्चारकर्मी भएको हिसाबमा सूचना सम्प्रेषणको दायित्व त जोकसैले निर्वाह गर्ला, तर विपदमै पनि एउटा सञ्चारकर्मी त्यसरी मरिमेटेर खटेको विरलै देख्‍न-सुन्न पाइन्छ ।

उनी नेपालको लागि अपवादका हार्दिक अनुहार थिए । जो हत्तपत्त जन्मिहाल्ने पनि मलाई लाग्दैन, म त यतिसम्म भन्छु । त्यस्ता मान्छे यो मुलुकले अब कहाँ पाउने ? जो आफ्नै कर्तव्यमा खरा, वार कि पार सोच्ने र चिन्तनशील थिए । मृत्युपछि अक्सर मान्छे राम्रो रूपमा चर्चाको तला उक्लिन्छ, 'बरा गजबको थियो' भन्ने थेगो सुन्न पाइन्छ । तर इन्द्रजीलाई बाँच्दैखेरी पनि गजबको मान्छे सबैले भनेकै हुन् । नेपालको प्रजातान्त्रिक लहरमा महत्वपूर्ण भूमिका खेल्ने र सही सूचना मन्थनबाट नेपाली नागरिकमा अभियानकारी जनमत बनाउन सघाउने इन्द्र लोहनीलाई हाम्रो शब्द सुमन । आगामी दिनमा नेपाली आँगनमा न्याय र स्वतन्त्रताको उनको क्रियाशीलतामा हामी सबैको श्रद्धा र लगन नै उनको उँचो र साँचो श्रद्धाञ्जलि हुनेछ । उनकै शब्दमा- जय होस् !

तस्बिर: गुगल र दैनिकी डट कम
***************************************************************************

4 comments:

  1. साह्रै चित्तबुझ्ने गरि लेख्‍नुभएछ । उहाँको मृत्युले साँच्चै नै हामीलाई स्तब्ध बनाएको छ । अकल्पनीय मृत्यु !!!

    ReplyDelete
  2. उनकै शब्दमा- जय होस् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दा'छू ।

    ReplyDelete
  3. अझै होइन झैं लागीरहने । स्तब्ध छु ।

    ReplyDelete
  4. देश नछाडुञ्जेल उनको बहस कार्यक्रम नछुटाई हेर्थें। हाम्रो दुर्भाग्य, यस्ता होनहार मान्छलाई अपार सम्बावना बाँकी छँदा-छँदै गुमाउनु प-यो।

    ReplyDelete