January 25, 2009

शङ्कर लामिछाने : आजको सन्दर्भमा

-------------------------------------------------
सन्दर्भ : ३३ औँ वार्षिक पुण्य तिथि, माघ १० गते
-------------------------------------------------

'मलाई लाग्दछ, म सामयिक छैनँ ! सामयिक हुनु आसाहित्यकपन अपनाउनु हो । आजको नेपालमा मान्छे सामयिक हुन सक्दैन । १०० वर्षको प्रगति १० वर्षमा परिपूर्ण गर्ने सङ्कल्पमा हामी छौँ ।'
२०२४ सालको मदन पुरस्कार जित्ने निबन्धकृति 'एब्स्ट्रयाक्ट चिन्तन प्याज'को भूमिकामा शङ्करको कथन । यसबाट देखिन्छ, विश्‍वसाहित्यको भण्डार खोतल्ने, नेपाली साहित्यमा प्रयोगशीलताको दृष्टि उघारिराख्‍ने र साहित्य-सिर्जनामा सङ्गति मिलाउँदा मिलाउँदै पनि निजी जीवनयापनमा भने विसङ्गत बाँचेका शङ्कर हतारको यात्रामा थिए । भनाइमा जस्तै उनी सामयिकतामा अँटाएनन् । समयभन्दा एक मोडअगाडि नेपाली भूगोलको साँगुरो सीमामा जन्मिएर शङ्कर जस्ता कैयन् प्रतिभा उचित इज्जत र मूल्यबोधको अभावमा अलपत्र परेका हुन सक्छन् । सायद असामयिक भएकैले उनी भौतिक अनुपस्थितिको ३३ वर्षपछि पनि आजको पाठकीय अदालतमा चेतनशील बहस तताइरहेछन् ।

नेपाली साहित्यको समकालीन धारमा कम लेखिने र पढिने विधामध्येमा गणना हुने निबन्ध विधालाई आफ्नो जमानामा गतिशील वेगमा हाँक्ने शङ्करको छवि बौद्धिक जमातमाझ चल्तापूर्जा रहृयो । त्यस शङ्कर-युगमा साहित्यप्रति मानिसहरूको आकर्षण र झुकावलाई अहिलेको ग्लामरस सिनेसंसारप्रति मानवीय चाखसँग एकाकार गरेर हेर्न सकिन्छ । प्रविधिको अविकसित अवस्था र सञ्चारका सीमित विकल्प भएकाले त्यसबेलाको समाजको निकटता तुलनात्मक रूपमा सुलभ पुस्तक-पत्रिकातिर एकोहोरिनु स्वाभाविकै थियो ।

फलस्वरूप, राणाकालीन नेपाल र त्यसपछिको केही समय साहित्य-संस्कृतिकै सेरोफेरो मानिसहरूको मनोरञ्जन एवम् बौद्धिक साहचर्यको साझा केन्द्र बन्यो । त्यही कालखण्डमा विशेष गरेर सम्वत् २०१९ देखि २४ सालसम्मको अत्यन्त उर्वर रचनाकालमा निबन्धकार शङ्कर लामिछानेले आफ्नो सिर्जनाकर्ममा नौलो-नौलो प्रयोगको धरातलमा पाठकलाई कायल पारिरहे । कृतिगत रूपमा एब्स्ट्रयाक्ट चिन्तन प्याज, गोधूलि संसार, विम्ब प्रतिविम्ब निबन्धसँगालोसँगै गौँथलीको गुँड कथासँगालोका स्रष्टा शङ्करको जीवन र सिर्जनायात्राले आजका नेपाली लेखकको हकमा पनि निकै तादात्म्यता राख्छ । नेपाली साहित्यको वर्तमान सन्दर्भमा पनि उनको कृतित्व-व्यक्तित्वको आयाम सामयिक बनेको देखिन्छ । अझै पनि लेखकहरू लेखनबाट जीविकाको मेलो खनीखोस्री गरिरहेकै छन् र नसकेर साहित्यलाई सेवा नै मान्न विवश छन् । नेपालमा साहित्यिक लेखनीको उत्साहजनक बजार-परिणाम पुस्तकाकार एकाध नामको प्रसङ्गमा सुन्नमा आउँदा वाह गजब भयो भनेर दङ्ग पर्नुपर्ने अवस्था छ । शङ्कर आफ्नो जमानामा साहित्यलाई पेसा बनाएर जिउन खोजेका हुन्, पारिश्रमिक नदिने पत्रिकामा लेख दिन अनकनाउँथे । आजका लेखकहरू पनि पारिश्रमिकको लागि पत्रिकाको कार्यालय-ढोकामा मुग्ध मनले पुग्न पाएका छैनन् । फरक पेसा नअँगाली साहित्य नै लेखेर जिउँछु भन्नेलाई अपवादमा बाहेक साहित्य पेसा बन्न सकेको छैन । साहित्यिक पत्रिकाहरू आफैँ चन्दा माग्ने हविगतमा देखिन्छन् । विसङ्गतिमा अभ्यस्त भएर बाँच्नु नै अधिकांशको जीवनको सङ्गति बनिरहेको छ ।

कतै कुतकुत्याउने चमत्कारिक गद्यको रन्कोले, कतै विवादग्रस्त लेखनप्रसङ्गले उनी आफ्नो समयमा चर्चाको बीचैबीच रहिरहे । दैनिक जीवनयापनका नगन्य वस्तुस्थितिलाई लिएर निबन्धको उठान गर्ने उनी त्यसैबाट विविध विसङ्गत चक्रमा जेलिएको मानवजीवन र विश्‍वपरिवेशको गहन यथार्थ खोतल्ने सामर्थ्य राख्थे । अध्ययनशीलतालाई लेखकीय जीवनको अक्सिजन मान्ने शङ्करले विश्वसाहित्यको अध्ययनबाट कमाएको प्रभावलाई नेपाली साहित्यमा प्रयोगशील विशिष्ट रचना दिएर परिपूर्ति गरे ।

विश्‍वसाहित्यको अध्ययनप्रति उनको झ्याङ्गिदो मोहनीको नतीजा उनले साहित्यिक चोरीको आरोप पनि झेल्नुपर्‍यो । गुप्‍त नाममा लेखिएको पत्रव्यहोरामा एक पाठिकाले चोरीको सन्दर्भ किट्दै साहित्यबाट शङ्करको सन्न्यासलाई बाटो खोलिदिइन् । र यस आरोपमा उनले रत्तिभर ढाकछोप नगरी एउटा लेखकमा हुनैपर्ने गुण संवेदनशीलतालाई प्रमाणित गर्दै २०२९ सालमा इमानदारीपूर्वक स्वीकारोक्ति जनाए- 'नेपाली साहित्यलाई तपाईँ जस्तो पाठकको जागरुकताको खाँचो छ, यो भएन भने मजस्ता मानिसले बीचबीचमा बदमासी गर्ने सम्भावना हुन्छ ।' यसरी उनको पाठकप्रतिको श्रद्धा र मूल्यवत्ताको भावना कतिसम्म उच्च रहेछ भनेर हामी बुझ्न सक्छौँ ।

शीघ्र काम र शीघ्र परिणामको भोको आधुनिक यान्त्रिक समयमा नेपाली निबन्धको बाटुलो घरमा सर्जकहरूको उदासीनता र लगनको कमीले पस्ने ढोका र निस्किने ढोका बन्दसमान देखिन्छन् । गद्यको लेखनमा एकाग्रता र धैर्यता आजको युवा पुस्तामा त झन् गुम भएझैँ लाग्छ । विधागत रूपमा सबै किसिमका लेखनमा गाह्रा-साँगुरा र प्राविधिक कठिनता आफ्नो ठाउँमा छ, तर समग्र साहित्यको विस्तारका लागि लघु बनोटका रचनाको फन्को मार्नाले मात्र अबको दायित्व पूरा हुने देखिँछैन । लेखनलाई साधना र श्रद्धा नबनाउने यात्राले ऐतिहासिक मूल्य कसरी पो राख्ला - महाकविको 'लक्ष्मी निबन्ध सङ्ग्रह'को लहरा ओल्टापल्टा पार्दै र शङ्करको 'प्याज'का पत्रहरू उप्काउँदैमा आजको साहित्यिक गतिधारा व्यस्त बनिरहेको छ । आफैँ देखिने प्रतिभाभन्दा बलजफ्ती देखाउने हतारो छ । शङ्करले भनेझैँ १०० वर्षको प्रगति १० वर्षमा परिपूर्ण गर्ने हाम्रो सङ्कल्प समयकै तालमा ताल जनाएर साकार हुने होइन । यसको लागि हामी असामयिक नै हुनुपर्ने हो कि ? अलि दृष्टि उघारेर ? विगतका शङ्कर जस्ता धरोहरहरूको कालजयी कृतिले आज भनिरहेझैँ लाग्छ- थोरै गर, उधुमै खाले अर्थपूर्ण गर । चाहे त्यो आफ्नै लागि गरेको किन नहोस्, मन लगाएर अघि बढाऊ !

5 comments:

  1. श्रद्धेय लामिछानेज्यूमा हार्दिक श्रद्धाञ्जली!

    यथार्थमै अहिलेको नेपाली साहित्यलाई 'धेरै' भन्दा पनि 'उधुम' कृतिहरुनै चाहिएको छ। प्रार्थना र आशा गरौं नेपाली भाषामा शंकर लामिछानेझैं कालजयी सृजना पस्किने प्रतिभाहरु उदाइरहनेछन्।

    ReplyDelete
  2. ३३ औ बार्षिक पुण्य तिथिको अवसरमा शंकरजीमा श्रद्धाञ्जली ब्यक्त गर्दै उहाका कृतिहरु जिवन्त बाँचिरहुन भन्ने कामना मेरो पनि ।

    ReplyDelete
  3. शंकरजीमा मेरो पनि श्रद्धाञ्जली ।
    हुन त बिषय त त्यती मिलेन तर छुट्टै प्रसंग।
    यसमा सबै ब्लग तथा पाठकहरुले यस काममा सहयोग गर्नुहुनेछ.
    Friends
    I have written a blog which is basically intend to collect nepalese blog informtion.दौंतरीमा मैले यस्को जमर्को गरेको छु। साथीहरु सबैले सक्दो सहयोग गरौं र नेपाली ब्लगको सबै कुरा डकुमेन्ट गरौं। यसमा
    तपाइले पहिले पढ्नु भएका ब्लगको नाली बेली या छोट्करीमै भए पनि लेख्नुहोला।
    http://dautari.org/2009/01/blog-post_4621.html
    धन्यबाद
    नेपालियन

    ReplyDelete
  4. ३३ औ बार्षिक पुण्य तिथिको अवसरमा श्रद्धेय शंकर लामिछानेज्यूमा हार्दिक समवेदना ।

    देशले अर्को शंकर लामिछाने चाँडै पाओस् ॥ यहि कामना पनि ।

    ReplyDelete
  5. म पनि श्रद्धेय लामिछानेज्युप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
    र शङ्कर लामिछाने को बारेमा यती धेरै जानकारी दीइरहनु भएको मा म तपाईप्रति आभार प्रकट गर्दछु -तपाइले ब्लगको दुनियाबाट लामिछाने ज्यूलाइ अर्को जन्म दिनु भएको छ ।

    ReplyDelete