January 31, 2009

....बाध्यताको प्रवासमा

गीत म लेख्दै लेख्दिनँ । पटक्कै जान्दिनँ । तर कसोकसो मन भने तडपनमा हुन्छ, आफ्नै भाव र भाकामा गुनगुनाउँदै हिँड्न । सडकमा मोटरहरूकै रफ्तारमा ओठ फरफराइरहेको म आफैँलाई धेरैजसो पत्तो हुन्न । र पनि, न त गीतको सिद्धान्त नै थाहा छ, न त त्यो अज्ञानता मेट्न सिद्धान्तको रटानमा पस्ने जाँगर नै छ । त्यसो त सिद्धान्त जान्दैमा गीतरचनामा आँधीबेहरी उराल्न सकिन्छ भन्ने पनि होइन । रचनागत अभ्यास बढ्दै गएर पछि त्यही धार र शैली सिद्धान्तमा स्थापित भएका उदाहरण पनि छन् । गद्यात्मक बान्कीमा टेढामेढा लम्बाईमा उनिएका साहित्यिक मूल्य बोक्ने कतिपय कविता गायनमा प्रयोग पनि गरिएका छन् । त्यसलाई सङ्गीतमा कसरी ढालिन्छ भन्ने महत्वपूर्ण कुरा हो । तर भएका शैली र सिद्धान्तबारे आधारभूत जानकारी भने राखेरै थप पाइला बढाउनु उचित हुन्छ । नत्र विधागत पाटोमै थामिनसक्नु र बुझिनसक्नुको अराजकता आउँछ र कुन साहित्य हो, कुन लम्बेतान घोषणापत्र हो खुट्याउन सकिन्न । भेद पनि रहँदैन । म पनि अरूका छाँटकाँट हेरेर परिष्कारको बाटो पैल्याउनमा सहजता देख्छु ।

प्रस्तुत गीत मेरा छिपछिपे गीतियात्राको गोटागोटी सङ्कलनबाट लिएको हुँ । आफ्नो विरह यसरी हरफहरूमा बिसाउँदा, अरूका विरह समभावले हेरेर यसमै मिसाउँदा प्राप्‍त हुने आनन्द जस्तो अरू के छ र ? यही मेरो आनन्दी मन बाँड्न मन लाग्यो ।


ड्न खोज्छ मनचरी खुला आफ्नै आकाशमा
रूमलिँदै बस्नु पर्‍यो बाध्यताको प्रवासमा ।

घरै फर्की जाऊँ भने सपनाले रेट्छ आँखा
वारि भित्ता सम्याउँदा चिरा पर्छ पारि पाखा
जिन्दगीको सबै हिसाब मिल्छ भन्ने आभासमा
रूमलिँदै बस्नु पर्‍यो बाध्यताको प्रवासमा ।

बसिराख्छ सम्झनामा त्यही सानो सुन्दर बस्ती
बिरानो यो स्वर्गभन्दा रमाइलो हिजो-अस्ति
हुर्रिएर जान्छ यो मन स्वदेशकै बतासमा
रूमलिँदै बस्नु पर्‍यो बाध्यताको प्रवासमा ।

- चैत्र ३, २०६३ नक्साल ।

6 comments:

  1. राम्रो भावनालाइ गीतको माध्यमबाट ब्यक्त गर्नु भएको रहेछ ।
    कती निश्चल शब्दहरु - " बसिराख्छ सम्झनामा त्यही सानो सुन्दर बस्ती
    बिरानो यो स्वर्गभन्दा रमाइलो हिजो-अस्ति "

    अनि केही शब्दहरु लेखइको बारेमा पनी लेख्नु भएको रहेछ - तपाईको धारणा उचित छन । रुल मात्र जानेर के गर्नु ...आफुमा सिर्जनशीलता पनी हुनु प-यो - लेख्नको खातिर ।

    ReplyDelete
  2. धेरै त भन्दिंन तपाईंका एकाध गीतहरु ( गीत भनेरै लेखिएका ) पहिले नै कतै पढेको छु तिन्ले गतिलै प्रभाव छाडेका छन् मेरो मनमा अझैसम्म । गीतकै निमित्त चैं नियम कानुनका कुरा नउठाउँ होला किनभने हामीले गोठालामा गाउने हाक्पारे पनि गीत भित्रै पर्छ ।

    तपाईंको यसपटकको गीतले त प्रभाव पार्नु मात्र हैन मलाई नै अक्षर अक्षरमा खिपेर प्रस्तुत गरेझैं लाग्यो । यस्तै लाग्दो हो धेरै परदेशीहरुलाई पक्कै ।

    ReplyDelete
  3. एकदम राम्रो छ, साँच्चै मन छुने :-)

    ReplyDelete
  4. जिन्दगिको सबै हिसाब मिल्छ भन्ने आभासमा।
    रुमालिदै बस्नु पर्यो बाध्यताको प्रबाशमा।।साच्चै मन छुने शब्द गित धाइबा जि,,

    ReplyDelete
  5. प्रवासीको भावना र सम्झनालाई यथोचित तरिकाले पोख्नु भएको छ।

    गीत र कविताको भिन्नता कहाँनेर छुट्टीन्छ मलाई ज्ञान छैन। तर तपाईको यो भावना भने गीत वा कविता ने ने पनि मिठो छ ।

    ReplyDelete
  6. साच्चै नै मनन गरेकै कुरा हो रमेशजीको शब्द शब्दमा यथार्तको आभास झल्किन्छ भनेर । जन्मभुमिलाई छोडेर जिन्दगिको सबै हिसाब मिल्छ भन्ने आभासको भुमरिमा रुमल्लिदै मातृभुमिको ममतालाई लात हान्न बाध्य हुनेहरुको यथार्त वास्तवमा यहि नै हो ।

    ReplyDelete