Subscribe:

Ads 468x60px

15 January 2009

कालो चश्मा : 'Made in Nepal'

टोलटोलमा त्रासदीको छाया,
घरघरमा विरक्तिको घना धुवाँ,
व्यक्ति-व्यक्तिमा हैरानीको आवेग ।
सिङ्गो देश नै रनथन्याउने सङ्कटकाल !

अहिलेको नेपालको कथा र व्यथा यही हो । 'यहाँ के छैन सबथोक छ' भन्ने कवि भूपी शेरचनको मेरो चोक कविताको भावधारा झैँ परिदृश्य व्याप्‍त छ । देशमा हेर्दा के छैन र के चाहिँ छ त का बीचमा उत्तिकै टक्कर देखिन्छ । राजधानीको जीवन हेर्दा, कहिले जुलुश कहिले र्‍याली त कहिले सवारीसाधनकै विरोधका कारण जाम हुने अस्तव्यस्त सडक पनि छ । उता फोहोर उठाउने महानगरपालिकाका कामदारहरूका हडतालका कारण त्यही सडकमै हप्‍ता-दुई हप्‍तादेखि थुप्रिएको फोहोरको डङ्गुर पनि छ ।

विद्युत् सङ्कटकालले मुलुकको जसोतसो धानिएको प्राण हावा खुस्किएको बेलुनमा परिणत भएको मात्र छैन, त्यो बेलुन समग्र हिस्सामा छ्‌यान्द्रैछ्‌यान्द्रा चिरिँदै गएको छ । टाल्नुपर्ने कुरा एकबाट बढेर अनेक हुन पुगेको छ । निजी तथा सार्वजनिक विभिन्न कार्यालय, शिक्षण संस्था आदिका प्रशासनिक काममा अवरोधले बौद्धिक पाटो कति शिथिल र शून्यताबाट गुज्रिएला, यसको लेखाजोखा छैन । पाँच वर्षम्मको विद्युतीय सङ्कटको भविष्यवाणी यसैगरी कहाली लाग्दो रूपमा सामना गर्नु परिरहे के होला ? आर्थिक क्रान्तिको राग अलाप्ने 'क्रान्तिकारी सरकार' विद्युत् लोडसेडिङको छिर्के हनाइमा परेर नराम्रोसँग बल्ढ्याङ खाने छाँट देखिएको छ । लघु उद्यमदेखि ठूला कलकारखाना र औद्योगिक प्रतिष्ठान लगायतका बन्द-व्यापार, होटल व्यवसायमा लोडसेडिङको लोडले 'काम पुगेको' छ । एउटा- मैनबत्ती उद्योग चम्किएर त आर्थिक क्रान्ति हुँदैन । उद्योगहरूको सञ्चालन नियमित त परै जाओस् कतिपय ठाउँमा ठप्पप्रायः बनेको छ । प्रतिफलमा, दैनिक उपभोग्य वस्तुमा महँगीको उकालो लगातार चरम बन्दै गएको छ । सर्वसाधारण उपभोक्ताहरूले सोध्ने 'किन यस्तो ?' भन्ने प्रश्‍न नै अनावश्यक बन्न थालिसक्यो । 'लोडसेडिङले, फ्याक्ट्री नै चल्न पाउँदैन रे !' आदि रेडिमेड जवाफ व्यापारी-पसलेको मुखमा सुहाउँदो आभूषण बनेर झुन्डिइसक्यो ।

राष्ट्रपति-प्रधानमन्त्री-मन्त्री निवास र 'स्वायत्त सिंहदरवार प्रदेश' आदि विशेष ठाउँमा झिलझिलाकार बन्ने बत्ती अस्पताल, कारागारजस्ता अति संवेदनशील स्थानमा साइतअनुसार झुल्किन्छ । राज्यको आम रुपान्तरणको लागि गणतन्त्रले मात्र पुग्दैन, जनगणतन्त्र चाहिन्छ भन्दै दिनदहाडै एकपछि अर्को गर्दै लोकतान्त्रिक मूल्य-मान्यतामाथि हिंस्रक धङधङी वर्षाउने माओवादीले आफ्नो नेतृत्त्वको सरकारकै पालामा नेपाली घरदैलोमा ऐतिहासिक रूपले अन्धकारको प्याकेज पेश गर्‍यो । मुलुकमा विद्युत् सङ्कटकाल घोषणा गर्नु नै यिनको अग्रगामी छलाङ मान्नुपर्ला । विद्युत् ऊर्जा आज रोप्यो दुई-चार महिनामै बुरुरु फल्ने र परिमाण बढ्दै जाने च्याउ खेती होइन । बढ्दो जनसङ्ख्यासँगै यसको निरन्तर वृद्धि पनि आवश्यक हुन्छ । यसअघि नयाँ जलविद्युत् आयोजनाको चर्चा भईकन पनि उल्लेखनीय ठोस काम हुन नसक्नु हामीले आज मुलुकै पछुताउने प्रसङ्ग बन्यो । आज यति भुक्तमान खेपिसकेपछि पनि थप विद्युत् आयोजनाको लागि लगानीकर्ता/व्यवस्थापन आदिमा विशेष ताउरमाउर जनाउन सकिएन भने पुस्ता दरपुस्तामा यो पछुतोको लहरे खोकी सरुवा भइरहनेछ ।

तै जिम्मेवार पदमा बसेकाहरूको टाउको अन्धकारमय यस राष्ट्रिय समस्याका कारण दुखेको होला, यी नयाँहरूले त जनताको दुरावस्थाप्रति समभाव राख्लान् भन्ने सोचेको । त्यस्तो सोच्नु पनि हाम्रो अन्त्यहीन आशा मात्र रहेछ । महाभारतका नेत्रहीन धृतराष्ट्र झैँ सबै परिस्थितिदेखि सरोकारविहीन हाम्रा प्रधानमन्त्री आफ्नै जुँगे लडाइँको एकोहोरो भाका झिक्दै खुला सभामा के भन्छन् ? सुन्नुस्- 'वर्तमान सरकार विगतको सरकारको पुनरावृत्ति होइन, यो भिन्नैखाले परिस्थितिबाट बनेको सरकार हो । प्रतिक्रान्तिकारीहरूले सरकार ढाल्न खोजे त्यसको भोलिपल्ट ठूलो विद्रोह हुन्छ र सत्ता नेपाली जनताले कब्जा गर्नेछन् ।' यिनका नेपाली जनता वाइसीएल हुन् कि को हुन्, धेरै पहिलेदेखि बुझ्न गाह्रो परिरहेको विषय हो । वञ्जर जङ्गलबाट सुविधाभोगी महलको राजसी ठाँटबाँटमा तैरिएका माओवादीले आफूनेतृत्वको सरकारलाई पनि देश र जनताको विरहपूर्ण दैनिकीको सवालमा अन्धो र बहिरो तुल्याउँदै लगेको भान हुन्छ । पर्यटनलाई राज्यको एक प्रमुख आर्थिक स्रोत बताउने नयाँ सरकार यसको प्रवर्द्धनमा लाग्नुसाटो हप्‍ता-पन्ध्र दिनमा लोडसेडिङको नयाँ तालिका नेपाली जनको हातहातमा थमाउन विद्युत् प्राधिकरणलाई आशीर्वाद दिइरहेछ । मानौँ लोडसेडिङको यही तालिका नै हो सुदृढ नेपाल बनाउने उच्चस्तरीय खाका, जसलाई हरेक नेपालीले मन्त्र जस्तै जप्नु आजको आवश्यकता हो !

पर्यटक जस्तै सट्याकसुटुक गरी आउने बत्तीले चार्ज गर्ने मेलोमेसो र पर्याप्‍त समय पटक्कै नहुने अवस्थामा ब्याट्री र इन्भर्टरको कुरा छाडौँ, रातोदिन जेनेरेटरले कतिन्जेल धान्लान् मान्छेहरूले !? धन्न तेलजन्य इन्धनको यसवेला खडेरी छाएको छैन ! नत्र त इन्डियन आयल कर्पोरेसनको 'निगाह' नपाएको खण्डमा हाम्रो सरकारले अवश्य समग्र ऊर्जा सङ्कट घोषणाको पनि लाचारीपूर्वक दायित्व निर्वाह गर्नेथ्यो । हुनेले जेनेरेटर र ब्याट्रीको जोरजाम गरेर केही न केही उपाय अपनाउँलान्, तर ढोक्से-भकारीको चेप र भण्डारकोठाको ध्वाँसे कुनामा अर्पण गरिसकेको एक जमानाको लम्फा, ढिब्री र टुकीमारा आखिर तिनै सर्वसाधारण र सर्वहारालाई । गणतन्त्रको प्रज्वलित आँगनीमा हिजोआज जतासुकै 'यही हो बा नयाँ नेपाल !' भन्ने जोकतन्त्र खूबै फस्टाएको छ । फस्टाउनलाई अरू चिज रहृयो नै कहाँ र ?

१६ घन्टे लोडसेडिङ लागू हुने अघिल्लो साँझ शनिबार काठमाडौँको सडकमा लरखराउने जोसुकैले नागरिक जीवनका विचित्र रङहरू देख्‍न सक्थ्यो । सबैको ओठमा लोडसेडिङको लप्काले कलेँटी छुटाएको थियो । पुर्णरुपेण विद्युतीय माध्यमका पसलहरूः साइबर क्याफे, फोटोकपी सेन्टर सञ्चालकका निधारमा नपुरिने चाउरीका रेखा गहिरिँदै गएको देखिन्थ्यो । मुख्य चोक र सडकछेउ ढाड सेकाउने कोठाभाडा बुझाएर व्यवसाय गर्दै आएका तिनका घाउमा ग्राहकको सेवा शूल्कमा ५/७ रुपियाँ थप्दैमा मलम लाग्ला त ? बेलुकीपख पुरानो रुटिनअनुसार बत्ती निभ्नै लागेको बेलामा पुतलीसडकस्थित कुमारी ब्याङकसम्मुखको साइबरका सञ्चालक मित्र विद्युत् प्राधिकरणमा फोन सम्पर्क गरी भोलिपल्टको नयाँ रुटिन सोध्दै थिए- 'न्यू प्लाजा बाँसघारीमुन्तिरको लाइनमा भोलि कतिवेला बत्ती आउँछ ?' बत्ती कतिवेला जान्छ भन्ने हिसाब गर्दै आएका हामी आजकाल कतिवेला आउँछ भन्ने विवरण केलाउन लाग्दैछौँ । केटाकेटीमा किंवदन्ती झैँ चकित भावमा कुरा सुनिन्थ्यो- बाब्बै ! विदेशतिरका केटाकेटीहरू त हामीले टालाटुली बटुली खेले जस्तै गरी छिनमै कति सजिलै घडी र रेडियो पो बनाउँछन् रे त ! अहिले खाटमुनि बोरामा कोचिएको त्यही टालाटुली खोज्न पनि हामीकहाँ उज्यालोको उपाय छैन । तब हामी के पो बनाऔँला ? धन्य नेपाली जीवन !

जलस्रोतको दोस्रो धनी देश नेपाल (यो कुरा भट्याउँदा-भट्याउँदा कति थेत्तरो र हलुका बनेझैँ लाग्यो अब त !) मा पिउन लायक पर्याप्‍त पानी त छैन-छैन, नपिउने पानीलाई पनि सिँचाइ र बिजुली लगायतमा उपयोग गर्न सकिएको छैन । बिजुली नआएपछि जमिनमुनिको पानी सङ्कलन गर्ने कार्य पनि प्रभावित बन्नाले पानी सङ्कटले पनि राजधानीमा मुन्टो उठाएको छ । पानीको अभावमा महानगरवासी सडक-परिभ्रमणमा कामविशेषले वा टहलिन निस्किने क्रममा फुटपाथमा अमिलो-पिरो पानीपुरी खाएर चित्त बुझाउन बाध्य छन् । हुन सक्ने काम पनि हामीकहाँ हुनसकेको छैन । यो धेरै हदसम्म हामी नेपालीको सहनशीलताको परिणाम हो । जे-जस्तै होस् चाहिँदो कुरा र हक-अधिकारको सवालमा चाइँचुइँ छिरिक्कै नबोल्ने/नसक्ने अनि गाडीको पाङ्ग्रामुनि पिसिएर मुसा मर्‍यो भने चाहिँ लैनू भैँसी मरेको स्वर झिकी सडक अवरुद्ध पारेर क्षतिपूर्तिको लागि लाज पचाउँदै दाँत ङिच्याउने ! लोकतन्त्रको असली बहार यस्तै अराजकता मच्चाउने कुरामा आएको छ । नत्र त थर्काउनैपर्ने कुरामा विधि पुर्‍याएर, सडक नओगटी, अरू सर्वसाधारणको दैनिक जीवनयापनमा ठेस नपुग्ने गरी विरोध गर्न र दबाव दिन हामीलाई कहाँ आउँछ र ? अब हुँदाहुँदा स-सानो कुरामा समेत सडक नतताई कतै पनि सुनुवाई नहुने र कामकुरो नसुल्झिने लाठे संस्कार हाम्रै माझमा हुर्किइसक्यो ।

नेपालमा अपार वनसम्पदा (अब त त्यो 'हरियो वन नेपालको धन' उक्ति पनि नसुहाउला) छ, त्यसबाट प्राप्त जडिबुटी अध्ययन-पहिचान-वर्गीकरण गरी औषधिको रूपमा प्याकेजिङ गर्ने बृहत् उद्योग बनाउन नसक्ने हामी । नेपालमा बौद्धिकहरू (निश्चित राजनीतिक वादको पिछलग्गुलाई छाडेर) छन्, तिनको लागि मर्यादित प्रज्ञा प्रतिष्ठान बनाउन नसक्ने हामी । नेपालमा धावकहरू छन्, तिनलाई मनलाग्दी सिर्जनशील चाल चाल्नको लागि सफा र खुला सडक बनाउन नसक्ने हामी । नेपालमा पानी छ, त्यसलाई बिजुली बनाउन नसक्ने हामी । ....... तब हामी के पो बनाउन सकौँला ???

कालो चश्मा । हो सही हो, कालो चश्मा । पछिल्लो समयमा रत्तिने गरी पाएको धारावाहिक लोडसेडिङको आनीबानीबाट हामीले आविष्कारिक पक्ष पक्कै भेटाएका छौँ । लोडसेडिङको विकराल जालोले हाम्रो स्वप्निल आँखालाई थमाएको कालो चश्माकै पर्दा हो । बिजुली नहुँदा कामकाजी दैनिकीलाई तिलाञ्जलि दिएर सम्पूर्ण ऊर्जा र जाँगर सेलाउँदै कि त बेफ्वाँकमा टहलिन कि त कुवेलामै सिरकमा ओथारो बस्न हामी नागरिकले फुर्सद पाएका छौँ । यस्तोमा अन्धकाररुपी देशाटनमा हामी धपेडीमग्न छौँ । दृश्यावलीको अन्धकारसँगै निराशा र दिक्दारीको अँध्यारो पनि मिसिएको छ । कालो चश्मामा हामी अभ्यस्त हुँदै छौँ, यता हेर्‍यो यतै मैलो, उता हेर्‍यो उतै धमिलो । यस मानेमा कालो चश्मा हाम्रो संस्कृति नभई कसको हुन सक्छ ? हामी विश्‍वलाई यही कालो चश्मा आफ्नो आविष्कारिक वस्तुको रूपमा चिनाउन चाहन्छौँ । त्यसलाई लेवलसहित बजारमा ल्याउनमा हामीलाई कुनै आपत्ति र सङ्कोच छैन । नक्कल गरेको आरोप खेप्नुपर्ला भन्ने पीर पनि छैन, किनकि यो हाम्रो मौलिक रहनसहनको खोजी हो । अर्थात् कालो चश्मा- 'Made in Nepal'.
***************************************************************************

8 comments:

  1. तपाईंको लेखाईलाई जोख्ने साहस कहाँ ? यो दिक्कलाग्दो , नैरास्यपूर्ण विषयलाई यसरी सुलुलु कुदाउनुभएको छ ।

    साँच्चै कालो मन भएका हामीहरु कालो समयमा कालो राष्ट्र निर्माणमा जुटेका छौं तब चस्मा कालो त लगाउनै पर्यो अझ त्यो पनि Made in Nepal( a black country )।

    ReplyDelete
  2. मैले त लगाको छु क्यारे

    ReplyDelete
  3. धेरै गज्जबले लेख्‍नुभएको रहेछ । घतलाग्ने गरि !! रमाईलो भयो पढ्न !!

    ReplyDelete
  4. तितोकुरामा आधारित भएपनि लेखाइ निकै मीठो लाग्यो मलाई पनि !!

    ReplyDelete
  5. अत्यन्त मिहिन ढंगले देशभित्रको अराजकता र निराशालाई शब्द दिनुभएको छ। यो तपाईँको आफ्नै जीबनबाट निस्केको हुँदा यसमा सच्चाई, सच्चाई र केवल सच्चाई छ। विदेश बसेर कि-बोर्ड ठोकेर 'राष्ट्रवाद' डकार्ने मलाई आफैंसंग लाज लाग्न थालेको छ अचेल। श्रद्धाले नतमस्तक छु म तपाईँ र तपाईँजस्तै भित्रै संघर्ष गरिरहेका नेपालीहरुप्रति!

    हाम्रा नेताहरुले महत्वहीन कुरा गर्न छाडेर, तत्काललाई आफ्नो राजनीतिक चश्मा फुकालेर काम गर्ने हो भने धेरै समस्या कम हुनेथिए। विद्युत र पर्यटनमा एउटा समग्र राष्ट्रिय नीति नहुञ्जेल हाम्रा समस्या उस्ताका उस्तै रहनेछन्

    गज्जब लेख पस्किनुभयो। धन्यबाद!

    ReplyDelete
  6. दीपकजी ले भने झै तपाइको लेखलाई तराजुको काटाले थाम्न् नसक्ने रहेछ रमेश जी ।

    कालो चस्मालाई बिषय बनाएर पस्कनुभएको यो देशको यथार्तलाई बुझेर खै कहिले हाम्रा नेताहरुले सादा चस्माले देशलाई हेर्ने हुन?

    रमेश जी अघिल्लो पोस्टमा हजुरलाई अर्थ ओकेल्न बाध्य पारेकोमा क्षमा चाहन्छु ल ।

    ReplyDelete
  7. "वर्तमान सरकार विगतको सरकारको पुनरावृत्ति होइन, यो भिन्नैखाले परिस्थितिबाट बनेको सरकार हो । प्रतिक्रान्तिकारीहरूले सरकार ढाल्न खोजे त्यसको भोलिपल्ट ठूलो विद्रोह हुन्छ र सत्ता नेपाली जनताले कब्जा गर्नेछन् ।' यिनका नेपाली जनता वाइसीएल हुन् कि को हुन्" - अनि अहिले को सप्ता कसले कब्जा gaरेको जस्तो लागेको छ ???उनीहरूले नै -कुर्सिमा बस्ने बेलामा भनेथे'नि -अहिले नेपाली जनताको जित हो भनेर !! अनि फेरी कस्तो कुरा ओकलेको नि !
    - यस्तो सुन्दा मलाइ शेक्सपिएरko भनाई याद आउछ - "राजनितिले जनता मात्र होइन ईशोरलाइ पनी धाट्छ । "

    कालो चस्मा त्यो कालो रातलाइ
    कालो चस्मा त्यों कालो नितिलाई
    कालो चस्मा -देशमा एस्तो प्रोबोलम भित्राउने मठु नेताहरूलाई ।

    ReplyDelete
  8. कुतकुत्याउने टिप्पणीको लागि सबै साथीहरूप्रति ऋणी छु । आलोचना त खै गुम भए जस्तो लाग्यो है ! 

    कालोपन आज हामी सर्वसाधारणको लागि बाध्यताको उपज बनेको छ दीपकजी, र ठालु सरोकारवालाहरूको आँखामा चाहिँ यो कालोपन भ्रान्ति, असक्षमता र निर्लज्जताको आवरण भई चढेको छ । सादा आँखाले सादा भावसहित देशको लागि ती फिटिक्कै हेर्न सक्दैनन् । काला मान्छेहरूले छुँदा आज देशै कालो भइसक्यो । जुन महात्माको झोलीमा पनि चक्कु । तपाईँको चश्मा त आम नेपालीको विवश चिन्ह हो दीपकजी ।

    उजेली भाइ (यो साइनो अनिल दाइसँगको मेरो आत्मीय नाताले है !) र साधनाजीको मर्मअनुरूप चाह धूमिल हुन नदिने आगामी पलमा पनि चेष्टा गरिरहनेछु । अहिलेलाई यति मात्र भन्न सक्छु ।

    अनि वसन्तजीको कुराले त झन् उल्टै उहाँप्रति नै नतमस्तक बनायो । कुनै ज्ञानी मान्छेले म यति उम्दो छु, यति गरेको छु भनेर कहाँ देखाउँछ र ? यही गुमसुम बस्नु नै उसको महानता बन्न जान्छ । विदेशमा बसेर कि-बोर्ड ठोक्ने कुरालाई कति सजिलै रूपमा चित्रण गर्नुभएको नि । त्यस्तो पनि काहीँ होला त ? राष्ट्रवादको मुद्दालाई भौगोलिक सीमाले अलग्याउँछ नै कहाँ ? त्यो भावना रहिराख्‍नु मूल कुरा होइन र ? त्यसो त, देशभित्र रहेरै पनि कतिजना आज गद्दारी गरिरहेका होलान्, के नै कुरा ! भावुकता र संवेदनशीलतावश त्यसरी न्यास्रोपन पोख्‍नुभएको हो भने अर्कै कुरा हो । विदेश बस्नु कुनै पनि देशका नागरिकको लागि रहर होइन भन्ने कुरा त यहाँ तपाईँलाई के खुलाइराखूँ, सङ्घर्ष त विदेशभित्रको देशमा पनि हुन्छ । बाध्यताले विदेश बस्नु एउटा कुरा हो, तर विदेशमा रहेर पनि देशको बारेमा सोचमग्न हुनु, राष्ट्रिय समस्यामा समभाव राखेर सँगै व्यथित हुनु कता हो कता ठूलो कुरा लाग्छ मलाई त, र साँचोमा त्यही नै हो पनि । त्यो गुनिलो रूपमा तपाईँहरूको मूल्यवत्ता हामीले यहाँबाट मनन गरिरहेका छौँ ।

    सिकारूजी, देशको पीडालाई स्वानुभूति गरेर कुनै न कुनै दिन हाम्रा नेताको चेत कसो नफिर्ला भनेरै आशा, आशा र फिरि पनि आशा गरेका छौँ, सब्जी बजारको गोलभेँडा जस्तै ती नेतालाई सरक्क फेर्न सकिँदैन, के पो गर्नु । आलोपालो आउने तिनै सीमित अनुहार हुन्, पर्ख र हेर नगरी उपाय नै छैन ।
    अनि सिकारूजी, मेरो नाम रमेश होइन है । कि त जोतारे धाइबा भन्नुस्, कि त जीवन कार्की । यिनै दुई नामको जगमा म हिँडिरहेछु । यसो सोच्दा- हुन त नाममा के नै पो छ र, र नामबिना फेरि के नै पो बाँकी रहला र ? अनि अघिल्लो पोष्टमा तपाईँले मेरो नामबारे राख्‍नुभएको जिज्ञासाले त मलाई कत्ति पनि अप्ठेरो लागेन, त्यसरी क्षमा नै माग्नुपर्ने कुरा के थियो र ? कुनै नयाँ र अनौठो कुराप्रति स्वाभाविक रूपमा खुलदुली त बढ्छ नै । बिस्तारै मेटाउनेछु ।

    वेदनाथजी, तपाईँको ठम्याइ शत प्रतिशत सही छ । शेषनागलाई समेत माथ गर्ने यिनको जिब्रोको के कुरा गर्नु ! सत्तामा रहेर पनि हालीमुहाली गर्न नपाएर सर्वसत्तावाद हत्याउने दाउमा छन् । राजनीतिले ढाँट्न कसैलाई र कहिल्यै पनि बाँकी नराख्‍ने रहेछ । र पनि, सत्य कुरा सुन्न पाइन्छ कि कुनै दिन ?

    ReplyDelete