Subscribe:

Ads 468x60px

03 February 2009

कविता खोज्दै बहकिएको एउटा अल्लारे दिन...

हेर्न र चिनेर टिप्न मात्र सक्नुपर्छ, कविता त हाम्रै वरिपरि यत्रतत्र छरिएर हामीलाई नै हेरिबसेका हुन्छन् ।
अक्सर यस्तै भन्ने गरिन्छ कविता लेख्‍न नसक्ने कसैलाई अर्तीको लबजमा ढाडस दिनुपर्दा । बोलीको पेटारो सजिलै खुलिहाल्छ । तर लेख्‍न सकिएन त सकिएन, मुड चलेन त चलेन; जत्रै ठूलो घटना आँखैअघि घटित भए पनि संवेदनाको मूल र भावनाको भेल फुट्दैन । कविता नलेख्दा/लेख्‍न नसक्दाको आफ्नो हतास मनलाई काबुमा राख्‍न तब चल्छ अनेक बहानाबाजी । नयाँ कुरा, नयाँ ठाउँ कतै घुमे-देखे पो नयाँ विचार फुरोस् भन्दै टुप्पिएको आरोप आफ्नै पुर्पुरोमा बजार्न मन लाग्छ । यस्तैमा जाऊँ न त कतै शान्त र मनोरम ठाउँतिर, खुला आकाशमुनि बसेर कविताका भाका टिपूँ भन्ने जङ चल्न पनि बेर लाग्दैन । यस्तै जङ चल्यो जनवरी २१ (माघ ८) को मध्यम तापक्रममा लटि्ठएको काठमाडौँमा हामी तीन युवालाई । अनि हामी हान्निएका थियौँ पानीमाथि लमतन्न सुतेका नारायणनिवासी बुढानीलकण्ठतिर ।

पुस्तक विक्री-व्यवसायको एकरसताबाट दिक्किएर भर्खरै त्यसबाट ढुक्कैले छुट्टी लिएको साथी सुको साइबर (सुदीप कोइराला) फोन सम्पर्कपछि फुटपाथको एउटा टुक्रामा भेटिन आइपुगेको थियो । त्यस्तै, व्यस्त ठमेल क्षेत्रको एउटा होटलमा विश्‍वासिलो व्यवस्थापकमा 'गाँठवाला' जागिरे जीवनको थुनुवापनबाट निकै हतास भएर बाहिरिएको र पछिल्लो समयमा सेयर दलालीको पेसामा रत्तिन थालेको यदुकिशोर न्यौपाने पनि बाटैमा जम्काभेटमा ठोक्किन आइपुगेको थियो । दुवै साहित्य-कलाप्रेमी र लेखनमा भिजेका । बागबजार र पुतलीसडकको दोभानमा म एउटा लहर दुवैलाई छुँदै मिसिएको थिएँ ।

यात्राको कुनै योजना थिएन । पहिलो क्रममा भेटिएका सुको र म यस भेटलाई कुनै गतिलो काममा उपयोग गर्ने सोचाइ नफुरेसम्म लस्याङलुसुङ गरेर समय निल्ने टुङ्गोमा पुग्यौँ । जाऔँ साइबरतिर, सुकोको सम्मति थियो । लोडसेडिङको लफडामा साइबर क्याफेको पायकपर्दो बिसाउनी नभेटेर रन्थनिएका ऊ र म बागबजारबाट भोटाहिटी हुँदै पुरानो बसपार्कको निकासबाट पुतलीसडकछेउको न्यू प्लाजास्थित साइबर पुगेर चार्ज हुन पाएका थियौँ । सुको साइबरको त नाममै साइबरको फुर्को, साइबर क्याफेसँगको लगावले नामले सार्थकता पाएको थियो । मध्यान्हसम्म पेटमा एक गेडो अन्न नपरेको अत्यासमा उसले नजिकैको होटलबाट सेल मगाएर 'सेल विथ साइबर' को लोभलाग्दो संयोग चाखेकोमा म पनि मिठासे बन्दै थिएँ । च्याटमा को-को आए, केके भन्दै छन् ऊ पिठिउँपछाडिबाट कल्याङमल्याङ उब्जाइरहेथ्यो । च्याटमा कहिले कवि/गजलकार स्वागत नेपालले फोहोरको थुप्रोनिरको कुनै अर्को साइबरमा भेट्नलाई बोलाएको कुरा, कहिले बङ्गलादेशको नेपाली दुतावासमा कार्यरत दाइ कवि कृसु क्षेत्रीले कुनै गतिलो साहित्यिक विशेषाङ्कको प्रसङ्ग निकालेर त्यसमा को परे-को छुटे भनी केलाएको कुरा ।

म भने ब्लगर साथीहरूको ठेगानामा नयाँ-नयाँ परिकार चाखिरहेको थिएँ, मध्यान्ह १२ बजे बत्ती जाने कुराले दिमागमा सावधानीसूचक कम्पन छाड्दै अधकल्चो हिसाबले ब्लग चहार्न खरायोको गोडा पहिराइदिएको थियो । घरको कम्प्युटरमा इन्टरनेट नजोडेको भुक्तमान म ब्लग सुरु गरेयता झन् मज्जैले खेपिरहेको छु । लोडसेडिङको रन्कोमा कतिखेर साथीहरूको पोष्ट पढ्ने, पढेपछि मनमा उब्जिएको हलचल कतिखेर प्रतिक्रियामा पोख्ने, कतिखेर आफ्नो ब्लगका लागि विचार-मन्थनमा मथेर रसिलो प्लस कसिलो सामग्री लेख्‍ने, कतिखेर त्यसलाई प्रकाशन गर्ने ... आदिमा रनाहा छुटिरहेको हुन्छ ।

गयो बत्ती, अनि त अन्यत्रै पखेटा चाल्नु बाध्यता भइगो । पुतलीसडकको भँगालो चिर्दै पार हुने क्रममा विपरीतबाट आउँदै गरेका परिचित मनुवा भेटिए- उनै यदुकिशोर । 'यसलाई नभेटूँ भन्दै हिँडेको त झन् पो सामुन्नेमै ठोक्किन आइपुग्यो', सुकोप्रति लक्षित गर्दै उनी मुसुक्क देखिए । साथी होस् त यति प्रस्ट, नभेट्ने तीव्र भाव पनि र्सलक्क खुलाइदिए । सायद बारम्बार भेटिरहने अन्तरङ्ग अनुहार भएर होला त्यसरी खुल्न सकेका । सेयर ब्रोकरको अफिस सम्हाल्न शङ्करदेव क्याम्पस मोडतिर लम्किँदै गरेका यदु तत्काल हाम्रै सङ्गतको रसायनमा पग्लिए झैँ भए । यसरी जुटेर कता पो जाने ? यदुले नै प्वाक्क पोखे कौतूहल । ल जाऔँ बुढानीलकण्ठ, मेरो प्रस्तावमा दुवैले पाखुरा आपसमा खिपेर एकमत जनाए । किनौँ कापी, लेखौँ त्यतै कतै बसेर बेजोड कविता, योजनाको पोको तुरुन्तै कसियो । अनुभूतिको भुत्तेपन बढेर लामो अवधि कविता लेख्न सकिएको थिएन । कविता नलेखेर खिया लागेको अनुभूतिको भुत्तेपन आज मेटिनेमा तीनैजनामा उल्कै रोमाञ्च छुटिरहेथ्यो ।

नक्साल हुँदै लाजिम्पाटतिर डोरिएका तीनजोर पैँतालामुनि दिउँसो १ बजेको सुई किचिमिची भइसकेको थियो । दुइटा सेल टोकेर मन बुझाएको सुको नक्सालमै होटल कम भट्टी बढी एउटा छाप्रोमुनि आलु-च्युरा मुक्याएपछि भने बल्ल प्राण कोष जागेझैँ देखियो । सुकाबाट मोहरको पाइनमा उक्लिएझैँ । लाजिम्पाटको फुटपाथमा गाडी कुर्दै रोकिएको पाइला 'लघुशङ्का' को तोडमा त्यहीँ जमिराख्‍ने कुरै थिएन । अनि त लागियो छेउकै बैँकतिर, अत्यावश्यक र आकस्मिक कारोबार फत्ते गर्न । स्टान्डर्ड चार्टर्ड बैँकको सुकसुकाउँदो वातावरणले तीन नौजवान कविहरूलाई गरेको स्वागतदेखि कृतकृत्य भएर हाम्रो अनुहार धपक्कै बन्यो । उटपट्याङ कुरा र चुटकिलादार कुरा गर्नमा 'बिजुलीबत्ती' साथी सुको बोलिहाल्यो- 'लाऽऽ बरबाद ! भोलि पत्रिकामा फलानो-फलानो कविहरूले बैँकमा छिरेर पिसाब फेरे भन्ने समाचार आयो भने के गर्ने ?' उसको कुरा हुन त कुरैकुरामा रमाइलो थप्ने ठट्यौली थियो, तर साथीको तीव्र कल्पनाशीलताले यदु र मलाई कायल बनाएर हँसायो । यस्तै कुराले होला, सुकोले साथीभाइको माझमा 'आलु'को उपनाम पाएको छ- सबैसँग मिल्न सक्ने, जस्तै परिस्थितिलाई पनि सकेसम्म अनुकूल तुल्याएर रउसे बनाउन सक्ने । आलु मानव ।

भरिभराउ माइक्रोमा कोच्चिन पुगेका हामी एकापसको अल्लारे गतिविधिलाई अनुसन्धान गर्नमा बढ्तै रमाउँदै गयौँ । महिला आरक्षण सीटको हकदार झैँ एउटी भद्र चेहराछेउ लस्किदै बस्यो सुको । सामान्यतया आफू सवार भइसकेपछि जहाजको भाँतीमा बेतोडले गाडी हुइँकिइरहोस् भन्ने आत्मकेन्द्रित लालचीहरू यो माइक्रोमा पनि देखिए । त्यस्तो स्वार्थीमा आफू पनि परियो । जसोतसो हुत्तिँदै र थच्चारिँदै माइक्रो बुढानीलकण्ठको टुङ्गोमा आहाल बस्यो । पोहोर साल शिवपुरी त्रैमासिक पत्रिकाका सम्पादक/प्रकाशक वियोगी बुढाथोकी र बन्धुहरूको बन्दोबस्तमा बुढानीलकण्ठछेउको डाँडामा आयोजित गुन्द्रुक, ढिंडो र मकै-भटमासको कार्यक्रममा यता आइएको थियो । त्यसै बेला आउँदा हेक्का राखेको 'देउवा चोक' मानसपटलमा ताजै भएकोले देउवा चोकमा उत्रौँ साथी हो भन्न फूर्ति नपलाउने कुरै भएन । नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाको निवास बगलमै भएकाले बुढानीलकण्ठको एउटा क्षेत्रको नाउँ नै देउवा चोक बन्न पुगेछ । ठूलो घरको ठूलै चाला भन्थे, हो रहेछ भन्ने लाग्यो । त्यो नामाकरण देउवा स्वयम्‌बाट भन्दा पनि बलेको आगो ताम्ने मनस्थितिका आसेपासे धूपौरे र हुल्लडवाजमा क्षणिक रमाउने जमातको मनोरञ्जनबाट निस्किएको खुट्याउन कन्नै पर्दैन । समग्रमा यो प्रवृत्ति व्यक्तिपूजाको खियादार मानसिकता हो ।

खाजा खाने बेला मिचेर खाजै नखाई उकालो नचढिने भो । प्याकिङ खाना नलग्ने मुडमा सबै देखियौँ । अलि ग्रामीण पाटोतिर उक्लिएर शान्त र स्वच्छ वातावरणमा एकोहोरो कवितालाई डाक्ने हाम्रो धुन थियो । पहिले कविता लेख्न एक जिस्ता कापी किनियो । कापी किन्न लाग्दा नमच्चिने पीङको सय झट्का उखान पो चरितार्थ भयो कि भन्ने झस्का पनि छँदै थियो । होटलको खोजीमा लाग्दै गर्दा कि त राम्रो होटलमा मान्छेको भीड हुन्छ कि त मान्छेको भीड हुने होटलमा ताजा-ताजा खानेकुरा पाइन्छ भन्ने अवधारणा पछ्याउँदै भीडभाडयुक्त एउटा टुङ्गोमा तिम्ल्याहा ज्यान बिसाइयो । आयो रोजीछानी आइटमः निम्की, जेरी, पुरी र तरकारी । किरिप्प निम्की जिब्ट्याउँदै यदु भावुक देखिए- 'मेरी कालीले पनि यस्तै निम्की बनाउँथी यार !' मुखसँगै उनको मन मिटि्ठएको अनुहारको झलकले विज्ञप्‍ति जारी गरिरहेको थियो । अहिले उनको काली साथमा छैन, बिहे गरेर अर्कैकी सहयात्री हुन गइसकी । र पनि यता भूतपूर्व प्रेमी यदुको मनमा रहेको मायाको सिमसार उस्तै लदबद छ । 'मेरी कालीलाई थाहा छ साथी हो, म कस्तै सिरियस भएर अस्पतालको इमर्जेन्सी रुममा पसारो परे पनि त्यस कालीको एक पूकारमा ऊ सम्मन् पुग्नेछु', निम्कीको भुजुराभुजुरीमा औँला खेलाउँदै यदु पिलपिलाए । अब यस्तो कालेलाई कसरी सान्त्वना दिने हामीले ? सुको र म मुखामुख गरेर पक्क घुरिरहृयौँ । कविता लेख्‍ने थातथलोमा पुग्नुअघि नै संवेदना छताछुल्ल हुन थालिसक्यो । कतै त्यहाँसम्म पुग्दा सकिइसक्ने त होइन तरल भावना ? होटलको टेबलमा टक्रिन आएको निम्कीको मिठासमा कालीको हातको सीप मिसिएको सम्झिएर खानमा चित्त बुझाउन उसलाई हौस्याउनु भन्दा अरु उपाय थिएन । यतिबेलै म भने प्रेमपरक गजलका आफ्नै पुराना पङ्क्तिहरूमा हराउन थालेँ-

फालिहाल्यौ मुटु तान्ने जाल सङ्गिनी
केके होला अब हाम्रो हाल सङ्गिनी ।

कुर्दाकुर्दै बेर होला सम्हालिनु आफैँ,
बित्ला कतै बैँशालु ती साल सङ्गिनी ।

जस्तो छु म यस्तो नै लौ किन भएछु,
छैन निको तिम्रो पनि चाल सङ्गिनी ।

………………………………………
…………………………………


तेर्सो लागेर आली नै आली गोरेटो बाटो केहीक्षण उकालिएपछि खुला धुलौटे सडक पाउसम्म पसारिन आइपुग्यो । अनि त पातलो बस्ती हुँदै सफा हावाको मिठासमा रम्दै कविता गाउँको खोजीमा हाम्रो यात्रा फैलिँदै गयो । तर मिठाससँगै खिन्नताको मात्रा पनि बराबर थियो । कङ्क्रिटको जेरीले चक्रपथभित्रको महानगरलाई उछिन्न गा.वि.स.का यस्ता हरिया फाँटहरू पनि अग्रसर भएको देख्दा यस्तो स्थितिमा शीत कहाँ पर्न पाउनु र पृथ्वीमा शीतल वातावरण हुनु भन्ने बोलीचालीको टुक्का एकदिन वास्तविक बन्नेमा अत्यास लाग्यो । जतासुकै घर बन्दैछन्, युगौँदेखि भासिएर बसेका बडेमानका ढुङ्गा र बुट्यानको प्राकृतिकतालाई चुनौती दिएर घरको जग खनिदैछ । धारा भने लगातार आइरहने रहेछ । यस्तै तीता-मीठा कुराको साक्षी बस्दैमा दिन खुइलिँदै गयो ।

रमिता मात्रै हुन थाल्यो, कविता त बेपत्ता सूचीमा राख्‍नुपर्ने नेपाली नागरिककै अर्को एउटा नाम हुने भयो भन्नेमा पर्नु पीर पर्‍यो । बस्ने उपयुक्त ठाउँ हामी कसैलाई जँच्दै जँचेन । घुम्ती र खेतका गह्रा पार गर्दै दूरी छिचोल्दै गइयो तर खोजेजस्तो ठाउँ फेला परे पो ! मच्चिने पीङ थच्चिने छाँट भयो । चार्जको हावा खुस्किएको मोबाइल एउटा घरमा खुसामद गरेर चार्ज गर्ने काम भयो, अमिलो-पिरो च्वाट्टचुट्ट पसलतिर किनेर खाइयो । तर जुन कामलाई उद्देश्य बनाएर हिँडिएको थियो, कविता त लेख्दै लेखिएन । हौवाबाजीको हिँडाइबाटै भरपूर मज्जा लुटियो । एकाहोरो सफारी मात्रै भए पनि रमाइलोमा भने कुनै कमी भएन ।

चुच्चे ढुङ्गो उही टुङ्गो भने झैँ सादा कापी खल्तीमा बोकेको बोक्यै लखतरान भएर ओरालो झरियो । एकछिन देउवा चोकबाट भित्र छिरेर चौरमा थकाइ मार्ने मेलोमा बसियो । काँधमा कपडा बोक्दै हिँड्दै गरेको घुमन्ते व्यापारीलाई यदुले जिल्याउने जुक्ति निकाल्यो । यदुकिशोर नामअनुसारकै किशोर देखा पर्‍यो यसपालि । बोलाएर सिरकको खोलदेखि महिलाविशेषको परिधान ओल्टाइपल्टाइ गर्दै मोलभाउ र गुणस्तर पारख गर्ने काम भयो । तीनैजना अविवाहित थियौँ, त्यसमध्ये पनि सुकोले मानस पत्‍नी तत्काल स्थापना गरेर कपडा हत्केलामा खेलाउँदै 'यो तिम्री भाउजूलाई लगिदिँदा कस्तो हुन्छ, मन पराउली त उसले ?' भनेर हामीलाई सोध्दै रौनकतापूर्वक टाइम पास गर्ने काइदा मिलाउन थाल्यो ।

यतिखेर कालीलाई सम्झिएर हो या बिर्सिएर, यदु फुलेल थियो । इत्रिने भावमा पलेँटी जमाएर बसेका युवाहरूमाझ सामान विक्री हुनेमा व्यापारीले कुनै छाँट नदेखे पनि ऊ हाम्रो कुराको कुराउनीमा रम्दै खिलखिलाउनमा मग्न देखियो । कुनै गुनासो बिना ओठमा फुरुङ्गपना बोकेरै ऊ बिदा भयो । हामी भने अझै आलस्यलाई काखी च्यापेर त्यसैको स्याहारसुसारमा असिनपसिन बने झैँ सुस्केरा काढ्नैमा व्यस्त । अहिले नै गाडीमा बहकिएर गयो भने घर चाँडै पुगिन्छ, पुगेर के गर्ने ? बरु हिँडेर जाऔँ भन्ने लहडबाजी चल्यो । हिँड्दै चक्रपथको गोलाकार चुम्ने ध्याउन्नमा जुत्ताभित्र पानीफोका फुलाउँदै तीन कविहरू थकाइले ज्यानभरि कोरेको कविता चाख्दै लस्किरहृयौँ । मनमा कुराका भ्यागुताहरू टरटराइरहे, उफ्रिरहे- त्यो ठाउँमा कविता छँदै थिएन त ? खासमा सायद हामीभित्रै कविता थिएन । घुम्न गएको ठाउँले हामीलाई पुनःताजगी देला, कवितै त कसरी खन्याउला र हामीमाथि ? कुनै पनि कुराले प्रभाव पार्नु-नपार्नु र महत्व राख्‍नु-नराख्‍नुमा बाहिरको वस्तुस्थितिले उत्तिको भूमिका कहाँ पो खेल्छ र ! सबैसबै हाम्रो आफूभित्रको सूक्ष्मदेखि स्थूल संवेदनाको शिथिलता र उद्‌गमताको खेल हो । केही समयअघि १० दिने बन्द शिविरमा बसेर बोध गरेको विपश्यना ध्यानविधिको गुहृय मनभरि केलाउँदै-खेलाउँदै झम्के साँझमा फुटपाथको एक-एक चोक्टामा पाइला थाम्दै चाल बढिरह्यो ।

5 comments:

  1. Hello
    It has a nice blog.
    Sorry not write more, but my English is bad writing.
    A hug from my country, Portugal

    ReplyDelete
  2. तपाईको बहकिएको दिनको दिनभरको घटनाक्रम निक्कै स्वाद लिएर पढें ।

    कहिले काहि कुनै नया ठाउँ,, परिवेश वा वृत्तमा पुग्दा दिमागमा केहि फुर्नेमा कुनै दुईमत छैन, तर तपाईहरु त कापी कलम किनेर यसरी लाग्नु भयो कि मानौं फलाम खानीमा फलाम, सुन खानीमा सुन भएझैं तपाईहरु 'कविता खानी' मा कविता खन्न जाँदैँहुनुहुन्छ ।

    रोचक टाँसो !

    ReplyDelete
  3. दिलीपजीको कुरामा अझ यसरी ठट्यौली थप्न मन लाग्यो , ' तै बरु कापी किनेकै बेला त्यतै एक एकवटा कविता लेखिवरी जानुपर्ने । '
    बाँकी टाँसोको मनमोहकता त सँधै झैं , जोतारे धाईबाले नै लेखे झैं छ ।

    ReplyDelete
  4. धाइबा जी को केफ मा निकै मज्जाले पढियो रमाइलो यात्रा अनि छोटो मिठो गजल पनि । अनि तपाइको मित्रहरुलाई पनि तपाइलाई साथ दिएकोमा धन्यबाद भन्न चाह्न्छु ल ।

    ReplyDelete
  5. ए गाठे ! मजै पो गर्नु भएछ त ? धन्यबाद ! आफ्नो दिनचर्या को बारेमा शेयर गर्नु भएकोमा ।
    र साथै क्याफे मंगलम !

    ReplyDelete