Subscribe:

Ads 468x60px

11 February 2009

लीला खन्चुवा पत्रकारको


'ऋषि धमलाको फोनवार्ता पढ्दै,'
पछिल्लो समय नेपालीमाझ लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको स्टेटसमा लखन थापा मगर झुल्किए । माघ २३ गते बिहीबारको नयाँ पत्रिका दैनिकमा 'ऋषि-शुभक फोन संवाद' शीर्षकमा छापिएको धमला र रणवीर सेनाका उपत्यका राजनीतिक इन्चार्ज रामशुभक महतोबीच भएको फिरौती रकमबारेको फोन संवाद पढ्न पाउँदा लखनजी बिहानपखको चारो फेसबुकमा छर्दै थिए । लगत्तै साथीहरू 'कस्तो वार्ता ?', 'के रहेछ त त्यहाँ ?' भन्ने कमेन्टका पङ्खसहित चारोमा टाँस्सिदै थिए । मैले पनि एक वाक्यमा 'खन्चुवा पत्रकारको लीला !' भन्ने फुर्को जोड्दै रौनकता घोलेँ । बोले प्रति टिप्पणीमा लखनजी- 'के गर्ने, काम गर्नुको दुःखले हो कि, छिटै धनी हुने लोभले हो धेरै पत्रकार यस्तो धन्दामा छन् ।'
सन्दर्भमा पत्रकार एवम् रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला राजधानीमा फिरौती चन्दा असुलीको कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेको घटना छ । त्यस्तो गैरकानुनी कार्यमा तथ्य-प्रमाणसहित त्यत्तिको चिनारु पत्रकारलाई प्रशासनले पक्राउ गरेको यो पहिलो घटना हुनसक्छ । दोषी भएमा उनी जसरी पनि कारवाहीको भागीदार र निर्दोष भएमा यथाशीघ्र थुनामुक्त हुनुपर्छ । कुनै उच्च दबावबाट उनले उन्मुक्ति पाउनु पनि हुँदैन र पूर्वाग्रहवश मुद्दा तन्काएर जेलमा कोच्नु पनि हुँदैन ।

पत्रकारमाथि राज्य तथा विभिन्न विद्रोही समूहद्वारा धरपकड, दुर्व्यवहारदेखि पक्राउ, अपहरण, बेपत्ता र हत्यासम्मका शृङ्खलाबद्ध आक्रमणले नेपाली प्रेसलाई च्यापिएको गोरेटोमा हिँड्न बाध्य पारिँदैछ । पत्रकार र पत्रकारिता क्षेत्रलाई निशानामा साँधिएको कुरा र सञ्चारक्षेत्रभित्रै तलब-सुविधाका विषयमा अन्यायमा पिल्सिएका दुखियाहरूको समस्या एकातर्फ छ भने पत्रकार आफैँमा पनि के-कस्ता छन्, उनीहरू नीति-नियमभित्र रहेर सूचना-समाचार जनसमक्ष जुटाउने जिम्मेवारीमा कर्तव्यरत छन् कि 'दायाँ-बायाँ' पनि चलखेल गर्छन् भन्ने प्रश्‍न पनि त्यत्तिकै तिक्खर छ । कतिपय कलमवाज भने पत्रकारिताको मर्यादा र पत्रकारको दायित्व बिर्सिएर अथवा पत्रकारको चिनारीलाई आवरणमा राखेर स्वयम्-लाभको अतिरिक्त कारोबारमा पनि सक्रिय हुन्छन्, खासगरी जिल्लातिर । धम्क्यायो, तर्सायो अथवा फकायो, लोभ्यायो र फाइदा कुम्ल्यायो ।

प्रजातन्त्रको पुनःस्थापनापछि मुलुकमा छाउनुपर्ने सूचना तथा अभिव्यक्ति स्वतन्त्रताको हकको विपरीत चारैतिरबाट खोचे थाप्ने रूपमा स्वतन्त्र प्रेस प्रयोग हुँदै आएको छ । पुनःस्थापित प्रजातन्त्रसँगै जागेको राजनीतिक चहलपहल र पार्टी-गतिविधिमा आएको तीव्रताको आडमा सुरु पार्टी पत्रकारिता (नेपाली पत्रकारितामा यसैलाई मिसन जर्नालिज्मको रूपमा व्याख्या भएझैँ लाग्छ) को अभ्याससँगै पछि त झन् विरोधी गुटका पत्रकारलाई वर्ग-शत्रुकै रूपमा हेर्ने चलन चल्यो । आफू मात्र ठीक, अरू त सबै तथ्यहीन, झुट र भाटगिरीका ठेकेदार । पछिल्लो समयमा झन् मौलाउँदो पत्रकार र सञ्चार गृहमाथि आक्रमणको दुस्साहस त्यही गुटगत मानसिकताको विकसित रूप पनि हो । देशमा लोकतान्त्रिक गणतन्त्र (भन्नलाई त यो देशलाई नै सपनाको देश अमेरिका घोषणा गरिदिए हुन्छ, कसको के जान्छ र !) घोषणा भइसक्दा पनि अझै हामीकहाँ ठट्टामा पहिलेपहिले बोलिने 'गोरखापत्रकारिता' र स्वतन्त्र पत्रकारिताबीचमा प्रस्ट अन्तर कायमै छ । जतिसुकै स्वायत्तताको नारा चर्काए पनि परिवर्तित सरकारसँगै 'गोपी कृष्ण कहो' को धुन गुन्जिहाल्छ ।

माथिकै मूल कुरातिर लागौँ फेरि । पत्रकारिता क्षेत्रमा रहेकाहरू साथै सञ्चारमाध्यमको पहुँच भएका सचेत सर्वसाधारणहरूमा कमै होलान्, धमलालाई नचिन्ने । अब पक्राउ प्रकरणसँगै उनलाई अरू झन् बढी चिन्नेछन् जनसाधारणले, नामसम्म नसुनेकाहरूले पनि चिन्दै जालान् यो छुट्टै कुरा हो । पेसागत रूपमा उनको लेखनगत चर्चाभन्दा पनि समग्र मान र हैसियत रिपोर्टर्स क्लबको स्थापना भएयता नै स्थापित भएको हो । अध्यक्षको पदसँगै उनको चर्चा चुलिँदै आयो । अरू केही नभए पनि सामान्यतया दिनहुँ कुनै न कुनै कार्यक्रम भइरहने क्लबमा त्यसबारे समाचार रेडियो र टिभीमा बज्दा पुछारमा 'कार्यक्रम रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको थियो' भन्ने थेगो नियमित रटानमा सुन्न पाइन्थ्यो ।

यसैले उनी दैनिक 'हिट' थिए । टेलिभिजनको पर्दामा पनि उनी सञ्चारकर्मीको हूलमूलमा तन्किँदै क्यामेरा ताकिएकै दिशामा नेता-अतिथिको लहरमा नारिएर चुसुक्क अनुहार देखाउन पुग्थे । मानौँ उनी नै अतिथिका रूपमा बोल्न लागेका हुन् । यो पनि उनको दैनिक झलक । समसामयिक जनचासोका बारेमा विभिन्न राजनीतिक, सामाजिक मुद्दाबारे अन्तरक्रिया डबली उपलब्ध गराई सञ्चारकर्मीलाई समाचार-जानकारी तथा जनतालाई सूचनाको अवसर दिने क्लबको छवि जनमानसमा अग्लो रहेको पाइन्छ । एक हिसाबमा निर्विकल्प सञ्चार-साथी जस्तो । यसै क्लबको सिको गरेर पत्रकार-पाहुनाको संवादात्मक ढाँचाको सहज बहस-अन्तरक्रियाको लागि राजधानीमा आधा दर्जनजति विभिन्न मिडिया क्लब खुलेको पाइन्छ ।

यस लेखोटमा धमलाको व्यक्तिगत चरित-चर्चा गरेर लाञ्छना उराल्नु छैन, पत्रकारिताको नाममा समयक्रमसँगै फस्टाउँदै आएको धमला-प्रवृत्तिलाई कोट्याउन मात्र खोजिएको छ । जसले सिङ्गो सञ्चारक्षेत्रलाई नै दूषित बनाएर कलङ्क थोपर्ने काम गरेको छ । पत्रकार अचेल सङ्ख्यामा पनि बढेका छन्, इज्जतका हिसाबले पनि सस्ता भएका छन् । आज पत्रकारिताको नाम त छ, तर उल्टोतिरबाट- बद्नामका रूपमा । कुनै पनि कुरा आफैँमा उँच र नीच, राम्रो र नराम्रो भन्ने हुँदैन । पत्रकारिता क्षेत्र पनि आफैँमा नराम्रो र नीचभन्दा पनि यसमा कार्यरत 'पत्रकार' (हुँदाहुँदा अहिले त यो सम्बोधन र चिनारी पनि अपमानजनक रूपमा चित्रण हुन थालिसक्यो, धेरैजनाले आफूलाई पत्रकारभन्दा 'सञ्चारकर्मी'को परिचयमा आफूलाई उभ्याउन थालेका छन्) को बाहुलीको कारण आयाम बनाउँदैछ ।

खन्चुवा खेतीमा पत्रकारको संलग्नता राजनीतिक छत्रछाया र लाहाछापबाटै भएको बुझ्न दिमाग दुखाउनुपर्दैन । राजनीतिक आस्था, निकटतासँगै त्यसप्रति समाचारीय कार्यक्षेत्रमा देखिने पक्षपाती व्यवहार र लेनदेनको गणित कतिसम्म गहिरो छ र त्यो गहिरिएको लहरो तान्दा कतिसम्म पहरो खस्ने हो, रहस्यको ज्वालामुखी चर्को छ । पत्रकारको निश्‍चित राजनीतिक आस्था हुनु कुनै आपत्तिको कुरा होइन, नागरिकको रूपमा मिडियाकर्मीको पनि हक सुरक्षित छँदैछ । तर जब सत्य-तथ्य र निष्पक्ष रहनुपर्ने सञ्चारयात्राको कर्तव्यपथमा त्यही आस्था कसैले भजाउन थाल्छ, टीको लगाएर आफ्नाको भजन र अर्काको तिरस्कार गाउँछ भने तब के गर्नहुने र के नहुने केही अर्थ राख्दैन । पत्रिकामा प्रोफाइल 'लेखिदिएर' एक फोन कलमा शो-रुमबाट एकजोर जुत्ता मागी दसैँको मुखमा ढल्काएर हिँड्ने पत्रकार मैले देखेको छु, मन्त्रालय पुगेर 'हामी तपाईँकै त मान्छे हौँ, हामी नभई तपाईँहरूको पनि त केही चल्दैन नि' भन्दै पाँच हजार दाम मन्त्रीबाट छिनाउने चल्तीको मिडियाम्यान पनि चिनेको छु । जानकारीबाहिर यस्ता कति 'पत्रकारितार्-धर्म' तीव्रतापूर्वक निर्वाह भइरहेको होला, किटेर भन्न गाह्रो छ ।

पत्रकारको यस्तो घिनलाग्दो काम र दयनीय अवस्था हाम्रो जस्तो विकासोन्मूख (सदियौँदेखि उन्मूखको उन्मूखै) मुलुकमा कति सामान्य हो कति असामान्य हो, अध्ययनै गर्नुपर्ला । सञ्चारसंस्थामा चित्तबुझ्दो तलबपानी नपाएरै खन्चुवा प्रवृत्ति बढाउनुपरेको हो कि लोभी र असन्तोषी मानसिकताले अतिरिक्त आयतिर लामो हात बढेको हो, यसमा पनि ध्यान दिन आवश्यक छ । कामअनुसारको पेट-परिवार पाल्न सक्ने उचित पारिश्रमिक पत्रकारले (चाहे जुनसुकै पेसामा लागेकाले) पाउनैपर्छ । नत्र विचार दसतिर खेल्छ र संस्थाले पनि उसबाट राम्ररी काम लिन सक्दैन । तलब, सुविधा, अवसर र मूल्याङ्कनलगायतका कुरामा सञ्चारक्षेत्रभित्र नै पत्रकार-पीडकहरू रहिरहेको परिप्रेक्ष्यमा सर्वत्र मिडियालाई निशाना ताक्नेहरू बढ्दै जानु कुनै नौलो कुरा होइन । तर निजामती सेवामा भन्सारका कर्मचारीलाई घूस खान निरुत्साहित गर्न सरकारले तलबसँगै पर्याप्‍त रकम भत्तास्वरूप व्यवस्था गरे पनि तिनले त्यसभन्दा पनि झन् धेरै रकम थुपार्न घूस खान नछोडेझैँ हालत पत्रकारको तलबपानीको सन्दर्भमा पनि लागू नहोला भन्न सकिन्न । लौ मानौँ, केही नदिने कार्यरत संस्थाले पुग्दो आयस्ता देला, तर लोभी-पापी मन भने अझै धनी हुने चाहले चोर बाटोतिर पाइला घुमाउला ।

यो खन्चुवा लीला एक बालकको चुटकिलादार रोदन-गाथाझैँ रोमाञ्च लाग्छ । एक रुपियाँको डबल लिएर बजार गएको बालक बीच बजारमा रोइरहेको थियो । छेउमै हिँड्दै गरेका एक दयावान् बटुवाले सोधे- 'के भयो बाबू ? किन रोइरहेको यसरी ?' बच्चा भन्छ- 'आमाले एक रुपैयाँ दिनुभएको थियो, बाटोमा आउँदाआउँदै हरायो ।' यति भनिसकेपछि हिक्का छाड्दै बच्चा रुने कार्यमा तदारुकतापूर्वक एकोहोरियो । यति सानो कुरामा डाँको छाडेर रोएको देखेर बटुवा छक्क परे, आफ्नो झोली खोतलेर स्नेहवश बालकको हातमा एक रुपियाँको डबल राखिदिँदै बटुवाले थुम्थुम्याए- 'ल बा, अब नरोऊ, के किन्ने हो बजारबाट लिएर घर जाऊ है ।' बालक पनि अपरिचित भलाद्मीले पैसा दिएको देखेर सुरुमा त जिल्ल परेर हेरिरहृयो । पैसा पाएर ऊ दङ्ग पर्‍यो र फेरि के सम्झियो कुन्नि, झन् घाँटी चर्किने गरी रुन थाल्यो । बटुवा चकित परे । फेरि के भयो बच्चोलाई ? उसले चुप लाग्ने छाँट देखाएन । ती भलाद्‌मीले सोधखोज गर्न बालककै उँचाइमा काँध झुकाए । 'के भयो बाबू अब तिमीलाई ?', शिर मुसार्दै सोधे । बच्चोले हिक्का बीचबीचमा रोक्दै झटपट भन्यो-'अघि मैले एक रुपियाँको डबल नहराएको भए अहिले मसँग दुई रुपियाँ हुनेथियो ...हुँहुँहुँ ।' फेरि अविरल रुवाइ... ।

हामीकहाँ खन्चुवा पत्रकारको आधारभूमि होटल, सङ्घसंस्थामा आयोजित कार्यक्रमदेखि नै बन्छ । रिपोर्टिङ गर्न गएको नाममा खाजा ढुकेर बस्ने हैसियतका पत्रकार सहरी इलाकामा खोजिराख्‍नुपर्दैन । भोका आँखा कार्यक्रमका अतिथि र सहभागीहरूको सूची केलाएर समाचार टिपोट लेखाउनभन्दा कुनाछेउका गमकदार 'डिस' नियाल्न एकसुर बन्छन् । खन्चुवा पत्रकारको इलमअन्तर्गत तिनले डायरी र कलम पनि हातमा समातेकै हुन्छन् र खाजाको पोका वा प्लेट बोक्न पनि तयारी अवस्थामा रहन्छन् । राजधानी काठमाडौँको जनसङ्ख्या बढाउनमा यस्ता पत्रकारको पनि केही हात अवश्य छ क्यार । यस्तै खाजाको पोका बोक्दाबोक्दै, चाख्दाचाख्दै कतिखेर तिनीहरू लाख-दसलाख रकम भागबन्डा खोज्ने ध्याउन्नमा पत्रकारिताको इज्जतदार पेसालाई दाउमा राख्छन्, पत्तो हुँदैन । पेसाको गरिमा र दायित्व बुझेर यसभित्रको सूचनासङ्ग्राममा निक्खर लडाकु नबनेसम्म विभिन्न रूपमा खन्चुवा पत्रकारको दानव एउटा सञ्चारकर्मीसँग साथसाथ हिँडि नै रहनेछ । बेइमानी समृद्ध र झकिझकाउ बनेर बाँच्ला, तर सधैँ त ऊ बाँच्दैन । एकदिन त उसको पत्तासाफ हुन्छ र तब ऊ कहीँको रहँदैन ।

1 comment:

  1. खन्चुवा त पक्कै हो तर यो खन्चुवाको परिभाषा भिन्दै तरिकाले गर्नु पर्ने भा'छ अब ।

    उसै पनि कुनै न कुनै दल, गुट वा छाता मुनी बसेर मात्रै लेख्नेहरुमा अब झन चिया-पान र खाजा-डिनर को "भोक" मात्रै नभएर पैसा, चन्दा र आतंकको "भोक" पनि सल्केको छ । यहि क्रम जारी रहे पेसाको गरिमा र दायित्व त कता पुग्छ कता।

    ReplyDelete