Subscribe:

Ads 468x60px

12 February 2009

लालटिन, जून र जूनकिरीहरू

मेरो प्रेम,
सुरुवात नै अहम्‌पनाबाट भयो भन्ठान्यौ क्यार ! यहाँ मात्राको हिसाब गरेर मैले 'मेरो' शब्दलाई नै राखेँ नत्र 'हाम्रो' को सम्भावना नभएको हैन । आपसी प्रेम, तिम्रोको मात्रा बढी हुँदो हो त फरकपना अवश्य रहन्थ्यो । अन्तिमपटक तिमीले पठाएको एसएमएस मेरो मोवाइलमा अझ पनि सुरक्षित छ । एक्लो यात्रा मागेको तिम्रो त्यो याचनापूर्ण एसएमएस मैले चाहेर पनि मेटाउन सकिनँ । तीन दिन मात्र अनुभूत गर्न सकेको तिम्रो प्रेमले गर्दा त्यसो हुनगयो । पहिलो दिन तिम्रो प्रस्तावबारे सोचेर, दोस्रो दिन 'के उत्तर दिने' भनेर र तेस्रो दिन 'उत्तर दिने कि नदिने' भनेर । किनकि चौथो दिन मैले प्रेम स्विकार्नु अघि तिमी स्वयम्‌ले आफ्नो गल्ती भएकोमा प्रेम प्रस्ताव प्रति क्षमा माग्यौ । अब आफैँ भन, मैलै 'मेरो प्रेम' नभनेर के भनूँ ।

यो पत्रको शीर्षक के राखूँ, के राखूँ भैरहेको मनस्थितिमा 'लालटिन, जून र जूनकिरीहरू' राखूँ कि लागेको हो । फेरि सम्झेँ, एकअर्कामा विलकुल विपरीतार्थक हामी, यसमा के तिम्रो के चासो रहला ? जब कि मलाई राम्ररी थाहा छ, तिमीलाई साहित्यको 'स' पनि मन पर्दैन । र पनि मलाई तिमी औधी मनपर्छ । ....... मैले नदेखेको साहित्यको पाटो तिम्रो घृणामा देख्तछु । हुन त यो शीर्षकमा राखेका तीनैओटा चिजहरू म, तिमी बसेको सहरका लागि आवश्यक कति, अनावश्यक कति ! कारण लोडसेडिङको मारमा परेको बेला हजुरबुबाको पालाको लालटिन प्रसङ्ग । जूनकिरी त हैन, जूनकिरीका ताँतीजस्ता लाग्ने साँझपख सवारीको चाप । भन्लाउ- यो सहर प्रेममय छ त्यसैले प्रेयसीलाई जून भनी सम्बोधन गर्नेहरू पक्कै छन् । प्रेयसी नै जून जस्ता नभएर सूर्यमुखी र ज्वालामुखी जस्ता छन् भने चाहिँ के गर्ने ! गुजल्टिएर आफ्नो मनलाई शङ्खेकिरा बनाउने या तरबारको धारमा हिँड्न तयार हुने । प्रणय दिवस नजिकिँदैछ, त्यसैले पनि सबै प्रेयसीहरु एक दिनका लागि भए पनि जून कसो नबनिदेलान्, आशा गरौँ बाँकी दिन भलै ङ्यारङ्यार ङुरङुर चले पनि । नत्र फेरि प्रिय भनाउँदाहरु प्रेयसीको कोपभाजनले 'साथीनी'हरुबाट पनि भूमिगत भएर जाडोयामको फाइदा उठाउँदै सिरकसँग ओथारो बस्न पुग्छन् । बिचरा जूनकिरी जस्ता लाग्ने साथीनीहरु !

साथीत्व हुनुको धावालाई प्रेयसीले म्याराथन नगरी एकलौटी पारेपछि साथीको जीवनमा टिलपिलाउनुको के अर्थ ? साथी कम प्रिय त झनै प्रेयसीसँगको प्रेमसम्वन्धमा भाइरसग्रस्त हुनु नै स्वर्गिय आनन्द ठान्छन् । लालटिन जस्ता लाग्ने प्रेयसीहरु कहिले जून बनिदेलान् र जूनकिरीहरूले कृष्ण-सुदामा जस्तो मानेको आफ्नो मित्रताको अँधेरीलाई जित्‍न नपर्ने हो । तिम्रो सहरसँग प्रेम बसेको पनि ठ्याक्कै हातका औँलाहरुमा गिन्ती लाउँदा एक फेर एक लागेर दुईमा पुगेछन् वर्षहरू, जूनकिरीहरू नदेखेको पनि । राजाको सहर, खाल्डोमा पसेपछि उम्कन पाए पो ! गल्छेडो काटेर जन्मस्थान पुग्नु र जूनकिरी हेर्नु । जून हुन सौभाग्य नमिले पनि जूनकिरीको नियति भोग्दैछु । ३६४ दिन छाक टार्न दौडादौड परे पनि एक दिन प्रणय दिवसमा प्रेमपत्र मार्फत प्रेम पोख्दैछु । र कहिलेकाहीँ घरको टुप्पोमा पुगेर औंशीको रातमा जूनकिरी जस्ता लाग्ने घरहरूको बत्ती हेर्छु साँझ बास बस्न आउँदा जूनकिरीको ताँतीझैँ लाग्ने सवारीहरुको पुछार-पुछार हेर्दै फकिन्छु । लालटिन जस्ता प्रेयसीले आफ्नो सलेदो झ्याप्पै पारेर खग्रास पारेपछि आफू साँच्चै जूनकिरी हुनुको नियतिलाई धिक्कार्छु एकोहोरो लिप्साको पर्याय लालटिन र घुच्चुकपछाडिको उज्यालोपन जूनकिरीको दोहोरो मारमा बुबुरो प्रिय ...... ।

फर्केर उही ढुङ्गेधारा, लालटिन र चिउराको फ्वाँकहरूको समयमा पुगिएपछि प्रेम जाबो मात्र एक्लै किन यो हुनेहरुको हालिमुहाली युगमा । त्यसैले प्रेम पनि एस.एम.एस., इमेलबाट प्रेमपत्रतिर ओरालो लाग्यो भने के होला ? केही नभए पनि 'क्षर' जस्ता लाग्ने अक्षरहरूको दुर्दशा सुध्रिएला । कलम नै समाउन छोडेर कम्प्यूटरको किबोर्ड थिच्ने औँलाहरु दशबाट झरेर बुढी, चोरी र माझी जम्मा तीन औँलाहरूले सकस पाउलान् । अनि म जस्तो जूनकिरी भनीटोपल्नेले तीनदिने प्रेमलाई खासम्खास बनाउँदै गिटी कुट्छन् पक्कै पनि । प्रेम हुने हैन गर्ने जमानाको युवापुस्ता हामीले आफ्ने प्रेममा भरोसा नहुनाले क्षमा माग्दै हिँड्नुपर्छ । मेरो मनमा तिमी आफूले उब्जाइदिएको प्रेममय मित्रतालाई यथास्थानमा पुर्‍याउन अचुक विधि प्रेमपत्र नै मान्नुपर्ला । कमसेकम लेख्नेको पनि मन हल्का, पढनेहरुलाई पनि प्रणय दिवसीय मौकामा प्रेमरसपूर्ण र साहित्यको श्रीवृद्धि पनि । भलै असाहित्य किन नहोस् ! अन्त्यमा मेरो साहित्यलाई जुरमुराइदिने अनाम भैसकेको प्रेमलाई फुरीभ्याएका सेरहरू प्रणय दिवसमा सप्रेम भेट -

भेटदा मात्र प्रिय तारा-जूनका कुरा
साँझ-बिहान उही चामल-नुनका कुरा ।

दुई छाक नै गर्जो टार्न धौधौ कस्तो
नगर है प्रिय ल्हासा-सुनका कुरा ।

जमाना त हुने गर्नेहरुकै लागि
कहाँ बिक्ला तिम्रो ज्यान र खुनका कुरा ।

बजार भाउ बढाबढ चल्छ प्रेममा
डक्कै मोलतोल छैन चानचुनका कुरा ।

8 comments:

  1. प्रणय दिवस पारेर दर्शाइएको प्रेम प्रसंग संगै गासीएको मिठो शेर सहितको लेख औधिमन पर्यो मलाई त धाइवाजी ।
    अनि लालटिनको बन्द शिशाको प्रकासबाट जुनकीरी झै स्वछन्द हावामा फैलीदा फैलीदै अस्वीकार्य हुन पुगेको त्यो प्रेमप्रसंगले यो बर्षको प्रणय दीवस संगै नयाँ आकाङक्षा र नयाँ उत्साहको अभिरुचि पैदा गराइ प्रभातको किरण हुदै पुनर्मिलनको जुनको प्रकासले तपाईहरु बिच पुन साइनो गासियोस भन्ने चाहन्छु ।

    ReplyDelete
  2. "लालटिन, जून र जूनकिरीहरू" भन्ने शीर्षक सार्थक भए पनि नभए पनि लोडसेडिङको मार प्रेममा पनि पर्दो रहेछ भन्ने चाहि सत्य तथ्य नै रहेछ जस्तो लाल्यो ।

    बाकी अन्तिममा राखिएको गजल भने एकदमै राम्रो लाग्यो ।
    -----------------------

    अनी, के हो यो धाईबा जी, हिजो देखी प्रत्येक पल्ट तपाईको ब्लगमा छिर्दा भीन्दा भिन्दै सजावट देख्दै छु।

    एकचोटि त झुक्कीए पनि म। कोहि अपरीचितको घरमा पुगेको जस्तो पनि भयो र फुत्त निस्कें ।

    मलाई चाहि अहिलेको भन्दा यो भन्दा पहिलेको (पुरानो पनि होईन, बीचको) टेम्पलेट राम्रो लागेको थियो ।

    ReplyDelete
  3. धाईबाजीको गजल एकदम मनपर्यो...

    ReplyDelete
  4. "भेटदा मात्र प्रिय तारा-जूनका कुरा
    साँझ-बिहान उही चामल-नुनका कुरा"

    ओ हो ! कस्तो सरल र मीठास ....... लेखाई प्रसंसा योग्य रहेछ ।
    अनि धाइवा जी को यो बद्लिदो ढाचा उतम लाग्यो ।

    ReplyDelete
  5. मुक्तिको गीत गाउने बेला हो यो
    प्रेमको गीत म गाउन सक्दिनँ
    देश रोएको बेला
    Valentine Day मनाउन सक्दिनँ ।

    ReplyDelete
  6. समृद्धि सायदजीको यस लेखौट पहिले यतै पढें , अनि खसखसमा पढें र फेरी पनि यता पढें - तेहेर्याएर । कस्तो पत्याउनै नसकिने जस्तो सम्भावनाको ढोका ढक्ढक्याउन सम्म नसक्ने प्रेम हाम्रो पुस्तामा पनि है ? त्यसो त एउटै अवस्थामा पनि फरक प्रकृति अनुशार ब्याक्ति पिच्छे फरक असर देखिने प्रेमको मामला न हो यसै हुनुपर्थ्यो या हुनुपर्ने हो भनेर कहाँ हुन्छ र ? अनि चामल नुनका कुरा त समृद्धि सायदजी कै हो नि हैन र ? हामी पाठकहरु झुक्किएर धाईबाजीको भन्दैछौं कि , झुक्किएर सायदजीको भन्दैछौ ? अलमल पार्ला जस्तो भयो ।

    एकल यात्रीजी , मुक्तिको गीत गाउँदा मुटुमा प्रेम रित्याउनै पर्छ भन्ने त नहोला कि ? प्रेमलाई त्यती तल राख्नुपनि भएन भन्छु म त , यो त जुनसुकै अवस्थामा पनि अर्थोक नमासी मुटुमा राख्न सकिन्छ । साँच्चै भन्ने हो भने प्रेम बहिस्कार गरेर प्राप्त मुक्तिमा पनि सुख पट्टक्कै हुँदैन ।

    दिलीपजीले भनेझैं , ब्लगको सिँगार पेटारमा धाईबाजी कस्सिएरै लाग्नुभए जस्तो छ - " सौंदर्य जहाँ जे छ त्यही परम छ । चित्त नबुझाउने हो भने अझ बड्ता सौंदर्य भेट्न नसकिने होइन तर के त्यो सौंदर्यको उच्चतम तथा अन्तिम अवस्था होला ? " म यस्तै लेख्दैछु यतिखेर तपाईंको ब्लग सिँगार्ने कुरामा प्याच्च लेख्न मन लाग्यो अन्यथा लिनुहुन्छ भन्ने लाग्दैन मलाई त ।

    ReplyDelete
  7. सबै टिप्पणीकार साथीहरूलाई सादर धन्यवाद !
    ढिलाइको लागि के माफी मागूँ, थेगो हुन बेर छैन माफी पनि ।
    अवश्य पनि यो पूरै लेखोट समृद्धिजीकै हो । पत्र र गजल दुवै ।
    प्रेमको बारे मतभेद चलिहाल्यो, यति भन्छु- माया मनको कुरा हो । दीपकजीले भनेजस्तै यदि मनमै माया छैन भने उसले न कुनै व्यक्तिलाई न त देशलाई नै माया गर्न सक्छ । त्यति साँगुरो धरातलमा रहँदैन होला प्रेम ।

    मैले मेरो ब्लगिङको सुरुवातताकादेखि नै साथीसँगीको कुराकन्थालाई पनि जोरजाम गर्दै पस्किँदै आएको छु । पछिल्लो समयमा 'अतिथि आसन'लेबलअन्तर्गत त्यस्ता सामग्री प्रकाशन भइरहेका छन् । जो साथी राम्रो लेख्‍नुहुन्छ र विभिन्न असुविधाले आफैँ ब्लगिङ सुरू गर्न सक्नुहुन्न, उहाँहरूको लागि यस्तो ठाउँ छुट्याउनु आवश्यकै पर्छ कि भन्ने लागेर त्यसो गरेको हुँ ।

    समृद्धिजी मेरो सर्कलमा रहेका प्राय: सबै ब्लगरको घरमा छिर्नुहुन्छ र पनि कुनै प्रतिक्रिया जनाउने ताउरमाउर देखाउनुहुन्न । मेरो ब्लगिङबारे पनि उहाँ मौखिक झटारो दिइरहनुहुन्छ । यसै कारण आज उहाँको लेखोटबारे उहाँको साटो मैले नै खुलस्त्याइँ दिँदै छु ।

    दिलीप दाइ, मैले त यसो कोड खेलाउन सिकेको केके भयो केके । तपाईँले ब्लगोमेनियामा लेखेजस्तै भयो । तपाईँले मन पराउनुभएको टेम्प्लेटमा गजेट थप्न सारै समस्या देखापर्‍यो र मन नलागीनलागी डेरा फेर्नुपरेको हो ।

    अनि दीपकजी, यति इमानदार र खुलस्त आलोचनालाई अन्यथा लिने कुरै छैन । यसलै त बरू माझिन सघाउँछ, होइन र ?
    सौन्दर्यको अन्तिम सीमा हुँदैन, सत्य हो । चित्त त स्वर्गै चुमे पनि नबुझ्दो हो हामी मानवलाई । र पनि सौन्दर्य फक्राउने विकल्पका ढोका त केही हदसम्म खुलै हुँदैनन् र ? मैले त्यति मात्र गरेको हुँ । मुख्य कुरा आवरणको होइन,कति गुदी दिन सकिन्छ भन्ने हो । त्यसो त जस्तै रूखो र सङ्कटग्रस्त जीवन पाए पनि मान्छेले बाँच्न त छाड्दैन । अज्ञानी हात चल्दा रिमिझिमी देखिएको मात्र हो ।

    ReplyDelete
  8. पत्र साहित्यको प्रशंसक भएको नाताले कैले काही कनिकुथी लेखेको अनुभव
    पत्र राम्रो लाग्यो । शिर्षकले नै के जनायो भने प्रेम उज्यालोको विम्ब हो । चाहे त्यो जुन होस् , जुनाकिरी होस् या लालटिन नै किन नहोस् , आखिर उज्यालो त दिन्छ नै । जुनको उज्यालो घाम बन्नुपर्नेमा झाडी पस्दा प्रेमीहरुको नाडी बन्द हुने अवस्था हुनुपर्ने कुरा अनौठो पनि हैन । शेरहरुले पत्रको पुरै भाव ४ वाक्यमा समेटेको मिठो लाग्यो ।

    ReplyDelete