Subscribe:

Ads 468x60px

13 May 2009

भागेको घर





टाढा...
यति टाढा गएकी छ्‌यौ
याद पनि यहाँसम्म आइपुग्न
हम्मेहम्मे छ ।

एक धर्सो सिन्दूर
चम्किला चुराहरू
न्यानो ढाकाचोली
यहीँ छ-
मैंसँगै तिम्रै यो घरमा,
यहीँ भएर पनि
एउटा म मात्र पो छुइनँ यहाँ ।

यति माया मारेकी छ्‌यौ
हामीबीचको छिप्पट रसायन पनि
कुरकुरे हाड भइरहेछ ।


कोठाभरि हेर्छु :
दराजको ऐनामा
दस वर्षगाडिको त्यो तिम्रो हेराइ
अझै अवशेष बनेर चम्किए झैँ छ,
तिमीले पट्याएर गएको
पलङमाथिको सिरकमा
ती मायालु औँलाहरूको डाम ताजै छ,
दराजमाथिको फ्रेममा ठीकठाक बसेको
हाम्रै त हो त्यो तस्बिर-
एकदम पूर्ण र सन्तुलित तराजु ।

साँच्चि भनेको,
तिमी गयौ
र त
तिमीसँगै पछि लागेर
यो सिङ्गो घर हिँड्यो ।

नीरमाया,
हाम्रो त्यही घर
साथैमा टुकुटुकु हिँडाएर
कहिले फिर्ता ल्याउँछ्यौ,

सधैँ तिमीले लुगा सुकाउने
त्यही बार्दलीमा बसिरहेछु म
यी आँखाहरू सुकाएर ।


*तस्बिर: फोटोबकेट.कम

16 comments:

  1. जसको प्रतीक्षामा बसेको हो उसलाई पर्खाईमा थाकेका ती आखा र तिनका सपनाहरुको हेक्का छ की छैन नत्र त जीवन शिशिरको उद्यान जस्तो हुन्छ है धाइबा ! घरै बोकर जानेकोमा समयमै सन्देश पुरयाउनु जाती हुन्छ ! कविता सरल सुन्दर मार्मिक छ ! पढ़ीरहन पाऔं

    ReplyDelete
  2. यति टाढा गएकी छ्‌यौ
    याद पनि यहाँसम्म आइपुग्न
    हम्मेहम्मे छ ।
    र त्यसपछिको यी हरफहरुले सोच्न बाध्य बनायो
    तिमी गयौ
    र त
    तिमीसँगै पछि लागेर
    यो सिङ्गो घर हिँड्यो ।
    तर कमाल छ तपाईको शब्दमा

    दस बर्ष पछि पनि त्यहि जोश र उमंगका साथ बार्दलीमा आँखा सुकाएर प्रतिक्षा गर्दै हुनुहुन्छ ।

    (साँच्चै दस बर्ष देखी अनिदो हो कि क्या हो !
    'पलङमाथिको सिरकमा ती मायालु औँलाहरूको डाम ताजै छ' भने पछि पलङ र सिरक दुबैको प्रयोग नै भा' छैन, :))

    ठट्टा आफ्नै ठाउँमा तर मलाई यो कविता साँच्चै प्रिय लाग्यो ।

    ReplyDelete
  3. हो नि ... दस बर्ष पछि पनि प्रतीक्षा गर्नुले कबिताको अमूर्त लेखक पात्रको ठुली लै तपस्या देखिन्छ | तर उ नि अर्कै संग मन जोडेरै गएकी हो भने चाहीं "निस्ठुरीले छोड्दैमा.. संसार शून्य हुँदैन " भन्ने गीत गाउनु देखि बाहेक केही बिकल्प छैन |

    जे होस कबिता चाहीं मन छूने छ

    ReplyDelete
  4. साह्रै सुन्दर कविता! धन्यबाद धाइबाजी!

    ReplyDelete
  5. strong feeling
    tara yaad lai aangalera jindagi bitaunu chai naramro baani ho

    ReplyDelete
  6. साह्रै सुन्दर कविता धाइबाजी! नि:शब्द भएँ।

    ReplyDelete
  7. Namaskar Dhaiba jee.Really its nice poem.I like it very much.Its nice feeling n with strong words.

    ReplyDelete
  8. "नीरमाया,
    हाम्रो त्यही घर
    साथैमा टुकुटुकु हिँडाएर
    कहिले फिर्ता ल्याउँछ्यौ,"
    "नारी भनेको घर भित्रको पनि घर हो भन्ने पढें थें अब चाहीं पक्का भयो | "
    भावना कोमल छ, नारी पनि कोमल हुन्छन् भन्ने सुनेथें यदि यो सही हो भने भागेको घर फिर्ता आयो साथी हो, पक्का हो |
    असली लेखक को असली रचना यती भन्छु |

    ReplyDelete
  9. मनमा मायालुको मिठो कल्पनालाई प्रतिबिम्बित गर्दै लामो प्रतिक्षाको घडिलाई उनैको यादमा बगाएर छताछुल्ल भावनाहरुको संगालोमा कोरिएको यो कबिता अति नै मिठो लाग्यो धाइवा जी ।
    तर सास रहुन्जेल आश भने झै उनिसंगै गएको त्यो सिङो घर पक्कै फर्किनेछ एकदिन (कबिताकै पारामा भनेको) हराएका सम्पुर्ण खुसि लिएर ।

    ReplyDelete
  10. कति-कति कुतकुत्याउने हरफहरू ! म त कायल भएँ ।

    यो कविता लेखेर पूरा गर्दा जति आनन्द भएँ, टिप्पणीले अझ अरू मालिस गरिदियो कविता कनेर थाकेको दिमागभरि । सबैलाई मीठो आभार !

    हुन त यो कविता हो, तर यसमा पनि जीवनको लेप त धेरथोर हुने भइहाल्यो । साहित्य कति इन्च पो पर रहन सक्छ र जीवन-जगत्‌देखि ? कोही मान्छे मन बुझाएर, हिसाबकिताब बुझाएर घरै (खासमा मन र आत्मीयताको घनीभूत् र मूर्त रूप त हो घर) बोकेर गए पनि फेरि कतै पहिले झैँ राम्रै पो भइहाल्छ कि भन्ने आश हुन्छ । मान्छे र त्यसमा पनि कविमन, पर्खाइ त भइहाल्छ । घर बोकेर लैजाने उताको मान्छेले आफ्नो भावदशा बुझेको छ, छैन (बुझ्नु जरूरी पनि नहोला, आ-आफ्नै अनुभूति र मूडको तिक्खरताले काम गर्ने न हो !), तर आफ्नो पर्खाइको इमान छ । यही हो क्यारे प्रेम ।

    तर यो पर्खिनुको पनि आयु हुन्छ, पर्खिएरै त बूढो कसरी बन्न सकिएला र ? साँच्चै हृदय कुल्चिएर र भावनालाई भकुण्डो बनाएर खेल्नेलाई त यसरी पर्खिन सकिँदैन कुनै हालतमा । यस्तै-यस्तै परिस्थितिलाई काल्पनिकीमा खेलाएर यथार्थका कतिपय पाटालाई केलाएर यसरी अक्षरमा उनेको हुँ ।

    ReplyDelete
  11. राम्रो लाग्यो हरेक शब्दहरु । लामो समय सम्म आफ्नो खुशीको समयका हरेक कुरालाई समालेर राख्नु भएको रहेछ, अरुले के गरे तपाईंलाई तर तपाईं चाँही बदो इमन्दार रुपमा रहनु भएको रहेछ। धन्य तपाईंको बिचार र तपाईंको समर्पन।

    ReplyDelete
  12. साँच्चै गज्जब को लाग्यो !
    भागेको घर !!!

    ReplyDelete
  13. कुनै जुग जस्तो लाग्ने प्रतिक्षामा छ "ऊ " खोज्छ अतितको पुनराविर्ती ।माया मारेर छोडेर गएकी निष्ठूरीको अझै प्रेमका सम्झनाहरु सँगै प्रतिक्षा गर्छ । आजको समर्पणको कथा होइन कि धाइबा जी !तर मन न हो कटक्क खाँयो। कविता सरस छ। काल्पनिकता मीठो सँग कोरिएको छ।

    ReplyDelete
  14. यो बैस को सपना ले फेरी अर्को गीत सम्झाउने र छ

    तिमी के गयौ खुशीले पनि मलाई आँखा तरी गयो..

    अनी तपाईंले आफ्नी निरमाया को माया सम्झदा मैले पनि आफ्नी दिलमाया लाई सम्झे

    दिलको कुरा नगर दिलमाया..........

    अनी साच्चै कविता को सिर्शक त मैले ध्यान दिएकै रहेनछु

    आकार ले भने पछी पो बिचार गयो.... भागेको घर ?!

    तर धाइबा अब धेरै नकुर्नोस...निरमाया अब अर्कैकी भैसकेकि छिन्

    फेरी पनि कोही किन बर्बाद होस्

    उता हेर्नुस् त, मनमाया ले पन्ध्र बर्ष देखी तपाईं तिर हेरेको हेरै छिन्

    ReplyDelete
  15. उत्कृष्ट !

    ReplyDelete