Subscribe:

Ads 468x60px

08 June 2009

अल्झियो ! ….. नसकिने भो !!

"गजलमा भावका भक्कानोहरू पाउरोटीमा जाम मिले जस्तै मिल्छन् । वेदनाका पिल्लिएका घाउ मोहीबाट सर्लक्क नौनी निस्किए जस्तै गजलमा अँटाउँछन् । यसैले म गजल लेख्छु सायद, गजलमा पनि विशेषत: दुखका कथाहरू खार्छु र व्यथित मनहरू त्यसमा आफ्नो व्यथालाई समभावमा राखेर हुरुक्क हुन्जेल रमाउँछन् ।

तपाईँ मलाई निराशावादीको आरोप लगाउन सक्नुहुन्छ । तर म व्यथालाई जीवनको अटूट पाटोको रूपमा हेर्छु, व्यवहार गर्छु र त्यसलाई न्याय दिँदै गजलमा सजाउँछु । भन्नुस् त, सिर्जनामा जीवनसंसारका दु:खद् पाटोलाई ठाउँ नदिएर त्यसलाई तिरस्कार गर्दा के त्यसमा पूर्ण जीवन सँगालेको ठहर्छ त ? पक्कै पनि ठहर्दैन । दु:खका गजल लेख्दा मलाई किन यस्तो लाग्छ, सजिलोपन अनुभव हुन्छ, वर्षौँ खियाले कटकटिएर बसेको मरूभूमिको कुनै धारा अनुपम चमत्कार भएर खुले जस्तै म त्यस्ता विरही गजलमा खुल्छु ।"

अलमलमा नपर्नुस् । यो कुनै अन्तर्वार्ताको साभार सामग्री सँगालेर ल्याएको होइन । यो त मेरो आफ्नै भनाइ हो । र अहिलेको लागि यो खरर पस्किएर तुरुन्ताको तुरुन्तै खर्च गर्न पनि मैले यो तयार पारेको होइन, बुढेसकालमा गजलबारे कतै बोल्नुपरेमा 'रेडिमेड' अन्तर्वार्ता बनाइराखेको :)

केही दिनयता मैले आफ्नो सिर्जनयात्रा र सिर्जनधारालाई केलाई हेरेको- तिनमा अधिकांश त वेदनामय र कारूणिक भाव मात्र पलेँटी कसेर बसेका रहेछन् । सबैले आफ्नो सिर्जनामा यस्तो विश्‍लेषण गरिरहेका हुँदा हुन् । मैले भने हाँसेको, भेटिएको, रमाएको, खुसीले पागल भएको रचनाशिल्पभन्दा छुटेको, विरक्तिएको, दुखेको कुरा नै बढी फलाकेछु । तर दु:खको अबिव्यक्तिलाई निराशावाद र पतनोन्मूख रूपमा जान दिए जस्तो लाग्दैन आफ्ना ती शब्दहरू केलाउँदा । यति भने हो, वादको फुर्को र भोकमा कहिल्यै कतै कुदिएन, कहिल्यै चाख राखिएन । प्रगतिवादलाई नअँगाले पनि साहित्य अप्रगतिशील हुँदैन । मार्क्सवादी सौन्दर्यशास्त्रको दुना-टपरी नगाँसे पनि
साहित्य कुरुप हुँदैन । यदि त्यो साहित्य नै हो भने त्यो प्रगतिशील नै हुन्छ र सुधारोन्मूख र सहित (अर्थात् हित गर्ने) भावनाकै हुन्छ । बरू वादको बर्को ओढेको सिर्जना (?) ले नै समग्र साहित्यिक गतिधारामै हरक उमार्ने गर्मी उत्पन्न गर्ने खतरा हुन्छ । कुनै समूह र गुटको पक्षपोषण गर्ने सिर्जनाले कसरी पो गरोस् जनको मनमा बास ? र पनि तिनै स्वघोषित रूपमा कहलिन्छन्- जनपक्षीय साहित्य ।

वाद बुझ्ने झैझमेलातिर कहिल्यै नलागे पनि विशिष्‍ट साहित्यिक कृति पढ्न छुटाएको छैन, सबै छिचोल्न नसक्नु (सम्भव पनि कसरी !) अर्कै कुरा हो । वाद अँगाल्नेहरूले इतर वादीहरू र स्वतन्त्र विचारधारामा रम्नेहरूप्रति गर्ने निषेधको व्यवहार र सौतेनीप्रथा आफैँमा स्थापित वाद बने जस्तो लाग्छ । त्यसकै बजार छ । नेपाली साहित्य सामूहिक र संस्थागत रूपमा अघि बढ्न नसक्नुको कारण के हो ? भन्ने प्रस्‍नको बल्छी फ्याँक्दा त्यसमा अल्झिएर आउने सबैभन्दा ठूलो जवाफी माछो हुन्छ- 'गुटबन्दीको खेल' । सामूहिकतामा पो तागत हुन्छ, विचार-अन्तक्रियाबाट पाकेको ठोस विचार हुन्छ र कार्यगत परिणाम पनि असरदार हुन सक्ला । तर हामीकहाँ त एउटै संस्थामा मियोमा बाँधिएकाहरू पनि चतुर्मुखी ब्रम्हाजीलाई बिर्साउने भाँतीमा मुख फालाफाल गर्छन् । यस्तोमा कुनै अभियान, सोच कसरी डेग चलोस् र स्तरवृद्धिमा नेपाली भाषा-साहित्यले भारी कस्न पाओस् !

जुनसुकै वाद बुझे राम्रो हो, अँगाल्नु स्वेच्छाको कुरा हो । तर अन्धो भएर निश्‍चित वादकै चप्पल लगाएर सिङ्गो पृथ्वी परिक्रमा गर्न तम्सिनु पागलपन सिवाय केही होइन । त्यसरी वाद अँगाल्नु वादको जीत होइन, विवादको जड हुन सक्ला । वाद नअँगाल्नुलाई हामीकहाँ विचारशून्यता र र जगविहीनताको संज्ञा दिइन्छ । तर वाद नै यहाँ वादप्रेमीहरूको निकृष्‍टताको प्रमाणपत्र देखिएको छ, (सबैको हकमा यो कुरा लागू नहोला ।), उनीहरू आफ्नो दयनीयता स्वयम् प्रदर्शन गर्छन् । प्रगतिशील साहित्यको वकालत गर्छौँ भन्नेहरूले जनपक्षीय साहित्यको गाइने गीत भट्याइरहँदा मेरा यिनै कानले सुनेका छन् कुनै समयमा तिनका सिर्जनाका राग- "ज्ञानेन्द्र, नारायणहिटीबाट जाऊ ….।" कस्तो सिर्जना हो यो ??? तीन पटक सोच्दा पनि टाउको मात्र घुम्छ ।

यति गफको पुल हालेपछि निराशा र हँसमुख मेरो सिर्जनाधारातिर मोडिन्छु फेरि । मेरो ठम्याइमा विरही-वैरागी-व्यथित लेखनी बोकेको म केही वर्षअघिको आफूलाई जोख्दै दुवै धारको एउटा-एउटा गजलमाला उन्न लाग्दैछु यहाँ । जहाँ आफ्नै हेराइमा अपत्यारिलो रोमान्टिकपना पनि छ, र भइरहेका विलौना पनि छँदैछन् । र्‍याकमा पत्रपत्रिकाको चाङमा पिठिउँ चाउरी पारेर बसेको गाता पनि गायब भइसकेको कपीका पानाहरू पल्टाउँछु र भन्छु आफैँलाई- यस्तो पनि लेख्यौ है महाशय ?

अल्झिई‍-अल्झिई कायल भएको नसकिने लीला दुई गजलमा:



१. अल्झियो -------------------

विश्‍वास अनि घातमा जिन्दगी अल्झियो
फेरि कसको हातमा जिन्दगी अल्झियो ।

असिनपसिन हुँदै दिनमा म भाग्थेँ,
आखिर घुम्दै रातमा जिन्दगी अल्झियो ।

फूलको रङ्गीन कथा एकैछिन रोक,
हेर्नेलाई त पातमा जिन्दगी अल्झियो ।

बाहिर मुहार हेरेँ केही खास छैन,
थाप्यौ पासो आँतमा जिन्दगी अल्झियो ।

जसले तार्‍यो जहाज पुग्यो ऊ किनारा,
कोहीको बातैबातमा जिन्दगी अल्झियो ।


२. नसकिने भो -------------------

आँखाभित्र पस्नेसँग नसकिने भो
मुटुसम्मै डस्नेसँग नसकिने भो !

झ्याल-ढोका चुकुल मार्नु व्यर्थै लाग्यो,
स्वप्नभरि खस्नेसँग नसकिने भो !

न्यानो पिर्का कसैलाई भएछु म त,
ढसमस्स बस्नेसँग नसकिने भो !

जोगिएर आफू सक्छु कहिलेसम्म,
अँगालोमा कस्नेसँग नसकिने भो !

तातो-रातो मुहार त्यो यस्तो प्यारो छ,
रङ्गरस घस्नेसँग नसकिने भो !

फँसाएको दोष लौ न बोक्नु कसरी,
आफैँ आई फस्नेसँग नसकिने भो !

18 comments:

  1. गज़ल मिठा त छदै छन साथै बुढेस कालमा बोल्नलाइ रेडिमेड बनाउनु भएको लेखोट पनि उत्कृष्ट छन, "अल्झियो" लाइ प्रतिक्रिया स्वरूप मैले अर्को सेर थमाए है त ..

    घरि घरि गज़ल यो, नशा जस्तो लाग्छ
    यहि मिठो मातमा जिन्दगि यो अल्झियो !

    ReplyDelete
  2. आन्दोलनलाई तताउन चौतर्फि समर्थन चाहिएको बेलामा अलिली अनुप्रास ठाउँ ठाउँ मिलेको भाषण कसैले गर्यो भने उहाँ त आशुकवि भनेर प्रसंसा गरिएको पनि पाईयो | पछि रेकर्डको रुपमा क्यासेटहरू बजारमा पनि आएका थिए | तिनीहरूको स्थान राम्रै थियो | राजनैतिक उपलब्धी र उनीहरूको योगदानको बीचमा रहेर कुरा गर्ने भने असल नै मान्नु पर्छ | तर साहित्यले दीर्घकालीन भएर बाँच्नु छ भने बिशुद्द साहित्य नै भएर लेखिन सक्नु पर्छ | ती जो थिए तत्कालिन महत्व बोकेर आएका थिए र तिनीहरूको तिश्चित उदेश्य थियो | उदेश्यको अन्त्य संग सँगै मान्छेहरूले यस दर्जाका साहित्यलाई बिर्संदै जानेछन र असली साहित्य तर्फ फर्कने छन् |
    "मार्क्सवादी सौन्दर्यशास्त्रको दुना-टपरी नगाँसे पनि साहित्य कुरुप हुँदैन । यदि त्यो साहित्य नै हो भने त्यो प्रगतिशील नै हुन्छ " भन्ने धाईबाजिको भनाईप्रति म पूर्ण समर्थन गर्छु |
    धईबाजी भावलाई राम्रो भाषिक अभिव्यक्ति दिन सफल हुनुहुन्छ | यो सबैले महसुस गरेको कुरा हो | अरू लेख्नुहोस |
    गजल एकदम राम्रो लाग्यो | धेरै पहिलेको लेख भन्नुहुन्छ धेरै पाको जस्तो लाग्यो मलाईत |

    ReplyDelete
  3. झ्वाट्ट हेर्दा फेरी 'हुतुतु ब्लग'मा लाग्नु भएको हो कि जस्तो लाग्यो (ठट्टा मात्रै है !)

    तपाईका गजल त उत्कृष्ट छँदैछन, तपाईका भूमिका र विषय प्रवेशको लेखौट पनि मलाई एकदमै मन पर्छन । सो हिसाबले हेर्दा मैले त यो पोष्टमा 'एउटा टिकटले तीनवटा सिनेम हेरें' ।

    गजल मध्य 'नसकिने भो' अझै विशेष मन पर्‍यो । अन्तिम मक्ता भने गजब नै छ:

    फँसाएको दोष लौ न बोक्नु कसरी,
    आफैँ आई फस्नेसँग नसकिने भो !

    ReplyDelete
  4. This comment has been removed by the author.

    ReplyDelete
  5. एक से एक गजलहरु! हरेक शेर मनलाई तरंगित पार्दिने छन्!

    लेखाई सम्बन्धी हाम्रा मान्यताहरु ठ्याक्कै मिल्दा रहेछन्। वादको फुर्को ओढेर लेख्नेहरु काँतर हुन्। साहित्य-कलाले अभिब्यक्तिमा पूर्ण स्वतन्त्रता र विचारको उडानका लागि पूरै आकाश खोज्छ। यस्तो स्वतन्त्रता, यस्तो उडान लिन आँट हुनुपर्छ र स्वाभिमान हुनुपर्छ।

    वादको फुर्को जोड्नासाथ विचार-अभिब्यक्ति संकुचित हुन्छ र त्यसरी लेखिएको रचनामा कुनै सौन्दर्य हुँदैन।

    हामी सबैले देखेको एउटा उदाहरण, कथित 'प्रगतिवादी' को फुर्को जोडेर लेख्न थालेपछिका पारिजातका रचनाहरुले कहिल्यै 'शिरिषको फूल' को उचाई छोएनन्।

    अन्त्यमा, सुन्दर गजलहरुका लागि धन्यबाद!

    ReplyDelete
  6. धाइबा जी,
    नमस्कार। तपाईं एक बहु प्रतिभाका धनी
    ब्यक्तित्व हुनुहुन्छ। गजल होस्,गीत होस्,
    कबिता होस् वा कथा। जताततै र जहाँ पनि
    महासागरझै बग्न सक्ने सरस्वतिको प्रथम
    पुत्रनै भन्छु मत। कती मिठो गजल,पढ्न
    क्यामजा आयो। शुभ कामना छ है धाइबा जी।

    ReplyDelete
  7. फूलको रङ्गीन कथा एकैछिन रोक,
    हेर्नेलाई त पातमा जिन्दगी अल्झियो ।

    धेरै दोहोर्याएर पढेँ यो शेरलाई । थपक्क पढ्दा सर्लक्कै बुझें झै लागेको पढिरहँदा झन झन गहिरो झन झन गहिरो हुँदै गयो । अहो ! यो शेरको बयान गर्न नसकिने भो । अझ 'नसकिने भो'लाई त झन कसरी पो सक्ने होला ? ज्यादै सन्तुष्ट भएँ दुबै गजलहरुको रसास्वादनले ।

    माथी लेखिएको वादका कुरामा चैं टिप्पणी नगरुँ क्यार - धेरै बुझेको नि छैन । 'म' भन्दा पर अर्को वाद नै देख्दिँन म ता ।

    बरु सम्झँदैछु बुढेशकालको लागी तयार पारिराखेको अन्तर्वार्ताको अँशहरु । बुढेशकालमै प्रवेश गरेपछिको अवस्थामा यसैगरी आउला त यो कुराहरु ? कि केहि फरक भएर आउला ? अनि कुन भाग्यमानी साहित्यिक पत्रकार होला त है तपाईंलाई यो कुराहरु बकाउने ?

    ReplyDelete
  8. "कवी ज्यु, मानिस् का बेदना ले निर्बाध अभिब्यक्ती पाउनु पर्छ भन्ने मान्यता राखेर पनि जीवनका भोगाइहरु प्रतिको तपाईं को सहज् स्विकरोक्ती र साकारअत्मकता प्रसन्श्नीय छ"

    धाइबा जी, यो टिप्पणी तपाईं लाई अहिले गरेको होइन नि, त्यै तपाईं को बुदेसकाल को अन्तर्वता को अन्त्य मा गरिएको हो

    ReplyDelete
  9. धईबाजी तपाईंको लेख्ने शैली र भाबनामा अर्थ सहित बग्ने तरिकाको कसरी बयान गरु। हरेक शब्द र यसको गहिराइ सम्मका भाबहरुलाई सहज सँग अबतरण गराउनु तपाईंको यो तरिकाको जती प्रंस्शा गरे पनि पुग्दैन। बादहरु को मनोबाद् एकदमै मन पर्‍यो। अनी हरेक शब्दले गजलको सही मुल्याङ्कन गरेको छ। धेरै धेरै राम्रो लाग्यो। धन्यबाद

    ReplyDelete
  10. गजल सुन्दर शब्द, मिलेको लय र मिठो भाबको छ | मन नपर्ने कुरै भएन ...साह्रै सुन्दर गजल । यो गजलको सुन्दरता बयान गर्न सायदै असमर्थ हुन्छु।।

    ReplyDelete
  11. धाईबा जीले साँच्चै गज्जब गजलहरु लेख्नु भएछ .. अझै दोश्रो गजलको दोहोरि कामलाग्दो नि छ

    जोगिएर आफू सक्छु कहिलेसम्म,
    अँगालोमा कस्नेसँग नसकिने भो !

    फँसाएको दोष लौ न बोक्नु कसरी,
    आफैँ आई फस्नेसँग नसकिने भो !

    मलाइ नि दिलिप दाइले भने झैं "एउटा टिकटले तीनवटा फिल्म" अझ राम्रा राम्रा फिल्म हेरियो जस्तै लागिरहेको छ

    ReplyDelete
  12. गजल त एकदमै मिठा छन् र माथि लेख्‍नुभएको भूमिका अझै मनपर्‍यो । प्रगतिशील धारमा नबाँधिए पनि साहित्य अप्रगतिशील हुँदैन भन्ने तपाईँको भनाइप्रति म एकदमै सहमत छु ।

    मेरो नेपाली पढाउने शिक्षकले साहित्य दुई प्रकारले रचना गरिन्छ भन्नुहुन्थ्यो । एउटा लेखकको आत्मसन्तुष्टिको लागि अनि अर्को पाठको मनोभावनाका लागि । कुन चैँ साहित्य उत्तम हो भन्ने कुरा नाप्ने सकिँदैन । सबैको आ-आफ्नै धार हुन्छन् । तर चलचित्रका लागि कथा लेख्‍ने,गीत लेख्‍ने साहित्यकार र हामीजस्तो लेख्‍न खोज्नेबिचको अन्तर यहि हो जस्तो लाग्छ । चलचित्र दर्शकका लागि लेखिन्छ हाम्रो देशमा अनि साहित्यकारले चैँ आफ्ना लागि लेख्छन् । चलचित्रको कथा मेसो पाउनेबित्तिकै अन्तिमसम्म कल्पना गर्न सकिन्छ तर हाम्रा साहित्यकारका रचना चैँ तेहेर्‍याएर पढ्दा पनि नबुझिने खालका पनि हुन्छन् । शायद देशमा साहित्य अलिकति उपेक्षित हुनुको कारण पनि नाम चलेका साहित्यकारले अमुर्त साहित्य रचना गर्नु नै हो । कति कविता,कथामा लेखकले आफूले जानेको भएभरका भयङ्कर शब्दहरूका ठेली हाल्ने चलन छ । जनमानसको भाषाभन्दा पनि शब्दकोशका शब्द सापटी लिन सकियो भने रचनाको स्तर माथि हुन्छ भन्ने भ्रम पनि छ धेरै साहित्यकारमा ।

    तसर्थ दाइ, हामीले साहित्यलाई जनमानसको बिचमा लानको लागि यो धारभन्दा केहि पृथक तर सरल अनि गहन साहित्यको रचना गर्नुपर्छ । चाहे आशावादी होस् चाहे निराशावादी । र यस्तै कुरालाई समेट्ने तपाईँका गजलहरू एकदमै मिठो लाग्यो ।

    ReplyDelete
  13. खोइ धाईबा म के भनु म त मेरो त गहराइ सम्म पुग्ने सामर्थ्य नै छैन।

    ReplyDelete
  14. धाईबा जी तपाइको अनुभुतिले खारिएका शब्द शब्दहरुमा पोखिएका साहित्यका उतार चढाव संग उठबस गर्न पाउनुको मज्जा नै अति आनन्ददायक र प्रसंशनि हुन्छ मेरोलागि ।

    साहित्यमा बाद र प्रतिबादको फुर्कोलाई गाँस्नु भन्दा नगासेको प्रतिभा नै स्वच्छ र मनको बासयोग्य हुन्छन जस्तो मलाई पनि लाग्छ । आ-आफ्नै बिषयगत कुराहरुलाई पाटो बनाई हिडेको साहित्य बिषयगत् र बन्धित नै हुन्छ होला । तपाइ जस्तो मनोबादमा घोरिएर रचना गास्नेको रचनालाई स्वागत नगर्ने त को होलार धाइबा जी?
    गजलको कुरामा त साथिहरुले भनि सक्नुभयो मरो कुरा पनि। वजनदार अनि प्रत्येक शेर पढीरहु जस्ता

    तर यो दिर्घकालिन सोचमा बनाएको रेडिमेड अन्तरवार्तालाई आजै किन खोलिसक्नु भएको ? कसैले आँखा लगाएर बोलिसक्यो भने नि? हा हा हा

    ReplyDelete
  15. धेरै धेरै धन्यवाद सबैलाई । मेरो लेखोटलाई नै पुर्ने गजबका विचार आएका छन् टिप्पणीमा ।

    कृष्‍णजीको थप सेरले त गजलको तपलाई थप बलियो पार्ने टिकाउपना भेट्छु है म त । यो अल्झाइले अर्थपूर्ण किनारा भेट्दै जाओस् ।

    चुडामणिजी, साहित्यलाई हामी कतिपय साहित्यिकहरूकै असाहित्यिक क्रियाकलापले असामाजिक र पागल प्रलापको रूपमा व्याख्या हुन बाटो खोलिदिएको छ, अत: हामी केही बुझेकाहरूले सचेतता अपनाउँदै जाऔँ ।

    दिलीप दाइ, एकै पटक दुइटा गजल आएकोले हुतुतु ब्लग भयो भन्नुभएको हो कि कसो ? यस्तो जम्ल्याहा गजल सानो मिल्दो रूप देखेर मात्र ल्याएको हो । डायरी पल्टाउँदै गर्दा उपर्युक्त दुई गजल आफैँलाई चखिला लागे, फेरि काफिया पनि 'अल्झियो' र 'नसकिने भो' भन्ने पाएपछि बोलचालको भाषामा शीर्षक बनाउन पनि आकर्षक लाग्यो र दुवैलाई तानेँ । 'एउटा टिकटले तीनवटा सिनेमा' आफैँमा चमत्कारिक रचना लाग्यो मलाई त ।

    वसन्तजीको कुरामा मेरो सम्मति छ, वादको टीको नलगाए पनि साहित्य 'सहित' भावनाको हुन्छ, खालि यसमा लेखकीय दायित्वबोध र इमानको कुरा आउँछ ।

    विमलजी, मैले कथा चाहिँ उतिसाह्रो लेखेको छुइनँ है । केही वर्षअघि लघुकथामा भने ज्यान फालियाथ्यो । धन्यवाद तपाईँको प्रोत्साहनको निम्ति ।

    'म' भन्दा पर अर्को वाद नै देख्दिँन म ता, वाह जडितज्यू एकै हार सिर्जनाको रहस्य उतारिदिनुभयो । खासमा सर्जकको 'स्व', मौलिकता र रचनागत नौल्याइँ नै त आफैँमा वाद हो ।

    एकलकाटेज्यू, अग्रीम टिप्पणी पाएँ, धन्य भएँ म त ।

    दुर्जेय जी, सुजनज्यू, अलि तालीको गडगडाहट बढ्तै भएन र ?

    मिलन जी, कुनै दिन एउटै टिकटमा ४-५ वटासम्म सिनेमा हेर्ने तारतम्य पनि मिलाउँला है :)

    प्रवेश भाइ, धेरै कामलाग्दो कुरा उठाउनुभएको छ । तपाईँको विचारको सम्मान गर्छु । साहित्य साहित्य जस्तो हुन घुम्टो, फुर्को र लमतन्न मफलरबाट अब मुक्त हुनैपर्छ । वादका गाइनेहरूले सडकमा नारा लगाउन सक्लान्, तर साहित्यिक मूल्य स्थापना गरेर जनजनको मनमा डेरा बनाउन सक्दैनन् । साहित्यिक मूल्यलाई दुरुह सिर्जनाको रूपमा अर्थ्याउनेहरू पनि अर्थहीन आलाप मात्र हुन् ।

    दीप जी लाई आभार ।

    सिकारु जी, भोली बोलिने मेरो भनाइलाई आजै कसैले साभार सामग्री बनाएर प्रयोग गर्छ बने त मेरै जय हो नि, कसो :)

    ReplyDelete
  16. Nice to read gazals...
    Kasto anautho lagyo padera....

    ReplyDelete
  17. म उहाँको लेखभित्र जीवनका वास्तविकताहरु पढ्छु ,आशाका क्षितिजहरु देख्छु, जितका मिठा कोसेलीहरु पाउछु, जिन्दगी भोगाइका आफैसग मिल्ने कथाहरु पाउछु त्यसैले पनि होला जब म धाइबा जि!का लेखहरु पढ्छु आँफैमा मन्त्रमुग्ध हुन्छु हिर्दयदेखी नै। धाइबा जि का प्रतेक लेखले मलाई मोहनी नै लगाउछ, शब्दमा कुनै कन्जुसी नगरि भन्दा उहाँका सिर्जना भित्र हामीलाई भुलाउने अचम्मको जादु छ।
    लेख त उत्क्रिठ छदै छ गजलले झन सुन्दरतामा निखारता ल्याएको छ।
    प्रगतिको कामना!

    ReplyDelete
  18. Thanks Sweta, Kasto 'kasto anautho lagyo' ? :)


    प्रवीण जी, म त पानी-पानी भएँ है । तपाईँको अनुभूतिको सामिप्यताबोधको फल हो सबै, म त जे पनि लेखिरहेको हुन्छु, तिनमा अर्थ भेट्ने तपाईँकै दृष्‍टि हो । यस्तै स्वागत पाइरहूँ, मलाई कतै डर पनि छ है- यस्तै फुर्क्याइले कते बिग्रिन्छु कि ? यसैले सुझाव पनि पाऊँ बिना हिचकिचाहट, यथाशक्य म सुधार्ने छु ।

    धेरै धन्यवाद !

    ReplyDelete