Subscribe:

Ads 468x60px

07 July 2009

रामलखन, खोइ तेरो घरको ढोका ?

र छ,
सुकिलोमुकिलो आँगन छ,
आँगन भेट्ने वरिपरि फैलिएको चौबाटो पनि छ,
घरलाई 'घर' भनिन लायक बनाउने यसभित्र ओत लाग्ने जीवनहरू छन् ।

तर खै त खै
यसको ढोका कहाँ छ ?

कुरा उही देशको हो, आफ्नै देशको । देशको कुरादेखि फुर्सद पाए पो विदेशको, कहाँ न कहाँ आकाशिँदै गएको तिनको विकसित चालढाल र छलाङको कुरा गर्नु ! यही, कसैको आफ्नो हुन नसकेको टुहुरो देशलाई काखी च्यापेर निरीह भावमा हाम्रो भावनाको एक थान ज्यान खुसुसरखसुर घस्रिरहेछ, बिना उत्साह बिना चाख….।

छानो फाटेर कोठा नै हिलाम्य गह्रा बनेपछि रोपाइँमा घरछेउको पाखोबारी वा छिमेकको लाम्चे कित्तामा पर्म तिर्न जान कुनै सोचाइ फुर्दैन । यस्तै भएको छ नेपाल खाल्डोमा ।

कलाकार जे पापीले हालै एउटा साङ्गीतिक एलवम निकालेका रहेछन् - 'देशको काट्टो खानेहरू' । त्यसमै सँगालिएको एउटा गीतको बोलले भन्छ-

"रामलखन खोइ तेरो घरको ढोका
जो पसे'नि हुने जे गरे'नि हुने चाल्दै चोटा र कोठा ।

रामलखन खोइ तेरो घरको ढोका…. … "


घरमा ढोका नभएपछि कुँडेको दूध खाने बिरालो त यत्तिकै पनि पसिहाल्छ, घरमुलीको ज्यानै मिले बाघ पस्ने खतरा पनि उत्तिकै रहन्छ । बिरालो भएर पसी बाघ हुनेहरूको धूर्त्याइँ पनि बुझिसाध्य हुँदैन । नेपाल नामको घरको हालत पनि करिब करिब त्यस्तै छ । घरमा ढोका छैन, यसैले 'धोका' दिनेहरूको पाइला यत्रतत्र मडारिएको छ यसको अन्तरकुन्तरमा ।

दुई ढुङ्गाबीचको तरूलको व्याख्या पाएको देशले सधैँ यसैको चिनारीलाई अपूर्व अनुकम्पा मानेर बसे झैँ लाग्छ । देशको कुरा गर्दा यसको नेतृत्व तहमा बसेकाहरूप्रति गुनासो, गाली र सत्तोसराप गर्नु निरन्तरको रीत हो हाम्रो । अरू त विकल्प नै के छ र ? डाडू-पन्यु हातमा भएका भान्सेलाई हो करकर गरिने -
अघाइएन,
त्यता अलि बढी भाग भयो,
उता अचार बासी परेछ, फ्याँक्देऊ
लाऽऽ भात त डढेर माम्री भएर खत्तम !
मलाई चाहिँ हेपेर हड्डी-हड्डी छानेर हालेको हो पख्लास् !!

भान्सेले हामीलाई के जवाफ दियो, के कुराले फकायो-फुल्यायो र शब्दजालमा सधैँ कस्तो आश्‍वासनको शृङ्खलाले झुलाइरह्यो, त्यो त हामीले भोग्दै आएकै छौँ । हामी अहिलेसम्म यस्तै शब्दजाल, लोलोपोतोले अघाएर सहनशीलताको सफल परीक्षा दिइरहेछौँ ।

दृश्य १:
काठमाडौँको कुनै कुनामा तिब्बतीहरूले दलाई लामाको जयगानसँगै चीनविरोधी नारा लगाउनासाथै चिनियाँ अधिकारीको मुटुमा सन्त्रासले ढ्याङ्ग्रो ठोक्छ । र राजदूत वा चिनियाँ अधिकारीको विशेष टोली तत्काल हाम्रा सरकारको नेतृत्वमा रहेकाहरूसँग सम्पर्क/भेटघाट गरी नेपालमा यसरी चीनविरोधी गतिविधि नहोस्, हामीलाई अप्ठेरो पर्छ भनेर गुनासो गर्छ । तत्काल नेपाल सरकारको गृह मन्त्रालय जागरूक बन्छ र ट्रकका ट्रक आन्दोलनकारी तिब्बतीहरू खोरमा पुग्छन्, चिनिया नियोगछेउछाउको सडक-क्षेत्र बटुवासमेत हिँड्न निषेध गर्नेगरी थुनिन्छ ।

दृश्य २:
नेपालमा राजनीतिक 'कब्जियत' हुन्छ, निकास केही खुल्दैन । सहयात्री दलबीचमै छेडखान र कट्टर मतविभेदले शिर उचाल्छ । अथवा सहमतिको प्रयास भइराखेको हुन्छ, तर ठोस निर्णयको लागि हाम्रा 'जननिर्वाचित' नेताजीहरूमा आँट पलाइरहेको हुँदैन । त्यसै बखत भारतीय राजदूत पारिबाट अचुक बुटी लिएर शाही ठाँटका साथ दलहरूका अड्डातिर तीर्थाटन गर्छन् । आफू-आफू सरसल्लाह गरेर मिल्न नसकेका रुस्ट पक्षलाई बाहिरका यी पाहुनाले खुशामद गर्दै जादुटुना लगाएर मनाउँछन्, विचित्र कोटिको अधिकार प्रयोग गरी भारतीय सूत्र मान्न दबाब दिन्छन् । यस्तैमा अड्किरहेको कुरा सुल्झिएर क्रान्तिकारी फैसला जनसमक्ष आउन अर्को आइतबार लाग्दैन । हामी जनता मक्ख पर्छौँ- देशमा राजाबाट जनताको हातमा सार्वभौमसत्ता फर्कियो भनेर, लोकतन्त्र कायम भयो भनेर, ऐतिहासिक गणतन्त्र कार्यान्वयन भयो भनेर ………।

यी दुई नमुनामा हामी जनता कति पैँतालामुनि छौँ, हाम्रो देश कुन घानमा पिसिएको छ ? सोध्न कतै गइरहनुपर्दैन, साक्षी आफ्नै आँखा छन् र मनले विमर्श गरी सत्य ओकलिदिएको छ । चीनलाई अर्काको देशमा आफ्नो विरोधमा नारा लाग्दा, जुलुस निस्किँदा हैरानीले छोप्छ, हनहनी ज्वरो आउँछ । उता भारत लाज न डर अर्काको मुलुकको कहिले खडेरीग्रस्त र कहिले बाढीग्रस्त राजनीतिक मौसममा स्वघोषित माझीदाइ बनेर दवाब र खुशामद थुपार्न कुनै साइत कुर्नुपर्देन । नयाँ-नयाँ राजनीतिक ध्रुवीकरण र गुटबन्दी खडा गरेर आफूअनुकूललाई रिझाएर सत्ताको चकलेट चुसाएर त्यसको पृष्‍ठभूमिमा शुभ लाभ गर्न बानी परिसकेको छ ऊ ।

अन्तर्कथा
यता बीचमा छ भाइकान्छो नेपाल । शोक न सुर्ता भोक न भकारी । यो उखान आपसी लुछाचुँडी र घोचपेचको दलदलमा मस्तराम दलहरूलाई नसुहाउने कुनै जुग भएन नेपालमा । सीमा मिचिँदा, साँध ताछिँदा, सीमापारिबाट मात्र होइन सात समुद्रपारिबाट दबाब करकाप सबै आएपनि आफ्नै ताल र लिँडेढिपीमा शक्तिको बल्छी थापेर छिर्के हान्ने अभियान पेवा भएको छ राजनीतिक नेताहरूको । सामाजिक अरू मुद्दाहरू यही राजनीतिक रडाकोबीचमा ओझेल-ओझेल छन् ।

कसैद्वारा सञ्चालित गोटी हुनमा परमानन्द मनाइरहेछन् नेताहरू । केही गर्नैनपर्ने, खेलिनुमा आफू ठेलिने कुरा अन्तर्निहित भएपछि हाइसन्चो नहोस् पनि कसरी ? आफ्नो घरको चाबी छट्टु छिमेकीकहाँ जिम्मा लगाएर धर्म आर्जन गर्ने र पवित्र हुने लहरमा भजन सुन्न चोक र बजार चहार्ने भरप्रसादको जस्तो हालत छ देश हाँक्ने नेताहरूको । धेरैजसो त एक थान घरसमेत हाँक्न नसक्नेहरू केही उपाय नलागेर राजनीतिको तिकडममा हेलिएका छन् । मानौँ कतै नबिक्नेहरू राजनीतिमा टिक्ने भने झैँ । लगातारको सपनामाथिको घात र सुनौलो सम्भावनाहरूको महान् अवसर आउँदा पनि दोहोरिरहने 'ल्यान्ते लीला'देखि आजित जनता थकित र हतास भएका छन् ।

यस्तोमा 'खोइ तेरो घरको ढोका' भनेर पनि कसलाई जागरूक बनाउने ? कानमा तेल होइन सेल पाकेर वारिपारि प्वाल ट्याप्प टालिएको छ सबैको । निजी राग र वैरागहरू छन्, राष्‍ट्रिय सपना छैन, देश त टुहुरो जस्तै छ- बेसहारा । आफ्नै खेल देखेर थपडी बजाउने हात मात्र बाँकी भएकाहरूसँग के कुरा गर्ने !!?

तर पनि यो धुन यतै-कतै अलमल्ल परिरहेछ -

ओइ रामलखन, खोइ तेरो घरको ढोका हँ ?????

7 comments:

  1. हाम्रा नेता भनाउदाहरुनै काम नलाग्ने भएपछि के गर्ने। बिदेशी इशारा मा चल्ने हम्रो राजनीति।

    ReplyDelete
  2. म त शीर्षक मात्रै हेर्दा कुनै व्यङ्ग्य लेखन होला भन्ने सोच्दै थिएँ । पढ्दै जाँदा त चिन्ता लाग्दै आयो । बढो गम्भीर प्रश्‍न रहेछ ।

    ढोका कहाँ छ भनेर सोच्न थाल्यो भने त, ढोका, झ्याल, भित्ता, छत सबै भ्वाङ परेको दृश्‍य मात्रै मानसपटलमा आउँदो रहेछ ।

    तपाईकै शब्द सापट लिने हो भने "कतै नबिक्ने राजनीतिमा टिक्ने" कै कारण यो हाम्रो झ्याल ढोका दलान खोज्नु पर्ने स्थिति आएको हो । गम्भिर भएर सोच्ने हो भने स्थिति त कहालि लाग्दो नै छ ।

    तुरुन्तैको लागि त यो झ्याल-ढोका र हाम्रा घरको 'ठेक्का' लिएर बसेकालाई सदबुद्दी आओस भन्नु बाहेक अर्को केहि उपाए पनि छैन ।

    ReplyDelete
  3. के गर्ने त गोली हान्ने हो त भ्रस्टाचारिलाई ?

    ReplyDelete
  4. "रामलखन खै तेरो घरको ढोका?"
    क्याफे मंगलममा टासिएको साह्रै सुन्दर र मार्मिक प्रस्तुति, उस्तै मिलेको जीवन्त तस्विर ।
    यो टासो र त्यसभित्रको मर्म पढेपछि झल्झली घर सम्झिएँ मैले, र एउटा गज़ल लेखें,

    नौटंकी छ मझेरीमा, रातारात "हिट्' छ कोही
    आफ्नै खेल हेरी हेरी आफै ताली पिट्छ कोही

    भ्वांङ परेका झ्याल ढोका, ह्वाङ्गै देख्छु पाखो भित्ता
    बाझै छन खेतबारी, जुवा तास फ़िट्छ कोही

    भकारी छ रित्तो रित्तो , चुहिदो छ छानु घरको
    "नया नेपाल् बनाउँदैछु" भन्दै झ्याली पिट्छ कोही

    पुरा अंश कृष्णपक्ष उज्यालोको खोजीमा टास्या'छु ।

    ReplyDelete
  5. घरको ढोका खुला राखेर बाहिरबाट फ्याकीएको चारो खान पल्केका हरुले कसरी लगाउन ढोकामा ताल्चा? खै यि तमासेहरुलाई कहिले लाग्ने हो देशको चिन्ता कुन्नि? धाइबा जी जति टडकारो शब्दले बुझो लगाएपनि टालीने हैनन यो फोहरी राजनितिको गन्हाएको प्वाल तर पनि तपाइका चोटिला बिचारहरु यसरि नै पढिरहन चाहि पाइराखु है

    ReplyDelete
  6. राम लखन को घरको र हाम्रो देशको हालत उस्ता उस्तै हो - धाइबा जी |

    चाइना र इंडिया बिच को तरुल भनाई फेल खादै गएको छ - के को हुनु नि तरुल 'भकुण्डो' चाहि पकै हो - जति वेला पनी उनीहरूले पालै पालो हान्या हान्यै गर्छन |
    तर खेलाडी चाहि नेपाल कै नेताभनाउदाहरु नै हून अनि हामी चाहि रमिते दर्शक, बेला बेला उफ्रिने र ताली पिट्ने |

    ReplyDelete
  7. 'निजी राग र वैरागहरू छन्, राष्‍ट्रिय सपना छैन, देश त टुहुरो जस्तै छ- बेसहारा ।' - बडो चिन्ता लाग्दो स्थिती ।

    ReplyDelete