July 15, 2009

स्वामी रामदेवलाई पत्र

स्वामी श्री रामदेव,

सेवामा प्रणाम !

विशेष लेखनीय कुरा धेरै भएर नैं अस्पतालको डाक्टरी मेचमा बसी स्टेथिस्कोपको त्यान्द्रो एकछिन खेलाउन छाडेर यसरी कलम समाएको छु । नत्र त हामी डाक्टरहरूको कलम खिटिरखिटिर औषधिको लम्बेतान प्रेस्क्रिप्सन सूची कोर्नमा कत्तिको चालू हुन्छ, भनिरहनु नपर्ला । यसर्थ: यस्तो महँगो कलमको इज्जत गरेर पूरा पत्र पढ्नु नै हुनेछ भन्ने आशा गरेको छु । यही आशामै टिकेको रहेछ संसार, हामी पनि रोगी-बिरामी नमर्लान् भन्ने आशैआशा सँगालेर तिनको शरीर चिरचार र खोतलखातल पार्छौँ । तर जति नै आशा सँगाले पनि पिताम्बर लपेटेर पेट यसो फुलफाल पार्ने र नाक साँक्कसुँक्क बजाउने एउटा लुरे दाह्रीवाल स्वामीको अघि बेकामी हुनुपर्ला भन्ने चाहिँ चिताइएको थिएन, त्यही भोग्नुपर्‍यो ।

हुन त, तपाईँ पनि यो शिविर र उः शिविर धाउँदै कपालभातिदेखि केके हो नानाभाँतीसम्मका योग सिकाउँदैमा बेफुर्सदी हुनुहन्छ होला । सबैलाई स्वस्थ बनाउन तपाईँको यात्रा अग्रसर भइरहेको छ । हामी डाक्टरलाई पनि त त्यो सबैको दायराभित्र राखेर स्वस्थ बनाउनुपर्छ नि तपाईँले । हाम्रो रोगको पनि ख्याल गरिदिनुस् भन्ने बिन्तीभाउ नै यस पत्रको मूल आशय हो । नत्र त हामी डाक्टरहरू कहीँका नरहने भयौँ !

हो स्वामीजी, रोग लागेर उपचारका लागि बिरामीहरू आउने क्रम घटेपछि हाम्रो बिचल्ली सुरु भएको छ । कोही अभिभावकले पनि अब आफ्ना सन्तानलाई डाक्टरसाक्टर बनाउने सपना नपाल्ने भए भन्ने त्राही भइसक्यो । तिनले छोराछोरीलाई 'बरु योगी बन्नू है बाबू-नानी' भन्ने सल्लाह दिएमा अचम्म मान्नुपर्दैन अब । मलाई पनि अचेल घरमा कोही पाहुनापासा आएको बखत छोरीलाई के बन्छ्यौ नानू भनेर सोध्दा उसले तोतेबोलीमा 'डाक्टल बन्थु' भनेर सुनाउँदा झनन्न रिस उठ्न थालेको छ । यो रिस साम्य पार्न तपाईँको योगशास्त्रमा के उपचारविधि छ स्वामीजी ? म जल्दोबल्दो डाक्टर मान्छे, बिरामी पो भएँ ।

मान्छेहरूले अचेल अस्पताललाई त पैसाका काल भनेर पो चिन्दा रहेछन् । त्यही नाममा उनीहरू आपसमा कुराकानी गर्दा रहेछन् । 'कति धाउनु होउ यो पैसाको काल' रे ! त्यो सुनेर मलाई त खोइ कस्तो कस्तो लाज हो कि डरले एकैचोटि पो घेर्‍यो । अस्पतालको गेटनेर एक जोडी बूढाबूढीको अस्पताल-विमर्श सुनेर तिनीहरूको दयालाग्दो अनुहारबाट बच्न म हुत्तिएर हतारहतार गेटभित्र आफ्नो ड्यूटीको वार्डभित्र छिरेँ र मात्र ढुक्क लाग्यो ।

हाम्रो पनि विवशता त्यस्तै छ नि, के गर्नु ! महँगो चिकित्साप्रविधिले उपचार खर्च मान्छेको मोलभन्दा अनमोल भइदिन्छ, हाम्रो के लाग्छ ? आफूले डाक्टरी पढ्दाको कष्ट सम्झियो, खर्च सम्झियो अनि त आफूले कालो चश्मा लगाएर बिरामीको दयालाग्दो अनुहार नदेखेजस्तो गरेरै भए पनि फी असुल्न मन लागिहाल्छ । बिरामीको नाडी छाम्यो, तिनको हातबाट सुनको घडी फुत्त झरिहाल्छ । त्यसलाई नटिपी हामीले धरै पाउँदैनौँ ।

स्वामीजी, हुन त तपाईँको रिस गरेजस्तो होला । तर तपाईँका कारण अचेल मान्छेहरू आफ्नो घरको चार दिवारभित्रै निजी अस्पताल खोलेर बसेजस्ता भएका छन् । त्यहीँ एउटै कोठामा पढ्ने पत्रिकादेखि प्राणायाम भस्त्रिकासम्मले पालो पाउँछ । उता तपाईँको योगासनले यता हामीलाई मरणासन्न तुल्याएको छ । अस्पताल आएका गोटागोटी बिरामी पनि योग गरेर अलि सन्चो भएको कुरा गर्छन् । मर्निङ वाकमा चउरतिर पुग्दा पनि के-के अनुलोम-विलोमको कुरा सुनिरहनुपर्छ ! यसले त हामीलाई कुलेलम ठोक्न बाध्य पार्छ कि जस्तो लागिसक्यो । तपाईँको योगले अरूहरूलाई जस्तोसुकै लाभ दिए पनि हाम्रो पेशाको पनि यसैले रक्षा गर्नेछ भन्ने भर परेका छौँ । दुनियाँको लाभ गर्दै हिँड्नेले हाम्रो लाभ पनि त सोचिदिनुपर्‍यो नि स्वामीजी ! पत्राचारको पर्खाइमा छु ।
धन्यवाद !

- डाक्टर मुर्लीनाथन ।

12 comments:

  1. ramailo cha dhaibaji, huna pani swami ramdev ko influence le sabai yogi hunathale. and he has increased health awareness among people. hamro desh ko GP harulai chai nikai mar parya jasto cha

    ReplyDelete
  2. ha ha, doctor save the life of patient and kill them with their bill.

    ReplyDelete
  3. डा. मुर्लिनाथन साहेब, योगको फाईदा र मेडिसिन को दुरुपायोग बारे चासो राख्नुभको मा धन्यवाद.

    राम्देव् जी महाराज को योग मलाई पनि राम्रो लाग्छ
    ....तर किन्तु परन्तु योग र औषधी एक अर्का का बिस्थापक नभयी परिपूरक् हून...
    खासगरी प्रेस्सर् र चिनी छ भने दुबै प्रयोग गर्नुस् तर कुनै पनि नछोडनुस्....
    अनी योग पनि अती गरे भने खती हुन्छ ठीक्क मात्र गर्नुस्

    तपाईंको शुभचिन्तक,

    स्वामी आरामदेव नेपालबाट

    ReplyDelete
  4. This comment has been removed by the author.

    ReplyDelete
  5. रमाइलो व्यङ्ग्य !!

    औषध-उपचार महंगो मात्रै हैन सामान्य मानिसको पहुँचभन्दा पर पुग्न लागेको अबस्थामा तपाईको व्यङ्गयले पक्कै पनि सार्थक अर्थ राख्छ । तर माथि हावा ब्रोको कुरामा म पनि सहमत छु।
    --------------------------------

    केहि कुरा नयाँ टेम्प्लेट बारे । यो चार कोलमको टेम्प्लेट छरितो छ, तर यो पनि अलिकता 'कम्प्लेक्स' टेम्प्लेटमा गनिन्छ। अघिल्लो चोटी मैले पनि 'एकैछिन' राखेर हेरको थिएँ, तर यसका हेड, बडि, साईडबारा आदिको 'स्ट्रक्चर' अन्य सामान्य थेम भन्दा चलाउन असजिलो भएको र आफूलाई धेरै चल्न मनलाग्ने भएकोले राखीन ।
    ---------------------------------
    यो ले-आउटको * WRAPPER LAYOUT * भन्दा मुनी
    #outer-wrapper { margin:0 auto; width:980px; text-align:left; font:normal normal 100% trebuchet, arial, verdana, sans-serif }
    #header-wrapper { background:#ffffff; height:70px; width:980px; padding-top:20px }

    भएको ठाउँमा क्रमश:
    height:70 बाट 97px;
    background:#ffffff; बाट #C5D6A0;

    padding-top:20px बाट 0px

    राखेर 'प्रिभ्यू' हेर्नस त ? तपाईको हेडर ईमेज र लेबल ट्याबहरु सहि ठाउँमा पर्नेछन ।

    ReplyDelete
  6. हा!हा!! स्वामी रामदेवसंग मुर्लीनाथको यो प्राथाना सहितको पत्रले खित्का मात्र होइन सटीक यथार्त पनि बोकेको पाए ।

    त्यसो भए ठिकै छ मुर्लीनाथ ज्यू यदि तपाइको पेशाले सर्वसाधरणको पहुच भित्र निगरानी राख्दै स्वास्थ्यलाभको काम गर्छ भने म पनि आफ्नो पेशालाई सुलभ बनाउदै सहकार्य गर्ने प्रयास गर्ने छु -स्वामी श्री रामदेब

    ReplyDelete
  7. साधरण लागे पनि पत्र चाँहीले ठूलो अर्थ राखेको छ। बिशेष गरी रोगलाग्नु भन्दा लाग्न नदिनुनै योगको उदेश्य हो। तर केही रोग जस्तै सुगर र प्रेसरहरु यस्ता रोगहरु हुन जस्का रोगीहरु डाक्टरहरुका लागी दूहुने गाईनै हुन। सधै आफूसंग आउने रोगीहरू टुडिखेल तिर बिहान बिहान लाग्न थाले पछी पीर त पर्ने नै भयो नि डाक्टर साहेब हरुलाई।
    मलाई यहाँनेर एउटा कुरा राख्न मन लाग्यो।
    बिशेष गरेर सुगरको रोगीको लागी कपालभाती त संसारकै सबै भन्दा राम्रो उपचारको रुममा मानिन थालेको छ। बिशेष गरेर प्याङक्रियाजको मांशपेशीलाई सक्रिय पार्ने यो नै उत्तम प्राकृतिक तरिका हो। जसको सक्रियतामा ईन्सुलिनको उत्पादन बढ्न गई शरिरको सुगर माथी नियन्त्रण हुन जान्छ।
    जे होस तपाईले गरेको कुराले यथार्थता बोकेको छ। धन्याबाद

    ReplyDelete
  8. धाइबाजी, रमाइलो ब्यङ्य टास्नुभएछ । रामदेव बाबाले डाक्टर बाबाहरुको जागिर कटौती गराइदिएको संकट ! राम्रो लाग्यो प्रस्तुती ।

    ReplyDelete
  9. डाक्टर साब ! यस्तो प्रत्र पठाउदा ' बामदेव को प्रत्र - रामदेव लाइ' भनेर पो थर्काउनु पर्छ - कहा त्यति सजिलै दया देखाउछन तिनले , भारतीय पो परे ! सीमा मिचे जस्तै हो - मीचे पछि मिच्या मिच्यै हो |

    बामदेव को पारामा ठाडो हुकुम दिनु पर्छ - रात्री डान्सबार लाइ तह लगाए जस्तो ! खोई गोर्खे को झ्बांक ! देखाउनु पर्योनि !
    --------------------

    अनि तपाई टेम्पलेट त निकै चेन्ज गरिरहनु हुन्छ नि ! रहरहरु सधै बढेर गैरहन्छ भने जस्तै , है न र?

    ReplyDelete
  10. चाहिएको गतिलो ब्यंग्य! 'सेवा'को नाममा आफ्नो लागि मात्रै 'मेवा'को उद्योग चलाउनेहरुलाई दह्रो झापड दिएको छ।
    यो ब्यंग्य निबन्ध अलिक लामो हुनसक्थ्यो जस्तो पनि लाग्छ मलाई।

    धाइबाजीको ब्लगमा नियमित आईरहेर पनि प्रतिकृया लेख्न समय जुरिरहेको छैन। अलिक राम्ररी गमेर लेखौं जस्तो लाग्छ तर त्यसरी गम्ने फुर्सद हतपति निक्लँदैन।

    टेम्प्लेट राम्रै देखिएको छ।

    ReplyDelete
  11. धाईबा जी! निकै राम्रो ब्यङ्ग्य प्रस्तुत गर्नु भएकोमा धन्यबाद!!

    ReplyDelete
  12. AnonymousJuly 18, 2009

    स्वामी रामदेव र डाक्टरको विन्ती पत्र पढेर नरमाइलो लागेको छ । दिन दुगुणा र राता चौगुणाले सफलता पाएका बाबा रामदेवको चर्तिकला हेरिसाध्य छैन् । उनको योगमा विश्वास राख्ने र अवलम्बन गर्नेहरु उनिलाई सार्‍है मान्छन् यता चिकित्सक भनाउँदाहरु पनि उनकै योगको अनुसरण गर्नमा ब्यस्त छन् । उनिहरु नै अनभिज्ञ छन् आफ्नो चिकित्साशास्त्रका बारेमा । जनताका के कुरा ? चिकित्साशास्त्रले निको नपारेका बिमारीहरु पनि रामदेवले निको पारेको सञ्चारमाध्यमले फुकिरहेका छन् । खैं कसको विश्वास गर्नु । सबैको उद्देश्य भनकै पैसा कमाउनु त हो नि ?

    गहकिलो टाँसोको लागि धन्यवाद है धाइबा जी ।

    ReplyDelete