Subscribe:

Ads 468x60px

11 August 2009

स्टेशन

[सुरुमा अलिकता कथा, यस कविताको । संयोगसँग त जिन्दगीको खुड्किलोभरि हाम्रो जम्काभेट भइरहन्छ बेलाबेला । यस्तै संयोग हरेक कर्म, पेसा र अभियानको क्रममा कुनै न कुनै बेला हामी झेल्छौँ । संयोग: कुनै तीतो, कुनै मनोरम, कुनै मुटुछेड दर्दनाक । यो कविता लेख्‍न प्रेरणा जगाउन पनि यस्तै संयोगले काम गरेको छ ।

एक दिन ज्यानमा खाँदिएर बसेको थकानलाई बिसाउन रत्‍नपार्क शान्तिवाटिकास्थित पीपलबोटको चौतारीमा बसिरहेको थिएँ । छेउमै रानीपोखरी मौन कुलकुलमा थियो । प्रताप मल्लको परिवार उसैगरी हात्तीमाथि अथक रूपले सवार छँदै थिए । रत्‍नपार्कअघिको सडकमा सवारीसाधनको हल्लाखल्ला, हतारको पखेटा जडेर ठेलमठेल भीडमा बत्तिइरहेका मान्छेहरूको भुनभुन सबैदेखि छलिएर केही छिनलाई त्राण खोज्दै थिएँ । यत्तिकैमा आँखा पर्‍यो, छेउको फलामै बेन्चमा बसिरहेका एक जना बूढा बाजेतिर । एकसुरमा थिए उनी । उनको बसाइ, रसिलो अनुहार र झिमिकझिमिक परेलाको सुस्त तालले मलाई कस्तरी चिमोट्यो भने मैले त्यही पीपलको फेदमा बसेर कविता कोरेँ । अनि पछि त्यही कवितालाई थोरै पुछपाछ र कोरीबाटी गरेको रूप यहाँ पस्किँदैछु ।]



मेरको पुच्छ्रे तख्तामा
नाति-नातिनालाई
आशीर्वाद ओइर्‍याउने हत्केलाभरि
भारी शिर बिसाएर
के सोच्दै होला साहू बूढो -
कति-कति कमाइयो
कति-कति गुमाइयो ।

◊◊◊

दिमागभरि घुम्छन्
इतिहासको व्यक्तिगत फित्ता,
हजुरबाको खिइएको औँला-सहारा
बाबुको सदाबहार गाली
र दाजुको उत्कृष्‍ट इर्ष्‍या
अझै घुम्छ दिमाग -
आमाले आँसुको भेटी चढाइरहने
त्यो सुकिलो पूजा-कोठा... ...

खियाले चपाइरहेको बेन्चमा
लपक्क भएर
के हिसाब निकाल्दो हो साहू बूढो-
कति-कति कमाइयो
कति-कति गुमाइयो ।

◊◊◊

निद्रा साथी बन्दैन रातभर
सहरको तमासाको सर्कसभित्र
जोकर भइरहन्छ जिन्दगी,
सेफमा बिटा-बिटा चुल्याएको नोट
कहिले बन्ने हो आरामदायी घर ?
भयको चमकले
फुस्रै उजाडिएको मौन सडक
र घरमा धुम्धुम्ती
भूतबङ्गला भोगिरहेकी साहुनी बूढी
किन काटीकुटी लाग्छ ?
समयको अन्तिम अध्यायमा
तीन
दुई
एक
र जिरो गन्दै
फिका आँखाले
साहु बूढो अझै
त्यहीँ छ लोलाइरहेको,
कहिले छुट्ने हो समयको रेल ?
भीडमा लिकहरू एकदम बेपत्ता भइरहेछन् ।

... ... ...

बेन्चमा मूढासमान
निश्‍चल भइसकेको साहू बूढाको
एकटक आँखा
ईश्‍वरको आवाजमा
कता-कता फुस्फुसाइरहेछ -
कति-कति कमाइयो
कति-कति गुमाइयो ।




***

17 comments:

  1. 'हेर्न र पर्गेल्न मात्रै सक्नु पर्छ कविता त आफ्नै अघिल्तिर कति कति ? ' शङ्कर घरमा पढेको लामिछानेकै कथन - मैले अलि बटारेर भनेँ होला , पत्यार नलागेर सुख छ र अब ? गहिरो दर्शन खाँदिएको सरल कविता भनें मैले त । यो विम्ब कति शक्तिशाली -

    कहिले छुट्ने हो समयको रेल ?
    भीडमा लिकहरू एकदम बेपत्ता भइरहेछन् ।

    ReplyDelete
  2. स्टेसनमा भेटीएको साहु बुढोलाई कति स्वछन्द र सफा प्रतिबिम्बमा उतार्नुभयो धाइबा जी । दीपक जी ले भने झै साच्चै सर्जकका आँखामा चारैतिर रचनै रचनाका दृश्यहरु नाचीरहेका छन ।

    ReplyDelete
  3. कविता निकै घत लाग्यो मलाई ।
    कवितात्मक टाँसोका लागि धन्यवाद दिन्छु तपाईलाई ।

    ReplyDelete
  4. सायद जीवनको उत्तरार्धमा पुग्दा सबैले कुनै दिन मनको सिलोटमा सम्झनाका हिसाबहरु यसरी नै कोर्छन होला !

    कति-कति कमाइयो
    कति-कति गुमाइयो ।

    एकदमै घत लाग्ने गरी सरल भाषामा जिवन दर्शनको झलक दिनु भएछ ।

    यो कवितालाई मेरो १०० मा १००!

    ReplyDelete
  5. साह्रै सुन्दर कविता धाइबाजी! नि:शब्द भएँ।

    ReplyDelete
  6. बाह!! दाईबाजी जीबनको एउटा पाटो जो सबैका लागि अनिबार्य छ, जसलाई हरेकले आफ्नै तबरले बिताउनु छ। रमाईलो लाग्यो। हुन सक्छ यो यथार्थता उसको लागि नहोला र लागु नहोला तर पनि पठ्दै जादा एक पटक सोच्न बाध्य बनायो र जीबनको अन्तिम समय यसरीनै जानु छ। धन्य साहु बा भाग्यमानी रहेछन कम्सेकम यो समय फेला पारे उनले। तर...... धन्यवाद है तपाईलाई। सलाम

    ReplyDelete
  7. This comment has been removed by the author.

    ReplyDelete
  8. म नि सुजन जी जस्ताइ नि:शब्द भएँ धाइबा ब्रो.. हेहेहे

    तर सम्झिरहेक्छु एउटा शेर केही बर्ष अघी पढेको थिए हिन्दी मा

    केही यस्तै थियो:

    मलाई थाक्न दिदैनन मेरा यि कामहरु
    मेरा बच्चाहरु मलाई बुढो हुन दिन्नन

    ReplyDelete
  9. खोइ म के भनु। प्रतिक्रीया नै आएन

    ReplyDelete
  10. राम्रो लाग्यो कविता! दार्शनिक भावनाले भरिएको छ। जीवनको अन्तिम अध्यायमा पुगेका र शायद भौतिक अर्थमा पुगिसरी भएका एउटा ब्यक्तिलाई एकछिन देख्दैमा यस्तो राम्रो रचना सिर्जिनुभएछ। बधाई
    छ!

    ReplyDelete
  11. पुरै जीबनलाई सबै कोणहरुबाट समेत्नुभएको तपाईंको यो कबिता साँचै उत्कृष्ट छ धाइबा जी

    ReplyDelete
  12. sundar! sarjakako agadi sirjanaa maatra bhaneko yahi ta ho, kata ratnapark ma thakan marna baseko manche yati mitho kabita sirjana garera haamilaai lobhyaairakhna safal.

    ReplyDelete
  13. Sad poem :(
    Expressive ..I really love the way you go deep into each and every matter ....and createsuch an wonderful expression.... that touches heart....straightly...

    ( aasu assu aaula jasto garyo ni akha ma ,.... :(.....)

    ReplyDelete
  14. सुन्दर र बास्तबिक कविता.... हामीले सँधै देख्दै र सुन्दै आएको लोभी पापी साहू बुढाको पनि आफ्नै पिडा र दुख छन | आखिर यो सब समयको खेला रहेछ |

    ReplyDelete
  15. "निद्रा साथी बन्दैन रातभर
    सहरको तमासाको सर्कसभित्र
    जोकर भइरहन्छ जिन्दगी"
    त्यो तपाइले देख्नु भएको दृश्य ले - तपाईमा मानष्पटलमा कस्तो दृश्य को सिर्जना गरेछ भन्ने कुरा ति माथिका शब्द हरु बात थाहा पाउन सकिन्छ |
    निकै उत्कृष्ठ लाग्यो धाइबा जी !

    ReplyDelete