September 6, 2009

ऊ बच्चैमा बूढो भयो !

- जन्मदिनको शुभ कामना बच्चा ! २५ वर्षे पट्ठोपन पूरा गरिस् ।

जन्मतिथिको अघिल्लो दिन नै ऊ बेलुकीपख बिछ्‌यौनामा घुस्रिँदै गर्दा आफैँसँग फुसफुसायो । 'आफैँलाई माया गर्नु' भन्ने जीवनसूत्र ऊ भर्खर त बुझ्न थाल्दैछ, यसैले शुभ कामनाको एक डाली आफैँतिर हुर्‍याएर छ्‌याप्प हान्यो । कस्तो रे भने, आफैँलाई माया गर्न नसक्ने-नजान्नेले अरूलाई पनि माया गर्न सक्दैन रे । यसरी ऊ पृथ्वी-पाठशालामा अभ्यासी चेला बनिदिएको छ । सिक्दैछ ऊ- मायासँगै घृणा, धोकाधडी, चाबुक, छिर्केखेल, लोलोपोतो, स्याहार, स्वानुभूति … ।

आफैँलाई शुभ कामना अर्पण गर्ने त्यो रातअघिका दिनहरूमध्ये कुनै एक दिन ऊ सडकमा थियो । सडक, जहाँ पहिलो पटक परेला खोतल्दै अस्तित्व जाग्छ, पहिलो पटक कलिला कुर्कुच्चामा टाप जड्न नपाई-नभ्याई छिप्पट यात्राको बिस्कुन सामुन्नेमा छरिइसक्छ । यस्तै सडकमा ऊ थियो ।

'यो सहरमा साह्रै एक्लो भइयो यार !',
खित्रिक्‌खित्रिक्‌ मोबाइलको बटन थिचेर कसैलाई पठाउन ठिक्क पारेको एसएमएम उसले त्यत्तिकै मेटिदियो । सोच्यो होला, यसरी विरह बाँड्न कोही लायकको मान्छे बचेको छ र संसारमा ?

फेरि के सोच्दै हो कुन्नि, टोलायो बतास खेलिरहेको सडकभरिको लम्बाइमा । सडक-सडक उसको रहर खितखिताउँदै वेग मार्छ । के ऊ सडकको बासमा तिहुनको सपना नै पकाईपकाई अघाउने सर्वहारा हो ? होइन । उसोभए सडकमा सवारी गडगडाएर हुइँक्याउने प्रतिष्‍ठित पुरुष हो ऊ ? यो पनि गलत । तर ऊ सडकमै छ । सडकैले प्राण धाने जस्तो । कस्तो भने, सडकैबाट उदाउँछ, सडकैमा अस्ताइदिन्छ । उदाउने र अस्ताउने चक्रमा मानौँ ऊ 'घाम-मानव' । त्यही सडकको फुटपाथमा पाइला गाड्दै मन सुलसुले भएर नाचेको महसुस गर्छ ।

'हा ! के भयो आज यो एक मुठी रगत उमाल्ने मुटुलाई ?' जाबो एक मुठी रगतको यस्तो सकसक ! उसले प्वाक्क आफ्नो छातीमा हिर्कायो । स्वाभिमान जाग्यो एक्कासि, अघि एसएमएसमा एक्लोपनको विज्ञापन गरेर आफूलाई झन्डै दयाको पात्र बन्ने कठघरामा उभ्याएको उसले । एउटा मोबाइल-मेसेज डिलिट गराइसँगै उसको पौरुष जोगियो धन्न !

ऊ आफूलाई बच्चै ठान्छ (अहिले त विधाताले उसका औँलाका चक्रहरूसम्म पनि कहाँ छिप्याउन बाँकी छाडे र !), ऊ आफ्नो सोचाइमा बच्चै रहिरहँदा उसलाई कमजोरको रूपमा कुल्चिन अरूहरू कति तयारी अवस्थामा हुँदा हुन् ! बच्चापनको सन्दर्भमा हिजै त हो, जलपानमा साथीहरूको दिवा जमघटमा एउटाले आफ्नैबारे प्वाक्क भनेको थियो - "मैले यतिखेर जीवनको २८ वर्षको उमेरमा जिम्मेवारी लिन सक्दिनँ भने अब ३८ वर्ष हुँदा पनि सक्दिनँ ।" उसको आशय थियो- २७-२८ वर्षको उमेरसम्ममा एउटा युवाले आफ्नो परिपक्वताको सफल परीक्षा दिन सक्नुपर्छ सांसारिक लोकमा ।

उ: भर्खरै भत्किने छाँटको साइकल लरखराउँदै आँखामा फुलो परेको एउटा केटो यही सडकबाट गयो । यो सडकको विविधता यही हो । हातमा हजार रुपियाँको फूलको बन्डल सजाएर हाइ प्रोफाइलको प्रियतमलाई भेट्ने युवती पनि यही सडकबाट पार हुन्छे, एउटा छ यो केटो- निरुपाय आँखामा फुलो बोकेरै जीवनको उत्सव मनाइरहेछ । आह् ! फूल र फुलो परेको आँखा … । फूल बोकेर धाउन्जेल प्रेमीले त्यस युवतीलाई कति भाउ दिँदो हो, तर आँखामा फुलो रहुन्जेल त्यस केटाले भने सयौँ सुग्घरी आँखाको सामुन्ने कुरुपता र अशुभताको लाहाछाप किटिँदै दूर्‌दूर् को पात्र बनिरहला ।

जीवनमा कठिनताका पर्वतहरू कति छन् कति । सहजताका समथरता कति छन् कति । हिँड्दाहिँड्दैको एउटा गोरेटो कतिखेर लुटिन्छ, यो समय गोरेटोसम्मलाई पनि लुट्न बाँकी नराख्‍ने तन्नम लुटेरा रहेछ, उसले बुझेको छ । बुझेर के गर्नु, आफ्ना गोडाहरूको शुभ साइत वा अशुभ साइतले कुन बाटो रङ्ग्याउने हो, के पत्तो !? यही अड्कल काट्न मुश्किल !

अब ऊ यहीँनेर बच्चा रहँदैन । बच्चा रहे पनि ऊ बच्चैमा बूढो भएको छनक मिल्छ । उसलाई बूढो हुन हतार छ । वरिपरिका बूढो समाजको बीचमा ऊ कतिन्जेल पो बच्चो रहन सक्छ र !? यो बूढो समाजमा बच्चो भइरहने अनुमति छैन । चाहे कपाल नपाकोस्, चाहे ओठका कलिला जलपबाट दूध ननिख्रियोस्, चाहे बिहेको भारले पिठिउँ ठसठस कन्ने उकालीमा नजोतियोस्, बच्चा भइरहन पाइने यहाँ आँगन छैन । कुबेलामै बेलाको बोली बोल्नु सही बेला बनाउनुपरेको छ ।
अब ऊ बच्चा रहेन ।

यो
कथा होइन,
व्यथाको पत्र भने
घाँटीघाँटी छ ।
यही घाँटीघाँटीको जीवन-उवाच कहिसक्न ऊ यो सडकमा माइक फुकिरहेछ - हेर, बाँच्नु भन्या बाँच्नु मात्र होइन रहेछ … ।

12 comments:

  1. जन्मदिनको हार्दिक मंगलमय शुभकामना!!

    तपाईंका हरेक पाइलाहरु प्रगतिको बाटोतिर लम्किरहुन।तपाईको हरेक पल सुखमय होस्।

    ReplyDelete
  2. बच्चै मा बुढो भयो भन्ने शीर्षक अनि यसको विषयवस्तु चाँहि अलि चित्त बुझेन है !

    जन्मदिन को शुभकामना !

    ReplyDelete
  3. के के नै होला भनेर मस्की-मस्की पढेको त घुमाई फिराई जन्मदिनमा पो पुरयाउनुभएछ धाइबा जी ले त । हा! हा!! हा!!!
    शुभकामना जन्मदिनको अनि दिर्घायुको कामना पनि
    फलोस फूलोस जिन्दगी
    काँडा पन्छाएर कसैलाई नघोची

    ReplyDelete
  4. उडिरहेको चरालाई एक्कासी गोलीलागे झै भयो,मिठा कुराहरु खादाखादै सकिन्छन,अझ धेरै भईदिएको भए असन्तोषी मान्छे !!!

    शिर्षक सँग म चाँही पुरै सहमत् छु,बच्चैमा बौदिकताले परीपक्वता पाइसकेको छ । यो बौदिकताको बुढेउली हो।
    हरेक पाइलाहरु प्रगतिमय मार्गमा हिडिरहुन, शुभकामना जन्मदिनको धाईबा जि लाई ।

    ReplyDelete
  5. मानिसको उमेर दुई थरीको हुन्छन। एउटा शारीरिक, अर्को बौद्धिक वा मानसिक ।

    त्यसैले म पनि बच्चैमा बूढो हुनु सम्भव देख्‍छु । (वा यसैलाई उल्टा गर्दा बूढो हुँदासम्म बच्चै रहन पनि सक्छन कोही-कोही)

    जे होस बौद्धिक र मानसिक रुपमा सधैं पाको र शारीरिक रुपमा सधैं जवान रहनुहोस ! जन्मदिनको शुभकामना ।

    ReplyDelete
  6. जन्मदिनको मंगलमय शुभकामना, मित्र धाइबाजी । तपाईंका प्रत्यक पाइलाहरु हरपल सफलतातिर मात्र लम्किरहुन, यही कामना छ, परदेशबाट । राम्रो लेख, रमाइलो लाग्यो ।

    ReplyDelete
  7. धाइबा जी सर्वप्रथम २४सौ बसन्त पार गरी २५सौ बहारमा पाइला राख्नुभएको जन्मदिनको बिशेष अवसरमा तपाईंको उन्नती,प्रगती र सु-स्वास्थ्यको निम्ती हार्दिक मगंलमय शुभकामना तथा बधाई ब्यक्त गर्न चाहन्छु ।

    लेख चाखलाग्दो छ, उस्तै परिपक्वताको अनुभुती मिल्छ । तपाईंको लेख्ने शैलीको बयान नगरिरहन सक्दिन ।

    ReplyDelete
  8. माफ गरिदिनुस् है बर्षमा गल्ती हुन गएछ, हुन त मान्छेलाई कहिले पनि बुढो हुन मन पर्दैन रे अब जे भएपनी प्राकृतिक प्रकृयालाई स्वीकार नगरि अलग हुन कहाँ सकिन्छ र :)

    ReplyDelete
  9. धाईबाजी, जन्मदिनको हार्दिक मंगलमय शुभकामना! तपाईँको जिन्दगीका सबै आयामका सबै यात्राहरु सफल र सुखमय रहुन्!

    ReplyDelete
  10. जन्मदिनको साँच्चै धेरै शुभकामना !

    हो बाँची ल्याएका धेरै मोडहरुमा एउटा बच्चा बच्चा रहँदैन बरु अर्को मोडमा उ अझै अलिकति बुढो हुन्छ । तपाईंको अनुभूतिमा डुबेँ कि तैरिएँ म खै कुन्नि तर आज जति महत्वपूर्ण हिँजो त थिएन नै भोली पनि हुने छैन । प्राप्ति र प्रयत्न त टेकिसकेको पाईला र टेक्नुपर्ने पाईला न हुन् ।

    ReplyDelete
  11. शुभ कामनाका लागि सबैलाई हार्दिक धन्यवाद ।

    आकारजी, मैले एउटा मान्छे समयको अनेकौँ घम-पानीले रापिएर
    अनुभवी र वैचारिक रूपमा पाको हुन्छ भन्नेतर्फ इङ्गित गर्न खोजेको हुँ, अर्थ नखुलेकोमा माफी दिनुहोला है ।

    ReplyDelete
  12. धाईबाजी, जन्मदिनको शुभकामना!

    ReplyDelete