September 13, 2009

जागिरे जोईको खोजी

फ्नो जागिर होस्-नहोस्, एउटी जोई होस् र त्यो जोईको मुठा-मुठा पैसो तान्ने जागिर होस् । नारी अधिकारले समग्र बजार कब्जा जमाएको बेला पुरुष अधिकारको ज्वरोले तातिएका उमेरदार योग्य वरहरु यस्तै इच्छा प्रकट गरिरहेका भेटिन्छन् । आधुनिक कालबेला छ भनेर नाराकै रङरोगन घसी नाराकै पखेटा जडेर स्वतन्त्रता खोज्ने फाइफुट्टीरानीहरुलाई त यस पुरुष-अधिकारको नयाँ खोजीले खुत्रुक्कै पार्ला ! तर जागिरे रफ्तारमा चाल मारिरहेका हुनेवाली जोईहरुलाई भने यो खोजी अभियान जोडीको उम्मेदवारीमा पर्ने सुनौलो अवसर हुनेछ ।

बसको भीडमा, बेरोजगारको हूलमा, अड्डा-अफिसमा, चिया-चमेनामा जताततै कुनै उमेरदार नौजवानको बिहेको कुरा चल्यो कि त "टन्न गाँठ कमाउने केटी नपाएसम्म त आफू बूढोकुमार नै बसिन्छ यार" भन्ने थेगो सुनिन्छ । यस्तो रहर कोही हाकाहाकी पोखिरहेका छन् त कोही मनैमन कुरा खेलाएर रहरलाई पकाउँदैछन् । खुलेर नभन्नलाई जागिरे जोई पाऊँ भन्नु फेरि कुन त्यस्तो लाजमर्दो कुरो हो र ? मान्छेहरुले लाजै पचाएर कुन्नि के गर्न पाम् कता जान पाम् त भनिसके, जागिरे जोई पाम् भन्नु के अपराध भयो र !

आफू जागिरे पोइ पहिलेदेखि नै छ भने त जागिरे जोई पाएपछि हिसाब दोब्बर भएर पारिवारिक कारोबार सहज रुपमा बढ्ने नै भयो । आफू बेरोजगारै परिएछ भने पनि जागिरे जोईको प्रवेशसँगै घरमा लक्ष्मीको प्रवेश भइहाल्छ । तिनैको भरथेग र पोषणले दम्पतीको सास धानिहाल्छ । यही सुरक्षित र प्रभावकारी जीवनयापनको सामाजिक सोचले निकालेको नतीजा हो जागिरे जोईको खोजी ।

जागिरे जोई पाएपछि टोल-समाजमा जागिरे दुलहीको दुलहा भन्ने नयाँ आकर्षक परिचय मिल्ने कुरा त छँदैछ दुलहीको आत्मकेन्द्रित खर्चप्रथा पनि स्वाट्टै हटेर पारिवारिक बजेट अनुरुप ढल्दै जानेछ । आपुनो लाली टप र स्यान्डल किन्नमा मात्रै जागिरको कमाइ सक्दै आएकी कन्ने केटीले जोई भएर आएपछि त्यही पैसाले सारा घरखर्च मिलाउनुपर्दा दुलहीलाई झन् व्यवहारिक हुन सिकाउनेछ । बिहे भएर माइतीबाट बिदावारी भई घरमा आएपछि जागिरे जोईले मेरो आफ्नो खर्च मैँ आफैँलाई ठिक्क हुन्छु भन्दै महिनैपिच्छे थैलीलाई गोदरेज दराजमा कोच्यो भने त्यो पुरुष अधिकारको हनन मानिनेछ ।

जागिरे जोईको माग एक्काइसौँ शताब्दीकै माग हो । अरु देशले के-के कुराको खोजी र अन्वेषण गरिसके हामीले भने जागिरे जोईको खोजी गरेर थपक्क एक-एक जना सुकुमारलाई एक-एक जना जागिरे जोई जुराउन नसक्नु लाजमर्दो कुरा हो । लैङ्गिक समानताको मुद्दा चर्किरहेको बेला पुरुष नै जान्ने भएर जहाँ पनि अघि सर्दै जागिर खाने लहर पुरानो भइसक्यो । राम्रो र जागिरे पति पाउष भनेर मनैमन पुकारा गर्ने कन्ने केटीहरुले पनि वर्षौँ यो सजिलो काम गर्दै आए । दसैँबजारमा कुन गतिलो खसी भनेर छाने झैँ "को सरकारी सुब्बा, को अमेरिकाको ग्रीन कार्ड भएको, को घघडान व्यापारी, को इन्जिनियर" भन्दै युवतीहरुले योग्य वर छानीरोजी गर्दै आए । घुमिफिरी कुमार केटोले पनि मनको बह पोख्ने पालो नपाउनु त अन्याय नै हुन्छ । जागिरे जोई पाउने इच्छा यही आलोपालोको आवश्यक रीत हो । लौ है जागिरे जोई पाम् !

16 comments:

  1. जोतारे लाई जागिरे जोई । कस्तो ज प्रेमी हुनु भाको हो ? लौ हजुर मेरो शुभकामना । लेख मीठो लाग्दै थियो तर अलि छिटै सकियो , भरपेट पढ्नै पाइएन नि ।

    ReplyDelete
  2. यसपाला त "लौ है जागिरे जोइ पाम् !" भन्नेमै सक्केको छ । २-३ बर्ष अघि "पोईल जान पाम्" अनि त्यसको उत्तरमा "पोईल जान पाम् भन्नेलाई मैले लान पाम्" भन्ने गीत बनेको कुरा याद आयो ।

    हेरौं यही पोष्टले कुनै चमत्कार गर्छ कि? :)

    कसैले "जागिरे जोइ पाम् भन्नेसंग मैले जान पाम।" भन्छन कि !।

    दिनेशजीलाई जस्तै मलाई पनि अझै "पढुँ-पढुँ" भाथ्यो यो व्यङ्ग्य ....

    ReplyDelete
  3. निकै ब्यग्यांत्मक लेख धाइवा जी आजको एक्काइसौँ सताब्दिमा समयको परिवर्तनसगैँ परिवर्तित सोचहरुका हाम्रो नेपालको परिश्क्रित युवा युवतीहरुको चाहना र अभिलाषा झल्केको छ ।

    म पनि ५०/५० मै विश्वाश गर्छु है :)
    आजको जमानामा एकजनाको भरमा जीवन गुजार्ने आशा गर्नु आँफैलाई अन्धकार कुनातिर धकेल्नु हो जस्तो लाग्छ दुबै जना मिलि हात्तेमालो गर्दै चाँजो पाँजो मिलाइ अघि बढदा नै जीवनमा सन्तुलन र सन्तुष्टिका रेखाहरु कोरिन्छन होला ।

    ReplyDelete
  4. लौ म त के रेला गर्नुभा' होला भन्दैथिएँ । व्यङ्ग्यविचार पो पढ्दैरहेछु । अनि त्यो गोदरेज आफ्नो आफ्नो हुने भयो भने त के काम भयो र ? अर्को चरणको आन्दोलन सुरुगर्ने झण्झट पो हुने होला ।

    ReplyDelete
  5. This comment has been removed by the author.

    ReplyDelete
  6. कुरो त एकदम मनासिब् गर्नु भो धाईबा जी! बरु तपाँईलाई पो शुभकामना दिनु पर्ने भो त मुठा-मुठा पैसो तान्ने जागिरे जोई होस् भनेर!!! हा हा हा

    तर मलाई एउटा कुरा भने भन्न मन लाग्यो है:केटीहरूले पढ्नु, जागिर खानु, आफ्नो उन्नति गर्नु भविष्यमा लोग्ने हुने केटाका लागि मात्र नभएर आफ्नै व्यक्तित्व र पेशागत क्षमता वृद्धिका लागि पनि हो है ।

    जे होस तपाँइको व्यङ्ग्य रमाईलो लाग्यो।

    ReplyDelete
  7. खुब रमाइलो लाग्यो यो व्यंग्य, अब समय अनुसार वर र बधुका रोजाईहरु परिवर्तन त हुदै गइरहेका छन नै । तर जागिरे जोइ खाली आफ्नै शृंगार र फेशनमा भएभरको पैसा खर्च गर्न पल्केकी छन भने चाही के गर्ने नि धाइबा जी?
    बरु त्यसो भन्दा खुरुखुरु गोदरेज भर्ने नै ठिक छ - केहि नलागे पछि "गोदरेज तोड" अभियान चलाउने बिकल्प त छदै छ नि...

    ReplyDelete
  8. धाईबा जि , मेरो आँखा खोल्दिनु भयो आजै बाट यो शुभकार्यमा म लाग्नेछु । मलाई शुभकामना दिनुहोला !!
    हा हा हा हा हा हा .......................

    ReplyDelete
  9. धाईबा जि , मेरो आँखा खोल्दिनु भयो आजै बाट यो शुभकार्यमा म लाग्नेछु । मलाई शुभकामना दिनुहोला !!
    हा हा हा हा हा हा .......................

    ReplyDelete
  10. आफू बेकामे भएर जोइचाहिँ जागिरे नै होस् भन्नु उचित होइन । तर जोइ पोइ दुवैको कमाइ हुनु पारिवारिक जीवनको लागि पक्कै राम्रै हो । कि कसो ?

    ReplyDelete
  11. साँच्चै जागिरे जोइ चाहिएजस्तो छ दाइलाई !!

    ReplyDelete
  12. लौ है हजुर् यसो अलि भेटिय भने हामिलाई पनि है पैसाको मुठो ल्याउने जोइ।

    ReplyDelete
  13. रमाईलो र उपयोगी कुरा गर्नुभयो धाईबाजी! यो पालिको दशैंले तपाईँको यो जोइले कमाएर ल्याएका नोटका बिटा थन्काउने ईच्छा पुरा गरोस् भन्ने शुभकामना!

    ReplyDelete
  14. हाहाहा जोतारे ब्रो, जागिरे मात्रै भए पुग्ने भए मलाई भन्नुस् न म खोजिदिउला... तर म पनि हाकाहाकी नै भन्छु... बाउ घुस्याहा नै किन नहोस् टन्न गाठ भाको केटी नपाए चाहिदैन जोइ सोइ आफुलाई त... बैकल्पिक ब्यबस्था गरिन्छ बरु ;)

    ReplyDelete
  15. म चाहीं बेरोजगारी नै बिहे गर्ने पक्का भएँ | यसो भयो भने एकातिर धईवाजीको एउटा सम्भाबना बढ्ने भयो अर्कातिर तीं रोजगारी बधूले अनेक कसरतबाट मरेर पाएको रोजगारबाट राजिनामा दिंदा खसाएका नुनिला आँसु पुछ्नु पर्ने झन्झट परेन | सबै ठाउँमा खराब राजनीति गर्नुपर्छ भन्ने छ र ? यसरी मिले भै गयो नि हैन र धईवाजी ?
    अक्सर पोइ मात्र जागिरे हुने हाम्रो दुनियामा जागिरे जोईको आवस्यकता र महत्व दर्शाएर बडो रमाएलो व्यंग्यको परिकल्पना गर्नुभएछ | यो यथार्थ भइदिए पनि हुने व्यंग्य मात्र हुन्छ कि भन्ने कुराले पो खिन्न बनायो त !

    ReplyDelete
  16. मनभरी सुख अमनचयन र शान्तीले बास गरोस, दु:ख, बाधा अड्चन सबै हटोस, प्रगतीतर्फ तपाईंका पाइलाहरु अगाडि बढुन, भात्रित्वको भाबना उजागर होस्, सफलता नै सफलताले तपाईंलाई पछ्याइरहोस् बडा दशै २०६६ को सुखद अबसरमा सम्पूर्ण नेपाली ब्लगर मित्रहरु, देश बिदेशमा छरिएर रहेका नेपाली दाजु भाई दिदी बहिनी र सम्पूर्ण हिन्दूजनहरु प्रती शुभकामना व्यक्त गर्दछु।

    ReplyDelete