October 12, 2009

फ्रेमभित्र


सरी खुल्छन्
चश्मादार प्राध्यापकको
फुस्रा ओठबाट
कोठा-कोठा पुस्तकालय
अथवा खुल्छ
ब्रह्माण्डभरिको अनुहारमा
एउटा टीका झैँ -
यो भूगोल,
उसरी त म खुलिनँ
खुल्दै खुलिनँ यो फ्रेममा ।


कुनै बहुलाहीको
बेसोमती केशहरूमा छरिएको विरक्ति जस्तो
भयभीत आँखाका यी नानीहरू,
टिपिहाल्नु छ अकस्मात्-
टिलपिल कचौरा जस्तो गहिराइबाट
सन्तुलित गहहरूमा,
फेरि पनि देखेर:
भित्ताको फ्रेममा
आफ्नो तस्बिरको बलिदान
र क्यालेण्डरका पुराना कोठेपद मितिहरू सवार
खुइलिँदै गएको आकृति
मनाहीपूर्वक हेरिरहेछु ।

हिउँका धारिला हातहरूमा गएका
न्याना मुटुहरू
कोइलाका राता ल्याप्चेले
लतपतिन पुगेका
जुनीजुनीका निधारहरू
सबै छ
दमग्रस्त बुढ्यौलीमा
असहायक श्‍वासनली
र जीवन नामको धमिलो रेखा
सबै छ, फ्रेममा ।

कुनै आरामको बिछ्‌यौनादेखि
टाढा उछिट्टिएको एकाबिहान
जब पाइलाहरूमा
टीका पुछिएको
विरूप साइत बोकेर
युगसामु कलश समाउँछ
बुझिन्छ-
ओ यात्रा ! यात्राको उडान !!
आकाश कहीँ-कतै
बिग्रिएकै छ ।

धेरै भयो
कीलामा
तु
र्लु
ङ्ग
फ्रेमभित्र
उकुसमुकुस दुख्‍ने
सहाराको तप्‍त बालुवा जस्तोमा
कहाँ छ
स्वस्थ-स्वच्छन्द विरुवाको
रहरलाग्दो फुरफुर  !

1 comment:

  1. Haina Yo Tapaiko Kavita Lekhan Shailee Herda Ta Lathhai hun6u ho Dhaiwajee. Sundar kabita.Manko Bhitri Bhag Chhoyo.

    ReplyDelete