Subscribe:

Ads 468x60px

12 October 2009

"पर + यटन" = पर्यटन


सैँमा फुर्सदिलो समयभन्दा पनि फुर्सदिलो मानसिकता बोकेर साथीहरू पूर्वी नेपाल छिचोल्दै दार्जिलिङ घुम्न गएको बखत आफ्नो मन भने ललचाएर विरक्तिरह्‌यो । घुम्ने टोलीमा सँगै जान नपाउनुको थकथकी त छँदै थियो, त्यो भन्दा बढी दिक्दारी आफू यतिन्जेलको जिन्दगीमा कतिसम्मको साँगुरो वृत्तमा सीमित रहेछु भन्ने तुच्छ सोचको कमिलाले चिलिरह्‌यो । कस्तोसँग जीवन त एकतमासको भइसकेछ, धेरै ठाउँ छन् जहाँ कामविशेषले नघचेटेसम्म गइएको त छैन नै, अझै धेरै कालसम्म जाने छाँट छैन । उही रुटीन र लिकमा फटफटाइरह्‌यो प्राणपखेरु ।

यसो हिसाब गरेँ, कहाँ-कहाँको सुवास मेरा यी जोर पयरले चाखेछन् हँ ? घुमघामको नाममा पूर्वको गृहथलो उदयपुर र राजधानी ओहोरदोहोर गर्दा यातायातको साधनले जति-जति ठाउँ टेकिभ्यायो त्यति रहेछ मेरो तीर्थाटनको आयाम ! त्यो पनि म घुमेको ठाउँ के भनूँ, याकमाथि चढेर शेर्पाले हिमाल चढ्ने तर्खर गरे जस्तै गाडीमा चढेर मैले गरेको सयर त सोझै याकको हिमालारोहणलाई बिर्साइदिने ढाँचाको सवारीको आफ्नै घुमफिर थियो । म त याकमाथि सवार भएर हिमाल चढेको बहादुरी बटुल्ने शेर्पा जस्तो बनेछु !

घुमफिरकै विषयमा कुराकानी हुँदा अड्डामा सँगै काम गर्ने एकजना दाइले बताए- "मसँग विदेशतिर सयर गर्न जाने त्यति धेरै पैसा हुने हो भने पूरै नेपाल घुम्थेँ ।" साथीहरू पूर्वी नेपाल घुमघाम गर्न गएको प्रसङ्ग मैले कोट्याउँदा ती दाइले सिङ्गो नेपाल नै घुमघामको मोहक गन्तव्य रहेको उक्त कुरा बताउँदै थिए । घुमघामको कुरो निस्किनासाथै हाम्रो मानसिकतामा टाढाको सयर भन्ने सोच घुसिहाल्छ । कुनै टोलमा भएकाहरूले आफ्नो टोल नाघेर अर्को टोलतिर टहलिने सोच, कुनै जिल्लामा रहेकाहरूले   अर्कै जिल्ला घुम्ने सोच, एउटा विकास क्षेत्रमा रहेकाहरूले छुट्टै राज्य, प्रान्तमा पुग्ने सोच, अझ भनौँ, घुमघाम भन्नेबित्तिकै देशै काटेर परदेशतिर लम्किने हाम्रो सुर हुन्छ । पर्यटन भन्नासाथै पऽऽऽरै गएर फन्को मार्नुपर्ने घुम्ती लीलाको रूपमा बुझिएको छ ।  त्यही मर्म छामेर होला, संस्कृतबाट आएको 'पर्यटन' शब्दको अर्थ पनि शब्दकोशमा यसरी दिइएको छ- "दर्शनीय र महत्वपूर्ण स्थानहरू हेर्न वा मन बहलाउनका निम्ति देशविदेशमा गरिने भ्रमण वा यात्रा ।"

घुमघामको विषयमा कुरा हुँदा ती दाइले राजधानी काठमाडौँछेउमा पर्ने सुन्दरीजलपारिको चिसापानी भन्ने ठाउँको नाम लिए । एक दिनको घुमघाम गरेर आउन सकिने राजधानीछेउका लेले, लामाटार-लुभू (ललितपुर), नमोबुद्ध, जिरी जस्तै चिसापानी पनि मनोरम गन्तव्य रहेको कुरा दाइको बखानसँगै फुलेल मुद्राले साबित गर्दै थियो । हामी नेपालीहरूको घुमफिर गर्ने बानी छैन भन्ने थेगोले थिचिरहेको समयमा आन्तरिक पर्यटनको 'गफ'ले पछिल्लो समयमा केही हदसम्म काम गरेको देखिन्छ । मान्छेहरू व्यस्तताको बिटो थामथुम पारेर र घरमा डामडुम ताल्चा ठोकेरै भए पनि भुराभुरी चाइँचुइँ पार्दै देशकै पूर्व र पश्‍चिमतिर टहलिन निस्किन थालेका छन् ।

सहरिया युवा डिस्कोथेक र मुठीभरको पार्कमा सीमित भएर रमाइरहेको बेला कहाँ तिनलाई खबर होस् सुन्दरीजल र चिसापानीको ? फेरि नजिकको तीर्थ हेलाको नियति भोग्दै त्यस्ता घुमफिरका मनोरम गन्तव्यहरू रैथानेहरूको हेराइमा रूखोसुखो झाडीसमान बन्न पुगेको छ । बरू खोइ कुन पर्यटनको उद्देश्यले बत्तिएर हो, तिनै युवा जोडी च्याप्दै नगरकोट र गोदावरी भने धाउँछन् । ठाउँ दर्शन गर्ने लालसाले हो या आफैँ अरूहरूको सामु दर्शनीय मूर्ति बन्न !?

कतिपयलाई परिवारको नियमित खर्च धान्नै धौधौ हुन्छ, घुम्ने कुरा तिनका दैनिकीमा सपनीमा झुल्किने कार्यव्यस्तताभित्र मात्र पर्छन् । तर धेरैजना पैसो भएर पनि, रहर भएर पनि बरू ठूला योजना बुनेर बस्छन्, वरपर तीर्थाटनमा निस्किने 'कष्‍ट' उठाउँदैनन् ।

घुम्न आफ्नै देशभरिका ठाउँहरू पर्याप्‍त छन् । तर टाढा रहेका उस्तै ठाउँका लागि जति पनि खर्चिन तयार हुने हाम्रो मन हाम्रै छेउछाउ भएका ठाउँमा जान-बस्न लाग्ने खर्चको सूची सुन्दा भने थकथकी मान्दे निचोरिन्छ । यो त हातमा भएको मोतीलाई पनि धुलो ठान्ने मूल्यहीन भावना मात्रै हो । भित्रै कतै एउटा साथी छटपटाइरहेछ हाम्रो मनको किनारमा, हामी भने बाहिर व्याकुल भावले अरूको पछि कुदिरहेछौँ साथको तृष्‍णा बोकेर । छेउमै भएको कुराबारै जानकारी छैन । मैँ पनि त, आफ्नै जिल्लाभरिको कान्लाकान्ली फेरो मारेको छैन । ती दाइका कुराले झुलुक्क देवकोटाको 'के नेपाल सानो छ ?' निबन्धका हरफहरू ताजा भएर आए - "यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेंडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मेरो वनमा हेलेन केलेरहरू गीत गाउँदछन्, यहाँ कति सावित्रीहरू छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ ।"

देवकोटाकालीन नेपालदेखि समय चिप्लिँदै अहिलेको नेपालसम्म आइपुग्दा कति धेरै शेक्सपियर र सोक्रेटिजहरू हलो जोत्दाजोत्दै, गुफामा घोत्लिँदा घोत्लिँदै खेर गए होलान्, हिसाब छैन । जसले एकरसमय जीवनबाट थोरै पनि फुर्सद निकालेर आफ्नै चौकुना आँगन पनि मजाले नियाल्न भ्याएनन् होला । अरूहरूबाट उपेक्षाको सिकार भएका उनीहरू आफ्नै जीवनको वेगमा पनि छेउकिनारमा फुर्सदी भावले आफू र आफ्नो बहलाउने रहरलाई स्वयम्‌बाट उपेक्षित गराइरहेछन् । तिनले कहिले टहलिएलान् आँगनबाट निस्किएर टोलतिर, जिल्लातिर, अञ्चलभरि, आफ्नै देशको कुनाकुना ???
हलो जोतिरहेछौँ , गुफामा घोत्लिरहेछौँ

6 comments:

  1. घुम्ने भने पछि टाडै जानुपर्छ भन्ने सोच पक्कै पनि हामीहरु धेरैको साझा सोच होला ।

    तपाईको लेख पढेपछि म बिचार गर्दै छु, साँच्चै भन्ने हो भने हामीले ('मैले'भन्नु सहि होला) पशुपतिनै राम्ररी घुमेका छैनौं होला । मूल मन्दिरमा एकफन्का मारेर फुत्त निस्कनु बाहेक पशुपति क्षेत्रकै वरपर पनि सायद एक दिन पुरै घुम्न सकिन्छ होला ।

    देवकोटाको निबन्धका हरफहरु साँच्चै सधैं सान्दर्भिक छन । "पर यटन" हैन "वर यटन" गर्न लायक धेरै नजिकका ठाउँहरु हाम्रा वरपर नै छन ।

    रमाईलो पोष्ट !

    ReplyDelete
  2. Interesting post.I enjoyed Reading it.

    ReplyDelete
  3. मज्जाको घुमघाम भएछ तपाईको । करिब महिना भयो होला तपाईको ब्लगमा डुबुल्की मार्न नपाएको - काम व्यस्तताले त्यो अवसर गुम्यो । बहुत रमाइलो अनुभव भयो मलाई । छोडेर जान मन लागेन ।

    मलाई पनि घुमघाम गर्न निकै मनपर्छ तर सबै चाजोपाजो मिलाउन सक्दिन । सबै पायक पर्नुपर्छ ।

    टाँसोको लागि धन्यावाद ।

    ReplyDelete
  4. धाइबा जी ,बुढेश कालमा धर्मकै नाउँमा भ्रमण गर्ने हाम्रा बुढा पाका हरु पनि पर्यटक नै हुन ।आज काममा ब्यस्त भएपनि भोलि ४ धाम , र नेपालका मुक्तिनाथ , स्वर्गद्वारी आदि अवश्य घुम्न पाइन्छ पिर नगर्नुस हेहेहेहे

    ReplyDelete
  5. मननीय टाँसो! सबैलाई घच्घच्याउने कुरा लेख्नुभयो। 'नजिकको तीर्थ हेलाँ' हाम्रो राष्ट्रिय बानीनै भएको छ। जापानीहरु आफ्नै वरिपरि र आफ्नै देशभित्र प्रशस्त घुम्छन्, उनीहरुको आन्तरिक पर्यटन अत्यन्त ब्यवस्थित छ। त्यस्तै बानी हामीमा पनि बसे 'गोरा' नआए पनि हाम्रो पर्यटनले हावा खाने थिएन।

    ReplyDelete
  6. दिनेशराजजीले सहि भन्नुभयो पर्यटन नभनौं तिर्थाटननै भनौं घुम्ने संस्कार त हाम्रो पनि हो । हामीले बढावा कति दिन्छौं र महत्व कति दिन्छौं त्यसैले फरक पार्ने हो ।

    ReplyDelete