Subscribe:

Ads 468x60px

29 November 2009

सहमति.. सहमति… असहमति !!

गाँठो किन कसिएको फुक्नैलाई हो भन्छन् क्यारे ! तर यो गाँठो त पहाडकी निःमग्न केटीको चुल्ठो जस्तै सधैँ जटा धारण गरेर बसेको छ-छ । फुक्ने नाम नै लिँदैन । बरु जब्बर बाँस च्यातिएर-चिरिएर ढोक्सो भकारी पेरुङ्गो र डोको बुनिने अभिप्रायसहित चोया बन्छ । तर मान्छेका मनहरु टुक्रिएर र चोइटिएर अनेक वाद र खेमा मात्र बन्दा छन्-बन्दा छन् । तिनबाट कामलाग्दो रुपमा फुटेको कौडीसम्म पनि नयाँ केही निस्किएको होइन । थप रडाको र चर्तिकला मात्र कोरलिएका छन् देश नामको खोपभरि ।

कुरा फेरि घुम्दैफिर्दै राष्ट्रिय रिँगटामा फन्को मार्न आइपुगेको छ । संविधान जारी हुन बाँकी ६ महिने गर्भबाट देशको काखमा कस्तो शिशु पैदा हुन्छ त्यो त प्रश्नचिन्ह बनेरै रहेको छ । तर त्यसभन्दा अघिको लीला हेर्ने हो भने त्यो पिउसे गर्भ नटुसाउँदै तुहिने भयले डेरा बनाउन थालेको छ । संविधानसभा भङ्ग गर्ने दोष एक-अर्कामाथि खन्याएर दलहरु साखुल्ले बन्दैछन् । मानौं यो भंग भइहालोस् र आफ्नो कुनै नयाँ स्वार्थ लिएर देशमा खेल्न पाइयोस् भन्ने प्रार्थनामा लीन छन् यिनीहरु ।

माखो नमार्नेले सिकार गर्ने ठूलै जाल बोके जस्तै आपुनो घर र गाउँ-टोल स्याहार्ने हुती नभए जस्ता लाग्नेहरु संविधान बनाउने जोखानामा देशले बसालेको तलबी कराहीमा पाकिरहेछन् । लगातार अवरुद्ध भइरहने संसद् खुल्न बजेट पारित गर्ने साइत कुर्नुपर्छ । मानौं बन्द हुनु नै यसको मूल कार्य हो र खुल्नु चाहिँ विरला कोटिको दुर्घटना ! दिनदशा सबै सोहोरिएर यही मुलुकको थाप्लोमा आएजस्तै भइरहेको बेला मुलुकमा घटित हुने विभिन्न प्रसङ्गबारे संसदमा छलफल गर्नुपर्ने आवश्यकताल हावा खाइरहेछन् । विभिन्न संविधान बन्ला कस्तो बन्ला तर दुई वर्षे संविधान निर्माणको कार्यतालिकाबाट अन्य कुनै 'पेसा' अपनाउँदा भन्दा निश्चय नै ज्यादा शुभ लाभ गर्नेछन् हाम्रा भलादमीजनहरुले । राजनीति जो खेतीमा परिणत भइसकेको छ हामीकहाँ । त्यसबाहेकको सामूहिक उपलब्धि शून्यप्रायः देखिन्छ ।

'उच्चस्तरीय राजनीतिक संयन्त्र गठन', 'नयाँ स्थितिमा नयाँ ढाँचाको सहमति', 'राजनीतिक गतिरोधका लागि भेटवार्ता' गफमा मात्र बगिरहने घटना भएका छन् । दिन कटाउने मेलोमा फलानो महोदयले चिलानो महासयको मुहारदर्शन गरेभन्दा बढ्ता केही छनक देखिएको छैन तमाम भेट र छलफलको प्रयास । सहमतिको प्रयास भइरहेको छ भनेर एकअर्काको दैलो र कोठा धाउने दलका नेताहरु मौका पाउँदा अर्काविरुद्ध गर्जिन पछि पर्दैनन् । तिनको सम्पूर्ण ऊर्जा धाराप्रवाह आरोप-प्रत्यारोप र धम्की गुन्जाउनमा खर्च भए जस्तो देखिन्छ । कुरा मिलाउनलाई सहमतिको खाँचो पर्छ भनेर त बच्चालाई पनि थाहा भएको कुरा हो । तर हामीलाई डोर्याउने नेताहरु भने 'सहमति गर्ने सहमति' गरेर बैठकबाट प्रफुल्लित मुद्रामा निस्किन्छन् । ठूलै पुरुषार्थ गरेको गरेको आवेगमा । कति हास्यास्पद कुरा ! सहमतिको प्रयास सकारात्मक रुपमा अघि बढिरहेको ढोङ फुक्ने बानीले बाँकी कुरालाई माथ गरेको छ । तर हुँदा-हुँदा गरिएको भनिएको सहमतिको जोड भने आजसम्म असहमतिमा पुगेर जेलिँदो छ ।

10 comments:

  1. 'उच्चस्तरीय राजनीतिक संयन्त्र गठन', 'नयाँ स्थितिमा नयाँ ढाँचाको सहमति', 'राजनीतिक गतिरोधका लागि भेटवार्ता' गफमा मात्र बगिरहने घटना भएका छन् ।

    अब हैन भन्दा पनि हो नै भन्नुपर्छ, अहिले सम्म देखिएको र भोगिएको छँदै छ । हुन त यी सबै कुरा जनता को आँखा मा छारो हाल्न को लागि मात्र गरिएको रहेछ । कहिले झगडा गरेजस्तो गर्ने, कहिले मिलेजस्तो गर्ने, हात्ति को देखाउने दाँत जस्तो हामीलाई देखाइरहेकाछन्, खेलाइरहेकाछन् ।

    सहमति, असहमति, फेरि सहमति, कुनै अर्थ नै छैन ! दिल्लि, सिंगापुर सबै एकै हुन्, पैसा पचाउने अनि जनतालाई उल्लू बनाउने बाटो !

    ReplyDelete
  2. यो राजनीतिका कुरामा त केहि भन्न पनि दिक्क लागिसक्यो दाइ मलाई त अब...खोइ के चैँ भन्नु र !!

    ReplyDelete
  3. खै ! के भन्ने ?
    तपाइले "माखो नमार्नेले सिकार गर्ने ठूलै जाल बोके जस्तै..." भन्ने शब्द प्रयोग गर्नु भएको छ । मलाईपनि यो सबै बोकालाई दाँई गर्न लगाईएको भान परेको छ।

    हुन त गोरु र बोका छुट्टाउन नसक्ने हामी पनि उत्तिक्कै दोषी छौं यो सबै प्रपञ्चको लागि ।

    ReplyDelete
  4. मलाई त यो सहमती भन्ने शब्दको गुप्ति रूपमा हामीले नबुझेको अर्कै अर्थ छ कि जस्तो पो लागेको छ धाईवाजी ! हाम्रो बुझाईमा पो फरक आएको हो कि ? देसै परिवर्तन गर्नेले शब्दको अर्थ पनि परिवर्तन पो गरे कि ! सोध्नु पर्ला जस्तो छ , हामी झुक्कियौं कि यीनिहरू झुकिए !

    ReplyDelete
  5. जे जे गरून् अव, सहमति गरे नि असहमति गरे नि हामीले के भन्नु छ र! संविधान चैँ वरू वेलैमा बनोस् भनेर मनमनै कामना गर्नु सिवाय अर्को उपाय देख्दिन म त ।

    ReplyDelete
  6. धाइबा जी , कति कुरा गर्ने यहि बिषयमा मात्र ,समाचार राजनिति , गफ राजनिति , कथा राजनिति , गीत , गजल कबिता सबै राजनीति त्यो भन्दा अरु बिषय नै नभए जस्तो भो हामीलाई ।चित्त दुख्नु स्वभाबिक छ तर सधैं हामी घाउ मात्र कोट्याइरहेछौं । हामी केहि समय यो बिलखबन्दको समय बाट टाढा भागेर केहि नयाँ खोज र चिन्तनको सिर्जना गरौं झैं लाग्छ मलाई चाहि आजभोलि सब चोर हुन थाहा छ फेरि हामी किन तिनैका पछि तिनलाई बिषयबस्तु बनाएर लेखिरहेछौं केहि समय आफ्नै तरिका को नयाँ नेपालको चिन्तन गरौं न राजनीतिका अनि यी चोरहरुका सबै कुरा बिर्सिएर ।

    ReplyDelete
  7. यो रडाको र चर्तिकला र दोषारोपणको बयान गरि साध्य छैन धाइबाजी, गहकिलो तर रमाइलो संग प्रस्तुत यो टासो पढेपछि, मैले पनि धेरै
    बेर सानै छँदा खेलेको रिसै उठ्ने खेल सम्झिरहें --- माछो माछो ----- भ्यागुतो ।
    जहिले पनि भ्यागुतो पर्ने यस्तो जाबो खेल ।

    ReplyDelete
  8. ई कुराहरु यस्तै रहेछन् भन्ने बुझे झैं भएको छु म त ।

    ReplyDelete
  9. खै के खै के ... एकातिर फुस्किए पनि अर्को तिर फेरी गाँठो पर्छ | यो फन्दा बुझीनसक्नुको छ |

    ReplyDelete
  10. असहमति मा पनि सहमति र सहमति मा पनि असहमति त हुने नै भो नि धाइबा... दिक्क मान्नु भएन.. निकास त जसरि नि खोज्ने परो नि गाठे

    ReplyDelete