Subscribe:

Ads 468x60px

03 December 2009

महिनाको फोटो : "सडकका सरकार"

राजधानी काठमाडौँको सडक - राजनीतिक रफुचक्करका जुलुस-धर्ना आदिले गाँजेको, खुद्रा व्यापारका ट्याउँट्याउँले मनपरी बिथोलेको, 'बन्ध्याकरण'बिनाका सवारीसाधनको ओइरोले जाम-संस्कृतिबाट हुर्किँदै गरेको !

सडक खासमा त गन्तव्यतर्फ डोर्‍याउने खुला ढोका हो, खुल्नुपर्ने हो, हिँड्न पाइनुपर्ने हो । तर आधुनिक नेपालमा सडकले मुश्किलले आफ्नो त्यो परिचयअनुसार सेवा दिन पाएको छ, विभिन्न बहानामा सडक थुन्ने जमात बढ्दो छ । अनेकौँ ठाउँका अनेकौँ मनस्थिति भएका टाउकाहरूको भीडलाई सडकले नै बढ्ता बोझ महसुस गर्ला ।


यस्तै सडकका साक्षी छन् सडकपेटीमा दिनरात काट्ने बालबाला । केही न केहीको टुङ्गो छ उनीहरूलाई, र पनि नि:मग्न बाँचिरहेछन् । 'आकाशको छाना, धरतीको बिछ्‌यौना'को उखान यिनको जीवनमा सही साबित भएको छ । सडकलाई आफ्नो स्वार्थअनुरूप खेलाउने अनेकौँ मुखुण्डोधारीबाट कतिविघ्न आहत हुँदा हुन् यी । सडकको फुटपाथ भएर हिँड्ने सहरका भलादमीमध्ये कतिजनाले बोलीचालीसम्ममा भए पनि यिनीहरूसँग राम्रो व्यवहार गर्लान्, त्यो त यो बेफुर्सदी समयको रफ्तारमा हेलिएकाहरूको मनले आफैँजवाफ देला । तर सडकमै उठबस गरेर बालापन व्यतीत गर्ने यिनीहरूको छिमेकी, साथी, प्रेमी वा प्रेमिका भन्नु सबै एकआपसबाहेक कुकुर नै हुनेगरेको देखिन्छ । सिरानी बनेर पल्टिने कुकुरहरूले यी सडकका सरकारका टाउकाको भार सहँदै कुइँकुइँ गरेर भए पनि साथ दिएको दृश्य निकै आत्मीय लाग्छ ।


सँगैको तस्बिर  ठमेलस्थित सञ्चयकोष भवनअघि खिचिएको हो ।

टहलिने फुर्सद मिलेर एक दिन ठमेलतिर बरालिँदै थिएँ, मनमौजी धुनमा सडकपेटीमा ज्यान छरेर मस्ती मानिरहेका एक झुन्ड सडक-बालकहरू देखेपछि क्यामरा ताकेँ छेवैनिर पुगेर । खिच्न सुरु मात्र के गरेको थिएँ, तीमध्येको एउटा टाठो लाग्ने केटो दरफराउँदै उठेर औँला तेर्स्याउँदै मतिर आयो (हेर्नुस् क्रमश: १, २, ३ पोजका तस्बिर । औँला ताक्दै मलाई सावधान गराइरहेछ ऊ !) । "ओ दाइ, हाम्रो फोटो खिचेको ? खै पैसा दिनुस् खुरुक्क ! फोटो खिचेको पैसा लाग्छ", ऊ हक्की स्वरमा मलाई आफ्नो मुलुकमा घुस्न आइपुगेको अनागरिकलाई झैँ केरकार गर्न थाल्यो । अकस्मात् भएको त्यो घटनादेखि जिल्लिएँ म ।

फोटो खिचेको पैसा माग्नु तिनको संस्कार बनिसकेको बारे भेउ पाउनु कुनै परको कुरो थिएन । खासगरी, गरिबीको मारमा पिल्सिएको तथा निम्नकोटिको 'नमूना र दुर्लभ' जीवन सदृश्य क्यामेरामा उतारेर कमाइ खाने भाँडो बनाउने राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय गैरसरकारी संस्था तथा विदेशी पर्यटकले फोटो खिचेवापत पैसा पाउने बानीको विकास गरे सडक बालबालिकामा । हुन पनि फोटोसामग्रीको प्रयोगबाट डलरको खोलो मुट्ठयाउने ती व्यक्ति एवम् संस्थाका लागि १०-२० रुपियाँ केटाकेटीका हातमा हालिदिनु मामुली कुरा हुने भइहाल्यो । फलस्वरुप बालबालिका चाहिँ फोटो कसैले खिच्ला र दाम असुलूँला भन्ने धुनमा सिकारी झैँ नजर बिछ्‌याउँदा भए । रुग्ण जीवन र अभावले डामेको दिनचर्यालाई डलरमा भजाउने र तिनको नाममा विभिन्न 'क्याम्पेन' थालेर तारे होटलमा 'स्याम्पेन'का बोतल चुस्क्याउने ती खेतीवाल फोटो खिचुवाहरूले ती अबोध बालबालाहरूको बसोबास र पढाइको उचित प्रबन्ध मिलाउनतिर नसक्ने थिएनन् होला । तर सडकबाट टिपेर बाल-बालालाई कतै व्यवस्थित जीवन दिएर थान्को लगाएमा त ती खेतीवालको जीविकाको मेलो नै सुक्छ ! तिनको शुभलाभ सडकमै सडक बालबालिका पिल्सिरहनुमा टिकेको छ ।


अर्कातिर, यी सडक बालबालिका आफैँ पनि सडकको अनुशासनहीन र निर्बन्ध जीवन छोडेर पढ्ने र भविष्य बनाउने नाममा कुनै शिविर र आश्रममा जान चाहँदैनन् । यस्ता बाल-बालामध्ये कतिपय त स्वतन्त्रता र मनमानी भोग्न पाउने धुनमा छँदाखाँदाको घर छाडेर विभिन्न जिल्लाबाट सहरी क्षेत्रतिर ओइरिनेहरू पनि छन् । तिनको लागि सडक नै स्वर्ग । कुनै एनजीओ-आइएनजीओले यिनको उद्धार गरेर कतै लगिहालेछ भने पनि प्लास्टिकभित्र 'डेनड्राइट' नामको गमलाई नशालु पदार्थको रूपमा फुक्दै सुँघ्ने मस्ती चटक्क भुलेर त्यहाँ रत्तिन सक्ने छैनन् ती । यसको लागि कुनै ठूलै पहलकदमीको खाँचो देखिन्छ सडक बालबालिकालाई नयाँ जीवन दिन । नत्र यसरी ओझेलै ओझेलमा एकथरी भावी पुस्ता बाँचीबाँची मृत्युको आहारा बनिरहनेछन् ।

फोटो खिचेबापत मैले पैसा नदिएको झोंकमा उसले मेरो कमिजको खल्तीबाट छ्‌यात्त थुतेर बल पेन लग्यो । ऊ यतिमै खुसी देखियो । कारण म डलर खेलाउने खेतीवाल फोटो खिचुवा तथा 'खैरे दाइ' त थिइनँ, यसभन्दा बढ्ता आशा उसले सायद गर्न सकेन मबाट । त्यसरी कलम खोसेर उसले के गर्‍यो होला ? ऊसँग लेख्‍नलाई कागज थियो होला ? उसलाई लेखपढ गर्न आउँथ्यो त ?

त्यसो भए खोसेको कलम सुम्सुम्याउँदै उसले कुनै कविता पो लेख्यो कि ?

13 comments:

  1. खै, कन्टेन्ट अनुसार को शिर्षक चाँहि मलाई चित्त बुझेन है ! हुन त सबै को आ-आफ्नै परसेप्सन हो, यही कुरालाई हेर्ने ।

    एनजिओ, आइएनजिओ नभा'का हैनन्, डलर कुम्ल्याउँछन्, केही स्याम्पल बटुलेर उद्दार गरेको देखाउँछन् । हुन त तपाईले भोग्नुभएको कुरा, प्राय: सबैले भोगिरहेकै हुन्छन् । साना साना फुच्चाहरु पनि, क्यामेरा देख्ने बित्तिकै उत्तेजित भइहाल्छन्, पैसो मागिहाल्छन् । यो समस्या समाधान गर्न जरो नै पहिल्याउनु जरुरी छ ।

    ReplyDelete
  2. के गर्नु यसै गरी पत्रिका वा बल्गका सुन्दर शिर्षक बा क्यामरामा कैद हासोँका पात्र भन्दा के नै बन्न सक्छन् र यीनीहरु। कस्ले सोच्ने कयौ आईस्टाईनहरु र न्युटनहरु यसरी सडकमा बसेका छन् भनेर। तपाईले केही त उठाउनु भयो यिनिहरुका सम्स्याहरु। सरकार भन्दा पनि सडक सरोकार वाला हुन यिनिहरु। धन्यवाद तपाईको बिचारको लागि। दु:ख लाग्यो पढ्दा।

    ReplyDelete
  3. खै यस्ता कुरा हामीले लेखेर अनि पढेर के नै होला र? जसले देख्नुपर्ने हो, जसले सुन्नुपर्ने हो तिनीहरू त मस्त होलान् आफ्नै संसारमा..
    पाठककोरूपमा लेख मनपर्यो मलाई । तर एउटा निरिह पाठक माने आफुले आफैलाई...पढ्ने अनि दुई चारवटा फुस्रा कुरा लेखिदिने....

    ReplyDelete
  4. हुनत सरकारले बालबालिकाका निमित्त अरबैँ पैसा बजेटमा फुक्छ त्यो पैसा कहाँ जान्छ ????
    साना साना फुच्चाहरु पनि, क्यामेरा देख्ने बित्तिकै उत्तेजित भइहाल्छन्, पैसो मागिहाल्छन्, मैले पनि एक पल्ट भोगेको छु, झण्डै म नांगिएको , फोटो खिच्दा समालिएर अनि साथिभाइहरू संग ग्रुप मा गए मात्र सकिन्छ फोटो खिच्न, नत्र.......

    ReplyDelete
  5. मन बिझाउने लेख ...
    लेखेन उसले कुनै कविता ... त्यही पनि बेचेर नशालु गम किन्ने पैसा जोर्दैछ उ, यो सडकले दिएको संस्कृति हो, पुनर्स्थापना वा उद्धार कार्यक्रमले जे गरे पनि देशको समग्र विकास र चेतनाको अभिवृद्धि नभए सम्म समस्या उस्तै हो । ...र यस्तै पाराले त्यसको लागि अझ कति जुग पर्खनु पर्ने हो, दैव जानुन ।

    ReplyDelete
  6. काठमाण्डौको सडक, सडकका सवारी र सडक पेटीका ई बालबालिकाहरुलाई यहि थेत्तरो काठमाण्डौले बिगारेको हो । तपाईंको लेखले साँच्चै मन बिझायो ।

    ReplyDelete
  7. कस्तो विडम्बना! 'आकाशको छाना, धरतीको बिछ्‌यौना' भए पनि आफ्नै मनमौजीमा रमाइरहेका छन् ती बालकहरु अनि कसैलाई डलर फलाउने माध्यम भैरहेका छन्। हुनत यो डलरको खेती पनि गजबकै हुने रहेछ। उदाहरणका लागि केही समय अगाडि देखियो नि, राउटेहरुलाई समाजमा स्थापित गरेर होइन, जंगली अवस्थामै राखेर पो फल्ने रहेछ डलर।

    ReplyDelete
  8. धाइबा जी, कहिले पनि यस्ता डाँकाहरुको चित्त बुझ्दैन । जति खाएँ पनि खान मन लागि रहन्छ यिनीहरुलाई ।

    ReplyDelete
  9. धेरै पछी नै भएपनि धाईबा जी को बेजोड कलममा रमाउने अवसर प्राप्त भएको छ। यो अवसरलाई तिब्र बनाउने अपेक्षा राख्दछु। प्रस्तुत बिषयमा न त सरकार नै गम्भीर छ न त सडकमा रमाएर स्वछन्द चरा चै बतासिएर रमाउने बालबालिकाले नै घरको छानो लाई आत्मसात गर्न सकेका छन। जबसम्म शिक्षा र सु-सस्कारको जरोले लहराउने मौका पाउने छैन यी बालबालिकामा, तबसम्म समस्या उस्तै रहिरहने छ जस्तो लाग्छ। पृथक बिषयलाई निम्त्याउनु भएकोमा धन्यबाद ।

    ReplyDelete
  10. साह्रै मन छुने टाँसो राख्नुभयो। ब्यक्तिगत रुपमा मलाई पनि सधैं झस्काईरहने कुरा हो यो। सडक बालबालिकाका लागि साँच्चै सोचेर कसैले पनि गरेको छैन। रोग पूरै निदान भयो भने त्यहि रोगको निहुँ पारेर कमाउने मौका सिद्धिन्छ भनेरनै होला, नत्र यिनै बालबालिकाको नाममा करोडौं भित्रिसक्यो देशमा।
    हामी नेपाली पूरै संवेदनाहीन बन्दै गईरहेका छौं। यस्ता बच्चाहरु तिरष्कार र घृणाका पात्रमात्रै बनेका छन् अझै सम्म।
    एउटा सशक्त र प्रणालीबद्ध अभियानको जरुरत छ, सडक बालबालिकाहरुलाई समाजमा पुनर्स्थापना गर्न र सक्षम वयष्कको रुपमा विकास गर्न।

    त्यो अभियान थोरै पैसामा चल्न सक्छ तर समर्पित संवेदनशील मान्छेहरुको एउटा समूह भने अति आवश्यक छ।

    ReplyDelete
  11. निकै मार्मिक बिषयलाई लिएर लेख्नुभएको छ र माथिका प्रतिक्रियाहरुमा नै भन्नुपर्ने कुरा पर्याप्त भैसकेका रहेछन् |

    ReplyDelete
  12. दुइ हप्ता अगाडी नै पोष्ट देखे पढे नि ...सोचेर लेख्ने भन्दा भन्दै येत्रो दिन बितेछ |

    एकदम गम्भीर बिषयमा लेख्नु भएको छ | अन्तीम वाक्यले सम्पूर्ण बास्तबिकता लाई उदांगो बनाएको छ | शायद यो मामिलामा डलरले नै सबैथोक बिगारेको होला | सडकमा यी बालबालिकाले सशक्त सरकार र नेपाल सरकार दुबैको जस्तो स्थितिको प्रतिनिधित्व गर्छन |

    धाईबाजीका यस्ता बेजोड लेख चाँडो चाँडो पढ्न पाउँ

    ReplyDelete
  13. केहि समय पहिला मैले नि street kids को बारेमा कुरा उठाएको थिए ।

    http://ametya.wordpress.com/2008/01/09/someone-is-saying-smthing-are-we-able-to-hear-that/

    Someone ( खाते बालक ) saying something ..are we able to hear that ??? भनेर । कुरो गरेर मात्र के गर्ने धाइबा जी, केहि गरौ न त भनौ भने आफ्नै कन्त बिजोक छ ।

    By the way ..Dhaiba Ji, I left wordpress and came to blogspot ...hope u ll add my new url in ur blog list .. I have added u ....

    www.ametya.blogspot.com

    ReplyDelete