January 31, 2009

....बाध्यताको प्रवासमा

गीत म लेख्दै लेख्दिनँ । पटक्कै जान्दिनँ । तर कसोकसो मन भने तडपनमा हुन्छ, आफ्नै भाव र भाकामा गुनगुनाउँदै हिँड्न । सडकमा मोटरहरूकै रफ्तारमा ओठ फरफराइरहेको म आफैँलाई धेरैजसो पत्तो हुन्न । र पनि, न त गीतको सिद्धान्त नै थाहा छ, न त त्यो अज्ञानता मेट्न सिद्धान्तको रटानमा पस्ने जाँगर नै छ । त्यसो त सिद्धान्त जान्दैमा गीतरचनामा आँधीबेहरी उराल्न सकिन्छ भन्ने पनि होइन । रचनागत अभ्यास बढ्दै गएर पछि त्यही धार र शैली सिद्धान्तमा स्थापित भएका उदाहरण पनि छन् । गद्यात्मक बान्कीमा टेढामेढा लम्बाईमा उनिएका साहित्यिक मूल्य बोक्ने कतिपय कविता गायनमा प्रयोग पनि गरिएका छन् । त्यसलाई सङ्गीतमा कसरी ढालिन्छ भन्ने महत्वपूर्ण कुरा हो । तर भएका शैली र सिद्धान्तबारे आधारभूत जानकारी भने राखेरै थप पाइला बढाउनु उचित हुन्छ । नत्र विधागत पाटोमै थामिनसक्नु र बुझिनसक्नुको अराजकता आउँछ र कुन साहित्य हो, कुन लम्बेतान घोषणापत्र हो खुट्याउन सकिन्न । भेद पनि रहँदैन । म पनि अरूका छाँटकाँट हेरेर परिष्कारको बाटो पैल्याउनमा सहजता देख्छु ।

प्रस्तुत गीत मेरा छिपछिपे गीतियात्राको गोटागोटी सङ्कलनबाट लिएको हुँ । आफ्नो विरह यसरी हरफहरूमा बिसाउँदा, अरूका विरह समभावले हेरेर यसमै मिसाउँदा प्राप्‍त हुने आनन्द जस्तो अरू के छ र ? यही मेरो आनन्दी मन बाँड्न मन लाग्यो ।


ड्न खोज्छ मनचरी खुला आफ्नै आकाशमा
रूमलिँदै बस्नु पर्‍यो बाध्यताको प्रवासमा ।

घरै फर्की जाऊँ भने सपनाले रेट्छ आँखा
वारि भित्ता सम्याउँदा चिरा पर्छ पारि पाखा
जिन्दगीको सबै हिसाब मिल्छ भन्ने आभासमा
रूमलिँदै बस्नु पर्‍यो बाध्यताको प्रवासमा ।

बसिराख्छ सम्झनामा त्यही सानो सुन्दर बस्ती
बिरानो यो स्वर्गभन्दा रमाइलो हिजो-अस्ति
हुर्रिएर जान्छ यो मन स्वदेशकै बतासमा
रूमलिँदै बस्नु पर्‍यो बाध्यताको प्रवासमा ।

- चैत्र ३, २०६३ नक्साल ।

January 25, 2009

शङ्कर लामिछाने : आजको सन्दर्भमा

-------------------------------------------------
सन्दर्भ : ३३ औँ वार्षिक पुण्य तिथि, माघ १० गते
-------------------------------------------------

'मलाई लाग्दछ, म सामयिक छैनँ ! सामयिक हुनु आसाहित्यकपन अपनाउनु हो । आजको नेपालमा मान्छे सामयिक हुन सक्दैन । १०० वर्षको प्रगति १० वर्षमा परिपूर्ण गर्ने सङ्कल्पमा हामी छौँ ।'
२०२४ सालको मदन पुरस्कार जित्ने निबन्धकृति 'एब्स्ट्रयाक्ट चिन्तन प्याज'को भूमिकामा शङ्करको कथन । यसबाट देखिन्छ, विश्‍वसाहित्यको भण्डार खोतल्ने, नेपाली साहित्यमा प्रयोगशीलताको दृष्टि उघारिराख्‍ने र साहित्य-सिर्जनामा सङ्गति मिलाउँदा मिलाउँदै पनि निजी जीवनयापनमा भने विसङ्गत बाँचेका शङ्कर हतारको यात्रामा थिए । भनाइमा जस्तै उनी सामयिकतामा अँटाएनन् । समयभन्दा एक मोडअगाडि नेपाली भूगोलको साँगुरो सीमामा जन्मिएर शङ्कर जस्ता कैयन् प्रतिभा उचित इज्जत र मूल्यबोधको अभावमा अलपत्र परेका हुन सक्छन् । सायद असामयिक भएकैले उनी भौतिक अनुपस्थितिको ३३ वर्षपछि पनि आजको पाठकीय अदालतमा चेतनशील बहस तताइरहेछन् ।

नेपाली साहित्यको समकालीन धारमा कम लेखिने र पढिने विधामध्येमा गणना हुने निबन्ध विधालाई आफ्नो जमानामा गतिशील वेगमा हाँक्ने शङ्करको छवि बौद्धिक जमातमाझ चल्तापूर्जा रहृयो । त्यस शङ्कर-युगमा साहित्यप्रति मानिसहरूको आकर्षण र झुकावलाई अहिलेको ग्लामरस सिनेसंसारप्रति मानवीय चाखसँग एकाकार गरेर हेर्न सकिन्छ । प्रविधिको अविकसित अवस्था र सञ्चारका सीमित विकल्प भएकाले त्यसबेलाको समाजको निकटता तुलनात्मक रूपमा सुलभ पुस्तक-पत्रिकातिर एकोहोरिनु स्वाभाविकै थियो ।

फलस्वरूप, राणाकालीन नेपाल र त्यसपछिको केही समय साहित्य-संस्कृतिकै सेरोफेरो मानिसहरूको मनोरञ्जन एवम् बौद्धिक साहचर्यको साझा केन्द्र बन्यो । त्यही कालखण्डमा विशेष गरेर सम्वत् २०१९ देखि २४ सालसम्मको अत्यन्त उर्वर रचनाकालमा निबन्धकार शङ्कर लामिछानेले आफ्नो सिर्जनाकर्ममा नौलो-नौलो प्रयोगको धरातलमा पाठकलाई कायल पारिरहे । कृतिगत रूपमा एब्स्ट्रयाक्ट चिन्तन प्याज, गोधूलि संसार, विम्ब प्रतिविम्ब निबन्धसँगालोसँगै गौँथलीको गुँड कथासँगालोका स्रष्टा शङ्करको जीवन र सिर्जनायात्राले आजका नेपाली लेखकको हकमा पनि निकै तादात्म्यता राख्छ । नेपाली साहित्यको वर्तमान सन्दर्भमा पनि उनको कृतित्व-व्यक्तित्वको आयाम सामयिक बनेको देखिन्छ । अझै पनि लेखकहरू लेखनबाट जीविकाको मेलो खनीखोस्री गरिरहेकै छन् र नसकेर साहित्यलाई सेवा नै मान्न विवश छन् । नेपालमा साहित्यिक लेखनीको उत्साहजनक बजार-परिणाम पुस्तकाकार एकाध नामको प्रसङ्गमा सुन्नमा आउँदा वाह गजब भयो भनेर दङ्ग पर्नुपर्ने अवस्था छ । शङ्कर आफ्नो जमानामा साहित्यलाई पेसा बनाएर जिउन खोजेका हुन्, पारिश्रमिक नदिने पत्रिकामा लेख दिन अनकनाउँथे । आजका लेखकहरू पनि पारिश्रमिकको लागि पत्रिकाको कार्यालय-ढोकामा मुग्ध मनले पुग्न पाएका छैनन् । फरक पेसा नअँगाली साहित्य नै लेखेर जिउँछु भन्नेलाई अपवादमा बाहेक साहित्य पेसा बन्न सकेको छैन । साहित्यिक पत्रिकाहरू आफैँ चन्दा माग्ने हविगतमा देखिन्छन् । विसङ्गतिमा अभ्यस्त भएर बाँच्नु नै अधिकांशको जीवनको सङ्गति बनिरहेको छ ।

कतै कुतकुत्याउने चमत्कारिक गद्यको रन्कोले, कतै विवादग्रस्त लेखनप्रसङ्गले उनी आफ्नो समयमा चर्चाको बीचैबीच रहिरहे । दैनिक जीवनयापनका नगन्य वस्तुस्थितिलाई लिएर निबन्धको उठान गर्ने उनी त्यसैबाट विविध विसङ्गत चक्रमा जेलिएको मानवजीवन र विश्‍वपरिवेशको गहन यथार्थ खोतल्ने सामर्थ्य राख्थे । अध्ययनशीलतालाई लेखकीय जीवनको अक्सिजन मान्ने शङ्करले विश्वसाहित्यको अध्ययनबाट कमाएको प्रभावलाई नेपाली साहित्यमा प्रयोगशील विशिष्ट रचना दिएर परिपूर्ति गरे ।

विश्‍वसाहित्यको अध्ययनप्रति उनको झ्याङ्गिदो मोहनीको नतीजा उनले साहित्यिक चोरीको आरोप पनि झेल्नुपर्‍यो । गुप्‍त नाममा लेखिएको पत्रव्यहोरामा एक पाठिकाले चोरीको सन्दर्भ किट्दै साहित्यबाट शङ्करको सन्न्यासलाई बाटो खोलिदिइन् । र यस आरोपमा उनले रत्तिभर ढाकछोप नगरी एउटा लेखकमा हुनैपर्ने गुण संवेदनशीलतालाई प्रमाणित गर्दै २०२९ सालमा इमानदारीपूर्वक स्वीकारोक्ति जनाए- 'नेपाली साहित्यलाई तपाईँ जस्तो पाठकको जागरुकताको खाँचो छ, यो भएन भने मजस्ता मानिसले बीचबीचमा बदमासी गर्ने सम्भावना हुन्छ ।' यसरी उनको पाठकप्रतिको श्रद्धा र मूल्यवत्ताको भावना कतिसम्म उच्च रहेछ भनेर हामी बुझ्न सक्छौँ ।

शीघ्र काम र शीघ्र परिणामको भोको आधुनिक यान्त्रिक समयमा नेपाली निबन्धको बाटुलो घरमा सर्जकहरूको उदासीनता र लगनको कमीले पस्ने ढोका र निस्किने ढोका बन्दसमान देखिन्छन् । गद्यको लेखनमा एकाग्रता र धैर्यता आजको युवा पुस्तामा त झन् गुम भएझैँ लाग्छ । विधागत रूपमा सबै किसिमका लेखनमा गाह्रा-साँगुरा र प्राविधिक कठिनता आफ्नो ठाउँमा छ, तर समग्र साहित्यको विस्तारका लागि लघु बनोटका रचनाको फन्को मार्नाले मात्र अबको दायित्व पूरा हुने देखिँछैन । लेखनलाई साधना र श्रद्धा नबनाउने यात्राले ऐतिहासिक मूल्य कसरी पो राख्ला - महाकविको 'लक्ष्मी निबन्ध सङ्ग्रह'को लहरा ओल्टापल्टा पार्दै र शङ्करको 'प्याज'का पत्रहरू उप्काउँदैमा आजको साहित्यिक गतिधारा व्यस्त बनिरहेको छ । आफैँ देखिने प्रतिभाभन्दा बलजफ्ती देखाउने हतारो छ । शङ्करले भनेझैँ १०० वर्षको प्रगति १० वर्षमा परिपूर्ण गर्ने हाम्रो सङ्कल्प समयकै तालमा ताल जनाएर साकार हुने होइन । यसको लागि हामी असामयिक नै हुनुपर्ने हो कि ? अलि दृष्टि उघारेर ? विगतका शङ्कर जस्ता धरोहरहरूको कालजयी कृतिले आज भनिरहेझैँ लाग्छ- थोरै गर, उधुमै खाले अर्थपूर्ण गर । चाहे त्यो आफ्नै लागि गरेको किन नहोस्, मन लगाएर अघि बढाऊ !

January 19, 2009

ढुङ्गे युगको बेला

विश्‍वव्यापी आर्थिक मन्दी, उखरमाउलो खाद्य सङ्कटको पिल्साइ, इन्धन तथा हरेक वस्तुपदार्थको सीमित भण्डार, सीमित भूमि र असीमित एवम् बढ्दो जनसङ्ख्याको चाप । यावत् वस्तुस्थितिको गोलमटोल रहेको आजको घडीलाई भोग्दा/हेर्दा लाग्छ, कतै यो सिङ्गो मानवसभ्यता ढुङ्गे युगतिर फर्किने क्रममा त छैन ? हाम्रै नेपालको कुरा गर्ने हो भने पनि (चाहे यस्तो हुनुमा हाम्रै योजनाहीनता र अदक्षताले काम गरेको किन नहोस् !) विद्युत्‌ ऊर्जाबाट हामी बिस्तारै टुकीमाराको धिपधिपे कालखण्डतिर मोडिँदैछौँ । कतै ढुङ्गे युगतिर प्रस्थानको नेतृत्त्व हामी नेपालीले नै त गर्न थालेको होइन ? यसो हो भने त अरु केही कुरामा नभए पनि एउटामा त हाम्रो अगुवाइ साबित हुनेछ ।

ऊर्जाविहीन ढुङ्गे युगीन सभ्यतालाई बिर्साउने (भनौँ सम्झाउने) भाँतीमा सलादको नाममा काँचोकचिलो खुराकतिर हामी धेरै पहिलेदेखि मोडिइसक्यौँ । विशेषत: नेपालजस्तो 'विकासोन्मूख मुलुक'को हकमा, बजार क्षेत्रमा खुला शौचालयको उदार अवधारणाअनुरूप जतासुकै हामीले बाटोछेउमै मलमूत्रत्यागलाई निरन्तरता दिएकै छौँ । लज्जा, नैतिकताको यस्तो दहन ढुङ्गे युगकै सरोकारविहीन सभ्यताको सिको नगरी कसरी पो सम्भव हुन्थ्यो र ?

हिन्दु धर्मग्रन्थमा आधारित भएर हेर्दा, विभिन्न युगको चक्र पार गर्दै अहिलेको कलियुग आएको हो । र यसपछि अर्को युग खुट्टा उचालेर बसेको छ । त्यसो त, वैज्ञानिकहरूले पृथ्वीको पनि निश्‍चित आयु भएको र एकदिन मानव समुदाय चन्द्रमा हुँदै मङ्गल ग्रहतिरको बसाइँमा जाने आकलन गरेका छन् । राजधानीका साहित्यिक जमघटहुँदी कुरा चल्दा साथीहरूबीच बेलाबेला बहस हुने गर्छ- 'पहिले लय र छन्दको बोलवालाले बौद्धिक सर्कललाई हाँकेको थियो, पछि मुक्तलय र गद्य बान्कीमा रुचि फैलियो र अब गजल आदितिर बहर-लयको कुराले उही पुरानै छन्द-समय आउँदैछ ।' हेरौँ, कुनै दिन हाम्रो पुच्छर उम्रिन थाल्यो भने त्यसैबेला स्वत: समयले ढुङ्गे युग सिद्ध गर्ने नै छ । अहिले चाहिँ ढुङ्गे युगको पृष्ठभूमिलाई लिएर मैले एक वर्षअघि लेखेको औंसत गजल नै पढौँ । यसबाट हामीलाई ढुङ्गे युगलाई स्विकार्न तयार हुन थोरै भए पनि 'आधार शिविर' खडा गरिदेला कि ???




हुन्न थियो लुगाफाटा ढुङ्गे युगको बेला

हातै हुन्थ्यो चम्चा-काँटा ढुङ्गे युगको बेला ।

न त आगो न त अन्न चापचुप भै खेप्थे,
थिए कि त मान्छे लाटा ढुङ्गे युगको बेला ।

लालाबाला रुवाएर कन्दमूल खोजीमा,
तय हुन्थ्यो लामा बाटा ढुङ्गे युगको बेला ।

जे छ मजा जिन्दगीमा जोगिनलाई मान्छे,
भुसुनालाई हान्थ्यो भाटा ढुङ्गे युगको बेला ।

हाँस्ने-रुने-हल्ला गर्ने भाषाको व्यापारमा,
केको नाफा केको घाटा ढुङ्गे युगको बेला ।


फेब्रुअरी ८, २००७ (बिहीबार)

January 17, 2009

गुनी लोहनी बित्दा

उनीदेखि थर्कमान हुन्थे डरपोकहरू । खासगरी उनका धारिला प्रश्‍नहरूको उनाइमा परेर धेरैचोटि भव्य व्यक्तित्व भएका मानिएकाहरू ऐया-आत्थुलाई बलात् लुकाउँदै कुटिल मुस्कानसहित झारा टार्ने ओठ घोलेर उम्किन खोज्थे । नीतिहरूमध्ये राजा मानिएको राजनीति र सामाजिक फाँटका जिम्मेवार आसनमा पिँध टेकाएका 'हाइ फिगरवाला'हरूको 'लो प्रोफाइल' उनको अन्तर्वार्ताको घानमा परेर फुतुफुतु निस्किन्थे । र पनि सकेसम्म तिनीहरू साखुल्ले बन्ने बहाना खोज्दै गला सफा गर्ने र विशिष्ट भावले कन्ने अभ्यासमा जुटिरहन्थे ।

अब त ती सब बहानाको पनि कुनै आवश्यकता रहेन । कारण, छुट्टै शैली र हक्की प्रस्तुतिबाट चर्चित बनेका टेलिभिजन प्रस्तोता इन्द्र लोहनी अब रहेनन् । देशको असुरक्षितबन्दो माहोलमा ज्यान हत्केलामा ढलपलाउँदै भए पनि जनतालाई सूसुचित बनाउने उत्तरदायित्त्व र पेशागत पाटो निर्वाह गर्दै आएका सञ्चारकर्मीहरूको लहरमा लोहनी मौन यात्री भएर निस्किए । शुक्रबारे साँझमा उनी राजधानीको वानेश्‍वरस्थित आफ्नै घरमा हृदयाघातका कारण बिते । टेलिभिजनमा चर्चित टक शो कार्यक्रम 'बहस' चलाउँदै आएका ४५ वर्षीय लोहनीका श्रीमती र दुई छोरी छन् । नेपाल ल क्याम्पसमा पढाउने क्रममा उनले आफ्नै विद्यार्थीसँग प्रेम सम्बन्धपछि विवाह गरेका थिए । आनीबानीमा उनी निद्राप्रेमी थिए, जहिल्यै धेरैभन्दा धेरै सुत्‍न मन पराउने । तर यसरी सुत्‍न मन पराउँदा पराउँदै उनी चिर निद्रामा पुग्नेछन् भन्ने अनुमान कसैलाई भएन । मूलघर तोपगाछि- झापा भएका उनले बार एशोसिएसनका सचिवका रुपमा पनि कार्यानुभव बटुलिसकेका थिए ।

यदाकदा रामशाहपथको बाटो हिँड्दै गर्दा बार एशोसिएसनसम्मुखको सडकपेटीमा लोहनी जगमगाउँदो ज्यानले फड्को मारिरहेका भेटिन्थे । उनीसँगको मेरो देखादेख त्यही एकाध पटक हो । उत्सुक आँखाहरूले 'ए ! यो मान्छे त टिभीमा कडा मिजासमा देखिने इन्द्र लोहनी पो त !' भन्ने भाँतीमा पछ्याउँदा उनका जोर आँखाहरू पनि कसोकसो सङ्कोच मान्दै ठोक्किन आइपुग्थे । नत्र आम समुदायसँग खास सोझो नाता त प्रस्तोता र दर्शकको रुपमा नै गाँसिएको थियो ।

कान्तिपुर टेलिभिजनमा बहस कार्यक्रमको प्रसारण हुनुअघि यसको बीज राष्ट्रिय प्रसारण माध्यम नेपाल टेलिभिजनमै रोपिएर ख्याति कमाएको थियो । पछि उनको निडर स्वभाव र हक्की प्रस्तुति नेपाल टेलिभिजनका चम्चागिरी व्यवस्थापनलाई पचेन सायद, सेन्सरको अनेक मारमा किचिएपछि कान्तिपुर टेलिभिजनमा कार्यक्रमले डेरा सर्‍यो । यद्यपि प्रसारणको व्यापकता नेपाल टेलिभिजनमा बढ्ता थियो, कार्यक्रमको मर्म भाँचभुँच पारेर जतिसुकै ठूलो फैलावटमा हावा-चाल बढाउनमा एउटा स्वतन्त्रताप्रेमी-स्वाभिमानी र न्यायप्रेमीको आत्माले कसरी पो अनुमति दिन्थ्यो र ? उनी कान्तिपुर बहसको प्लेटर्फममा तातो वार्ता लिएर हाजिर भइरहे । प्रश्‍नका सिस्नुझ्याम्टाले आमन्त्रित सरोकारवाला अतिथिहरूलाई कायल पारिरहे । सर्वसाधारण जनताको नाममा सत्यतथ्य ओकल्न र सफाइ दिन उनीहरू विवश बनिरहे । सूचना-जानकारीको विस्तारित आयामलाई आफ्नो मर्मअनुरुप पाएर जनता धन्य भइरहे ।

त्यस्ता मान्छे अब हामीमाझ छैनन् । विधिको शासन नभएको, दन्डहीनताको पूरापूर रजाइँ चलेको राज्यमा मिडियामार्फत ठूलाठालुहरूलाई नैतिक रूपमा पाता कस्ने एउटा मध्यस्थकर्ता नहुँदा कत्तिको फरक पर्छ, त्यो भय यतिखेर नेपाली नागरिकले पालेका नहोलान् र ? होला, उनलाई मन नपराउनेको ताँती पनि एउटा कित्तामा थियो होला, सडकलाई चिल्याउँछु भनेर गुडेको उपकरणले झारपातलाई त अवश्य ताछतुछ पारिहाल्छ । उनी त्यस्तै बिझाउने उपकरण थिए होलान्, जसका सवाल र चासोको घोप्टेभीरमा परेर धेरैजनाको तनमन सर्किएको-मर्किएको थियो होला । तर उनलाई नचिन्ने नबुझ्ने ज्यादै कम नेपाली छन्, टेलिभिजनको पहुँच पुगेका ठाउँमा ।

निधार दसमुजा बटारेर, प्रश्‍नलाई एक-एक शब्द गरी स्वागत गर्दै र पर्खिँदै निशाना चलाउने, फेरि बेलाबेला क्रस क्वेश्चनले चाबुक हान्ने, अन्तिममा विश्‍लेषणात्मक निष्कर्ष सुनाउँदै सधैँ झैँ 'जय होस्' अभिवादनात्मक थेगो बोल्दै बिदावारी हुने 'खरा लोहनी' (आत्मीय निकटता र लोकप्रियताको माझ चलनचल्तीमा टोल-बस्तीमा उनी यस्तै संज्ञाले पुकारिन्थे) लाई बिर्सनु हप्‍तैभरि मुश्किल पथ्र्यो । अन्तर्वार्ताकै क्रममा क्रस क्वेश्‍चनले बीचैमा कुरा काट्ने रुपमा उनलाई बौद्धिकहरू समेत अलि आलोचनाको दृष्टिले हेर्थे । तर उनकै भनाइमा त्यो बीचैको कुरा कटाइ अन्तर्वार्तालाई विषयबाहिर जान नदिने उनको प्रयास मात्र हुने गर्दथ्यो । स्थिर राजनीति कहिल्यै नफापेको नेपाली आँगनमा राजनीतिक जमघटहरूमा प्रसङ्ग निस्कनासाथै उनको टेलिभिजन टक शो कार्यक्रमले महत्वपूर्ण स्थान लिएको थियो । कानुन व्यवसायी भएको हिसाबमा पनि कार्यक्रममा उनले उठाएका सवाल र उनको कार्यक्रमको वजनलाई बढी आँक्ने जमात ज्यादा थियो ।

सम्झनामा आउँछ- कोशीको तटबन्ध भत्किएर पूर्वी नेपालको भूमिमा भयावह पखाला चल्दा उनले गरेको कार्यक्रम । उद्धारको लागि गएको नेपाली सेनाको हेलिकप्टरमा मिसिएर कार्यक्रम युनिटसहित गएका उनले कार्यक्रमसँगै उद्धार कायर्मा पनि तदारुकताका साथ भाग लिएका थिए । कतै पानीमा चोबलिएर त कतै हेलिकप्टरको ढोकाछेउ झुन्डिएर घरको छाना र भुइँमा गाडिएकाहरूलाई झुन्ड्याउँदै तानेर उनले बचाएको कैयौँ प्राणले पूर्वी नेपालमा आजसम्मन् पनि धन्य इन्द्र भनिरहेका होलान् । अरु जीवले मानवबाट कस्तो र कतिसम्मको हिंस्रक व्यवहार खेप्नुपर्छ, त्यसको यहाँ कुरा नगरौँ । एउटा मानव भएर अर्को मानवको प्राण बचाउनुको गुण लगाउनु जस्तो पुन्य कर्म अरु के होला ? नत्र, आज त सर्वत्र खुट्टा तान्ने र मार्ने लस्कर मात्रै छ मानव-समाजमा । सञ्चारकर्मी भएको हिसाबमा सूचना सम्प्रेषणको दायित्व त जोकसैले निर्वाह गर्ला, तर विपदमै पनि एउटा सञ्चारकर्मी त्यसरी मरिमेटेर खटेको विरलै देख्‍न-सुन्न पाइन्छ ।

उनी नेपालको लागि अपवादका हार्दिक अनुहार थिए । जो हत्तपत्त जन्मिहाल्ने पनि मलाई लाग्दैन, म त यतिसम्म भन्छु । त्यस्ता मान्छे यो मुलुकले अब कहाँ पाउने ? जो आफ्नै कर्तव्यमा खरा, वार कि पार सोच्ने र चिन्तनशील थिए । मृत्युपछि अक्सर मान्छे राम्रो रूपमा चर्चाको तला उक्लिन्छ, 'बरा गजबको थियो' भन्ने थेगो सुन्न पाइन्छ । तर इन्द्रजीलाई बाँच्दैखेरी पनि गजबको मान्छे सबैले भनेकै हुन् । नेपालको प्रजातान्त्रिक लहरमा महत्वपूर्ण भूमिका खेल्ने र सही सूचना मन्थनबाट नेपाली नागरिकमा अभियानकारी जनमत बनाउन सघाउने इन्द्र लोहनीलाई हाम्रो शब्द सुमन । आगामी दिनमा नेपाली आँगनमा न्याय र स्वतन्त्रताको उनको क्रियाशीलतामा हामी सबैको श्रद्धा र लगन नै उनको उँचो र साँचो श्रद्धाञ्जलि हुनेछ । उनकै शब्दमा- जय होस् !

तस्बिर: गुगल र दैनिकी डट कम
***************************************************************************

January 15, 2009

कालो चश्मा : 'Made in Nepal'

टोलटोलमा त्रासदीको छाया,
घरघरमा विरक्तिको घना धुवाँ,
व्यक्ति-व्यक्तिमा हैरानीको आवेग ।
सिङ्गो देश नै रनथन्याउने सङ्कटकाल !

अहिलेको नेपालको कथा र व्यथा यही हो । 'यहाँ के छैन सबथोक छ' भन्ने कवि भूपी शेरचनको मेरो चोक कविताको भावधारा झैँ परिदृश्य व्याप्‍त छ । देशमा हेर्दा के छैन र के चाहिँ छ त का बीचमा उत्तिकै टक्कर देखिन्छ । राजधानीको जीवन हेर्दा, कहिले जुलुश कहिले र्‍याली त कहिले सवारीसाधनकै विरोधका कारण जाम हुने अस्तव्यस्त सडक पनि छ । उता फोहोर उठाउने महानगरपालिकाका कामदारहरूका हडतालका कारण त्यही सडकमै हप्‍ता-दुई हप्‍तादेखि थुप्रिएको फोहोरको डङ्गुर पनि छ ।

विद्युत् सङ्कटकालले मुलुकको जसोतसो धानिएको प्राण हावा खुस्किएको बेलुनमा परिणत भएको मात्र छैन, त्यो बेलुन समग्र हिस्सामा छ्‌यान्द्रैछ्‌यान्द्रा चिरिँदै गएको छ । टाल्नुपर्ने कुरा एकबाट बढेर अनेक हुन पुगेको छ । निजी तथा सार्वजनिक विभिन्न कार्यालय, शिक्षण संस्था आदिका प्रशासनिक काममा अवरोधले बौद्धिक पाटो कति शिथिल र शून्यताबाट गुज्रिएला, यसको लेखाजोखा छैन । पाँच वर्षम्मको विद्युतीय सङ्कटको भविष्यवाणी यसैगरी कहाली लाग्दो रूपमा सामना गर्नु परिरहे के होला ? आर्थिक क्रान्तिको राग अलाप्ने 'क्रान्तिकारी सरकार' विद्युत् लोडसेडिङको छिर्के हनाइमा परेर नराम्रोसँग बल्ढ्याङ खाने छाँट देखिएको छ । लघु उद्यमदेखि ठूला कलकारखाना र औद्योगिक प्रतिष्ठान लगायतका बन्द-व्यापार, होटल व्यवसायमा लोडसेडिङको लोडले 'काम पुगेको' छ । एउटा- मैनबत्ती उद्योग चम्किएर त आर्थिक क्रान्ति हुँदैन । उद्योगहरूको सञ्चालन नियमित त परै जाओस् कतिपय ठाउँमा ठप्पप्रायः बनेको छ । प्रतिफलमा, दैनिक उपभोग्य वस्तुमा महँगीको उकालो लगातार चरम बन्दै गएको छ । सर्वसाधारण उपभोक्ताहरूले सोध्ने 'किन यस्तो ?' भन्ने प्रश्‍न नै अनावश्यक बन्न थालिसक्यो । 'लोडसेडिङले, फ्याक्ट्री नै चल्न पाउँदैन रे !' आदि रेडिमेड जवाफ व्यापारी-पसलेको मुखमा सुहाउँदो आभूषण बनेर झुन्डिइसक्यो ।

राष्ट्रपति-प्रधानमन्त्री-मन्त्री निवास र 'स्वायत्त सिंहदरवार प्रदेश' आदि विशेष ठाउँमा झिलझिलाकार बन्ने बत्ती अस्पताल, कारागारजस्ता अति संवेदनशील स्थानमा साइतअनुसार झुल्किन्छ । राज्यको आम रुपान्तरणको लागि गणतन्त्रले मात्र पुग्दैन, जनगणतन्त्र चाहिन्छ भन्दै दिनदहाडै एकपछि अर्को गर्दै लोकतान्त्रिक मूल्य-मान्यतामाथि हिंस्रक धङधङी वर्षाउने माओवादीले आफ्नो नेतृत्त्वको सरकारकै पालामा नेपाली घरदैलोमा ऐतिहासिक रूपले अन्धकारको प्याकेज पेश गर्‍यो । मुलुकमा विद्युत् सङ्कटकाल घोषणा गर्नु नै यिनको अग्रगामी छलाङ मान्नुपर्ला । विद्युत् ऊर्जा आज रोप्यो दुई-चार महिनामै बुरुरु फल्ने र परिमाण बढ्दै जाने च्याउ खेती होइन । बढ्दो जनसङ्ख्यासँगै यसको निरन्तर वृद्धि पनि आवश्यक हुन्छ । यसअघि नयाँ जलविद्युत् आयोजनाको चर्चा भईकन पनि उल्लेखनीय ठोस काम हुन नसक्नु हामीले आज मुलुकै पछुताउने प्रसङ्ग बन्यो । आज यति भुक्तमान खेपिसकेपछि पनि थप विद्युत् आयोजनाको लागि लगानीकर्ता/व्यवस्थापन आदिमा विशेष ताउरमाउर जनाउन सकिएन भने पुस्ता दरपुस्तामा यो पछुतोको लहरे खोकी सरुवा भइरहनेछ ।

तै जिम्मेवार पदमा बसेकाहरूको टाउको अन्धकारमय यस राष्ट्रिय समस्याका कारण दुखेको होला, यी नयाँहरूले त जनताको दुरावस्थाप्रति समभाव राख्लान् भन्ने सोचेको । त्यस्तो सोच्नु पनि हाम्रो अन्त्यहीन आशा मात्र रहेछ । महाभारतका नेत्रहीन धृतराष्ट्र झैँ सबै परिस्थितिदेखि सरोकारविहीन हाम्रा प्रधानमन्त्री आफ्नै जुँगे लडाइँको एकोहोरो भाका झिक्दै खुला सभामा के भन्छन् ? सुन्नुस्- 'वर्तमान सरकार विगतको सरकारको पुनरावृत्ति होइन, यो भिन्नैखाले परिस्थितिबाट बनेको सरकार हो । प्रतिक्रान्तिकारीहरूले सरकार ढाल्न खोजे त्यसको भोलिपल्ट ठूलो विद्रोह हुन्छ र सत्ता नेपाली जनताले कब्जा गर्नेछन् ।' यिनका नेपाली जनता वाइसीएल हुन् कि को हुन्, धेरै पहिलेदेखि बुझ्न गाह्रो परिरहेको विषय हो । वञ्जर जङ्गलबाट सुविधाभोगी महलको राजसी ठाँटबाँटमा तैरिएका माओवादीले आफूनेतृत्वको सरकारलाई पनि देश र जनताको विरहपूर्ण दैनिकीको सवालमा अन्धो र बहिरो तुल्याउँदै लगेको भान हुन्छ । पर्यटनलाई राज्यको एक प्रमुख आर्थिक स्रोत बताउने नयाँ सरकार यसको प्रवर्द्धनमा लाग्नुसाटो हप्‍ता-पन्ध्र दिनमा लोडसेडिङको नयाँ तालिका नेपाली जनको हातहातमा थमाउन विद्युत् प्राधिकरणलाई आशीर्वाद दिइरहेछ । मानौँ लोडसेडिङको यही तालिका नै हो सुदृढ नेपाल बनाउने उच्चस्तरीय खाका, जसलाई हरेक नेपालीले मन्त्र जस्तै जप्नु आजको आवश्यकता हो !

पर्यटक जस्तै सट्याकसुटुक गरी आउने बत्तीले चार्ज गर्ने मेलोमेसो र पर्याप्‍त समय पटक्कै नहुने अवस्थामा ब्याट्री र इन्भर्टरको कुरा छाडौँ, रातोदिन जेनेरेटरले कतिन्जेल धान्लान् मान्छेहरूले !? धन्न तेलजन्य इन्धनको यसवेला खडेरी छाएको छैन ! नत्र त इन्डियन आयल कर्पोरेसनको 'निगाह' नपाएको खण्डमा हाम्रो सरकारले अवश्य समग्र ऊर्जा सङ्कट घोषणाको पनि लाचारीपूर्वक दायित्व निर्वाह गर्नेथ्यो । हुनेले जेनेरेटर र ब्याट्रीको जोरजाम गरेर केही न केही उपाय अपनाउँलान्, तर ढोक्से-भकारीको चेप र भण्डारकोठाको ध्वाँसे कुनामा अर्पण गरिसकेको एक जमानाको लम्फा, ढिब्री र टुकीमारा आखिर तिनै सर्वसाधारण र सर्वहारालाई । गणतन्त्रको प्रज्वलित आँगनीमा हिजोआज जतासुकै 'यही हो बा नयाँ नेपाल !' भन्ने जोकतन्त्र खूबै फस्टाएको छ । फस्टाउनलाई अरू चिज रहृयो नै कहाँ र ?

१६ घन्टे लोडसेडिङ लागू हुने अघिल्लो साँझ शनिबार काठमाडौँको सडकमा लरखराउने जोसुकैले नागरिक जीवनका विचित्र रङहरू देख्‍न सक्थ्यो । सबैको ओठमा लोडसेडिङको लप्काले कलेँटी छुटाएको थियो । पुर्णरुपेण विद्युतीय माध्यमका पसलहरूः साइबर क्याफे, फोटोकपी सेन्टर सञ्चालकका निधारमा नपुरिने चाउरीका रेखा गहिरिँदै गएको देखिन्थ्यो । मुख्य चोक र सडकछेउ ढाड सेकाउने कोठाभाडा बुझाएर व्यवसाय गर्दै आएका तिनका घाउमा ग्राहकको सेवा शूल्कमा ५/७ रुपियाँ थप्दैमा मलम लाग्ला त ? बेलुकीपख पुरानो रुटिनअनुसार बत्ती निभ्नै लागेको बेलामा पुतलीसडकस्थित कुमारी ब्याङकसम्मुखको साइबरका सञ्चालक मित्र विद्युत् प्राधिकरणमा फोन सम्पर्क गरी भोलिपल्टको नयाँ रुटिन सोध्दै थिए- 'न्यू प्लाजा बाँसघारीमुन्तिरको लाइनमा भोलि कतिवेला बत्ती आउँछ ?' बत्ती कतिवेला जान्छ भन्ने हिसाब गर्दै आएका हामी आजकाल कतिवेला आउँछ भन्ने विवरण केलाउन लाग्दैछौँ । केटाकेटीमा किंवदन्ती झैँ चकित भावमा कुरा सुनिन्थ्यो- बाब्बै ! विदेशतिरका केटाकेटीहरू त हामीले टालाटुली बटुली खेले जस्तै गरी छिनमै कति सजिलै घडी र रेडियो पो बनाउँछन् रे त ! अहिले खाटमुनि बोरामा कोचिएको त्यही टालाटुली खोज्न पनि हामीकहाँ उज्यालोको उपाय छैन । तब हामी के पो बनाऔँला ? धन्य नेपाली जीवन !

जलस्रोतको दोस्रो धनी देश नेपाल (यो कुरा भट्याउँदा-भट्याउँदा कति थेत्तरो र हलुका बनेझैँ लाग्यो अब त !) मा पिउन लायक पर्याप्‍त पानी त छैन-छैन, नपिउने पानीलाई पनि सिँचाइ र बिजुली लगायतमा उपयोग गर्न सकिएको छैन । बिजुली नआएपछि जमिनमुनिको पानी सङ्कलन गर्ने कार्य पनि प्रभावित बन्नाले पानी सङ्कटले पनि राजधानीमा मुन्टो उठाएको छ । पानीको अभावमा महानगरवासी सडक-परिभ्रमणमा कामविशेषले वा टहलिन निस्किने क्रममा फुटपाथमा अमिलो-पिरो पानीपुरी खाएर चित्त बुझाउन बाध्य छन् । हुन सक्ने काम पनि हामीकहाँ हुनसकेको छैन । यो धेरै हदसम्म हामी नेपालीको सहनशीलताको परिणाम हो । जे-जस्तै होस् चाहिँदो कुरा र हक-अधिकारको सवालमा चाइँचुइँ छिरिक्कै नबोल्ने/नसक्ने अनि गाडीको पाङ्ग्रामुनि पिसिएर मुसा मर्‍यो भने चाहिँ लैनू भैँसी मरेको स्वर झिकी सडक अवरुद्ध पारेर क्षतिपूर्तिको लागि लाज पचाउँदै दाँत ङिच्याउने ! लोकतन्त्रको असली बहार यस्तै अराजकता मच्चाउने कुरामा आएको छ । नत्र त थर्काउनैपर्ने कुरामा विधि पुर्‍याएर, सडक नओगटी, अरू सर्वसाधारणको दैनिक जीवनयापनमा ठेस नपुग्ने गरी विरोध गर्न र दबाव दिन हामीलाई कहाँ आउँछ र ? अब हुँदाहुँदा स-सानो कुरामा समेत सडक नतताई कतै पनि सुनुवाई नहुने र कामकुरो नसुल्झिने लाठे संस्कार हाम्रै माझमा हुर्किइसक्यो ।

नेपालमा अपार वनसम्पदा (अब त त्यो 'हरियो वन नेपालको धन' उक्ति पनि नसुहाउला) छ, त्यसबाट प्राप्त जडिबुटी अध्ययन-पहिचान-वर्गीकरण गरी औषधिको रूपमा प्याकेजिङ गर्ने बृहत् उद्योग बनाउन नसक्ने हामी । नेपालमा बौद्धिकहरू (निश्चित राजनीतिक वादको पिछलग्गुलाई छाडेर) छन्, तिनको लागि मर्यादित प्रज्ञा प्रतिष्ठान बनाउन नसक्ने हामी । नेपालमा धावकहरू छन्, तिनलाई मनलाग्दी सिर्जनशील चाल चाल्नको लागि सफा र खुला सडक बनाउन नसक्ने हामी । नेपालमा पानी छ, त्यसलाई बिजुली बनाउन नसक्ने हामी । ....... तब हामी के पो बनाउन सकौँला ???

कालो चश्मा । हो सही हो, कालो चश्मा । पछिल्लो समयमा रत्तिने गरी पाएको धारावाहिक लोडसेडिङको आनीबानीबाट हामीले आविष्कारिक पक्ष पक्कै भेटाएका छौँ । लोडसेडिङको विकराल जालोले हाम्रो स्वप्निल आँखालाई थमाएको कालो चश्माकै पर्दा हो । बिजुली नहुँदा कामकाजी दैनिकीलाई तिलाञ्जलि दिएर सम्पूर्ण ऊर्जा र जाँगर सेलाउँदै कि त बेफ्वाँकमा टहलिन कि त कुवेलामै सिरकमा ओथारो बस्न हामी नागरिकले फुर्सद पाएका छौँ । यस्तोमा अन्धकाररुपी देशाटनमा हामी धपेडीमग्न छौँ । दृश्यावलीको अन्धकारसँगै निराशा र दिक्दारीको अँध्यारो पनि मिसिएको छ । कालो चश्मामा हामी अभ्यस्त हुँदै छौँ, यता हेर्‍यो यतै मैलो, उता हेर्‍यो उतै धमिलो । यस मानेमा कालो चश्मा हाम्रो संस्कृति नभई कसको हुन सक्छ ? हामी विश्‍वलाई यही कालो चश्मा आफ्नो आविष्कारिक वस्तुको रूपमा चिनाउन चाहन्छौँ । त्यसलाई लेवलसहित बजारमा ल्याउनमा हामीलाई कुनै आपत्ति र सङ्कोच छैन । नक्कल गरेको आरोप खेप्नुपर्ला भन्ने पीर पनि छैन, किनकि यो हाम्रो मौलिक रहनसहनको खोजी हो । अर्थात् कालो चश्मा- 'Made in Nepal'.
***************************************************************************

January 9, 2009

सन्दर्भमा 'हुतुतु ब्लग' र गजलको बिस्कुन

ज ब्लगिङबारे नै अन्तरङ्ग कुराकन्था गर्न मन लाग्यो ।

गजलमा आफ्नो पुन:जागरणबारे त गफ लाएकै हुँ, तर लेखिँदै सार्वजनिकीकरणको पालो पर्खिएर बसेका गजल पस्किन चाहिँ त्यत्तिकै भएछ । ब्लगको आँगनीमा गजलको देउसी-भैली खेल्न उत्रिनलाई हेक्का नरहेको होइन, ब्लगर एवम् अन्य पाठकमित्रबाट गाली-तालीको युगल भेटी पाएर खारिने मौका पाउँला भन्ने लोभ पनि छँदै थियो । तर एकताका ब्लगिङबारे खूब अन्तर्कियामा रहनुभएकी कुटीकी कैलाशजीले भनेको कुरा बेलाबेला सम्झिने रूटिनझैँ त्यसबेला पनि सम्झिएँ ।

कैलाशजी, जसलाई ब्लगको प्रविधिगत सिकाइको क्रममा एकाध प्रसङ्गमा ढाडस दिने रूपमा जोडिन आएका नाताले म गुरुआमा भन्न रुचाउँछु । नत्र त म आफ्नो ब्लग सुरुवातको पृष्ठभूमि कालमा नै आफूले निकट मान्दै आएका केही साथीको 'युनिकोड नेपाली' र ब्लगसम्बन्धी अन्य प्राविधिक कुराबारे 'हाउगुजी गफ'का कारण शिथिल भइसकेको थिएँ । आज मेरो यस शब्दसंसारमा जति पनि सहकर्मी साथीहरू जोडिन आउनुभएको छ, प्रारम्भमा कैलाशजीकै ब्लगमार्फत यता छिर्ने मेसो पाउनुभएको हो भन्ने खुलाउँदा मलाई सानो कुरा उठान गरे जस्तो पटक्कै लाग्दैन । बरू विशेष कृतज्ञताको भाव जाग्छ ।

उहाँले मेरो ब्लगिङको सुरुवातताका मैले एक पटकमा २-३ पोष्ट एकैचोटि Café मा ठेल्दा गुगल च्याटको क्रममा 'क्या हो यस्तो, हुतुतु ब्लग भएछ नि !' भनेर जिस्काउनुभयो । सुरुमा त म कुरा नबुझेर अलमलिएँ- बाब्बाऽऽ के रहेछ यो हुतुतु ब्लग भनेको ? नाम सुन्दैमा यस्तो चसक दिने कस्तो गजब होला त्यो हुतुतु ब्लग !? यस्तै कुराले दिमागको पल्ला खटखटायो । भरे त कुरा गर्दै जाँदा पो भेद खुल्यो, त्यो हुतुतु ब्लग त मेरै पो रहेछ ! पोष्टहरू खटाईखटाई अलिअलि गर्दै नराखी एकोहोरो तवरले ब्लगमा हुतुतु ठेलेकाले मेरो ब्लगको त्यस्तो न्वारान भएछ ।

मेरो हिसाब थियो- खुराकहरू एकैचोटि ब्लगमा खन्याएर तल-माथि क्रममा रहे पनि जिज्ञासु पाठकले खनीखोस्री गरेर त्यसको मज्जा उठाउने नै छन् । तर यान्त्रिक हतारोको आधुनिक परिवेशमा त्यस्तो कुरा व्यावहारिक नहुने रहेछ । र तबदेखि म ब्लगिङमा 'हुतुतुपन'देखि सम्हालिएर अघि बढ्न थालेँ । अचेल त कस्तो भने, हुतुतु त त्यही बेला नै छाडेकाले टरिहाल्यो, लेखेर तयारी अवस्थामा रहेका लेखसामग्री पनि कहिलेकाहीँ त अनेकौँ अड्चनले पोष्ट गर्न नपाएर/नभ्याएर/नसकेर ब्लग घिटिघिटीको अवस्थामा हुन्छ । कहाँको हुतुतु, कहाँको घिटीघिटी !

ब्लगबारे कुरा नै थालिसकेपछि अब अलि अन्य सन्दर्भ र अलि विस्तारमा बहकिनुपर्ला कि जस्तो लाग्यो । खुलेर भन्दा, ब्लगिङको कुरामा, कस्तो हुँदो रहेछ भने कतिपय संवेदनशील र महत्वपूर्ण विषय र प्रसङ्ग पनि उही सञ्जालमा गाँसिएका ब्लगर साथीसङ्गीले लेखिसकेपछि त्यसैत्यसै तृप्‍ति भरिएर आउँदो रहेछ । लेख्‍न मन हुँदाहुँदै पनि अन्तत: त्यसबारे लेख्‍ने खाँचो नै टरे जस्तो । अनि अर्कोतिर, उही विषयबारे धेरै जनाले लेख्‍दा त्यसलाई पढ्दै जाँदा कुन तिक्खर र कुन मत्थर भन्ने तुलनात्मक आँकडा पनि मनैमन अवश्‍य बन्छ कि जस्तो लाग्छ । आफैँमा दृष्टिकोण बनाएर दुई लेखाइबीच तुलनाको हिसाबकिताब नगर्दा पनि त्यस्तो स्वत: भइरहेको हुन्छ । अर्को कोणबाट हेर्दा एक किसिमको अघोषित प्रतिष्पर्धा नै भने हुन्छ यसलाई ।

त्यसो त व्यक्तिगत भावना र दृष्टिकोण स्वविवेकले जे-जस्तो लाग्छ स्वेच्छिक रूपमा पोखिने हिसाबमा ब्लगलाई 'आफ्नै हात- जगन्नाथ'को रूपमा पनि व्याख्या गर्न सकिएला । तर त्यति भन्दैमा ब्लगिङ यात्रामा पूर्णता अनि धर पनि त कहाँ पाइएला र !? स्वतन्त्रतासँगै दायित्व र भूमिकाको पाटो पनि हामी ब्लगरहरूले पक्कै बुझैकै छौँ र बुझिरहनुपर्छ पनि । कोही-कोही ब्लगर भने कतिपय परिस्थितिमा यस मुद्दामा चुकेको पाइन्छ । 'मेरो ब्लग हो, म यसमा के लेख्छु, कतिसम्म लेख्छु र किन लेख्छु भन्ने मेरो निजी कुरा हो', तिनीहरू असामाजिक तवरले फतफताउँछन् । आफ्ना लागि गरेको काम अरूको साथ र सम्मतिबाट पार नलाग्ने भएपछि त्यस कामले कस/कुन कुराको सम्मान गर्छ र कसको/कुन कुराको अपमान गर्छ, ख्याल गर्नैपर्ला । आत्मरतिकै उडान हो भने त किन प्रकाशनको पिरलो वित्थै ? डायरीमै कोर्‍यो-बस्यो, ब्लगको विश्‍वव्यापी पखेटामा फैलिनुको औचित्य नै के ?
व्यक्तिको स्वाधीनतासँगै सामाजिक अभिभाराको जोडी चाल पनि लस्किरहेको हुन्छ । कुनै विषयवस्तुबारे कोरिएको टिपोटले त्यस विषयवस्तुकै मानमर्द्धन र अवमूल्यन गर्‍यो भने के होला ? भाषिक शुद्धताको वकालत गर्दै लेखिएको किताब भाषिक अशुद्धिको घानमा पुरिए जस्तो ! र फेरि अर्कोतिर, बढाइँचढाइँ र मानहानि हुन्छ भन्दैमा राम्रो कुराको प्रशंसा र नराम्रो कुराको छेडखानी पनि नगरी बस्न मिल्दैन । शब्दमा जुन तीर सोझ्याए पनि शिष्टताको सीमालाई भने ख्याल गर्नैपर्ने । बडो चुनौतीको चेपैचेप हिँड्नुपर्ने हामीले । खासमा, ब्लगिङको यस्तो मन्त्र जीवनको हरेक पाटोमा लागू हुने देखिन्छ ।

र…… अझै पनि बेलाबेला त्यो हुतुतु प्रसङ्गमा रुमलिन पुग्छु । समय र वस्तुस्थितिको तालमेल नमिलाई पोष्टको ओइरो लगाउनाले मेरो ब्लग 'हुतुतु ब्लग' हुने सम्भावना अब नरहे पनि त्यो झस्काले भने छोपिरहन्छ । यसपाली पनि अन्य पोष्टको आलोपालो क्रम मिलाउँदा गजलको दैलो यतिखेर खुल्न जुर्‍यो ।
यो गजल अहिले नेपाली राजनीतिको शिखरमा हुर्मुरिएको, केही त गजब गरेर देखाउला र पिल्लिएको नेपाली घाउलाई सन्चो पार्ला भनेर भर परिएको, तर झन्-झन् भएको कुरा समेत निमोठनामाठ पारेर बेकार तुल्याउँदै गएको 'माउ पार्टी' (गाउँघरतिर जसलाई आठौँ दल भन्दा रहेछन्) को चेत केही त फिरोस् भन्ने सदिच्छासहित समग्र मुङ्ग्रे चरित्रको विरोधमा अर्पित छ ।




हेर ती आफैँलाई दनदनाउन थाले
कतिविघ्न रोगी रहेछन् गनाउन थाले ।



आफैँ ढाक्ने गरी अहो जुहारत लाएका,
शङ्कादेखि लुक्न खाडल खनाउन थाले ।



उज्यालोमा बदमासीको काम गाह्रो भो कि,
ठाउँ न बेला बत्ती झ्याप्प बनाउन थाले ।



मिठाइझैँ भयो माटो पाउमा चढाउन,
प्रभु सबलाई थपक्क मनाउन थाले ।



दुनियाँको व्यथापीरले कानै पाक्यो होला,
पर्खाल थप्न सहमति जनाउन थाले ।


पुस १०, ०६५ बिहीबार (नक्साल)


January 4, 2009

स्कूले ती दिनहरू

टिनको छानो हालिएको लामो एकतले भवन । अगाडि ठूलो चौर । केटाकेटीहरू यता र उता चक्कर मारिरहेका । लामो भवनको झन्डै बीच भागमा कक्षा १० को कोठा । केटाकेटीहरूको निश्छल हाँसो र कक्षामा सर नहुँदा अन्ताक्षरीमा गाएका गीतहरू । अनि जाडो छल्दै चौरको घाममा पलेँटी जमाएर पढिरहेका झुन्ड-झुन्ड विद्यार्थी ।

आज निकै याद आइरहेको छ मैले ९ र १० पढेको श्री रत्‍न मा. वि. । म दर्बेशाको रन्जनीमा छुइनँ, जहाँ त्यो स्कूल छ । म हिजो जस्तै आज पनि काठमाडौँमै छु । वर्षौँदेखि घरबाट टाढा काठमाडौँको यो रमझममा कुनै परिवर्तन आएको छैन । तर पनि मेरो मन एकनासले त्यही स्कूलको चौर, कक्षाकोठा र हामीले बिताएका क्षणको वरिपरि नाचिरहेको छ ।

याद नआओस् पनि किन ? संयोग त्यस्तै मिलिरहेको छ । झन्डै ८ वर्षपछि आज त्यो स्कूलमा सँगै पढ्ने केही साथीहरूसँग भेट भएको छ । हामी ठट्टामा भन्ने गर्छौँ- पृथ्वी गोलो छ, घुमिफिरी फेरिफेरि सबैको पालो आउँछ । जहाँसुकैको मानिससँग पनि भेट हुन्छ । आज त्यस्तै लागिरहेको छ । कहिल्यै नसोचेको कुरा, कहिल्यै कल्पनासम्म नगरेको कुरा ।

आठ कक्षाको परीक्षा दिएपछि म काठमाडौँबाट हजुरआमाको साथी हुन मोरङस्थित मेरो मूल घर दर्बेशा, रञ्जनी गएकी थिएँ । त्यसपछि म त्यहीँको श्री रत्न मा. वि.मा पढ्न थालेँ । आमा-बुबा काठमाडौँमै भएकाले एस्एल्‌सी परीक्षा दिनेबित्तिकै काठमाडौँ आएँ । काठमाडौँका स्कूल पढ्दाका अनि बाल क्लबका साथीहरूसँग नै मेरो समय बित्‍न थाल्यो । बिस्तारै पढाइको मेसो । स्कूल पढ्दाखेरिका पूर्वेली साथीहरूको याद नआएको पनि होइन, तर खै केले हो कुन्नि ती कुनै साथीसँग पनि भेटघाटको सुयोग नै जुरेन । तर आज कैयौँ वर्षपछि अकस्मात् ५ जना स्कूले साथीहरू (देवेन्द्र, केदार रमेश, चन्द्र अनि म) एकै ठाँउमा भेला भयौँ । हुन त हाम्रो भेटकालागि मैले नै सबैलाई फोन गरेर बोलाएकी थिएँ । तर, यसरी भेट होला अनि हामी फेरि त्यही स्कूल पढ्दाको झैँ निश्छल मन लिएर एकै ठाँउमा ठट्टा गरेर बसौँला भनेर कसैले पनि सोचेका रहेनछन् ।

उमेरसँगै जीविकाको सङ्घर्षमा हेलिनुपरेयताको अवस्थामा स्कूल छाडेको दशकजति लामो अवधिपछि सबैले सबैको अनुहार ठम्याउन पनि अलि गाह्रो नै थियो । आफ्नै अगाडिबाट गएको मानिस अलि पर पुगेर आफैँलाई फोन गर्दा पो झसङ्ग भएँ, छेवैबाट गएको मानिस नै मेरो स्कूल पढ्दाको साथी रहेछ । हामी सबैले एक अर्कालाई हेरेको हेर्‍यै भयौँ । कलिलो अनुहारमा छाएको जिम्मेवारीबोधलाई सबैले नियालिरहेका थियौँ । अनि आपसलाई भनिरहेका थियौँ, तिमीहरू त निकै परिवर्तन भएछौ !

१५/१६ वर्षका मेरा साथीहरू २४/२५ वर्षका भएर सामुन्नेमा उभिएका थिए । त्यही उन्मुक्त हाँसो, त्यही सरल व्यवहार । शारीरिक रूपमा हेर्ने हो भने सबैभन्दा ठूलो परिवर्तन त मेरै पो भएछ । ५ फिटको मेरो उचाइमा म ६५ किलो मोटी ! डल्ली अनि फुच्ची तर पढाइमा सबैभन्दा अगाडि । हुन त अरुलाई पढाइमा कमजोर भन्न खोजेको होइन । सबै एक से एक । कुनै 'पोजिसन' पाउनुभन्दा पनि पाएको 'पोजिसन'लाई कायम राख्‍नु नै सबैभन्दा ठूलो चुनौती हुन्छ । त्यसैले परीक्षाको वेलामा मेरो मनमा खालि एउटै कुरा रहेको हुन्थ्यो, कसरी आफ्नो पहिलो स्थानलाई सुरक्षित गर्ने । तर भाग्यले साथ दिएकै मान्नुपर्छ, मैले कहिल्यै पनि आफ्नो स्थानलाई गुमाउनु परेन । तर आज आठ वर्षपछि हेर्ने हो भने पढाइमा त मलाई धेरैले उछिनेर अगाडि गइसकेछन् । निकै उतारचढाव आएछ जीवनमा ।

कक्षा नौ बाट दसमा जाँदा आफ्नो पोजिसन खोसेकोमा कहिलेकाहीँ मलाई मनमनै गाली गर्ने, मेरो रिस गर्ने देवेन्द्र निकै उत्साही भएर कुरा गरिरहेका थिए । मानौँ म उनको सबैभन्दा मिल्ने साथी । केटीसँग बोल्न निकै लजाउने मात्रिका अनि चन्द्र पनि अहिले त निकै मज्जाले कुरा गर्ने भएछन् । रमेश अनि केदार उनीहरू जस्ताका त्यस्तै । तर दुवैले सल्लाह गरेका हुन् कि के हो, साझा परिर्वतन भएछ, दुवैजना निकै मोटाएछन् । यो भन्दा पनि ठूलो कुरा त सबै साथीहरू एउटा-एउटा बाटोमा लागिसकेछन् । देवेन्द्र एभरेष्ट बँैकमा क्यासियरको रूपमा काम गर्छन् । केदारले आफ्नै मनि एक्सचेन्ट गर्ने कार्यालय खोलेका छन् । मात्रिका एम आर, रमेश बाहिर जाने तयारीमा । चन्द्र पनि राम्रै संस्थामा काम गरिरहेका रहेछन् । म आफैँ पनि त रेडियो कार्यक्रम उत्पादन गर्ने संस्थामा कार्यक्रम उत्पादकको रूपमा काम गरिरहेकी छु ।

दुनियाँमा हरेक कुरा कत्ति चाँडो परिवर्तन हुँदो रहेछ । स्कूल जीवन पार गरेको हिजो-अस्ति जस्तो लाग्छ, तर हिजोका हाम्रा ती दिनहरू त सपना जस्तै बनेका छन् । समयको चक्र पनि अचम्मको छ, घडीको सुई चल्दैमा हामीमा परिवर्तन किन भएको होला ? स्कूल पढ्दाको त्यही अबोध कोमल अनुहार भइदिए ? समयको जालोमा जेलिएका हामी यसको कति दासी छौँ ! हामीलाई आफैँ परिवर्तन हुनमा अनिच्छा भए पनि बाध्यताको घेरोमा बेरेर परिवर्तन गराउने यो शक्तिशाली समय । तर पनि आज निकै खुसी छु । मेरो मस्तिष्कको पातलो तहमा रहेको मेरो स्कूले पल अनि मेरा साथीहरू जीवनमा फेरि ताजा बनेर उदाएका छन् ।

कहाँकहाँको मोडमा छुटेर गइसकेको पललाई दुरुस्तै सँगालेर सतहमा ल्याइदिने हाम्रो मित्रताको यो शक्तिलाई देखेर मनभरि अपार गर्व छल्किएको छ । खुसी व्यक्त गर्ने शब्दहरू नहुँदा रहस्यमय शब्दब्रहृमप्रति नतमस्तक बनिरहेकी छु । हाम्रो त्यो स्कूल, किशोरवयका हामी अनि हाम्रा निराकार सपनाहरू, बाध्यता अनि कर्तव्यबोधबिनाका हाम्रा ती हाँसो-खुसीहरू सबैले ताजगी दिइरहेका छन् । आज भेट नभएका साथी सुमन, प्रमोद, अनि सुवास (जो काठमाडौँमा नै छन्) लाई भेट्न पनि म निकै उत्साही छु ।