Subscribe:

Ads 468x60px

31 May 2009

साहित्य : एक नशा / एक दशा…

तिनताका खुबै लेखिन्थ्यो, कामै लेख्‍ने भने जस्तो । ५८/६० साल ताकाको कुरा । लेखनमा हात बस्दै गर्दा कविता र गजलमै खेलखोर चल्थ्यो । क्याम्पसको पढाइ भर्खर बामे सर्ने क्रममा रहेको र जिल्ला (उदयपुर)को सेरोफेरोमा त्यति कलिलो केटोले कुनै कामधन्दामा बाँधिने संस्कार पनि नभएकाले फुर्सदका किराले उधुमै टोक्ने मौका पाएका थिए । घरको दवाब पनि थिएन कुनै कुरामा, ठीकठाकसँग चलेको मध्यमवर्गीय परिवार भएकोले न त घरभित्र दु:खको खाडल देखेर त्यसलाई पुर्न आफूले सङ्घर्ष गर्नुपर्ने 'चेत' नै खुलाउनुपरेको थियो । पढ्दापढ्दै एउटा पाठक लेखक हुने दुस्साहसमा लिप्‍त भएको थियो । लेखकहरू एकान्तमा हराएर मोती निकाल्छन् भन्ने कुरा सुनेर प्रभाव परेको हुन सक्छ, घरनजिकैको जङ्गल (भित्री मधेसमा पर्ने पहाडी भेगमा हरियालीको प्रचुरता छ उदयपुरमा ।) मा म घन्टौँ हराउँथेँ र कन्थेँ निराकार कविता कोरल्न । हे दैव कसरी लेख्‍छन् होला बूढाहरू बिटाका बिटा कविता, म अत्तालिन्थेँ । जे भए पनि रूपरङ र काँटछाँट केही नमिलेका दर्जनौँ पङ्क्तिहरूको ताँती लगाउँथेँ र बुबाले अड्कलीअड्कली दिएका कापीका पानाहरू ध्वस्त पार्थेँ । डुक्रन्थेँ- 'कविता मेरो पहिलो प्रेम !' (हा !! आज पनि कतिपय भाइ पुस्ता यसरी नै डुक्रँदा हुन् !) भर्खर लेख्‍न जान्दा केके न गरेँ भन्ने सबैलाई हुँदो हो ।

गाउँमा छँदा

जिल्लामा बसेर लेखुन्जेल यिनै हुन् अबका साहित्यिक हस्ताक्षर बने जस्तो खासखुस पनि दाइ पुस्ताले गर्थे । क्रियाशीलता र लगन देख्दा कसो नभइएला भने झैँ आफ्नै फोस्रो नाक पनि अक्करे भिर जत्रो अकासिन्थ्यो । कस्तो लेखेँ भन्नेमा दिमागले ह्याउ नपुर्‍याउने हुँदा लेखैँ बाबै मैले त भन्नेमा मात्रै एकसुर हुन्छ त्यसबेला । सङ्ख्यात्मक रूपमा त भेलबाढी नै आउँछ । साहित्य र लेखनकै नशामा लुटपुटिँदा १५-१५ दिनमा निस्किने गरी (पाक्षिक) भित्तेपत्रिका 'दियालो' प्रकाशनमा ज्यान फालेर लागिएको थियो । साथीहरूको साथ त थियो नै (समूह नै बनाइएको थियो- अनन्तयात्री साहित्य सदन, उदयपुर), तर आफ्नो लगन भने साथीहरूको माझ पनि अझ चौखण्ड थियो । भित्ते पत्रिकामा आ-आफ्नै कामको तनावमा हराएका गाउँलेहरूलाई तान्न यसलाई आकर्षक पनि पार्नुपर्छ भन्ने मान्यताले विभिन्न दैनिक पत्रिकाका चित्र र फूलबुट्टा कटिङ गर्नमा भद्रगोल कोठाबीचमा म गाईजात्रे पाराले लठिभद्र पत्रिकाको छेउ टुक्रिएको हुन्थेँ । तयारी भित्ते पत्रिका लगेर चोकको एउटा कठघराको भित्तामा राखिएको जालीदार बोर्डमा टाँसिन्थ्यो ।

पत्रिका प्रकाशन गर्नमा साहित्यिक चाखले प्रेरणा दिए पनि पत्रिकामा सामुदायिक अभिभारा बोध गर्दै समाजका विसङ्गति र अँध्यारो अवस्थाको केन्द्रविन्दुमा रहँदै चेतनामूलक विषयवस्तु पनि सँगाल्थ्यौँ । पढ्नलाई साझा प्रकाशनको मासिक प्रकाशन 'गरिमा' र गोरखापत्र संस्थानको 'मधुपर्क' कहिल्यै छुट्दैनथ्यो । जागिरै त्यही भने जस्तो महिनपिच्छे तलब बुझेसरि पत्रिका-पसलबाट ती पत्रिका बुझिन्थ्यो । पछि साथीहरू पारिवारिक दायित्व तथा अन्य परिबन्दले थाकेर 'साहित्य बायाँ हात मात्र हो यार, यति मरिमेटेर केही हुन्न' भन्न थाले । आफू भने जोस भरिएको उस्तै लबजमा फूर्ति लगाइन्थ्यो-'के कुरा गरेको ? कहाँ हुनु बायाँ हात, साहित्य त दायाँ हात पो हो त ! यति ऊर्जा दिन्छ जीवनमा । यति आनन्द मिल्छ ….। '

कति सजिलो र आनन्ददायक कर्म लाग्थ्यो भने के बन्छस् भोलि भनेर घरकाले अथवा छरछिमेक र बाहिरकाले सोधेमा जवाफ थेगोसरि जिब्राको टुप्पोमै झुण्डिएको थियो- लेखक । सधैँ पत्रिका नै टाँसटुँस गर्ने 'गैरनाफामूलक धन्दा'मा छोरो लहसिएको देखेर घरमा करकर सुन्नुपर्थ्यो सधैँ- यसले गरिखाँदैन । तिनताका म राम्रै भन्ने खालको चित्र पनि बनाउँथे, प्रायश: पोट्रेट स्केच । झन् बुबालाई खपिनसक्नु हुन्त्यो । बुबा त 'प्रवक्ता' नै बन्नुभएको थियो, घरमा कोही आफन्त र छिमेकी आयो कि त मेरो 'वर्तमान मार्गचित्र' बारे तानतुन पारेर कान भरिदिने । अनि त दिमाग रनक्क तात्‍ने किशोरवयमा के चाहियो र मलाई !? झोँक र इखले पागल भएर म झन् त्यही टाँसटुँसे विद्यामै एकोहोरिन्थेँ । लौ त म झन् बिग्रिन्छु खुच्चिङ् भनेर ज्यान छाडिदिन्थेँ बेमतलबले । अलिकता त ममीको ज्यादा मायाले पनि पुलपुलिएको थिएँ । सानामा बुबाले छुलुक्क सिर्कनाले तह लगाउनुभएकोले ठूलो हुँदै गएपछि पनि बुबाको छेउ पर्न छोडियो । अनि त सबै करकर र प्याउलेपन ममीकै हजुरमा नबिसाई म धर पाउँदिनथेँ ।

ममी पनि मेरो ताल (खासमा त बेताल) देखेर दिक्किनुहुन्थ्यो- 'के हो तेरो त्यो भित्तेपात्रो-सात्रो !!!!' भित्तेपत्रिका भन्ने ज्ञान पनि कठै मेरी अर्ध निरक्षर आमालाई थिएन । ममी त मेरी अन्तरङ्ग साथी जस्ती । प्राय: बुबाको मप्रतिको कोप ममीले नै ढाकछोप गर्नुहुन्थ्यो । अनि त मलाई के पीर थियो र ! त्यसपछि बुबाको रिस ममीमै खनिन्थ्यो-'छोरालाई पुलपुल्या न अझै ! तैँले नै यसलाई टाउकामा चढाएकी होस् ।' कठै आमा । म दु:ख बुझ्थेँ उहाँको । बुबा कराइरहँदा करूणिक अनुहारको भाव बिगारीबिगारी पुलुक्‌पुलुक्‌ मलाई हेर्दै ममी चुपचाप गाली-उवाच सहनुहुन्थ्यो । तर मेरो लहडी उमेरले क्षणमै त्यो दु:खद् अनुभूतिको सीमा छलाङ लगाएर पार गर्थ्यो, निर्धक्क ! केटो बिग्रियो भनेर बुबाले खुइय्य काढेको देख्थेँ-सुन्थेँ । र पनि म थोडी गाँजा-चरेस र अरू अनैतिक कुर्कममा लागेको हुँ र भन्ने गर्विलो तर्कको सहाराले पङ्ख चाल्दै म आफ्नै मेलोमा दत्तचित्त बन्थेँ । ममीको गलाले 'कान्छा ! काले !!' पुकारेको क्षण म हुरुक्क बन्थेँ । भावुकताको ज्वरो असाध्यै थियो (अझै पनि छ, लाग्छ- यो त रगतसरि मिसिएको छ प्राणको अणुअणुमा ।), सानो कुराले पनि घ्यु कमिलाले जस्तै चिटिक्क टोक्थ्यो । बुबाले गाली गर्दै गर्दा ममीको अगाडि यत्तिकैमा पिलपिलाउन थाल्थेँ । आँसु झार्न पैसा नपर्ने भएर हो कि ?

सहरतिर

यस्तै गर्दागर्दै अभिभावकको आँखामा 'बिग्रिएर' थिग्रिएको मैलो छोरो राजधानीमा तप्कियो, उच्च शिक्षामा आमसञ्चार विषय पढ्न । जे-जसरी भए पनि लेख्‍न नछोड्ने भयो कान्छोले ! छोरी बिग्रिई नर्सले, छोरा बिग्रियो कमर्शले भन्ने चलनचल्तीको उखान यो कान्छाको हकमा सही सावित भयो । जिल्लामा दुई वर्ष कमर्शमा सेलाएर राजधानीको बाटो नाप्नुअघि अभिभावकको सपनालाई घुँडाघुँडासम्म आँसु तपक्क चुहुन बाध्य बनायो यसले । अहिले सम्झिँदा कठै भन्ने हिक्का मात्र बाँकी छ । सहरमा समयको खलाँतीले उमेरको कच्चा धातुलाई परिस्थितिको कोइलाको झिलझिलाकार दहमा फुकेर पकाउँदै गयो । म सानोतिनो टुक्रा फलाम बन्दै गएँ क्यार ! दुनियाँको लीला देखियो, सुनियो । आफ्नो अनुभूतिको धारमा परेर नसिकेको यो बच्चो जीवन अरूको भोगाइको ग्राभेल सडकमा दरालिएर छोडिँदै गयो, नयाँ रङ देखिँदै आयो । तब पो केही नापनक्शा आउन थाल्यो । (तर ओह्ऽऽ अझै पनि त म पूर्णरुपेण कामलाग्दो औजार बन्न सकेको छुइनँ !!)

पछि भने पत्रपत्रिकाहुँदी लेखेर केही पैसाको आम्दानी गर्न थालेपछि छोराले ठीकै सोचेको रहेछ, राम्रै बाटो अँगालेको रहेछ भन्ने बोध बुबा-ममीमा पलायो क्यार ! 'केटो' बाट मान्छेमा गन्न थालेको अनुबव गर्न थालेँ । मीठो लाग्यो बुबा-ममीको युगल स्नेह पाएर । भिन्न-भिन्न पत्रिकामा संवाददाताको फाटफुटे अनुभव पनि बटुलेँ, साहित्यिक जमातमा दाइ-दिदी पुस्ता र समकालीनमाझ राम्रैगरी रत्तिएँ पनि । उहिले जागिरै लेखकको गर्छु भन्ने धोको यथार्थको धरातलमा (नेपालको हकमा) हावा खाने खालको रहेछ बन्ने चेत खुल्दैछ । कलम समाएर बाँचिए पनि साहित्यकै कुवाको भ्यागुता भएर त जीवनले ए बित्ता पनि वेग नमार्ने रहेछ । साहित्य आखिर आत्मरतिकै एक झिल्को बिजुली हो, जसले आत्माको उपत्यकामा उल्लास सञ्चार गर्छ । समाज र देश-दुनियाँमा साहित्यले जागरणको लहर फैलाउँछ, हो सत्य हो । तर पहिलो कुरा लेख्‍ने व्यक्तिलाई नै साहित्यले रस चखाउँछ, चाहे त्यो जागरणको होस् या नहोस् !

त्यतिबेला भित्ते पत्रिकामा गरेको अभ्यास अहिले कति काम लाग्यो, अहिले जप्दैछु । हुन त मेरै जाँगर र लगनको प्रतिफल थियो सबै, तर त्यो विगत कुनै सानो संयोग मात्र थिएन । यस्तो कतिको जीवनमा हुँदो हो ? मेरो जस्तै अन्धो यात्रामा फाल हालेर नशालु साहित्यको क्याप्सुल चुस्दै दशाको हत्तेमा थोरै घातले भए पनि अभिभावक र आफैँलाई थकथक कतिजनाले बनाइरहेका होलान् ? अझै कति होला अनेक सिर्जनशील 'सत्सङ्ग' मा बरालिरहेका ममीका प्याराप्यारा काले र कान्छा ? र बुबाका बिग्रिएका छोराहरू ??

तर उरन्ठेउलो उमेरमा जति नै सही कुरा, विवेकी समझका आशिष्‌हरू सुने पनि चेत खुल्ने त आखिर समयको एउटा निश्‍चित साइतविन्दु हुन्छ । त्यतिखेर त कानमा अर्तीका भुलभुलाहट पुगे पनि विवेकको घ्याम्पोमा त टम्म बिर्को नै हुन्छ ।

त्यो बिर्को आफ्नै हातले नउघारी जीवनमा आँप र केरा गोड्याउन कहाँ सम्भव रहेछ र !?

29 May 2009

रुने 'मान्छे'

सँगको १८ महिनाजतिको अन्तरङ्ग सङ्गतमा मैले देखेँ- उसका आँखा 'झरी' शीर्षकको पेन्टिङले कहिल्यै रङ्गिएनन् ।

एक हिसाबमा म खुसी पनि भएँ, सोचेँ र सन्तोषको सास लिएँ- नरून सक्नु र नरून पाउनु साह्रै जाती कुरा हो, कम्तीमा नरूने व्यक्ति स्वयम्‌का लागि । तर रुने कुरालाई पीडादायी रूपमा व्याख्या गरेर दुत्कार्ने ठेक्का कसैले पाएको छैन ।

'म कति दुब्लाएछु हेर न', मेरा औँलाहरू तानेर आफ्नो कम्मरको हाडखोरतिर चाल्दै ऊ हदै निकटता साट्थ्यो मसँग । हाम्रो प्रारम्भिक ताकाको भेटमा सानेपा (ललितपुर)को लोडसेडिङले छोएको भुताहा उकालीलाई जोर पैँतालाले नाप्दै गर्दा उसले एक साँझ भनेको थियो, 'साँच्ची, आँसुमा के हुन्छ, मान्छेहरू रोएर हल्का हुन्छु भन्छन्, के रसायन हुन्छ त्यसमा ? मलाई अध्ययन गर्न मन लागेको छ ।'

ऊ आँसुको वैज्ञानिक पाटोबारे अध्ययन गरेर एउटा गजबको लेख लेख्‍न चाहन्थ्यो । र ऊ यस्तो ठाउँको खोजीमा थियो, जहाँ आँसु र रुवाइबारे लेखिएका सन्दर्भ ग्रन्थ र लेखोटहरू उपलब्ध होस् । त्यो चाहे धूलो र किराको भीड (पुस्तकालयमा अचेल मान्छेको भीड त कहाँ लाग्छ र मेरो मित्र !) ले व्यस्त उच्चाटलाग्दो पुस्तकालय किन नहोस्, त्यहाँ जान ऊ राजी थियो । तर अनुभवको बहीखातामा उसको अश्रु-अध्याय रित्तोरित्तो थियो । ऊ रोएको कहिल्यै देखिएन । रिसाउँदा, दु:खका बाछिटाले छुलुक्क सिर्कना वर्षाउँदा कि त ऊ गुम्म परेर अनुहारभरि अँगारी धुन भरेर अँध्यारिन्थ्यो, कि त 'ह्याऽऽ केही भएको छैन, टेन्सन भन्या यस्तै हो क्या आउँछ जान्छ' भन्ने नाटकीय थेगो उच्चारण गरेर मनमा चाहिँ थला पर्नेगरी ओइलाउँथ्यो । उसको निम्ति सौभाग्यको कुरा यति नै थियो, ऊ एउटा रून्चे मान्छे (म) सँग हिँड्न पाइरहेको थियो !

ऊ र म बीच खास नाता के थियो, अझैसम्म अपरिभाषित पाउँछु म । अनौपचारिक हुनहुन खोजेर पनि नसकेका हामी सँगै रहेर पनि टाढा भए जस्ता थियौँ । यदाकदा म रहर पोखिरहन्थेँ ऊ सामु- 'तिमी रोएको एकचोटि हेर्ने मन छ, धक फुकाएर भित्रदेखि रोएको र यी भकुल्ले गाला लेकाली छाँगाले निथ्रुक्क पहरो भएको देख्‍ने मन छ ।' खासमा ऊ दु:खी भएको हेर्ने मन त एक अंश पनि हुँदैनथ्यो । तर उसले भन्दै आएको 'म आफू थाहा पाउने भएदेखि अहिलेसम्म रोएको छुइनँ, किन रुनु वित्थामा, रूनु कमजोरी र दुर्बलताको सूचक मात्र हो' भन्ने उसको कठोरता मेरा हेराइमा अमानवीय निष्‍ठूरता थियो । त्यसैले एकचोटि ऊ रोएको कोमल भाव आँखैअघि बेहोरेर ऊ पनि म जस्ते आम मन्छे हो भन्ने समभाव सँगाल्नु थियो । मेरो आग्रहमा ऊ तिनै भकुल्ले गालाबीचमा खाल्डो बसाउँदै किचिक्क हास्थ्यो-'रोइदिऊँ त अहिल्यै ?' तब म एकाएक आत्तिन्थेँ । भर्खरैको अतुल्य किचिक्क मुस्कानको मोहनीको चेपमा परेर मेरो 'रोइदेऊ न' भन्ने फर्माइश निसासिन्थ्यो र म भन्न पुग्थेँ-'भैगो भैगो पर्दैन यार, यसरी नै हाँसिराख सधैँभरि ।' फेरि अर्को-अर्को भेटमा 'रुनु काम नपाउनेहरूको खेती हो, रून्चेहरूको शीर्ष गीत हो' भने झैँ ऊ नाकका पोरा फुलाउँदै पेश हुन्थ्यो र म उही फर्माइश दोहोर्‍याउँथेँ- 'एकपटक रोएको हेर्ने मन छ, तिमी ।'

हाम्रो सरसङ्गत साप्‍ताहिक भेटको रूटिनबद्ध जीवनमा गुँड लगाइरहेथ्यो । भेट्थ्यौँ-छुट्थ्यौँ फेरि भेट्थ्यौँ । सङ्गतको यस्तो रूटिन थियो, छुट्नैको लागि भेटे जस्तो, अनि फेरि भेट्नैका लागि छुटे जस्तो । के थाहा, सङ्गत गुनाको फल मिलेर कतै पुष्‍ट बचेरा कोरलिहाल्ने पो हो कि ? मानौँ, यस्तै विवेचना मनभरि उब्जाएर हामी राजधानीको फरक-फरक स्टेशनमा डेढ वर्षसम्म अविरल भेट्दै रह्यौँ । नतीजा ? यो सङ्गतमा उसको जेलाइमा जेलिएर अनेक आरोह-अवरोहमा जाकिएर म नै रोएँ धेरै- आफ्नै कोठाको नरम सिरानीमा, फोनमा, मन्दिरका धेरै मूर्तिहरूको लस्करमा अर्को मूर्ति बनेर, साँझपख पल्लो घरको आँगनमा धिपधिपाएको बत्ती हेरेर ।

रुनुलाई पीडा र व्यथाको जनाउचिन्ह मानिन्छ समाजमा । यसलाई कमजोरीको रुपमा व्याख्या र वर्गीकरण गरिन्छ । यही कोणबाट एउटा गीत पनि बनाइएको छ- 'लोग्नेमान्छे भएर रुनु हुन्न रे ...' गीतमा पात्र रुन खोज्छ तर सामाजिक मान्यता, कमजोरी-सबलताको मुद्दा, भावनामाथि तर्कको दादागिरीले गर्दा रुनुसाटो घाँटी मात्र खसखसाएर बस्न बाध्य हुन्छ । सायद उसले पनि यो गीत सुनेको र हेरेको हुनुपर्छ । तर रुने 'फुर्सद' उसलाई थिएन । पाका सिनेकर्मी नीर शाहले गरेको अभिनयले गीतमार्फत हाम्रो समाजको रोगी र सङ्कुचित मानसिकताको पीडाग्रस्त पाटो उजागर गरेको छ । रुनुभन्दा नरोएको (र रुन नपाउनुको) दृश्य अत्यासलाग्दो देखिन्छ त्यसमा ।

म कति हदसम्म मान्छे बन्न सकेको छु, कतिसम्म मानवीय भावको छु त्यो त मैले किटेर भन्ने कुरा होइन । तर मेरो हेराइमा रूने मान्छेलाई नै मैले 'मान्छे' भन्ने गरेको छु । रुनु कमजोर हुनु होइन, आफैभित्रको आफूलाई नाघेर अरूसम्मलाई छुनु हो । रुनु खालि आँसु बगाउनु होइन, वेदनालाई सेलाएर नयाँ जोसका लगि आफूलाई सघाउनु हो । रुनु, रुनु मात्र होइन, संवेदना हुनु हो, तरलता हुनु हो । मेरा केही साथीहरू छन् जो अनायासै रुन्छन्, यत्तिकै । खुइय्य गर्छन्, दिक्किन्छन्, न्यास्रिन्छन्, फेरि सानै कुराले फुलेल बन्छन्, खुसीले 'पागल' बन्छन् । ध्यानी-ज्ञानी छैनन् कोही वितरागी हुन सकेका छैनन् । र पनि यति भने भन्न सकिन्छ, मान्छे चाहिँ उनीहरू पक्का मान्छे छन् । मानवीय भावले नै उनीहरूलाई यस परिचयमा टिकाएको हो भन्छु म । तिनको लागि रुनु कुनै सत्सङ्गभन्दा कम छैन । तिनको कामकाज राम्रै चलिरहेको छ, घर-परिवारमा पनि सबै ठीकै छ र पनि भन्छन्- 'यार आज खूब रूने मूड छ, कोठामा आज एक्लै हुन्छु राती मज्जाले रुन्छु ।' यस्तो पनि कुरा ? आज बाहिर खाने प्रोग्राम छ भने जस्तै रुवाइको पनि आयोजना हुन्छ तिनको ।

अब कसैले यहीँनेर केरकार गर्ला आफूसँग मानवीय संवेदना भएको प्रमाण दिन रूनैपर्ने हो त ? मान्छे ठोस भए पो त्यो सबलताले सफल यात्रा तय गर्न सक्छ त भन्ने टिप्पणी आउला । तर्कै गर्ने हो भने त तर्कको तीरले नछेड्ने क्षितिज कहाँ पो होला र ? संवेदनाको प्रमाणचिन्ह रोदन हुन नसक्ला, यहाँ रुने कुरा गर्दा धर्धरी आँसु बगाउने गोहीप्रसाद र गोहीमाया पनि खोजिएको होइन । तर अरूको पीरमा दुई थोपा आँसु सट्याकसुटुक नआउने मान्छे, आफैँलाई दु:ख पर्दा पनि स्वाभाविक बह पोख्दै हिक्का नछाड्ने मान्छे के मान्छे ? हाँस्न जान्नु ठूलो कला हो, विद्वान्‌ले भनेका छन् । रुनु पनि कला हो, तर यो नौटङ्की अभ्यासको चाहिँ कुरो होइन । नौटङ्की भयो भने त रुनु र टुथपेष्‍टको विज्ञापनमा हाँस्नुमा के नै अन्तर भयो र ? दुवै तुकविहीन ।

अँ त, उसको सङ्गतमा परेर म धेरै रोएँ । सम्झिनुपर्दा मेरा अश्रुदाता भनेर मैले सम्झिनुपर्ला उनलाई ।

त्यसपछि उसले मलाई ख्वाउनुपर्ने जागिर सकियो सायद, अन्तिम गोलाधागो सकिएको चर्खाबाट अन्तिम फन्को डोरोसरि च्वाट्टै चुँडिएर हरायो ऊ । ऊ र म एउटै सहरमा थियौ, आज पनि यहीँ छौँ । खबर नसोधेर पनि एकचोटि रसायन जोडिएको मान्छेको खबर कसोकसो रहँदोरहेछ आत्माकै एन्टेनामा । तर न त अब मेरो ऊ सँग चिनजान छ, न त उसको मसँग सरोकार नै छ । एउटै चुम्बकको दुई फरक ध्रुब झैँ फाटेका छौँ हामी । यतिखेर यस्तो लाग्दैछ मलाई- यो सबै उही आँसुको खेल हो । रुनु-नरुनुको करामत हो । भावुकता र कठोरताको दूरी हो । उसको नरूने कुराले मलाई रूखासुखा बनायो, मेरो रोइदिनुपर्ने 'नरमपन्थी' आग्रहले उसलाई दिक्यायो । दोषी नम्बर दुई । सायद जलन दुवैको मनमा । फरक यति छ, उसको आँखा कहाँकहाँ फड्को मारेर खितखित गाइरहेको हुँदो हो, म भने रूमाल वा सिरानीको तिर्खा मेटाउन आँसुको शीर्ष भाकामा रोइरहेछु । के यसरी रोइरहेर म मान्छे भइरहेछु ?

यो जवाफ दिन अहिले ऊ साथमा छैन । तर उसलाई बताउनु छ मैले यसरी रुँदा म कति हल्का भएको छु, बिना रङ बिना रोगन सादा हाउभाउमा पनि कति मज्जाले खुलेको छु ।

ऊ यही सहरको कतै कुनामा हाँसिरहेको होला उसैगरी … किचिक्क ! हाँस्दा ती भकुल्ले गालामा कस्तरी खाल्डो परेको हुँदो हो !

13 May 2009

भागेको घर





टाढा...
यति टाढा गएकी छ्‌यौ
याद पनि यहाँसम्म आइपुग्न
हम्मेहम्मे छ ।

एक धर्सो सिन्दूर
चम्किला चुराहरू
न्यानो ढाकाचोली
यहीँ छ-
मैंसँगै तिम्रै यो घरमा,
यहीँ भएर पनि
एउटा म मात्र पो छुइनँ यहाँ ।

यति माया मारेकी छ्‌यौ
हामीबीचको छिप्पट रसायन पनि
कुरकुरे हाड भइरहेछ ।


कोठाभरि हेर्छु :
दराजको ऐनामा
दस वर्षगाडिको त्यो तिम्रो हेराइ
अझै अवशेष बनेर चम्किए झैँ छ,
तिमीले पट्याएर गएको
पलङमाथिको सिरकमा
ती मायालु औँलाहरूको डाम ताजै छ,
दराजमाथिको फ्रेममा ठीकठाक बसेको
हाम्रै त हो त्यो तस्बिर-
एकदम पूर्ण र सन्तुलित तराजु ।

साँच्चि भनेको,
तिमी गयौ
र त
तिमीसँगै पछि लागेर
यो सिङ्गो घर हिँड्यो ।

नीरमाया,
हाम्रो त्यही घर
साथैमा टुकुटुकु हिँडाएर
कहिले फिर्ता ल्याउँछ्यौ,

सधैँ तिमीले लुगा सुकाउने
त्यही बार्दलीमा बसिरहेछु म
यी आँखाहरू सुकाएर ।


*तस्बिर: फोटोबकेट.कम

मान्छे हराएको सूचना !

* तस्बिर : मरील्यान्जेलिल.कम
फ्नै ब्लग भएपछि घाटाको कुरै छैन, विज्ञापन गर्न पनि आफ्नै हात जगन्नाथ ! आजको जमाना भनेको एउटै कुरालाई बहुउपयोगितामा लिएर दशतिर भागदौड गर्ने टन्टाबाट मुक्ति पाउने हो । झोलीमा बोरा अटाउने जस्तो ! ब्लगको यात्रालाई पनि आँसु-हाँसो, गुनासो-संवेदना, चिन्ता–चासो (वैयक्तिकदेखि सामाजिक हुँदै राष्‍ट्रिय–अन्तर्राष्‍ट्रिय सम्मको सन्दर्भमा है !) को प्रकटीकरणबाट मनको खुनखुन मेटाउँदै सानोतिनो सामाजिक कर्तव्य पनि पूरा गर्नमा मात्र सीमित नराखी विज्ञापनमा पनि उपयोग गर्न सक्यो भने त स्वादमा सुवास नै थपिन्छ । यही कारण हो, व्यस्त सडकछेउ ढ्याप्प ढाक्ने होर्डिङ बोर्डलाई बिर्साउने छाँटमा ब्लगको भित्तामा मान्छे हराएको पर्चा छर्न लाग्दैछु । यस्तै बहुउपयोगीताको अभ्यस्तताले होला, 'पश्‍चिमा हावा'ले छोएपछि श्रीमतीमै आमाको गुण भेटेर 'आमा-बहिष्कार' भने झैँ एकोहोरो लुटपुटिन पुग्ने सन्तानहरू भटाभट देखिँदैछन् । यान्त्रिक हतारोको बतासे भूतले सताएर भावनात्मकता गुमाएका सहरिया परिवेशमा यस्तो आमा-बहिष्कार अझ व्यापक देखिन्छ ।

अरूको कुरो के गर्नु, आत्मीयताको खडेरी परेर बल्ल कुनै मायालु काख भेटाएको पल यही पङ्क्तिकारले नै प्रियसीको प्रेम अझै बाक्लिने लोभमा परेर उताको कानमा फुसफुसाएको थियो- 'साँच्ची हो, तिमी मेरी ममी जस्तै लाग्छ ।' हुन पनि अनुभूतिको साँध र सीमा नै कहाँ पो हुन्छ र ! हामीमध्ये कतिपयलाई कोही चिनजानै र बोलचालै नभएको मान्छे पहिलोचोटि बल्ल देखिँदैछ भने पनि झनक्क रिस उठ्छ । अनि कोहीप्रति भने एक झलक देख्दैमा मोहनी र प्रभावको शीतलु छायाले छपक्क छोप्छ ।

मान्छे हराएको दुखेसो गर्न बसेको म मान्छे भेटिएको रौनकतामा पो बतासिएछु । लेखाइको नागबेली भनेको कहिलेकाहीँ यस्तै हो । खासमा मान्छे हराएको सूचना दिमागमा दौडिएको जुग भयो । हराएको मान्छे आफू फेला परिएला कि भने झैँ दौडिरहेको थियो होला कि ! यसैले नभेटिएको क्यारे त्यो मान्छे ।

साँच्चै हराएको छ बस्तीबाट मान्छे । यो उच्चारण भावुकताको घोडामा बतासिएको उच्छ्‌वास लाग्न सक्छ । हतासाले भरिएको । तर यो सत्यता त समयकै सिउरमा पाकेको कपाल हो, जसलाई 'वाह पाक्यो !' भनेर गजब मान्ने फुर्के पाटो पनि कतै छैन । देशभित्र खुला रूपले कागताली नजर दौडाउने हो भने आज दिन दुगुना रात चौगुना (यो अब वाक्य सजाउने प्रगतिसूचक सजिलो थेगो नभई मुटुछेड यथार्थ नै भइसक्यो ।) बढ्दै गएको विशृङ्खलता र अराजकताको केन्द्रविन्दुमा मान्छेविहीनताको रापिलो तीर छ । जुन तीरले देखाउँछ मान्छेले आज न त सु, न त कु कुनै कर्म गरेको छैन ।

खासमा मान्छे भन्ने अस्तित्वको स्पेस नै रिक्त छ । मान्छे आज मान्छे रहेन । मान्छे, मान्छे नरहेर अरू नै विवेकहीन जन्तु-जनावरको तहबाट व्यवहार गर्छ भने त्यो कर्मलाई मान्छेले गर्‍यो भनेर कसरी किट्ने ? लुछाचुँडी, मारमुङ्ग्री, धोका, हेलाहोचा, षड्यन्त्र, विश्‍वास र मानमनितोको बदला घात र घृणा, आँखै सामुन्ने उल्लूचाला, दायित्व र कर्तव्यको बेलुनमा काँडाखेती, भ्रमको कारोबार आदिमा आजका सर्वसाधारण जनलाई उपल्ला नेता-महात्माहरू खुला प्रशिक्षण दिइरहेछन् । घर-परिवारसँग मिलेर बस्न नसक्नेहरू, कोठा व्यवस्थित बनाउन नसक्नेहरू टोल, समाज र देशको उल्झन मिलाउन टाठिएका छन्, नयाँ काइदा-कानुन व्यवस्थित गर्न कुतकुतिएका छन् । आफूभित्र एउटै नयाँ विचार उमार्ने हुती नभएकाहरू हावामा औँला नचाउँदै नयाँ विश्‍वको उपदेश ओकलिरहेछन् । एउटा सीधासीधी बनोट र बान्की भत्काएर सिर्जनशील जमात अकथा, अकवितातिर उन्मूख भए जस्तै मान्छे आज अमान्छेमा रूपान्तरित हुन थालेको छ । यो समयको लीला हो कि मान्छेको आफ्नै दृष्टिकोणको, केलाउन-छुट्याउन स्वतन्त्र छौँ ।

आज कोहीसँग मानवीय संवेदना नहुनु उसले हाकाहाकी बताउने परिचय जस्तो भएको छ । नाकका पोरा फुलाउँदै सजिलै भनिदिन्छन्- 'सडकछेउ रूग्ण शरीर अड्याएर माग्दै गरेको मगन्ते देख्यो भने पनि चुपचाप आफ्नै मेलोमा हिँडिन्छ आफू त, एक कौडी दिइन्नँ ।' यसै गरी कतै सुनिन्छ- 'कोही मर्‍यो भने बल गरेरै पनि आँसु निस्किँदैन, देशमा यति धेरै मान्छे मरिसकेर हो कि क्या हो अभ्यस्तताले मुटु प्लास्टर गरे जस्तो !' ल, ठीकै छ, संवेदनाको मात्रा व्यक्तिपिच्छेको आन्तरिक रसायन र पारिवारिक-सामाजिक संस्कार, रहनसहन तथा मान्यताले फरक हुन सक्छ । तर मान्छे हो भन्नेमै प्रश्‍नचिन्ह उठ्ने स्थिति आयो भने चाहिँ कुनै बहानाबाजीको ल्याप्चेले काम गर्दैन । खासमा आफ्नो गल्ती र पशुत्वबारे अरूबाट शङ्का उठेमा त्यसको प्रतिकारस्वरूप बाहिर जति नै गर्जन छाडे पनि ऊ स्वयम्‌ले भने भित्रभित्रै आफैँलाई नै चिथोरिरहेको हुँदो हो, माफी दिएर पनि माफी नपाइरहेको हुँदो हो ।

हाम्रो छेउछाउको परिवेशमा नहुनुपर्ने कुरा यति भइरहेका छन्, अब हुँदाहुँदा तिनै कुकृत्य नै मूलधार, प्रामाणिक हुने छाँट देखिँदैछ । हाम्रै नेपालको कुरा गरौँ न ! यहाँ हुने राजनीतिक, सांस्कृतिक, जातीय, सामाजिक घटना-परिघटनाको प्रतिक्रियामा हुने विरोधको शैली, कट्टर ट्याग भिरेका कार्यकर्ताको कुरा एक क्षणलाई छेउमा राख्‍ने हो भने पनि सर्वसाधारण जनताको शिथिलता अर्को जीवनशून्यता लाग्छ । उता कार्यकर्ताको उखरमाउलो चकचक, यता जनसाधारणको निरीहता ।

भगवान् होइन मान्छे । मान्छे, मान्छे नै भए पनि त्यो आजीवन अपूरै रहन्छ, मान्छे हो ऊ यसैले केही न केही त खोटदार हुन्छ । भूल गर्छ तर साथसाथमा सच्याउने विवेक र सामर्थ्य पनि बोकेर हिँड्छ । तर आज समयको बधशालामा उसको शिर आफैँद्वारा गिडिए झैँ प्रतीत हुँदैछ । मानवीय संवेग, हार्दिकता, भावनात्मक सदाचार उसबाट छुट्टिएका अङ्गहरूको निर्जीवतासँगै प्राणहीन बन्दैछन् । उसको मुटु अब रगत प्रवाह गर्ने कारखाना मात्र हो । विज्ञानले अझसम्म खोज र प्रमाणमा पत्ता नलगाएको मान्छेको 'मन' साँच्ची नै यो २१ औँ शताब्दीको वैज्ञानिक क्रान्तिको युगमा गल्पकथाको भाँतीमा बिलाएसरि भएका छन् ।


संसारै सुनाइदेऊ सुनाइदेऊ-
ओ मान्छे, म कहाँ कुन गर्तमा छु- हराइरहेको ?