Subscribe:

Ads 468x60px

30 July 2009

स्वयम्भू: सुन्दरी र सुरदासहरूको लस्कर

दिक्क पनि लागेको छ, त्यसै।
त्यसलाई तर भोकले उछिनेको छ । दिक्क लाग्नुभन्दा भोक लाग्नु वेश । सोइपरी । चार जना नौजवानले बजाए हाफ-हाफ प्लेट भन्दै जम्मा आठ प्लेट चाउमिन । अक्षरको खेतमा लागिमेली गर्ने क्रममा भेटिएका सहयात्री मित्रहरू जनक, सुदीप, आरके सँगै म छु फुरुङ्गिएको । चार मध्ये जनकबाहेकका तीन भाइ हामी कहाँ जाने फुर्सदको काँटी जलाउन भनेर निकैबेर तिरिमिरी भइरह्यौँ ।

क्यामेरा छ ?- सुदीपले सोध्यो । झोला खँदिलै थियो । टाउको हल्लाएँ । घुमघाम बाहेक तस्बिर खिच्ने नै हाम्रो एकसूत्रीय सोच रह्यो । गाडी चढेदेखि नै बाटैबाट फुटपाथसम्मका तस्बिर खिच्न सुरु गरियो ।
तर यहाँ स्वयम्भू पुगेपछिको फेदीदेखिको तस्बिर मात्र राख्दैछु ।
--------------------------------------------


* पर्यटक-पोज : कपडामा बुट्टा भर्ने कला-व्यवसायीसँग विदेशी पर्यटक झैँ बनेर तस्बिर खिचाउने मुद्रामा आरके ।


* एक-दुई-तीन : स्वयम्भू थुम्कोमा चढ्ने खुड्किलो ।



* धम्म शरणम् : रुखमुनि ध्यानमुद्रामा सुदीप । बाटोमा हिँडिरहेका विदेशी पर्यटकहरू समेत यो ध्यानमुद्रा र तस्बिर खिचाइ देखेर मख्ख पर्दै 'न्यू बाबा' भनेर मस्त मुस्काइरहेका थिए । अभिभावकको साथमा स्वयम्भू-दर्शनमा आएका टिनएजर केटीहरू पनि के कम !? कुकुरको पुच्छर देख्दा पनि हाँस्ने उमेरका भनिने उनीहरू हाम्रो 'ध्यानी लीला' देखेर खितखिताइरहेका थिए ।



ॐ शान्ती : रुखकै फेदमा मग्न रहेर तथास्तु-मुद्रामा ।



* जोखाना : रुद्राक्षको मालाको गेडा गन्दै । पछि एउटी दिदीले माला औँलाले कुन विधिले पक्रिने भनेर सिकाएपछि सुदीप झन् निर्धक्क तयार भएको थियो यो पोजका लागि ।



* बन्जी जम्प ? होइन : खुड्किलो चढ्ने क्रममा दायाँ-बायाँ बाटो छुट्याउनलाई राखिएको समात्ने बारमा लमतन्न परेर सुत्दै । छैन त कुनै आरोहण जस्तै ?



* भवतु सब्ब मङ्गलम् ! : सुदीपले ध्यानमग्न मुद्रामा तस्बिर खिचाएर वरिपरिका
बटुवाहरूको बीचमा रमाइलो छवि बनाएपछि त्यसैको सिको गर्दै आरके ।



* जहाँ छन् ... : बुद्धको पलेँटीछेउ हाम्रा फैलिएका जोर गोडा ।



* पहिलो झुल्को : सिँढी हुँदै माथि चढ्दाचढ्दै देखिने स्वयम्भूको झलक ।



* ....घुमाउने काठमाडौँ सहर : स्वयम्भू थुम्कोबाट राजधानी काठमाडौँ नियालिरहेका सर्वसाधारण । उचाइमा रहेको स्वयम्भू आउने दर्शनार्थीको अर्को लोभ उपत्यकाको एकसरो अवलोकन पनि हुने गरेको पाइन्छ । कतिपय त दर्शन नभई घुमघामा र अवलोकनकै लागि डाँडा उक्लिन्छन् ।


* सुन जस्तै : स्वयम्भू मुहार दर्शनको आकर्षण ।


* अर्को कुनाबाट : स्वयम्भूको अर्को रङ ।


* भाग्यको स्वयम् परीक्षा : स्वयम्भू परिसरमै फेदीमा रहेको सानो कुण्डमा सिक्का पैसा खसाल्दै दर्शनार्थी । फ्याँकिएको सिक्क कुण्डबीचमा रहेको सतहमा अँडियो भने भाग्य बलियो भएको विश्वास गरिन्छ । यसरी एकचोटिमा १० रुपैयाँको सिक्का फ्याँकिने रहेछ ।



* मैँ सुन्दरी ! : बच्चा च्यापेकी सुन्दरीले हामीलाई निकै बेर हेरी । क्यामेरा खोसिने डरलाई खल्तीभित्र कोचेर तस्बिर भने लिइछाडियो ।



* मायाको बोझ : हाम्रो खुसुरमुसुर चाल पाएर बच्चाहरूलाई साथमा बोकी लाखापाखा लाग्दै अर्की सुन्दरी ।


* सुरदासहरू सुर न नूर : उक्लिँदा, फन्को मार्दा र ओर्लिँदा भोक र थकाइले कायल हाम्रो हालत ।


* देखे-देखे झैँ, भेटे-भेटे झैँ : स्वयम्भूसँग जुधाएका आँखा फेदी झरेपछि सहरको धूलोले पुछिँदै गर्दा थुम्कोको चहक अझ लोभलाग्दो देखिँदै थियो ।

18 July 2009

ब्लग रुष्‍ट साहित्यकारकै खेती हो ?

रेडियो अन्तर्वार्तामा पाहुना भइआएका प्रतिभाशाली युवा पत्रकार गला सफा पार्दै थिए । उनी अखबारका पानामा बढ्ता अपेक्षा गरिने र पढिने लोभलाग्दा नाम मात्र होइनन्, नामी ब्लगर समेत हुन् एक समयका । (यस पोष्‍टको विषयगत संवेदनशीलताका कारण उनको नाम भने गोप्‍य राखिएको छ, कृपया माफी दिनुहोला पाठक-मित्रहरूले)।

अहिले पनि फाट्टफुट्ट ब्लग लेख्छन् । तर उनै नामी ब्लगरले ब्लगलाई हेर्ने आफ्नो चश्मा धमिलो र साँगुरो भएको प्रमाण रेडियो अन्तर्वार्तामा दिए । रेडियो प्रस्तोताको प्रश्‍न भुइँमा झर्नासाथै ती युवा ढुकढुकी प्रस्ट लबजमा जवाफ भर्थे । पत्रकारिता, साहित्य, फिचरलेखन, निबन्ध, कविता हुँदै अन्तर्वार्ताको विषय ब्लगसम्म आइपुगेको थियो । जम्दै थियो वार्ता । अन्तर्वार्ताकार रेडियोकर्मी यो एक बसाइ हाम्रो कुराकानी पूरा गर्न पर्याप्‍त हुँदैन भनिरहेका थिए । पाहुना बनेर आएका पत्रकार भने सोधेसम्मका कुरालाई सुस्तरी खुलाउँदै थिए । ब्लगबारे गफ सुरु भएपछि उनले कुराकानीकै क्रममा फ्याट्ट भनिदिए- "ब्लग रुष्‍ट साहित्यकारले आफ्नो सिर्जना पोख्‍ने ठाउँ भएको छ ।"

सुनेर चसक्क भो मन । उनको लेखनको त्यत्रो ठूलो प्रशंसक-भीडको एउटा सदस्य ठान्थेँ म आफूलाई । वाह, यस्तो पो पत्रकारिता ! यस्तो पो फिचर ! भनेर तारिफको खुला पुल बाँध्थेँ । उनै पुज्य लेखकले एक पङ्क्ति अन्तर्वार्ताको प्रहारले मर्‍याकमुरुक भाँचिदिए पाठकको मन । ब्लग रुष्‍ट साहित्यकारकै खेती हो त ? राती प्रसारित उक्त अन्तर्वार्ता सुनेर बिछ्यौनामा ढल्किएपछि पनि निकैबेर जाग्रामले दु:ख दिइरह्‌यो, आँखा झिमिक्क गर्न मानेनन् । निकै दिनसम्म त्यसको चस्का लागिरह्यो ।

उनको आरोपको सोझै आशय थियो - छापा माध्यममा सहज ठाउँ नपाएको अर्थात् नछापिदिएको झोँकमा साहित्यिकहरू ब्लगमा खनिएका छन्, तिनको बकम्फुसे भावनाका कुराले ब्लग भरिएका छन् । उनी कविताप्रति ठ्याम्मै रुचि नभएका अक्षरप्रेमी हुन्, त्यसै हुनाले अखबारको विशेष बार प्रकाशन हुने परिशिष्‍टाङ्कको संयोजक तथा फिचर सम्पादकका जिम्मेवारी सम्हालुन्जेल उनले आफू काम गर्ने अखबारमा कवितालाई छिरिक्क ठाउँ दिएनन् । उनले यी कुरा अन्तर्वार्ताकै क्रममा स्विकारेर खुलस्त भने । यस मानेमा भने प्रस्टवक्ताका रूपमा उनलाई मान्नुपर्छ ।

एक त आफू पनि ब्लग लेख्‍ने मान्छे परेँ, त्यसभन्दा अघि साहित्यिक लेखनमा राम्रैगरी हेलिएर 'केटाकेटी पारा'मा भए पनि हल्काफुल्का साधना गरेको मान्छे । मैले त्यो आरोप आफू र आफू जस्तै ब्लगरको भागमा तेर्सिएको अनुभव गरेँ । अनि तमाम ब्लगरको लस्करलाई पनि यो आरोपको सङ्गीनमा राखेर अड्कलेँ । सबै केही न केही रूपमा, मात्रामा साहित्य लेख्‍छन्, कवितै भनेर नलेखे पनि तिनका गद्यलेखनमा काव्यिकताको ओज भरपूर देखिन्छ । अहँ, तर रुष्‍ट साहित्यकार र ब्लगलेखनको साइनो कहाँनेर मेल खान्छ, त्यो आरोप ठ्याम्मै चित्तै बुझेन । रुष्‍ट साहित्यकार नै र मात्रै ब्लग लेख्‍छन्, ब्लग लेखनमा मोडिन्छन् त ? जो साहित्यिक छन् र ब्लग लेख्छन्, ति रुष्‍ट भएरै सबै कुरा छाडेर ब्लगमा हेलिएका हुन् ? आँखीभौँमा पोको परेका सोचाइका लालगेडीहरू फुकेनन्, बरू ती कसिँदै ब्लगिङका पाटाहरू खोतल्नतिर बत्तिन थाले ।

एक त हाम्रा साहित्यिक प्रकाशनहरू सङ्ख्यात्मक रूपमा पनि कति नै छन् र छाप्ने पर्याप्‍त विकल्प उपलब्ध छ भन्ने प्रश्‍न छ । अनि भएकाहरूले पनि कति मात्रामा पक्षपातरहित ढङ्गले लेखरचना छनोट गरेर योग्य प्रतिभा र विचारलाई स्थान दिन्छन् भन्ने अर्को मुख टाल्ने प्रश्‍न उभ्याउन सकिन्छ । अर्कोतिर, साहित्यिकहरूमै आत्मघाती रोग छ, प्रचारप्रसारको सस्तो मोहमा परिमाणात्मक रचनाको बाढी लगाएर हस्-हजुर ट्यास्स टक्र्याउँदै लेखरचना प्रकाशनको लागि सम्पादक र प्रकाशककहाँ बिन्तीभाउ बिसाउन पुग्नु । यस्तो गोटागोटी एकादुई 'प्रतिभाका मुहानहरू'को व्यवहारले आम साहित्यिकहरू र साहित्यिक क्षेत्र नाम त नाम तर बद्‌नामको रूपमा खातामा चढेको छ । सबै एउटै आँखाले हेरिने रूपमा पत्रु भएर दरिने स्थितिमा पुगेका छन् ।

आफ्नो क्षेत्र हो, यसमै गरिखाने हो भन्ने व्यावसायिक पाटो गाँसिएको भए साहित्यिक क्षेत्र पनि पक्कै स्वच्छ, शिष्‍ट र अनुशासित हुनेथ्यो होला, सोही रूपले सम्मान र इज्जत पनि यसले चुल्याउँदै लग्नेथ्यो । तर प्रदर्शनपूर्ण सोख र काँचो रहर पूरा गर्ने खुला क्षेत्र बनेपछि लाज न धक जसले जे गरे पनि कुनै हिसाब रहेन । राम्रोसँग साँवा अक्षर फुटाउन नसक्नेले वर्णमालाको किताब निकाले जस्तै हो, कुनै अर्थ र शैली नभई फतफत आवाज जथाभावी उछालिरहनु । भावना र विचार पोख्‍ने क्षेत्रमा छेकथुन हुनुपर्छ भन्ने कुरै होइन, तर यसमा हेलिनेहरू दुई कौडीको पनि सोच र समझ नहुनेहरू भएकाले सस्तोपनको हिमतह हाम्रो साहित्यिक पर्वतमा बढ्दैछ, जहाँ साँच्चिकै ठोस पर्वतको गरिमा भासिँदै गएको छ ।

अनि ल मानौँ, रुष्‍ट साहित्यकारहरू नै पैदा भएर देखिए अखबारी आँखामा भने पनि त्यसरी रुष्‍ट जमात पैदा गर्नमा अखबार, पत्रपत्रिका र प्रकाशनहरूको पनि कत्तिको हात छ भन्ने सवाल उठाउनु जायज छ कि छैन ? कसैप्रति रिसराग र पूर्वाग्रहको तीरकमान नउचाली भन्ने हो भने पनि चिनजानको र नातोगोताको छ भने एउटैको लेखरचना दसचोटि घुमाइघुमाइ छापिदिने निर्विवेकी सम्पादक र जाली प्रकाशकको कुनै कमी छैन नेपाली सञ्चार-प्रकाशनको क्षेत्रमा । धाईधपेडी गरेर एउटा नमस्कार टक्र्याएको भरमा कविता छापिन्छ, कहिल्यै भेटघाट गर्न नसक्ने स्थितिमा कुना-कन्दरामा साधनारत प्रतिभा हेरेको हेर्‍यै हुन्छ ।

यस्तोमा को ठूलो लेखक भन्नु, कसले जित्यो भन्नु !? प्रकाशनको इतिहास बनाउने कसरतमा त धाइधपेडीमा सस्तो शिष्‍टाचार भजाएर, यसो अरू टिपनटापन चखाएर असङ्ख्य छपाईकर्म आफ्नो रचनात्मक कर्ममा बटुल्नेले नै लोप्पा ख्वाइसकेको हुन्छ सबैलाई । जहाँ हेर्‍यो उसैको नाम, जता हेर्‍यो उसैको जात्रा ! यसरी रुष्‍ट साहित्यकारहरू छापा माध्यमबाट बढ्दैबढ्दै इन्टरनेट माध्यममा पनि नअँटाएर त्यसबाट पनि विष्‍फोट हुन खोजे भने के होला हँ कविता नरुचाउने पत्रकार महोदय ? तपाईँलाई व्यक्तिगत रूपमा कविता नरुचाउने हक छ, तर रुष्‍ट साहित्यकार पैदा गराउने अधिकार पनि कसैले दिएको छेन है तपाईँहरूलाई । कुरा स्पस्ट छ- रुष्‍ट साहित्यकारहरू राम्रो भएर पनि भनसुन-चिनजानमा नबिकेर रन्थनिएर बसेका हुन्छन्, दुष्‍ट साहित्यकारहरू आफूमा केही नभएर पनि त्यही नहुनुको दूषित शून्यतालाई काखी च्यापेर साहित्यिक हाटबजारमा आफ्नो प्रदुषणको व्यापार बिगबिगी फैलाएर गरिरहेका हुन्छन् ।

भन्नुस् इर्ष्‍यालाग्दो लेखनशिल्प भएका युवा पत्रकार,
तपाईँ कसलाई रोज्नुहुन्छ ?
रुष्‍ट साहित्यकार
या
दुष्‍ट साहित्यकार ?

14 July 2009

स्वामी रामदेवलाई पत्र

स्वामी श्री रामदेव,

सेवामा प्रणाम !

विशेष लेखनीय कुरा धेरै भएर नैं अस्पतालको डाक्टरी मेचमा बसी स्टेथिस्कोपको त्यान्द्रो एकछिन खेलाउन छाडेर यसरी कलम समाएको छु । नत्र त हामी डाक्टरहरूको कलम खिटिरखिटिर औषधिको लम्बेतान प्रेस्क्रिप्सन सूची कोर्नमा कत्तिको चालू हुन्छ, भनिरहनु नपर्ला । यसर्थ: यस्तो महँगो कलमको इज्जत गरेर पूरा पत्र पढ्नु नै हुनेछ भन्ने आशा गरेको छु । यही आशामै टिकेको रहेछ संसार, हामी पनि रोगी-बिरामी नमर्लान् भन्ने आशैआशा सँगालेर तिनको शरीर चिरचार र खोतलखातल पार्छौँ । तर जति नै आशा सँगाले पनि पिताम्बर लपेटेर पेट यसो फुलफाल पार्ने र नाक साँक्कसुँक्क बजाउने एउटा लुरे दाह्रीवाल स्वामीको अघि बेकामी हुनुपर्ला भन्ने चाहिँ चिताइएको थिएन, त्यही भोग्नुपर्‍यो ।

हुन त, तपाईँ पनि यो शिविर र उः शिविर धाउँदै कपालभातिदेखि केके हो नानाभाँतीसम्मका योग सिकाउँदैमा बेफुर्सदी हुनुहन्छ होला । सबैलाई स्वस्थ बनाउन तपाईँको यात्रा अग्रसर भइरहेको छ । हामी डाक्टरलाई पनि त त्यो सबैको दायराभित्र राखेर स्वस्थ बनाउनुपर्छ नि तपाईँले । हाम्रो रोगको पनि ख्याल गरिदिनुस् भन्ने बिन्तीभाउ नै यस पत्रको मूल आशय हो । नत्र त हामी डाक्टरहरू कहीँका नरहने भयौँ !

हो स्वामीजी, रोग लागेर उपचारका लागि बिरामीहरू आउने क्रम घटेपछि हाम्रो बिचल्ली सुरु भएको छ । कोही अभिभावकले पनि अब आफ्ना सन्तानलाई डाक्टरसाक्टर बनाउने सपना नपाल्ने भए भन्ने त्राही भइसक्यो । तिनले छोराछोरीलाई 'बरु योगी बन्नू है बाबू-नानी' भन्ने सल्लाह दिएमा अचम्म मान्नुपर्दैन अब । मलाई पनि अचेल घरमा कोही पाहुनापासा आएको बखत छोरीलाई के बन्छ्यौ नानू भनेर सोध्दा उसले तोतेबोलीमा 'डाक्टल बन्थु' भनेर सुनाउँदा झनन्न रिस उठ्न थालेको छ । यो रिस साम्य पार्न तपाईँको योगशास्त्रमा के उपचारविधि छ स्वामीजी ? म जल्दोबल्दो डाक्टर मान्छे, बिरामी पो भएँ ।

मान्छेहरूले अचेल अस्पताललाई त पैसाका काल भनेर पो चिन्दा रहेछन् । त्यही नाममा उनीहरू आपसमा कुराकानी गर्दा रहेछन् । 'कति धाउनु होउ यो पैसाको काल' रे ! त्यो सुनेर मलाई त खोइ कस्तो कस्तो लाज हो कि डरले एकैचोटि पो घेर्‍यो । अस्पतालको गेटनेर एक जोडी बूढाबूढीको अस्पताल-विमर्श सुनेर तिनीहरूको दयालाग्दो अनुहारबाट बच्न म हुत्तिएर हतारहतार गेटभित्र आफ्नो ड्यूटीको वार्डभित्र छिरेँ र मात्र ढुक्क लाग्यो ।

हाम्रो पनि विवशता त्यस्तै छ नि, के गर्नु ! महँगो चिकित्साप्रविधिले उपचार खर्च मान्छेको मोलभन्दा अनमोल भइदिन्छ, हाम्रो के लाग्छ ? आफूले डाक्टरी पढ्दाको कष्ट सम्झियो, खर्च सम्झियो अनि त आफूले कालो चश्मा लगाएर बिरामीको दयालाग्दो अनुहार नदेखेजस्तो गरेरै भए पनि फी असुल्न मन लागिहाल्छ । बिरामीको नाडी छाम्यो, तिनको हातबाट सुनको घडी फुत्त झरिहाल्छ । त्यसलाई नटिपी हामीले धरै पाउँदैनौँ ।

स्वामीजी, हुन त तपाईँको रिस गरेजस्तो होला । तर तपाईँका कारण अचेल मान्छेहरू आफ्नो घरको चार दिवारभित्रै निजी अस्पताल खोलेर बसेजस्ता भएका छन् । त्यहीँ एउटै कोठामा पढ्ने पत्रिकादेखि प्राणायाम भस्त्रिकासम्मले पालो पाउँछ । उता तपाईँको योगासनले यता हामीलाई मरणासन्न तुल्याएको छ । अस्पताल आएका गोटागोटी बिरामी पनि योग गरेर अलि सन्चो भएको कुरा गर्छन् । मर्निङ वाकमा चउरतिर पुग्दा पनि के-के अनुलोम-विलोमको कुरा सुनिरहनुपर्छ ! यसले त हामीलाई कुलेलम ठोक्न बाध्य पार्छ कि जस्तो लागिसक्यो । तपाईँको योगले अरूहरूलाई जस्तोसुकै लाभ दिए पनि हाम्रो पेशाको पनि यसैले रक्षा गर्नेछ भन्ने भर परेका छौँ । दुनियाँको लाभ गर्दै हिँड्नेले हाम्रो लाभ पनि त सोचिदिनुपर्‍यो नि स्वामीजी ! पत्राचारको पर्खाइमा छु ।
धन्यवाद !

- डाक्टर मुर्लीनाथन ।

10 July 2009

आमा !

वर्षअघि लेखेको हुँ यो गजल ! शाही शासनको जगजगीले मुलुक अँगारको कोलमा पिसिँदै थियो, पिना बन्न हो कि तेल नै निस्किन कुन्नि ! आज हेरौँ- हामीले तेल पायौँ कि रुखोसुखो पिना मात्रै ? भनिन्छ, प्रत्येक पलको मूल्य हुन्छ, गति हुन्छ ।
तर नेपालको घडी ठीक साँढे सातको दशामा माकुराजालमा बेरिएर कुथुर्किए झैँ छ । सोच्छु, यस गजलको भावभूमिदेखि अहिलेको नेपाली हावापानी कति फरक छ त ? सोचिन्छ .... र केही सोच्न सकिँदैन ।
बाँकी बोल गजलबाटै -
ढुक्कसित बस्ती पस्ने गौँथली खै छैन आमा
कति पिरो मौसम यो बदली खै छैन आमा !

केस्राकेस्रा व्यथाहरू चिच्याउनु कसोगरी,
बन्यो जेल जताततै डबली खै छैन आमा !

हीरा-मोती सम्पत्तिले भरिएछन् सारा ठाउँ,
काँप्ने मुटु साँचिदिने बगली खै छैन आमा !

हिलैहिलो पैनीबीच फसिदिन्छ जुनी किन,
तराईमा मुन्नी रुन्छे- मछली खै छैन आमा !

ओठ चुमे जस्तै गरी रक्त चुस्ने संसार छ,
खोटी रूपै चल्यो यहाँ असली खै छैन आमा !

***

07 July 2009

रामलखन, खोइ तेरो घरको ढोका ?

र छ,
सुकिलोमुकिलो आँगन छ,
आँगन भेट्ने वरिपरि फैलिएको चौबाटो पनि छ,
घरलाई 'घर' भनिन लायक बनाउने यसभित्र ओत लाग्ने जीवनहरू छन् ।

तर खै त खै
यसको ढोका कहाँ छ ?

कुरा उही देशको हो, आफ्नै देशको । देशको कुरादेखि फुर्सद पाए पो विदेशको, कहाँ न कहाँ आकाशिँदै गएको तिनको विकसित चालढाल र छलाङको कुरा गर्नु ! यही, कसैको आफ्नो हुन नसकेको टुहुरो देशलाई काखी च्यापेर निरीह भावमा हाम्रो भावनाको एक थान ज्यान खुसुसरखसुर घस्रिरहेछ, बिना उत्साह बिना चाख….।

छानो फाटेर कोठा नै हिलाम्य गह्रा बनेपछि रोपाइँमा घरछेउको पाखोबारी वा छिमेकको लाम्चे कित्तामा पर्म तिर्न जान कुनै सोचाइ फुर्दैन । यस्तै भएको छ नेपाल खाल्डोमा ।

कलाकार जे पापीले हालै एउटा साङ्गीतिक एलवम निकालेका रहेछन् - 'देशको काट्टो खानेहरू' । त्यसमै सँगालिएको एउटा गीतको बोलले भन्छ-

"रामलखन खोइ तेरो घरको ढोका
जो पसे'नि हुने जे गरे'नि हुने चाल्दै चोटा र कोठा ।

रामलखन खोइ तेरो घरको ढोका…. … "


घरमा ढोका नभएपछि कुँडेको दूध खाने बिरालो त यत्तिकै पनि पसिहाल्छ, घरमुलीको ज्यानै मिले बाघ पस्ने खतरा पनि उत्तिकै रहन्छ । बिरालो भएर पसी बाघ हुनेहरूको धूर्त्याइँ पनि बुझिसाध्य हुँदैन । नेपाल नामको घरको हालत पनि करिब करिब त्यस्तै छ । घरमा ढोका छैन, यसैले 'धोका' दिनेहरूको पाइला यत्रतत्र मडारिएको छ यसको अन्तरकुन्तरमा ।

दुई ढुङ्गाबीचको तरूलको व्याख्या पाएको देशले सधैँ यसैको चिनारीलाई अपूर्व अनुकम्पा मानेर बसे झैँ लाग्छ । देशको कुरा गर्दा यसको नेतृत्व तहमा बसेकाहरूप्रति गुनासो, गाली र सत्तोसराप गर्नु निरन्तरको रीत हो हाम्रो । अरू त विकल्प नै के छ र ? डाडू-पन्यु हातमा भएका भान्सेलाई हो करकर गरिने -
अघाइएन,
त्यता अलि बढी भाग भयो,
उता अचार बासी परेछ, फ्याँक्देऊ
लाऽऽ भात त डढेर माम्री भएर खत्तम !
मलाई चाहिँ हेपेर हड्डी-हड्डी छानेर हालेको हो पख्लास् !!

भान्सेले हामीलाई के जवाफ दियो, के कुराले फकायो-फुल्यायो र शब्दजालमा सधैँ कस्तो आश्‍वासनको शृङ्खलाले झुलाइरह्यो, त्यो त हामीले भोग्दै आएकै छौँ । हामी अहिलेसम्म यस्तै शब्दजाल, लोलोपोतोले अघाएर सहनशीलताको सफल परीक्षा दिइरहेछौँ ।

दृश्य १:
काठमाडौँको कुनै कुनामा तिब्बतीहरूले दलाई लामाको जयगानसँगै चीनविरोधी नारा लगाउनासाथै चिनियाँ अधिकारीको मुटुमा सन्त्रासले ढ्याङ्ग्रो ठोक्छ । र राजदूत वा चिनियाँ अधिकारीको विशेष टोली तत्काल हाम्रा सरकारको नेतृत्वमा रहेकाहरूसँग सम्पर्क/भेटघाट गरी नेपालमा यसरी चीनविरोधी गतिविधि नहोस्, हामीलाई अप्ठेरो पर्छ भनेर गुनासो गर्छ । तत्काल नेपाल सरकारको गृह मन्त्रालय जागरूक बन्छ र ट्रकका ट्रक आन्दोलनकारी तिब्बतीहरू खोरमा पुग्छन्, चिनिया नियोगछेउछाउको सडक-क्षेत्र बटुवासमेत हिँड्न निषेध गर्नेगरी थुनिन्छ ।

दृश्य २:
नेपालमा राजनीतिक 'कब्जियत' हुन्छ, निकास केही खुल्दैन । सहयात्री दलबीचमै छेडखान र कट्टर मतविभेदले शिर उचाल्छ । अथवा सहमतिको प्रयास भइराखेको हुन्छ, तर ठोस निर्णयको लागि हाम्रा 'जननिर्वाचित' नेताजीहरूमा आँट पलाइरहेको हुँदैन । त्यसै बखत भारतीय राजदूत पारिबाट अचुक बुटी लिएर शाही ठाँटका साथ दलहरूका अड्डातिर तीर्थाटन गर्छन् । आफू-आफू सरसल्लाह गरेर मिल्न नसकेका रुस्ट पक्षलाई बाहिरका यी पाहुनाले खुशामद गर्दै जादुटुना लगाएर मनाउँछन्, विचित्र कोटिको अधिकार प्रयोग गरी भारतीय सूत्र मान्न दबाब दिन्छन् । यस्तैमा अड्किरहेको कुरा सुल्झिएर क्रान्तिकारी फैसला जनसमक्ष आउन अर्को आइतबार लाग्दैन । हामी जनता मक्ख पर्छौँ- देशमा राजाबाट जनताको हातमा सार्वभौमसत्ता फर्कियो भनेर, लोकतन्त्र कायम भयो भनेर, ऐतिहासिक गणतन्त्र कार्यान्वयन भयो भनेर ………।

यी दुई नमुनामा हामी जनता कति पैँतालामुनि छौँ, हाम्रो देश कुन घानमा पिसिएको छ ? सोध्न कतै गइरहनुपर्दैन, साक्षी आफ्नै आँखा छन् र मनले विमर्श गरी सत्य ओकलिदिएको छ । चीनलाई अर्काको देशमा आफ्नो विरोधमा नारा लाग्दा, जुलुस निस्किँदा हैरानीले छोप्छ, हनहनी ज्वरो आउँछ । उता भारत लाज न डर अर्काको मुलुकको कहिले खडेरीग्रस्त र कहिले बाढीग्रस्त राजनीतिक मौसममा स्वघोषित माझीदाइ बनेर दवाब र खुशामद थुपार्न कुनै साइत कुर्नुपर्देन । नयाँ-नयाँ राजनीतिक ध्रुवीकरण र गुटबन्दी खडा गरेर आफूअनुकूललाई रिझाएर सत्ताको चकलेट चुसाएर त्यसको पृष्‍ठभूमिमा शुभ लाभ गर्न बानी परिसकेको छ ऊ ।

अन्तर्कथा
यता बीचमा छ भाइकान्छो नेपाल । शोक न सुर्ता भोक न भकारी । यो उखान आपसी लुछाचुँडी र घोचपेचको दलदलमा मस्तराम दलहरूलाई नसुहाउने कुनै जुग भएन नेपालमा । सीमा मिचिँदा, साँध ताछिँदा, सीमापारिबाट मात्र होइन सात समुद्रपारिबाट दबाब करकाप सबै आएपनि आफ्नै ताल र लिँडेढिपीमा शक्तिको बल्छी थापेर छिर्के हान्ने अभियान पेवा भएको छ राजनीतिक नेताहरूको । सामाजिक अरू मुद्दाहरू यही राजनीतिक रडाकोबीचमा ओझेल-ओझेल छन् ।

कसैद्वारा सञ्चालित गोटी हुनमा परमानन्द मनाइरहेछन् नेताहरू । केही गर्नैनपर्ने, खेलिनुमा आफू ठेलिने कुरा अन्तर्निहित भएपछि हाइसन्चो नहोस् पनि कसरी ? आफ्नो घरको चाबी छट्टु छिमेकीकहाँ जिम्मा लगाएर धर्म आर्जन गर्ने र पवित्र हुने लहरमा भजन सुन्न चोक र बजार चहार्ने भरप्रसादको जस्तो हालत छ देश हाँक्ने नेताहरूको । धेरैजसो त एक थान घरसमेत हाँक्न नसक्नेहरू केही उपाय नलागेर राजनीतिको तिकडममा हेलिएका छन् । मानौँ कतै नबिक्नेहरू राजनीतिमा टिक्ने भने झैँ । लगातारको सपनामाथिको घात र सुनौलो सम्भावनाहरूको महान् अवसर आउँदा पनि दोहोरिरहने 'ल्यान्ते लीला'देखि आजित जनता थकित र हतास भएका छन् ।

यस्तोमा 'खोइ तेरो घरको ढोका' भनेर पनि कसलाई जागरूक बनाउने ? कानमा तेल होइन सेल पाकेर वारिपारि प्वाल ट्याप्प टालिएको छ सबैको । निजी राग र वैरागहरू छन्, राष्‍ट्रिय सपना छैन, देश त टुहुरो जस्तै छ- बेसहारा । आफ्नै खेल देखेर थपडी बजाउने हात मात्र बाँकी भएकाहरूसँग के कुरा गर्ने !!?

तर पनि यो धुन यतै-कतै अलमल्ल परिरहेछ -

ओइ रामलखन, खोइ तेरो घरको ढोका हँ ?????