Subscribe:

Ads 468x60px

26 September 2009

'अफिसे दसैँ'

बडादसैँको अवसरमा समस्त पाठकजन, ब्लगर मित्रहरु तथा 
शुभेच्छुक साथीसङ्गीहरुलाई 
हार्दिक शुभ कामना !

------------------------------------------------------------------------------------
बाहिर कौसीबाट देखिन्छ कावा खानमा मग्न छन् चङ्गाहरु छेउमै छ आकाशको निधारमा टीकाझैँ टाँसिएर बसेको खुर्पे चन्द्रमा । चङ्गाहरु चन्द्रमाको हाराहारीमा फरफराएर लहरिएको देखिन्छ ।

आफू छु अफिसमा 'अफिसे दसैं' मनाउनमा मग्न ! र चङ्गा र चन्द्रमाको लोभलाग्दो जुहारी अफिसकै कौसीको रोमान्चक देन हो त्यही चङ्गाको रङमा पोतिएर रसाएको छ मन ।

पातलिएको काठमाडौँ काठमाडौँ जस्तो छैन । सहरबासीहरु दसैँ मनाउन आफूलाई ओसार्दै गाउँतिर ओइरिएको फलस्वरुप सवारीसाधनको चाप सामसुम्म हुनेगरी घटेको छ । सडक एकाएक विस्तार भएझैँ भएको छ । सडक विभागले आफूले नगरेको कामको जस काठमाडौंको सडक फराकिलो भएर पाएझैँ भान हुन्छ ।

पहिलो पटक दसैंमा घरदेखि टाढा हुँदाको विरहमा गाँठो परेको छु । घरदेखि टाढा त छु नै यस्तो उल्लसित ठूलो पर्वमा र नितान्त आफन्तविहीन पनि छु यो चक्रपथको चक्करमा बेरिएको सहरमा । र बित्दो छ सप्तमी अष्टमी नवमी गर्दै यसपालीको दसैँ अफिसको कामकाजसँगै गुटमुटिएर । चाडबाड के हो घर के हो पारिवारिक जमघट के हो यही एक झमटको दसैँले म केटोलाई पाठ पढाउँदैछ । आह् ! यो पाठ पढ्न पनि कति पो सास्ती रहेछ !! आफूले त जसोतसो चित्त बुझाइयो, घरकाहरूले भने साह्रै न्यास्रो माने । त्यही न्यास्रोपन यता आफूसम्म फर्किएर नुन-चुक छर्यो मनभरि ।

देशका कुना-कन्दराबाट राजधानी भित्रिएर विभिन्न पेसा-व्यवसायमा बाँधिएका मानिसहरु सर्लक्कै जिल्लातिर हानिँदा काठमाडौँ सुनसान त बन्छ नै एक हिसाबले बन्द भैष हुँदो रहेछ । होटल-पसल बन्द छन् भाडावालको उपस्थितिले चाइँचुइँ गर्ने झ्याल-ढोकाका खापाहरु पनि एकतमास भइदिँदा भूतबङ्गलाको छनक मिल्छ टोलमा ।

अफिसमा तास खेल्नेहरु तास खेल्दैछन् कामलाई व्यवधान नपर्ने गरी । टेलिभिजन मिडियाको काम तासलगायतका मानोराजनात्मक कि्रयाकलाप अफिसमा नहोस् भनेर सूचना पाटीमा सचेतना टाँसो टाँसिएको छ । तर यत्रो पर्वमा अफिसियल आदेशलाई के टेरपुच्छर लगाउँथे कर्मचारीहरु ! यसो मौका हेरेर भुइँमै पनि पलँटी कसेर म्यारिज कलब्रेक जमाइहाल्छन् । नत्र चाडमा बिदा गुमाएर घर नगईनगई अफिसमा थुनिएर बस्नु पनि र मन बहलाउने केही उपाय पनि अपनाउन नपाउनु कस्तो उकुसमुकुस हुन्थ्यो ! आफ्नो ताल भने न तास, न पारिवारिक उल्लास ! पूर्णरुपेण अफिसे दसैं ।

13 September 2009

जागिरे जोईको खोजी

फ्नो जागिर होस्-नहोस्, एउटी जोई होस् र त्यो जोईको मुठा-मुठा पैसो तान्ने जागिर होस् । नारी अधिकारले समग्र बजार कब्जा जमाएको बेला पुरुष अधिकारको ज्वरोले तातिएका उमेरदार योग्य वरहरु यस्तै इच्छा प्रकट गरिरहेका भेटिन्छन् । आधुनिक कालबेला छ भनेर नाराकै रङरोगन घसी नाराकै पखेटा जडेर स्वतन्त्रता खोज्ने फाइफुट्टीरानीहरुलाई त यस पुरुष-अधिकारको नयाँ खोजीले खुत्रुक्कै पार्ला ! तर जागिरे रफ्तारमा चाल मारिरहेका हुनेवाली जोईहरुलाई भने यो खोजी अभियान जोडीको उम्मेदवारीमा पर्ने सुनौलो अवसर हुनेछ ।

बसको भीडमा, बेरोजगारको हूलमा, अड्डा-अफिसमा, चिया-चमेनामा जताततै कुनै उमेरदार नौजवानको बिहेको कुरा चल्यो कि त "टन्न गाँठ कमाउने केटी नपाएसम्म त आफू बूढोकुमार नै बसिन्छ यार" भन्ने थेगो सुनिन्छ । यस्तो रहर कोही हाकाहाकी पोखिरहेका छन् त कोही मनैमन कुरा खेलाएर रहरलाई पकाउँदैछन् । खुलेर नभन्नलाई जागिरे जोई पाऊँ भन्नु फेरि कुन त्यस्तो लाजमर्दो कुरो हो र ? मान्छेहरुले लाजै पचाएर कुन्नि के गर्न पाम् कता जान पाम् त भनिसके, जागिरे जोई पाम् भन्नु के अपराध भयो र !

आफू जागिरे पोइ पहिलेदेखि नै छ भने त जागिरे जोई पाएपछि हिसाब दोब्बर भएर पारिवारिक कारोबार सहज रुपमा बढ्ने नै भयो । आफू बेरोजगारै परिएछ भने पनि जागिरे जोईको प्रवेशसँगै घरमा लक्ष्मीको प्रवेश भइहाल्छ । तिनैको भरथेग र पोषणले दम्पतीको सास धानिहाल्छ । यही सुरक्षित र प्रभावकारी जीवनयापनको सामाजिक सोचले निकालेको नतीजा हो जागिरे जोईको खोजी ।

जागिरे जोई पाएपछि टोल-समाजमा जागिरे दुलहीको दुलहा भन्ने नयाँ आकर्षक परिचय मिल्ने कुरा त छँदैछ दुलहीको आत्मकेन्द्रित खर्चप्रथा पनि स्वाट्टै हटेर पारिवारिक बजेट अनुरुप ढल्दै जानेछ । आपुनो लाली टप र स्यान्डल किन्नमा मात्रै जागिरको कमाइ सक्दै आएकी कन्ने केटीले जोई भएर आएपछि त्यही पैसाले सारा घरखर्च मिलाउनुपर्दा दुलहीलाई झन् व्यवहारिक हुन सिकाउनेछ । बिहे भएर माइतीबाट बिदावारी भई घरमा आएपछि जागिरे जोईले मेरो आफ्नो खर्च मैँ आफैँलाई ठिक्क हुन्छु भन्दै महिनैपिच्छे थैलीलाई गोदरेज दराजमा कोच्यो भने त्यो पुरुष अधिकारको हनन मानिनेछ ।

जागिरे जोईको माग एक्काइसौँ शताब्दीकै माग हो । अरु देशले के-के कुराको खोजी र अन्वेषण गरिसके हामीले भने जागिरे जोईको खोजी गरेर थपक्क एक-एक जना सुकुमारलाई एक-एक जना जागिरे जोई जुराउन नसक्नु लाजमर्दो कुरा हो । लैङ्गिक समानताको मुद्दा चर्किरहेको बेला पुरुष नै जान्ने भएर जहाँ पनि अघि सर्दै जागिर खाने लहर पुरानो भइसक्यो । राम्रो र जागिरे पति पाउष भनेर मनैमन पुकारा गर्ने कन्ने केटीहरुले पनि वर्षौँ यो सजिलो काम गर्दै आए । दसैँबजारमा कुन गतिलो खसी भनेर छाने झैँ "को सरकारी सुब्बा, को अमेरिकाको ग्रीन कार्ड भएको, को घघडान व्यापारी, को इन्जिनियर" भन्दै युवतीहरुले योग्य वर छानीरोजी गर्दै आए । घुमिफिरी कुमार केटोले पनि मनको बह पोख्ने पालो नपाउनु त अन्याय नै हुन्छ । जागिरे जोई पाउने इच्छा यही आलोपालोको आवश्यक रीत हो । लौ है जागिरे जोई पाम् !

10 September 2009

पर्दा

तस्बिर: जीप2गर्ल.कम


यही त हो मुश्किल
तिमी धनी छ्यौ ।

जाडोमा मेरो
शक्तिहीन स्वेटर
र गर्मीमा सयौँ घामपानीले रेटेको
चाल्नोसमान छाता
तिमी देख्दिनौ
यही त हो मुश्किल
तिम्रो झ्याल नम्बर एकमा
छ ढकमक्क पर्दा,
र म चोरेर पनि एक पलक
पाउदिनँ हेर्न तिमीलाई ।

सिमाना-सिमानामा
खोस्रिइँदै बग्ने देश,
जहाँ-
तिम्रो शयनकक्षमा
अनेकौँ अत्तरको गुम्फन झैँ
कति-कति लडाइँहरू छन्
अँगारी तिम्रै केशसमान
गुच्छागुच्छा दौडटोलीहरू छन्
देखेर पनि नदेखिने झ्याल
कतिन्जेल कुरिरहनु,
यही त हो मुश्किल
तिमी झुल्किने आसमा बारम्बार
यो बिहान
त्यो बिहान
झ्यालको डाँडामुनि
म पाले भइरहेँ ।

छुन्छ लाली रङ्गले
तिम्रो नौनी ओठ
कडा किलिपले करप्प कन्सिरी सम्हाल्छ,
उसरी त म
कहाँ चुम्बक भएँ र तिमीसँग ?
धुवाँदार मोटरले सडकमा
जसरी धावा बोल्छ
उसै गरी त तिमी के बोल्छ्यौ !
ओ महारानी हजुर,
हावा छेक्ने / घाम थुन्ने
त्यो महसुर पर्दा
झ्यालको खुला आँगनमा
कति डलरमा रोप्यौ ?

किन्छ्यौ गाढा मखमली पर्दा
सजाउँछ्यौ शीतल झ्यालभरि
यही त हो मुश्किल
तिमी धनी छ्यौ,
यति मुश्किल-
तिम्रा आँखामा नै
चिम्म ढकनीहरू छन् ।


***

08 September 2009

गजल-मजा 'अलिअलि'

जल लेख्‍नुमा सुरुमा मजा थियो, जुन बेला लेख्‍न सुरु गरियो । जब कविता लेखनतिर हात हालियो, तब त्यो मजाको वेग कविताले नै उठायो । मूल विधा पनि तबदेखि कविता नै बन्यो । अरुलाई पनि यस्तै हुन्छ कि क्या हो, ? मेरो सरसङ्गतिमा रहेका गजल र कविता दुवै लेख्नेहरूले भने मैले जस्तै तृप्‍तिको फरक तह अनुभव गरेको सुनाएको पाएको छु ।

र पनि गजल विधागत लेखनीको हिसाबले पहिलो प्रेमको रूपमा सम्हालिँदै-सुमसुम्याइँदै आइयो । र गेयात्मकतामा जुन सुरमय तरङ्ग दिन्छ गजलले, त्यो त कवितामा सम्भव छैन । अर्कोतिर मात्रा, मिटर र साँघुरो आयाममा खुम्चिनुपर्ने काफियासंसारको सीमा हुँदाहुँदै पनि भावगत र वैचारिक प्रखरता दिन गजल हच्किँदैन । यसैले गजलहरू आजसम्म पनि लेखिँदैछ- उता हिन्दी र उर्दू साहित्यमा; यता नेपाली, भोजपुरी, मैथिली, नेपाल (नेवारी) आदि भाषाभाषीमा । फाट्टफुट्ट अङ्ग्रेजीमा पनि लेखिन थालेका छन् पछिल्लो समयमा गजल ।

तर गजलको जगले पक्की घरको स्वरूप गायनमा अभ्यस्त तुल्याएपछि नै लिनेछ । अचेल राजधानीमा हुने गजलका विविध कार्यक्रम, गजलकृति विमोचन आदिमा गजलकारहरू नै गुनासो र खिन्नता पोख्‍न थालेका छन् - 'गजल लेखेर भविष्‍य छैन । जथाभावी गजल लेख्नेहरूले गजलको मानमर्दन गरे ।' खास गरी, साहित्यिक ओजबिनाको लेखनी गजलतिर ल्याएर रचनात्मक पाइन देखाउने हूल देखेर र अपेक्षाकृत साङ्गीतिक गजलको जमजमाहट नदेखेर अत्यास मानेका भेटिन्छन् खास गजल-साधकहरू ।
कुनै पनि रचना स्वाभाविक रूपले सर्जकले आफ्नो आत्मानन्दलाई तौलिँदै लेख्‍छ, त्यसमा सामाजिक दायित्वको पनि पारख गर्दै जिम्मेवार मन-मगजले गुदी कुरो हाल्दै जान्छ । गजलमा पनि त्यस्तै हो । मायाप्रेम र भक्तिभावबाट लेख्न सुरु गरिएको नेपाली गजल-लेखन आज विविध विषयवस्तुमा फैलिएको पाइन्छ । बिस्तारै पङ्ख हाल्दैछ, समयको लगानी आवश्यक छ यसले एउटा रचनागत मूलबाटो बनाउन ।
त्यसअघि त यस्तै फुटकर लेखनमा अलिअलि मजा लिने न हो ! यसपाली यस्तै एउटा फुटकर मजा :



भो नगर्नू कुनै डाह अलिअलि बाँचेँ
बाँच्नै थियो आगो चुम्दै जलीजली बाँचेँ ।

यौटा आँखा अर्को आँखा कति प्यारा आँखा,
आफ्नै आँखा त्यतै नाच्दा गलीगली बाँचेँ ।

हिँड्दाहिँड्दै जिन्दगानी भयो कछुवा झैँ,
घडीसँगै सुस्तसुस्त चलीचली बाँचेँ ।

दुनियाँमा तगारोले जाने ठावैँ छैन,
थुनिएर श्‍वासको यो नलीनली बाँचेँ ।

वाण हान्ने प्यारा वैरी यतै सामु आऊ,
हान तारो आदतै भो छलीछली बाँचेँ ।

05 September 2009

ऊ बच्चैमा बूढो भयो !

- जन्मदिनको शुभ कामना बच्चा ! २५ वर्षे पट्ठोपन पूरा गरिस् ।

जन्मतिथिको अघिल्लो दिन नै ऊ बेलुकीपख बिछ्‌यौनामा घुस्रिँदै गर्दा आफैँसँग फुसफुसायो । 'आफैँलाई माया गर्नु' भन्ने जीवनसूत्र ऊ भर्खर त बुझ्न थाल्दैछ, यसैले शुभ कामनाको एक डाली आफैँतिर हुर्‍याएर छ्‌याप्प हान्यो । कस्तो रे भने, आफैँलाई माया गर्न नसक्ने-नजान्नेले अरूलाई पनि माया गर्न सक्दैन रे । यसरी ऊ पृथ्वी-पाठशालामा अभ्यासी चेला बनिदिएको छ । सिक्दैछ ऊ- मायासँगै घृणा, धोकाधडी, चाबुक, छिर्केखेल, लोलोपोतो, स्याहार, स्वानुभूति … ।

आफैँलाई शुभ कामना अर्पण गर्ने त्यो रातअघिका दिनहरूमध्ये कुनै एक दिन ऊ सडकमा थियो । सडक, जहाँ पहिलो पटक परेला खोतल्दै अस्तित्व जाग्छ, पहिलो पटक कलिला कुर्कुच्चामा टाप जड्न नपाई-नभ्याई छिप्पट यात्राको बिस्कुन सामुन्नेमा छरिइसक्छ । यस्तै सडकमा ऊ थियो ।

'यो सहरमा साह्रै एक्लो भइयो यार !',
खित्रिक्‌खित्रिक्‌ मोबाइलको बटन थिचेर कसैलाई पठाउन ठिक्क पारेको एसएमएम उसले त्यत्तिकै मेटिदियो । सोच्यो होला, यसरी विरह बाँड्न कोही लायकको मान्छे बचेको छ र संसारमा ?

फेरि के सोच्दै हो कुन्नि, टोलायो बतास खेलिरहेको सडकभरिको लम्बाइमा । सडक-सडक उसको रहर खितखिताउँदै वेग मार्छ । के ऊ सडकको बासमा तिहुनको सपना नै पकाईपकाई अघाउने सर्वहारा हो ? होइन । उसोभए सडकमा सवारी गडगडाएर हुइँक्याउने प्रतिष्‍ठित पुरुष हो ऊ ? यो पनि गलत । तर ऊ सडकमै छ । सडकैले प्राण धाने जस्तो । कस्तो भने, सडकैबाट उदाउँछ, सडकैमा अस्ताइदिन्छ । उदाउने र अस्ताउने चक्रमा मानौँ ऊ 'घाम-मानव' । त्यही सडकको फुटपाथमा पाइला गाड्दै मन सुलसुले भएर नाचेको महसुस गर्छ ।

'हा ! के भयो आज यो एक मुठी रगत उमाल्ने मुटुलाई ?' जाबो एक मुठी रगतको यस्तो सकसक ! उसले प्वाक्क आफ्नो छातीमा हिर्कायो । स्वाभिमान जाग्यो एक्कासि, अघि एसएमएसमा एक्लोपनको विज्ञापन गरेर आफूलाई झन्डै दयाको पात्र बन्ने कठघरामा उभ्याएको उसले । एउटा मोबाइल-मेसेज डिलिट गराइसँगै उसको पौरुष जोगियो धन्न !

ऊ आफूलाई बच्चै ठान्छ (अहिले त विधाताले उसका औँलाका चक्रहरूसम्म पनि कहाँ छिप्याउन बाँकी छाडे र !), ऊ आफ्नो सोचाइमा बच्चै रहिरहँदा उसलाई कमजोरको रूपमा कुल्चिन अरूहरू कति तयारी अवस्थामा हुँदा हुन् ! बच्चापनको सन्दर्भमा हिजै त हो, जलपानमा साथीहरूको दिवा जमघटमा एउटाले आफ्नैबारे प्वाक्क भनेको थियो - "मैले यतिखेर जीवनको २८ वर्षको उमेरमा जिम्मेवारी लिन सक्दिनँ भने अब ३८ वर्ष हुँदा पनि सक्दिनँ ।" उसको आशय थियो- २७-२८ वर्षको उमेरसम्ममा एउटा युवाले आफ्नो परिपक्वताको सफल परीक्षा दिन सक्नुपर्छ सांसारिक लोकमा ।

उ: भर्खरै भत्किने छाँटको साइकल लरखराउँदै आँखामा फुलो परेको एउटा केटो यही सडकबाट गयो । यो सडकको विविधता यही हो । हातमा हजार रुपियाँको फूलको बन्डल सजाएर हाइ प्रोफाइलको प्रियतमलाई भेट्ने युवती पनि यही सडकबाट पार हुन्छे, एउटा छ यो केटो- निरुपाय आँखामा फुलो बोकेरै जीवनको उत्सव मनाइरहेछ । आह् ! फूल र फुलो परेको आँखा … । फूल बोकेर धाउन्जेल प्रेमीले त्यस युवतीलाई कति भाउ दिँदो हो, तर आँखामा फुलो रहुन्जेल त्यस केटाले भने सयौँ सुग्घरी आँखाको सामुन्ने कुरुपता र अशुभताको लाहाछाप किटिँदै दूर्‌दूर् को पात्र बनिरहला ।

जीवनमा कठिनताका पर्वतहरू कति छन् कति । सहजताका समथरता कति छन् कति । हिँड्दाहिँड्दैको एउटा गोरेटो कतिखेर लुटिन्छ, यो समय गोरेटोसम्मलाई पनि लुट्न बाँकी नराख्‍ने तन्नम लुटेरा रहेछ, उसले बुझेको छ । बुझेर के गर्नु, आफ्ना गोडाहरूको शुभ साइत वा अशुभ साइतले कुन बाटो रङ्ग्याउने हो, के पत्तो !? यही अड्कल काट्न मुश्किल !

अब ऊ यहीँनेर बच्चा रहँदैन । बच्चा रहे पनि ऊ बच्चैमा बूढो भएको छनक मिल्छ । उसलाई बूढो हुन हतार छ । वरिपरिका बूढो समाजको बीचमा ऊ कतिन्जेल पो बच्चो रहन सक्छ र !? यो बूढो समाजमा बच्चो भइरहने अनुमति छैन । चाहे कपाल नपाकोस्, चाहे ओठका कलिला जलपबाट दूध ननिख्रियोस्, चाहे बिहेको भारले पिठिउँ ठसठस कन्ने उकालीमा नजोतियोस्, बच्चा भइरहन पाइने यहाँ आँगन छैन । कुबेलामै बेलाको बोली बोल्नु सही बेला बनाउनुपरेको छ ।
अब ऊ बच्चा रहेन ।

यो
कथा होइन,
व्यथाको पत्र भने
घाँटीघाँटी छ ।
यही घाँटीघाँटीको जीवन-उवाच कहिसक्न ऊ यो सडकमा माइक फुकिरहेछ - हेर, बाँच्नु भन्या बाँच्नु मात्र होइन रहेछ … ।

03 September 2009

हराउनु र आउनुहरू

केही गुमाउनु र केही पाउनुहरू
झट्टै हराउनु र फेरि आउनुहरू ।
अन्त्यानुप्रासमा सर्लक्क मिलेका हाम्रा यी- 'हरू' कर्म र कर्तुत ।

यी थुप्रै हरूमध्ये यतिबेला चाहिँ मलाई मेरै एकवचन कथाको पेटारो खोल्न हतार छ ।

हुन त कसैले सोधेको छैन, किन हराएको भनेर ? (नसोधिनु आफैँमा पनि यतिन्जेल मेरो बचाउको रक्षाकवच छँदै थियो) ;) तैपनि भन्न मन लागेको छ हराउनु र आउनुभित्रका यावत् कथा-व्यथा । अचम्म पनि लाग्दैछ, सोधाइबिना जवाफको बटुलो लिएर एकाएक आउने म संसारको प्रथम प्राणी त बनिनँ ? र पनि खोइ कुन अनुभूतिको पहाडमा उचालिएर हो, म आफ्नै आकाशमा प्रश्‍नको बादल-गुम्फन बनेँ, र आफ्नै आकाशमा यतिखेर उत्तरको बतास-ताजगी लिएर हलुका हुन खोज्दैछु । के त उसोभए प्रश्‍नोत्तरी खेलमै पूर्ण हुने रहेछ सृष्‍टिको लीला !? लीला अपरम्पार !

फुर्सदी मान्छे कुनै काममा अल्झिएपछि केही समय माकुरेजालमा फसेको माखोसमान हुँदो रहेछ । ठीक त्यस्तै नियति मेरो भयो पछिल्लो समय । फुर्सदको बेला जे-जे कुरामा मनमौजी समयको टिकट च्यात्दै बस्यो, व्यस्तताको काँडेतारमा उनिएपछि समयको त्यो च्यातिने टिकटलाई जोड्दै-जोड्दै लैजानुपर्ने हत्तेको अभ्यासमा रत्तिनुपर्ने रहेछ । एक समय थियो, व्यस्त कामकाजी दुनियाँबाट फुर्सदको दुनियाँमा 'फर्किनुपर्दा' म पागल झैँ बनेथेँ । यो 'पर्ने' कुरा आफ्नो हातमा नहुनु पनि ठूलो लीला हो ।

अँ त, म काममा फर्किएँ । एउटा नियमित रूटिन, नुनको सोझो बन्ने 'भान्सा', जिम्मेवारीमा बाँधिएको प्रहर जे भन्नुस् । त्यसअघि एउटा मासिक म्यागेजिनमा काम गर्थेँ, (अहिले पनि गर्दैछु) तर पेटको दमाहा त्यसले नबज्ने, साथीभाइसँग बसिबियाँलो र आत्मीयताको सहयात्रामा त्यो एउटा मनखुसी काम थियो, निरन्तरता दिएँ । पत्रकारिताको नशा उतार्ने भूत सवार भएपछि कोठामा कैद भएर बसिरहूँ भने पनि त नहुने, मन नमान्ने । अलिअलि दैनिक र मासिक पत्रिकाहरूतिर बेलाबेला रचनात्मक बिस्कुन छर्थेँ, र बटुल्न पाएको थोरतिनो पारिश्रमिकले कुनै असम्भव युद्ध जिते झैँ उत्सव मनाउथेँ । पत्रपत्रिकामा पढेर मान्छेहरूले मलाई चिन्थे, तर अस्तित्वको लडाइँमा मैले सम्मानजनक रूपमा मैँलाई चिन्न सक्ने अवस्थामा तैनाथ गराउन बाँकी नै थियो । मानौँ, म त दौडिरहने तर कतै नपुगिने र डेग नचल्ने चिप्लेटी म्याराथन-सतहमा थिएँ ।

र अहिले म पाइला बग्ने त्यो गोरेटो पैल्याउने प्रथम मोडमा छु भन्ने सोच्दैछु । यति निजी कुरा यो ब्लगमा लेख्दा यस्तो लाग्दैछ, मेरो आदिम प्रेम, जोसँग म नसाको हाँगाहाँगासम्म गाँसिएको छु, उसैलाई सुनाउँदैछु मुटु टक्टक्याएर आफ्ना कुरा ।

जागिर खानु सबथोक होइन, जीवनको सम्पूर्णता होइन, तर नखानु जीवनको अपूर्णता त रहेछ । यति मैले भोगेको सत्य । कोही स्वरोजगार गर्छन्, उद्यमशीलताको अपूर्व नमूना बन्छन्, लघु व्यवसाय र घरेलु उद्योगबाट त्यस क्षेत्रमा सम्मानजनक परिचयसँगै अर्थलाभ गरेका छन् । मलाई भने बाजे-जीबाले नपैल्याएको नौलो काम गरेर नामको तृप्‍ति लुट्ने नशा र लोभ जाग्यो, र पसेँ अक्षरको खेतमा । पत्रकारिताको औपचारिक पढाइले कुत्कुत्यायो फेरि रहर र पेट दुवै हाँस्ने लेखनकै हरियालीतिर । यो हरियो फाँटमा मैले मेरो दुब्लो कायामा पनि अथाह भरिलोपन देखेँ, यसैले लोकसेवा पढ्ने पारिवारिक करकर एक कानले सुन्दै अर्कोले उडाएर आफ्नो पेसागत सोचबाट टसको मस भइनँ ।

केही समय भयो, तर युग भयो जस्तो लाग्दैछ ब्लगको दुनियाँबाट टाढिएको । जागिरे जीवनमा हेलिएसँगै मुहार पुस्टिए पनि मनमा भने चाउरीका पत्र खात लागिरह्‌यो ;) कतिखेर यो जागिरे उपद्रोबाट मौका मिलाएर ब्लगमा फैलिऊँ भन्ने सोचले आकुलव्याकुल बनाइरह्‌यो यस बीचमा । न आफ्नै ब्लग थपथाप गरेँ, न अरू साथीसङ्गीकै ब्लग जपजाप गरेँ । निमग्न म जागिरे हरिलट्ठक भएँ । पक्का तेल खाने मेसिन झैँ म जागिर खाने राष्‍ट्रिय जन्तु !

- समय छ्‌यालब्याल हुनु फुर्सदको जुम्राले तिरीमिरी खेलाउने महासङ्कट ।

- कामकाजी व्यस्ततामा च्यापिएर समय नहुनु बेफुर्दको जालोले गाँजेर मर्नु न गर्नुको उकुसमुकुस हालत ।

मुख्य कुरा हो- सन्तुलन मिलाउन सक्नु ।

फुर्सद र बेफुर्सदको बीचमै खेलिरहन सक्नु बच्ने उपाय हो ।

यही सूत्रमा रत्तिने प्रतिबद्धतापत्र हो मेरो यो हराउनु र आउनुको कथा ।

सुन्नेलाई सुनको माला ….

--------------------------------------------

* तस्बिर: एब्सेन्स एन्ड प्रेजेन्स.इन्फो