November 29, 2009

सहमति.. सहमति… असहमति !!

गाँठो किन कसिएको फुक्नैलाई हो भन्छन् क्यारे ! तर यो गाँठो त पहाडकी निःमग्न केटीको चुल्ठो जस्तै सधैँ जटा धारण गरेर बसेको छ-छ । फुक्ने नाम नै लिँदैन । बरु जब्बर बाँस च्यातिएर-चिरिएर ढोक्सो भकारी पेरुङ्गो र डोको बुनिने अभिप्रायसहित चोया बन्छ । तर मान्छेका मनहरु टुक्रिएर र चोइटिएर अनेक वाद र खेमा मात्र बन्दा छन्-बन्दा छन् । तिनबाट कामलाग्दो रुपमा फुटेको कौडीसम्म पनि नयाँ केही निस्किएको होइन । थप रडाको र चर्तिकला मात्र कोरलिएका छन् देश नामको खोपभरि ।

कुरा फेरि घुम्दैफिर्दै राष्ट्रिय रिँगटामा फन्को मार्न आइपुगेको छ । संविधान जारी हुन बाँकी ६ महिने गर्भबाट देशको काखमा कस्तो शिशु पैदा हुन्छ त्यो त प्रश्नचिन्ह बनेरै रहेको छ । तर त्यसभन्दा अघिको लीला हेर्ने हो भने त्यो पिउसे गर्भ नटुसाउँदै तुहिने भयले डेरा बनाउन थालेको छ । संविधानसभा भङ्ग गर्ने दोष एक-अर्कामाथि खन्याएर दलहरु साखुल्ले बन्दैछन् । मानौं यो भंग भइहालोस् र आफ्नो कुनै नयाँ स्वार्थ लिएर देशमा खेल्न पाइयोस् भन्ने प्रार्थनामा लीन छन् यिनीहरु ।

माखो नमार्नेले सिकार गर्ने ठूलै जाल बोके जस्तै आपुनो घर र गाउँ-टोल स्याहार्ने हुती नभए जस्ता लाग्नेहरु संविधान बनाउने जोखानामा देशले बसालेको तलबी कराहीमा पाकिरहेछन् । लगातार अवरुद्ध भइरहने संसद् खुल्न बजेट पारित गर्ने साइत कुर्नुपर्छ । मानौं बन्द हुनु नै यसको मूल कार्य हो र खुल्नु चाहिँ विरला कोटिको दुर्घटना ! दिनदशा सबै सोहोरिएर यही मुलुकको थाप्लोमा आएजस्तै भइरहेको बेला मुलुकमा घटित हुने विभिन्न प्रसङ्गबारे संसदमा छलफल गर्नुपर्ने आवश्यकताल हावा खाइरहेछन् । विभिन्न संविधान बन्ला कस्तो बन्ला तर दुई वर्षे संविधान निर्माणको कार्यतालिकाबाट अन्य कुनै 'पेसा' अपनाउँदा भन्दा निश्चय नै ज्यादा शुभ लाभ गर्नेछन् हाम्रा भलादमीजनहरुले । राजनीति जो खेतीमा परिणत भइसकेको छ हामीकहाँ । त्यसबाहेकको सामूहिक उपलब्धि शून्यप्रायः देखिन्छ ।

'उच्चस्तरीय राजनीतिक संयन्त्र गठन', 'नयाँ स्थितिमा नयाँ ढाँचाको सहमति', 'राजनीतिक गतिरोधका लागि भेटवार्ता' गफमा मात्र बगिरहने घटना भएका छन् । दिन कटाउने मेलोमा फलानो महोदयले चिलानो महासयको मुहारदर्शन गरेभन्दा बढ्ता केही छनक देखिएको छैन तमाम भेट र छलफलको प्रयास । सहमतिको प्रयास भइरहेको छ भनेर एकअर्काको दैलो र कोठा धाउने दलका नेताहरु मौका पाउँदा अर्काविरुद्ध गर्जिन पछि पर्दैनन् । तिनको सम्पूर्ण ऊर्जा धाराप्रवाह आरोप-प्रत्यारोप र धम्की गुन्जाउनमा खर्च भए जस्तो देखिन्छ । कुरा मिलाउनलाई सहमतिको खाँचो पर्छ भनेर त बच्चालाई पनि थाहा भएको कुरा हो । तर हामीलाई डोर्याउने नेताहरु भने 'सहमति गर्ने सहमति' गरेर बैठकबाट प्रफुल्लित मुद्रामा निस्किन्छन् । ठूलै पुरुषार्थ गरेको गरेको आवेगमा । कति हास्यास्पद कुरा ! सहमतिको प्रयास सकारात्मक रुपमा अघि बढिरहेको ढोङ फुक्ने बानीले बाँकी कुरालाई माथ गरेको छ । तर हुँदा-हुँदा गरिएको भनिएको सहमतिको जोड भने आजसम्म असहमतिमा पुगेर जेलिँदो छ ।

November 22, 2009

लीलामग्न कृष्ण



[कान्तिपुर दैनिकको साप्ताहिक परिशिष्टाङ्क 'कोसेली'मा मङ्सिर ६ गते शनिबार (नोभेम्बर २१) प्रकाशित साहित्यकार कृष्णप्रसाद पराजुलीबारेको व्यक्ति-फिचर । माथिको पोस्ट पढ्न तस्बिरमाथि नै क्लिक् गर्नुहोला । सोझै इ-कान्तिपुरको साइटबाट यो सामग्री पढ्न चाहनुहुन्छ भने यहाँ जानुहोला ।]