Subscribe:

Ads 468x60px

26 January 2010

गोली गजलमा

गोली चलाउनैपर्छ तर सिर्जनात्मक कोटिमा । गोलीबिना न त मोडिएको खोली फर्किन्छ न त झोली नै भरिन्छ । तर अहिलेसम्म चलाउनेहरुले हिंसा उछाल्दै सखाप पार्ने घातक गोली नै चलाए । तर यतिमै प्रहारको चरम नमूना खत्तम भएको छैन । केही कोटिका गोली प्रखर छँदैछन् सिर्जनात्मक नाल  सोझ्याएर आफैँलाई सुविख्यात पार्दैछन् । नत्र त यसअघि गोली चलाउनेहरु सबै कुख्यात रुपमै लोकको आँखामा दरिए ।

यस्तै भातीमा गोली चलाउनेहरुसँग पछिल्लो सरसङ्गतिमा झ्याम्मिन पाएको फलस्वरुप मैँ पनि गोलीप्रेमी हुन पुगेको छु । तिनका बाटो त पुरानै थिए तर चाल र त्यो चालको सुर भन्ने भिन्नै पाराको लाग्यो मलाई । मेडिकल कलेजमा व्यवस्थापकीय कार्यभार ग्रहण गर्दै र डाक्टर बन्ने धुनमा लहरिएका ठिटा-ठिटी गजलको अनौठो आवेगमा अभिव्यक्त भएको देखेर गोली नचाखेका 'भावनामयी बिरामीहरु' एकदम निको हुँदै गएको दिनप्रतिदिन पाइरहेको छु म । नेपाल मेडिकल कलेजका बाबु त्रिपाठी, निरज भट्टराईको सन्दर्भ यहाँ जोड्न लाग्दैछु । त्यही लहरमा राबत, डा सुधा शाहीहरू पनि छन् । अर्कोतिर 'नजरका इशारा' कृति लिएर आएका माधव खतिवडाको गजल जादुगरी पनि लोभलाग्दो छ । यी सबैको कलमको टुप्पोमा सामाजिक सन्तुलन र नयाँ आयाम निर्माणको लागि जीवनदायी बारुद सजिएको छ । र त्यो बारुद छ नि कसो-कसो छातीकै टेबलमा सजाइरहूँ जस्तो सुहाउँदो फूलदानी समान छ ।

बाबु त्रिपाठी जसले भर्खरै 'बा' गजलकृति प्रकाशन गरे । निरजको पनि 'मेरो भन्नु केही छैन' गजलसङ्ग्रह सार्वजनिक गरिसकेका छन् । उनीहरु लेखिरहेछन् गजल लेखिरहेछन् कविता । तिनको गर्व हेर्नलायकको छ । तिनको नाम साहित्यिक अभिलेखमा टिप्न महत्वको छ । ती गोलीमै लेखिरहेछन् र सबैभन्दा ठूलो कुरो तिनको गोली चाख्न सबै तयार हुँदैछन् । अहिले सीमित सर्कलमा चर्चामा होलान् यी गोलीधारीहरु बिस्तारै अरु सबैतिर चिनारीमा विस्तार हुने नै छन् । कारण वास गुम्सिएर कहाँ बस्छ र, फैलिन्छ नै । उनीहरुसँगै जमघटहरुको उपज हो मैँ पनि गजलमा गोलीकै प्रवाह दिने ध्याउन्नमा आफूमा पहिलेभन्दा अलि अलग धार तिखार्ने मेलोमा लागेको छु । यो धार सुरुवाती हो यसकारण भुत्ते होला नै । बाँकी मूल्याङ्कनका लागि आफ्नो नयाँ एउटा गजल यहाँ पेस गरेको छु ।

हुन्छ सबै कुराको पनि आयु हुन्छ
हिउँका चुचुराको पनि आयु हुन्छ ।


अनुकूल हुन्जेल त हो बाँध्ने नाता,
अँगाल्ने पाखुराको पनि आयु हुन्छ ।


जाबो निशानाले कति नै पछ्याउला,
उछ्रिने दादुराको पनि आयु हुन्छ ।


दिक्क बुहारीलाई कति लाग्दो हो,
"यी सासू-ससुराको पनि आयु हुन्छ ।"


कसो नफिर्ला र यी निमुखाको दिन,
पर्ख न, टुहुराको पनि आयु हुन्छ !

7 comments:

  1. Its relly nice gajal.

    ReplyDelete
  2. हुन्छ सबै कुराको पनि आयु हुन्छ
    हिउँका चुचुराको पनि आयु हुन्छ ।

    अनुकूल हुन्जेल त हो बाँध्ने नाता,
    अँगाल्ने पाखुराको पनि आयु हुन्छ ।

    सुरुमा कोहि गजलकारकै सुचर्चा लेखिएको लेख पढ्न पाउने भएं भन्ने लाग्दैथियो तर त्यतिमात्र नभएर चर्चाका साथसाथ आफ्नो रचनात्मक पर्चा पनि राख्नुभएको रहेछ । भन्न त सुरुवाती धार भन्नुभएको छ, यो अलग धारमा लागेको छु भन्नुभएको छ तर माथीका दुई शेरहरु भने मलाई निक्कै तिख्खर लागे ।

    ReplyDelete
  3. कसो नफिर्ला र यी निमूखाको दिन
    पर्ख न, टुहुराको पनि आयु हुन्छ ।


    धाइबा जी, गजलले घत लाग्यो है । यस्तै विवरणात्मक टाँसोहरु राख्दै जानुहोला । तपाईको प्रस्तुतीकरणको शैली मलाई असाध्यै मनपर्ने गर्छ ।

    ReplyDelete
  4. धाइबाजीले जसरी यहाँ काफिया प्रयोग गर्नु भएको छ, त्यसले मलाइ धेरै आकर्षित गरिरहे धेरैबेर । अब्बल छ गज़ल ।

    ReplyDelete
  5. aajad ajanawiJanuary 31, 2010

    oh!Its very nice & metaphorical gajal.
    go ahead making new stream in the field of gajals.

    ReplyDelete
  6. गजलको काफिया देखी शिल्प र प्रस्तुती अनी सबै नै शेरहरु एकसे एक देखे वास्तव मा नै भन्नु पर्दा बेजोड गजल, मेरो ब्यक्तिगत मुल्यङ्कनमा। यात्रा यहाँको चाहना अनुरुप नै बढीरहने छ भन्ने आशा छ।

    ReplyDelete
  7. धाइबाजी, सुन्दर गजल ।

    ReplyDelete