March 15, 2010

लोडसेडिङको बहार !!

धेरैजनालाई लोडसेडिङका कारण घरै अँध्यारो संसारै अँध्यारो लाग्छ । यस पङ्क्तिकार मनुवाको नजरमा भने लोडसेडिङको धारावाहिक बहार अति प्यारो जिनिस बन्न थालेको छ । यसो भन्दा चिया पसलमा सडकदेखि बिजुली र पानीसम्मको विकासे वार्ता हाँक्ने आदर्शका स्वघोषित ठेकेदारहरूको क्रोधको भोल्टेज एक्कासि 'हाइ' होला । तर यहाँ कसैलाई पीर पार्ने कुरा उछाल्नु छैन, बरु लोडसेडिङको कालो ओढारभित्र पनि सन्तोष मान्न सकिने आविष्कारिक उज्यालोको एकाध सूची धेरथोर सुझाउनु छ ।

उज्यालो एक -
मौलिकतामा जोसुकैलाई गर्वको अनुभूति हुन्छ, यही सत्य हो । जससँग मौलिकता हुन्छ ऊ नै आजको समाज अनि भीड-बजारमा अरुभन्दा विशिष्ट अनि अलग्गै किसिमको सम्पदाको धनी कहलिन्छ । प्रस्टै छ, हाम्रा धेरैधेरै मौलिकतामध्ये एक हो लोडसेडिङ । अतः हामी पनि विश्‍वबजारमा विशिष्‍ट छौँ भन्नेमा शङ्का छैन । अन्यत्र कतै छ र यस्तो दिनदिनै र छिनछिनै प्राप्‍त हुने अन्धकाररुपी सित्तैको लड्डु ? 

यसै कारण हाम्रो यो मौलिकतालाई हामीले माया नगरी हु“दै हुन्न । कारण, हाम्रो यही मौलिकता नै एकमात्र श्रीसम्पत्ति हो । आफ्नो स्थानीय पहिचान हो । गर्वलायक अरु केही उपाय नभएपछि कुनै एउटा बहानामा सन्तोष मान्नु सकारात्मक सोच पनि हो ।  

उज्यालो दुई -
यतिखेर सबैलाई न्याय र अवसरको समावेशी लहर चलेको छ । समान हक र समान रूपले बाँच्न पाउने अवसर । कसैले पनि आफ्नो कामबाट विमुख हुनु नपरोस्, लोकतान्त्रिक प्रणालीको मूल भाका यही नै हो । यस सवालमा चोर र लुटेराहरूलाई यो समान अवसरबाट पाखा लगाउने कुरै आउँदैन । किनभने ती बबुरा पनि त नागरिक हुन् । अतः उनीहरूको तर्फबाट समावेशी दृष्टिले हेर्न हो भने यो लोडसेडिङ बिछट्टै प्यारो छ । 

लोडसेडिङको महान् पर्वले सर्वत्र अँध्यारो छाएका बेला हाम्रा चोर र लुटेरा बन्धुहरूको मुहार भने हर्षले धप्प उज्यालो हुन्छ । अर्थात् अन्धकारले छोपेको ठाउँमै तिनको हातको सफाइले चमत्कारिक उब्जनी गर्न सक्छ । प्यारो लोडसेडिङ नभएको भए यो वर्गको अस्तित्व नै सङ्कटमा पर्दैनथ्यो ?

उज्यालो तीन -
देश विकासको मेरुदण्ड उद्योग र कलकारखाना हो । जसरी होस् उद्योग- व्यवसाय हाँक्नुपरेको छ । लोडसेडिङले उद्योग सञ्चालनमा कठिनाइ भएर मूलगेटमै ढ्याम्म भोटे ताल्चा लागेको खबर जिल्ला-जिल्लाबाट सुनिँदै आइरहेका छन् । तर यसमा घाटोको के नै कुरा ? लोडसेडिङका कारण सबै उद्योग एकपछि अर्को गर्दै धमाधम ठप्प भए पनि त्यही गतिमा मैनबत्ती, ढिब्री, टुकी, दियो इत्यादि उद्योगहरू खुल्न र चल्न थालेपछि औद्योगिक विकासले भरथेग त हुने नै छ । 

लोडसेडिङ हुन थालेपछि आंशिक पिलपिले उज्यालोले तिर्सना मेटाउन भए पनि सर्वसाधारणले मोबाइल फोनसेट किन्नाले त्यसको आयातबाट राज्यले गतिलै राजस्व संकलन गर्नसक्ने देखिन्छ । लोडसेडिङ भएपछि घरघरको मिटरमा पैसो पनि कम उठ्ने र बत्ती बाले पनि नबाले पनि सरकारले पनि निश्चित महशूल निःसङ्कोच लिन सक्ने भएकाले यसले त कमालको दोहोरो लाभ भएको छ ।

यसै सन्दर्भमा लोडसेडिङको तालिकाअनुसार देशका विभिन्न ठाउँमा झ्याप्प-झ्याप्प बिजुली निभाउने नयाँ काम पाउनेहरूलाई बेरोजगार समस्याबाट उन्मुक्ति पाएकोमा मुरी बधाई नदिँदा अन्याय नै हुन्छ । लोडसेडिङको बहारलाई धेरैधेरै बधाईको बहार !  

5 comments:

  1. हा हा हा !
    हाम्रो विशिष्ठ पहिचान !!!

    ReplyDelete
  2. दामी लाग्यो मलाई यो लोडसिडिङको बहार ! यस्ता यस्ता मौलिक र सनातन फाइदाहरु रहेछन सन्तोष मान्नै पर्‍यो नि अब त ।

    ReplyDelete
  3. यो बत्तिको नाटकले अरु भन्दापनि मैले देखेको रमाईलो पक्ष चैं फुर्सदिला मान्छेहरुलाई घण्टौं कुरा गर्ने मेलो निस्कँदोरहेछ ।

    ReplyDelete
  4. हा हा हा! सटीक ब्यङ्ग्य! कठोर पिडालाई पनि हाँसोको पर्दाले छोपेर सहजतापूर्वक उतार्नुभएको छ धाइबाजीले हाम्रा सामु।

    ReplyDelete