Subscribe:

Ads 468x60px

02 April 2010

आँसु, पार्क र आमाहरू

आँखामा पर्दा हुन्छन् यी आँसु
सपनाका बाटा थुन्छन् यी आँसु ।

कति गोता खाएछन् यिनैले,
कहिले त आफैँ रुन्छन् यी आँसु ।

ओ ईश्वर थपे हुन्छ मार,
हामीलाई त सुन्छन् यी आँसु ।

मुस्कानको पन्ना-पन्ना भिजाउन,
चिसो मफलर बुन्छन् यी आँसु ।

सबैले हात पन्छाए के भो,
अँगालोभरि छुन्छन् यी आँसु ।


कहिले त जिन्दगीको गोडामा बत्ती निभ्दोरै'छ र सर्वत्र चकमन्न अन्धकार देखिँदोरै'छ । अन्धकार खासमा देखिने कुनै वस्तु त होइन, छाउने दृश्यावली हो क्यार । 

गोडाको बत्ती निभेर अँध्यारो नमडारिए पनि यदाकदा टोलाउँदोरै'छ जिन्दगीको टुहुरो शिर । टोलाउनलाई जहाँतहीँ त ठेगाना हुन्छ नि ! कुनै निश्चित स्टेशनको खाँचो नै कहाँ हुन्छ र ? तिमी जो हौ, तिमीलाई पनि टोलाउन मन हुँदो हो । तिमी मेरो काँधमा शिर बिसाउँदै टोलाउन सक्थ्यौ, तर पर्ख ! म तिमीसँग छुइनँ । यतिखेर त तिमीसँग भेट्ने हतार हामीबीच छ । यो हतार मैले पट्याएर खल्तीमा राखेको छु । त्यसैले त खल्तीमुनिको धड्कन यति रफ्तारमा छ सायद !
भृकुटीमण्डपको पार्क भन्न नसुहाउँदो पार्कमा म कुनै रुखको अडेसामा सुस्त बन्दै टोलाएको हुन्छु । छेउमा मधेसी मूलका दुई आमाहरु कहाँकहाँबाट प्लास्टिकमा गुटमुट्याएर ल्याएको भात तरकारी कचौरामा पकापक खन्याएर बच्चाहरुलाई खुवाउँदैछन् आफू खाँदैछन् । ( मधेसका हुन् वा अमेरिकाका, आमाहरु त आमा नै हुन् । फरक यति हो, अमेरिकाका आमाका स्तनहरु सर्जरीबाट यथावत् पुष्ट होलान्, अनेक धाइधपेडी तनाव र कुपोषणले यी मधेसका आमाहरुको स्तन झोल्लिएको छ ।) 

अलि पर तीन चार जना अधबैसेहरु पासपोर्ट र टिकटको कुरामा भुनभुनाइरहेछन् । सायद विदेशतिर झिङ्गालाई झैँ उडाउने तर्खर होला आफ्ना भाइ-भतिजालाई । मान्छे अचेल झिङ्गासमान त भएको छ - एक झमटमा भान्साबाट उड्यो, एक झमटमा रछ्यानमा !
यो पार्कमा पार्क भनेर कतै केही सूचना संरचना तोकिएको छैन । वरिपरि तारबारहरु छन् च्यातिएर तार गोटागाटी छरिएका छन् भुइँमा त्यसैले बार पनि छैन । केही बेरमा दुई नवयौवनाहरु आउँछन् बस्छन् चौरमा । चिसो कुल्फीसँगै गफमा हुलुलुलु पग्लिन्छन् । घाम तातै छ तालमाथि । तर घामभन्दा तातो लाग्छ मलाई यिनको हल्ला ।
म निस्किन्छु ।
निस्किनुअघि तिनै मधेसी मूलका आमाहरुको बगलमै बसेर मैले लेखेको गजल माथि पढ्यौ होला तिमीले । 
हस्, अब हामी छुटौँ ! फेरि भेट्न पनि त छुट्नु जरुरी रै'छ । 

4 comments:

  1. निकै मार्मिक लाग्यो, गजल|

    ReplyDelete
  2. Life is life...America or Nepal....

    The above poem is really heart touching.... I think without tears in life we can not even imagine to pour our haunting emotions in the form of the salty water...

    Sabai bhanda marmik bahwana....iswor lai awahan gareko lagyo.... ओ ईश्वर थपे हुन्छ मार,
    "हामीलाई त सुन्छन् यी आँसु ।"

    ReplyDelete
  3. भावुक बनायो धाइबा जी को कलमले मलाई,बाकी कुरा पछी ...

    ReplyDelete
  4. म त पहिला गजल मुनिको भूमिका पढेर मात्रै पछाडि यो गजल पढ्न लागें ।

    सायद यो नपढेको भए गजल पढदा मनमा आफ्नै कल्पनाका चित्रहरु आउँथे होलान, तर मैले भने हरेक लाइनमा ती "आमा" का आँसु मात्रै देखें । मनछुने लाग्यो यो पोस्ट !!!

    ReplyDelete