April 28, 2010

फेस(न)बुक : फास्टफुड चोकमा अधमरो भोक

facebook-04 “हामी फेसबुकमा जोडिएका रहेनछौँ है अझै !? क्या बोर !”,
किबोर्डमा औँला जोत्दै ऊ फेसबुक साथी बन्ने मेरो  अनुरोधको सूचना देखेर थकथकी मनाउमा भुतभुतायो ।

हुन पनि सँगै एउटै कार्यालयमा काम गर्छौँ, र पनि फेसबुकबाट बाहिरिया रहिरहेका ! कहाँ पो चित्त बुझ्थ्यो र ? मानौँ हामी दुई यतिका समय फेसबुकइतर सरसङ्गतमा रहुन्जेल हामीबीच भेट भएकै थिएन । हाम्रो सम्बन्ध जलपमा मात्रै खोस्टिएको थियो, गुदीमा झ्याङ्गिएकै थिएन !

सामाजिक सञ्जालको फैलिँदो आकर्षणसँगै समाजिक व्यवहारको आदानप्रदान खुम्चिएर ‘भर्चुअल पाथ’ मा कैद हुँदै गएको छनक मिल्छ । देख्‍दाखेरि अझै सामाजिकता फस्टाएको देखिन्छ । बोलचाल, घनिष्‍ट सम्बोधनको साटफेर र सोहोरिएको हुल देख्दा यस्तो सामाजिक व्यवहार अन्यत्र कहाँ सम्भव हुन्थ्यो होला वास्तविक भू-दुनियाँमा भन्ने लाग्छ । तर जे छ दुनियाँ फेसबुक नै छ भन्ने मनस्थितिले जरो गाड्दै गएको छ एउटा शिक्षित पुस्तामा । फेसबुक बाहिरको समाज तिनको अघोषित गैरसमाज हो । बाटिएर, खाँदिएर फेसबुकलगायतका सामाजिक सञ्जालका पुस्ता यिनकै भूमरीमा घुमिरहेर एउटा संसार रचिरहेका देखिन्छन् ।  फेसबुकमा जोडिए भने अब बल्ल एक भइयो जस्तो अनुभूतिमा मक्खिने, कसैले ‘रिमोभ’ गर्‍यो भने मन कुँढिने र चित्त दुखाउने घटना बन्ने ।  “आइन्दा पख्लास्, तँलाई अबदेखि पित्को गनूँला” भन्ने प्रतिशोधको ज्वरो उम्लिने । आफ्नो भित्तोमा कसैले नचियाए, कमेन्टको वर्षा नगरे आह्रिसले पैतालासम्म रन्किने !

कतिपयको कतिपयसँग कस्तो हुने भने प्रत्यक्ष भेट भइरहने भए पनि बक्क एक वचनसम्म पनि बोलचाल नहुने तर फेसबुकमा कमेन्ट र च्याटको फोहोरा छुट्ने । यस अर्थमा फेसबुक मध्यस्थकर्ताको रूपमा पेस हुने । पहिला लमी, मध्यस्थकर्ता  चाहिन्थ्यो कुरो एक पाखादेखि अर्को पाखामा चुहाउन, अब फेसबुकको भित्ता नै काफी छ । हालसम्म सुनिएको छैन, तर एक दिन यो कुरा सुनिएमा अचम्म नमाने हुन्छ:  ‘फेसबुक लमी’का कारण फलानो र फलानीको बिहेबारी ! प्रविधि नै पिता भएको छ यो समय । प्रविधि हाम्रो सहयोगी भएको छ कतिपय हिसाबमा, सहजता थपिदिएको छ दिनचर्यामा । कति सुदूर भूमिलाई मुठीमा ल्याएर कब्जा गराइदिएको छ । तर कुनै बेला भने यसले मानिसलाई दास बनाए जस्तो पनि प्रतीत हुन्छ । पिछलग्गु बनाएर । सहयोगी साधन होइन, अलमलको रोटेपिङ जस्तो !

हुँदाहुँदा एकदिन कस्तो समय आउला भने, फेसबुकमा साथी भएन भने त्यसले आपसी सम्बन्धमा साथीकै मान्यता नपाउला जस्तो ।

फास्टफुड संस्कृतिको दह्रो पकड प्रविधिको घाँटीसम्म जेलिँदै गएको छ । आजै, अहिल्यै, यति नै खेर केही तपाईँ अभिव्यक्त गर्नुस् (चाहे कसैलाई गाली, गुनासोfacebook वा स्याबासी) र बदलामा तपाईँको त्यो अभिव्यक्तिप्रति प्रतिक्रियाको ओइरो लाग्छ झटपट । र यो तीतो सत्य पनि छँदैछ, तुरुन्तातुरुन्तै त्यो तपाईँको कुरा धमिलो भइहाल्छ, मूल्यहीन एवं मरेतुल्य बन्छ । अब खाँचो पर्छ – तपाईँले फेरि कुनै नयाँ विषय छर्नुस् बहस वा मनचिन्ते मुरली बजाउन नै सही । हतारमा मान्छेहरू हुर्रिने विचार, मन्तव्य र क्रिया-प्रतिक्रिया साटफेर गरेर लाखापाखा लागिहाल्ने यस्तो सञ्जालमा तपाईँले गम्भीरता र गहिराइको एकोहोरो वेग खोज्नुभयो भने निराशा मात्र हात लाग्छ । तपाईँ डुब्नुस् र उत्रिनुस्, बस् । पौडिने बरोबर पानी यहाँ उपलब्ध नहुन सक्छ तपाईँको लागि ।

फास्टफुडको हतपते आनीबानीले लखेटिएको यान्त्रिक जीवनचर्या छ भने मेल खान्छ यो संसारमा तपाईँको रहनसहन । अहिले नै मकै पोल्यो, छोडाउँदै खायो र खोया मिल्काएर अर्कोतिर लाग्यो । हतारको रफ्तार बेटिकाउ हल्लादार चर्चाले पनि ठाउँ पाउँछ यहाँ । हुन त टिकाउ कुरा यतिखेरको समयमा के छ र ? अस्थिर राजनीतिमा कतिखेर कसको गुट-उपगुट बन्नेदेखि टोल-समाजमा कसको आयुको टापु छोपिन कति पानी बाँकी बचेको छ केही निश्‍चित छैन । र पनि क्षणभरकै हिसाबमा हेर्दा पनि अहिल्यै बोल्यो, छिल्लियो, टाउको दुखायो, भँडास पोख्यो र बिर्सिहाल्ने मञ्चको काखमा हामी टुहुराहरू लरखराउँछौँ । एउटा फेसन जस्तो आरोह-अवरोस, जसको कुनै उचाइ छैन र पनि हिँडाइको रफ्तार अविरल छ । र भोको मन लिएर गहिराइको यात्रामा हिँड्नेहरूलाई यो फास्टफुड चोकले दिन त धेरै थोक देला, भोक मेट्ने ठोस हार्दिकताको पुञ्ज भने दिन सक्दैन ।

मेरो फेसबुक-सफरको भुक्तमान यही हो । जुन आफू र आसपासको सरसङ्गतिका अनुभूतिहरू टिपेर हेर्दा यस्तै चित्रमा उत्रियो । रम्नेहरूलाई र आफ्नै अतुल्य महकमा सामाजिक सञ्जालको उचाइ नियाल्नेहरूको आफ्नै विचार हुन सक्ला ।

3 comments:

  1. समसामयिक संस्कृतिको एक पाटोमाथिको सान्दर्भिक र चित्तबुझ्दो टिप्पणी!

    ReplyDelete
  2. म अचेल मुहारपुस्तिकामा जोतारे धाइबा र बसन्त गौतमको अलवा कोहि ब्लगर छैन? भनेर खोज्दै छु, तर बिडम्बना कोहि फेला पार्न सकिन. मा यहाहरुको नियमित पाठक हु.

    ReplyDelete
  3. एकदमै रमाईलो पोस्ट । हुन पनि फेसबुक नहुँदा अब नागरिकता नभएको जस्तो हुन लागिसक्यो :)

    ReplyDelete