Subscribe:

Ads 468x60px

30 April 2010

क्रान्ति

न्दोलनपछि आन्दोलन र जेलिएको राष्ट्रिय राजनीतिको ऐना हेर्दा यस्तो लाग्छ, सङ्घर्ष र टकरावकै भुङ्ग्रोमा जल्ने भूमि रहेछ यो देश । गृहयुद्ध र भयानक हिंसाले थिलथिलो बनेका कतिपय देशहरूको अवस्थासँग तुलना गर्दा सन्तोष मान्नुपर्ने होला । तर पाएको अवसरलाई समात्‍न नसकेको स्थिति देख्दा भने उतिबेला आशाले बलेका मनहरू पक्कै हतास भएका छन् । राजशाही सत्तालाई धुलो चटाएर जनताको प्रत्यक्ष सहभागिताबाट संविधानसभामार्फत लोकतान्त्रिक संविधान बनाउने ऐतिहासिक उपलब्धिको गाँस पनि कुन बेला गुम्ला भन्ने त्राहि मात्र बाँकी छ यति बेला । एकल राजको होडबाजीले मुलुकलाई अस्थिरता र यथास्थितिको बन्दी अवस्थामा राख्दा कत्ति पनि ग्लानि र पीडाबोध छैन नेतृत्व वर्गमा ।

केही समय अघि ब्लगस्ट्रिटका रुपेश श्रेष्ठजी र मैले एउटा सोच बनाएर संविधान लेखन कार्यमा दबाबका लागि 'Mission Poetry’ काव्यिक अभियान सुरु गरेका थियौँ फेसबुकमा । नेताहरूको पेच खुस्किएको चाला र राजनीतिको नौटङ्की देख्दा त्यो अभियानलाई उत्कर्षमा पुर्‍याउने त कता-कता, निरन्तरता दिने जाँगरसम्म पनि हरायो । ‘कविता लेखेर केही हुन्छ’ भन्ने हाम्रो जोस र विश्‍वासको अगेनुमा संविधानसभामा सहभागी जन्तुहरूको चिसो व्यवहारले ओस भरिदियो ।

शङ्काको घेराकै बीच कतिपय सर्वसाधारणहरू यी नेताहरू यस्तै हुन्, बेला घर्किउन्जेल झगडामा बरालिन्छन् र अन्तिम समयमा भए पनि साट्टसुट्ट मिलेर सहमति गरी काम पार लगाउँछन् भन्ने तर्क पनि राख्छन् । हालैको चिया गफमा पनि अफिसका सहकर्मी सञ्चारकर्मी दाइहरू यस्तै कुरा राख्दै थिए । संविधान त बन्छ भन्ने तिनको आँखाचिम्ली विश्‍वास थियो । हुन पनि हो, हतारमा लतार गर्ने त नेताहरूले नेपाली संस्कारकै रुपमा स्थापित गर्दै आएका छन् । फुर्सदमा रडाको र हतपतमा थामथुम गर्ने अघोषित साझा रणनीति छ सबै राजनीतिक दलको । राजधानीमा हालै दर्जनौँ रेडियो र प्रायजसो टेलिभिजन च्यानलहरूले प्रत्यक्ष प्रसारण गरेको खुला रुपमा आयोजित ‘निर्णायक बहस’ कार्यक्रममा सहभागी प्रमुख तीन दलका शीर्ष नेताहरूले पनि हामी विवादकै पारखी हौँ भन्ने छनक दिए । निर्णायक बहस के हुनु, निर्णायक मतभेदहरू भने प्रकट भए, मानौँ निर्णायक तहमा सहमतिको द्वार नै खुला छैनन् ।

संविधान निर्माणको रनभुल्ल अवस्था, जनतामा व्याप्‍त निराशा र भय, त्यो बलिदानीको मैदानी चक्र लगायतका विविध पाटो सम्झिँदै एउटा कविता लेखेँ । देशको भ्वाङ परेको भद्रगोलता जस्तै यो कविता, 'क्रान्ति' शीर्षकमै  :
Poem-Kranti यग्रस्त सडकमा
लगायो कसैले कुचो
लखेट्यो बाटै फुक्ने गरेर
हुलमुलमा हामीले छाड्यौँ चप्पलहरू
छाड्यौँ दालमोठ-चिउराको पोका
बोतलको अन्तिम घुट्को पानी

हामीले पैँताला त छाडेनौँ

तातेको रगत
जोडजोडले उम्लिँदा
सिङ तिखार्दै हतियारको
आउँछन् उनीहरू
हामी बढ्छौँ
हाम्रो सपना तिखार्दै
सपनाकै जुग पुरानो धारले लड्छौँ

धन्न छ -
उही बासी सपनाहरूको घान
जाँतो जस्ता रहेछन् यी आँखाहरू,
हामीले स्वप्निल घेरोमा घुमाइरहृयौँ

देशले त पाल्ने रहेछ
कुनै न कुनै मुकुट र ताजहरू
हामीलाई पाल्छन् चौतारीको काख
पीपलबोटनेरको आन्दोलित कुनो

फन्का मारिरहन्छौँ लगातार :
एउटा आन्दोलनको सुरुवात !
अर्को आन्दोलनको समाप्‍ति !!

यी क्रान्तिहरूको सर्कसमा
भन्नुस् साहुजी,
हामी कतिन्जेल रहने
तालिमप्राप्‍त जनावर ?

8 comments:

  1. कबिता बास्तबमै निकै सशक्त र यथार्थ छ तर अन्तिम मा आएको 'तालिम प्राप्त जनवार' शब्दले कता कता खल्लो बनाइदियो। :) रिसानी नहोस है हामी हामी हौ जनावर होइनौ!

    ReplyDelete
  2. गज्जबका दमदार टुक्राहरु! मलाई भने "जनावर" शब्द बिझाएन। हामीले त्यो भन्दा माथिल्लो चेतना देखाउन सकेका छैनौं अझै।

    ReplyDelete
  3. यी क्रान्तिहरूको सर्कसमा
    भन्नुस् साहुजी,
    हामी कतिन्जेल रहने
    तालिमप्राप्‍त जनावर ?
    sarai man choyo

    ReplyDelete
  4. Thanks all of you for your comments.

    @ आश्मा : अन्तिम लाइनमा उल्लिखित 'जनावर' शब्द कविको आफ्नो प्रस्ताव होइन, यो त अहिलेसम्मको सामाजिक-राजनीतिक प्रयोगशालामा हामीलाई जुन रुपमा प्रयोग गरियो, जे मानियो, त्यही अवस्थाको चित्रण मात्र हो सानो । हामीलाई यता र उता घिसार्ने र आन्दोलनको घानमा हाल्ने काम मात्र न भयो ! यो भन्दा बिझाउने चित्रण हुन सक्लान् भन्छु म त । (रिसानीको कुरै छैन हजुरसँग ।)

    @ वसन्तज्यू : माथिको कविता एउटै सिङ्गो कविता हो है, टुक्राहरू होइनन् । ;)

    धन्यवाद यहाँलाई पनि महेश जी ।

    ReplyDelete
  5. AnonymousMay 02, 2010

    sarai nai man chhune kabita

    ReplyDelete
  6. यहाँको ब्लगको background अली उज्यालो भये सुनमा सुगन्ध हुने थियो ।

    ReplyDelete
  7. अन्तिमका चार हरफले कवितामा ज्यान हालेको छ । मन पर्यो ।

    ReplyDelete
  8. lekhne saili ramro chha ra byakta b4 ni ustai.

    ReplyDelete