Subscribe:

Ads 468x60px

04 July 2010

प्रायोजक !

विज्ञापनको बाछिटाले नछोएको कुनै कुरा छैन । जताजता विज्ञापन उतैउतै प्रायोजक बन्ने र बनाउने होडबाजी । द्रव्य देख्दा महादेवको तेस्रो नेत्र उघ्रिए जस्तै विज्ञापन दिने र लिनेमा सबैका आँखा गोमन सर्पकै भाँतीमा फनफनाउँछन् । विज्ञापन शब्द सुन्दा जति सजिलो यसको रसपान उत्तिकै स्वादिलो हुन्छ । यसैले पाँच रुपैयाँको चटपटेदेखि पचपन्न हजारको ल्यापटप बेच्नेसम्मको काम पार लगाउन सबैजना विज्ञापनकै जोखाना हेर्छन् । फरक यति हो कोही सडकमै चिच्याउँछन् कोही पोस्टर र पत्रिका-रेडियोमा बीउ छर्छन् ।

पत्रिकातिर विज्ञापन छाप्ने चलन त पुरानै हो रेडियो-टीभीमा विज्ञापन दिएर कुनै कार्यक्रमको प्रायोजन गरी प्रायोजक बन्ने लहरै चलेको पाइन्छ । चलचित्र टेलिसिरियल र समाचारमै छ्याप्छ्याप्ती प्रायोजकहरुले लम्बेतान लीला देखाउँछन् । फलस्वरुप अलमल्ल पर्ने पालो दर्शक-स्रोताको हुन्छ- सिरियल र समाचारको बीचमा प्रायोजनका ती सामग्री आएका हुन् कि ती विज्ञापनको बीचमा सिरियल र समाचार बजिरहेका हुन् ! अरु त अरु, समाचार पढ्ने क्रममा समाचारवाचक/वाचिकालाई खोकी लाग्यो भने पनि तिनले "यो खोकीको प्रायोजक फलानो कफ सिरप" नभन्लान् भन्ने अब बेर छैन । दिनदिनभरि "अब पालो विज्ञापन एक विश्रामको" भन्ने रटान लगाउँदा-लगाउँदा बेलुका घर पुगेपछि जीवनसाथीले आशायुक्त भावले कोट्याउँदा समेत "एकैछिनको विश्रामपछि हाजिर हुनेछु" भन्दै घुर्ने बानी नबस्ला भन्न पनि सकिन्न ।

प्रायोजक बन्ने र बनाउने कतै रहर त कतै आवश्यकता । यसको रामरमिता पनि बडो गजबकै हुन्छ । निकुन्ज क्षेत्रमा चोरी सिकारहरुको बिगबिगी के हुन्छ र जुनसुकै अड्डातिर यसो नियाल्ने हो भने भुँडीवाल हाकिमदेखि जुल्फीवाल कारिन्दासम्म एक-अर्कालाई खाजाको प्रायोजक बनाउने सुरमा दाँत तिखार्दै धुइरिरहेका हुन्छन् । 'स्पोन्सर' पाएर त्यो दिनको जलपान निःशुल्क ग्रहण गरेपछि वर्षौं ग्यास्टिकले थिलथिलिएको पेट पनि जाती भए झैँ हुन्छ तिनलाई । प्रायोजक खोज्ने बानी लागेका कतिपय चुरोटेहरुको त झन् कुरै अर्को प्रायोजक बन्ने कोही नभेटिए बगलमै कसैले उडाएको धुवाँको अनुदान लिएरै भए पनि तलतलको विष मारुँला जस्तो गर्छन् ।

संचार माध्यमको इन्धनको रुपमा रहेको विज्ञापनले सर्वसाधारणका दैनिक जीवनलाई प्रभावित त पारेकै छ । सरकार पनि यसबाट अछुतो छैन । थरीथरी दाताहरुले प्रायोजन नगरिदिने हो भने उसको बजेटको खुत्रुके रित्तै हुन्छ । आफ्नो मुख भरिलो पार्न दातृ लोकको मुख नताकी माड नलाग्ने प्रायोजनको यस्तो राष्ट्रिय प्रणाली झन्-झन् सुदृढ बन्दैछ । प्रायोजकबिना एक पाइला टसमस नहुने यस्तो अर्थव्यवस्थामा हामी मामुली जनको झन् के हालत होला के बखानिरहनुपर्ला र मायालु भेट्ने व्यग्रतामा हातमा गुलाफ सिउरिएर यो जक्सन र त्यो पार्क धाउने आधुनिक प्रेमीहरुले कुनै दिन त्यो गुलाफ किन्नमा कोही प्रायोजक खोज्न थाले भने अचम्म नमाने हुन्छ ।

बेलै यस्तो छ, हरेक कुरामा नाफा किफायती र शुभ लाभको खोजीमा आँखा नबिछ्याए कोही अर्कैले उछिनिसक्छ । बिहान उठेर दाँत माझेदेखि बेलुका सुत्ने बेला एक चक्की औषधि निल्ने काममा समेत प्रायोजक फेला परे हे प्रभु यो जिन्दगी नै अर्कै हुनेथ्यो भन्ने सोचमा हाम्रो दिमागले परेड खेल्न थालिसक्यो । हुँदाहुँदा सिङ्गो जीवन नै कसैद्वारा प्रायोजन गरिएको चाहिएको छ हामीलाई । कसैले नाफामुखी पाराले चटक्क मिलाइदिएर बाँचिदिएको होस् आफ्नो चोला । धन्न प्रायोजक !

3 comments:

  1. गज्जब रसिलो, भरिलो, स्वादिलो व्यङ्ग्य रहेछ ।

    साँच्चै टेलीभिजनका कार्यक्रमहरू हेर्दा कुनै कुनै बेला त विज्ञापनको बीचमा कार्यक्रम आउने हो कि कार्यक्रमको बीचमा विज्ञापन आउने हो छुट्याउनै मुस्किल हुन्छ ।

    विशेष गरी समाचार वाचकलाई खोकी लागेमा "यो खोकीको प्रायोजक फलानो कफ सिरप" भन्ने वाक्य पढ्दा भने एक्लै हाँसे । कुनै दिन कुनै मिडियाले यो नीति नअपनाउला भन्न सकिन्न । बरु यो "आईडिया" लाई पेटेण्ट दर्ता गराएर राख्नुहोला है, भविष्यमा रोयल्टी खान पाइने सम्भावना प्रबल छ !

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. धाइबा जी ... अब पुरै दिनभरको कार्य गर्न पनि प्रायोजक खोज्नु पर्ला जस्तो छ !
    अ ... अ त्यो भन्दा झट एउटा कुरा याद आयो .... बरु ..ब्लग लेक्न नै पो प्रायोजक खोजे कसो होला ? है !

    ReplyDelete