Subscribe:

Ads 468x60px

22 July 2010

लेखाइका आरोह-अवरोह

नलाइन संसारमा फैलिएपछि सोचेको हुँदोरहेनछ नसोचेको हुँदोरहेछ । अनलाइनको मातमा लहसिँदा आफ्ना लेखरचनालाई विस्तार गर्ने पाठक-समाज र साथी-सर्कल त निश्चय नै बढ्ने हो । तर पत्रपत्रिकातिर भने रचना प्रकाशनको क्रम निकै पातलिने रहेछ । मेरो अनुभवले यस्तै भन्छ । पछिल्लो समयमा पत्रपत्रिकामा छाउने क्रम निकै घटेछ । मेरो ठम्याइमा अनलाइन र पत्रपत्रिकाका पाठक छुट्टाछुट्टै रुपमा छन् । सामान्यतया पत्रपत्रिकाका पाठकले अनलाइनमा पहुँच राख्दैनन् अनलाइनका पाठकले पत्रपत्रिका भेट्दैनन् ।

विदेशमा रहेका नेपाली पाठकले पनि पत्रपत्रिकाको अनलाइन संस्करणलाई समाचार र विचारको मुख्य स्रोतको रुपमा लिए पनि एउटा पत्रपत्रिका समाउँदा जुन रुपमा सबै पृष्ठ सस्रर्ती चहारेर समग्र अध्ययन हुन्छ त्यो विशेष पठनमा उनीहरु नपस्लान् कि भन्ने लाग्छ । झ्वाट्ट नजर फैलाउँदा सामुन्ने आउने र प्रमुख लागेका कुरा सोसेर लिनेसम्मको हतारो यात्रा हुन्छ जस्तो लाग्छ अनलाइन अध्ययनमा । आफूलाई आवश्यक लागेका कुरा खोजेर-छानेर लिने कुरा त छँदैछ ।

भलै इन्टरनेटको जालोबाट विश्व एउटा गाउँमा परिणत भएको होस्, म आफैँलाई चाहिँ अनलाइनको हाँडीमा भुटिएर बसेको मकै जस्तो लागेको छ । जो पत्रपत्रिकाको संसारदेखि निकै बाहिर फ्याँकिएको छ । यो फ्याँकिनु अलिकता त मेरै रोजाइ पनि थियो केही रुपमा तर आज फर्केर केलाउँदा म त नाम-निशान नै नरहने गरी पत्रपत्रिकाबाट टाढिएछु । इन्टरनेटकै भुङ्ग्रोमा रातो र तातो भुतभुते भएर पिलपिलाएको भानमा मक्ख बसिरहेको रहेछु । यो ब्लग पनि म इन्टरनेटकै सहारामा अनलाइन बस्तीतिर धकेल्दैछु (यसै कारण पनि यसलाई कम आँक्न सकिँदैन), तर मस्तीको पाटो भने मलाई कागजी र पत्रपत्रिकाकै दुनियाँ लाग्छ ।

प्रविधिको सहारा पाउनु सुविधाजनक त पक्कै हुन्छ नै । तर यो सुविधाले कँुजो बनाएर राख्छ कि भन्ने डर । जस्तो कि मेरो आफ्नै कुरा गर्दा पनि पहिले-पहिले कागजमा कविता र लेखहरु लेखिन्थ्यो कम्प्युटरको सहारा लिने आदत बस्दा अचेल कम्प्युटरकै किबोर्डका निब पोत्दै कविता 'फुराउने' भन्दा अब उपाय छैन । जाँगर नभएको हो कि मुड नै नआएको हो, कागज र कलम अगाडि सार् यो कि त मन र मगज दुवै अचेत बन्छन् । कागजमा कलम लिएर बसे रुखोपनले मात्र घेर्छ । केही कुराको भुल्का दिमागमा झ्वाट्ट फुटे पनि त्यसलाई उतार्न अब कम्प्युटरकै पाना खोज्नुपर्ने हुन्छ । लोडसेडिङको पिरलो रहेको नेपालमा त्यो 'फुराइ' लिखित रुपमा नउतार्दै पानीफोकासरि नफुट्ला भन्ने के बेर ?

पत्रपत्रिकाको प्रकाशन माध्यमदेखि टाढिँदै जाँदा स्वाभाविकै हो त्यहाँ रहेका सरसङ्गति पनि विरानो बन्दै जान्छन् । अनि फेरि पत्रिकामा छाउनु ती तमाम परिचयलाई फेरि नवीकरण गर्नुपर्ने खाँचो हुन्छ । आफ्नै ब्लग थरीथरी वेबसाइट भएको सजिलो इन्टरनेट संसार । एक क्लिकमा वेबसाइटहुँदी रचना बाँडेर भरेतिर प्रकाशनमा स्थान पाउने कुरा देख्दा सन्तोषको कुरा लाग्छ । तर पत्रिकामा लेखरचना छापिएबाट मिल्ने तृप्ति वेबसाइटबाट पाउन सकेको छुइनँ । यो नपाएको बोध गर्नुमा मनोभावकै गरिबी हो कि ? या जुन माध्यमबाट हुर्किँदै आएँ त्यसले पनि प्राथमिकता निर्धारण गरेको हो ?

3 comments:

  1. हरेक कुराहरु परिवर्तन भएर गै रहेछ .... जस्तो यो लेखाइ जस्तै !
    हो नि, उवेला केहि लेख्नु पर्यो कि एउटा सानो कागज को टुक्रामा छट रफ कोरिन्थ्यो तर अहिले .... रफ पनि किबोर्डमा औला नचलाई नहुने भै सक्यो !
    अनि सन्तुष्टि कै कुरा गर्ने हो भने अखबार र अनलाइन विचको फरक तपाइँलाइ जस्तो मलाइ अनुभव छैन !
    म त ... अनलाइन मै रमाउने परे !

    ReplyDelete
  2. You are right...Computers have replaced paper and pen. But I love to write in paper ...with the flow of my handwriting....just tesma feelings strong huncha...jasto lagcha...specially the pages of diary....these things should go parallel.

    ReplyDelete
  3. धाइबा जी समय संगै बगिरहेको परिवर्तनको बतासमा लहरिनु नै पर्ने रहेछ। धेरैले ढुंगामा खरिले लेखे। हामी कागजमा लेख्दालेख्दै किबोर्डको सहारामा चल्न सिक्यौ। मलाई लाग्छ हामीलाई(बिशेष हजुरलाई ) प्रखर बनाउदै यहाँ सम्म कुदाउने पुरानो पाटोलाई पक्कै निरन्तरता दिनु नै पर्छ। त्यसैले यो सचित्र पोस्टको शिसाकलमलाई जोडेकै राम्रो ।

    ReplyDelete