August 26, 2010

'मेरो गीत म उभेको धूलोले सुनोस्'

नेपाली सङ्गीतलाई जनजनको मनमा घुसाउन गोपाल योञ्जनको उपस्थितिले करोडको काम गरेको छ । यो उनका सिर्जनामा रमाउने हरेक पुस्ताको तृप्त मनले स्विकार्दै आएको छ । उनको निधनको १३ वर्षपछि पनि आज उनको सदावहार र कालजयी साङ्गीतिक रचनाले सङ्गीतप्रेमीहरूको ढुकढुकीमा मीठो सोला हानिरहेको छ । आधुनिक सुगम सङ्गीत तथा देशप्रेमले भरिएका राष्ट्रिय गीतका भाकाहरूले उनको याद नेपाली घरदैलोमा ताजा तुल्याइरहेको छ ।

Gopal उनै गोपाल हुन्, जसले देशभक्तिको भावले भरिएको 'देशले रगत मागे' बोलको जनप्रिय गीतको धुन २०-२१ वर्षको तरुनो उमेरमै तयार पारेका थिए । झट्ट सुन्दा अपत्यारिलो लाग्ने उनको प्रतिभाको यस्तै रोचक किस्सा साङ्गीतिक इतिहासमा सुरक्षित बसेका छन् । गोपाल-पत्‍नी रेन्छिन योञ्जन सम्झिन्छिन्-'उहाँको सङ्गीतप्रतिको गहिरो लगाव र चाहले उमेरमै खुबी भरेको रहेछ ।' उनको बहुआयामिक प्रतिभाको प्रमाण दिन गहिराइमा खोजबीन गर्ने कसरत गर्नुपर्दैन, जे छ सङ्गीतप्रेमीहरूको सामुन्नेमै छ । उनले सङ्गीत सिर्जना गरे, गीत लेखे, गीत पनि गाए, समग्रमा उनलाई एउटा पूर्ण प्याकेजको 'म्युजिकब्राण्ड' भनेर उल्लेख गर्दा बढी नहोला ।

'उहाँको सिर्जनाबारे जनमानसमा सबै कुरा पुगे पनि केही पक्षमा भने उहाँलाई चिन्न अझै बाँकी छ जस्तो लाग्छ', रेन्छिन् भन्छिन्, 'म्युजिक एरेन्जरको खुबी पनि थियो उहाँमा ।' एउटा म्युजिक एरेन्जरमा हरेक बाजा र सङ्गीतको टोन थाहा हुनुपर्ने गुण हुन जरुरी हुन्छ, त्यो गोपालमा रहेको उनले बताइन् । 'तिम्रो जस्तो मुटु मेरो पनि, भनिदेऊ नेपाली दाइ, मैले पुण्य मन पराएँ, पश्चिम कोही पूर्व घर, च्याङ्बा होइ च्याङ्बा आदि कर्णप्रिय र गीतिरचनाको हिसाबले पनि वजनदार शब्द भएका भाका नेपाली साङ्गीतिक ढुकुटीमा भरेका उनी सङ्गीतरचनामा साहित्यलाई निकै अर्थपूर्ण बुनाइसहित आत्मसात् गर्थे । यसको स्वाद उनले आफ्नो हरेकजसो सिर्जनामा दिएका छन् । गोपालको प्रसङ्ग आउँदा नारायणगोपालको नाम छुटाउन मिल्दैन । दार्जिलिङको बसाइमा साथसाथ सङ्गीतको बहावमा हेलिँदाहेलिँदै आत्मीयता झ्याङ्गिएपछि यी दुईले मीत नै लगाए । त्यसपछिको समयमा गोपालको सङ्गीत र शब्दमा नारायणले थुप्रै गीतमा स्वर दिए । दुर्इको भेट र सहयात्राले नेपाली आधुनिक सङ्गीत निकै समृद्ध भएको साक्षी छन् स्रोताहरू नै । 

गोपालको सङ्गीतको लोकप्रियता आफ्नो ठाउँमा अविरल उँचाइमा रहे पनि उनको परिचय र साङ्गीतिक व्यक्तित्वलाई आजको पुस्ताले कुन हदसम्म साँचेर राखेको होला र राख्‍नेछ भन्ने प्रश्न पनि उत्तिकै उठ्न सक्छ । दार्जिलिङबाट अध्ययनको सिलसिलामा सन् १९६७ अगस्ट महिनाको कुनै दिन काठमाडौँ टेकेका गोपाल यतैको माहौलमा रत्तिँदै गए । त्यसअघि १९६३ मै कालिम्पोङबाट काठमाडौँ आएकी रेन्छिनको १९६८ फेब्रुअरिमा सेन्ट जेभियर्स स्कुलमा पढाउने क्रममा गोपालसँग भेट भयो । गोपाल त्यहाँ सङ्गीत सिकाउँथे भने रेन्छिनले दुई कक्षाका भुराभुरीलाई पढाउने जिम्मा पाएकी थिइन् । मन परापर भएपछि १० महिनाकै अन्तरालमा डिसेम्बरमा परम्परागत मागी विवाहमा लगनगाँठो कसे दुवैले ।

सेन्ट जेभियर्स स्कुलमा गोपालको विद्यार्थी भएर पढेका अहिलेका पप गायक योगेश्वर अमात्य गोपाल गुरुको सिर्जनात्मक खुबीसँगै सङ्गीतप्रतिको गम्भीर भाव निकै अग्लो रहेको बताउँछन् । उनी भन्छन्, 'उहाँकै स्याहार पाएर हामी सही बाटो पहिल्याउँदै अहिलेको जस्तो स्थितिमा आउन सक्यौँ ।' तर पछिल्लो समयमा गोपाल योञ्जलका सिर्जनाहरू जथाभावी रूपमा जसलाई पायो त्यसलाई विक्री-वितरण गरिन थालेकोमा उनी चिन्ता पनि गर्छन् । 'एउटा चेलाको नाताले गोपाल सर जस्तो उच्च प्रतिभाको सङ्गीतसिर्जना लाख-डेढ लाख रूपैयाँसम्ममा किनेर आफूसँग सुरक्षित राख्न तयार छु, तर जथाभावी ती बहुमूल्य सिर्जना बेचिएको हेर्न सक्दिनँ ।', उनी पिरोलिन्छन् ।  

साथी नगेन्द्र थापाको निम्तोमा काठमाडौँ छिरेका गोपालले त्यसपछिका अवधिमा नेपालको साङ्गीतिक बजारमा छाउनको लागि खाएको हण्डर र ठक्करको कथा कम मार्मिक छैन ।Gopal-Y पत्नी रेन्छिन पुराना ती दिनमा फर्किन्छिन्, 'नेपाल भनेर त्यस्तो प्रेमभाव जागेर यता आउनुभयो तर रेडियो नेपाल लगायतका साङ्गीतिक प्लेटर्फमहरूमा बाहिरका भनेर उहाँलाई ठाउँ दिइएन ।' उनी प्रश्न गर्छिन्, 'बाँचुन्जेल पनि राज्यस्तरबाट उचित रेखदेख नपाएको स्रष्टाले छाडेर गएका रचनाहरूलाई देशको सम्पत्ति मानेर आउने पुस्ताको लागि संरक्षण गर्ने कि नगर्ने -' सिर्जनाको संरक्षण नगर्दा भावी पुस्ताको लागि अन्याय हुने भएकोले त्यसको राज्यस्तरबाटै संरक्षणको साथै प्रवर्द्धन पनि हुनुपर्ने उनको विचार छ । पछि पुलिस क्लबमा सङ्गीत निर्देशकको रूपमा जागिरे यात्रा थालेपछि भने गोपालको साङ्गीतिक सक्रियता र निखारमा बढोत्तरी देखिन थाल्यो ।

पछिल्लो समयमा उनी आफ्नै प्रयत्‍न र लगनमा गोपालका सिर्जनाहरूलाई धमाधम जनसमक्ष ल्याउने काममा अग्रसर छिन् । यसक्रममा ऋतुरङ्ग, निशानी ५३ र वसुन्धरा सीडी तथा क्यासेट एल्वम प्रकाशन भएको छ । सिनेकर्मी छिरिङ रितार र नवीन सुब्बाको साथ लिएर गोपालको 'डाँफेचरी' लोकगाथालाई फिल्म बनाउने काममा जुटिरहेकी उनी श्रीमान् गोपालको कृति र कीर्तिबारे सारमा बोल्नुपरे भन्ने गर्छिन्, 'गीत र सङ्गीत सँगसँगै एकसाथ गर्ने बानी थियो गोपालजीको, त्यसैले वैज्ञानिक र जीवन्त लाग्छन् उहाँका सिर्जनाहरू । राज्य वा कुनै निकायबाट संस्थागत रूपमा गोपालको व्यक्तित्व र कृतित्व संवर्द्धन गर्ने पहल नभए पनि गोपालप्रेमी तथा सङ्गीप्रेमी स्रोताहरूले दिएको अनवरत चाख र माया धर्मपत्‍नी रेन्छिनलाई लाख लाग्छ । र खास माया, आदर र सम्मान पनि यही नै त हो सायद ।  

(वि. सं. २००० मा दार्जिलिङमा जनै पूर्णिमाको दिन जन्मिएका योञ्जनबारे मैले केही समयअघि तयार पारेको सामग्री उनको ६७औँ स्मृति दिवसका अवसरमा)

No comments:

Post a Comment