Subscribe:

Ads 468x60px

28 August 2010

चरालाई पनि छैन सुख

“संविधान कागजको खोस्टा हो” भन्ने कुनै समय राजनीतिक वृत्तबाटै आएको अभिव्यक्ति र विवाद पचाउने हो भने अहिले त्यही खोस्टा पर्खिरहेछ मुलुक ।

संविधानसभा निहुरमुन्टी न बनेर उँघिरहँदा जागिरहेछन् अराजकताका लहरहरू । पूर्वराजाको धार्मिक भ्रमण चर्चाको विषय बन्छ र ताँती लाग्छन् त्यहाँ राजावादीको ट्यागमा सर्वसाधारण ।  उहिले ड्रगिस्ट र सन्काहामा दरिएका पूर्व युवराज मुस्कान मिसिएको गम्भीर लबजमा अन्तर्वार्ता दिन्छन् । जनताले चाहेमा आफ्नो भूमिका बढ्न सक्ने बताउँछन् । अहिलेको अहिल्यै जे पनि हुन सक्छ जस्तो लाग्छ यसो हेर्दा । हुन पनि मुलुकका सामु विगतमा नजीर पनि त त्यस्तै बसेको छ । कसले सोचेको थियो यति चाँडै राजतन्त्र पत्तासाफ होला भन्ने ? हेर्दाहेर्दै चालढालमा बडो गर्जन देखाउँदै अदबसाथ पेस हुने राजा आखिर अधिकारको प्वाँख गुमाउँदै नागरिक बने । व्यवस्था फेरियो, मान्छे फेरिए  र पनि ताल भयो उस्तै । जनताले संविधान लेख्‍न पाउने उल्लासमा उतिबेला संविधानसभा देउता समान थियो, अहिले कागलाई बेल पाक्यो हर्ष न विस्मात्‌को अवस्थामा परिणत भएको छ । भूमिकाविहीन र निस्प्रभावी बनेको संविधानसभाको कति कुरा गर्नु ! राजनीतिबाट पाइने स्वतन्त्रतालाई पनि ललकार्नु कति ? अभावले गाँज्ने दैनिकीहरू मात्र थमाउने यस्तो अराजक स्वतन्त्रता पाएर कस्तो खुसी मान्ने हो ! आजको नेपाललाई नियाल्ने हो भने यस्तै निराशा हात लाग्छ ।  (यसैबीच २० वर्षभन्दा लामो विवादपछि पूर्वी अफ्रिकी मुलुक केन्यामा हालै नयाँ संविधान जारी भएको छ, यसले नेपालको संविधान प्राप्‍तिको यात्रालाई अझै नौ डाँडापारि छ भन्ने सङ्केत गरेको हो त ?) त्यहाँको अवस्था र यहाँको विवादको कुनै साइनो पनि नहुन सक्छ ।

मेरो एउटा साथीलाई राजनीति शब्ददेखि नै यति वितृष्णा छ, मेरो ब्लगमा राजनीतिको प्रसङ्ग कतै आयो भने उसको पारो तात्छ । (स्वाभाविकै हो, सबैतिर राजनीति र उछिनपाछिनको दिक्कलाग्दो रटानबाट थाकेको दिमागलाई आराम दिँदै तनाव भुल्न बौद्धिकता-हार्दिकताको संयुक्त भूमि – ब्लगमा छिर्दा त्यहाँ पनि त्यही तनाविलो विषय भरिएको पाए के मज्जा !?) अनि ऊ ब्लग पढ्नु त परको कुरो, अर्को पटकदेखि ब्लगमा झुल्किन पनि होसियारी अपनाउँछे । र त्यसको जोखिम मोलेरै भए पनि म बेलाबेला समग्र राष्ट्रिय परिवेशलाई खोस्ट्याउँदै लगेको यही राजनीतिको उत्साहहीन रङको चर्चा गर्छु । यति आश र कामनाले, अब त केही राम्रो होस् । कस्तो भने, ब्लगमा एउटा ब्लगर लेख्‍ने विषय र लेख्‍नुको पछाडि ‘सर्वे भवन्तु सुखिन’को मर्मअनुरूप अनुभूतिको तहमा समेत खुसी र स्वतन्त्रता पाउन चाहान्छ, साथै उसका पाठकहरू पनि झिँजो नलाग्ने र नबिथोलिने गरी ब्लगका अक्षरमा चिप्लिरहन चाहान्छन् । तर व्यवहारमा सधैँ यो कति सम्भव हुन सक्ला, अर्कै कुरा हो । Sanu.

स्वतन्त्रताको कुरा गर्दा धेरैलाई हावामा भुवा झैँ निस्फिक्री चक्कर लगाउने चरा हुन मनपर्छ । नाङ्गो आकाशमा एकाकार हुनु जस्तो स्वर्गीय अनुभूति के होला ? सायद यस्तै परिकल्पनाको फलस्वरूप ओल्भिर र विल्भर राइट दाजुभाइले अनेक अनुसन्धान र प्रयासपछि सन् १९०३ को अन्तिम महिनामा संसारको पहिलो विमान उडाइछाडे । स्वाभाविकै हो, यातायातको द्रुत साधनको रूपमा त्यसले ठाउँ लिइहाल्यो । तर प्रकृतिको सजिलो नमुनाको साक्षी रहेको मान्छे चराको उडानदेखि मोहित हुन छाडेन । त्यो आकर्षण साहित्यमा आए, चरा बनेर गगन सयर गर्ने अतिकल्पना कवितामा उत्रिए । चरालाई तर मान्छेले आकर्षण र रोमाञ्चको आँखाले हेरिमात्र रहेन, सिकारीको नजर पनि लगायो । त्यसरी आक्रमण गर्नुको एउटा कारणमा चरा झैँ उड्न नसक्ने मानवीय नियतिको आह्रिस पनि मिसिएको थियो कि ? चरालाई उड्नुको चुनौतीसँगै मानव र अन्य सिकारीहरूबाट जोगिनुपर्ने पनि चुनौती थपियो । आँधी र झरीमा भिजेको रूमाल जस्तै हुने पखेटालाई कुन अगेनुमा गएर सेकाउँदा हुन् र चराहरू ?  गुँडको नाममा रहेको छेस्का र सिन्काहरूको साँगुरो खोँचमा तिनले कसरी ओत भेट्लान् ?  कसरी जुटाउलान् आफू र बचेरा समेतलाई चारो ? यी केटाकेटी प्रश्‍नले लखेट्छ बेलाबेला । अनि चरा हुन त झन् गाह्रो लाग्छ । चरा खासमा उडानले मात्र उँचाइमा छैन मान्छेभन्दा, उसको जीवनपद्धति, चरा-समाजमा रत्तिएको हार्दिकता र सङ्घर्षको फटफटाहटले उसलाई माथि हुन नै सुहाउँछ । मान्छेहरूलाई भुइँमै रहन लायक देख्दा हुन् कि चराहरू पनि !

हालै एउटा गजल लेखेको छु चराकै विषयमा । अहिले त्यही पेस गर्छु । बाँकी पछि ।

 

हेर्दा त केवल उडिरहेछन् चराहरू
हावा काट्दै-काट्दै जुधिरहेछन् चराहरू ।

आकाशको चुचुरा कहाँ पो हुन्छ र घर
झर्नैपर्छ भुइँ बुझिरहेछन् चराहरू ।

छिमेकमै लुट्न सकिन्थ्यो होला मुठी चारो,
कहाँदेखि कहाँ पुगिरहेछन् चराहरू ।

कस्तो प्रीति गाँसेको बिहानीको ओठसँग,
चुप्पचुप्प सधैँ चुमिरहेछन् चराहरू ।

कहाँ छ खोई आकाश जस्तै स्वतन्त्रता,
बादलमा पनि ठुँगिरहेछन् चराहरू ।

 

***

3 comments:

  1. प्राकृतिक रुपमा स्वतन्त्र रहेका बस्तुहरु लाइ पनि निस्फ्रिक्री र सजिलो छैन जीवनयापन गर्न !
    त्यसैले हरेक ले प्रगति र विकाशको लागि संघर्ष र सकारात्मक प्रयत्न भने गर्ने पर्ने हुन्छ !
    अनि केन्याको जस्तो दीर्घ समय नलागोस -नेपालमा संबिधान लेख्ने कार्य !

    ReplyDelete
  2. फेरि पनि 'एउटा टिकटमा दुइटा मजा' हुने पोस्ट रहेछ । गजल भन्दा माथिको 'भूमिका' जति सान्दर्भिक छ, गजल पनि त्यत्तिकै जोडदार।

    छिमेकमै लुट्न सकिन्थ्यो होला मुठी चारो,
    कहाँदेखि कहाँ पुगिरहेछन् चराहरू ।


    किन किन यी हरफहरु भने साह्रै चित्त बुझ्ने लागे ।

    ReplyDelete
  3. छिमेकमै लुट्न सकिन्थ्यो होला मुठी चारो,
    कहाँदेखि कहाँ पुगिरहेछन् चराहरू ।

    चरा त उड्छ नै यो शेरमा भने तपाईंको कलम पनि उडेको छ है बेग हानेर ।

    ReplyDelete